६ प्रार्थना के यसले मदत गर्छ?
के प्रार्थना गर्दा हामीलाई फाइदा हुन्छ? परमेश्वरका विश्वासी सेवकहरूको प्रार्थनाले साँच्चै तिनीहरूलाई लाभ पुऱ्याएको कुरा बाइबल बताउँछ। (लूका २२:४०; याकूब ५:१३) वास्तवमा प्रार्थनाले परमेश्वरसितको हाम्रो सम्बन्धलाई राम्रो बनाउँछ अनि हामीलाई भावनात्मक तवरमा मात्र होइन शारीरिक तवरमा समेत मदत गर्छ। तर कसरी?
मानिलिनुहोस्, तपाईंको छोरा वा छोरीले एउटा उपहार पायो। उपहार पाएपछि उसले कृतज्ञ महसुस गरे पुगिहाल्यो नि भन्नुहुन्छ? अथवा उसलाई कृतज्ञता व्यक्त गर्न सिकाउनुहुन्छ? यस्ता गहिरा भावनाहरू शब्दमा व्यक्त गर्दा ती अझ प्रस्ट र सशक्त हुन्छन्। के परमेश्वरसित कुरा गर्ने सन्दर्भमा पनि यही कुरा लागू हुँदैन र? केही उदाहरण विचार गर्नुहोस्।
धन्यवादको प्रार्थना। आफूले अनुभव गरेका असल कुराको लागि स्वर्गमा बस्नुहुने हाम्रो बुबालाई धन्यवाद चढाउँदा हामीले पाएको आशिष्मा ध्यानकेन्द्रित गर्न सक्नेछौं। फलस्वरूप हामी अझ कृतज्ञ, खुसी र सकारात्मक हुनेछौं।—फिलिप्पी ४:६.
उदाहरण: बुबाले प्रार्थना सुन्नुभएको र त्यसको जवाफ दिनुभएकोमा येशूले धन्यवाद व्यक्त गर्नुभयो।—यूहन्ना ११:४१.
क्षमाको लागि प्रार्थना। परमेश्वरसित क्षमा माग्दा हामी आफ्नो अन्तस्करणलाई सुदृढ पार्छौं, साँचो पश्चात्ताप गर्छौं अनि पापको गम्भीरताबारे अझ सजग हुन्छौं। साथै दोषी भावनाको बोझ पनि हल्का भएको महसुस गर्छौं।
उदाहरण: दाऊदले पश्चात्ताप र दुःख व्यक्त गर्न प्रार्थना गरे।—भजन ५१.
डोऱ्याइ र बुद्धिको लागि प्रार्थना। सही निर्णय गर्न हामीलाई डोऱ्याउनुहोस् वा बुद्धि दिनुहोस् भनेर यहोवासित बिन्ती गर्दा साँच्चै नम्र हुने मदत पाउँछौं। यसो गर्दा आफ्नो सीमितताबारे सजग हुन अनि स्वर्गमा बस्नुहुने हाम्रो बुबामाथि अझ भरोसा गर्न मदत पाउनेछौं।—हितोपदेश ३:५, ६.
उदाहरण: सुलेमानले इस्राएलमा शासन गर्न नम्र भई डोऱ्याइ र बुद्धि मागे।—१ राजा ३:५-१२.
सङ्कष्टको बेला प्रार्थना। भावनात्मक तवरमा पिरोलिंदा परमेश्वरलाई आफ्नो मनको बह पोख्यौं भने हल्का महसुस गर्छौं र आफैमा होइन, यहोवामा भर परिरहेका हुन्छौं।—भजन ६२:८.
उदाहरण: भयानक शत्रुको सामना गर्नुपर्दा राजा आसाले प्रार्थना गरे।—२ इतिहास १४:११.
खाँचोमा परेकाहरूको हितको लागि प्रार्थना। यस्ता प्रार्थनाले स्वार्थी नहुन अनि दयामायाजस्ता गुण बढाउँदै लैजान मदत गर्छ।
उदाहरण: येशूले आफ्ना चेलाहरूको खातिर प्रार्थना गर्नुभयो।—यूहन्ना १७:९-१७.
प्रशंसाको प्रार्थना। यहोवाका अद्भुत कार्य तथा गुणहरूका लागि उहाँको प्रशंसा गर्दा उहाँप्रति हाम्रो आदर र कृतज्ञता अझ बढ्नेछ। यस्ता प्रार्थनाले हाम्रा परमेश्वर, जो हाम्रो बुबा हुनुहुन्छ उहाँसित अझ घनिष्ठ हुन पनि मदत गर्न सक्छ।
उदाहरण: परमेश्वरको सृष्टिको लागि दाऊदले हार्दिक प्रशंसा गरे।—भजन ८.
प्रार्थनाको अर्को आशिष् हो, ‘परमेश्वरको शान्ति जसले सारा समझलाई माथ गर्छ।’ (फिलिप्पी ४:७) यस्तो शान्ति अहिलेको गन्जागोल संसारमा विरलै पाइने आशिष् हो। यसले गर्दा स्वास्थ्यलाभ पनि हुन्छ। (हितोपदेश १४:३०) तर के यो हाम्रो आफ्नै प्रयासले मात्र हुने हो? वा अर्को कुनै महत्त्वपूर्ण कुरा मुछिएको छ कि? (w10 -E 10/01)
[पृष्ठ ९-मा भएको चित्र]
प्रार्थनाका धेरै लाभ छन्—शारीरिक, भावनात्मक अनि सबैभन्दा महत्त्वपूर्ण, आध्यात्मिक