प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 डिसेम्बर पृ. १५-१८
  • ‘यहोवाले हामीलाई दया देखाउनुभएको छ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘यहोवाले हामीलाई दया देखाउनुभएको छ’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले मायालु ढङ्‌गमा मेरो आँखा खोलिदिनुभयो
  • पूर्ण-समय सेवा गर्दा यहोवामा भरोसा राखेँ
  • हामीले नयाँ असाइनमेन्ट पायौँ
  • हामीले एउटा ठूलो समस्याको सामना गऱ्‍यौँ
  • चिन्ता-फिक्री सहन दिनदिनै बल माग्यौँ
  • यहोवाले देखाउनुभएको अटल प्रेमप्रति म कृतज्ञ छु
  • मैले सिक्न कहिल्यै छोडेको छैनँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 डिसेम्बर पृ. १५-१८
झाँ-मारी र डान्यिल बोकार्ट

जीवनी

‘यहोवाले हामीलाई दया देखाउनुभएको छ’

झाँ-मारी बोकार्टको वृत्तान्तमा आधारित

मेरी पत्नी डान्यिल र म भर्खरै होटेलमा पुगेका थियौँ। त्यति नै खेर होटेलको स्टाफले मलाई भने: “सर, सीमा इलाकाका प्रहरीहरूलाई एक चोटि फोन गर्नुस्‌!” हामी पश्‍चिम अफ्रिकाको गाबोन भन्‍ने देशमा केही घण्टाअघि मात्र पुगेका थियौँ। सन्‌ १९७० को दशकतिर गाबोनमा हाम्रो काममा प्रतिबन्ध लगाइएको थियो।

डान्यिल असाध्यै टाठो स्वभावकी थिइन्‌। उनले मेरो कानमा खुसुक्क भनिन्‌, “प्रहरीलाई फोन नगर्नुभए हुन्छ, उनीहरू यहीँ आइपुगिसके!” होटेलको अगाडि एउटा गाडी रोकियो। केही मिनेटपछि सिपाहीहरू आएर हामीलाई गिरफ्तार गरे। धन्‍न, डान्यिलले मलाई पहिल्यै सूचना दिएकी हुँदा मैले केही कागजातहरू अर्को भाइलाई जिम्मा लगाउन पाएँ।

हामीलाई प्रहरी चौकी लगिँदै गर्दा आफूले कत्ति साहसी र आध्यात्मिक पत्नी पाएको छु भनेर सोचिरहेँ। डान्यिलसित मिलेर मैले थुप्रै चोटि यस्ता गाह्रा अवस्थाहरू पार लगाउन सकेको छु। हाम्रो प्रचारकार्यमाथि प्रतिबन्ध लगाइएका देशहरूमा हामी किन गयौँ, त्यसबारे म अब तपाईँलाई बताउँछु।

यहोवाले मायालु ढङ्‌गमा मेरो आँखा खोलिदिनुभयो

उत्तरी फ्रान्सको क्रो भनिने सानो सहरमा सन्‌ १९३० मा मेरो जन्म भयो। हाम्रो परिवार क्याथोलिक धर्म मान्थ्यो। चर्चमा हरेक हप्ता हुने मास उत्सवको लागि हामी सपरिवार जान्थ्यौँ। हाम्रो चर्चको गतिविधिमा बुबा निकै सक्रिय हुनुहुन्थ्यो। तर म १४ वर्ष पुग्न लाग्दा भएको एउटा घटनाले गर्दा चर्चको कपटी व्यवहार छर्लङ्‌गै देखेँ।

दोस्रो विश्‍वयुद्धको बेला फ्रान्सलाई जर्मन सेनाले कब्जा गरेको थियो। हाम्रो पादरीले चर्चमा प्रवचन दिँदा सधैँ भिसी प्रान्तको सरकारलाई समर्थन गर्न भन्थे, जसले नाजी शासनको पक्ष लिएको थियो। तिनका भाषणहरू सुन्दा हाम्रो आङ जिरिङ्‌ग हुन्थ्यो। फ्रान्सका थुप्रै मानिसले जस्तै हामी लुकीछिपी बीबीसी रेडियो सुन्थ्यौँ किनभने यसमा विपक्षी सेनाको समाचार प्रसारण गरिन्थ्यो। तर हाम्रो पादरीले नाजी सरकारको समर्थन गर्न छोडेर अचानक विपक्षी सेनाको समर्थन गर्दै सेप्टेम्बर १९४४ मा चर्चमा थ्याङ्‌क्स गिभिङ उत्सव मनाउने प्रबन्ध मिलाए। पादरीको यस्तो कपटी व्यवहार देखेर म तीनछक परेँ। यसले गर्दा पादरीहरूमाथि मेरो भरोसा गुम्यो।

दोस्रो विश्‍वयुद्ध सिद्धिएको केही समयपछि मेरो बुबा बित्नुभयो। मेरी जेठी दिदी सिमोनको विवाह भइसकेको थियो र उहाँ बेल्जियममा बस्नुहुन्थ्यो। त्यसैले मैले आमाको हेरचाह गर्नुपर्ने जिम्मेवारी महसुस गरेँ। मैले कपडा उद्योगमा काम पाएँ। मेरो हाकिम र उहाँका छोराहरू क्याथोलिक धर्ममा निकै आस्था राख्नुहुन्थ्यो। हुनत कपडा उद्योगमा काम गर्दै जाँदा मेरो भविष्य राम्रो हुनेथियो तर चाँडै मैले एउटा परीक्षा सामना गर्नुपर्ने थियो।

सिमोन दिदी सन्‌ १९५३ मा हामीलाई भेट्‌न आउनुभयो। त्यतिबेला उहाँ यहोवाको साक्षी बनिसक्नुभएको थियो। बाइबलबाटै उहाँले क्याथोलिक चर्चका थुप्रै शिक्षा गलत हुन्‌ भनेर हामीलाई देखाइदिनुभयो। जस्तै: नरक, त्रिएक र अमर आत्माको शिक्षा। उहाँले प्रयोग गर्नुभएको बाइबल क्याथोलिक बाइबल होइन भनेर मैले सुरुमा आपत्ति जनाएँ। तर चाँडै, उहाँले बताउनुभएका कुराहरू सत्य हुन्‌ भनेर मलाई पक्का भयो। उहाँले मलाई प्रहरीधरहरा-का पुराना अङ्‌कहरू पनि ल्याइदिनुभयो र ती मैले राती-राती पढेँ। यो नै सत्य हो भनेर छर्लङ्‌ग बुझ्न मलाई धेरै समय लागेन। तर यहोवाको पक्षमा खडा हुँदा जागिर गुमाउनुपर्ला कि भन्‍ने डरचाहिँ लागिरहेको थियो।

केही महिनासम्म बाइबल र प्रहरीधरहरा-का लेखहरू मैले आफै पढेँ। पछि मैले राज्यभवन जाने निर्णय गरेँ। त्यहाँको मायालु वातावरणले मेरो मन छोयो। एक जना परिपक्व भाइसित छ महिना बाइबल अध्ययन गरेपछि मैले सेप्टेम्बर १९५४ मा बप्तिस्मा गरेँ। त्यसको धेरै समय नबित्दै आमा र बहिनी पनि यहोवाको साक्षी बन्‍नुहुँदा मलाई असाध्यै खुसी लाग्यो।

पूर्ण-समय सेवा गर्दा यहोवामा भरोसा राखेँ

मैले सन्‌ १९५८ मा न्यु योर्कमा आयोजना गरिएको अन्तरराष्ट्रिय अधिवेशनमा जाने मौका पाएँ। तर दुःखको कुरा, त्यस अधिवेशनभन्दा केही हप्ताअघि आमा बित्नुभयो। अधिवेशनबाट फर्केपछि मेरो काँधमा कुनै पारिवारिक जिम्मेवारी थिएन। त्यसैले मैले जागिर छोडेर अग्रगामी सेवा गर्न थालेँ। त्यसैबीच डान्यिल डिली नाम गरेकी जोसिलो अग्रगामी बहिनीसित मेरो मगनी भयो। हामीले मे १९५९ मा विवाह गऱ्‍यौँ।

डान्यिलले आफ्नो घरबाट धेरै टाढा पर्ने ब्रिटनी भन्‍ने गाउँमा पूर्ण-समय सेवा थालेकी थिइन्‌। ब्रिटनी क्याथोलिकहरूको बाहुल्य भएको इलाका भएकोले त्यहाँ प्रचार गर्न र टाढा-टाढासम्म साइकलमा जान डान्यिललाई निकै साहस चाहिन्थ्यो। मलाई जस्तै उनलाई पनि यहोवाको काममा ढिलासुस्ती गर्नु हुँदैन भन्‍ने लाग्थ्यो। हामी दुवैलाई अन्त नजिकै छ जस्तो लाग्थ्यो। (मत्ति २५:१३) उनको आत्मत्यागी मनोभावले गर्दा हामी पूर्ण-समय सेवामा लागिरहन सक्यौँ।

हामीले विवाह गरेको केही दिनपछि हामीलाई क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्न खटाइयो। हामीले सरल जीवन बिताउने बानी बसाल्यौँ। हामी गएको पहिलो मण्डलीमा १४ जना प्रकाशक थिए अनि भाइबहिनीहरू गरिब भएकोले उनीहरू हामीलाई आफ्नो घरमा राख्न सक्दैन थिए। त्यसैले हामी राज्यभवनको मञ्चमा ओछ्यान लगाएर सुत्यौँ। हुनत त्यसरी सुत्नु सजिलो वा आरामदायी थिएन तर हाम्रो ढाडको लागि भने गजब थियो!

डान्यिल बोकार्ट आफ्नो सानो गाडीको छेउमा उभिँदै

हाम्रो सानो गाडीमा मण्डलीहरूको भ्रमण गर्थ्यौँ

हाम्रो तालिका असाध्यै व्यस्त भए तापनि डान्यिल परिभ्रमण कार्यमा सजिलै भिजिन्‌। मण्डलीहरूमा जाँदा अचानक एल्डरहरूको सभा गर्नुपर्दा हाम्रो सानो गाडीमा उनी धेरै चोटि पर्खेर बस्नुपर्थ्यो तर उनले कहिल्यै गुनासो गरिनन्‌। हामीले क्षेत्रीय निरीक्षकको रूपमा दुई वर्ष मात्र सेवा गऱ्‍यौँ। विवाहित जोडीले एक-अर्कासित खुलस्त कुराकानी गर्नु र एकजुट भएर काम गर्नु एकदमै महत्त्वपूर्ण छ भनेर त्यतिबेला हामीले सिक्यौँ।—उप. ४:९.

हामीले नयाँ असाइनमेन्ट पायौँ

सन्‌ १९६२ मा हामीले न्यु योर्कको ब्रूक्लिनमा हुने ३७औँ गिलियड स्कुलमा १० महिने कोर्सको लागि निम्तो पायौँ। त्यस स्कुलमा बोलाइएका १०० जना विद्यार्थीमध्ये १३ दम्पती थिए। त्यसैले हामी दुवै जना सँगै जान पाएकोमा खुसी लाग्यो। त्यतिबेलाको मीठो सम्झना मेरो दिमागमा अझै ताजा छ। त्यतिबेला फ्रेडरिक फ्रान्ज, युलिसेज ग्लास र एलेक्जान्डर एच. म्याकमिलनजस्ता विश्‍वासका खाँबोहरूसित सङ्‌गत गर्ने मौका पाएका थियौँ।

झाँ-मारी र डान्यिल बोकार्ट न्यु योर्कको ब्रूक्लिनमा गिलियड स्कुलमा भाग लिएको बेला

सँगै गिलियड स्कुल जान पाउँदा असाध्यै खुसी भयौँ!

तालिमको दौडान हामीलाई वरपरका कुराहरू राम्ररी नियाल्ने क्षमता विकास गर्न आग्रह गरिएको थियो। तालिमकै सिलसिलामा कहिलेकाहीँ शनिबार दिउँसो क्लास सिद्धिएपछि न्यु योर्क सहर घुमाउन लगिन्थ्यो। आफूले सहरमा जे देख्यौँ, त्यसबारे सोमबारको दिन लिखित जाँच हुनेछ भनेर हामीलाई थाह थियो। शनिबार सहर घुम्न गएर फर्कँदा प्रायजसो साँझ हामी लखतरान भइसकेका हुन्थ्यौँ। तर हाम्रो टुर गाइड, जो बेथेल सेवक हुनुहुन्थ्यो, उहाँले लिखित जाँचको लागि मुख्य बुँदाहरू सम्झन सकियोस्‌ भनेर केही प्रश्‍न सोध्नुहुन्थ्यो। एक चोटि शनिबार हामी सहरमा यताउता विभिन्‍न ठाउँमा गयौँ। हामीले अन्तरिक्षसम्बन्धी एउटा सङ्‌ग्रहालयमा गएर उल्का र उल्कापिण्डबारे विभिन्‍न कुरा सिक्यौँ। अनि जीवजीवात्‌सम्बन्धी सङ्‌ग्रहालयमा हामीले घडियाल र गोहीबीचको भिन्‍नताबारे थाह पायौँ। बेथेल पुगेपछि हाम्रो टुर गाइडले सोध्नुभयो, “लौ भन्‍नुस्‌, उल्का र उल्कापिण्डबीच के भिन्‍नता छ?” डान्यिल असाध्यै थाकेकी थिइन्‌ र उनले यसो भनिन्‌, “उल्कापिण्डको थुतुनो लामो हुन्छ!”

झाँ-मारी र डान्यिल बोकार्ट अफ्रिकाका भाइबहिनीहरूसित

अफ्रिकाका वफादार भाइबहिनीहरूलाई भेट्‌न पाउनु हाम्रो निम्ति सुअवसर थियो

गिलियड स्कुलपछि हामीलाई फ्रान्स शाखामा सेवा गर्न खटाइँदा हामी छक्क पऱ्‍यौँ। यहाँ हामीले सेवा गरेको ५३ वर्षभन्दा धेरै भइसक्यो। सन्‌ १९७६ मा म शाखा समितिको संयोजक नियुक्‍त भएँ अनि अफ्रिका र मध्यपूर्वका केही देशमा पनि भ्रमण गर्न जाने असाइनमेन्ट पाएँ, जहाँ हाम्रो काममा प्रतिबन्ध लगाइएको वा कडिकडाउ गरिएको थियो। यस्तै यात्राको सिलसिलामा हामी गाबोन गएका थियौँ र सुरुमा बताइएको घटना त्यहीँ जाँदाको हो। साँच्चै भन्‍ने हो भने, अचानक आइपरेका यस्ता जिम्मेवारीहरू सँभाल्न म कहिलेकाहीँ अयोग्य महसुस गर्थेँ। तर डान्यिलले जस्तोसुकै असाइनमेन्ट पूरा गर्न मलाई असाध्यै मदत गरिन्‌।

झाँ-मारी बोकार्ट सन्‌ १९८८ मा फ्रान्सको पेरिसमा आयोजना गरिएको अधिवेशनमा भाइ थिओडर जारासको भाषण अनुवाद गर्दै

सन्‌ १९८८ मा पेरिसमा आयोजना गरिएको “ईश्‍वरीय न्याय” अधिवेशनमा भाइ थिओडर जारासको भाषण अनुवाद गर्दै

हामीले एउटा ठूलो समस्याको सामना गऱ्‍यौँ

बेथेल सेवा सुरु गरेदेखि नै हामीलाई यो सेवा मन पर्थ्यो। डान्यिलले गिलियड स्कुल जानुअघि पाँच महिनाभित्रै अङ्‌ग्रेजी भाषा सिक्नुपरेको थियो। पछि उनी निपुण अनुवादक बनिन्‌। हामीले बेथेल सेवाबाट निकै सन्तुष्टि पायौँ र मण्डलीसित सरसङ्‌गत गर्दा हाम्रो आनन्द दुगुना भयो। डान्यिलसित राति अबेर पेरिस मेट्रोमा बेथेल फर्केका दिनहरूको मीठो सम्झना छ। हामीलाई असाध्यै थकाइ लाग्थ्यो तर प्रगतिशील बाइबल अध्ययनहरू सञ्चालन गर्न पाउँदा हामी असाध्यै खुसी थियौँ। दुःखको कुरा, डान्यिलको स्वास्थ्य अचानक बिग्रियो र उनले पहिलाजस्तो सक्रिय जीवन बिताउन सकिनन्‌।

सन्‌ १९९३ मा डान्यिललाई स्तन क्यान्सर भएको थाह पायौँ। यसको उपचारविधि असाध्यै पीडादायी थियो, शल्यक्रिया गर्नुका साथै कडा खालको केमोथेरापी गर्नुपऱ्‍यो। त्यसको पन्ध्र वर्षपछि डान्यिललाई फेरि क्यान्सरले समात्यो र यसपटकको क्यान्सर पहिलेभन्दा झनै घातक थियो। उनी अनुवाद गर्ने आफ्नो असाइनमेन्टको असाध्यै मोल गर्थिन्‌। त्यसैले आफ्नो स्वास्थ्य अलि राम्रो हुनेबित्तिकै उनी अनुवादको काम गर्न थाल्थिन्‌।

डान्यिलले गम्भीर स्वास्थ्य समस्या भोगिरहेकी भए तापनि बेथेल छोड्‌ने कुरा हामीले कहिल्यै सोचेनौँ। तैपनि बिरामी हुँदा बेथेलमा छुट्टै प्रकारको चुनौती सामना गर्नुपर्छ, खासगरि आफ्नो स्वास्थ्य समस्या कत्तिको गम्भीर छ भनेर अरूलाई थाह नहुँदा। (हितो. १४:१३) डान्यिल ८० वर्ष पुग्नै लाग्दा पनि उनको हँसिलो अनुहार र शालीनता देख्दा उनी बिरामी छिन्‌ भनेर पत्तै हुँदैनथ्यो। उनी आफूलाई बिचरा ठान्दिनथिन्‌। बरु अरूलाई मदत गर्न अग्रसर हुन्थिन्‌। बिरामीहरूको कुरा सुनिदिँदा उनीहरूले सन्चो महसुस गर्छन्‌ भनेर डान्यिललाई थाह थियो। (हितो. १७:१७) डान्यिलले आफूलाई कहिल्यै पनि सल्लाहकारजस्तो ठानिनन्‌ तर आफ्नो अनुभवले गर्दा थुप्रै बहिनीलाई क्यान्सरसित नडराउन मदत गर्न सकिन्‌।

बदलिँदो परिस्थितिले गर्दा हामीले नयाँ किसिमका चुनौतीहरू पनि सामना गर्नुपऱ्‍यो। पछि डान्यिल पूर्ण-समय काम गर्न नसक्ने भइन्‌ तैपनि उनले मलाई थुप्रै तरिकामा साथ दिइरहिन्‌। मेरो दिनदिनैको कामलाई सजिलो बनाइदिन उनले सक्दो गरिन्‌। त्यसैकारण मैले ३७ वर्षसम्म शाखा समितिको संयोजकको रूपमा सेवा गर्न सकेँ। जस्तै, उनी दिउँसोको खानाको लागि सबै कुरा तयारी गर्थिन्‌। त्यसैले कोठामा सँगै खाना खान र अलिकता आराम गर्न पनि सक्थ्यौँ।—हितो. १८:२२.

चिन्ता-फिक्री सहन दिनदिनै बल माग्यौँ

डान्यिल सधैँ सकारात्मक मनोभाव राख्थिन्‌ र बाँच्न चाहन्थिन्‌। पछि फेरि तेस्रो पटक क्यान्सर देखा पऱ्‍यो। अबचाहिँ हामीले लाचार महसुस गऱ्‍यौँ। केमोथेरापी र रेडियोथेरापीले गर्दा उनी असाध्यै गलिन्‌ र कहिलेकाहीँ त हिँड्‌नै गाह्रो हुन्थ्यो। मेरी प्यारी पत्नी निपुण अनुवादक थिइन्‌ तर नाजुक स्वास्थ्य अवस्थाले गर्दा उनको मुखबाट शब्द फुर्न मुस्किल परेको देख्दा मेरो मन छियाछिया हुन्थ्यो।

हुनत हामीले निस्सहाय महसुस गऱ्‍यौँ तर यहोवालाई प्रार्थना गर्न छोडेनौँ किनकि हामीले सहन सक्नेभन्दा बाहिरको परीक्षामा उहाँले पर्न दिनुहुनेछैन भनेर हामीलाई थाह थियो। (१ कोरि. १०:१३) यहोवाले आफ्नो वचन, बेथेलको मेडिकल स्टाफ र हाम्रो आध्यात्मिक परिवारमार्फत दिनुभएको मायालु सहयोगप्रति सधैँ कृतज्ञ रहन हामीले प्रयास गऱ्‍यौँ।

कुन उपचार स्विकार्ने भनेर अन्योलमा पर्दा हामी अक्सर यहोवाको मदत माग्थ्यौँ। केही समय हामी कुनै उपचार नगरी बस्नुपऱ्‍यो। डान्यिललाई २३ वर्षसम्म उपचार गरिरहेका डाक्टरले पनि उनी हरेक पटक केमोथेरापीपछि किन बेहोस हुन्थिन्‌ भनेर पत्ता लगाउनै सकेनन्‌। ती डाक्टरले अर्को उपाय पनि बताउन सकेनन्‌। अब के गर्ने, कसो गर्ने भनेर हामी साह्रै अत्तालियौँ। त्यसपछि अर्कै डाक्टर डान्यिलको उपचार गर्न राजी भए। हाम्रा चिन्ता-फिक्री सहन यहोवाले नै उम्कने बाटो दिनुभएको जस्तो लाग्यो।

हामीले भोलिको चिन्ता गर्न छोडेर आजको मात्र चिन्ता गर्न सिक्यौँ। येसुले भन्‍नुभएझैँ “आजको लागि आजकै कष्ट पर्याप्त छ।” (मत्ति ६:३४) सकारात्मक मनोवृत्ति राख्दा र हँसीमजाक गर्दा पनि सहने बल पायौँ। उदाहरणको लागि, दुई महिनासम्म केमोथेरापी नगरी बस्नुपर्दा डान्यिलले फिसिक्क हाँस्दै मलाई यसो भनिन्‌, “अहिले त म असाध्यै तगडा महसुस गर्छु!” (हितो. १७:२२) रोगले असाध्यै गाह्रो बनाएको भए तापनि डान्यिल ठूलो स्वरमा नयाँ राज्यगीतहरूको अभ्यास गर्न रमाउँथिन्‌।

उनको सकारात्मक मनोवृत्तिले गर्दा मैले पनि नयाँ परिस्थितिसित जुझ्न मदत पाएँ। हाम्रो विवाह भएको ५७ वर्ष भइसक्यो तर नढाँटी भन्‍ने हो भने उनले मेरो असाध्यै राम्रो ख्याल राखिन्‌। उनले सबै काम गर्ने हुँदा मैले अन्डाधरि पकाउन सिक्नु परेन! त्यसैले उनी असाध्यै बिरामी पर्दा मैले भाँडा माझ्न, लुगा धुन र खानेकुरा पकाउन सिक्नुपऱ्‍यो। हुनत मैले दुई-चार वटा गिलास फुटाएँ तर मैले यस्ता घरायसी कामहरू गरेको देख्दा उनी दङ्‌ग पर्थिन्‌ र त्यो देख्दा मलाई असाध्यै खुसी लाग्थ्यो।a

यहोवाले देखाउनुभएको अटल प्रेमप्रति म कृतज्ञ छु

आफ्नो जीवनलाई फर्केर हेर्दा, स्वास्थ्य समस्या र ढल्कँदो उमेरले गर्दा आइपर्ने कठिन अवस्थाहरूबाट मैले महत्त्वपूर्ण पाठहरू सिकेको छु। पहिलो, आफू जतिसुकै व्यस्त भए तापनि आफ्नो प्यारो जोडीको मोल गर्न कहिल्यै बिर्सनु हुँदैन। आफू स्वस्थ अनि बलियो भएको बेला आफ्नो जोडीसितको सम्बन्धलाई जतिसक्दो प्रगाढ बनाउनुपर्छ। (उप. ९:९) दोस्रो, सानातिना कुराहरूबारे अचाक्ली चिन्ता गर्नुहुँदैन किनभने चिन्ताले गर्दा आफूले दिनदिनै पाइरहेका आशिष्‌हरूलाई बेवास्ता गर्न पुग्न सक्छौँ।—हितो. १५:१५.

झाँ-मारी बोकार्ट

पूर्ण-समय सेवामा बिताएको हाम्रो जीवनलाई सम्झँदा, यहोवाले हामीलाई सोचेभन्दा कता हो कता धेरै आशिष्‌ दिनुभएको महसुस गर्छु। भजनहारले जस्तै म पनि यसो भन्‍न सक्छु: “यहोवाले मलाई दया देखाउनुभएको छ।”—भज. ११६:७.

a यो लेख तयारी गर्ने क्रममा बहिनी डान्यिल बोकार्टको मृत्यु भयो। उनी ७८ वर्ष पुगेकी थिइन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने