-
हाम्रा ख्रिष्टियन सभाहरूमा तपाईँले कस्तो अनुभव गर्नुहुनेछ?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ ५
हाम्रा ख्रिष्टियन सभाहरूमा तपाईँले कस्तो अनुभव गर्नुहुनेछ?
अर्जेन्टिना
सियरा लियोन
बेल्जियम
मलेसिया
मानिसहरू आजकल धार्मिक कार्यक्रमहरूमा उपस्थित हुन छोडेका छन्। किन? किनभने त्यहाँ जाँदा तिनीहरूले जीवनका महत्त्वपूर्ण प्रश्नहरूको जवाफ वा कुनै सान्त्वना पाएका छैनन्। तर यहोवाका साक्षीहरूले आयोजना गरेको सभामा जाँदा तपाईँले कस्तो अनुभव गर्नुहुनेछ? त्यहाँ तपाईँले के पाउनुहुनेछ?
एकअर्कालाई माया गर्ने र चासो देखाउने व्यक्तिहरूबीच हुन पाउँदाको आनन्द। प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई विभिन्न मण्डलीमा व्यवस्थित गरिएको थियो। तिनीहरू एकसाथ भेला भएर परमेश्वरको उपासना गर्थे, धर्मशास्त्रको अध्ययन गर्थे र एकअर्कालाई प्रोत्साहन दिन्थे। (हिब्रू १०:२४, २५) त्यसरी आफ्ना ख्रिष्टियन भाइबहिनीसित मायालु वातावरणमा एकसाथ भेला हुँदा तिनीहरूले साँचो मित्रहरूमाझ भएको महसुस गर्थे। (२ थिस्सलोनिकी १:३; ३ युहन्ना १४) आज हामी पनि तिनीहरूको उदाहरण अनुकरण गर्छौँ र त्यस्तै प्रकारको आनन्द अनुभव गर्छौँ।
बाइबल सिद्धान्तहरू लागू गर्न सिक्दा हुने फाइदा। पहिले-पहिलेका व्यक्तिहरूजस्तै आज पनि पुरुष, स्त्री र केटाकेटीहरू एकसाथ भेला हुन्छन्। सिकाउन निपुण व्यक्तिहरूले बाइबलका सिद्धान्तहरू जीवनमा कसरी लागू गर्न सकिन्छ भनेर बाइबलबाटै बुझाउँछन्। (व्यवस्था ३१:१२; नहेम्याह ८:८) श्रोताहरूसितको छलफल र गीतमा सबैले भाग लिन सक्छन्। यसरी हामी आफ्नो ख्रिष्टियन आशा व्यक्त गर्ने मौका पाउँछौँ।—हिब्रू १०:२३.
परमेश्वरमाथिको विश्वास बलियो बनाउन पाउँदाको फाइदा। प्रेषित पावलले आफ्नो समयको एउटा मण्डलीलाई यस्तो लेखे: “म तिमीहरूलाई भेट्ने तीव्र इच्छा गर्दै छु, ताकि . . . मैले र तिमीहरूले, हामी दुवैले आ-आफ्नो विश्वासद्वारा एकअर्कालाई प्रोत्साहन दिन सकौँ।” (रोमी १:११, १२) सङ्गी ख्रिष्टियनहरूसित नियमित रूपमा भेला हुँदा यसले हाम्रो विश्वासलाई बलियो बनाउँछ अनि बाइबल सिद्धान्तअनुसारै जीवन बिताउन हामी अझ कटिबद्ध हुन्छौँ।
हाम्रो मण्डलीको आउँदो सभामा उपस्थित भई यी कुराहरू आफैले अनुभव गर्नुभए कसो होला? तपाईँलाई सबैले न्यानो स्वागत गर्नेछन्। त्यहाँ उपस्थित हुन कुनै शुल्क लाग्दैन र त्यहाँ कुनै चन्दा पनि उठाइँदैन।
मण्डलीका सभाहरू सञ्चालन गर्दा हामी कुन नमुना पछ्याउँछौँ?
ख्रिष्टियन सभाहरूमा उपस्थित भएर हामी कसरी लाभ उठाउन सक्छौँ?
-
-
सङ्गी ख्रिष्टियनहरूसँगको सङ्गतिबाट हामीलाई कस्तो फाइदा हुन्छ?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ ६
सङ्गी ख्रिष्टियनहरूसँगको सङ्गतिबाट हामीलाई कस्तो फाइदा हुन्छ?
मडागास्कर
नर्वे
लेबनान
इटाली
घना जङ्गल पार गर्नुपरे पनि वा मौसम प्रतिकूल भए पनि हामी सधैँ ख्रिष्टियन सभाहरूमा जान्छौँ। जीवनका चुनौतीहरू अनि दिनभरिको कामपछि हुने थकानको बाबजुद यहोवाका साक्षीहरू सङ्गी ख्रिष्टियनहरूसित सङ्गत गर्न सक्दो प्रयास गर्छन्। किन?
यो हाम्रै हितको लागि हो। पावलले मण्डलीका दाजुभाइ दिदीबहिनीबारे बताउँदै उनीहरूप्रति ‘गहिरो चासो राख्न’ सल्लाह दिए। (हिब्रू १०:२४) यस अभिव्यक्तिको अर्थ हामीले एकअर्कालाई राम्रोसँग चिन्नुपर्छ। पावलका उक्त शब्दहरूले हामीलाई अरूको ख्याल राख्न प्रोत्साहन दिन्छ। मण्डलीका अरू ख्रिष्टियन परिवारलाई राम्रोसँग चिन्दा तिनीहरूमध्ये कतिपयले हाम्रो जस्तै समस्याहरू भोगेर त्यसलाई सफलतापूर्वक पार गरेको कुरा थाह पाउन सक्छौँ। हामीले तिनीहरूबाट मदत पनि पाउन सक्छौँ।
दिगो मित्रता गाँस्न मदत गर्छ। हाम्रा सभामा भेला हुने दाजुभाइ दिदीबहिनीहरू हामीसित सामान्य चिनजान भएका व्यक्तिहरू मात्र होइनन् तर घनिष्ठ मित्रहरू हुन्। कहिलेकाहीँ हामी सँगै भेला भएर उत्थानदायी मनोरञ्जन पनि गर्छौँ। यसरी सरसङ्गत गर्दा कस्तो फाइदा हुन्छ? हामी एकअर्काको अझ कदर गर्न सिक्छौँ र हामीबीचको प्रेमको बन्धन पनि झन् बलियो हुन्छ। साथै हामीले बलियो मित्रता गाँसिसकेकोले आफ्ना मित्रहरूलाई कुनै समस्या पर्दा मदत गर्न तुरुन्तै तयार हुनेछौँ। (हितोपदेश १७:१७) अनि मण्डलीका सबै सदस्यसित सङ्गत गरेर “एकअर्काको ख्याल” गरेको देखाउँछौँ।—१ कोरिन्थी १२:२५, २६.
हामी तपाईँलाई परमेश्वरको इच्छाअनुसार जीवन बिताउनेहरूलाई साथी बनाउन आग्रह गर्छौँ। यहोवाका साक्षीहरूमाझ तपाईँले त्यस्ता साथीहरू पाउनुहुनेछ। आशा छ, हामीसित सरसङ्गत गर्नदेखि तपाईँलाई कुनै पनि कुराले रोक्नेछैन।
सभामा एकसाथ भेला हुँदा कसरी हाम्रै फाइदा हुन्छ?
तपाईँ कहिले हाम्रो सभामा आएर त्यहाँ उपस्थित हुनेहरूसित चिनजान गर्न चाहनुहुन्छ?
-
-
हाम्रा सभाहरूमा कस्ता कार्यक्रम हुन्छन्?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ ७
हाम्रा सभाहरूमा कस्ता कार्यक्रम हुन्छन्?
न्युजिल्यान्ड
जापान
युगाण्डा
लिथुआनिया
सुरु-सुरुका ख्रिष्टियन सभाहरूमा मुख्यतया भजन, प्रार्थना अनि धर्मशास्त्रको अध्ययन र छलफल हुन्थ्यो। त्यहाँ कुनै धार्मिक रीतिथिति हुँदैनथ्यो। (१ कोरिन्थी १४:२६) आज हाम्रा सभाहरू पनि सुरु-सुरुका ती ख्रिष्टियन सभाहरूजस्तै छन्।
सभामा दिइने निर्देशन बाइबलआधारित र व्यावहारिक हुन्छ। हरेक शनिबार वा आइतबार मण्डलीका सबै जना एक ठाउँमा भेला हुन्छन्। त्यहाँ सुरुमा ३० मिनेट लामो बाइबलआधारित भाषण दिइन्छ। त्यस भाषणमा बाइबलका शिक्षाहरू जीवनमा कसरी लागू गर्न सकिन्छ अनि हामी बाँचिरहेको समयबारे बाइबल के भन्छ भनेर बताइन्छ। हामी सबैलाई वक्तासँगसँगै आ-आफ्नो बाइबल पल्टाउन आग्रह गरिन्छ। भाषणपछि एक घण्टाको लागि अर्को सभा, प्रहरीधरहरा अध्ययन हुन्छ। यो सभामा प्रहरीधरहरा-को अध्ययन संस्करणबाट एउटा लेख छलफल गरिन्छ। यसमा मण्डलीका सबैले भाग लिन सक्छन्। यस्तो छलफलबाट हामी आफ्नो जीवनमा बाइबलका निर्देशनहरू लागू गर्न मदत पाउँछौँ। संसारभरिका १ लाख २० हजारभन्दा धेरै मण्डलीमा प्रहरीधरहरा-को एउटै लेख अध्ययन गरिन्छ।
शिक्षण कला तिखार्ने मदत पाउँछौँ। हप्ताको बीचतिर कुनै एक साँझ हामी फेरि सभाको लागि एकसाथ भेला हुन्छौँ। त्यो सभा हो, हाम्रो ख्रिष्टियन जीवन र प्रचारकार्य। यो सभामा हामी जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-मा दिइएका सामग्रीहरू छलफल गर्छौँ। ‘बाइबलमा पाइने अनमोल धन’ भन्ने पहिलो भागबाट हामी बाइबलको खास अंशबारे अझ राम्ररी बुझ्न सक्छौँ। यस भागबाट लाभ उठाउन पहिल्यै तयारी गर्नुपर्छ। ‘प्रचार गर्ने सीप तिखारौँ’ भन्ने भागबाट बाइबलको कुरा अरूसित कसरी बाँड्ने भनेर सिक्न सक्छौँ। यस भागमा सल्लाहकारले विद्यार्थीको पढ्ने र बोल्ने कला तिखार्न आवश्यक सल्लाह पनि दिन्छन्। (१ तिमोथि ४:१३) ‘ख्रिष्टियन जीवन’ भन्ने अन्तिम भागमा हामी बाइबलका सिद्धान्तहरू जीवनमा लागू गर्ने तरिका सिक्न सक्छौँ। साथै यस भागमा हुने प्रश्न-उत्तरमार्फत बाइबलका गहिरा-गहिरा कुराहरू सिक्न सक्छौँ।
हाम्रा सभाहरूमा उपस्थित हुँदा त्यहाँ पाइने बाइबल शिक्षाको गुणस्तर देखेर तपाईँ पक्कै प्रभावित हुनुहुनेछ।—यसैया ५४:१३.
यहोवाका साक्षीहरूको सभामा कस्ता कुराहरू हुन्छन्?
हाम्रो कुनचाहिँ सभामा तपाईँ उपस्थित हुन चाहनुहुन्छ?
-
-
हामी किन सुकिलो लुगा लगाएर अनि चिटिक्क परेर सभामा जान्छौँ?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ ८
हामी किन सुकिलो लुगा लगाएर अनि चिटिक्क परेर सभामा जान्छौँ?
आइसल्याण्ड
मेक्सिको
गिनीबिसाउ
फिलिपिन्स
यस पुस्तिकामा भएका कतिपय चित्रमा यहोवाका साक्षीहरू सभामा उपस्थित भएको दृश्य देखाइएको छ। तिनीहरू कस्तो चिटिक्क परेका छन्, के तपाईँले याद गर्नुभयो? हामी किन आफ्नो लुगा अनि कोरीबाटीमा यत्तिको ध्यान दिन्छौँ?
परमेश्वरप्रति आदर देखाउन। हुनत परमेश्वर हाम्रो बाहिरी रूप मात्र हेर्नुहुन्न। (१ समुएल १६:७) तैपनि परमेश्वरको उपासना गर्न भेला हुँदा हामी उहाँलाई र सङ्गी उपासकहरूलाई आदर देखाउन चाहन्छौँ। राजा वा राष्ट्रपतिको अघि उपस्थित हुनुपऱ्यो भने हामी के गर्छौँ? तिनको ओहदाप्रति आदर देखाउन हामी आफ्नो रूपरङमा पक्कै पनि ध्यान दिन्छौँ। त्यसरी नै “पृथ्वीका न्यायकर्ता” यहोवालाई अनि उहाँको उपासना गरिने ठाउँलाई कत्तिको आदर गर्छौँ भन्ने कुरा सभामा उपस्थित हुँदाको हाम्रो रूपरङबाट देखिन्छ।—उत्पत्ति १८:२५.
हामी कस्तो मूल्यमान्यताअनुसार जीवन बिताउँछौँ, त्यो देखाउन। बाइबलले ख्रिष्टियनहरूलाई ‘शालीनता र सुझबुझ’ झल्किने किसिमको लुगा लगाउन सल्लाह दिन्छ। (१ तिमोथि २:९, १०) “शालीनता” झल्किने लुगाहरू भड्किलो, उत्तेजना जगाउने अनि जीउ देखिने किसिमका हुँदैनन्। साथै “सुझबुझ” चलाएका छौँ भने हामीले छानेको लुगा आकर्षक हुनेछ तर अनावश्यक रूपमा अरूको ध्यान खिच्ने, बेढङ्गी वा उत्ताउलो पाराको हुनेछैन। यी सिद्धान्तहरू लागू गर्दा व्यक्तिगत छनौट गर्ने मौका पक्कै साँघुरो हुँदैन। हाम्रो बोलीवचनले मात्र होइन तर सुहाउँदो र आकर्षक रूपरङले पनि “हाम्रा उद्धारक, परमेश्वरको शिक्षाको शोभा” बढाउँछ र “उहाँको महिमा” गर्छ। (तितस २:१०; १ पत्रुस २:१२) यसरी सुकिलो लुगा लगाएर अनि चिटिक्क परेर सभामा जाँदा यहोवाको उपासनालाई अरूले हेर्ने नजर फरक हुन सक्छ।
आफूसँग भएको साधारण लुगा लगाएर तपाईँ राज्यभवन आउन सक्नुहुन्छ। तपाईँको लुगा महङ्गो अनि फेसनदार हुनु पर्दैन। सभामा उपस्थित हुनको लागि उपयुक्त, सफा अनि सुहाउँदो लुगा भए पुग्छ।
परमेश्वरको उपासना गर्दा आफ्नो लुगामा विचार पुऱ्याउनु किन महत्त्वपूर्ण छ?
आफ्नो लुगा अनि कोरीबाटीको सन्दर्भमा कस्ता सिद्धान्तहरू विचार गर्नुपर्छ?
-
-
सभाको लागि तयारी गर्ने सबैभन्दा राम्रो तरिका के हो?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ ९
सभाको लागि तयारी गर्ने सबैभन्दा राम्रो तरिका के हो?
कम्बोडिया
युक्रेन
तपाईँ यहोवाको साक्षीसँग अध्ययन गर्दै हुनुहुन्छ भने हरेक चोटि अध्ययन गर्नुअघि तयारी गर्नुहुन्छ होला। मण्डलीको सभामा उपस्थित हुनुअघि पनि त्यसै गऱ्यौँ भने पूरापूर लाभ उठाउन सक्छौँ। तयारी गर्ने राम्रो तालिका बनायौँ भने अझ धेरै फाइदा हुन्छ।
कहाँ र कुन बेला अध्ययन गर्ने भनी निश्चित गर्नुहोस्। तपाईँ कुन समयमा राम्ररी ध्यान दिन सक्नुहुन्छ? दिनचर्या सुरु गर्नुभन्दा अगाडि बिहान सबेरै कि राती बच्चाहरू सुतिसकेपछि? अध्ययन गर्न लामो समय निकाल्न सक्नुहुन्न भने पनि कति समय निकाल्न सक्नुहुन्छ, पक्का गर्नुहोस्। त्यो समयमा कुनै पनि कुराले बाधा पुऱ्याउन नदिनुहोस्। शान्त ठाउँ खोज्नुहोस्। रेडियो, टिभी र मोबाइलजस्ता कुराहरूले ध्यान भङ्ग गर्न नदिनुहोस्। अध्ययन गर्नुअघि प्रार्थना गर्नुभयो भने त्यस दिनको चिन्ता-फिक्रीमा नडुबी परमेश्वरको वचनमा ध्यान दिन सक्नुहुनेछ।—फिलिप्पी ४:६, ७.
चिन्ह लगाउनुहोस् अनि भाग लिन तयारी गर्नुहोस्। सबैभन्दा पहिले विषयवस्तुलाई सरसर्ती हेर्नुहोस्। उक्त लेख वा अध्यायको शीर्षकलाई ध्यान दिनुहोस्, त्यहाँ भएका उपशीर्षकहरू मूल विषयसित कसरी सम्बन्धित छन्, विचार गर्नुहोस्। लेखमा भएका चित्रहरू अनि पुनरावृत्ति गर्नका लागि दिइएका प्रश्नहरूले मुख्य बुँदाहरूलाई जोड दिने हुँदा त्यसमा पनि ध्यान दिनुहोस्। त्यसपछि अनुच्छेद पढ्नुहोस्। अनि त्यस अनुच्छेदको लागि सोधिएको प्रश्नको जवाफ खोज्नुहोस्। उल्लेख गरिएका पदहरू बाइबलबाटै पढ्नुहोस् अनि ती पदहरू विषयवस्तुसँग कसरी मेल खान्छन्, सोच्नुहोस्। (प्रेषित १७:११) प्रश्नको जवाफ भेट्टाएपछि अनुच्छेदका केही मुख्य शब्द वा वाक्यांशमा चिन्ह लगाउनुहोस्। यसरी चिन्ह लगाउनुभयो भने सभाको बेला जवाफ भेट्टाउन सजिलो हुनेछ। त्यसपछि सभामा हात उठाएर आफ्नै शब्दमा छोटो टिप्पणी दिनुभए कसो होला?
हरेक हप्ता सभामा प्रस्तुत गरिने विभिन्न विषयलाई विचार गर्दा तपाईँले बाइबलबारे आफ्नो ज्ञानको “भण्डार”-मा नयाँ कुरा थप्दै जान सक्नुहुनेछ।—मत्ति १३:५१, ५२.
सभाहरूको लागि तयारी गर्न तपाईँ कस्तो तालिका बनाउन सक्नुहुन्छ?
सभामा टिप्पणी दिन तपाईँ कसरी तयारी गर्न सक्नुहुन्छ?
-
-
पारिवारिक उपासना भनेको के हो?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ १०
पारिवारिक उपासना भनेको के हो?
दक्षिण कोरिया
ब्राजिल
अस्ट्रेलिया
गिनी
यहोवा सबै परिवारले उहाँसित र एकअर्कासित घनिष्ठ सम्बन्ध गाँसेको चाहनुहुन्छ। त्यसैले उहाँले परिवारहरूलाई एकसाथ समय बिताउनू भनी धेरै अघि आज्ञा दिनुभएको थियो र त्यो आज्ञा परिवर्तन भएको छैन। (व्यवस्था ६: ६, ७) त्यसैले यहोवाका साक्षीहरू परिवारै मिलेर उपासना गर्न हरेक हप्ता केही समय छुट्ट्याउँछन्। यसरी भेला हुँदा तिनीहरू आरामदायी वातावरणमा आफ्नो खास आवश्यकतासित सम्बन्धित विषयहरूबारे छलफल गर्छन्। तपाईँ एक्लै बस्नुहुन्छ भने पनि उपासनाको लागि समय छुट्ट्याएर बाइबलसम्बन्धी कुनै एउटा विषयमा अध्ययन गर्न सक्नुहुन्छ।
यहोवासित अझ नजिक हुने समय। “परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकुब ४:८) यहोवाको लिखित वचन बाइबलबाट उहाँको व्यक्तित्व र व्यवहारबारे सिक्दै जाँदा उहाँलाई अझ राम्ररी चिन्न सक्छौँ। पारिवारिक उपासना सुरु गर्ने एउटा सजिलो तरिका सँगै बसेर ठूलो स्वरले बाइबल पढ्नु हो। उदाहरणको लागि, ‘जीवन र प्रचारकार्य’ सभाको तालिकामा हरेक हप्ता बाइबल पढाइको लागि छुट्ट्याइएको भाग पढ्न सकिन्छ। परिवारका सबै सदस्य मिलेर पालैपालो पढ्न र त्यसबाट आफूले सिकेको कुरा सँगै छलफल गर्न सकिन्छ।
परिवारका सदस्यहरूसित अझ घनिष्ठ हुने समय। परिवार मिलेर बाइबल अध्ययन गर्दा श्रीमान्-श्रीमती अनि आमाबुबा-छोराछोरीबीचको बन्धन बलियो हुन्छ। यो सबैको लागि रमाइलो समय हुनुपर्छ अनि परिवारका सबै सदस्यलाई ‘यो दिन कहिले आउला’ जस्तो लाग्नुपर्छ। आमाबुबाले छोराछोरीको उमेरलाई विचार गरेर विभिन्न व्यावहारिक विषयहरू छलफल गर्न सक्छन्। जस्तै: प्रहरीधरहरा र ब्यूँझनुहोस्!-मा भएको कुनै लेख अथवा हाम्रो वेबसाइट jw.org मा भएको कुनै सामग्री प्रयोग गर्न सक्छन्। छोराछोरीले स्कुलमा भोगिरहेको समस्याबारे कुराकानी गरेर त्यसको सामना गर्ने तरिकाबारे छलफल गर्न सकिन्छ। साथै JW ब्रोडकास्टिङ (tv.jw.org) हेरेर सिकेको कुरा सँगै छलफल गरे कसो होला? सभाहरूमा गाइने गीतको अभ्यास पनि गर्न सकिन्छ। अनि पारिवारिक उपासना सिद्धिएपछि हल्का खाजा खाएर रमाइलो गर्न सकिन्छ।
पारिवारिक उपासना भनेको हरेक हप्ता पूरै परिवार मिलेर यहोवाको उपासना गर्ने विशेष समय हो। यसो गर्दा सबै जना परमेश्वरको वचनमा रमाउन सक्नेछन् अनि यहोवाले तपाईँको प्रयासमा प्रशस्त आशिष् दिनुहुनेछ।—भजन १:१-३.
पारिवारिक उपासनाको लागि हामी किन समय छुट्ट्याउँछौँ?
पारिवारिक उपासना सबैको लागि रमाइलो बनाउन आमाबुबाले के गर्न सक्छन्?
-
-
हामी किन ठूलठूला जमघटमा उपस्थित हुन्छौँ?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ ११
हामी किन ठूलठूला जमघटमा उपस्थित हुन्छौँ?
मेक्सिको
जर्मनी
बोत्स्वाना
निकारागुआ
इटाली
यी मानिसहरूको मुहार किन हँसिलो देखिन्छ? तिनीहरू यहोवाका साक्षीहरूको जमघटमा उपस्थित भइरहेका छन्। परमेश्वरका विगतका सेवकहरूलाई वर्षको तीन चोटि एकसाथ भेला हुन आज्ञा दिइएको थियो। (व्यवस्था १६:१६) तिनीहरूजस्तै हामी पनि ठूलो समूहमा भेला हुन पाउँदा रमाउँछौँ। हरेक वर्ष हामी तीन वटा ठूलठूला जमघटमा उपस्थित हुन्छौँ। ती हुन्: दुइटा एक दिने सम्मेलन र एउटा तीन दिने अधिवेशन। यस्ता जमघटमा उपस्थित हुँदा हामीलाई कस्तो लाभ हुन्छ?
हामीबीचको बन्धन बलियो हुन्छ। पुरातन समयका इस्राएलीहरूले “समुदायमा यहोवाको प्रशंसा” गर्थे। (भजन २६:१२; १११:१) त्यसरी नै हामी पनि एकसाथ उहाँको उपासना गर्न पाउँदा रमाउँछौँ। यसरी एकसाथ भेला हुँदा अरू मण्डलीका अनि कहिलेकाहीँ त अर्कै मुलुकका यहोवाका साक्षीहरूलाई भेट्ने र तिनीहरूसित चिनजान गर्ने मौकासमेत पाउँछौँ। मध्यान्तरमा कार्यक्रम स्थलमा खाजा खाँदै एकअर्कासित सङ्गत गर्नु पनि यस्ता आध्यात्मिक जमघटहरूको अर्को विशेषता हो। (प्रेषित २:४२) यस्ता जमघटहरूमा “सबै भाइहरूलाई” एकतामा बाँध्ने प्रेम आफ्नै आँखाले देख्न पाउँछौँ।—१ पत्रुस २:१७.
परमेश्वरको कुरा अझ राम्ररी बुझ्न मदत गर्छ। धर्मशास्त्र पढेर त्यसबारे राम्ररी बताइँदा इस्राएलीहरूले त्यसको अर्थ ‘बुझे।’ (नहेम्याह ८:८, १२) हामी पनि यस्ता जमघटमा बाइबलबाट थुप्रै निर्देशन पाउँछौँ र यसको निकै मोल गर्छौँ। हरेक कार्यक्रम बाइबलमा आधारित एउटा मूल विषयमा केन्द्रित हुन्छ। कार्यक्रममा रोचक भाषणहरू, विभिन्न भाग भएका गोष्ठीहरू र पुनःअभिनयहरू प्रस्तुत गरिन्छ। यस्ता प्रस्तुतिले हामीलाई परमेश्वरको इच्छाबमोजिम कसरी जीवन बिताउने भनेर सिकाउँछ। अहिलेको कठिन समयमा ख्रिष्टियनको रूपमा जीवन बिताउँदा आइपर्ने चुनौतीहरूलाई सफलतापूर्वक सामना गरिरहेकाहरूको अनुभव सुन्दा हामीले हरेस नखाई अघि बढिरहने हौसला पाउँछौँ। अधिवेशनमा बाइबलका विवरणहरूमा आधारित भिडियो-नाटक देखाइन्छ, जसबाट हामी थुप्रै व्यावहारिक पाठ सिक्न सक्छौँ। परमेश्वरप्रतिको समर्पणलाई जनसमक्ष प्रकट गर्न चाहनेहरूका लागि यस्ता जमघटहरूमा बप्तिस्मा गर्ने प्रबन्ध मिलाइएको हुन्छ।
ठूलठूला जमघटमा किन रमाइलो हुन्छ?
यस्ता जमघटमा उपस्थित भएर तपाईँ कस्तो लाभ उठाउन सक्नुहुन्छ?
-
-
हाम्रो प्रचारकार्यलाई व्यवस्थित बनाउन कस्तो प्रबन्ध गरिएको छ?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ १२
हाम्रो प्रचारकार्यलाई व्यवस्थित बनाउन कस्तो प्रबन्ध गरिएको छ?
स्पेन
बेलारूस
हङकङ
पेरू
आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येसुले यसो भन्नुभयो: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ति २४:१४) तर पृथ्वीभरि प्रचार गर्न कसरी सम्भव हुने थियो? पृथ्वीमा छँदा येसुले बसाल्नुभएको नमुना पछ्याएर।—लुका ८:१.
हामी मानिसहरूलाई घरैमा भेट्ने प्रयास गर्छौँ। येसुले आफ्ना चेलाहरूलाई घर-घरमा गएर सुसमाचार प्रचार गर्ने तालिम दिनुभयो। (मत्ति १०:११-१३; प्रेषित ५:४२; २०:२०) प्रथम शताब्दीका ती प्रचारकहरूलाई निश्चित इलाकामा प्रचार गर्न खटाइएको थियो। (मत्ति १०:५, ६; २ कोरिन्थी १०:१३) आज पनि हाम्रो प्रचारकार्य सुव्यवस्थित छ। हरेक मण्डलीलाई आ-आफ्नै इलाका दिइएको छ। यस्तो प्रबन्धले गर्दा ‘मानिसहरूलाई प्रचार गर्नू र राम्ररी साक्षी दिनू’ भन्ने येसुको आज्ञा पालन गर्न सम्भव भएको छ।—प्रेषित १०:४२.
मानिसहरू जहाँ-जहाँ भेटिन्छन्, त्यहाँ-त्यहाँ प्रचार गर्ने प्रयास गर्छौँ। येसुले इनार, समुद्रको किनाराजस्ता सार्वजनिक ठाउँमा प्रचार गरेर पनि हाम्रो लागि उदाहरण बसाल्नुभयो। (मर्कुस ४:१; युहन्ना ४:५-१५) हामी पनि मानिसहरू जहाँ-जहाँ भेटिन्छन्, त्यहाँ-त्यहाँ तिनीहरूलाई बाइबलबारे बताउँछौँ। जस्तै: सडकमा, व्यापारिक इलाकामा, बस-स्टपमा, पार्कमा अथवा टेलिफोनमार्फत। हामी आफ्ना छिमेकी, सहकर्मी, सहपाठी र आफन्तलाई मौका मिल्नेबित्तिकै बाइबलबारे बताउँछौँ। यसरी विभिन्न मौकाको सदुपयोग गर्दै प्रचार गरेकोले लाखौँ मानिसले परमेश्वरले दिनुहुने “उद्धारको सुसमाचार” सुन्न पाएका छन्।—भजन ९६:२.
परमेश्वरको राज्यको सुसमाचार र यसले दिने भविष्यको आशाबारे तपाईँ कसलाई बताउन चाहनुहुन्छ? यो सुसमाचार सबैका लागि हो, त्यसैले जतिसक्दो छिटो अरूलाई पनि सुनाउनुहोस्।
हामीले केको “सुसमाचार” प्रचार गर्नुपर्छ?
येसुले प्रचार गर्नुभएको तरिका यहोवाका साक्षीहरूले कसरी अनुकरण गरिरहेका छन्?
-
-
अग्रगामी कसलाई भनिन्छ?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ १३
अग्रगामी कसलाई भनिन्छ?
क्यानाडा
घर-घरको प्रचारकार्य
बाइबल अध्ययन
व्यक्तिगत अध्ययन
“अग्रगामी” शब्दले अक्सर नयाँ ठाउँमा गएर कुनै कामको सुरुवात गर्ने व्यक्तिलाई बुझाउँछ। येसुलाई पनि एक अर्थमा अग्रगामी भन्न सकिन्छ। किन? किनभने जीवन बचाउने सन्देश सुनाउन र उद्धार पाउने बाटो खोल्न येसुलाई स्वर्गबाट पृथ्वीमा पठाइयो। (मत्ति २०:२८) ‘चेला बनाउने’ काममा सकेसम्म धेरै समय बिताएर आज येसुका अनुयायीहरूले उहाँको अनुकरण गर्दै छन्। (मत्ति २८:१९, २०) यी चेलाहरूमध्ये कोही-कोही अग्रगामीको रूपमा सेवा गर्छन्।
अग्रगामी भनेको प्रचारकार्यमा धेरैभन्दा धेरै समय बिताउने व्यक्ति हो। यहोवाका साक्षीहरू सबैले सुसमाचार प्रचार गर्छन्। तर कोही-कोहीले भने जीवनमा छाँटकाँट गरेर हरेक महिना प्रचारकार्यमा ७० घण्टा बिताउँछन्। तिनीहरूलाई नियमित अग्रगामी भनिन्छ। प्रचारकार्यमा धेरै समय बिताउन तिनीहरू थोरै समय मात्र काम गरे पुग्ने जागिर खान्छन्। कोही-कोहीलाई भने राज्य प्रचारकहरूको आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न विशेष अग्रगामी-को रूपमा नियुक्त गरिन्छ। तिनीहरू हरेक महिना १३० घण्टा वा त्योभन्दा धेरै समय प्रचारकार्यमा बिताउँछन्। यहोवाले आफ्ना आवश्यकताहरू पूरा गरिदिनुहुनेछ भनेर विश्वस्त हुँदै तिनीहरू सरल जीवन बिताउँछन्। (मत्ति ६:३१-३३; १ तिमोथि ६:६-८) तर यसरी प्रचारकार्यमा धेरै समय बिताउन नसक्नेहरूले पनि परिस्थितिले दिएको बेला महिनाको ३० वा ५० घण्टा प्रचारकार्यमा बिताउँछन्। तिनीहरूलाई सहायक अग्रगामी भनिन्छ।
अग्रगामीहरू परमेश्वर र मानिसहरूप्रतिको प्रेमले उत्प्रेरित भएर सेवा गर्छन्। येसुले जस्तै आज हामी पनि आफू वरपरका मानिसहरूले परमेश्वर र उहाँको उद्देश्यबारे जान्नु एकदमै जरुरी छ भन्ने महसुस गर्छौँ। (मर्कुस ६:३४) हामीसँग भएको ज्ञानले तिनीहरूलाई अहिल्यै मदत गर्नुका साथै भविष्यको लागि पक्का आशा पनि दिन्छ। अग्रगामीहरू छिमेकीप्रतिको प्रेमले उत्प्रेरित भई अरूलाई सुसमाचार सुनाउन आफ्नो समय र शक्ति खर्च गर्छन्। (मत्ति २२:३९; १ थिस्सलोनिकी २:८) यसो गर्दा अग्रगामीहरूको विश्वास बलियो हुन्छ, तिनीहरू यहोवासित घनिष्ठ हुन्छन् र अझ आनन्दित हुन सक्छन्।—प्रेषित २०:३५.
अग्रगामी कसलाई भनिन्छ?
अग्रगामी सेवा गर्न कसै-कसैलाई केले उत्प्रेरित गर्छ?
-
-
अग्रगामीहरूको लागि कस्तो तालिम उपलब्ध छ?आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
-
-
पाठ १४
अग्रगामीहरूको लागि कस्तो तालिम उपलब्ध छ?
अमेरिका
गिलियड स्कुल, प्याटर्सन, न्यु योर्क
पानामा
यहोवाको सङ्गठनले ईश्वरतान्त्रिक शिक्षा दिँदै आएको वर्षौँ भइसक्यो। पूर्ण-समय प्रचार गर्नेहरूको लागि विशेष तालिमको प्रबन्ध गरिन्छ। यस तालिमले तिनीहरूलाई “सेवाको काम राम्ररी पूरा” गर्न मदत गर्छ।—२ तिमोथि ४:५.
अग्रगामी सेवा स्कुल। नियमित अग्रगामीको रूपमा सेवा गरेको पहिलो वर्ष बितेपछि अग्रगामीहरूलाई छ दिने तालिम दिइन्छ। यो तालिम नजिकैको राज्यभवनमा दिइन्छ। यस तालिमको उद्देश्य अग्रगामीहरूलाई यहोवासितको सम्बन्ध अझै बलियो बनाउन, प्रचारकार्यको विभिन्न पक्षमा अझै सिपालु हुन र यहोवाको सेवामा जोसका साथ लागिरहन मदत गर्नु हो।
राज्य प्रचारकहरूका लागि स्कुल। यो तालिम दुई महिनाको हुन्छ। आत्मत्यागी मनोभाव देखाउँदै आवश्यकता बढी भएको ठाउँमा जान इच्छुक अनुभवी अग्रगामीहरूको लागि यो तालिमको प्रबन्ध गरिएको हो। तिनीहरूले सबैभन्दा महान् प्रचारक येसु ख्रिष्टको अनुकरण गर्दै “म हाजिर छु। मलाई पठाउनुहोस्” भनिरहेका हुन्छन्। (यसैया ६:८; युहन्ना ७:२९) आफ्नो घर छोडेर टाढा बस्दा सरल जीवन बिताउनुपर्ने हुन सक्छ। नयाँ ठाउँको रहनसहन, हावा-पानी र खाना आफूलाई बानी परेको भन्दा बिलकुलै फरक हुन सक्छ। नयाँ भाषासमेत सिक्नुपर्ने हुन सक्छ। अविवाहित भाइ, बहिनी वा विवाहित जोडी, जो २३ देखि ६५ वर्षबीचका छन्, तिनीहरूले यस तालिममा भाग लिन सक्छन्। यस तालिमले आफ्नो जिम्मेवारी पूरा गर्न चाहिने आध्यात्मिक गुणहरू खेती गर्न अनि यहोवा र उहाँको सङ्गठनको लागि अझै उपयोगी हुने सीपहरू विकास गर्न मदत गर्छ।
गिलियड स्कुल। हिब्रू भाषामा “गिलियड” शब्दको अर्थ हो, “साक्षीको थुप्रो।” सन् १९४३ मा गिलियड स्कुल सुरु भएदेखि यसबाट तालिमप्राप्त ८ हजारभन्दा धेरै प्रचारकहरू मिसनरीको रूपमा “पृथ्वीको कुनाकुनासम्म” पठाइएका छन् र तिनीहरूले निकै सफलता हासिल गरेका छन्। (प्रेषित १३:४७) पेरूमा मिसनरीहरू आउनुअघि एउटा पनि मण्डली थिएन। तर अहिले त्यहाँ एक हजारभन्दा धेरै मण्डली छन्। जापानमा मिसनरीहरूले सेवा गर्न थाल्दा त्यहाँ यहोवाका साक्षीहरू दस जना पनि थिएनन्। अहिले त्यहाँ २ लाखभन्दा धेरै यहोवाका साक्षीहरू छन्। गिलियड स्कुलमा पाँच महिनासम्म बाइबलको गहिरो अध्ययन गरिन्छ। विशेष अग्रगामी, मिसनरी, शाखा कार्यालयमा सेवा गर्नेहरू र क्षेत्रीय निरीक्षकहरूलाई यस स्कुलमा भाग लिन निम्तो दिइन्छ। यसबाट तिनीहरूले संसारभरि भइरहेको ईश्वरतान्त्रिक गतिविधिलाई टेवा पुऱ्याउन चाहिने विस्तृत तालिम पाउँछन्।
अग्रगामी सेवा स्कुलको उद्देश्य के हो?
राज्य प्रचारकहरूका लागि स्कुलबाट क-कसले तालिम पाउन सक्छन्?
-