प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lvs पृ. ६०-७४
  • ५. हामी कसरी संसारबाट अलग रहन सक्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ५. हामी कसरी संसारबाट अलग रहन सक्छौँ?
  • परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • “परमेश्‍वरको प्रेम”-मा पढ्नुहोस्
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्यप्रति वफादार हुनुहोस्‌
  • “संसारको मनोभाव”-को प्रतिरोध गर्नुहोस्‌
  • परमेश्‍वरको महिमा गर्ने किसिमको पहिरन लगाउनुहोस्‌
  • पैसाप्रति सन्तुलित दृष्टिकोण
  • “परमेश्‍वरले दिनुहुने सम्पूर्ण हातहतियार”
  • आफ्नो विश्‍वासको पक्षमा खडा रहन तयार हुनुहोस्‌
  • प्रेतहरू—हामी कसरी तिनीहरूको प्रतिरोध गर्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • आखिरी दिनमा तटस्थ मसीहीहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोवाले तपाईँलाई जोगाउनुहुनेछ—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • संसारको मनोभाव होइन, परमेश्‍वरको शक्‍ति पाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
lvs पृ. ६०-७४
ख्रिष्टियन युवायुवतीहरूको समूह

अध्याय ५

हामी कसरी संसारबाट अलग रहन सक्छौँ?

“तिमीहरू यस संसारका होइनौ।”—युहन्‍ना १५:१९.

१. आफ्नो मृत्युको अघिल्लो रात येसु कुन कुरामा चिन्तित हुनुहुन्थ्यो?

येसुको मृत्युको अघिल्लो रातको कुरा हो, अब छिट्टै आफ्ना चेलाहरूलाई छोडेर जानुपर्छ भनेर उहाँलाई थाह थियो। त्यसैले उहाँ आफ्ना चेलाहरूको भविष्य कस्तो होला भनेर चिन्तित हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू यस संसारका होइनौ।” (युहन्‍ना १५:१९) पछि आफ्नो बुबालाई प्रार्थना गर्नुहुँदा येसुले यसो भन्‍नुभयो: “तिनीहरू यस संसारका होइनन्‌, जस्तो म पनि यस संसारको होइन।” (युहन्‍ना १७:१५, १६) उहाँ के भन्‍न खोज्दै हुनुहुन्थ्यो?

२. येसुले चलाउनुभएको “संसार” शब्दले केलाई बुझाउँछ?

२ यहाँ चलाइएको “संसार” शब्दले परमेश्‍वरको उपासना नगर्ने अनि सैतानको शासनको अधीनमा रहने मानवजातिलाई बुझाउँछ। (युहन्‍ना १४:३०; एफिसी २:२; याकुब ४:४; १ युहन्‍ना ५:१९) ‘संसारको भाग नहुन’ हामीले के गर्नुपर्छ? यस अध्यायमा हामी विभिन्‍न तरिकाहरू छलफल गर्नेछौँ। जस्तै: हामी परमेश्‍वरको राज्यप्रति वफादार रहनुपर्छ अनि राजनैतिक मामिलाहरूमा कसैको पक्ष नलिएर तटस्थ रहनुपर्छ; हामी यस संसारको मनोभावविरुद्ध लड्‌नुपर्छ; हाम्रो पहिरन र कोरीबाटी भद्र हुनुपर्छ; हामीले पैसाप्रति सन्तुलित दृष्टिकोण राख्नुपर्छ र परमेश्‍वरले दिनुभएको सम्पूर्ण हातहतियार धारण गर्नुपर्छ।—नोट १६ हेर्नुहोस्‌।

परमेश्‍वरको राज्यप्रति वफादार हुनुहोस्‌

३. येसुले राजनीतिप्रति कस्तो दृष्टिकोण राख्नुभयो?

३ पृथ्वीमा हुनुहुँदा येसुले मानिसहरू तीनथुप्रो समस्याले घेरिएको र तिनीहरूको जीवन कष्टकर भएको देख्नुभयो। उहाँ तिनीहरूलाई निकै माया गर्नुहुन्थ्यो र मदत गर्न चाहनुहुन्थ्यो। तर के त्यसो गर्न उहाँ नेता बन्‍नुभयो? अहँ, बन्‍नुभएन। मानिसहरूलाई वास्तवमा चाहिएको कुरा परमेश्‍वरको राज्य हो भनेर उहाँलाई थाह थियो। त्यस राज्यको राजा उहाँ स्वयम्‌ हुनुहुने थियो अनि उहाँको प्रचारको मुख्य विषय पनि यही राज्य थियो। (दानिएल ७:१३, १४; लुका ४:४३; १७:२०, २१) येसुले कहिल्यै राजनीतिमा भाग लिनुभएन, उहाँ सधैँ तटस्थ रहनुभयो। रोमी राज्यपाल पन्तियस पिलातससामु उहाँले यसो भन्‍नुभयो: “वास्तवमा मेरो राज्य यस संसारको होइन।” (युहन्‍ना १८:३६) उहाँका चेलाहरू पनि राजनैतिक मामिलामा तटस्थ थिए। सभ्यताको बाटोमा (अङ्‌ग्रेजी) भन्‍ने किताबमा सुरु-सुरुका ख्रिष्टियनहरूले “राजनैतिक ओहदामा रहेर काम गरेनन्‌” भनेर लेखिएको छ। आज पनि साँचो ख्रिष्टियनहरू राजनीतिमा भाग लिँदैनन्‌। तिनीहरू वफादार भएर परमेश्‍वरको राज्यलाई समर्थन गर्छन्‌ र संसारको राजनैतिक मामिलामा तटस्थ रहन्छन्‌।—मत्ति २४:१४.

एक जना युवक आफ्नो विश्‍वासबारे बताउँदै

तपाईँ किन वफादार भई परमेश्‍वरको राज्यलाई समर्थन गर्नुहुन्छ भनेर के अरूलाई राम्ररी बुझाउन सक्नुहुन्छ?

४. साँचो ख्रिष्टियनहरू परमेश्‍वरको राज्यलाई समर्थन गरेको कसरी देखाउँछन्‌?

४ राजदूतहरू विदेशी भूमिमा आफ्नो देशको प्रतिनिधिको रूपमा काम गर्छन्‌। त्यसैले तिनीहरू त्यहाँको राजनैतिक मामिलाहरूमा हात हाल्दैनन्‌। येसुसँगै स्वर्गमा शासन गर्ने आशा भएका अभिषिक्‍त जनहरू पनि राजदूतजस्तै हुन्‌। पावलले अभिषिक्‍त ख्रिष्टियनहरूलाई यस्तो लेखे: “हामी ख्रिष्टको सट्टामा काम गर्ने राजदूतहरू हौँ।” (२ कोरिन्थी ५:२०) अभिषिक्‍त जनहरू परमेश्‍वरको सरकारका प्रतिनिधि हुन्‌। तिनीहरू कुनै पनि देशको राजनैतिक तथा आन्तरिक मामिलामा हात हाल्दैनन्‌। (फिलिप्पी ३:२०) बरु मानिसहरूलाई परमेश्‍वरको सरकारबारे सिक्न मदत गर्छन्‌। नयाँ संसारमा सधैँभरि बाँच्ने आशा भएका “अरू भेडा”-ले अभिषिक्‍त जनहरूलाई साथ दिन्छन्‌। तिनीहरू पनि राजनैतिक मामिलामा तटस्थ रहन्छन्‌। (युहन्‍ना १०:१६; मत्ति २५:३१-४०) स्पष्ट छ, साँचो ख्रिष्टियनहरू यस संसारको राजनैतिक मामिलाहरूमा भाग लिँदैनन्‌।—यसैया २:२-४ पढ्‌नुहोस्‌।

५. ख्रिष्टियनहरू किन युद्धमा भाग लिँदैनन्‌?

५ साँचो ख्रिष्टियनहरू संसारभरका सङ्‌गी उपासकहरूलाई आफ्नै परिवारको रूपमा हेर्छन्‌। तिनीहरू जुनसुकै देश र पृष्ठभूमिको भए तापनि एकतामा बस्छन्‌। (१ कोरिन्थी १:१०) येसुले हामीलाई आपसमा प्रेम गर भनी आज्ञा दिनुभएको छ। तर यदि हामी युद्धमा भाग लिन्छौँ भने आफ्नै परिवार अर्थात्‌ एउटै विश्‍वासमा भएकाहरूविरुद्ध लडिरहेका हुन्छौँ। (युहन्‍ना १३:३४, ३५; १ युहन्‍ना ३:१०-१२) साथै येसुले शत्रुहरूलाई समेत प्रेम गर्न भन्‍नुभएको छ।—मत्ति ५:४४; २६:५२.

६. यहोवाका सेवकहरू सरकारप्रति कस्तो दृष्टिकोण राख्छन्‌?

६ ख्रिष्टियन भएकोले हामी राजनैतिक मामिलामा तटस्थ रहन्छौँ। तर त्यसो भन्दैमा असल नागरिकले पूरा गर्नुपर्ने कर्तव्यलाई बेवास्ता गर्दैनौँ। उदाहरणका लागि, हामी देशको नियम-कानुन पालन गरेर अनि कर तिरेर सरकारको आदर गर्छौँ। तर “जे-जे परमेश्‍वरका हुन्‌,” ती परमेश्‍वरलाई नै दिन्छौँ। (मर्कुस १२:१७; रोमी १३:१-७; १ कोरिन्थी ६:१९, २०) हामीले ‘परमेश्‍वरलाई दिने’ कुराहरूमा उहाँप्रतिको हाम्रो प्रेम, आज्ञाकारिता र उपासना पर्छ। यहोवाको आज्ञा उल्लङ्‌घन गर्नुभन्दा बरु हामी ज्यान दिन तयार हुन्छौँ।—लुका ४:८; १०:२७; प्रेषित ५:२९; रोमी १४:८ पढ्‌नुहोस्‌।

“संसारको मनोभाव”-को प्रतिरोध गर्नुहोस्‌

७, ८. “संसारको मनोभाव” भनेको के हो? यस्तो मनोभावले मानिसहरूमा कस्तो असर पार्छ?

७ सैतानको संसारबाट अलग रहनुको मतलब आफूलाई यस “संसारको मनोभाव”-को वशमा पर्न नदिनु हो। संसारको मनोभावले सैतानको जस्तै सोचाइ र व्यवहारलाई बुझाउँछ। यहोवाको सेवा नगर्नेहरू यस्तो मनोभावको वशमा हुन्छन्‌। तर ख्रिष्टियनहरू भने यस्तो मनोभावको प्रतिरोध गर्छन्‌। पावलले भनेझैँ “हामीले संसारको मनोभाव होइन तर परमेश्‍वरको पवित्र शक्‍ति पाएका छौँ।”—१ कोरिन्थी २:१२; एफिसी २:२, ३; नोट १७ हेर्नुहोस्‌।

८ संसारको मनोभावले मानिसहरूलाई स्वार्थी, घमन्डी अनि विद्रोही बनाउँछ। यस्तो मनोभावले मानिसहरूलाई परमेश्‍वरको आज्ञा पालन नगरे पनि हुन्छ भन्‍ने सोचाइ राख्न प्रोत्साहित गर्छ। मानिसहरूले परिणामको वास्तै नगरी आफूलाई जे मन लाग्छ, त्यही गरेको सैतान चाहन्छ। साथै त्यसले मानिसहरूलाई ‘शरीरको अभिलाषा र आँखाको अभिलाषा’ नै सबथोक हो भन्‍ने सोचाइ राख्न प्रोत्साहित गर्छ। (१ युहन्‍ना २:१६; १ तिमोथि ६:९, १०) विशेषगरि यहोवाका सेवकहरूलाई बहकाउन र आफ्नो जस्तै सोचाइ राख्न प्रोत्साहित गर्न सैतान लागिपरेको छ।—युहन्‍ना ८:४४; प्रेषित १३:१०; १ युहन्‍ना ३:८.

९. संसारको मनोभावले हामीलाई कसरी असर गर्न सक्छ?

९ संसारको मनोभाव हावासरि फैलिएको छ। यसको प्रतिरोध गर्न कडा मेहनत गरेनौँ भने यसले हामीलाई समेत असर गर्न सक्छ। (हितोपदेश ४:२३ पढ्‌नुहोस्‌) यस्तो असर हानिकारकजस्तो नदेखिने कुराहरूबाट सुरु हुन सक्छ। जस्तै: यहोवाको उपासना नगर्ने मानिसहरूसितको सङ्‌गति, जसले हाम्रो सोचाइ र मनोभाव तिनीहरूको जस्तै बनाउन सक्छ। (हितोपदेश १३:२०; १ कोरिन्थी १५:३३) अथवा अश्‍लील सामग्री, धर्मत्याग र अचाक्ली प्रतिस्पर्धाको भाव जगाउने खेलकुदजस्ता कुराहरूले पनि हामीलाई असर गर्न सक्छ।—नोट १८ हेर्नुहोस्‌।

१०. हामी कसरी संसारको मनोभावको प्रतिरोध गर्न सक्छौँ?

१० संसारको मनोभावको वशमा नपर्न के गर्न सक्छौँ? यसको लागि यहोवासित घनिष्ठ भइरहनुपर्छ अनि उहाँको डोऱ्‍याइअनुसार चल्नुपर्छ। पवित्र शक्‍तिको लागि निरन्तर प्रार्थना गर्नुपर्छ अनि उहाँको सेवामा व्यस्त भइरहनुपर्छ। यहोवा ब्रह्‍माण्डकै शक्‍तिशाली व्यक्‍ति हुनुहुन्छ। त्यसैले संसारको मनोभावको प्रतिरोध गर्न उहाँ हामीलाई मदत गर्न सक्नुहुन्छ भनेर हामी ढुक्क छौँ।—१ युहन्‍ना ४:४.

परमेश्‍वरको महिमा गर्ने किसिमको पहिरन लगाउनुहोस्‌

११. संसारको मनोभावले मानिसहरूको पहिरनमा कस्तो असर गरेको छ?

११ पहिरन र कोरीबाटीद्वारा पनि हामी यस संसारको भाग होइनौँ भनेर देखाउँछौँ। अहिले संसारका धेरैजसो मानिस अरूको ध्यान खिच्ने, अरूमा अनैतिक भावना जगाउने, विद्रोही भाव देखाउने अनि पैसाको घमन्ड प्रकट गर्ने किसिमको पहिरन लगाउँछन्‌। अर्कोतर्फ, कोही-कोहीचाहिँ आफ्नो पहिरन र कोरीबाटीमा फिटिक्कै ध्यान दिँदैनन्‌। तिनीहरू लथालिङ्‌ग अनि फोहोरी भएर बस्छन्‌। तर हामी संसारको मनोभाव प्रकट हुने कुनै पनि प्रकारको पहिरन तथा कोरीबाटी गर्दैनौँ।

सार्वजनिक साक्षीकार्यमा भद्र पहिरन लगाएकी बहिनी भिडियो देखाउँदै

के मेरो पहिरन यहोवाको महिमा गर्ने किसिमको छ?

१२, १३. पहिरनको सन्दर्भमा निर्णय गर्न कस्ता सिद्धान्तहरूले मदत गर्छ?

१२ यहोवाको सेवक भएकोले हामी सफा, सुकिलो, चिटिक्क परेको अनि अवसर सुहाउँदो पहिरन लगाउन चाहन्छौँ। “शालीनतासाथ र सुझबुझ चलाउँदै” हामी “परमेश्‍वरको भक्‍ति” प्रकट हुने किसिमको पहिरन लगाउँछौँ।—१ तिमोथि २:९, १०; यहुदा २१.

१३ यहोवा र उहाँका सेवकहरूलाई अरूले कुन दृष्टिकोणले हेर्छन्‌ भन्‍ने कुरालाई हामीले लगाउने पहिरनले असर गर्न सक्छ। हामी “सबै थोक परमेश्‍वरकै महिमाको निम्ति” गर्न चाहन्छौँ। (१ कोरिन्थी १०:३१) शालीन हुनुमा अरूको भावना अनि विचारको कदर गर्नु समावेश छ। त्यसैले हाम्रो पहिरन र कोरीबाटी कस्तो छ भन्‍ने कुरामा विचार पुऱ्‍याउनुपर्छ। पहिरन र कोरीबाटीको सन्दर्भमा निर्णय गर्नुअघि हाम्रो छनौटले अरूलाई असर गर्छ भन्‍ने कुरा मनमा राख्नुहोस्‌।—१ कोरिन्थी ४:९; २ कोरिन्थी ६:३, ४; ७:१.

१४. सभा र प्रचारको लागि पहिरन रोज्दा कस्तो कुरामा विचार पुऱ्‍याउनुपर्छ?

१४ सभा वा प्रचारमा हामी कस्तो लुगा लगाउँछौँ? के हामी अरूको बढ्‌तै ध्यान खिच्ने पहिरन लगाउँछौँ? के हाम्रो पहिरनले अरूलाई लाज वा अप्ठ्यारोमा पार्छ? के हामी ‘मैले जस्तो लुगा लगाए पनि अरूलाई के मतलब’ भन्‍ने सोचाइ राख्छौँ? (फिलिप्पी ४:५; १ पत्रुस ५:६) हो, हामी राम्रो देखिन चाहन्छौँ तर हामीलाई साँच्चै आकर्षक बनाउने कुरा हाम्रो बाहिरी रूप नभई हाम्रा ख्रिष्टियन गुणहरू हुन्‌। यहोवाले हामीमा हेर्नुहुने कुरा पनि यही हो। यस्ता गुणहरू हाम्रो “हृदयको सिँगार” हो, जुन “परमेश्‍वरको नजरमा . . . ठूलो मोलको हुन्छ।”—१ पत्रुस ३:३, ४.

१५. पहिरन र कोरीबाटीको सन्दर्भमा यहोवाले किन तोकेरै नियम दिनुभएको छैन?

१५ कस्तो लुगा लगाउनु हुन्छ र कस्तो लुगा लगाउनु हुँदैन भनेर यहोवाले हामीलाई नियमहरूको सूची दिनुभएको छैन। बरु बाइबल सिद्धान्तहरू दिनुभएको छ। ती सिद्धान्तहरूले हामीलाई सही निर्णय गर्न मदत गर्छ। (हिब्रू ५:१४) हामीले सानो-ठूलो जस्तोसुकै निर्णय गरे पनि त्यसमा यहोवा र अरूप्रति माया प्रकट भएको उहाँ चाहनुहुन्छ। (मर्कुस १२:३०, ३१ पढ्‌नुहोस्‌) संसारभरिका यहोवाका सेवकहरू आ-आफ्नो संस्कृति र रोजाइअनुसारको लुगा लगाउँछन्‌। यस्तो विविधता कत्ति सुन्दर अनि मनमोहक हुन्छ नि, होइन र?

ख्रिष्टियन युवायुवतीहरूको समूह

पैसाप्रति सन्तुलित दृष्टिकोण

१६. पैसाप्रति संसारले राख्ने दृष्टिकोण किन येसुको शिक्षासित मेल खाँदैन? हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

१६ पैसा र भौतिक कुराले मात्र साँचो आनन्द दिन्छ भनेर हामीले सोचेको सैतान चाहन्छ। तर यो झूटो हो भनेर यहोवाका सेवकहरूलाई थाह छ। हामी येसुको यो भनाइसित सहमत छौँ: “मानिस जति नै सम्पन्‍न भए तापनि त्यसले उसलाई जीवन दिँदैन।” (लुका १२:१५) पैसाले साँचो आनन्द दिन सक्दैन। यसले साँचो मित्रता, मनोशान्ति र अनन्त जीवन दिन सक्दैन। हुनत हो, हामीलाई भौतिक कुरा चाहिन्छ अनि हामी जीवनको आनन्द उठाउन चाहन्छौँ। तर यहोवासित राम्रो सम्बन्ध गाँस्दा अनि उहाँको सेवालाई प्राथमिकता दिँदा मात्र साँचो आनन्द पाइन्छ भनेर येसुले बताउनुभयो। (मत्ति ५:३; ६:२२, फुटनोट) आफैलाई सोध्नुहोस्‌: ‘पैसाप्रति संसारले राख्ने दृष्टिकोणले के मलाई पनि असर गरेको छ? के म पैसाको बारेमा मात्र सोच्छु वा कुरा गर्छु?’—लुका ६:४५; २१:३४-३६; २ युहन्‍ना ६.

१७. पैसाप्रति संसारले राख्ने दृष्टिकोणलाई तिरस्कार गर्दा कस्ता फाइदाहरू हुन्छन्‌?

१७ यदि हामीले यहोवाको सेवालाई प्राथमिकता दियौँ अनि पैसाप्रति संसारले राख्ने दृष्टिकोणलाई तिरस्कार गऱ्‍यौँ भने हाम्रो जीवन अर्थपूर्ण हुनेछ। (मत्ति ११:२९, ३०) हामी सन्तुष्ट हुनेछौँ र मनोशान्ति पाउनेछौँ। (मत्ति ६:३१, ३२; रोमी १५:१३) भौतिक कुराको लागि बढ्‌तै चिन्तित हुनेछैनौँ। (१ तिमोथि ६:९, १० पढ्‌नुहोस्‌) हामीले दिँदा पाइने आनन्द अनुभव गर्नेछौँ। (प्रेषित २०:३५) अनि सरल जीवनशैलीले गर्दा हामी आफ्ना प्रियजनहरूसित अझ धेरै समय बिताउन सक्नेछौँ। साथै मीठो निद्रा पनि लाग्नेछ।—उपदेशक ५:१२.

“परमेश्‍वरले दिनुहुने सम्पूर्ण हातहतियार”

१८. सैतान हामीलाई के गर्न चाहन्छ?

१८ यहोवासितको हाम्रो सम्बन्ध बिगार्न सैतान लागिपरेको छ। त्यसैले यो सम्बन्धलाई जोगाउन हामीले सकेजति सबै गर्नुपर्छ। हामी “स्वर्गका दुष्ट दूतहरूका दलहरूसित” लडाइँ गर्दै छौँ। (एफिसी ६:१२) सैतान अनि त्यसका दूतहरू हामी खुसी भएको अनि सधैँभरि बाँचेको चाहँदैनन्‌। (१ पत्रुस ५:८) हुनत हामीविरुद्ध लडाइँ गर्ने यी शत्रुहरू शक्‍तिशाली छन्‌ तर यहोवाको मदतले हामी तिनीहरूलाई जित्न सक्छौँ।

१९. एफिसी ६:१४-१८ मा के-कस्ता “हातहतियार”-बारे उल्लेख गरिएको छ?

१९ पुरातन समयमा लडाइँमा जाने सिपाहीहरू आफूलाई सुरक्षित राख्न विभिन्‍न हातहतियार धारण गर्थे। त्यसैगरि आज हामीले पनि यहोवाले दिनुभएको “हातहतियार” धारण गर्नुपर्छ। (एफिसी ६:१३) यसले हाम्रो रक्षा गर्छ। यस्ता हातहतियारबारे एफिसी ६:१४-१८ मा उल्लेख गरिएको पाउँछौँ, जहाँ यस्तो लेखिएको छ: “त्यसैले सत्यको पेटीले आफ्नो कम्मर कसेर, धार्मिकताको कवच लगाएर अनि खुट्टामा शान्तिको सुसमाचारको जुत्ता लगाएर तिमीहरू तयार होओ। यी सब कुराबाहेक विश्‍वासको ठूलो ढाल उठाओ, जसद्वारा तिमीहरूले त्यस दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ। साथै उद्धारको टोप लगाओ अनि पवित्र शक्‍तिको तरबार अर्थात्‌ परमेश्‍वरको वचन पनि भिर। हरकिसिमका प्रार्थना अनि उत्कट बिन्ती चढाएर तिमीहरू पवित्र शक्‍तिद्वारा हरबखत प्रार्थना गरिरहो।”

२०. “हातहतियार”-ले हाम्रो रक्षा गरोस्‌ भन्‍ने चाहन्छौँ भने हामीले के गर्नुपर्छ?

२० युद्धमा जाँदा सिपाहीले हातहतियारमध्ये एउटा मात्र बिर्स्यो भने पनि ऊ असुरक्षित हुन्छ। किनभने शत्रुले शरीरको असुरक्षित भागलाई निसाना बनाएर आक्रमण गर्छ। त्यसैगरि, यदि हामी “हातहतियार”-ले हाम्रो रक्षा गरोस्‌ भन्‍ने चाहन्छौँ भने हामीले एउटा पनि हतियार भिर्न बिर्सनु हुँदैन। हामीले सधैँ यी “हातहतियार” धारण गर्नुपर्छ र यसलाई राम्रो अवस्थामा राख्नुपर्छ। सैतान, त्यसको संसार अनि त्यसका दूतहरूलाई यस पृथ्वीबाट नहटाएसम्म हामीले यो लडाइँ लडी नै रहनुपर्छ। (प्रकाश १२:१७; २०:१-३) त्यसैले यदि हामी कुनै गलत इच्छा वा कमीकमजोरीसित सङ्‌घर्ष गर्दै छौँ भने कहिल्यै हार मान्‍नु हुँदैन।—१ कोरिन्थी ९:२७.

२१. हामी कसरी दियाबलको सामना गर्न सक्छौँ?

२१ हामी आफ्नै भरमा दियाबलको सामना गर्न सक्दैनौँ। तर यहोवाको मदतले त्यसको सामना गर्न सक्छौँ। वफादार रहिरहन हामीले यहोवालाई प्रार्थना गर्नुपर्छ, उहाँको वचन अध्ययन गर्नुपर्छ अनि ख्रिष्टियन दाजुभाइ दिदीबहिनीसित सङ्‌गत गर्नुपर्छ। (हिब्रू १०:२४, २५) यी कुराहरूले हामीलाई वफादार भइरहन मदत गर्छ र आफ्नो विश्‍वासको पक्षमा खडा रहन तयार बनाउँछ।

आफ्नो विश्‍वासको पक्षमा खडा रहन तयार हुनुहोस्‌

२२, २३. (क) विश्‍वासको पक्षमा सधैँ खडा रहन हामीले के गर्नुपर्छ? (ख) अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

२२ हामी सधैँ आफ्नो विश्‍वासको पक्षमा खडा हुनुपर्छ। (युहन्‍ना १५:१९) कुनै-कुनै विषयमा यहोवाका साक्षीहरूले लिने अडान संसारका मानिसहरूको भन्दा बेग्लै हुन्छ। आफैलाई सोध्नुहोस्‌: ‘यस्तो अडान लिनुको कारण के मैले राम्ररी बुझेको छु? बाइबल र विश्‍वासी दासको कुरा सही हो भनेर के म विश्‍वस्त छु? यहोवाको साक्षी हुन पाएकोमा के म गर्व गर्छु? (भजन ३४:२; मत्ति १०:३२, ३३) के म आफ्नो विश्‍वासबारे अरूलाई राम्ररी बुझाउन सक्छु?’—मत्ति २४:४५; युहन्‍ना १७:१७; १ पत्रुस ३:१५ पढ्‌नुहोस्‌।

२३ प्रायजसो अवस्थामा संसारबाट अलग रहन के गर्नुपर्छ भनेर बुझ्न सजिलो छ तर कहिलेकाहीँ भने गाह्रो हुन्छ। सैतानले हामीलाई विभिन्‍न तरिकामा फसाउन खोज्छ। त्यसले चलाउने एउटा पासो भनेको मनोरञ्जन हो। हामी कसरी बुद्धिमानीसाथ मनोरञ्जन रोज्न सक्छौँ? यसबारे हामी अर्को लेखमा छलफल गर्नेछौँ।

बाइबलका सिद्धान्तहरू

१ ख्रिष्टियनहरू परमेश्‍वरको राज्यप्रति वफादार रहन्छन्‌

“मेरो राज्य यस संसारको होइन।”—युहन्‍ना १८:३६

हामी राजनैतिक मामिलाहरूमा तटस्थ रहेको र परमेश्‍वरको राज्यलाई समर्थन गरेको कुरा कसरी देखाउन सक्छौँ?

  • यसैया २:२-४; युहन्‍ना ६:१५; १ पत्रुस ३:१५

    हामी युद्ध र राजनीतिमा भाग लिँदैनौँ।

  • प्रस्थान २०:४, ५; १ युहन्‍ना ५:२१

    हामी कुनै राष्ट्रिय प्रतीकहरूको उपासना गर्दैनौँ। जस्तै: हामी झन्डा-सलामी गर्दैनौँ।

  • मत्ति २६:५२

    हिंसाले शान्ति ल्याउँदैन बरु झनै हिंसा मच्चाउँछ। यहोवाले यस संसारको सबै समस्या सुल्झाउनुहुने दिनको हामी प्रतीक्षा गर्दै छौँ।

  • युहन्‍ना १३:३४, ३५; १ युहन्‍ना ३:१०-१२

    हाम्रा सङ्‌गी उपासकहरू चाहे जुनसुकै देश, जाति वा पृष्ठभूमिका होऊन्‌, तिनीहरू हाम्रा दाजुभाइ दिदीबहिनी हुन्‌। हामी एकअर्काको विरुद्धमा कहिल्यै हतियार उठाउनेछैनौँ।

२ ख्रिष्टियनहरू “यस संसारका होइनन्‌”

“तिनीहरू यस संसारका होइनन्‌, जस्तो म पनि यस संसारको होइन।”—युहन्‍ना १७:१६

हामी सैतानको संसारबाट किन अलग रहनुपर्छ?

  • १ युहन्‍ना ५:१९

    “संसार”-ले परमेश्‍वरको उपासना नगर्ने अनि सैतानको शासनको अधीनमा रहने मानवजातिलाई बुझाउँछ।

  • याकुब ४:४

    यहोवाले हामीलाई उहाँको साथी ठान्‍नुभएको हामी चाहन्छौँ। यहोवा र येसुको अनुकरण गरेको कुरा हामी आफ्नो मनोभाव, बोली अनि व्यवहारबाट देखाउँछौँ।

३ ख्रिष्टियनहरू संसारको मनोभावदेखि अलग रहन्छन्‌

“अरू सबै कुराभन्दा आफ्नो हृदयलाई सुरक्षित राख, किनकि त्यो सारा जीवनको मूल हो।”—हितोपदेश ४:२३

सैतानको संसारको मनोभावको प्रतिरोध गर्नु भनेको के हो?

  • एफिसी २:२; १ युहन्‍ना २:१६

    सैतान स्वार्थी, घमन्डी र विद्रोही छ। परमेश्‍वरको आज्ञा मान्‍नु आवश्‍यक छैन भनेर हामीले सोचेको सैतान चाहन्छ।

  • १ कोरिन्थी १०:३१

    हामी आफ्नो बोली र व्यवहारद्वारा यस संसारको भाग होइनौँ भनेर देखाउँछौँ। हामी आफ्नो व्यक्‍तिगत छनौटहरूबाट पनि संसारको भाग नभएको देखाउँछौँ।

  • १ कोरिन्थी २:१२; १ युहन्‍ना ४:४

    सैतानको संसारको मनोभावको प्रतिरोध गर्न हामी यहोवासित घनिष्ठ भइरहनुपर्छ र उहाँका विचारहरू आफ्नो दिमागमा भर्नुपर्छ।

४ पैसाले स्थायी सुरक्षा र साँचो मनोशान्ति दिन सक्दैन

“मानिस जति नै सम्पन्‍न भए तापनि त्यसले उसलाई जीवन दिँदैन।”—लुका १२:१५

भौतिक कुराहरूप्रति यहोवाको जस्तै सोचाइ राख्न हामीलाई केले मदत गर्छ?

  • प्रेषित २०:३५; १ तिमोथि ६:९, १०

    मोजमज्जा र धनसम्पत्तिले आनन्दित बनाउँछ भनी हामीले सोचेको सैतान चाहन्छ। तर यहोवासितको सम्बन्ध राम्रो बनाइराख्दा र अरूलाई दिँदा हामी आनन्दित हुन्छौँ भनेर येसुले सिकाउनुभयो।

  • मत्ति ६:३१, ३२; मर्कुस १२:३०, ३१; लुका २१:३४-३६

    यहोवाको सेवामा ध्यान केन्द्रित गर्दा हाम्रो जीवन अर्थपूर्ण हुन्छ। हामी सन्तुष्ट हुन सक्छौँ र साँचो मनोशान्ति पाउन सक्छौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने