प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ९/१ पृ. ९-१३
  • ख्रीष्टको जस्तै मनोवृत्ति राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख्रीष्टको जस्तै मनोवृत्ति राख्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ख्रीष्टजस्तै विनयी हुन सिक्नुहोस्‌
  • येशूले अरूसित दयालु व्यवहार गर्नुभयो
  • निर्दयी संसारमा दया देखाउनुहोस्‌
  • परमेश्‍वरका जनहरूले दयालाई प्रेम गर्नै पर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • दया—बोली र व्यवहारद्वारा देखाइने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • ख्रीष्टको प्रेमले हामीलाई प्रेम देखाउन उत्प्रेरित गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • वैरी संसारमा दया देखाउन प्रयास गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ९/१ पृ. ९-१३

ख्रीष्टको जस्तै मनोवृत्ति राख्नुहोस्‌

“ख्रीष्ट येशूको अनुसार आपसमा एउटै मन [ “मनोवृत्ति,” NW ] [ राख]।”—रोमी १५:५.

१. हामीले किन ख्रीष्टको मनोवृत्ति अनुकरण गर्ने कोसिस गर्नुपर्छ?

“मकहाँ आओ, . . . र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ” भनी येशूले भन्‍नुभयो। (मत्ती ११:२८, २९) यस न्यानो निमन्त्रणामा येशूको मायालु मनोवृत्ति स्पष्टै झल्किन्छ। उहाँ जस्तो उत्तम नमुना अरू कुनै मानिस हुनै सक्दैन। परमेश्‍वरको शक्‍तिशाली पुत्र हुनुभए तापनि येशूले समानुभूति र कोमलता देखाउनुभयो, विशेषगरि दुःखकष्टमा परेकाहरूलाई।

२. येशूको मनोवृत्तिका कुन-कुन पक्ष हामी विचार गर्नेछौं?

२ यो अनि यसपछिका दुइटा लेखमा ख्रीष्टको जस्तो मनोवृत्ति कसरी खेती गर्न र कायम राख्न सक्छौं अनि जीवनमा कसरी “ख्रीष्टको मन” झल्काउन सक्छौं विचार गर्नेछौं। (१ कोरि. २:१६) हामी मुख्यगरि पाँच वटा पक्षमा ध्यान दिनेछौं। ती हुन्‌: येशूको दया, परमेश्‍वरप्रति उहाँको आज्ञाकारिता, उहाँको साहस, उहाँको अटल प्रेम अनि उहाँमा भएको विनय र नम्रता।

ख्रीष्टजस्तै विनयी हुन सिक्नुहोस्‌

३. (क) येशूले चेलाहरूलाई नम्रताको कस्तो पाठ सिकाउनुभयो? (ख) चेलाहरूले कमजोरी देखाउँदा येशूको प्रतिक्रिया कस्तो थियो?

३ असिद्ध र पापी मानिसहरूबीच सेवा गर्न परमेश्‍वरको सिद्ध पुत्र येशू राजीखुसीले पृथ्वीमा आउनुभयो। ती मानिसहरूमध्येकैले उहाँलाई मार्ने थिए। तैपनि, येशूले आनन्द र संयम कहिल्यै गुमाउनुभएन। (१ पत्रु. २:२१-२३) अरूका कमी-कमजोरी र असिद्धताले असर गर्दा येशूको उदाहरण ध्यान दिएर ‘हेऱ्‍यौं’ भने हामी आनन्द र संयम नगुमाउन मदत पाउन सक्छौं। (हिब्रू १२:२) येशूले चेलाहरूलाई उहाँसँगै जुवा बोक्न र उहाँसित सिक्न निमन्त्रणा दिनुभयो। (मत्ती ११:२९) तिनीहरूले के सिक्न सक्थे? उहाँ विनयी हुनुहुन्थ्यो र चेलाहरूका गल्तीहरूको बाबजुद उहाँले तिनीहरूसित धीरजी भई व्यवहार गर्नुभयो। आफ्नो मृत्युको अघिल्लो रात येशूले तिनीहरूको खुट्टा धोइदिएर तिनीहरूलाई कहिल्यै बिर्सन नसक्ने ‘नम्रताको’ पाठ सिकाउनुभयो। (यूहन्‍ना १३:१४-१७ पढ्‌नुहोस्‌) पछि पत्रुस, याकूब र यूहन्‍ना ‘जागा रहन’ नसक्दा येशूले दयालु भई तिनीहरूको कमजोरी मानिलिनुभयो। उहाँले सोध्नुभयो, “शिमोन, के तिमी निदाइरहेछौ? . . . जागा रह, औ प्रार्थना गर, र परीक्षामा नपर। आत्मा ता साँच्चै तयार छ, तर शरीर कमजोर छ।”—मर्कू. १४:३२-३८.

४, ५. अरूको कमजोरीको सामना गर्न येशूको उदाहरणले हामीलाई कसरी मदत गर्न सक्छ?

४ सँगी विश्‍वासी प्रतिस्पर्धी छ, झट्टै चित्त दुखाउँछ अथवा प्राचीनहरू वा “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले दिएको सल्लाह पालन गर्न ढिलासुस्ती गर्छ भने त्यसलाई तपाईं कसरी लिनुहुन्छ? (मत्ती २४:४५-४७) यस्ता अवगुणहरू शैतानको संसारमा देख्दा सामान्य लाग्ला तर भाइहरूमा ती देख्दा भने हामीलाई स्वीकार्न गाह्रो हुन सक्छ। अरूको कमजोरी देखेर तपाईंलाई रीस उठ्‌छ भने आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌, ‘म कसरी अझै “ख्रीष्टको मन” झल्काउन सक्छु?’ चेलाहरूले केही हदसम्म आध्यात्मिक कमजोरी देखाए तापनि येशू तिनीहरूसित नरिसाउनुभएको कुरा सधैं मनमा राख्नुहोस्‌।

५ प्रेरित पत्रुसको उदाहरण विचार गर्नुहोस्‌। येशूले पत्रुसलाई डुंगाबाट ओर्लेर पानीमाथि हिंड्‌दै उहाँकहाँ आउन भन्‍नुहुँदा तिनी एकछिन पानीमाथि हिंडे। तर बतास जोडले चलेको देखेर तिनी डराए र डुब्न लागे। के येशूले रिसाएर ‘ठिक्क पऱ्‍यो! अब चाहिं सिक्लास्‌’ भन्‍नुभयो? अहँ, भन्‍नुभएन! “येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो, र तिनलाई भन्‍नुभयो, ‘ए अल्पविश्‍वासी, किन शंका गऱ्‍यौ?’ ” (मत्ती १४:२८-३१) कुनै भाइको विश्‍वासको कमीको सामना गर्नुपर्दा तिनलाई विश्‍वासमा अझ बलियो हुन हामीले पनि हात पसारेर मदत गर्न सक्छौं कि? येशूले पत्रुससित गरेको नम्र व्यवहारबाट हामी यही पाठ सिक्छौं।

६. आफ्नो महत्त्व खोज्नेबारे येशूले प्रेरितहरूलाई के सिकाउनुभयो?

६ प्रेरितहरूमा सबैभन्दा ठूलो को भन्‍ने विवादमा पत्रुस पनि मुछिएका थिए। याकूब र यूहन्‍ना उहाँको राज्यमा दायाँ र बायाँ हातपट्टि बस्न चाहन्थे। पत्रुस र अन्य प्रेरितहरू यो कुरा सुनेर रिसाए। येशूलाई थाह थियो, तिनीहरूको यस्तो मनोवृत्ति सम्भवतः आफू हुर्के-बढेको समाजबाट प्रभावित भएको हो। येशूले चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो: “तिमीहरूलाई थाहानै छ, कि अन्य जातिका शासकहरूले तिनीहरूमाथि प्रभुत्व गर्दछन्‌, र तिनीहरूका ठूला-ठूलाहरूले तिनीहरूमाथि अख्तियार चलाउँछन्‌। तिमीहरूमा चाहिं ता यस्तो हुनेछैन तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनेछ।” त्यसपछि येशूले आफैलाई संकेत गर्दै यसो भन्‍नुभयो: “मानिसको पुत्र पनि सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनलाई आयो।”—मत्ती २०:२०-२८.

७. हामी प्रत्येकले कसरी मण्डलीको एकतामा योगदान पुऱ्‍याउन सक्छौं?

७ येशूको नम्र मनोवृत्ति गौर गर्दा भाइहरूबीच आफूलाई “सानो” ठान्‍न मदत पाउन सक्छौं। (लूका ९:४६-४८) यस्तो गर्दा हाम्रो एकतामा योगदान पुग्छ। एउटा ठूलो परिवारको बुबाले जस्तै यहोवा पनि आफ्ना सन्तान “आपसमा एकतामा” रहेको चाहनुहुन्छ। (भज. १३३:१) सबै साँचो ख्रीष्टियानहरू एकतामा रहून्‌ भनी येशूले आफ्ना पितालाई प्रार्थना गर्नुभयो। किन? “तपाईंलेनै मलाई पठाउनुभयो, र तपाईंले मलाई प्रेम गर्नुभएझैं तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्‌” भनेर। (यूह. १७:२३) हाम्रो यस्तो एकताले हामीलाई ख्रीष्टका अनुयायी भनेर चिनाउँछ। यसरी एकतामा रहन हामीले अरूको असिद्धतालाई येशूले जस्तै हेर्नुपर्छ। येशू क्षमाशील हुनुहुन्थ्यो र क्षमा गर्नेले मात्र क्षमा पाउन सक्छ भनेर उहाँले सिकाउनुभयो।—मत्ती ६:१४, १५ पढ्‌नुहोस्‌।

८. लामो समयदेखि परमेश्‍वरको सेवा गरिरहेकाहरूको उदाहरणबाट हामी के सिक्न सक्छौं?

८ लामो समयदेखि ख्रीष्टको अनुकरण गरिरहेकाहरूको विश्‍वासको देखासिकी गर्दा पनि धेरै कुरा सिक्न सक्छौं। येशूले जस्तै अक्सर परमेश्‍वरका यी सेवकहरूले अरूको असिद्धता बुझ्छन्‌। तिनीहरूले यो बुझेका छन्‌: ख्रीष्टको जस्तो अनुकम्पा देखाउँदा ‘निर्धाहरूका निर्बलता सहन’ मात्र नभई एकतामा पनि योगदान पुग्छ। यसबाहेक, सम्पूर्ण मण्डलीलाई ख्रीष्टको जस्तो मनोवृत्ति देखाउन यसबाट प्रोत्साहन मिल्छ। प्रेरित पावल रोमका ख्रीष्टियानहरूका लागि के चाहन्थे तिनीहरू पनि आफ्ना भाइहरूको लागि त्यही चाहन्छन्‌: “धीरज र शान्तिका परमेश्‍वरले तिमीहरूलाई ख्रीष्ट येशूको अनुसार आपसमा एउटै मन [“मनोवृत्ति,” NW ] दिऊन्‌, कि एकै मनका भएर एउटै मुखले हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्‍वर र पिताको महिमा तिमीहरूले गर।” (रोमी १५:१, ५, ६) हो, हाम्रो एकताबद्ध उपासनाले यहोवाको प्रशंसा गर्छ।

९. येशूको उदाहरण अनुकरण गर्न हामीलाई किन पवित्र आत्मा चाहिन्छ?

९ यसबाहेक, नम्रता परमेश्‍वरको पवित्र आत्माको फलको एउटा पक्ष हो। त्यसैले उचित तरिकामा येशूको नमुना पछ्याउन उहाँको उदाहरणलाई ध्यान दिएर हेर्नै पर्छ, त्यसका साथै हामीलाई यहोवाको पवित्र आत्मा पनि चाहिन्छ। परमेश्‍वरको पवित्र आत्माको लागि प्रार्थना गर्नुपर्छ र यसका पक्षहरू “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम” खेती गर्ने कोसिस गर्नुपर्छ। (गला. ५:२२, २३) यसरी येशूको उदाहरण पछ्याउँदै नम्र र विनयी भयौं भने स्वर्गमा हुनुहुने पिता यहोवालाई खुसी तुल्याउनेछौं।

येशूले अरूसित दयालु व्यवहार गर्नुभयो

१०. येशूले कसरी दया देखाउनुभयो?

१० पवित्र आत्माको फलको अर्को एउटा पक्ष दया हो। येशूले सधैं अरूसित दयालु व्यवहार गर्नुभयो। उहाँलाई सच्चा मनले खोज्ने सबैलाई “दयासित ग्रहण गर्नुभयो।” (लूका ९:११, NW ) येशूले देखाएको दयाबाट हामी के सिक्न सक्छौं? दयालु व्यक्‍ति मित्रैलो, कोमल, मायालु र कृपालु हुन्छ। येशू त्यस्तै हुनुहुन्थ्यो। मानिसहरू देखेर उहाँ टिठाउनुभयो “किनभने तिनीहरू गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।”—मत्ती ९:३५, ३६.

११, १२. (क) व्यवहारमा नै येशूले दया देखाउनुभएको एउटा घटना बताउनुहोस्‌। (ख) अनुच्छेदमा बताइएको उदाहरणबाट तपाईं कस्तो पाठ सिक्न सक्नुहुन्छ?

११ उहाँले मानिसहरूप्रति दया र अनुकम्पा व्यवहारमा देखाउनुभयो। एउटा घटना विचार गर्नुहोस्‌। एउटी स्त्रीलाई रगत बग्ने बेथाले पिरोलेको १२ वर्ष भइसकेको थियो। मोशाको व्यवस्थाअनुसार तिनी अशुद्ध भएकीले परमेश्‍वरको उपासनामा अरूसँगै भाग लिन पाउँदैन थिइन्‌ साथै तिनलाई छुने जो-कोही पनि अशुद्ध ठहरिने कुरा तिनलाई थाह थियो। (लेवी १५:२५-२७) तैपनि येशूले तिनलाई निको पार्न सक्नुहुन्छ र पार्नु पनि हुन्छ भनेर उहाँबारे सुनेको कुरा र मानिसहरूसित उहाँको व्यवहार देखेर तिनी विश्‍वस्त भएकी हुनुपर्छ। तिनले मनमनै यसो भनिन्‌: “मैले उहाँको पोशाक मात्र छोएँ भने पनि म निको हुनेछु।” साहस बटुलेर तिनले उहाँको पोशाक छोइन्‌ र निको भइहालेको महसुस गरिन्‌।

१२ आफूलाई कसैले छोएको उहाँले थाह पाउनुभयो र कसले छोएको भनी फर्केर हेर्नुभयो। ती स्त्रीलाई आफूले व्यवस्था विपरीत कार्य गरेको थाह थियो, त्यसैले डराएर उहाँसामु घोप्टो परी सारा सत्य कुरा भनिदिई। ती पीडित स्त्रीलाई के येशूले हप्काउनुभयो? अहँ। बरु, उहाँले आश्‍वासन दिंदै भन्‍नुभयो: “ए छोरी तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ। शान्तिसित जाऊ।” (मर्कू. ५:२५-३४) दयाले भरिएका यी शब्दहरू सुन्दा तिनले कत्ति सान्त्वना पाइन्‌ होली!

१३. (क) येशूको मनोवृत्ति फरिसीहरूको भन्दा कसरी फरक थियो? (ख) येशूले केटाकेटीसित कस्तो व्यवहार गर्नुभयो?

१३ दया-माया नभएका फरिसीहरूले जस्तो ख्रीष्टले अरूलाई थप बोझ बोकाउन कहिल्यै आफ्नो अख्तियारको दुरुपयोग गर्नुभएन। (मत्ती २३:४) बरु उहाँले दयालु र धीरजी भई अरूलाई यहोवाका तौरतरिकाहरू सिकाउनुभयो। येशू आफ्ना अनुयायीहरूलाई सधैं प्रेम, दया र स्नेह देखाउने साँचो मित्र हुनुहुन्थ्यो। (हितो. १७:१७; यूह. १५:११-१५) केटाकेटी समेत उहाँसँग बस्न रुचाउँथे र निश्‍चय नै उहाँ पनि तिनीहरूसँग समय बिताउन मन पराउनुहुन्थ्यो। स-साना केटाकेटीलाई समय दिनै नभ्याउनेगरि उहाँ कहिल्यै व्यस्त हुनुभएन। एकचोटि, उहाँले छोइदिऊन्‌ भन्‍ने उद्देश्‍यले मानिसहरूले केटाकेटीलाई उहाँकहाँ ल्याए। तर उहाँका चेलाहरूले त्यतिबेलाका धर्मगुरुहरूले जस्तै आफूलाई बढी महत्त्व दिंदै तिनीहरूलाई रोक्न खोजे। यो देखेर येशू चेलाहरूसित खिन्‍न हुनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो: “साना केटाकेटीहरूलाई मकहाँ आउनदेओ, तिनीहरूलाई नरोक, किनभने परमेश्‍वरको राज्य यस्तैहरूको हो।” त्यसपछि एउटा व्यावहारिक पाठ सिकाउन केटाकेटीलाई औंल्याउँदै उहाँले भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, जसले परमेश्‍वरको राज्यलाई साना बालकले जस्तै ग्रहण नगर्ला त्यो कदापि त्यसभित्र पस्नेछैन।”—मर्कू. १०:१३-१५.

१४. चोखो माया पाउने केटाकेटीले कस्तो लाभ उठाउँछन्‌?

१४ एकछिन सोच्नुहोस्‌ त, ती केटाकेटीमध्ये कोही-कोहीले ठूलो भइसकेपछि येशू ख्रीष्टले ‘तिनीहरूलाई काखमा लिएर आशीर्वाद दिनुभएको’ कुरा सम्झँदा कस्तो महसुस गरे होलान्‌! (मर्कू. १०:१६) त्यसैगरि, अहिलेका स-साना केटाकेटीले पनि हुर्किसकेपछि आफूप्रति चोखो, निस्वार्थ चासो देखाउने प्राचीन तथा अरूको मीठो सम्झना गर्छन्‌। त्योभन्दा पनि महत्त्वपूर्ण, मण्डलीमा त्यस्तो साँचो माया पाउने केटाकेटीले यहोवाको आत्मा उहाँका जनहरूमाझ छ भनेर कलिलै उमेरदेखि सिक्छन्‌।

निर्दयी संसारमा दया देखाउनुहोस्‌

१५. आज मानिसहरू निर्दयी भएको देखेर हामी किन छक्क पर्नुपर्दैन?

१५ आज थुप्रै मानिसलाई यस्तो लाग्न सक्छ, दयालु भइरहन कहाँ फुर्सत हुनु। त्यसैले स्कूलमा, काम गर्ने ठाउँमा, यात्रा गर्दा र प्रचारकार्यमा यहोवाका जनहरूले दिनहुँ यस संसारको आत्माको सामना गर्नुपर्छ। निर्दयी मनोवृत्ति देखेर हामीलाई दुःख लाग्न सक्छ तर छक्क पर्नुपर्दैन। किनभने यस “आखिरी दिनमा” साँचो ख्रीष्टियानहरूले “स्वार्थी, . . . स्वाभाविक प्रेम रहितका,” मानिसहरू भेट्‌नेछन्‌ भनेर हामीलाई पहिल्यै होसियार गराउन यहोवाले पावललाई प्रेरणा दिनुभयो।—२ तिमो. ३:१-३.

१६. मण्डलीमा ख्रीष्टले जस्तो दयालु व्यवहार कसरी देखाउन सक्छौं?

१६ अर्कोतर्फ, साँचो ख्रीष्टियानहरूको मण्डली यस निर्दयी संसार भन्दा बिलकुलै भिन्‍न छ—स्फूर्ति दिने। येशूको अनुकरण गरेर हामी प्रत्येकले यस स्वास्थ्यकर वातावरणमा योगदान पुऱ्‍याउन सक्छौं। यो कसरी गर्न सक्छौं? पहिलो त मण्डलीमा यस्ता थुप्रै व्यक्‍तिहरू छन्‌ जसलाई स्वास्थ्य समस्या वा अन्य कष्टकर परिस्थितिको कारण मदत र प्रोत्साहन चाहिएको हुन्छ। यस “आखिरी दिनमा” त्यस्ता समस्याहरूको ओइरो नै लाग्न सक्छ तर ती नयाँ चाहिं होइनन्‌। बाइबल समयका ख्रीष्टियानहरूले पनि त्यस्तै समस्याहरू भोगे। त्यसैकारण त्यतिबेला जस्तै आज पनि ख्रीष्टियानहरूलाई मदत गर्नु उत्तिकै उपयुक्‍त छ। उदाहरणको लागि, पावलले ख्रीष्टियानहरूलाई “हरेस खानेलाई दिलाशा देओ, कमजोरीहरूलाई मदत गर” भनी अर्ती दिए। (१ थिस्स. ५:१४) यसमा ख्रीष्टको जस्तो दयालु व्यवहार गर्नु समावेश छ।

१७, १८. येशूको दया अनुकरण गर्न सक्ने केही तरिका के-के हुन्‌?

१७ आफूले वर्षौंदेखि चिनेका र पहिला कहिल्यै नभेटेकाहरूप्रति पनि येशूले जस्तै साँचो चासो देखाएर ‘भाइहरूलाई दयासित ग्रहण’ गर्नु एउटा ख्रीष्टियान जिम्मेवारी हो। (३ यूह. ५-८) अरूलाई दया देखाउन जसरी येशू अग्रसर हुनुभयो, हामी पनि अग्रसर हुनुपर्छ। यसो गर्दा अरूले स्फूर्ति पाउनेछन्‌।—यशै. ३२:२; मत्ती ११:२८-३०.

१८ अरूको भलाइमा साँचो चासो देखाएर हामी प्रत्येकले दया देखाउन सक्छौं। त्यसो गर्ने तरिका र मौका खोज्नुहोस्‌। अग्रसर हुनुहोस्‌! पावलले यस्तो अर्ती दिए: “भातृप्रेममा एक दोस्रोतर्फ मयालु होओ। मानमा एउटाले अर्कोको बढ्‌ता कदर गर।” (रोमी १२:१०) यसको मतलब हो, ख्रीष्टको उदाहरण पछ्याउने, अरूसित न्यानो र दयालु व्यवहार गर्ने अनि “सकली प्रेम” देखाउन सिक्ने। (२ कोरि. ६:६) ख्रीष्टको जस्तो प्रेमलाई पावलले यसरी वर्णन गरे: “प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले आफै सेखी गर्दैन, र घमण्डले फुल्दैन।” (१ कोरि. १३:४) आफ्ना भाइबहिनी विरुद्ध रिसराग राख्नुको सट्टा यो अर्ती पालन गरौं: “जसरी परमेश्‍वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरीनै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ।”—एफि. ४:३२.

१९. ख्रीष्टको जस्तो दया देखाउँदा कस्ता असल नतिजाहरू प्राप्त हुन्छ?

१९ हर समय ख्रीष्टको जस्तै दया खेती गर्ने र देखाउने कोसिस गर्दा प्रचुर इनाम पाइन्छ। मण्डलीमा यहोवाको आत्मा कुनै अवरोधविना क्रियाशील रहन्छ र सबैले आत्माको फल फलाउन मदत पाउनेछन्‌। यसबाहेक, येशूको नमुना पछ्याउँदा र अरूलाई पनि त्यसै गर्न मदत दिंदा हाम्रो आनन्दमय र एकताबद्ध उपासनाले यहोवालाई खुसी तुल्याउनेछ। त्यसैले अरूसितको व्यवहारमा सधैं येशू जस्तै विनयी र नम्र हुने निरन्तर कोसिस गरौं।

( w 09 9/15)

[पृष्ठ ११-मा भएको पेटी]

के तपाईं बुझाउन सक्नुहुन्छ?

• येशूले आफू “विनयी, र नम्र हृदयको छु” भनी कसरी देखाउनुभयो?

• येशूले कसरी दया देखाउनुभयो?

• यस असिद्ध संसारमा ख्रीष्टको जस्तो नम्रता र दया देखाउन सक्ने केही तरिका के-के हुन्‌?

[पृष्ठ १०-मा भएको चित्र]

पत्रुसको जस्तै कुनै भाइको विश्‍वास ढलपल हुँदा के हामी मदतको हात पसार्छौं?

[पृष्ठ १२-मा भएको चित्र]

मण्डलीलाई दयाले भरिएको स्थल बनाउन तपाईं कसरी योगदान पुऱ्‍याउन सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने