बायाँ: सन् १९४५, नेदरल्याण्ड्सको आइन्डहोभनमा प्रचार गरेकोले एक जना भाइलाई पक्रिंदै; दायाँ: के तपाईं बस्नुहुने ठाउँको कानुनले प्रचार गर्न अनुमति दिन्छ?
भाग ४
परमेश्वरको राज्यले हासिल गरेका कानुनी विजयहरू — सुसमाचारलाई कानुनी तवरमा स्थापित गर्ने
कल्पना गर्नुहोस्, तपाईं घरघरको प्रचारकार्यमा भाग लिंदै हुनुहुन्छ। त्यतिखेर तपाईंहरूले प्रहरीको गाडी सडक छेउ रोकेको देख्नुहुन्छ। त्यसपछि दुई जना प्रहरी गाडीबाट निस्किएर तपाईं भएतिर आउँछन्। नभन्दै ती प्रहरीहरू तपाईंहरूलाई नै खोज्दै रहेछन्। एक जना प्रहरीले तपाईंलाई यसो भन्छ, “घरघर डुल्दै बाइबलको कुरा गर्ने तपाईंहरू नै हो? तपाईंहरूको रिपोर्ट आएको छ!” ‘हामी यहोवाका साक्षीहरू हौं’ भनेर तपाईं आदरका साथ भन्नुहुन्छ। अब के हुन्छ होला?
यसपछि के हुन्छ भन्ने कुरा धेरै हदसम्म त्यस ठाउँमा पहिला-पहिला यहोवाका साक्षीहरूलाई कस्तो व्यवहार गरिएको थियो, त्यसमा भर पर्छ। तपाईं बस्नुहुने देशको सरकारले यहोवाका साक्षीहरूलाई कस्तो व्यवहार गर्दै आएको छ? के त्यहाँ धार्मिक स्वतन्त्रता छ? छ भने एउटा कुरा त पक्का छ। त्यो हो, त्यहाँका भाइबहिनीहरूले वर्षौंको दौडान ‘सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापित’ गर्न कडा मेहनत गरेका छन्। (फिलि. १:७) तपाईं जहाँ बस्नुभए तापनि यहोवाका साक्षीहरूले हासिल गरेका कानुनी जितहरूबारे विचार गर्दा तपाईंको विश्वास बलियो हुन्छ। यस लेखमा हामी केही महत्त्वपूर्ण कानुनी विजयहरू केलाउनेछौं। हामीले हासिल गरेका विजयहरूबाट परमेश्वरको राज्य वास्तविक छ भन्ने कुराको सशक्त प्रमाण पाउँछौं। किनभने यस्ता विजयहरू हामीले आफ्नै बलबुतामा कहिल्यै हासिल गर्न सक्ने थिएनौं!