प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ८/१५ पृ. ८-११
  • मेक्सिकोका आदिवासीहरूले सुसमाचार सुन्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मेक्सिकोका आदिवासीहरूले सुसमाचार सुन्छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • यहोवाले प्रार्थना सुन्‍नुभयो
  • “हर प्रयास गर्छन्‌”
  • “यहोवा, धन्यवाद छ”
  • “क्वाल्टसेन टाटुवा”
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ८/१५ पृ. ८-११

मेक्सिकोका आदिवासीहरूले सुसमाचार सुन्छन्‌

नोभेम्बर १०, २००२ का दिन मेक्सिकोको एउटा आदिवासी समूह, मेकेहरू केट्‌साल्टेपेकको सान मिगेल भन्‍ने ठाउँमा भेला भयो। त्यो सहर सुन्दर दक्षिणी प्रान्त ओक्साकाको एउटा भाग हो। त्यो समूह यहोवाका साक्षीहरूको जिल्ला अधिवेशनमा उपस्थित भइरहेको थियो। त्यस दिनको बिहानको कार्यक्रमको मुख्य आकर्षण बाइबल नाटक थियो।

बाइबल नाटकका सुरुका केही शब्दहरू सुन्‍ने बित्तिकै श्रोताहरू तीन छक परे। तिनीहरूले ताली बजाउन थाले र थुप्रैको आँखा रसायो। प्रस्तुत नाटक मेके भाषामा थियो! नाटकको समापनपछि थुप्रैले आशै नगरेको त्यो उपहारको लागि गहिरो मूल्याङ्‌कन व्यक्‍त गरे। एक जनाले भनिन्‌, “मैले जिन्दगीमा पहिलो चोटि नाटक बुझ्न सकें। यसले मेरो हृदय छोयो।” त्यस्तै अर्कीले भनिन्‌, “अब म मरें भने पनि मलाई कुनै दुःख हुनेछैन किनभने यहोवाले मलाई आफ्नै भाषामा नाटक सुन्‍ने अवसर दिनुभएको छ।”

त्यस बिहानको कार्यक्रममा जे भयो त्यो हालै मेक्सिकोमा यहोवाका साक्षीहरूले आदिवासीहरूलाई सुसमाचार सुनाउन गरेको व्यापक प्रयासको नतिजा थियो।—मत्ती २४:१४; २८:१९, २०.

यहोवाले प्रार्थना सुन्‍नुभयो

मेक्सिकोमा ६०,००,००० भन्दा बढी आदिवासीहरू छन्‌। यो संख्या आफ्नो एउटा छुट्टै राष्ट्र बनाउनको लागि पर्याप्त छ, ६२ भाषीय बहुसांस्कृतिक राष्ट्र। तीमध्ये १५ वटा भाषा समूहमा प्रत्येककै १,००,००० भन्दा बढी मानिसहरू छन्‌। मेक्सिकोको औपचारिक भाषा स्पेनी हो तर १०,००,००० भन्दा बढी आदिवासीहरूले यो भाषा बोल्दैनन्‌। अनि स्पेनी भाषा बोल्नेहरूमध्ये पनि थुप्रैलाई आफ्नै भाषामा बाइबल सच्चाइ सिक्न अझ सजिलो हुन्छ। (प्रेरित २:६; २२:२) कसै-कसैले बाइबल अध्ययन गरेर वर्षौंदेखि मसीही मण्डलीहरू विश्‍वासीपूर्वक धाइरहेका छन्‌ तर तिनीहरूको बुझाइ भने सीमित छ। त्यसकारण तिनीहरूले आफ्नै मातृ-भाषामा सत्यको सन्देश पाऔं भनी प्रार्थना गरेको निकै भइसकेको छ।

यस चुनौतीको सामना गर्न यहोवाका साक्षीहरूको मेक्सिकोमा रहेको शाखा कार्यालयले आदिवासी भाषाहरूमा सभा सञ्चालन गर्न १९९९ देखि प्रबन्धहरू मिलाउन थाल्यो। अनुवाद टोलीहरू पनि गठन गरियो। सन्‌ २००० सम्ममा त जिल्ला अधिवेशनमा माया भाषामा र पछि अन्य केही भाषाहरूमा पनि नाटक प्रस्तुत गरियो।

अर्को कदम, यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबल अध्ययन सहायकहरूको अनुवाद गर्नु थियो। सुरुमा पृथ्वीमा जीवनको आनन्द उठाउनुहोस्‌! भन्‍ने पुस्तिका जेल्टाल, टोटोनाक, माया, मासाटेको, वाभे, र सोट्‌सेल भाषामा अनुवाद गरियो। त्यसपछि थप साहित्यहरूका साथै माया भाषामा हाम्रो राज्य सेवकाई नियमित रूपमा प्रकाशित हुन थाल्यो। केही साहित्यहरूको श्रव्यक्यासेट पनि तयार पारिएको छ। आदिवासीहरूलाई आफ्नै भाषामा लेखपढ गर्न सिकाउन अप्लाइ योरसेल्फ टु रिडिङ एण्ड राइटिङ भन्‍ने पुस्तिका स्थानीय आवश्‍यकताअनुसार तयार पारिंदैछ। हाल बाइबल साहित्यहरू १५ वटा आदिवासी भाषामा उपबल्ध छ र समयमा अन्य थप भाषाहरूमा पनि तयार पारिनेछ।

“हर प्रयास गर्छन्‌”

अनुवाद गर्न सजिलो भएको छैन। यसको एउटा कारण त, मेक्सिकोको आदिवासी भाषाहरूमा अन्य प्रकाशित साहित्यहरूको संख्या अत्यन्तै न्यून छ। थुप्रै भाषाहरूमा शब्दकोशहरू भेट्टाउन अत्यन्तै गाह्रो छ। अनि अरू कतिपय भाषाहरू ठाउँअनुसार फरक-फरक किसिमले बोलिन्छन्‌। उदाहरणका लागि, सापोटेक भाषा मात्र पाँच विभिन्‍न तरिकामा बोलिन्छ। यी बोल्ने तरिका ठाउँअनुसार यति फरक-फरक छन्‌ कि विभिन्‍न ठाउँका सापोटेकहरूले एकअर्काको भाषा बुझ्दैनन्‌।

यसबाहेक, कतिपय भाषाको कुनै स्थापित स्तरहरू छैनन्‌ जसको कारण अनुवादकहरू आफैले नियमहरू बनाउनुपर्छ। यसको लागि थुप्रै खोजीनिती र परामर्श गर्नुपर्छ। त्यसकारण तिनीहरूमध्ये थुप्रैले वाभे टोलीकी एलिडाले जस्तै महसुस गर्नु कुनै छक्कलाग्दो कुरा होइन! तिनी सम्झन्छिन्‌: “मलाई यहोवाका साक्षीहरूको मेक्सिकोमा रहेको शाखा कार्यालयमा अनुवाद कार्यको लागि बोलाइँदा ममा दुई प्रकारका भावनाहरू थिए—हर्ष र डर।”

अनुवादकहरूले कम्प्युटर चलाउन, तालिका मिलाउन र अनुवादको कला पनि सिक्नुपर्छ। निस्सन्देह, तिनीहरूको लागि यो एकदमै चुनौतीपूर्ण काम भएको छ। तिनीहरू यसबारे कस्तो महसुस गर्छन्‌? माया टोलीका एक जना सदस्य ग्लोरिया यस्तो जवाफ दिन्छिन्‌: “हाम्रो मातृ-भाषा मायामा बाइबल साहित्यहरू अनुवाद गर्ने काममा सहभागी हुन पाउँदा हामीले महसुस गरेको आनन्द शब्दमा व्यक्‍त गर्नै सक्दैनौं।” अनुवाद विभागका निरीक्षक अनुवादकहरूबारे यस्तो टिप्पणी गर्छन्‌: “आफ्नो भाषामा बाइबल साहित्यहरू उपलब्ध गर्नको लागि तिनीहरूमा यस्तो जोस छ कि तिनीहरूले यो चुनौतीको सामना गर्न हर प्रयास गर्छन्‌।” के यस्तो प्रयासको नतिजा राम्रो भएको छ?

“यहोवा, धन्यवाद छ”

आदिवासी क्षेत्रमा गरिएको प्रयासमा यहोवाको आशिष्‌ स्पष्ट छ। मसीही सभा तथा सम्मेलनहरूमा उपस्थिति धेरै गुना बढेको छ। उदाहरणका लागि, २००१ मा येशूको मृत्युको स्मरणार्थ मनाउन २२३ जना मेके भाषी साक्षीहरू जम्मा भए। यद्यपि कुल उपस्थिति भने १,६७४ थियो अर्थात्‌ साक्षीहरूभन्दा साढे सात गुना बढी!

सच्चाइ स्वीकारेका केही व्यक्‍तिहरूले अहिले सुरुदेखि नै सबै कुरा राम्ररी बुझ्न सकेका छन्‌। माया भाषामा सभाहरू सञ्चालन सुरु हुनुअघिका दिनहरू मेर्ना सम्झना गर्छिन्‌। तिनी भन्छिन्‌: “तीन महिना बाइबल अध्ययन गरेपछि मैले बप्तिस्मा लिएँ। मलाई आफूले बप्तिस्मा लिनुपर्छ भनी थाह थियो तर मैले यो कुरा स्वीकार्नुपर्छ कि मैले बाइबल जुन हदसम्म बुझ्नुपर्ने थियो, त्यत्ति राम्ररी बुझेकी थिइनँ। मेरो विचारमा यसको मुख्य कारण मेरो मातृ-भाषा माया हो र म स्पेनी भाषा त्यति राम्ररी बुझ्दिन थिएँ। सच्चाइलाई वास्तवमै राम्ररी बुझ्न मलाई केही समय लाग्यो।” आज, उनी र उनको पति माया भाषाको अनुवाद टोलीमा हुन पाएकोमा हर्षित छन्‌।

आफ्नो भाषामा साहित्यहरू प्राप्त गर्नु मण्डलीको सबैका लागि ठूलो आनन्दको कुरा हो। भर्खरै अनुवाद गरिएको पृथ्वीमा जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका सोट्‌सेल भाषामा उपलब्ध हुँदा मसीही सभाहरूमा भर्खरै उपस्थित हुन थालेकी एउटी महिलाले यसलाई आफ्नो छातीमा च्याप्दै यस्तो उद्‌गार व्यक्‍त गरिन्‌: “यहोवा, धन्यवाद छ!” थुप्रै बाइबल विद्यार्थीहरू चाँडचाँडो बप्तिस्माको लागि तयार भएका, निष्क्रिय प्रकाशकहरू पुनः सक्रिय भएका र थुप्रै मसीही भाइहरूले मण्डलीमा  जिम्मेवारीहरू स्वीकार्न योग्य महसुस गरेको कुरा रिपोर्टहरूले देखाएको छ। थुप्रै घरधनीहरू आफ्नै भाषाका बाइबल साहित्यहरू स्वीकार्न र अध्ययन गर्न तत्पर भएका छन्‌।

एक चोटि, एक जना साक्षी एउटा बाइबल अध्ययन सञ्चालन गर्न गइन्‌ तर बाइबल विद्यार्थी घरमा थिइनन्‌। श्रीमान्‌ चाहिं ढोकामा आउँदा उनले पुस्तिकाबाट केही अंश पढेर सुनाउने प्रस्ताव राखिन्‌। “मलाई चासो छैन” भनी तिनले जवाफ दिए। उक्‍त बहिनीले यो पुस्तिका उनीहरूको भाषा टोटोनाकमा भएको बताइन्‌। यो सुनेपछि ती मानिस मेच तानेर बसे। जसै बहिनीले तिनलाई पढेर सुनाइन्‌, तिनले यसो भनिरहे, “यो साँचो हो। हो, यो साँचो हो।” तिनी अहिले मसीही सभाहरूमा आउँछन्‌।

युकाटान प्रान्तमा एउटी साक्षीको पतिले सच्चाइको विरोध गर्थे र कहिलेकाहीं पत्नीलाई उनी सभाबाट फर्केपछि पिट्‌ने गर्थे। माया भाषामै सभाहरू सञ्चालन हुन थालेपछि उनले आफ्नो पतिलाई सभामा आउन निमन्त्रणा दिने निर्णय गरिन्‌। तिनी आए र सभाबाट साँच्चै आनन्द उठाए। अहिले तिनी सभामा नियमित उपस्थित हुन्छन्‌, बाइबल अध्ययन गर्छन्‌ र पत्नीलाई पिट्‌न छोडेका छन्‌ भन्‍ने कुरा बताइरहनु नपर्ला।

टोटोनाक भाषा बोल्ने एक मानिसले दुई जना साक्षी बहिनीहरूलाई आफूले कहिल्यै प्रार्थना नगरेको बताए किनभने एक जना क्याथोलिक पादरीले तिनलाई परमेश्‍वरले स्पेनी भाषामा गरेको प्रार्थना मात्र सुन्‍नुहुन्छ भनेका थिए। वास्तवमा, टोटोनाकको खातिर प्रार्थना गरिदिन तिनले पादरीलाई पैसा तिर्नुपरेको थियो। परमेश्‍वरले सबै भाषामा प्रार्थना सुन्‍नुहुन्छ भन्‍ने कुरा साक्षीहरूले ती व्यक्‍तिलाई बताए र टोटोनाक भाषामा पुस्तिका पनि दिए जुन तिनले एकदमै खुसीसाथ स्वीकारे।—२ इतिहास ६:३२, ३३; भजन ६५:२.

“क्वाल्टसेन टाटुवा”

यी प्रगतिहरूबाट रोमाञ्चित हुँदै थुप्रै राज्य प्रकाशकहरू आदिवासी भाषा सिक्न वा आफूले जानेको भाषालाई अझ तिखार्न प्रयास गर्दैछन्‌। उत्तरी प्यूब्ला प्रान्तमा पाँचवटा नाहाल्ट भाषा बोल्ने मण्डलीमा सेवा गरिरहेका एक जना क्षेत्रीय निरीक्षक त्यसै गर्दैछन्‌। तिनी भन्छन्‌: “सभामा सुत्ने गरेका बच्चाहरू अहिले एकदमै टाठो भएर बस्छन्‌ र मैले नाहाल्ट बोल्दा कान ठाडो पार्छन्‌। एक जना चार वर्षको केटाले सभापछि मकहाँ आएर ‘क्वाल्टसेन टाटुवा’ (तपाईं राम्रोसित बोल्नुहुन्छ) भन्यो। यसले मलाई आफूले गरिरहेको प्रयास व्यर्थमा गएको छैन भन्‍ने जस्तो लाग्यो।”

हो, आदिवासीहरूको क्षेत्र साँच्चै “कटनीको लागि पहेंला भएका छन्‌” र यसमा भाग लिएकाहरू सबै अत्यन्तै प्रोत्साहित महसुस गर्छन्‌। (यूहन्‍ना ४:३५) अनुवाद टोलीहरू स्थापना गर्न काम गरेका रोबर्टो निचोडमा यस्तो भन्छन्‌: “आफ्नै मातृ-भाषामा सत्यका कुराहरू सुनेर यसको भाव बुझ्दा भाइबहिनीहरूको आँखाबाट आँसु बगेको देख्नु अविस्मरणीय अनुभव भएको छ। यसबारे सोच्दा मात्र पनि मेरो गह भरिएर आउँछ।” निस्सन्देह, यी निष्कपट व्यक्‍तिहरूलाई परमेश्‍वरको राज्यको पक्षमा अडान लिने मदत दिन पाउँदा मात्र पनि यहोवाको हृदय आनन्दित हुन्छ।—हितोपदेश २७:११.

[पृष्ठ १०-मा भएको पेटी]

केही अनुवादकहरूसित भेट्‌नुहोस्‌

● “मेरा आमाबाबुले मलाई सम्झना भएदेखि नै मलाई सत्य सिकाउनुभयो। दुःखको कुरा म ११ वर्षकी हुँदा बुबाले मसीही मण्डलीसित संगत गर्न छोड्‌नुभयो। त्यसको दुई वर्षपछि आमाले हामीलाई छोडेर जानुभयो। पाँच जना छोराछोरीमध्ये म जेठी हुनाले त्यतिखेर स्कूल पढ्‌दै गरेको भए तापनि मैले आमाका जिम्मेवारीहरू पूरा गर्नुपऱ्‍यो।

“हामीले आध्यात्मिक भाइबहिनीहरूको मायालु समर्थन पाएका थियौं तर जीवन कठिन थियो। कहिलेकाहीं मेरो मनमा यस्ता कुराहरू खेल्थे: ‘यो सबै मलाई नै किन हुनुपरेको? म त बच्चै छु!’ यहोवाको मदतले मात्र मैले यी सबै परिस्थितिको सामना गर्न सकें। स्कूलको पढाइ सिद्धिएपछि म पूर्ण-समय सेवक भएँ र यसले मलाई धेरै मदत गऱ्‍यो। नाहाल्ट अनुवाद टोली स्थापना भएपछि मैले पनि यसको भाग हुन निमन्त्रणा पाएँ।

“बुबा फेरि सच्चाइमा फर्कनुभएको छ र मेरा भाइबहिनीहरू पनि अहिले यहोवाको सेवा गर्दैछन्‌। यहोवाप्रतिको विश्‍वास कायम राख्न गरेको प्रयास पक्कै पनि व्यर्थमा गएको छैन। उहाँले मेरो परिवारलाई साँच्चै धेरै आशिष्‌ दिनुभएको छ।”— अलिसिया।

● “एक जना साक्षी सहपाठीले जीवनको सुरुवातबारे रिपोर्ट प्रस्तुत गरेकी थिइन्‌। म त्यो कक्षामा गयल थिएँ र मलाई जाँचमा त्यो प्रश्‍नको उत्तर दिन सक्दिनँ कि भन्‍ने पीर थियो। त्यसैले मैले उनलाई त्यस विषयमा बुझाउनको लागि भनें। मानिसहरू किन मर्नुपरेको होला भन्‍ने कुरा मेरो मनमा सधैं खेलिरहन्थ्यो। उनले मलाई क्रिएसन पुस्तक a दिनुका साथै बाइबल अध्ययन सुरु गर्ने प्रस्ताव राख्दा मैले स्वीकारें। सृष्टिकर्ताको उद्देश्‍य र प्रेमबाट म अत्यन्तै प्रभावित भएँ।

“स्कूलको पढाइ सिद्धिएपछि मैले स्पेनी र सोट्‌सेल भाषाको दोभाषे शिक्षक हुने मौका पाएकी थिएँ। तर त्यसको लागि म टाढा जानुपर्थ्यो, सप्ताहन्तमा कक्षा लिनुपर्थ्यो र मसीही सभाहरू छुट्‌ने थिए। त्यसको सट्टा मैले डकर्मीको काम गरें। मेरो बुबा जो साक्षी हुनुहुन्‍न थियो, उहाँलाई मेरो निर्णय पटक्कै मन परेन। पछि, मैले अग्रगामी सेवकको रूपमा काम गरिरहँदा सोट्‌सेल भाषामा बाइबल साहित्यहरू अनुवाद गर्न एउटा समूह खडा गरियो। यस समूहको भाग हुन म उत्प्रेरित भएँ।

“आफ्नै भाषामा साहित्यहरू हुँदा हाम्रा भाइहरूले आफ्नो मूल्याङ्‌कन र सम्मान भएको महसुस गरेको मैले देखेको छु। यो अत्यन्तै सन्तोषजनक कुरा हो। अहिले पाएको कार्यभारलाई म एकदमै विशेष सुअवसर ठान्छु।”—उम्बर्टो।

● “म छ वर्षकी हुँदा आमाले हामीलाई छोडेर जानुभयो। म किशोरावस्थामा छँदा बुबाले यहोवाका साक्षीहरूसित अध्ययन गर्न थाल्नुभयो। एक दिनको कुरा हो, एक जना बहिनीले मसित बाइबल अध्ययन गर्ने प्रस्ताव राखिन्‌ र यसमा जवानहरूका लागि सल्लाह समावेश थियो। किशोरावस्थामा आमा पनि नभएकोले मलाई अहिले चाहिने कुरा नै यही हो जस्तो लाग्यो। मैले १५ वर्षको उमेरमा बप्तिस्मा लिएँ।

“सन्‌ १९९९ मा मेरो बुबाको जग्गा लिन खोजिरहेका केही दुष्टहरूले उहाँको हत्या गरिदिए। म छाँगाबाट खसेझैं भएँ। म अत्यन्तै उदास भएँ र जिन्दगीमा अब केही छैन जस्तो लाग्यो। तर मैले बलको लागि यहोवालाई प्रार्थना गरिरहें। परिभ्रमण निरीक्षक र उहाँकी पत्नीले मलाई प्रोत्साहन दिइरहनुभयो। चाँडै मैले नियमित अग्रगामी गर्न थालें।

“सभाको प्रायजसो भाग तिनीहरूले नबुझ्ने स्पेनी भाषामा सञ्चालन हुने भए तापनि २० मिनेटको टोटोनाक भाषाको भाषण सुन्‍न झन्डै छ घण्टाको बाटो हिंडेर आएका कोही-कोही मानिसहरूलाई मैले एक चोटि भेटेको थिएँ। त्यसैले, टोटोनाक भाषामा बाइबल साहित्यहरू अनुवाद गर्ने मदतको लागि बोलाइँदा म दङ्‌ग परें।

“मैले बुबालाई यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्ने मेरो सपना हो भन्‍ने गर्थें। म जस्तो अविवाहित जवान केटीलाई बेथेलमा बोलाउने सम्भावना एकदमै कम छ भनेर बुबाले भन्‍नुहुन्थ्यो। मैले बेथेलमा हाम्रो भाषामा बाइबल साहित्यहरू अनुवाद गर्ने काममा मदत गर्न सकेको कुरा मेरो बुबाको पुनरुत्थान भएपछि उहाँले थाह पाउनुहुँदा उहाँ कत्ति रोमाञ्चित हुनुहुनेछ!”— एडिथ।

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा १९८५ मा प्रकाशित “लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन?

[पृष्ठ ९-मा भएको चित्र]

सोट्‌सेल अनुवाद टोलीका सदस्यहरू अनुवाद गर्न गाह्रो शब्द छलफल गर्दै

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने