-
“यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ सबै किसिमका जीव बाँच्नेछन्”यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
-
-
अध्याय १९
“यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ सबै किसिमका जीव बाँच्नेछन्”
मुख्य कुरा: मन्दिरबाट बगिरहेको नदीको दर्शनको पुरातन समयमा, वर्तमान समयमा र भविष्यमा हुने पूर्ति
१, २. इजकिएल ४७:१-१२ मा बताइएअनुसार इजकिएल के देख्छन्? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)
इजकिएल मन्दिरको दर्शनमा अर्को अचम्मलाग्दो कुरा पनि देख्छन्: त्यो पवित्र मन्दिरबाट नदी बगिरहेको छ! इजकिएलले त्यो कन्चन पानी कतातिर बग्छ भनेर नियालिरहेको कल्पना गर्नुहोस्। (इजकिएल ४७:१-१२ पढ्नुहोस्) त्यो पानी मन्दिरको सँघारबाट बगिरहेको छ; त्यसपछि त्यो पानी मन्दिर परिसरको पूर्वपट्टिको प्रवेशद्वारको छेउबाट बग्छ। स्वर्गदूतले इजकिएललाई डुलाउँदै मन्दिरबाहिर लैजान्छन् र हिँड्दै दूरी पनि नाप्दै जान्छन्। ती स्वर्गदूतले इजकिएललाई पानीमा हिँडाउँदै लैजान्छन् अनि इजकिएलले नदीको गहिराइ झन्झन् बढ्दै गएको याद गर्छन्। पछि त नदी यत्ति गहिरो हुन्छ कि नदी तर्ने हो भने पौडनै पर्ने हुन्छ!
२ ती स्वर्गदूतले इजकिएललाई यो नदी मृतसागरमा गएर मिसिने, त्यसपछि त्यहाँको नुनिलो पानी मीठो हुने र यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ प्रशस्त माछा पाइने कुरा बताउँछन्। इजकिएलले नदीका दुवै किनारमा हरकिसिमका फल लाग्ने रूखहरू पनि देख्छन्। महिनैपिच्छे ती रूखहरूमा पोसिलो फल लाग्छ र त्यसका पातहरूले रोगबिमार निको पार्छ। यी सबै कुरा देख्दा इजकिएलले मनमा शान्ति महसुस गर्नुका साथै आशा पनि पाएको हुनुपर्छ। तर मन्दिरको दर्शनको यो भाग तिनी र तिनीसँगै निर्वासनमा रहेकाहरूका लागि किन अर्थपूर्ण थियो? अनि यो अहिले हाम्रो लागि किन अर्थपूर्ण छ?
दर्शनको नदी निर्वासनमा रहेकाहरूका लागि किन अर्थपूर्ण थियो?
३. पुरातन समयका यहुदीहरूले दर्शनको नदीलाई शाब्दिक रूपमा लिएनन् भनेर किन भन्न सक्छौँ?
३ पुरातन समयका यहुदीहरूले दर्शनको नदीलाई पक्कै पनि शाब्दिक रूपमा लिएनन्। बरु यस दर्शनले तिनीहरूलाई २०० वर्षअघि योएलले पुनर्स्थापनासम्बन्धी गरेको भविष्यवाणी सम्झाएको हुनुपर्छ। (योएल ३:१८ पढ्नुहोस्) निर्वासित यहुदीहरूले योएलले लेखेका शब्दहरू पढ्दा तिनीहरूले पहाडहरूबाट साँच्चैको “नयाँ मद्य तपतप चुहिने,” डाँडाहरूबाट “दूधको खोला बग्ने” अनि यहोवाको भवनबाट “मूल फुट्ने” आशा गरेका थिएनन्। त्यसैगरि भविष्यवक्ता इजकिएलले दर्शनमा देखेको नदीलाई पनि ती यहुदीहरूले साँच्चैको नदी भन्ठानेका थिएनन्।a त्यसोभए यहोवा परमेश्वरले त्यस दर्शनमार्फत कस्तो सन्देश दिन खोजिरहनुभएको थियो? बाइबलले हामीलाई त्यस दर्शनको केही भागको अर्थ राम्ररी बुझ्न मदत गर्छ। यस भविष्यसूचक विवरणमा पाइने तीन वटा स्पष्ट र मायालु आश्वासन अब हामी छलफल गर्नेछौँ।
४. (क) इजकिएलले दर्शनमा देखेको नदीले यहुदीहरूलाई यहोवा परमेश्वरबाट कस्ता आशिष्हरू पाउने आशा दिने थियो? (ख) बाइबलमा प्रयोग गरिएका “नदी” र “पानी” भन्ने शब्दहरूले यहोवा परमेश्वरले आफ्ना मानिसहरूलाई आशिष् दिनुहुनेछ भन्ने कुरामा हामीलाई कसरी विश्वस्त बनाउँछ? (“यहोवा परमेश्वरबाट पाइने आशिष्हरूको नदी” भन्ने पेटी हेर्नुहोस्)
४ आशिष्हरू दिने नदी। बाइबलमा नदी र पानीले अक्सर यहोवा परमेश्वरले प्रशस्त मात्रामा दिनुहुने आशिष्हरूलाई बुझाएको छ। इजकिएलले यस्तो आशिष् दिने नदी मन्दिरबाट बगेको देख्छन्। त्यसैले यो दर्शनले परमेश्वरका मानिसहरूलाई उहाँबाट आध्यात्मिक आशिष्हरू पाउने आशा दिने थियो। तर यसको लागि तिनीहरूले शुद्ध उपासना चढाइरहनुपर्ने थियो। तिनीहरूले कस्ता आशिष्हरू पाउने थिए? तिनीहरूले पुजारीहरूबाट फेरि आध्यात्मिक निर्देशन पाउने थिए। अनि मन्दिरमा अर्पण गरिने बलिदानहरूले गर्दा तिनीहरू आफ्ना पापहरूको प्रायश्चित हुने कुरामा फेरि ढुक्क हुन सक्ने थिए। (इज. ४४:१५, २३; ४५:१७) त्यसैले तिनीहरू फेरि सफा हुने थिए, भनौँ भने तिनीहरू मन्दिरबाट बगिरहेको शुद्ध पानीद्वारा पखालिने थिए।
५. आशिष्हरू सबैले सधैँभरि प्रशस्तगरि पाउने हो कि होइन भन्ने चिन्तालाई दर्शनको नदीले कसरी हटायो?
५ के ती आशिष्हरू सबैले सधैँभरि प्रशस्तगरि पाउने थिए? दर्शनमा पानीको मात्रा बढ्दै गएको कुरा विचार गर्दा यस्तो चिन्ता गर्नु आवश्यक थिएन भनेर बुझ्न सक्छौँ। मन्दिरबाट बगिरहेको पानीको सानो धारा लगभग दुई किलोमिटरको दूरीमै ठूलो भेल भइसकेको थियो! (इज. ४७:३-५) यहुदीहरूको पुनर्स्थापित मातृभूमिमा जनसङ्ख्या बढ्दै जान सक्थ्यो तर यहोवाले आशिष्हरू पनि त्यसैअनुसार बढाउँदै लैजानुहुने थियो। त्यस नदीले प्रशस्ततालाई सङ्केत गर्थ्यो!
६. (क) भविष्यसूचक दर्शनको यस भागमा कस्तो आश्वासनदायी प्रतिज्ञा थियो? (ख) यस दर्शनले कस्तो चेतावनी पनि दियो? (फुटनोट हेर्नुहोस्)
६ जीवन दिने पानी। इजकिएलको दर्शनको यो नदी मृतसागरमा गएर मिसियो र त्यो सागर अनगिन्ती जीवहरूले भरियो। त्यस पानीले गर्दा महासागर अर्थात् भूमध्यसागरमा जस्तै मृतसागरमा पनि थरीथरीका माछाहरू पाइन थाल्यो। त्यति मात्र होइन, मृतसागरको किनारको दुई वटा सहरको बीचतिर माछा व्यवसाय पनि फस्टायो। ती सहरहरू एकअर्काबाट धेरै टाढा थिए जस्तो देखिन्छ। स्वर्गदूतले यसो भने: “यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ सबै किसिमका जीव बाँच्नेछन्।” तर के यसको मतलब यहोवाको भवनबाट निस्केको पानी मृतसागरभरि फैलियो? फैलिएन। यस सागरका दलदले ठाउँहरूमा जीवन दिने पानी पुगेन भनेर स्वर्गदूतले भने। त्यहाँको पानी “नुनिलो” नै रह्यो।b (इज. ४७:८-११) भविष्यसूचक दर्शनको यस भागमा शुद्ध उपासनाले मानिसहरूलाई जीवन दिने र उनीहरू फस्टाउने आश्वासनदायी प्रतिज्ञा थियो। तर एउटा चेतावनीमूलक कुरा पनि थियो: सबैले यहोवा परमेश्वरको आशिष् स्विकार्ने थिएनन् अनि सबै जना निको पनि हुने थिएनन्।
७. नदीको दुवै किनारामा भएका रूखहरूबाट निर्वासनमा रहेका यहुदीहरूले कस्तो आश्वासन पाए?
७ फल दिने र रोगबिमार निको पार्ने रूखहरू। नदीको दुवै किनारामा भएका रूखहरूबारे चाहिँ के भन्न सकिन्छ? ती रूखहरूले दर्शनलाई अझ सुन्दर बनाएको छ नि, होइन र? तर ती रूखहरूको अर्थ पनि छ। इजकिएल र तिनका देशवासीहरूले महिनैपिच्छे ती रूखहरूमा फल्ने फलहरू कत्ति स्वादिष्ठ होलान् भनेर पक्कै पनि कल्पना गरे होलान्! यो दर्शनले गर्दा यहोवा परमेश्वरले आध्यात्मिक रूपमा खुवाउनुहुन्छ भन्ने कुराको थप आश्वासन तिनीहरूले पाए। ती रूखहरूका पातहरूबारे चाहिँ के भन्न सकिन्छ? याद गर्नुहोस्, ती रूखहरूका पातहरूले ‘रोगबिमार निको पार्ने थियो।’ (इज. ४७:१२) निर्वासनबाट फर्कने मानिसहरूलाई चाहिने मुख्य कुरा भनेको तिनीहरूलाई आध्यात्मिक रूपमा निको पार्नु हो भनेर यहोवालाई थाह थियो र उहाँले ठीक त्यसै गर्ने प्रतिज्ञा गर्नुभयो। उहाँले कसरी त्यसो गर्नुभयो, पुनर्स्थापनासम्बन्धी अन्य भविष्यवाणीहरूमा प्रकाश पारिएको थियो, जसबारे हामीले यस प्रकाशनको अध्याय ९ मा छलफल गरेका थियौँ।
८. इजकिएलको दर्शनको व्यापक पूर्ति हुने थियो भनेर कुन कुराले देखाउँछ?
८ तर हामीले अध्याय ९ मा पनि छलफल गरेझैँ निर्वासनबाट फर्केका मानिसहरूले यस्ता भविष्यवाणीहरूको पूर्ति पूरै अनुभव गर्न पाएनन् र यसको कारण तिनीहरू आफै थिए। तिनीहरू बारम्बार खराब मार्गमा लागे, अनाज्ञाकारी भए र तिनीहरूले शुद्ध उपासनाको अवहेलना गरे। यस्ता कुराहरू देख्दादेख्दै यहोवा परमेश्वरले तिनीहरूलाई कसरी पूर्ण रूपमा आशिष् दिन सक्नुहुन्थ्यो र? सङ्गी यहुदीहरूको यस्तो व्यवहार देखेर वफादार यहुदीहरू असाध्यै दुःखित र निराश भएका थिए। तर यहोवाका वफादार उपासकहरूलाई उहाँका प्रतिज्ञाहरू सबै पूरा हुन्छन्, ती कहिल्यै फेल खाँदैनन् भनेर थाह थियो। (यहोसु २३:१४ पढ्नुहोस्) त्यसैले इजकिएलको यस दर्शनको व्यापक पूर्ति हुने थियो। तर कहिले?
नदी आज पनि बगिरहेको छ!
९. मन्दिरको दर्शनको व्यापक पूर्ति कहिले हुने थियो?
९ हामीले यस प्रकाशनको अध्याय १४ मा छलफल गरेझैँ “आखिरी समयमा” इजकिएलको मन्दिरको दर्शनको व्यापक पूर्ति हुने थियो, जुन समयमा शुद्ध उपासना पहिलाभन्दा उच्च पारिने थियो। (यसै. २:२) त्यसोभए इजकिएलको दर्शनको यो भाग अहिले कसरी पूरा भइरहेको छ?
१०, ११. (क) आज कस्ता आशिष्हरू नदीजस्तै बगिरहेको छ? (ख) यस अन्तको दिनमा बढ्दो आवश्यकता पूरा गर्न यहोवाले कसरी अझ धेरै आशिष् दिइरहनुभएको छ?
१० आशिष्हरू दिने नदी। यहोवाको भवनबाट बगिरहेको पानीले आज हामीलाई कस्ता आशिष्हरूको सम्झना गराउँछ? त्यसले हाम्रो आध्यात्मिक स्वास्थ्य र पोषणको लागि यहोवाले गर्नुभएका सबै प्रबन्धको सम्झना गराउँछ। तीमध्ये सबैभन्दा मुख्यचाहिँ येसुको फिरौतीको बलिदानको शुद्ध पार्ने शक्ति हो, जुन बलिदानले गर्दा हामीले आफ्ना पापहरूको क्षमा पाउन सम्भव भएको छ। परमेश्वरको वचनमा पाइने सत्यलाई पनि शुद्ध पार्ने र जीवन दिने पानीसित तुलना गरिएको छ। (एफि. ५:२५-२७) आज हाम्रो समयमा त्यस्ता आशिष्हरू कसरी बगिरहेको छ?
११ इस्वी संवत् १९१९ मा यहोवाका सेवकहरू केही हजार मात्र थिए र आवश्यक आध्यात्मिक भोजन पाउँदा तिनीहरू औधी खुसी थिए। त्यसपछिका दशकहरूमा तिनीहरूको सङ्ख्या बढ्दै गयो। आज परमेश्वरका सेवकहरू ८० लाखभन्दा धेरै भइसके। त्यसोभए सत्यको शुद्ध पानी के आज पनि त्यही रफ्तारमा बगिरहेको छ? पक्कै पनि छ! आज आध्यात्मिक भोजनको छेलोखेलो नै छ। बितेको सय वर्षमा परमेश्वरका सेवकहरूले अरबौँ प्रति बाइबल, किताबहरू, पत्रिकाहरू, पुस्तिकाहरू र पर्चाहरू पाए। आज संसारभर आध्यात्मिक रूपमा तिर्खाएका मानिसहरूको सङ्ख्या बढ्दै गइरहेको छ र तिनीहरूको तिर्खा मेट्न सत्यको नदी पनि इजकिएलको दर्शनको नदीजस्तै बढ्दै गइरहेको छ। हाम्रो सङ्गठनले बाइबलआधारित प्रकाशनहरू छाप्न थालेको वर्षौँ भइसक्यो। अहिले त हाम्रो वेबसाइट jw.org मा ९०० भन्दा धेरै भाषामा त्यस्ता सामग्रीहरू उपलब्ध छन्! सत्यको पानीबाट इमानदार हृदय भएका मानिसहरूले आज कस्तो लाभ उठाइरहेका छन्?
१२. (क) सत्यको सन्देशले गर्दा असल हृदय भएका मानिसहरूले जीवन र आध्यात्मिक सुस्वास्थ्य पाएका छन् भनेर तपाईँ किन भन्न सक्नुहुन्छ? (ख) यस दर्शनमा हामी होसियार हुनुपर्ने के कुरा पनि पाइन्छ? (फुटनोट पनि हेर्नुहोस्)
१२ जीवन दिने पानी। इजकिएललाई यसो भनियो: “यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ सबै किसिमका जीव बाँच्नेछन्।” पुनर्स्थापित आध्यात्मिक भूमिमा आएका नयाँ मानिसहरूलाई आज बगिरहेको सत्यको सन्देशले गर्दा के-कस्तो लाभ भएको छ, विचार गर्नुहोस्। बाइबलमा पाइने सत्यले गर्दा असल हृदय भएका लाखौँ मानिसले जीवन र आध्यात्मिक सुस्वास्थ्य पाएका छन्। तर यस दर्शनमा हामी होसियार हुनुपर्ने कुरा पनि छ। त्यो हो: सबैले सत्यलाई ग्रहण गर्दैनन्। इजकिएलको दर्शनमा देखिएको मृतसागरमा भएका सिमसारहरू र दलदले ठाउँहरूजस्तै केही मानिसहरूको हृदय बोधो भएको छ, तिनीहरू बाइबलको सत्य स्विकार्न र लागू गर्न इन्कार गर्छन्।c हामीचाहिँ कहिल्यै त्यस्तो नहोऔँ।—व्यवस्था १०:१६-१८ पढ्नुहोस्।
१३. दर्शनका रूखहरूबाट आज हामी कस्तो प्रोत्साहनदायी कुरा सिक्न सक्छौँ?
१३ फल दिने र रोगबिमार निको पार्ने रूखहरू। नदीको दुवै किनारामा भएका रूखहरूबाट के आज हामी केही प्रोत्साहनदायी कुरा सिक्न सक्छौँ? अवश्य सक्छौँ। यो कुरा नबिर्सनुहोस्, ती रूखहरूमा महिनैपिच्छे स्वादिष्ठ फलहरू लाग्थ्यो र त्यसका पातहरूले रोगबिमार निको पार्थ्यो। (इज. ४७:१२) यी कुराहरूले हामीले सेवा गर्ने परमेश्वर हामीलाई प्रशस्त मात्रामा खुवाउनुहुन्छ र हामीलाई विशेषगरि आध्यात्मिक रूपमा निको पार्नुहुन्छ भन्ने कुराको सम्झना गराउँछ। यो संसार आध्यात्मिक रूपमा बिरामी र भोको छ। तर त्यसको ठीक विपरीत यहोवाले हाम्रो लागि प्रशस्त आध्यात्मिक कुराहरू जुटाउनुभएको छ। हाम्रो प्रकाशनको कुनै लेख पढिसकेपछि, सम्मेलन वा अधिवेशनको समापन गीत गाइसकेपछि वा कुनै भिडियो अथवा ब्रोडकास्टिङको कार्यक्रम हेरिसकेपछि के तपाईँले ‘ओहो! यहोवाको कत्ति धेरै आशिष्’ भनेर महसुस गर्नुभएको छैन र? हो, यहोवाले हामीलाई पोसिलो खाना दिइरहनुभएको छ। (यसै. ६५:१३, १४) हामीले पाइरहेको आध्यात्मिक भोजनले गर्दा हामीलाई कस्तो फाइदा भइरहेको छ? परमेश्वरको वचनमा आधारित सल्लाहहरूले हामीलाई अनैतिकता, लोभ र विश्वासको कमीजस्ता कुराहरूसित सङ्घर्ष गर्न मदत गर्छ। गम्भीर पापले गर्दा आध्यात्मिक रूपमा बिरामी परेका ख्रिष्टियनहरूलाई मदत गर्न पनि यहोवाले प्रबन्ध मिलाउनुभएको छ। (याकुब ५:१४ पढ्नुहोस्) इजकिएलको दर्शनका रूखहरूले सङ्केत गरेझैँ हामीले साँच्चै धेरै आशिष् पाएका छौँ।
१४, १५. (क) दलदले ठाउँहरूको पानी नुनिलो नै रहेको कुराबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (ख) इजकिएलको दर्शनको नदीबाट आज हामी कस्तो लाभ उठाउन सक्छौँ?
१४ दलदले ठाउँहरूको पानी नुनिलो नै रहेको कुराबाट पनि हामी पाठ सिक्न सक्छौँ। हामीले यहोवा परमेश्वरका आशिष्हरू आफ्नो जीवनमा बगिरहन दिनुपर्छ। यो रोगी संसारका थुप्रै मानिसजस्तै हामी पनि बिरामी अवस्थामै रहिरहनु साँच्चै दुःखको कुरा हुनेछ। (मत्ति १३:१५) बरु आशिष्हरू दिने नदीबाट लाभ उठाउन पाउँदा हामी औधी खुसी छौँ! परमेश्वरको वचनबाट सत्यको शुद्ध पानी पिउन पाउँदा, प्रचारकार्यमार्फत त्यस्ता सत्य कुराहरू अरूसित बाँड्न पाउँदा अनि विश्वासी दासद्वारा तालिम पाएका एल्डरहरूबाट मायालु डोऱ्याइ, सान्त्वना र मदत पाउँदा हामी इजकिएलको दर्शनको नदीलाई सम्झन्छौँ। त्यो नदीले आफू बग्ने सबै ठाउँका जीवहरूलाई निको पार्छ र जीवन दिन्छ!
१५ तर यो दर्शन भविष्यमा चाहिँ कसरी पूरा हुनेछ? प्रमोदवनमा त्यो नदी कसरी व्यापक रूपमा बग्नेछ, त्यसबारे अब हामी छलफल गर्नेछौँ।
यो दर्शन प्रमोदवनमा कसरी पूरा हुनेछ?
१६, १७. (क) जीवनको पानी प्रमोदवनमा कुन अर्थमा अझ बढ्नेछ? (ख) आशिष्हरू दिने नदीबाट प्रमोदवनमा हामी कस्तो लाभ उठाउनेछौँ?
१६ के तपाईँ प्रमोदवनमा साथीभाइ र परिवारसित जीवनको पूरापूर आनन्द उठाइरहेको कल्पना गर्नुहुन्छ? इजकिएलको दर्शनको नदीबारे अध्ययन गर्दा तपाईँको त्यो कल्पना अझ जीवन्त हुन सक्छ। कसरी? यस दर्शनको तीन वटा पक्षबारे फेरि विचार गरौँ।
१७ आशिष्हरू दिने नदी। त्यो प्रतीकात्मक नदी प्रमोदवनमा झन् ठूलो हुनेछ किनकि त्यतिखेर हामीले आध्यात्मिक रूपमा मात्र होइन, शारीरिक रूपमा पनि त्यसका लाभहरू अनुभव गर्न पाउनेछौँ। येसुको हजार वर्षीय शासनको दौडान परमेश्वरको राज्यले वफादार मानिसहरूलाई फिरौतीको बलिदानबाट अझ विस्तृत रूपमा लाभ उठाउन मदत गर्नेछ। तिनीहरू बिस्तारै त्रुटिरहित हुँदै जानेछन्! त्यसपछि न कुनै रोगबिमार हुनेछ न त डाक्टर, नर्स, अस्पताल र स्वास्थ्य बिमाको आवश्यकता नै पर्नेछ! “महासङ्कष्ट” पार गरेर आएको “एउटा ठूलो भीड”-ले जीवनको त्यस पानीबाट लाभ उठाउनेछ। (प्रका. ७:९, १४) हामीले पाउने ती आशिष्हरू आकर्षक देखिए तापनि पछि पाइने आशिष्हरूको विशाल नदीको तुलनामा त्यो त पानीको सानो धारा मात्रै हो। इजकिएलको दर्शनमा जस्तै त्यो नदी बढ्दै जानेछ र सम्पूर्ण मानिसको आवश्यकता पूरा गर्नेछ।
आशिष्हरू दिने नदीले प्रमोदवनमा सबैलाई जवान र स्वस्थ बनाउनेछ (अनुच्छेद १७ हेर्नुहोस्)
१८. हजार वर्षीय शासनमा “जीवन दिने पानीको नदी” कुन अर्थमा ठूलो भेल हुनेछ?
१८ जीवन दिने पानी। हजार वर्षीय शासनमा “जीवन दिने पानीको नदी” बढेर ठूलो भेल हुनेछ। (प्रका. २२:१) लाखौँ, अझ भन्नुपर्दा अरबौँ मरिसकेका मानिस फेरि जीवित हुनेछन् र तिनीहरूलाई प्रमोदवनमा सधैँभरि बाँच्ने मौका दिइनेछ। साँच्चै, यहोवा परमेश्वरले आफ्नो राज्यमार्फत मानिसहरूलाई आशिष् दिनुहुँदा मरिसकेका अनगिन्ती मानिसहरू फेरि जिउँदो हुनेछन्। (यसै. २६:१९) तर यसरी जीवित भएका सबै जना के सधैँभरि बाँच्नेछन् त?
१९. (क) प्रमोदवनमा सत्यका नयाँ पानीहरूको प्रबन्ध गरिनेछ भनेर कुन कुराले सङ्केत गर्छ? (ख) भविष्यमा कोही-कोहीलाई कुन अर्थमा ‘नुनिलो नै’ छोडिनेछ?
१९ त्यो कुरा तिनीहरू प्रत्येकले गर्ने निर्णयमा भर पर्छ। किनकि त्यसबेला नयाँ पुस्तकहरू खोलिनेछन्। यसप्रकार यहोवा परमेश्वरले दिनुहुने स्फूर्तिदायी पानीमा नयाँ सत्यहरू अर्थात् नयाँ आध्यात्मिक निर्देशनहरू समावेश हुनेछ। के तपाईँलाई यो कुरा रोमाञ्चक लागेन र? तर दुःखको कुरा, कसै-कसैले ती नयाँ निर्देशनहरूलाई इन्कार गर्नेछन् र यहोवाप्रति अनाज्ञाकारी हुने छनौट गर्नेछन्। हजार वर्षीय शासनको दौडान कोही-कोहीले विद्रोह पनि गर्न सक्छन् तर तिनीहरूलाई प्रमोदवनको शान्ति खलबलाउन दिइनेछैन। (यसै. ६५:२०) त्यतिबेला हामी इजकिएलको दर्शनमा बताइएको ‘पानी नुनिलो नै रहेका’ दलदले ठाउँहरूबारे सम्झन्छौँ होला। जीवन दिने पानी पिउन इन्कार गर्नु कत्ति ठूलो मूर्खता हुनेछ! हजार वर्षीय शासनपछि विद्रोहीहरूको समूहले सैतानको पक्ष लिनेछ। यसरी यहोवा परमेश्वरको धार्मिक शासन तिरस्कार गर्नेजति सबैले एउटै दण्ड भोग्नेछन्: अनन्त मृत्यु।—प्रका. २०:७-१२.
२०. इजकिएलले देखेका रूखहरूले हजार वर्षीय शासनको दौडान हाम्रो लागि गरिने कस्तो प्रबन्धको सम्झना गराउँछ?
२० फल दिने र रोगबिमार निको पार्ने रूखहरू। यहोवा परमेश्वर कसैले पनि अनन्त जीवन गुमाएको चाहनुहुन्न। उहाँले हामीलाई दिन चाहनुभएको त्यो विशेष मौकालाई हामीले पक्रिराख्न सकौँ भनेर उहाँले त्यतिबेला पनि इजकिएलको दर्शनका रूखहरूको जस्तै प्रबन्ध मिलाउनुहुनेछ। तर प्रमोदवनमा यहोवाले गर्नुहुने प्रबन्धबाट हामीले शारीरिक मात्र होइन, आध्यात्मिक लाभ पनि उठाउनेछौँ। स्वर्गमा येसु ख्रिष्ट र उहाँका १ लाख ४४ हजार सह-शासकले राजाको रूपमा हजार वर्षसम्म शासन गर्नेछन्। पुजारीवर्गको रूपमा १ लाख ४४ हजार जनाले ख्रिष्टको फिरौतीको बलिदानले गर्दा सम्भव भएका सबै असल थोकहरू प्रदान गर्नेछन्, जसले वफादार मानिसहरूलाई त्रुटिरहित अवस्थामा पुग्न मदत गर्नेछ। (प्रका. २०:६) शारीरिक र आध्यात्मिक रूपमा निको पार्ने यस प्रबन्धले हामीलाई इजकिएलले देखेको नदीको दुवै किनारामा भएका रूखहरूको सम्झना गराउँछ, जुन रूखहरूमा पोसिलो फलहरू लाग्छ र त्यसका पातहरूले रोगबिमार निको पार्छ। इजकिएलको दर्शन प्रेषित युहन्नाको एउटा भविष्यसूचक विवरणसित पनि मेल खान्छ। (प्रकाश २२:१, २ पढ्नुहोस्) युहन्नाले देखेका रूखहरूका पातहरू “जातिजातिका मानिसहरूलाई निको पार्नका लागि थिए।” लाखौँ वफादार मानिसले १ लाख ४४ हजार अभिषिक्त जनहरूले पुजारीको रूपमा निर्वाह गर्ने भूमिकाबाट लाभ उठाउनेछन्।
२१. इजकिएलको दर्शनको नदीबारे विचार गर्दा तपाईँमा कस्तो असर पर्छ? अब हामी कुन कुरा छलफल गर्नेछौँ? (“बगिरहेको पानीको सानो धारा ठूलो भेल बन्छ!” भन्ने पेटी हेर्नुहोस्)
२१ इजकिएलको दर्शनको नदीबारे विचार गर्दा के तपाईँले शान्ति महसुस गर्नुहुन्न र? अनि के तपाईँको हृदय आशाले भरिँदैन र? हो, हाम्रो भविष्य साँच्चै सुन्दर छ! यहोवा परमेश्वरले हजारौँ वर्षअघि नै प्रमोदवनको जीवन्त चित्र कोरिसक्नुभएको थियो अनि उहाँले हामीलाई त्यो चित्र वास्तविकतामा परिणत भएको हेर्ने निम्तो पनि दिनुभएको छ। के त्यतिबेला तपाईँ त्यहाँ हुनुहुनेछ? के तपाईँ यसरी सोच्दै हुनुहुन्छ: ‘प्रमोदवनमा मेरो लागि पनि ठाउँ होला?’ त्यसो हो भने इजकिएलको भविष्यवाणीका अन्तिम अंशहरूबाट हामी कस्तो आश्वासन पाउँछौँ, यसपछिको अध्यायमा विचार गरौँ।
a यसबाहेक आफ्नो मातृभूमिको भौगोलिक बनावट थाह भएका निर्वासित यहुदीहरूलाई दर्शनमा बताइएको यो नदी वास्तविक नदी हुन सक्दैन भनेर थाह भएको हुनुपर्छ । किनकि यो नदी एउटा असाध्यै अग्लो डाँडामा भएको मन्दिरबाट बगेको थियो, जबकि दर्शनमा उल्लेख गरिएको ठाउँमा त्यस्तो कुनै डाँडा थिएन। साथै दर्शनबाट त्यो नदी कुनै अवरोधविना सीधै मृतसागरतर्फ बगेको थियो भन्ने बुझिन्छ। तर त्यस ठाउँको भौगोलिक बनावट विचार गर्दा यो असम्भव देखिन्छ।
b केही टिप्पणीकारहरू यसलाई सकारात्मक अभिव्यक्तिको रूपमा लिन्छन्। उनीहरूअनुसार नुन सङ्कलन गर्ने उद्योग मृतसागर क्षेत्रमा लामो समयदेखि फस्टाइरहेको छ, जसलाई खानेकुरा बिग्रन नदिन प्रयोग गरिन्छ। तर यस विवरणमा दलदले ठाउँहरूका पानी “मीठो हुनेछैन” भनेर तोकेरै बताइएको छ। यहोवा परमेश्वरको भवनबाट बगेको पानी त्यहाँसम्म नपुगेकोले ती ठाउँहरू निर्जीव अवस्थामै रहे र त्यहाँको पानी नमीठो अवस्थामै रह्यो। त्यसैले यस विवरणमा दलदले ठाउँहरूको पानी नुनिलो नै रहनुलाई नकारात्मक अभिव्यक्तिको रूपमा चलाइएको जस्तो देखिन्छ।—भज. १०७:३३, ३४; यर्मि. १७:६.
c यसै प्रसङ्गमा, येसुले बताउनुभएको ठूलो जालको उदाहरण पनि विचार गर्नुहोस्। जालमा थुप्रै माछा पर्छन् तर सबै माछा “असल” साबित हुँदैनन्। काम नलाग्ने माछाहरू फ्याँकिन्छन्। यसरी येसु ख्रिष्टले यहोवाको सङ्गठनमा आएकाहरूमध्ये थुप्रै मानिसले समयको दौडान सत्य त्यागेर जान सक्छन् भनेर चेतावनी दिनुभयो।—मत्ति १३:४७-५०; २ तिमो. २:२०, २१.
-
-
‘आ-आफ्ना कुलको निम्ति देशको जमिन भागबन्डा गर’यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
-
-
अध्याय २०
‘आ-आफ्ना कुलको निम्ति देशको जमिन भागबन्डा गर’
मुख्य कुरा: देशको जमिन भागबन्डा गर्नुको अर्थ
१, २. (क) इजकिएलले यहोवा परमेश्वरबाट कस्तो निर्देशन पाउँछन्? (ख) हामी कुन प्रश्नहरू छलफल गर्नेछौँ?
इजकिएलले भर्खरै देखेको दर्शनले गर्दा तिनले झन्डै ९०० वर्षअघि मोसा र यहोसुको समयमा भएको घटना सम्झेको हुनुपर्छ। त्यतिबेला यहोवा परमेश्वरले मोसालाई प्रतिज्ञा गरिएको देशको सिमानाबारे र पछि यहोसुलाई इस्राएलको कुलअनुसार कसरी त्यस देशको जमिन भागबन्डा गर्ने भन्नेबारे बताउनुभएको थियो। (गन्ती ३४:१-१५; यहो. १३:७; २२:४, ९) तर अहिले ईसापूर्व ५९३ मा यहोवा परमेश्वरले इजकिएल र तिनीसँगै निर्वासित जीवन बिताइरहेकाहरूलाई प्रतिज्ञा गरिएको देश इस्राएलका कुलहरूमाझ फेरि भागबन्डा गर्नको लागि निर्देशन दिनुहुन्छ।—इज. ४५:१; ४७:१४; ४८:२९.
२ इजकिएल र तिनीसँगै निर्वासनमा रहेकाहरूका लागि यस दर्शनमा कस्तो सन्देश थियो? यो दर्शन आज परमेश्वरका सेवकहरूको लागि किन प्रोत्साहनको स्रोत हो? भविष्यमा के हामीले यस दर्शनको व्यापक पूर्ति देख्नेछौँ?
चार वटा आश्वासन पाइने दर्शन
३, ४. (क) इजकिएलले पाएको अन्तिम दर्शनबाट निर्वासनमा रहेकाहरूले कुन चार वटा आश्वासन पाए? (ख) यस अध्यायमा हामी कुन ग्यारेन्टीबारे छलफल गर्नेछौँ?
३ इजकिएलको किताबको अन्तिम नौ वटा अध्यायमा तिनले पाएको अन्तिम दर्शनबारे वर्णन गरिएको छ। (इज. ४०:१–४८:३५) यसबाट निर्वासनमा रहेकाहरूले पुनर्स्थापित इस्राएल राष्ट्रबारे चार वटा मनै छुने आश्वासन पाए। ती आश्वासनहरू के थिए? पहिलो, परमेश्वरको मन्दिरमा शुद्ध उपासना पुनर्स्थापित हुने थियो। दोस्रो, धर्मी पुजारीहरू र गोठालाहरूले पुनर्स्थापित राष्ट्रको नेतृत्व लिने थिए। तेस्रो, इस्राएलमा फर्कने सबैलाई भाग पुग्नेगरि त्यस देशको जमिन भागबन्डा गरिने थियो। चौथो, यहोवा परमेश्वर फेरि तिनीहरूमाझ रहनुहुने थियो।
४ यस प्रकाशनको अध्याय १३ र १४ मा हामीले साँचो उपासना कसरी पुनर्स्थापित हुने थियो र धर्मी गोठालाहरूले कसरी नेतृत्व लिने थिए भन्ने पहिलो दुइटा ग्यारेन्टीबारे चर्चा गऱ्यौँ। यस अध्यायमा हामी तेस्रो ग्यारेन्टी, जमिनको भागबन्डा गरिने प्रतिज्ञाबारे छलफल गर्नेछौँ। अनि यसपछिको अध्यायमा यहोवा परमेश्वरको उपस्थितिको प्रतिज्ञाबारे छलफल गर्नेछौँ।—इज. ४७:१३-२१; ४८:१-७, २३-२९.
“यो देश तिमीहरूले पैतृक सम्पत्तिको रूपमा पाउनेछौ”
५, ६. (क) इजकिएलको दर्शनमा कुन जमिन भागबन्डा गर्नुपर्ने थियो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्) (ख) जमिनको भागबन्डासम्बन्धी दर्शनको उद्देश्य के थियो?
५ इजकिएल ४७:१४ पढ्नुहोस्। दर्शनमा यहोवा परमेश्वरले इजकिएलको ध्यान एक टुक्रा जमिनतर्फ खिच्नुहुन्छ, जुन चाँडै “अदनको बगैँचाजस्तै” देखिने थियो। (इज. ३६:३५) त्यसपछि उहाँले यसो भन्नुभयो: “इस्राएलका १२ कुलका लागि भागबन्डा गर्नुपर्ने जमिन यही हो।” (इज. ४७:१३) भागबन्डा गर्नुपर्ने “जमिन” इस्राएलको पुनर्स्थापित जमिन थियो, जहाँ निर्वासित मानिसहरू फर्कने थिए। त्यसपछि इजकिएल ४७:१५-२१ मा बताइएझैँ यहोवा परमेश्वरले पूरै जमिनको सिमानाको निश्चित नापबारे विस्तृत रूपमा बताउनुभयो।
६ जमिनको भागबन्डासम्बन्धी दर्शनको उद्देश्य के थियो? सिमानाको निश्चित नापबारे गरिएको वर्णनबाट इजकिएल र तिनीसँगै निर्वासित जीवन बिताइरहेकाहरू आफ्नो प्यारो भूमि साँच्चै पुनर्स्थापित हुने कुरामा आश्वस्त हुन सके। यहोवा परमेश्वरले त्यसरी विस्तृत तवरमा व्याख्या गर्नुभएकोले निर्वासनमा रहेकाहरू कत्ति आश्वस्त भए होलान्! पैतृक सम्पत्तिको रूपमा भागबन्डा गरिएको जमिन परमेश्वरका पुरातन समयका मानिसहरूले साँच्चै पाए त? हो, पाए।
७. (क) ईसापूर्व ५३७ देखि के हुन थाल्यो र यसले हामीलाई कुन कुराको सम्झना गराउँछ? (ख) सबैभन्दा पहिला हामी कुन प्रश्नबारे विचार गर्नेछौँ?
७ ईसापूर्व ५३७ मा अर्थात् इजकिएलले दर्शन पाएको झन्डै ५६ वर्षपछि निर्वासनमा रहेका हजारौँ यहुदीहरू इस्राएलमा फर्कन थाले र त्यस देशमा बसोबास गर्न थाले। धेरै समयअघि भएका ती उल्लेखनीय घटनाहरूले अहिले आधुनिक समयमा परमेश्वरका सेवकहरूमाझ भइरहेको कुराको सम्झना गराउँछ। एक अर्थमा भन्ने हो भने तिनीहरूले पनि जमिनको भाग पाए। कसरी? यहोवा परमेश्वरले आफ्ना सेवकहरूलाई आध्यात्मिक देशमा प्रवेश गरेर त्यसमाथि अधिकार गर्न दिनुभयो। पुरातन समयको प्रतिज्ञा गरिएको देश पुनर्स्थापित भएको कुराबाट आज परमेश्वरका सेवकहरूको आध्यात्मिक देशको पुनर्स्थापनाबारे धेरै कुरा सिक्न सक्छौँ। तर सिक्न सक्ने पाठहरूबारे विचार गर्नुभन्दा पहिला यस प्रश्नको जवाफ थाह पाऔँ, “आज आध्यात्मिक देश साँच्चै अस्तित्वमा छ भन्ने निष्कर्षमा हामी किन पुग्न सक्छौँ?”
८. (क) यहोवा परमेश्वरले इस्राएल राष्ट्रको ठाउँमा कुन राष्ट्रलाई छान्नुभयो? (ख) आध्यात्मिक देश अर्थात् आध्यात्मिक प्रमोदवन भनेको के हो? (ग) यो कहिलेदेखि अस्तित्वमा आयो र यसमा को-को बसोबास गर्छन्?
८ इजकिएलले पहिला पाएको एउटा दर्शनमा यहोवा परमेश्वरले इस्राएलको पुनर्स्थापनाबारे गरिएका भविष्यवाणीहरू उहाँको “सेवक दाउद” अर्थात् येसु ख्रिष्टले शासन गर्न थाल्नुभएपछि व्यापक रूपमा पूरा हुनेछ भनेर सङ्केत गर्नुभयो। (इज. ३७:२४) येसुले इस्वी संवत् १९१४ मा राजाको रूपमा शासन गर्न थाल्नुभयो। त्यतिबेलासम्म अभिषिक्त ख्रिष्टियनहरू मिलेर बनेको आध्यात्मिक इस्राएलले इस्राएल राष्ट्रको ठाउँ ओगटेको धेरै समय भइसकेको थियो। (मत्ति २१:४३; १ पत्रुस २:९ पढ्नुहोस्) तर यहोवा परमेश्वरले इस्राएल राष्ट्रको ठाउँमा आध्यात्मिक राष्ट्रलाई छान्नुको अलावा त्यो साँच्चैको देशको ठाउँमा आध्यात्मिक देश अर्थात् आध्यात्मिक प्रमोदवन पनि बसाल्नुभयो। (यसै. ६६:८) यस प्रकाशनको अध्याय १७ मा छलफल गरेझैँ आध्यात्मिक देश भनेको सुरक्षित आध्यात्मिक अवस्था हो, जहाँ बाँकी रहेका अभिषिक्त जनहरूले इस्वी संवत् १९१९ देखि यहोवा परमेश्वरलाई उपासना चढाउँदै छन्। (“इस्वी संवत् १९१९ नै किन?” भन्ने पेटी ९ख हेर्नुहोस्) समय बित्दै जाँदा पार्थिव आशा भएका “अरू भेडा” पनि त्यस आध्यात्मिक देशमा बसोबास गर्न थाले। (युह. १०:१६) अहिले पनि आध्यात्मिक प्रमोदवन फैलिँदै र वृद्धि हुँदै छ अनि आरमागेडोनपछि मात्र हामीले यसबाट पूरापूर आशिष् अनुभव गर्नेछौँ।
जमिन बराबर हुनेगरि भाग लगाइन्छ
९. यहोवा परमेश्वरले जमिनको भागबन्डाबारे कस्तो विस्तृत निर्देशन दिनुभयो?
९ इजकिएल ४८:१, २८ पढ्नुहोस्। पूरै जमिनको सिमानाबारे बताइसकेपछि यहोवा परमेश्वरले त्यो जमिनलाई कसरी भागबन्डा लगाउने भनेर बताउनुभयो। उहाँले उत्तरदेखि दक्षिण गर्दै १२ कुलको लागि बराबर हुनेगरि जमिन भाग लगाउन निर्देशन दिनुभयो। उत्तरमा दानको कुलदेखि सुरु गरेर दक्षिणमा गादको कुलसम्म भाग लगाउनुपर्थ्यो। बाह्रै वटा कुलको लागि तेर्सो गरेर जमिन भाग लगाउनुपर्ने थियो र प्रत्येक कुलले पाउने जमिनको भाग पूर्वतिरको सिमानाबाट सुरु भएर पश्चिमतिर महासागर अर्थात् भूमध्यसागरसम्म फैलिने थियो।—इज. ४७:२०.
१०. दर्शनको यस भागबाट निर्वासनमा रहेकाहरूले कस्तो आश्वासन पाएको हुनुपर्छ?
१० दर्शनको यस भागबाट निर्वासनमा रहेकाहरूले कस्तो आश्वासन पाएको हुनुपर्छ? जमिनको भागबन्डाबारे इजकिएलले दिएको विस्तृत विवरणबाट निर्वासनमा रहेकाहरूले जमिनको भागबन्डा लगाउने काम व्यवस्थित रूपमा हुनेछ भनेर बुझेको हुनुपर्छ। यसबाहेक १२ कुलमाझ बराबर जमिन भाग लगाउनुले निर्वासनबाट फर्कने सबैले पुनर्स्थापित देशमा ठाउँ पाउने कुरालाई जोड दियो। फर्कनेहरू कोही पनि जमिनविहीन अथवा घरबारविहीन हुने थिएनन्।
११. जमिनको भागबन्डाबारे भविष्यसूचक दर्शनबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ? (“जमिनको भागबन्डा” भन्ने पेटी हेर्नुहोस्)
११ यस दर्शनबाट आज हामी कस्ता आश्वासनदायी पाठहरू सिक्न सक्छौँ? प्रतिज्ञा गरिएको पुनर्स्थापित देशमा पुजारीहरू, लेवीहरू र कुलनायकहरूले मात्र नभई १२ कुलका बाँकी सबै मानिसले ठाउँ पाए। (इज. ४५:४, ५, ७, ८) आज आध्यात्मिक प्रमोदवनमा पनि बाँकी रहेका अभिषिक्त जनहरू र “ठूलो भीड”-मध्येका नेतृत्व लिनेहरूले मात्र होइन, ठूलो भीडका बाँकी सबैले ठाउँ पाउँछन्।a (प्रका. ७:९) सङ्गठनमा हाम्रो भूमिका जतिसुकै सानो भए तापनि आध्यात्मिक देशमा हामीले सुरक्षित ठाउँ र अनमोल जिम्मेवारी पाएका छौँ। कस्तो मनै छुने आश्वासन!
यहोवा परमेश्वरको सङ्गठनमा हामीले जस्तोसुकै जिम्मेवारी सँभालिरहेको भए तापनि उहाँ हाम्रो कामको कदर गर्नुहुन्छ (अनुच्छेद ११ हेर्नुहोस्)
दुइटा उल्लेखनीय भिन्नता—त्यसले हाम्रो लागि कस्तो अर्थ राख्छ?
१२, १३. यहोवा परमेश्वरले जमिनको भागबन्डासम्बन्धी तोकेरै कस्तो निर्देशन दिनुभयो?
१२ यहोवा परमेश्वरले इजकिएललाई जमिनको भागबन्डासम्बन्धी निर्देशन दिनुहुँदा इजकिएल अलमल्लमा परेका हुन सक्छन्। किनभने तिनले पाएको केही निर्देशन मोसालाई दिइएको निर्देशनभन्दा भिन्नै थिए। दुइटा भिन्नता विचार गरौँ। एउटा भिन्नता जमिनसम्बन्धी थियो भने अर्को यसका बासिन्दाहरूसम्बन्धी थियो।
१३ पहिलो, जमिन। मोसालाई ठूला कुलहरूलाई जमिनको ठूलै भाग दिन निर्देशन दिइएको थियो। (गन्ती २६:५२-५४) तर इजकिएलको दर्शनमा भने यहोवा परमेश्वरले प्रत्येक कुललाई “बराबर जमिन” दिन तोकेरै निर्देशन दिनुभयो। (इज. ४७:१४) त्यसैले १२ वटै कुलले पाउने जमिनको उत्तरको सिमानादेखि दक्षिणको सिमानासम्मको दूरी बराबर हुनुपर्थ्यो। जुनसुकै कुलको भए तापनि सबै इस्राएलीले प्रतिज्ञा गरिएको त्यस उर्वर देशमा भएका प्राकृतिक स्रोतसाधन बराबर उपभोग गर्न पाउने थिए।
१४. यहोवा परमेश्वरले विदेशीहरूको सन्दर्भमा दिनुभएको निर्देशन मोसाको व्यवस्थामा उहाँले भन्नुभएको कुराभन्दा कसरी श्रेष्ठ थियो?
१४ दोस्रो, यसका बासिन्दाहरू। मोसाको व्यवस्थाले विदेशीहरूको हक-अधिकारको सुरक्षा गरेको थियो। साथै तिनीहरूले यहोवा परमेश्वरलाई उपासना चढाउने मौका पनि पाउँथे। तर तिनीहरूले जमिन भने पाउँदैनथे। (लेवी १९:३३, ३४) तर यहोवा परमेश्वरले अब इजकिएललाई भन्न लाग्नुभएको कुरा मोसाको व्यवस्थामा उहाँले भन्नुभएको कुराभन्दा श्रेष्ठ थियो। यहोवा परमेश्वरले इजकिएललाई यस्तो निर्देशन दिनुभयो: “ती विदेशीहरू जुन कुलको इलाकामा बसिरहेका छन्, तिनीहरूलाई त्यहीँ नै उत्तराधिकारको रूपमा जमिन दिनू।” यस्तो निर्देशन दिनुभएर यहोवा परमेश्वरले “जन्मजात इस्राएली” र त्यस देशमा बसोबास गरिरहेका विदेशीहरूबीचको एउटा ठूलो भिन्नतालाई हटाइदिनुभयो। (इज. ४७:२२, २३) आफूले दर्शनमा देखेको पुनर्स्थापित देशका बासिन्दाहरूबीच समानता र उपासनामा एकता भएको कुरा इजकिएलले याद गरे।—लेवी २५:२३.
१५. जमिन र यसका बासिन्दाहरूबारे परमेश्वरले दिनुभएको निर्देशनले उहाँबारे कुन ध्रुव सत्यलाई पुष्टि गऱ्यो?
१५ जमिन र यसका बासिन्दाहरूबारे इजकिएलले पाएको दुइटा उल्लेखनीय निर्देशनले निर्वासनमा रहेकाहरूलाई पक्कै ढुक्क बनाएको हुन सक्छ। चाहे तिनीहरू जन्मजात इस्राएली होऊन् वा यहोवा परमेश्वरको उपासना गर्ने विदेशीहरू, उहाँले तिनीहरूलाई बराबर जमिन दिनुहुनेछ भनेर तिनीहरूलाई थाह थियो। (एज्रा ८:२०; नहे. ३:२६; ७:६, २५; यसै. ५६:३, ८) यी निर्देशनहरूले एउटा प्रोत्साहनजनक ध्रुव सत्यलाई पनि पुष्टि गऱ्यो। त्यो हो, यहोवा परमेश्वरको लागि आफ्ना सबै सेवक मूल्यवान् छन्। (हाग्गै २:७ पढ्नुहोस्) हाम्रो आशा स्वर्गमा जाने होस् वा यसै पृथ्वीमा बस्ने, हामी सबै यो सत्यको कदर गर्छौँ।
१६, १७. (क) जमिन र यसका बासिन्दाहरूबारे बताइएका विवरणहरू विचार गर्दा हामीलाई कस्तो फाइदा हुन्छ? (ख) अर्को अध्यायमा कुन कुरा छलफल गर्नेछौँ?
१६ जमिन र यसका बासिन्दाहरूबारे यी विवरणहरू विचार गर्दा हामीलाई कस्तो फाइदा हुन्छ? हाम्रो विश्वव्यापी भाइचाराको उल्लेखनीय पक्ष समानता र एकता हुनुपर्छ भनेर यसले हामीलाई सम्झना गराउँछ। यहोवा परमेश्वर पक्षपाती हुनुहुन्न। हामीले आफैलाई यस्तो प्रश्न गर्नुपर्छ: ‘के मेरो व्यवहार यहोवा परमेश्वरको जस्तै निष्पक्ष छ? भाइबहिनीहरूको जात वा परिस्थिति जस्तोसुकै भए तापनि के म उनीहरूलाई मनैदेखि आदर गर्छु?’ (रोमी १२:१०) यहोवा परमेश्वरले आध्यात्मिक प्रमोदवनमा हामी सबैलाई बराबर भाग दिनुभएकोमा हामी खुसी छौँ। यस आध्यात्मिक प्रमोदवनमा हामी स्वर्गमा बस्नुहुने बुबालाई तनमनले पवित्र सेवा चढाउँछौँ र उहाँले दिनुहुने आशिष्हरूको आनन्द उठाउँछौँ।—गला. ३:२६-२९; प्रका. ७:९.
के हाम्रो व्यवहार यहोवा परमेश्वरको जस्तै निष्पक्ष छ अनि के हामी भाइबहिनीहरूलाई मनैदेखि आदर गर्छौँ? (अनुच्छेद १५, १६ हेर्नुहोस्)
१७ अब हामी इजकिएलले पाएको अन्तिम दर्शनको अन्तमा दिइएको चौथो आश्वासन विचार गरौँ। त्यो हो, यहोवा परमेश्वर निर्वासित मानिसहरूमाझ रहनुहुने प्रतिज्ञा। यस प्रतिज्ञाबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? अर्को अध्यायमा यस प्रश्नको जवाफ पाउनेछौँ।
-
-
“त्यस सहरको नाम हुनेछ, ‘यहोवा त्यहाँ हुनुहुन्छ’”यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
-
-
अध्याय २१
“त्यस सहरको नाम हुनेछ, ‘यहोवा त्यहाँ हुनुहुन्छ’”
मुख्य कुरा: सहरको अर्थ र पवित्र जमिनको लागि छुट्ट्याइएको इलाकाको अर्थ
१, २. (क) एक टुक्रा जमिन कुन विशेष उद्देश्यको लागि छुट्ट्याउनुपर्थ्यो? (आवरणको चित्र हेर्नुहोस्) (ख) यस दर्शनले निर्वासित मानिसहरूलाई कस्तो आश्वासन दिन्छ?
यस अन्तिम दर्शनमा इजकिएल विशेष उद्देश्यको लागि छुट्ट्याउनुपर्ने एक टुक्रा जमिनबारे थाह पाउँछन्। त्यो जमिन इस्राएलीहरूको कुनै कुललाई पैतृक सम्पत्तिको रूपमा नदिई यहोवा परमेश्वरलाई अर्पण गरिएको छ। तिनी एउटा उल्लेखनीय सहरबारे पनि थाह पाउँछन्, जसको नाम रोचक छ। दर्शनको यस भागले निर्वासित मानिसहरूलाई एउटा असाध्यै महत्त्वपूर्ण आश्वासन दिन्छ। त्यो हो: तिनीहरू आफ्नो प्यारो मातृभूमि फर्कँदा यहोवा परमेश्वर तिनीहरूसित रहनुहुनेछ।
२ यहोवा परमेश्वरलाई अर्पण गर्नुपर्ने त्यस जमिनबारे इजकिएल हामीलाई विस्तृत रूपमा बताउँछन्। आउनुहोस्, हामी यहोवा परमेश्वरका साँचो उपासकहरूको लागि अर्थपूर्ण यस विवरणलाई जाँचौँ।
“सहर र पवित्र भूमि”
३. यहोवा परमेश्वरले छुट्ट्याउनुभएको जमिन कुन पाँच वटा भाग मिलेर बनेको थियो र जमिनका ती भागहरू कुन उद्देश्यका लागि छुट्ट्याइएका थिए? (“पवित्र जमिनको लागि छुट्ट्याइएको इलाका” भन्ने पेटी हेर्नुहोस्)
३ यहोवा परमेश्वरलाई अर्पण गर्नुपर्ने जमिनको भागको नाप उत्तरदेखि दक्षिणसम्म २५ हजार हात (१३ किलोमिटर) र पूर्वदेखि पश्चिमसम्म २५ हजार हात थियो। यस वर्गाकार जमिनलाई “सम्पूर्ण पवित्र जमिन” भनिन्थ्यो। यसलाई तेर्सो गरेर तीन वटा भागमा विभाजन गरिएको थियो। “सम्पूर्ण पवित्र जमिन”-को माथिल्लो भाग लेवीहरूको लागि थियो भने बीचको भाग मन्दिर र पुजारीहरूको लागि छुट्ट्याइएको थियो। यी दुई भाग मिलेर “पवित्र भूमि” बनेको थियो। “सम्पूर्ण पवित्र जमिन”-मा “बाँकी रहेको” तल्लो सानो भागचाहिँ “साधारण ठाउँ” थियो। त्यो भाग सहरको लागि थियो।—इज. ४८:१५, २०.
४. यहोवा परमेश्वरलाई अर्पण गरिएको जमिनको विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?
४ यहोवा परमेश्वरलाई अर्पण गरिएको जमिनको यो विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? सबैभन्दा पहिला यहोवा परमेश्वरले आफ्नो निम्ति एक टुक्रा जमिन छुट्ट्याउनुभयो। त्यसपछि कुल-कुलको निम्ति जमिन भागबन्डा गर्नुभयो। यसरी उहाँले उक्त जमिनको आध्यात्मिक केन्द्रलाई महत्त्व दिनुपर्छ भनेर औँल्याउनुभयो। यसबाट ती निर्वासित मानिसहरूले यहोवा परमेश्वरको उपासनालाई जीवनमा पहिलो स्थान दिनुपर्छ भन्ने कुरा पक्कै सिके। आज हामी पनि परमेश्वरको वचनको अध्ययन गर्ने, ख्रिष्टियन सभाहरूमा उपस्थित हुने र प्रचारकार्यमा भाग लिनेजस्ता आध्यात्मिक गतिविधिलाई सबैभन्दा महत्त्वपूर्ण ठान्छौँ। महत्त्वपूर्ण कुरालाई प्राथमिकता दिने सम्बन्धमा यहोवा परमेश्वरको उदाहरण अनुकरण गर्दा हामीले उहाँको उपासना गर्नु नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर देखाइरहेका हुन्छौँ।
“यसको बीचमा सहर हुनेछ”
५, ६. (क) सहर कसको लागि थियो? (ख) सहरले केलाई सङ्केत गरेको हुन सक्दैन र किन?
५ इजकिएल ४८:१५ पढ्नुहोस्। “सहर” र त्यस वरपरको इलाकाको महत्त्व के थियो? (इज. ४८:१६-१८) दर्शनमा यहोवा परमेश्वरले इजकिएललाई यसो भन्नुभएको थियो: “सहरको लागि तिमीहरूले . . . एक टुक्रा जमिन छुट्ट्याउनू। त्यो जमिन इस्राएलका सम्पूर्ण घरानाको लागि हुनेछ।” (इज. ४५:६, ७) त्यसकारण सहर र त्यस वरपरको इलाका ‘यहोवाको लागि छुट्ट्याइएको’ “पवित्र भूमि” थिएन। (इज. ४८:९) यो कुरा मनमा राख्दै सहरको यस्तो प्रबन्धबाट आज हामी कस्तो पाठ सिक्न सक्छौँ भनी विचार गरौँ।
६ सहरबाट हामी कस्तो पाठ सिक्न सक्छौँ भनेर थाह पाउन सबैभन्दा पहिला, त्यस सहरले केलाई सङ्केत गरेको हुन सक्दैन भनेर बुझ्नुपर्छ। त्यसले पुनर्निर्माण गरिएको यरुसलेम सहर र त्यहाँको मन्दिरलाई सङ्केत गरेको हुन सक्दैन। किन? किनकि इजकिएलले दर्शनमा देखेको सहरभित्र मन्दिर थिएन। साथै त्यस सहरले पुनर्स्थापित इस्राएलमा भएको अरू कुनै सहरलाई पनि सङ्केत गरेको हुन सक्दैन। किन? किनकि निर्वासनबाट फर्केकाहरू अथवा तिनीहरूका सन्तानले यस दर्शनमा वर्णन गरिएको जस्तो सहर कहिल्यै बनाएनन्। अनि त्यस सहरले स्वर्गीय सहरलाई सङ्केत गरेको पनि हुन सक्दैन। किन? किनकि त्यो सहर “साधारण [पवित्र भनेर नछुट्ट्याइएको] ठाउँ”-मा बनाइएको थियो, जुन ठाउँ परमेश्वरलाई पवित्र उपासना चढाउनकै लागि भनेर छुट्ट्याइएको ठाउँबाट अलग्गै थियो।—इज. ४२:२०.
७. इजकिएलले देखेको सहर के हो र त्यसले केलाई सङ्केत गरेको हुन सक्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)
७ त्यसोभए इजकिएलले देखेको सहर के हो? याद गर्नुहोस्, तिनले देश देखेकै दर्शनमा सहर पनि देखे। (इज. ४०:२; ४५:१, ६) बाइबलअनुसार त्यस देशले आध्यात्मिक देशलाई सङ्केत गर्छ। त्यसैले त्यो सहर पनि आध्यात्मिक सहर हो। साधारणतया “सहर” भन्ने शब्दले केलाई बुझाउँछ? यसले व्यवस्थित भएर सँगै बसेका मानिसहरूको समूहलाई बुझाउँछ, जहाँ नियम-कानुन हुन्छ। त्यसैले इजकिएलले देखेको व्यवस्थित सहर, जुन वर्गाकार थियो, त्यसले व्यवस्थित प्रशासनलाई सङ्केत गरेको हुन सक्छ।
८. यस प्रशासनको दायरा कहाँसम्म छ र किन?
८ यस प्रशासनको दायरा कहाँसम्म छ? इजकिएलको दर्शनले देखाएअनुसार त्यस सहरले आध्यात्मिक देशभित्र काम गर्छ। त्यसैले आज यस प्रशासनले आध्यात्मिक प्रमोदवनभित्र काम गर्छ। अनि त्यो सहर साधारण ठाउँमा अर्थात् पवित्र भनेर नछुट्ट्याइएको ठाउँमा हुनुले केलाई सङ्केत गर्छ? त्यो सहर स्वर्गीय प्रशासन नभई पार्थिव प्रशासन हो भनेर यसले सङ्केत गर्छ। यस पार्थिव प्रशासनले आध्यात्मिक प्रमोदवनका सबै बासिन्दाको फाइदा हुने काम गरिरहेको छ।
९. (क) पार्थिव प्रशासन आज कसले चलाइरहेको छ? (ख) हजार वर्षीय शासनको दौडान येसुले के गर्नुहुनेछ?
९ यो पार्थिव प्रशासन कसले चलाइरहेको छ? इजकिएलको दर्शनमा सहरमा नेतृत्व लिइरहेको व्यक्तिलाई “कुलनायक” भनिएको थियो। (इज. ४५:७) तिनले मानिसहरूमाझ निरीक्षकको काम गर्थे तर तिनी पुजारी वा लेवी थिएनन्। कुलनायकले आज हामीलाई विशेषगरि मण्डलीका ती निरीक्षकहरूको सम्झना गराउँछ, जो अभिषिक्त जनहरू होइनन्। “अरू भेडा”-का यी मायालु आध्यात्मिक गोठालाहरू ख्रिष्टको स्वर्गीय सरकारको नम्र सेवकहरू हुन्। (युहन्ना १०:१६) आउँदै गरेको हजार वर्षीय शासनमा येसुले “सारा पृथ्वी”-मा योग्य एल्डरहरू अर्थात् ‘शासकहरू’ नियुक्त गर्नुहुनेछ। (भज. ४५:१६) तिनीहरूले हजार वर्षीय शासनको दौडान स्वर्गीय राज्यको निर्देशनमा परमेश्वरका मानिसहरूको हेरविचार गर्नेछन्।
“यहोवा त्यहाँ हुनुहुन्छ”
१०. सहरको नाम के हो र यो नामले कस्तो आश्वासन दिन्छ?
१० इजकिएल ४८:३५ पढ्नुहोस्। त्यस सहरको नाम “यहोवा त्यहाँ हुनुहुन्छ” हो। यो नामले त्यस सहरमा यहोवाको उपस्थितिको महसुस हुन्छ भन्ने कुराको आश्वासन दिन्छ। सबैलाई पायक पर्ने ठाउँमा भएको यो सहर इजकिएललाई देखाउँदै यहोवा परमेश्वरले निर्वासित मानिसहरूलाई मानौँ यसो भनिरहनुभएको थियो: ‘म फेरि तिमीहरूसित हुनेछु!’ कत्ति उत्साहजनक आश्वासन!
११. इजकिएलले सहरबारे देखेको दर्शन र त्यस सहरको अर्थपूर्ण नामबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?
११ इजकिएलको भविष्यवाणीको यो भागबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? यस सहररूपी प्रशासनको नामले हामीलाई यहोवा परमेश्वर पृथ्वीका आफ्ना वफादार सेवकहरूमाझ अहिले पनि रहनुहुन्छ र सधैँभरि रहनुहुनेछ भन्ने कुरामा आश्वस्त पार्छ। यस अर्थपूर्ण नामले अर्को महत्त्वपूर्ण सत्यलाई पनि जोड दिन्छ: यो सहर अस्तित्वमा हुनुको कारण कुनै मानिसलाई अख्तियार दिन होइन तर यहोवा परमेश्वरका मायालु र व्यावहारिक तौरतरिकाहरू लागू गर्नको लागि हो। उदाहरणको लागि, यहोवा परमेश्वरले त्यस प्रशासनलाई मानव दृष्टिकोणबाट हेर्दा मनासिबजस्तो देखिने तरिकामा देश भाग लगाउने अख्तियार दिनुभएको छैन। बरु स्वयम् यहोवा परमेश्वरले “गरिब”-लगायत आफ्ना सबै सेवकलाई छुट्ट्याइदिनुभएको भाग अर्थात् सुअवसरहरूलाई ती प्रशासकहरूले स्विकारेको उहाँ आशा गर्नुहुन्छ।—हितो. १९:१७; इज. ४६:१८; ४८:२९.
१२. (क) यस सहरको एउटा उल्लेखनीय पक्ष के हो र यसले के सङ्केत गर्छ? (ख) दर्शनको यो पक्ष ख्रिष्टियन निरीक्षकहरूका लागि कस्तो महत्त्वपूर्ण सम्झौटा हो?
१२ “यहोवा त्यहाँ हुनुहुन्छ” नाम भएको सहरको अर्को उल्लेखनीय पक्ष के हो? पुरातन समयका सहरहरूमा सुरक्षाका लागि पर्खालहरू बनाइएका हुन्थे तर त्यसमा ढोकाहरू भने सकेसम्म थोरै हुन्थे। तर यस सहरमा भने १२ वटा ढोका छन्! (इज. ४८:३०-३४) धेरै सङ्ख्यामा (यस वर्गाकार सहरको हरेक दिशामा तीन वटा) ढोका हुनुले यस सहरका प्रशासकहरूसित कुरा गर्न सजिलो छ र उनीहरू परमेश्वरका सबै सेवकलाई मदत गर्न सधैँ तयार हुन्छन् भन्ने कुरालाई सङ्केत गर्छ। साथै सहरमा १२ वटा ढोका हुनुले यो सबैको लागि, “इस्राएलका सम्पूर्ण घरानाको लागि” खुला छ भन्ने कुरालाई जोड दिन्छ। (इज. ४५:६) सहरको यस्तो विशेषता ख्रिष्टियन निरीक्षकहरूका लागि एउटा महत्त्वपूर्ण सम्झौटा हो। ख्रिष्टियन निरीक्षकहरू आध्यात्मिक प्रमोदवनमा बस्ने सबैको लागि कुरा गर्न सजिलो व्यक्ति भएको र अरूलाई मदत गर्न सधैँ तयार भएको यहोवा परमेश्वर आशा गर्नुहुन्छ।
ख्रिष्टियन निरीक्षकहरूसित कुरा गर्न सजिलो हुन्छ र तिनीहरू हामीलाई मदत गर्न सधैँ तयार हुन्छन् (अनुच्छेद १२ हेर्नुहोस्)
परमेश्वरका सेवकहरू ‘उपासना गर्न आउँछन्’ र ‘सहरमा सेवा गर्दै छन्’
१३. मानिसहरूले चढाउने विभिन्न सेवाबारे यहोवा परमेश्वर के बताउनुहुन्छ?
१३ फेरि इजकिएलको समयमा फर्कौँ र जमिनको भागबन्डासम्बन्धी यो विस्तृत दर्शनमा तिनले अरू के-के देखे, विचार गरौँ। यस दर्शनमा यहोवा परमेश्वर मानिसहरूले सेवाका विभिन्न पक्षमा भाग लिइरहेको कुरा बताउनुहुन्छ। “मन्दिरका सेवकहरू” अर्थात् पुजारीहरूले बलिदान चढाउनुपर्थ्यो र यहोवा परमेश्वरको सेवा गर्न उहाँसामु उपस्थित हुनुपर्थ्यो। अनि ‘मन्दिरमा सेवा गर्नेहरू’ अर्थात् लेवीहरूले ‘मन्दिरमा आफूले गर्नुपर्ने सबै काम पूरा गर्नुपर्थ्यो।’ (इज. ४४:१४-१६; ४५:४, ५) साथै कामदारहरूले सहरनजिकै सक्रिय भई काम गर्नुपर्थ्यो। ती कामदारहरू को हुन्?
१४. सहरलाई मदत गर्ने कामदारहरूले हामीलाई केको सम्झना गराउँछ?
१४ सहरलाई मदत गर्ने कामदारहरू “इस्राएलको हरेक कुलबाट” आएका छन्। तिनीहरूको काम “सहरमा सेवा गर्नेहरूका लागि” खेतीपाती गर्नु हो। (इज. ४८:१८, १९) के यो प्रबन्धले आज हामीले पाएको मौकाको सम्झना गराउँदैन र? पक्कै गराउँछ। आज आध्यात्मिक प्रमोदवनमा बस्ने सबैले ख्रिष्टका अभिषिक्त भाइहरूले गर्ने सेवाको कामलाई र “ठूलो भीड”-मध्येका नेतृत्व लिइरहेका भाइहरूले गर्ने सेवाको कामलाई टेवा पुऱ्याउने मौका पाएका छन्। (प्रका. ७:९, १०) यसो गर्ने एउटा मुख्य तरिका भनेको विश्वासी दासबाट आएको निर्देशनलाई राजीखुसीले स्विकार्नु हो।
१५, १६. (क) इजकिएलले देखेको दर्शनबाट हामी अरू के कुरा थाह पाउन सक्छौँ? (ख) हामीले पनि यस्तै किसिमका कस्ता कामहरूमा भाग लिने मौका पाएका छौँ?
१५ सेवाको कामबारे पाठ सिक्न सक्ने अर्को एउटा विवरण इजकिएलको दर्शनमा पाउँछौँ। कस्तो विवरण? यहोवा परमेश्वर १२ वटा गैर-लेवी कुलका सदस्यहरूले यी दुइटा ठाउँमा सक्रिय भई सेवा गर्ने कुरा बताउनुहुन्छ: मन्दिरको चोकमा र सहरको चरनमा। यी दुई ठाउँमा तिनीहरू कस्ता कामहरू गर्छन्? मन्दिरको चोकमा सबै कुल यहोवा परमेश्वरको निम्ति भेटी चढाएर उहाँको “उपासना गर्न” आउँछन्। (इज. ४६:९, २४) सहरको जमिनमा खेतीपाती गरेर सबै कुलका सदस्यहरू त्यस सहरलाई सहयोग गर्न आउँछन्। यी कामदारहरूको उदाहरणबाट हामी के सिक्न सक्छौँ?
१६ आज ठूलो भीडले इजकिएलले दर्शनमा देखेको जस्तै काममा भाग लिने मौका पाएको छ। तिनीहरू प्रशंसाको भेटी चढाएर यहोवा परमेश्वरलाई “उहाँको मन्दिरमा” उपासना गर्छन्। (प्रका. ७:९-१५) तिनीहरू प्रचारकार्यमा भाग लिएर अनि ख्रिष्टियन सभाहरूमा टिप्पणी र प्रशंसाको गीतद्वारा आफ्नो विश्वास व्यक्त गरेर यसो गर्छन्। यसरी यहोवा परमेश्वरको उपासना गर्नुलाई तिनीहरू आफ्नो मुख्य जिम्मेवारी ठान्छन्। (१ इति. १६:२९) साथै परमेश्वरका सेवकहरूमध्ये थुप्रैले अन्य विभिन्न व्यावहारिक तरिकामा परमेश्वरको सङ्गठनलाई सहयोग गरेका छन्। जस्तै: तिनीहरू राज्यभवन र शाखा कार्यालयका भवनहरूको निर्माण र स्याहारसम्भारमा अनि यहोवाको सङ्गठनमा भइरहेको अरू थुप्रै काममा मदत गर्छन्। अरू कतिपयले चाहिँ आर्थिक अनुदान दिएर यी कामहरूमा सहयोग गर्छन्। तिनीहरूले यी सबै कामद्वारा एक अर्थमा जमिनमा खेतीपाती गरेर “परमेश्वरकै महिमा” गरिरहेका छन्। (१ कोरि. १०:३१) तिनीहरू जोसिलो भई र आनन्द मान्दै यी कामहरू गर्छन् किनकि “यस्तै बलिदानहरूसित परमेश्वर असाध्यै खुसी हुनुहुन्छ” भनेर तिनीहरूलाई थाह छ। (हिब्रू १३:१६) के तपाईँ यी मौकाहरूको सदुपयोग गर्दै हुनुहुन्छ?
सहरको प्रवेशद्वार र त्यसको वरपर भइरहेका विभिन्न गतिविधिबारे इजकिएलले गरेको वर्णनबाट हामी के-कस्तो पाठ सिक्न सक्छौँ? (अनुच्छेद १४-१६ हेर्नुहोस्)
“नयाँ आकाश र नयाँ पृथ्वीको प्रतीक्षा गर्दै छौँ”
१७. (क) भविष्यमा हामीले इजकिएलले देखेको दर्शनको कस्तो व्यापक पूर्ति देख्नेछौँ? (ख) हजार वर्षीय शासनको दौडान सहररूपी प्रशासनबाट कसले लाभ उठाउनेछ?
१७ यहोवा परमेश्वरलाई अर्पण गरिएको जमिनबारे इजकिएलले देखेको दर्शनको व्यापक पूर्ति के हामीले भविष्यमा देख्नेछौँ? यो कुरा विचार गर्नुहोस्: “पवित्र जमिन” भन्ने नाम दिइएको जमिनको भाग त्यस देशको केन्द्र भएको इजकिएलले देखे। (इज. ४८:१०) त्यसैगरि आरमागेडोनपछि हामी पृथ्वीको जुनसुकै भागमा बसे तापनि यहोवा परमेश्वर हामीमाझ रहनुहुनेछ। (प्रका. २१:३) हजार वर्षीय शासनको दौडान सहररूपी प्रशासनले अर्थात् परमेश्वरका मानिसहरूको हेरविचार गर्नको लागि पृथ्वीमा नियुक्त हुनेहरूले “नयाँ पृथ्वी” अर्थात् नयाँ मानव समाजलाई मायालु डोऱ्याइ र निर्देशन दिएर आफ्नो दायरा पृथ्वीभरि फैलाउनेछ।—२ पत्रु. ३:१३.
१८. (क) सहररूपी प्रशासन र परमेश्वरको शासनबीच पूर्णतया तालमेल हुनेछ भन्ने कुरामा हामी किन पक्का हुन सक्छौँ? (ख) सहरको नामले हामीलाई कुन कुरामा आश्वस्त पार्छ?
१८ सहररूपी प्रशासन र परमेश्वरको शासनबीच पूर्णतया तालमेल हुनेछ भन्ने कुरामा हामी किन पक्का हुन सक्छौँ? किनकि १२ वटा ढोका भएको पार्थिव सहरले १२ वटै ढोका भएको स्वर्गीय सहर अर्थात् ख्रिष्टका १ लाख ४४ हजार सह-शासक मिलेर बनेको नयाँ यरुसलेमलाई प्रतिबिम्बित गर्छ भनी परमेश्वरको वचनले स्पष्ट पार्छ। (प्रका. २१:२, १२, २१-२७) पार्थिव प्रशासनले परमेश्वरको राज्यले स्वर्गमा गरेको एक-एक निर्णयलाई प्रतिबिम्बित गर्नेछ र ती निर्णयहरू कार्यान्वयन गर्नेछ भनेर यसले सङ्केत गर्छ। हो, “यहोवा त्यहाँ हुनुहुन्छ” भन्ने यस सहरको नामले हामी प्रत्येकलाई प्रमोदवनमा पनि शुद्ध उपासना रहनेछ र सधैँभरि फस्टाइरहनेछ भन्ने कुरामा आश्वस्त पार्छ। हामीलाई यस्तो अद्भुत भविष्यले पर्खिरहेको छ!
-