प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १२/१५ पृ. १४-१७
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • परमेश्‍वरले गर्नुभएको वैवाहिक प्रबन्धको आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १२/१५ पृ. १४-१७

पाठकहरूको प्रश्‍न

बच्चा जन्माउने चाहनाले गर्दा हामीले इन भीट्रो फर्टिलाइजेसन प्रविधि अपनायौं। हाम्रा निषेचित अण्डा सबै प्रयोग गरिएन, कुनै-कुनैलाई जमाएर सञ्चय गरिएको थियो। त्यतिबेला हामी यहोवाका साक्षी भएका थिएनौं। सञ्चय गरिएका ती अण्डाहरू के सुरक्षित राखिराख्नुपर्छ अथवा फ्याँके पनि हुन्छ?

इन भीट्रो फर्टिलाइजेसन (आई भी एफ) प्रविधि अपनाएका जोडीहरूले नैतिकतासम्बन्धी थुप्रै जटिल निर्णय गर्नुपर्ने हुन्छ। त्यसमध्ये एउटा माथि दिइएको प्रश्‍नसित सम्बन्धित छ। प्रत्येक जोडी आफ्नो निर्णयको लागि यहोवासामु जबाफदेही हुन्छ। त्यसैले यस आई भी एफ प्रविधिबारे थाह पाइराख्नु राम्रो हो।

सन्‌ १९७८ मा बेलायतकी एउटी महिलाले पहिलो चोटि आई भी एफ प्रविधिद्वारा टेस्ट ट्युब बेबी जन्माइन्‌। तिनको डिम्बबाहिनी नली बन्द भएकोले शुक्रकीट र अण्डा निषेचन हुन सकिरहेको थिएन। त्यसैले तिनी गर्भवती हुन सकेकी थिइनन्‌। स्वास्थ्यकर्मीहरूले तिनको पूर्ण विकसित अण्डालाई शल्यक्रियाद्वारा निकालेर प्रयोगशालामा तिनको श्रीमान्‌को शुक्रकीटसित निषेचन गरे। अनि उक्‍त निषेचित अण्डालाई उपयुक्‍त वातावरणमा बढ्‌न दिइयो। त्यसपछि ती महिलाको गर्भमा प्रत्यारोपण गरियो। पछि तिनले एउटी छोरी जन्माइन्‌। योलगायत यस विधिको अन्य रूपलाई इन भीट्रो फर्टिलाइजेसन अर्थात्‌ आई भी एफ भनियो।

देशअनुसार तरिका फरक-फरक हुन सक्छ तर साधारणतया आई भी एफ यसप्रकार गरिन्छ: डिम्बाशयले धेरै अण्डा निकाल्न सकोस्‌ भनेर श्रीमतीलाई हप्तौंसम्म खास किसिमको औषधी दिइन्छ। अनि श्रीमान्‌लाई चाहिं हस्तमैथुनद्वारा ताजा शुक्रकीट निकाल्न लगाइन्छ। त्यसपछि ती अण्डा र शुक्रकीटलाई प्रयोगशालामा निषेचन गरिन्छ। कुनै-कुनै अवस्थामा थुप्रै अण्डा निषेचित भएर विभाजन हुन थाल्छन्‌, जसले गर्दा भ्रूण बन्‍ने प्रक्रिया सुरु हुन्छ। भर्खरै निषेचित यी अण्डाहरूको एक दुई दिनपछि विस्तृत जाँच गरिन्छ किनभने भ्रूणको राम्रो विकासको लागि स्वस्थ अण्डाहरू मात्र प्रत्यारोपण गर्नुपर्छ। त्यसलाई प्रायजसो तेस्रो दिनमा आमाको गर्भमा प्रत्यारोपण गरिन्छ। गर्भधारण गर्ने सम्भावना बढी होस्‌ भनेर एउटा मात्र होइन, दुई तीन वटा निषेचित अण्डा गर्भमा राखिन्छ। यो प्रक्रिया सफल भएको खण्डमा महिला गर्भवती हुन्छिन्‌ र पछि बच्चा जन्माउँछिन्‌।

निषेचन गरिएका केही अण्डा अस्वस्थ हुन सक्छ वा त्यसमा केही खोट देखिन सक्छ। यीलगायत प्रत्यारोपण नगरिएका अन्य अण्डालाई के गरिन्छ? त्यतिकै छोडेमा ती अण्डा बाँच्न सक्दैनन्‌। त्यसो हुन नदिन ती अण्डालाई तरल नाइट्रोजनमा जमाएर राख्न सकिन्छ। किन? पहिलो पटकको आई भी एफ असफल भएमा सञ्चय गरिएका केही अण्डालाई अलि कम खर्चमा आमाको गर्भमा प्रत्यारोपण गर्न सकिन्छ। तर यसले नैतिकतासम्बन्धी प्रश्‍नहरू खडा गर्छ। यस लेखको सुरुमा उल्लेख गरिएको दम्पतीलाई जस्तै थुप्रैलाई सञ्चय गरिएका ती निषेचित अण्डाहरू के गर्ने भनेर निर्णय गर्न गाह्रो भएको छ। तिनीहरू अब अरू बच्चा जन्माउन चाहँदैनन्‌ होला। उमेरको कारण अथवा आर्थिक समस्याको कारण फेरि आई भी एफ प्रविधि अपनाउन सक्दैनन्‌ होला। साथै तिनीहरूलाई गर्भमा दुई तीनवटा बच्चा बस्दा हुने खतराबारे चिन्ता लाग्छ होला।a अथवा पति-पत्नीमध्ये एकको मृत्यु वा एक वा दुवैको पुनर्विवाहले अवस्था अझ जटिल बनाउन सक्छ। हो, चिन्ताका विषय थुप्रै छन्‌। यस्ता विभिन्‍न कुराले गर्दा केही दम्पतीले अण्डा सञ्चय गर्नको लागि वर्षौंसम्म पैसा तिरिरहन्छन्‌।

निषेचन गरिएको बाँकी अण्डा के गर्ने भनेर सही निर्णय गर्न थुप्रै जोडीलाई गाह्रो भइरहेको छ भनेर एक जना प्रमुख भ्रूणविशेषज्ञले सन्‌ २००८ मा द न्यु योर्क टाइम्स पत्रिकामा उल्लेख गरे। उक्‍त लेखमा यस्तो भनिएको थियो: ‘अमेरिकाका अस्पतालहरूमा कम्तीमा पनि ४,००,००० निषेचित अण्डाहरू सञ्चय गरिएका छन्‌ र यो सङ्‌ख्या बढ्‌दै छ। सही तरिकाले जमाएर राखिएका निषेचित अण्डाहरू एक दशक वा त्योभन्दा लामो समयसम्म राम्रै अवस्थामा हुन्छन्‌। तर पगालिसकेपछि भने सबै अण्डा बच्छ नै भन्‍ने छैन।’ यो कुरा विचार गर्दा केही ख्रीष्टियनलाई सही निर्णय गर्न सजिलो हुन सक्छ। किन?

आई भी एफ प्रविधि अपनाएका ख्रीष्टियन दम्पतीहरूले स्वास्थ्य दृष्टिकोणबाट जटिल अन्य अवस्थालाई विचार गर्न सक्छन्‌। बाँच्ने कुनै आशा नभएको अनि भेन्टिलेटरको सहायताले मात्र बचाइराखेको आफ्नो प्रिय जनलाई के गर्ने भनेर ख्रीष्टियनहरूले निर्णय गर्नुपर्ने हुन्छ। साँचो ख्रीष्टियनहरू प्रस्थान २०:१३ अनि भजन ३६:९ मा लेखिएझैं जीवनलाई अनमोल ठान्छन्‌। त्यसैले तिनीहरू बिरामीको राम्रो उपचार गराउन कुनै कसर बाँकी राख्दैनन्‌। मे ८, १९७४ को ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी)-मा यस्तो लेखिएको थियो: “तिनीहरू जीवनको पवित्रतासम्बन्धी यहोवाको दृष्टिकोणलाई आदर गर्छन्‌, आफ्नो अन्तस्करणको आवाज सुन्छन्‌, सरकारी नियमकानुनको अधीनमा बस्छन्‌ अनि बाइबलको सिद्धान्तअनुरूप जीवन बिताउन चाहन्छन्‌। त्यसैले तिनीहरू कुनै हालतमा युथेनेसिया स्वीकार्दैनन्‌।” युथेनेसिया भनेको जानाजानी बिरामीको हत्या गर्नु हो। कुनै-कुनै अवस्थामा भने कृत्रिम प्रविधिले मात्र बिरामीलाई बचाइराखेको हुन्छ। यस कृत्रिम प्रविधि अपनाइरहने वा रोक्ने, त्यो निर्णय परिवारका सदस्यहरूले नै गर्नुपर्छ।

यो अवस्था र आई भी एफ प्रविधि अपनाएर निषेचित अण्डा सञ्चय गरेका दम्पतीको अवस्था फरक छ। तर उक्‍त दम्पतीले गर्न सक्ने एउटा छनौट भनेको तरल नाइट्रोजनमा जमाएर राखेको निषेचित अण्डालाई त्यहाँबाट झिकेर पग्लन दिनु हो। नाइट्रोजन फ्रिजरबाट झिकेको अण्डा धेरै समयसम्म बाँच्दैन। त्यसो गर्ने कि नगर्ने, दम्पती आफैले निर्णय गर्नुपर्छ।—गला. ६:७.

गर्भधारण गर्न अनि बच्चा जन्माउनको लागि आई भी एफ प्रविधि अपनाएको हुँदा कुनै दम्पतीले निषेचित अण्डा सञ्चय गर्न खर्च बेहोरिरहने वा त्यसलाई भविष्यमा प्रयोग गर्ने निर्णय गर्न सक्छन्‌। तर अर्को दम्पतीले भने त्यसो गर्नु भनेको कृत्रिम तरिकाले मात्र बचाउनु हो भन्‍ने दृष्टिकोण राखेर ती अण्डालाई त्यसरी जमाइ नराख्ने निर्णय गर्न सक्छन्‌। जुनसुकै निर्णय गरे तापनि ख्रीष्टियनहरू आफ्नो बाइबल प्रशिक्षित अन्तस्करण प्रयोग गरेर यहोवासामु खडा हुन सक्नुपर्छ। आफूले गरेको निर्णयले आफ्नो र अरूको अन्तस्करण खलबलिन दिनु हुँदैन।—१ तिमो. १:१९.

ख्रीष्टियनहरू आफ्नो बाइबल प्रशिक्षित अन्तस्करण प्रयोग गरेर यहोवासामु खडा हुन सक्नुपर्छ

प्रजनन स्वास्थ्यसम्बन्धी एक विशेषज्ञअनुसार “थुप्रै जोडी अलमल्लमा परेका छन्‌ अनि जमाएर राखिएको निषेचित अण्डालाई के गर्ने भनेर चिन्तित छन्‌।” निष्कर्षमा तिनले भने: “कुनलाई सही निर्णय भन्‍ने, त्यसबारे थुप्रै जोडी दोधारमा परेका छन्‌।”

आई भी एफ प्रविधिबारे सोचिरहेका साँचो ख्रीष्टियनहरूले यससँग मुछिएका गम्भीर पक्षहरूबारे राम्ररी विचार पुऱ्‍याउनुपर्छ। बाइबल यस्तो सल्लाह दिन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।”—हितो. २२:३.

अन्य आई भी एफ विधिहरू

आई भी एफ प्रविधिले गर्दा अन्य विधिहरू पनि सम्भव भयो। तर बाइबलमा दिइएको परमेश्‍वरको सोचाइसित यी विधिहरू पटक्कै मेल खाँदैन। जस्तै: एउटी महिलाको अण्डालाई तिनको पतिको नभई अरू कसैको शुक्रकीटसित निषेचन गरिन्छ। अनि उक्‍त निषेचित अण्डालाई त्यस महिलाको गर्भमा प्रत्यारोपण गरिन्छ। (समलिङ्‌गी महिलाहरू कहिलेकाहीं यो विधि अपनाउँछन्‌।) अथवा पतिको शुक्रकीटलाई पत्नीको नभई अरू कुनै महिलाको अण्डासित निषेचन गरिन्छ। त्यसपछि उक्‍त निषेचित अण्डालाई पत्नीको गर्भमा प्रत्यारोपण गरिन्छ।

कुनै-कुनै अवस्थामा भने गर्भमा प्रत्यारोपण गरिएको निषेचित अण्डा न आफ्नो पतिको शुक्रकीट हुन्छ, न त आफ्नो अण्डा। त्यस्तै अर्को तरिकामा भने आई भी एफ प्रविधि अपनाएर विवाहित जोडीको अण्डा र शुक्रकीटलाई गर्भबाहिर निषेचन गरिन्छ। त्यसपछि उक्‍त निषेचित अण्डालाई अर्को महिलाको अर्थात्‌ सट्टाआमाको गर्भमा प्रत्यारोपण गरिन्छ जसले उनीहरूको लागि बच्चा जन्माइदिन्छिन्‌।c

यहोवाको निर्देशनअनुसार चल्ने उहाँका सेवकहरूका लागि यी प्रजनन विधिहरू स्वीकार्य छैनन्‌। उहाँले यस्तो निर्देशन दिनुभएको छ: “तैंले पर-स्त्रीलाई आफ्नो वीर्य दिएर अशुद्ध नपार्‌।” (लेवी १८:२०, २९, NW; हितो. ६:२९) विवाहित जोडीले आफ्नो जोडीबाहेक अरू कसैको अण्डा अथवा शुक्रकीट (अथवा दुवै) निषेचन गर्नु बाइबलको दृष्टिकोणमा पोर्निया अर्थात्‌ अवैध यौनसम्बन्ध हो। यी विधि स्वीकार्नु भनेको यौन अङ्‌गहरूको घोर दुरुपयोग गर्नु हो।—मत्ती ५:३२; १ कोरि. ५:११; ६:९, १८; हिब्रू १३:४.

c मार्च ८, १९९३ को ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी), पृष्ठ २६-२७ मा सट्टाआमाबारे विस्तृत छलफल गरिएको छ।

एक अविवाहित जोडी बाइबल अध्ययन गर्दै छन्‌ र बप्तिस्मा गर्न चाहन्छन्‌। त्यसैले उनीहरू पहिले विवाह गर्न चाहन्छन्‌। तर केटाचाहिं त्यस देशमा गैर-कानुनी रूपमा बसिरहेको हुँदा सरकारले उनीहरूको विवाहलाई कानुनी मान्यता दिंदैन। के यी जोडीले वैवाहिक वफादारीको कबुलियतनामामाb हस्ताक्षर गरेर बप्तिस्मा गर्न सक्छन्‌?

यसो गर्नु समस्याको समाधानजस्तो देखिएला। तर यो बाइबलआधारित तरिका भने होइन। यसको कारण बुझ्नुअघि सर्वप्रथम, वैवाहिक वफादारीको कबुलियतनामा भनेको के हो र यो कस्तो अवस्थामा प्रयोग गर्न सकिन्छ, त्यो बुझौं।

आफ्नो विवाहलाई कानुनी रूपमा दर्ता गर्न नसक्ने जोडीले साक्षीहरू राखेर हस्ताक्षर गर्ने यो एउटा लिखित कागजात हो। उनीहरूले विवाह गर्न नसक्नुको कारण तल अनुच्छेदहरूमा दिइएको छ। यस कबुलियतनामामा उनीहरूले एक-अर्काप्रति वफादार रहनेछु अनि कानुनी रूपमा दर्ता गर्न सम्भव हुनेबित्तिकै कदम चालिहाल्नेछु भनी यहोवा अनि मानिससामु कसम खान्छन्‌। त्यसपछि मण्डलीले पनि उनीहरूको विवाहलाई कानुनी रूपमा दर्ता भएको विवाहसरह ठान्‍नेछ।

वैवाहिक वफादारीको कबुलियतनामा कस्तो अवस्थामा प्रयोग गरिन्छ? यहोवाले विवाहको सुरुवात गर्नुभयो र उहाँ यसको मोल गर्नुहुन्छ। येशूले यसो भन्‍नुभयो: “जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।” (मत्ती १९:५, ६; उत्प. २:२२-२४) उहाँले अझै भन्‍नुभयो: “जसले अवैध यौनसम्बन्धबाहेक अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले परस्त्रीसित यौन सम्बन्ध राखेको ठहरिन्छ।” (मत्ती १९:९) त्यसकारण सम्बन्धविच्छेद गर्न सकिने एकमात्र धर्मशास्त्रीय आधार “अवैध यौनसम्बन्ध” हो। उदाहरणको लागि, पतिले आफ्नी पत्नीबाहेक अरूसित यौनसम्बन्ध राखे भने तिनकी निर्दोष पत्नीले सम्बन्धविच्छेद गर्ने कि नगर्ने भनेर निर्णय गर्न सक्छिन्‌। अनि यदि सम्बन्धविच्छेद गरिन्‌ भने पत्नी अरूसित विवाह गर्न स्वतन्त्र हुन्छिन्‌।

तर विगतमा केही देशका प्रमुख चर्चले सम्बन्धविच्छेदबारे बाइबलको यस स्पष्ट अडानलाई अस्वीकार गऱ्‍यो। बरु कुनै पनि कारणले सम्बन्धविच्छेद गर्न सकिंदैन भनेर सिकायो। त्यसैले चर्चले ठूलो अधिकार जमाएका केही देशमा कानुनले सम्बन्धविच्छेद गर्ने अनुमति दिंदैन, यहाँसम्म कि येशूले उल्लेख गर्नुभएको कारण हुँदा समेत। अन्य केही देशमा भने सम्बन्धविच्छेद गर्न सकिन्छ तर प्रक्रिया निकै गाह्रो अनि झन्झटिलो हुन्छ। सम्बन्धविच्छेदको प्रक्रिया पूरा गर्न वर्षौं पनि लाग्न सक्छ। परमेश्‍वरले स्वीकार्य ठान्‍नुभएको कुरालाई चर्च वा सरकारले “रोक्न” खोज्छ।—प्रेषि. ११:१७.

उदाहरणको लागि कुनै दम्पती सम्बन्धविच्छेद गर्न असम्भव वा असाध्यै गाह्रो हुने देशमा बसिरहेका होलान्‌, जसको लागि वर्षौं पनि लाग्न सक्छ। यदि सम्बन्धविच्छेद गर्न आफ्नोतर्फबाट हर प्रयास गरिएको छ अनि उनीहरू यहोवाको नजरमा अर्को विवाह गर्न स्वतन्त्र छन्‌ भने जोडीले वैवाहिक वफादारीको कबुलियतनामामा हस्ताक्षर गर्न सक्छन्‌। यो प्रबन्ध यस्तो देशमा बस्ने ख्रीष्टियनहरूका लागि मण्डलीले मिलाएको मायालु प्रबन्ध हो। तथापि प्रक्रिया महङ्‌गो अथवा झन्झटिलो भए पनि सम्बन्धविच्छेद गर्न सम्भव भएको देशमा बस्ने साक्षीहरूका लागि भने यो प्रबन्ध लागू हुँदैन।

सम्बन्धविच्छेद गर्न सम्भव भएको देशमा बस्ने कोही-कोहीले झन्झटिलो वा गाह्रो प्रक्रिया सामना गर्न नपरोस्‌ भनेर वैवाहिक वफादारीको कबुलियतनामामा हस्ताक्षर गर्न खोजेका छन्‌। तर यो जायज कारण भने होइन।

सुरुको प्रश्‍नमा बताइएको जोडीको अवस्था विचार गरौं। उनीहरू विवाह नगरी सँगै बस्दै छन्‌ तर विवाह गर्न चाहन्छन्‌। बाइबलको स्तरअनुसार ती अविवाहित जोडी विवाह गर्न स्वतन्त्र छन्‌। उनीहरूको समस्या भनेको त्यस पुरुष उक्‍त देशमा गैर-कानुनी रूपमा बसिरहेका छन्‌ अनि सरकारले उनीहरूको विवाहलाई कानुनी रूपमा दर्ता गर्ने अनुमति दिंदैन। (त्यस जोडीमध्ये एक वा दुवै नै गैर-कानुनी रूपमा बसेका छन्‌ भने पनि थुप्रै देशका सरकारले उनीहरूलाई कानुनी रूपमा विवाह दर्ता गर्ने अनुमति दिन्छ।) तर यो अवस्था देशको नियम-कानुनले गर्दा सम्बन्धविच्छेद गर्न नमिलेको अवस्था होइन। त्यसैले यस्तो अवस्थामा वैवाहिक वफादारीको कबुलियतनामामा हस्ताक्षर गर्ने कुरै उठ्‌दैन। समस्या हो, पुरुष गैर-कानुनी रूपमा बसिरहेका छन्‌ र उनीहरूले कानुनी रूपमा विवाह दर्ता गर्नुपरेको छ। यस्तो अवस्थामा उनीहरू के गर्न सक्छन्‌? उनीहरू आफ्नो विवाहलाई कानुनी रूपमा दर्ता गर्न सकिने देशमा जानुपर्ने हुन सक्छ। अथवा पुरुषले कानुनी रूपमा बस्नको लागि आवश्‍यक कदम चालेमा आफू बसिरहेकै देशमा रहेर विवाह गर्न सम्भव हुन सक्छ।

यसरी यस जोडीले यहोवाको स्तर अनि सरकारको नियम पालन गर्नको लागि आवश्‍यक परिवर्तनहरू गर्न सक्छन्‌। (मर्कू. १२:१७; रोमी १३:१) आशा छ, उनीहरूले त्यसो गर्नेछन्‌। त्यसपछि उनीहरू बप्तिस्माको लागि योग्य हुन सक्छन्‌।—हिब्रू १३:४.

a यदि गर्भको भ्रूणमा केही गडबडी देखिन्छ वा दुई तीनवटा अण्डा नै हुर्किरहेको छ भने के गर्ने? जानाजानी गर्भ तुहाउनु भनेको गर्भपतन गर्नु हो। आई भी एफ प्रविधि अपनाउँदा गर्भमा जुम्ल्याहा, तिम्ल्याहा वा त्योभन्दा बढी बच्चा बस्नु सामान्य कुरा हो। यसले गर्दा महिना नपुगी बच्चा जन्मिने अनि आमाको रक्‍तस्राव हुने खतरा बढ्‌छ। गर्भमा थुप्रै भ्रूण हुर्किरहेको महिलालाई एक वा बढी भ्रूण मार्न सल्लाह दिइन सक्छ। यसरी जानाजानी गर्भपतन गर्नु भनेको हत्यासरह हो।—प्रस्थ. २१:२२, २३; भज. १३९:१६.

b Declaration Pledging Faithfulness

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने