अध्याय ५३
श्रोतालाई प्रोत्साहन दिनुहोस् र बलियो बनाउनुहोस्
जस्तोसुकै समस्याको सामना गरिरहनुपरेको भए तापनि परमेश्वरका सेवकहरूले ख्रीष्टियन मण्डलीबाट प्रोत्साहन पाउन सक्नुपर्छ। त्यसको लागि विशेषगरि एल्डरहरूले आफ्नो भाषण र आफूले दिने सल्लाह प्रोत्साहनदायी छ कि छैन, पक्का गर्नै पर्छ। एल्डरहरू “बतासबाट लुक्ने ठाउँ, र आँधीबेह्रीबाट आड लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला, र बिरानो भूमिमा ठूलो चटानको छाया”-जस्तो हुनुपर्छ।—यशै. ३२:२.
तपाईं एल्डर हुनुहुन्छ भने के तपाईंका भाषणहरूले स्फूर्ति र सान्त्वना दिन्छ? वफादार भई यहोवाको सेवा गर्न यथाशक्य प्रयास गरिरहेकाहरूले के तपाईंका भाषणहरूबाट हौसला पाउँछन्? के ती भाषणले मानिसहरूको भावशून्यता वा विरोधको बाबजुद यहोवाको इच्छाअनुसार गरिरहन बल दिन्छन्? तपाईंका श्रोतामध्ये कोही-कोही निराश छन्, तिनीहरूलाई हातमुख जोड्नै धौ-धौ परिरहेको छ वा उपचारै पत्ता नलागेको गम्भीर रोगसित तिनीहरूले लडिरहनुपरेको छ भने नि? “साहसको वचन” बोलेर तपाईं त्यस्ता भाइबहिनीलाई बलियो बनाउन सक्नुहुन्छ।—अय्यू. १६:५.
यहोवा र उहाँले गरेका प्रबन्धहरूमार्फत भाइबहिनीलाई आशा र बल दिन वक्ताको रूपमा तपाईंले पाएको मौकाको सदुपयोग गर्नुहोस्।—रोमी १५:१३; एफि. ६:१०.
यहोवाले गरेका कामहरू सम्झाउनुहोस्। विगतमा यहोवाले आफ्ना मानिसहरूलाई कठिन अवस्थामा पर्दा कसरी मदत गर्नुभयो भनेर बताउनु श्रोतालाई साहसी हुन उत्प्रेरित गर्ने सबैभन्दा राम्रो तरिका हो।—रोमी १५:४.
प्रतिज्ञा गरिएको देशमा इस्राएलका शत्रुहरूले कब्जा जमाइरहेका थिए र इस्राएलीहरू उक्त देशमा प्रवेश गर्नै लागेका थिए। त्यसैकारण यहोशूलाई “प्रोत्साहन” दिनू र “साहसिलो” बनाउनू भनेर यहोवाले मोशालाई अह्राउनुभयो। मोशाले यो काम कसरी गरे? यहोशूको उपस्थितिमा मोशाले सारा इस्राएलीलाई तिनीहरूले मिश्र छोड्दा यहोवाले तिनीहरूको लागि के गरिदिनुभयो, त्यसबारे सम्झना गराए। (व्यव. ३:२८; ७:१८) यहोवाले एमोरीहरूमाथि पटक-पटक विजयी तुल्याउनुभएको कुरा पनि मोशाले बताए। त्यसपछि मोशाले यहोशूलाई यस्तो आग्रह गरे: “बलियो र साहसी होऊ!” (व्यव. ३१:१-८) भाइबहिनीलाई प्रोत्साहन दिने बेला के तपाईं तिनीहरूको लागि यहोवाले पहिल्यै गरेका कुराहरू सम्झाएर तिनीहरूलाई बलियो हुन मदत दिंदै हुनुहुन्छ?
कहिलेकाहीं भाइबहिनी समस्यै समस्याले गर्दा असाध्यै दबिएको महसुस गर्छन् र परमेश्वरको राज्यका आशिष्हरू अनुभव गर्नै नपाइने हो कि भनेर चिन्ता गर्छन्। यहोवाका प्रतिज्ञाहरू भरोसायोग्य छन् भनी तिनीहरूलाई याद गराउनुहोस्।—यहो. २३:१४.
कुनै-कुनै देशमा हाम्रा भाइबहिनीलाई सरकारले सुसमाचार प्रचार गर्न प्रतिबन्ध लगाएको छ। त्यस्तो अवस्थामा मायालु एल्डरहरूले येशू ख्रीष्टका प्रेषितहरूको अनुभव बताएर सँगी विश्वासीहरूलाई बलियो बनाउन सक्छन्। (प्रेषि. ४:१–५:४२) परमेश्वरले कसरी अवस्थालाई आशा नै नगरेको तरिकामा मोड्नुभयो भनेर बुझाउन एस्तरको पुस्तकको घटनालाई जोड दिनुभयो भने निश्चय नै भाइबहिनीले त्यसबाट साहसी हुन उत्प्रेरणा पाउनेछन्।
कोही-कोही कहिलेकाहीं मण्डलीका सभाहरूमा उपस्थित त हुन्छन् तर खासै प्रगति भने गर्दैनन्। विगतको आफ्नो खराब जीवनशैलीको कारण परमेश्वरले कहिल्यै क्षमा दिनुहुन्न होला भन्ने तिनीहरूलाई लाग्न सक्छ। यस्ता मानिसहरूलाई तपाईं यहोवाले राजा मनश्शेसित कस्तो व्यवहार गर्नुभयो भनेर बताउन सक्नुहुन्छ। (२ इति. ३३:१-१६) अथवा कोरिन्थका मानिसहरूले आफ्नो जीवनशैली परिवर्तन गरेर ख्रीष्टियन बनेको अनि परमेश्वरले तिनीहरूलाई असल ठहराउनुभएको कुरा बताउन सक्नुहुन्छ होला।—१ कोरि. ६:९-११.
परमेश्वरको अनुमोदन गुमाएकोले नै समस्याहरू भोग्नुपरेको हो भन्ने कसै-कसैलाई लागेको छ कि? त्यसो हो भने तिनीहरूलाई अय्यूबले भोगेको परीक्षाबारे र यहोवाप्रति सत्यनिष्ठ रहिरहेकोले तिनले पाएको प्रशस्त आशिष्बारे सम्झाउन सक्नुहुन्छ। (अय्यू. १:१-२२; १०:१; ४२:१२, १३; भज. ३४:१९) पाप गरेकोले नै अय्यूबले दुःख भोग्नुपरेको हो भनी झूटो सान्त्वना दिन आएका तिनका साथीहरूले आरोप लगाए। (अय्यू. ४:७, ८; ८:५, ६) तर अर्कोतर्फ हेर्ने हो भने पावल र बर्णाबासले चेलाहरूलाई बल दिन र “विश्वासमा रहिरहन प्रोत्साहन दिंदै यसो भने: ‘हामी धेरै सङ्कष्ट सहेर परमेश्वरको राज्यमा पस्नेछौं।’” (प्रेषि. १४:२१, २२) अहिले पनि सङ्कष्ट आइपर्दा सबै ख्रीष्टियनले धैर्य गर्नै पर्छ भनेर आशा गरिएको छ र यसरी धैर्य गर्दा परमेश्वर त्यसको असाध्यै कदर गर्नुहुन्छ भन्ने कुरा बताएर तपाईं पनि पावल र बर्णाबासले जस्तै सङ्कष्ट भोगिरहेका भाइबहिनीलाई बलियो बनाउन सक्नुहुन्छ।—हितो. २७:११; मत्ती २४:१३; रोमी ५:३, ४; २ तिमो. ३:१२.
यहोवाका प्रतिज्ञाहरू तिनीहरूको आफ्नै जीवनमा कसरी पूरा भएका छन्, त्यसबारे सोच्न श्रोतालाई प्रोत्साहन दिनुहोस्। तपाईंले यसरी सम्झाउँदा आफ्नो प्रतिज्ञाबमोजिम नै यहोवाले कसरी तिनीहरूलाई व्यक्तिगत रूपमा मदत गर्नुभएको छ भनी तिनीहरूले बुझ्नेछन्। भजन ३२:८ यसो भन्छ: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।” यहोवाले कसरी डोऱ्याउनुभएको छ वा बल दिनुभएको छ भनी सम्झन श्रोतालाई मदत गर्नुहोस्। त्यसो गर्दा परमेश्वरले तिनीहरूको ख्याल राख्नुहुन्छ र अहिले जस्तोसुकै परीक्षा भोग्नुपरे तापनि त्यसको सामना गर्न मदत गर्नुहुन्छ भनी व्यक्तिगत तवरमै बुझ्न तपाईंले तिनीहरूलाई सघाइरहेको हुनेछ।—यशै. ४१:१०, १३; १ पत्रु. ५:७.
परमेश्वरले अहिले गरिरहेका कामहरूमा खुसी व्यक्त गर्नुहोस्। प्रोत्साहन दिन यहोवाले अहिले गरिरहेका कामहरूतर्फ भाइबहिनीको ध्यान खिच्नुहोस्। यहोवाले यी काम गरेकोमा तपाईंलाई पनि खुसी लागेको छ भन्ने कुरा व्यक्त गर्दै यी कामबारे बताउँदा तपाईंको कुरा सुन्नेहरू पनि उहाँले गरेका कामहरूको लागि मनैदेखि खुसी हुनेछन्।
जीवनमा आइपर्ने समस्याहरूको सामना गर्न यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ, विचार गर्नुहोस्। उहाँले हामीलाई जीवन बिताउने सबैभन्दा उत्तम मार्ग देखाउनुभएको छ। (यशै. ३०:२१) अपराध, अन्याय-अत्याचार, गरिबी, रोगबिमार र मृत्युको कारण के हो र यी सबै समस्या कसरी हटाइनेछ भनी उहाँले बताउनुभएको छ। उहाँले हामीलाई मायालु भाइबहिनी दिनुभएको छ र प्रार्थना गर्ने सुअवसर पनि दिनुभएको छ। उहाँको साक्षी हुने सुअवसर पनि उहाँले हामीलाई सुम्पनुभएको छ। ख्रीष्ट स्वर्गमा राजा भइसक्नुभयो र यस युगको अन्त हुनै लागेको छ भनेर उहाँले हामीलाई बुझाउनुभएको छ।—प्रका. १२:१-१२.
हाम्रो मण्डलीका सभा, सम्मेलन र अधिवेशनहरू पनि उहाँले दिएका आशिष् हुन्। यी प्रबन्धबारे कृतज्ञ हुँदै कुरा गर्नुभयो भने भाइबहिनीसित सँगै भेला हुने कुरालाई गम्भीरतासाथ हेर्ने श्रोताको सङ्कल्पलाई तपाईंले अझ बलियो बनाउनुहुनेछ।—हिब्रू १०:२३-२५.
प्रचारमा हामीले गरेको प्रयासमाथि यहोवाले आशिष् दिइरहनुभएको छ भनेर देखाउने रिपोर्टहरू बताउँदा पनि भाइबहिनीले बल पाउनेछन्। प्रथम शताब्दीमा पावल र बर्णाबास यरूशलेमतर्फ जाँदा तिनीहरूले सबै भाइबहिनीलाई अन्यजातिका मानिसहरूले गरेको धर्म परिवर्तनबारे सविस्तार सुनाए। यो कुरा सुनेर भाइबहिनीहरू “असाध्यै रमाए।” (प्रेषि. १५:३) तपाईं पनि भाइबहिनीलाई उत्थानदायी अनुभवहरू सुनाएर आनन्दित बनाउन सक्नुहुन्छ।
यहोवाको सेवामा गरिरहेका कामहरूको महत्त्व बुझ्न प्रत्येक श्रोतालाई मदत गर्नुभयो भने पनि तिनीहरूले प्रोत्साहन पाउन सक्छन्। ख्रीष्टियन सेवामा तिनीहरूले गरिरहेका कामहरूको प्रशंसा गर्नुहोस्। ढल्कँदो उमेर र रोगबिमारको कारण चाहेजति गर्न नसके तापनि विश्वासी भई धैर्य गरिरहेकाहरूको प्रशंसा गर्नुहोस्। यहोवाको नामको निम्ति तिनीहरूले देखाएको प्रेम उहाँले बिर्सनुहुन्न भनेर तिनीहरूलाई सम्झाउनुहोस्। (हिब्रू ६:१०) परीक्षाले खारिएको विश्वास अनमोल धन हो। (१ पत्रु. १:६, ७) यो कुरा हाम्रा भाइबहिनीलाई सम्झाउनुपर्छ।
भविष्यको आशाबारे भावसहित बोल्नुहोस्। भविष्यबारे बाइबलमा गरिएका प्रतिज्ञाहरू परमेश्वरलाई प्रेम गर्नेहरू सबैका लागि प्रोत्साहनको प्रमुख स्रोत हो। धेरैजसो श्रोताहरूले यी प्रतिज्ञाबारे सुन्दै आएका होलान्। तर तपाईंले यी प्रतिज्ञाबारे बताउँदा आफू त्यसप्रति कृतज्ञ भएको देखाउनुभयो भने ती प्रतिज्ञालाई जीवन्त बनाउन सक्नुहुन्छ, ती अवश्य पूरा हुनेछन् भनी विश्वस्त बनाउन सक्नुहुन्छ र श्रोताहरूको हृदय कृतज्ञताले भरिदिन सक्नुहुन्छ। ईश्वरतान्त्रिक सेवा स्कूलमा सिकेका कुराहरू लागू गर्दा तपाईंले यसो गर्ने मदत पाउनुहुनेछ।
यहोवा स्वयम् आफ्ना जनको लागि प्रोत्साहन र बलको मूल स्रोत हुनुहुन्छ। तर ती जनहरूलाई प्रोत्साहन र बल दिने काममा तपाईं पनि उहाँसँगै भाग लिन सक्नुहुन्छ। मण्डलीमा भाषण दिने मौका पाउँदा अरूलाई प्रोत्साहन र बल दिने मौकाको सदुपयोग गर्नुहोस्।