प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g18 सङ्‌ख्या ३ पृ. ६-१३
  • शोकको सामना गर्नुहोस्‌—तपाईँले चाल्नुपर्ने कदम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शोकको सामना गर्नुहोस्‌—तपाईँले चाल्नुपर्ने कदम
  • ब्यूँझनुहोस्‌!—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • १: परिवार र साथीभाइको मदत स्विकार्नुहोस्‌
  • २: पोसिलो खानेकुरा खानुहोस्‌ र व्यायाम गर्नुहोस्‌
  • ३: पर्याप्त मात्रामा सुत्नुहोस्‌
  • ४: पीडा कम गर्ने तरिका पत्ता लगाउनुहोस्‌
  • ५: आफैलाई हानि पुऱ्‍याउने बानीबाट अलग रहनुहोस्‌
  • ६: समय छुट्ट्याउनुहोस्‌
  • ७: तालिकाअनुसार चल्नुहोस्‌
  • ८: महत्त्वपूर्ण निर्णय गर्न हतार नगर्नुहोस्‌
  • ९: आफ्नो प्रियजनलाई सम्झनुहोस्‌
  • १०: घुम्न जानुहोस्‌
  • ११: अरूलाई मदत गर्नुहोस्‌
  • १२: आफ्नो प्राथमिकताबारे पुनःविचार गर्नुहोस्‌
  • म यो चोट कसरी सहन सक्छु?
    तपाईंको प्रियजनको मृत्यु हुँदा
  • शोकमा परेकाहरूका लागि मदत
    ब्यूँझनुहोस्‌!—२०१८
  • कस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ?
    ब्यूँझनुहोस्‌!—२०१८
  • परिचय
    ब्यूँझनुहोस्‌!—२०१८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१८
g18 सङ्‌ख्या ३ पृ. ६-१३
मानिसहरू समुद्री तटमा चङ्‌गा उडाउँदै र फोटो खिच्दै

शोकमा परेकाहरूका लागि मदत

शोकको सामना गर्नुहोस्‌ तपाईँले चाल्नुपर्ने कदम

शोकमा पर्दा के गर्नुपर्छ भन्‍ने विषयमा सल्लाह खोज्नुभयो भने अनगिन्ती सल्लाह पाउन सक्नुहुन्छ। कुनै व्यावहारिक हुन्छ त कुनै हुँदैन। अघिल्लो लेखमा छलफल गरिएझैँ सबैको शोक गर्ने तरिका फरक-फरक हुन्छ। त्यसैले कुनै सल्लाह कसैको लागि मदतकारी हुन सक्छ भने अरूको लागि नहुन सक्छ।

तैपनि थुप्रै मानिसले लाभ उठाउन सकेका केही भरपर्दा सल्लाहहरू छन्‌। प्रायजसो यस्ता सल्लाहहरू मनोवैज्ञानिकहरूले शोकमा परेका व्यक्‍तिहरूलाई दिने गर्छन्‌। यी सल्लाहहरू पुरानो किताब बाइबलको सिद्धान्तहरूसित मेल खान्छ। बुद्धिका कुराले भरिएको यस किताबले दिएका सल्लाहहरू आज पनि उत्तिकै व्यावहारिक छन्‌।

१: परिवार र साथीभाइको मदत स्विकार्नुहोस्‌

  • मानिसहरू समुद्री तटमा चङ्‌गा उडाउँदै र फोटो खिच्दै

    केही विज्ञका अनुसार शोकमा पर्दा चाल्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कदम यही हो। कहिलेकाहीँ तपाईँलाई एक्लै बस्न मन पर्ला अनि अरूले मदत गर्न खोज्दा झिजो लाग्ला। यस्तो महसुस गर्नु स्वाभाविकै हो।

  • तपाईँ हरसमय कसै न कसैसित हुनै पर्छ भनेर नसोच्नुहोस्‌। तर अरूसित सङ्‌गतै गर्न पनि नछोड्‌नुहोस्‌। हुन पनि तपाईँलाई पछि तिनीहरूकै मदत चाहिन सक्छ। अरूले तपाईँको लागि के गरिदिएको चाहनुहुन्छ, दयालु भई बताउनुहोस्‌।

  • आफ्नो आवश्‍यकतालाई विचार गरेर अरूसित बिताउने समय र एक्लै बस्ने समय छुट्ट्याउनुहोस्‌।

सिद्धान्त: “एकभन्दा दुई असल हो। . . . किनकि यदि एउटा लड्‌यो भने अर्कोले आफ्नो साथीलाई उठाउनेछ।”—उपदेशक ४:९, १०.

२: पोसिलो खानेकुरा खानुहोस्‌ र व्यायाम गर्नुहोस्‌

  • शोकमा पर्दा हुने तनाव कम गर्न पोसिलो खानेकुरा खानुपर्छ। थरीथरीका फलफूल, सागसब्जी र चिल्लो कम भएको प्रोटिनयुक्‍त खानेकुरा खानुहोस्‌।

  • प्रशस्त पानी र शरीरलाई फाइदा पुऱ्‍याउने पेय पदार्थ पिउनुहोस्‌।

  • तपाईँलाई त्यति भोक लाग्दैन भने थोरै-थोरै खानेकुरा बेला-बेलामा खानुहोस्‌। थप पोषणको विषयमा डाक्टरलाई सोध्न सक्नुहुन्छ।a

  • छिटो-छिटो हिँड्‌दा र व्यायाम गर्दा नकारात्मक भावना हटाउन मदत पाइन्छ। व्यायामले कसै-कसैलाई आफ्नो जीवनमा भएको परिवर्तनबारे विचार गर्न मदत गर्छ भने अरू कसैलाई चाहिँ अचाक्ली चिन्तामा नडुब्न मदत गर्छ।

सिद्धान्त: “कुनै मानिसले आफ्नो शरीरलाई कहिल्यै घृणा गर्दैन बरु त्यसलाई . . . खुवाउँछ अनि स्याहार्छ।”—एफिसी ५:२९.

३: पर्याप्त मात्रामा सुत्नुहोस्‌

  • ओछ्यान

    निद्रा शरीरको लागि लाभदायी हुन्छ, अझ विशेषगरि शोकाकुल व्यक्‍तिहरूका लागि। किनभने शोकमा पर्दा अत्यधिक थकाइ लाग्छ।

  • कति मात्रामा क्याफिन र मादक पदार्थ सेवन गर्ने, त्यसमा विचार पुऱ्‍याउनुपर्छ किनभने यी दुवै कुराले निद्रालाई असर गर्छ।

सिद्धान्त: “मरुन्जेल मेहनत गरेर बतासलाई खेद्‌नुभन्दा बरु केही बेर आराम गर्नु नै बेस हो।”—उपदेशक ४:६.

४: पीडा कम गर्ने तरिका पत्ता लगाउनुहोस्‌

  • शोकमा परेकी स्त्री आफ्नी साथीलाई मनको बह पोख्दै

    शोक गर्ने तरिका व्यक्‍तिपिच्छे फरक हुन्छ भन्‍ने कुरा मनमा राख्नुहोस्‌। त्यसैले के गर्दा तपाईँको पीडा कम हुन्छ, पत्ता लगाउनुपर्छ।

  • थुप्रै मानिसले आफ्नो पीडा पोखाउँदा हल्का महसुस गर्छन्‌ तर अरू कतिपयलाई चाहिँ आफ्नो पीडा नपोखाउनु नै बेस लाग्छ। आफ्नो पीडा अरूलाई पोखाउँदा राहत मिल्छ भन्‍ने कुरामा विज्ञहरूको पनि आ-आफ्नै धारणा छ। आफ्नो पीडा कसैलाई व्यक्‍त गर्न चाहनुहुन्छ तर त्यसो गर्न गाह्रो लाग्छ भने मिल्ने साथीलाई आफ्नो भावना पोखाउन सक्नुहुन्छ।

  • कसै-कसैले रुँदा आफ्नो पीडा कम भएको महसुस गर्छन्‌। तर कसै-कसैलाई भने त्यति नरोए पनि पीडा कम गर्न सकेका छन्‌।

सिद्धान्त: “आफ्नो मनको पीडा आफैलाई मात्र थाह हुन्छ।”—हितोपदेश १४:१०.

५: आफैलाई हानि पुऱ्‍याउने बानीबाट अलग रहनुहोस्‌

  • रक्सी पिइरहेका मानिस

    कोही-कोही शोकित व्यक्‍तिहरू आफ्नो पीडा कम गर्न रक्सी वा लागू पदार्थको सहारा लिन्छन्‌। यस्तो उपायले आफैलाई हानि पुऱ्‍याउँछ। यस्तो कुराले क्षणिक समयको लागि मात्र पीडा कम गर्छ तर त्यसको असर डरलाग्दो हुन्छ। चिन्ता-फिक्री हटाउन हानि नपुऱ्‍याउने तरिकाहरू खोज्नुहोस्‌।

सिद्धान्त: “तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध पारौँ।”—२ कोरिन्थी ७:१.

६: समय छुट्ट्याउनुहोस्‌

  • शोकबाट (भावनात्मक पीडाबाट) ध्यान अन्तै मोड्‌न थुप्रैले विभिन्‍न क्रियाकलापमा (केही समयको लागि पीडा कम गर्न मदत गर्ने गतिविधिमा) व्यस्त हुनु मदतकारी पाएका छन्‌।

  • मित्रता गाँस्दा वा बढाउँदा, नयाँ सीप सिक्दा वा कुनै रमाइलो गतिविधिमा समय बिताउँदा केही हदसम्म पीडा कम भएको महसुस गर्न सक्नुहुन्छ।

  • समय बित्दै जाँदा तपाईँ सन्तुलित हुन सक्नुहुनेछ। आफ्नो पीडा कम हुँदै गएको अनि आफू सम्हालिएको महसुस गर्न सक्नुहुनेछ। यो मनको घाउ निको हुने प्रकिया हो।

सिद्धान्त: “सबै कामको लागि उचित समय छ, . . . रुने एउटा समय छ, हाँस्ने एउटा समय; शोक गर्ने एउटा समय छ, नाच्ने एउटा समय।”—उपदेशक ३:१, ४.

७: तालिकाअनुसार चल्नुहोस्‌

  • क्यालेन्डर प्रयोग गरेर तालिका बनाउँदै एउटी स्त्री

    आफ्नो नियमित तालिकाअनुसार चल्न कदम चालिहाल्नुहोस्‌।

  • सुत्ने, काम गर्ने र अन्य क्रियाकलाप गर्ने राम्रो तालिका छ भने सामान्य दिनचर्यामा फर्किन सजिलो हुनेछ।

  • असल काममा व्यस्त हुँदा आफ्नो पीडा कम गर्न सक्नुहुन्छ।

सिद्धान्त: “साँचो परमेश्‍वरले उसको हृदय आनन्दले भरिदिनुभएकोले उसलाई आफ्ना दिनहरू बितेको पत्तै हुँदैन।”—उपदेशक ५:२०.

८: महत्त्वपूर्ण निर्णय गर्न हतार नगर्नुहोस्‌

  • प्रियजन गुमाउनेबित्तिकै हतारमा महत्त्वपूर्ण निर्णय गरेका कोही-कोही पछि पछुताउनुपरेको छ।

  • सक्नुहुन्छ भने घर सर्नुअघि, जागिर परिवर्तन गर्नुअघि वा मृतकको सामान मिल्काउनुअघि केही समय कुर्नुहोस्‌।

सिद्धान्त: “मेहनती मानिसले बनाएको योजना सफल हुन्छ तर हतार गर्ने मानिसहरू कङ्‌गाल हुन्छन्‌।”—हितोपदेश २१:५.

९: आफ्नो प्रियजनलाई सम्झनुहोस्‌

  • एक पुरुष मरिसकेका आफ्नी पत्नीको फोटो देखाउँदै

    शोकित व्यक्‍तिहरूले आफ्नो प्रियजनको याद ताजा राख्न विभिन्‍न कदम चाल्नु फाइदाजनक भएको महसुस गर्छन्‌।

  • फोटोहरू र तिनको सम्झना गराउने कुराहरू सङ्‌कलन गर्दा वा तिनीबारे र आफूले सम्झन चाहेको कुनै घटनाबारे डायरी लेख्दा सान्त्वना पाउन सक्नुहुन्छ।

  • आफूले गुमाएको प्रियजनको मीठो सम्झना दिने सामानहरू सुरक्षित राख्नुहोस्‌ र आफू सम्हालिएपछि ती कुराहरू हेर्नुहोस्‌।

सिद्धान्त: “उहिले-उहिलेका दिनहरू सम्झ।”—व्यवस्था ३२:७.

१०: घुम्न जानुहोस्‌

  • घुम्न जाने योजना बनाउन सक्नुहुन्छ।

  • लामो छुट्टी लिन सक्नुहुन्‍न भने एक-दुई दिनको लागि भए पनि रमाइलो गर्न सक्नुहुन्छ। जस्तै: पैदल यात्रा गर्ने, सङ्‌ग्रहालय भ्रमण गर्ने वा कतै घुम्न जाने।

  • तपाईँले आफ्नो दिनचर्यामा केही फेरबदल गर्नुभयो भने शोक कम गर्न मदत पाउन सक्नुहुन्छ।

सिद्धान्त: “तिमीहरू पनि मसँगै एकान्तमा आओ र केहीबेर आराम गर।”—मर्कुस ६:३१.

११: अरूलाई मदत गर्नुहोस्‌

  • एक युवती किनमेल गर्न वृद्धालाई सहयोग गर्दै

    नबिर्सनुहोस्‌, अरूलाई मदत गर्दा तपाईँले आफ्नो पीडा कम भएको महसुस गर्न सक्नुहुन्छ।

  • तपाईँको प्रियजनको मृत्युले असर पारेकाहरूलाई मदत गर्न सक्नुहुन्छ। जस्तै: तपाईँको साथी वा नातेदारलाई, जसलाई आफ्नो दुःख र भावना बुझ्ने साथी चाहिएको हुन सक्छ।

  • अरूलाई सान्त्वना दिन र मदत गर्न अघि सर्दा आनन्दित हुन सक्नुहुन्छ र आफ्नो जीवन अझै पनि उद्देश्‍यपूर्ण छ भनेर अनुभव गर्न सक्नुहुन्छ।

सिद्धान्त: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषित २०:३५.

१२: आफ्नो प्राथमिकताबारे पुनःविचार गर्नुहोस्‌

  • शोकमा परेपछि तपाईँको जीवनमा कुन कुरा महत्त्वपूर्ण छ भनी बुझ्नुहुनेछ।

  • यस अवस्थालाई आफ्नो जीवनशैली केलाउने मौकाको रूपमा लिनुहोस्‌।

  • आवश्‍यकताअनुसार आफ्नो प्राथमिकता छाँटकाँट गर्नुहोस्‌।

सिद्धान्त: “भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु बेस हो किनकि मृत्यु नै सबै मानिसको अन्त हो। जिउँदाहरूले यो कुरा मनमा राख्नुपर्छ।”—उपदेशक ७:२.

शोकको सामना गर्नुहोस्‌ | सारांश

  • १: परिवार र साथीभाइको मदत स्विकार्नुहोस्‌

    आफ्नो आवश्‍यकतालाई विचार गरेर अरूसित बिताउने समय र एक्लै बस्ने समय छुट्ट्याउनुहोस्‌।

  • २: पोसिलो खानेकुरा खानुहोस्‌ र व्यायाम गर्नुहोस्‌

    स्वस्थकर खानेकुरा खानुहोस्‌, प्रशस्त पानी पिउनुहोस्‌ र हल्का व्यायाम गर्नुहोस्‌।

  • ३: पर्याप्त मात्रामा सुत्नुहोस्‌

    शोक परेको बेला थकान हटाउन सुत्नु आवश्‍यक छ भन्‍ने कुरा मनमा राख्नुहोस्‌।

  • ४: पीडा कम गर्ने तरिका पत्ता लगाउनुहोस्‌

    सबैको शोक गर्ने तरिका फरक हुन्छ, त्यसैले के गर्दा तपाईँको पीडा कम हुन्छ, पत्ता लगाउनुहोस्‌।

  • ५: आफैलाई हानि पुऱ्‍याउने बानीबाट अलग रहनुहोस्‌

    रक्सीको दुरुपयोग र लागू पदार्थको सेवन गर्नदेखि अलग बस्नुहोस्‌। यसले समस्या सुल्झाउनको साटो समस्यामाथि समस्या थपिदिन्छ।

  • ६: समय छुट्ट्याउनुहोस्‌

    शोकबाट ध्यान अन्तै मोड्‌न साथीभाइसित सरसङ्‌गत र रमाइलो गर्नुहोस्‌।

  • ७: तालिकाअनुसार चल्नुहोस्‌

    सामान्य दिनचर्यामा फर्किन राम्रो तालिका बनाउनुहोस्‌ र त्यसैअनुरूप चल्नुहोस्‌।

  • ८: महत्त्वपूर्ण निर्णय गर्न हतार नगर्नुहोस्‌

    सकिन्छ भने एक वर्ष वा अझ बढी समय बितेपछि मात्र महत्त्वपूर्ण निर्णय गर्नुहोस्‌ ताकि तपाईँले पछुताउनु नपरोस्‌।

  • ९: आफ्नो प्रियजनलाई सम्झनुहोस्‌

    आफूले गुमाएको प्रियजनको याद ताजा राख्न फोटोहरू र तिनको सम्झना गराउने कुराहरू सङ्‌कलन गर्नुहोस्‌ वा डायरी लेख्नुहोस्‌।

  • १०: घुम्न जानुहोस्‌

    आफ्नो दिनचर्यामा केही फेरबदल गर्नुहोस्‌। एक दिन वा छोटो समयको लागि भए पनि आफ्नो तालिकामा छाँटकाँट गर्नुहोस्‌।

  • ११: अरूलाई मदत गर्नुहोस्‌

    खाँचोमा परेकोलाई मदत गर्न अघि सर्नुहोस्‌। तपाईँको प्रियजनको मृत्युले असर पारेको साथी वा नातेदारलाई मदत गर्नुहोस्‌।

  • १२: आफ्नो प्राथमिकताबारे पुनःविचार गर्नुहोस्‌

    यस अवस्थालाई आफ्नो प्राथमिकताबारे पुनःविचार गर्ने मौकाको रूपमा लिनुहोस्‌ अनि त्यसैअनुसार छाँटकाँट गर्नुहोस्‌।

वास्तवमा कुनै पनि कुराले हाम्रो पीडा पूर्ण रूपमा निको पार्न सक्दैन। प्रियजन गुमाएका थुप्रैले आवश्‍यक कदम चाल्दा पीडा कम गर्न सकिन्छ भनेर अनुभव गरेका छन्‌। तिनीहरूले यस लेखमा उल्लिखित सल्लाहहरू पालन गर्दा सान्त्वना पाउन सक्छन्‌। हुनत शोक कम गर्ने तरिका यति मात्र होइन। तैपनि यी सल्लाहहरू पालन गर्दा पीडा कम भएको पक्कै महसुस गर्नुहुनेछ।

a ब्यूँझनुहोस्‌! पत्रिकाले कुनै खास उपचारको सिफारिस गर्दैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने