प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 अप्रिल पृ. २६-३०
  • हामीले “उच्च कोटिको एउटा मोती” फेला पाऱ्‍यौँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीले “उच्च कोटिको एउटा मोती” फेला पाऱ्‍यौँ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • मिल्दोजुल्दो सामग्री
  • “टापुहरू, जो अनेकौं छन्‌, आनन्दित होऊन्‌!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मल्टिपल केमिकल सेन्सिटिभिटी
    ब्यूँझनुहोस्‌!—२०००
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 अप्रिल पृ. २६-३०
जवान बेलाका विन्स्टन र पाम पेन समुद्रछेउको एउटा चट्टानमाथि बसिरहेका

जीवनी

हामीले “उच्च कोटिको एउटा मोती” फेला पाऱ्‍यौँ

विन्स्टन र पामेला पेनको वृत्तान्तमा आधारित

विन्स्टन र पामेला (पाम) पेन अस्ट्रेलेजिया शाखा कार्यालयमा सेवा गर्दै छन्‌। हुनत तिनीहरूको जीवन सुखमय थियो तर केही चुनौतीहरू पनि थिए। जस्तै: तिनीहरूले विभिन्‍न ठाउँको रहनसहनमा घुलमिल हुन केही छाँटकाँट गर्नुपरेको थियो अनि गर्भ खेर जाँदाको ठूलो पीडा पनि सहनुपरेको थियो। तर यी सबै चुनौतीको बाबजुद तिनीहरूले यहोवा र उहाँका सेवकहरूप्रतिको प्रेम कायम राख्न अनि प्रचारकार्यमा आनन्दित भइरहन सकेका छन्‌। यस अन्तरवार्तामा हामी तिनीहरूसँग केही कुरा सोधी हेर्नेछौँ।

विन्स्टन, तपाईँले कसरी परमेश्‍वरको खोजी गर्न थाल्नुभयो, हामीलाई बताइदिनुहुन्छ कि?

मेरो जन्म अस्ट्रेलियाको क्वीन्सल्यान्डमा भयो। मेरो परिवारलाई धर्मकर्ममा त्यति चासो थिएन। हामी बसेको ठाउँ सहरभन्दा बाहिर भएकोले वरपर त्यति घरहरू थिएनन्‌। त्यसैले आफ्नै परिवारबाहेक अरूसित खासै भेटघाट हुँदैनथ्यो। लगभग १२ वर्षको उमेरदेखि मैले परमेश्‍वरको खोजी गर्न थालेँ। मैले उहाँलाई प्रार्थना गरेर उहाँबारे सत्य कुरा थाह पाउन सकूँ भनी बिन्ती गरेँ। पछि म क्वीन्सल्यान्ड छोडेर दक्षिण अस्ट्रेलियाको एडिलेडमा गएँ र त्यहीँ काम पनि पाएँ। एक्काइस वर्षको छँदा सिड्‌नीमा बिदा मनाउन गएको बेला मैले पामलाई भेटेँ। उनले मलाई बेलायती-इस्राएल धार्मिक समूहबारे बताइन्‌। त्यस समूहले बेलायतीहरू इस्राएलको हराएका कुलहरूका सन्तान हुन्‌ भन्‍ने दाबी गर्दो रहेछ। त्यस समूहले ती कुलहरू ईसापूर्व आठौँ शताब्दीमा निर्वासनमा लगिएको इस्राएलको उत्तरी राज्यको दस कुल हुन्‌ भन्दो रहेछ। एडिलेड फर्केपछि मैले यसबारे मसँगै काम गर्ने एक जना साथीसित कुरा गरेँ। त्यतिबेला ऊ यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्दै थियो। ऊसित केही घण्टा कुराकानी गरेपछि मैले साक्षीहरूले के विश्‍वास गर्दा रहेछन्‌ भनेर थाह पाएँ। आफूले सानो छँदा गरेको प्रार्थनाको जवाफ यही हो भनेर बुझ्न मलाई कत्ति बेर पनि लागेन। मैले हाम्रो सृष्टिकर्ता र उहाँको राज्यबारे अरू कुराहरू पनि सिक्न पाएँ। मैले “उच्च कोटिको एउटा मोती” फेला पारेँ!—मत्ति १३:४५, ४६.

पाम, तपाईँले पनि सानैदेखि त्यो मोती खोज्न थाल्नुभएको थियो। तपाईँले चाहिँ कसरी त्यो फेला पार्नुभयो?

म न्यु साउथ वेल्सको कफ्स हार्बरमा हुर्केँ। मेरो परिवारलाई चाहिँ धर्मकर्ममा चासो थियो। मेरो आमाबुबा र मामाघरपट्टिका बाजे-बज्यैले बेलायती-इस्राएल धार्मिक समूहको शिक्षा अँगाल्नुभएको थियो। त्यसैले परमेश्‍वरले बेलायती मूलका मानिसहरूलाई विशेष अनुग्रह देखाउनुहुन्छ भनेर म, मेरो भाइ, दिदी र मामाघरपट्टिका सबै केटाकेटीले सानैदेखि सिक्दै आएका थियौँ। तर मलाई त्यो कुरा चित्तै बुझ्दैनथ्यो अनि परमेश्‍वरसित नजिक छु जस्तो पनि लाग्दैनथ्यो। म १४ वर्षको हुँदासम्ममा एङ्‌ग्लिकन, ब्याप्टिस्ट र सेभेन-डे एडभेन्टिस्ट्‌जस्ता थुप्रै स्थानीय चर्चहरू धाइसकेकी थिएँ। तर म आध्यात्मिक रूपमा अझै पनि भोको थिएँ।

पछि हामी सिड्‌नीमा बसाइँ सऱ्‍यौँ। विन्स्टन त्यहाँ बिदा मनाउन आउनुभएको बेला मैले उहाँलाई त्यहीँ भेटेको थिएँ। उहाँले भन्‍नुभएझैँ हामीलाई धार्मिक विषयमा कुराकानी गर्न मन पर्थ्यो अनि त्यसै क्रममा उहाँले साक्षीहरूसित अध्ययन गर्न थाल्नुभयो। त्यसपछि त उहाँका चिठीहरूमा खाली बाइबलको पद मात्रै हुन्थ्यो! कुरा नलुकाई भन्‍नुपर्दा, सुरु-सुरुमा त मलाई चिन्ता लाग्थ्यो, रिस पनि उठ्‌थ्यो। तर मैले सत्य यही हो भनेर बिस्तारै बुझ्न थालेँ।

म १९६२ मा विन्स्टन बसिरहनुभएकै सहर एडिलेडमा सरेँ। उहाँले मलाई साक्षी दम्पती—थमस र जेनिस स्लोमनसँगै बस्ने प्रबन्ध मिलाइदिनुभएको रहेछ। उहाँहरूले पहिला पापुआ न्यु गिनीमा मिसनरी सेवा गर्नुभएको रहेछ। उहाँहरू असाध्यै दयालु हुनुहुन्थ्यो। त्यतिबेला म १८ वर्षकी मात्र थिएँ; उहाँहरूले मलाई आध्यात्मिक रूपमा निकै मदत गर्नुभयो। त्यसैले मैले पनि बाइबल अध्ययन गर्न थालेँ र आफूले सत्य फेला पारेको कुरामा चाँडै पक्का भएँ। विवाहलगत्तै विन्स्टन र मैले पूर्ण-समय सेवा थाल्यौँ। हुनत हाम्रो जीवनमा थुप्रै उतारचढाब आए तर आफूले फेला पारेको उच्च कोटिको मोतीप्रति हाम्रो कृतज्ञता झन्‌झन्‌ बढ्‌दै गएको छ।

विन्स्टन, यहोवाको सेवामा बिताउनुभएको सुरु-सुरुका वर्षहरू कस्ता थिए, हामीलाई बताउनुस्‌ न!

परिभ्रमण कार्य गर्दा पेन दम्पतीले यात्रा गरेका ठाउँहरूको नक्सा; केही टापुका हुलाक टिकटहरू; टुभालुमा पर्ने फुनाफुटी टापु

क. परिभ्रमण कार्यको दौडान हामीले भ्रमण गरेका ठाउँहरू

ख. केही टापुका हुलाक टिकटहरू। किरिवाती र टुभालुलाई पहिला गिल्बर्ट र एलिस टापुहरू भनिन्थ्यो

ग. टुभालु राज्यमा पर्ने सुन्दर मुगाहरूको लागि प्रख्यात फुनाफुटी टापु। मिसनरीहरू पठाइनुअघि हामीले भ्रमण गरेको एउटा टापु

हाम्रो विवाह भएको केही समय नबित्दै यहोवाले हाम्रो सेवा विस्तार गर्न एकपछि अर्को गर्दै ‘ठूला ढोकाहरू’ खोलिदिन थाल्नुभयो। (१ कोरि. १६:९) हामीलाई सुअवसरको पहिलो ढोका भाइ ज्याक पोर्टरले देखाइदिनुभएको थियो। उहाँ हाम्रो सानो मण्डलीमा क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्नुहुन्थ्यो। (अहिले उहाँ पनि अस्ट्रेलेजिया शाखा समितिको सदस्य हुनुहुन्छ।) ज्याक र उहाँकी पत्नी रस्लिनले हामीलाई नियमित अग्रगामी सेवा गर्न प्रोत्साहन दिनुभयो र हामीले पाँच वर्ष त्यो सेवा गऱ्‍यौँ। म २९ वर्षको छँदा पाम र मलाई प्रशान्त महासागरको दक्षिणी टापुहरूमा क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्न आग्रह गरियो। ती टापुहरू अमेरिकी सामोआ, सामोआ, किरिवाती, नाउरू, निऊ, टोकलाऊ, टोंगा, टुभालु र भान्वाटु थिए। ती टापुहरू त्यतिबेला फिजी शाखाअन्तर्गत पर्थ्यो।

त्यतिबेला टाढा-टाढाका टापुहरूमा बसोबास गर्ने मानिसहरू यहोवाका साक्षीहरूलाई शङ्‌कालु नजरले हेर्थे; त्यसैले हामी निकै चनाखो र होसियार हुनुपर्थ्यो। (मत्ति १०:१६) त्यहाँका मण्डलीहरू साना थिए र कुनै-कुनै मण्डलीले हाम्रो लागि बासको प्रबन्ध मिलाउन सक्दैनथ्यो। त्यसैले हामी गाउँलेहरूसित बास माग्थ्यौँ। तिनीहरूले हामीसित सधैँ दयालु व्यवहार गरे।

विन्स्टन, तपाईँ अनुवादको काममा निकै चासो राख्नुहुन्छ। तपाईँमा त्यस्तो चासो कसरी जाग्यो?

विन्स्टन पेन सामोआमा एल्डर स्कुल सञ्चालन गर्दै

सामोआमा विन्स्टन एल्डर स्कुल सञ्चालन गर्दै

त्यतिबेला टोंगा टापुका भाइबहिनीहरूसित टोंगन भाषामा (पोलिनेसियाली भाषा) केही पर्चा र पुस्तिकाहरू मात्र थिए। उहाँहरू मानिसहरूलाई अङ्‌ग्रेजी भाषाको अनन्त जीवनतर्फ लैजाने सत्य किताबबाट अध्ययन गराउनुहुन्थ्यो। त्यसैले तीन जना स्थानीय एल्डर, जो अङ्‌ग्रेजी भाषामा त्यति पोख्त हुनुहुन्‍न थियो, उहाँहरूले चार-हप्ते एल्डर स्कुलको दौडान टोंगन भाषामा यो किताब अनुवाद गर्न थाल्नुभयो। टाइप गर्ने कामचाहिँ पामले गरिन्‌; त्यसपछि हामीले त्यो छाप्नको लागि अमेरिका शाखामा पठायौँ। यो काम सिध्याउन आठ हप्ता लाग्यो। हुनत अनुवादको गुणस्तर त्यत्ति चित्तबुझ्दो थिएन तैपनि त्यस प्रकाशनले गर्दा टोंगन भाषा बोल्ने थुप्रै मानिसले सत्य सिक्न पाए। पाम र म अनुवादक त होइनौँ तर त्यतिबेला गरेको कामले गर्दा अनुवादप्रति हाम्रो चासो जाग्यो।

पाम, अस्ट्रेलियाको जीवनशैली र तपाईँहरूले सेवा गर्नुभएका टापुहरूको जीवनशैली कत्तिको फरक थियो?

विन्स्टन र पाम पेन एउटा गाडीनजिकै उभिरहेका; परिभ्रमण कार्य गर्दा तिनीहरू यस गाडीमा पनि बास बसे

परिभ्रमण कार्य गर्दा हामी यो गाडीमा पनि बास बस्यौँ

बिलकुलै फरक! हामीले सेवा गरेको कुनै-कुनै ठाउँमा जताततै लामखुट्टे हुन्थ्यो, कतैचाहिँ गर्मीले उकुसमुकुस हुन्थ्यो, कतै-कतै मुसाले साह्रै दुःख दिन्थ्यो, कुनै-कुनै ठाउँमा धेरै बिरामी परिन्थ्यो अनि कहिलेकाहीँ त आधा पेट लिएर सुत्नुपर्थ्यो। तर दिन जति नै कष्टकर भए पनि साँझपख फाले-बाट समुद्र नियाल्न खुबै रमाइलो हुन्थ्यो। सामोआको प्रायजसो घर खरले छाएको हुन्छ र भित्ताचाहिँ हुँदैन। त्यस्ता घरहरूलाई सामोआली भाषामा फाले भनिन्छ। जुनेली रातमा नरिवलका रूखहरूको छाया मजाले देखिन्थ्यो अनि समुद्रमा पनि जुनको छाया देखिन्थ्यो। त्यस्ता मनोरम दृश्‍यहरू देख्दा हामी मनन र प्रार्थना गर्न अनि आफूलाई गाह्रो लागेको कुराहरूबारे सोच्नुको सट्टा राम्रा कुराहरूमा मन लगाउन उत्प्रेरित हुन्थ्यौँ।

त्यहाँ केटाकेटीहरूसित समय बिताउन खुबै रमाइलो हुन्थ्यो। हामी गोराहरूलाई देख्दा उनीहरू दङ्‌ग पर्थे र उत्सुक हुँदै प्रश्‍नहरू सोध्थे। निऊ टापुमा गएको बेला एउटा सानो बाबुले विन्स्टनको हातभरि रौँ नै रौँ देखेर उहाँको हात मुसार्दै यसो भनेको थियो: “तपाईँको हातमा त भुत्लै-भुत्ला रहेछ!” सायद उसले त्यस्तो हातभरि रौँ भएको मान्छे कहिल्यै नदेखेकोले के भन्‍ने भनेर थाहै भएन जस्तो छ!

त्यहाँका मानिसहरू गरिब थिए; उनीहरूको अवस्था देख्दा हामीलाई असाध्यै दुःख लाग्थ्यो। त्यो ठाउँ निकै सुन्दर थियो तर त्यहाँका मानिसहरूले पर्याप्त औषधी-उपचार पाउँदैनथे अनि पिउने पानी पनि प्रशस्त थिएन। तर हाम्रा भाइबहिनीहरू कत्ति पनि चिन्तित देखिनुहुन्‍न थियो। उहाँहरूको लागि त्यो सामान्य कुरा थियो। आफ्नो परिवारसँगै समय बिताउन पाएकोमा, उपासनाको लागि सँगै भेला हुन पाएकोमा अनि यहोवाको प्रशंसा गर्ने सुअवसर पाएकोमा उहाँहरू धेरै आनन्दित हुनुहुन्थ्यो। उहाँहरूको उदाहरणले हामीलाई सबैभन्दा महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्न र जीवन सरल बनाउन मदत गऱ्‍यो।

पाम, कहिलेकाहीँ तपाईँले पानी ल्याउन र खानेकुरा पकाउन निकै मेहनत गर्नुपर्थ्यो रे। त्यसबारे पनि केही बताइदिनुस्‌ न!

टोंगामा पाम एउटा बाटा र बाल्टिन प्रयोग गरेर लुगा धुँदै

टोंगामा पाम कपडा धुँदै

म मेरो बुबाप्रति धेरै आभारी छु। उहाँले मलाई जीवनमा उपयोगी हुने थुप्रै कुरा सिकाउनुभएको थियो। जस्तै: आफै आगो बालेर खाना पकाउन र थोरै कुराले गुजारा चलाउन। एकचोटि किरिवातीमा भ्रमणमा गएको बेला हामी एउटा सानो घरमा बसेका थियौँ। त्यो घर खरले छाएको थियो, भुइँमा मुगाको टुक्राहरू बिछ्याइएका थिए अनि भित्ताचाहिँ बाँसले बारिएको थियो। खाना पकाउनको लागि मैले भुइँमा सानो खाल्डो खनेर चुलो बनाएँ अनि आगो बाल्नचाहिँ नरिवलको जटा प्रयोग गरेँ। अनि पानीको लागि चाहिँ स्थानीय महिलाहरूसितै इनारमा लाइन बस्न जानुपर्थ्यो। मेरो पालो आएपछि मैले पानी तान्‍न पटक-पटक प्रयास गरेँ तर भाँडोले पानी छोएपछि भाँडो पानीमै तैरिएर बस्यो। त्यो देखेर सबै जना गलल्ल हाँसे। त्यसपछि एक जना महिलाले मलाई पानी तान्‍न मदत गरिन्‌। त्यहाँका मानिसहरू साह्रै मदतकारी र दयालु थिए।

विभिन्‍न टापुहरूमा सेवा गर्दा तपाईँहरूले पक्कै आनन्द उठाउनुभयो। तपाईँहरूले बिर्सनै नसकेका घटनाहरूबारे बताउन सक्नुहुन्छ कि?

विन्स्टन: त्यहाँको कुनै-कुनै चलन बुझ्न समय लाग्यो। जस्तै, त्यहाँ आफ्नो घरमा कसैलाई निम्तो दिँदा आफूसित भएको सबै खाना पाहुनाको अगाडि राखिदिने चलन रहेछ। घरका मान्छेहरूको लागि पनि केही खाना छोडिदिनुपर्छ भनेर सुरु-सुरुमा त हामीलाई थाह भएन। त्यसैले सबै खानेकुरा कपाकप खाइदिन्थ्यौँ। तर त्यहाँको चलन थाह पाएपछि चाहिँ त्यसो गरेनौँ। हामीबाट केही भुलचुक भए पनि उहाँहरूले हाम्रो कुरा बुझिदिनुहुन्थ्यो। अनि हामी छ-छ महिना जतिमा उहाँहरूको मण्डलीमा भ्रमणमा आउँदा उहाँहरू निकै खुसी हुनुहुन्थ्यो। त्यसबेला उहाँहरूले आफ्नो मण्डलीका भाइबहिनीबाहेक अरू साक्षीहरूसित सङ्‌गत गर्ने मौका पाउनुहुन्‍न थियो। बाहिरबाट आउने भाइबहिनी भनेको हामी दुई जना मात्रै थियौँ।

निऊ टापुमा विन्स्टन एउटा समूहलाई प्रचारमा लैजाँदै; तिनीहरू सबै मोटरसाइकलमा जाँदै छन्‌

निऊ टापुमा विन्स्टन एउटा समूहलाई प्रचारमा लैजाँदै

हामी त्यसरी भ्रमणमा जाँदा टोलछिमेकले पनि राम्रो साक्षी पाउँथ्यो। थुप्रै गाउँलेहरूलाई हाम्रा भाइहरूले मानिरहेको धर्म उनीहरू आफैले सुरु गरेको धर्म हो जस्तो लाग्थ्यो। त्यसैले हामी अर्कै देशका मानिसहरू त्यसरी भाइहरूलाई भेट्‌न जाँदा टोलछिमेकका मानिसहरू दङ्‌ग पर्ने मात्र होइन, असाध्यै प्रभावित पनि हुन्थे।

पाम: किरिवातीको एउटा घटना मलाई सधैँ याद आउँछ। त्यहाँ थोरै भाइबहिनी भएको एउटा मण्डली थियो। त्यो मण्डलीमा एक जना मात्र एल्डर हुनुहुन्थ्यो। उहाँको नाम सिनेकि माटेरा थियो। उहाँले हाम्रो खुबै ख्याल राख्नुभयो। एकचोटि उहाँ टोकरीमा एउटा अण्डा लिएर आउनुभयो र “यो तपाईँहरूको लागि” भनेर दिनुभयो। त्यतिबेला कुखुराको अण्डा उपहार पाउनु हाम्रो लागि साँच्चै विशेष थियो! त्यो उपहार सानो भए पनि उहाँको त्यस्तो उदारता देख्दा हाम्रो मनै छोयो।

पाम, केही वर्षपछि तपाईँको गर्भ खेर गयो भन्‍ने सुनेका थियौँ। त्यो पीडा सहन तपाईँलाई केले मदत गऱ्‍यो?

हामी प्रशान्त महासागरको दक्षिणी भागमा सेवा गरिरहेको बेला १९७३ मा म गर्भवती भएँ। त्यसपछि हामीले अस्ट्रेलिया फर्कने निर्णय गऱ्‍यौँ तर त्यहाँ फर्केको चार महिनापछि मेरो गर्भ खेर गयो। यो घटनाले गर्दा हामी दुवैको मन छियाछिया भयो। तर समय बित्दै जाँदा मेरो मनको घाउ बिस्तारै पुरिँदै गयो। अप्रिल १५, २००९ को प्रहरीधरहरा-मा आएको “पाठकहरूको प्रश्‍न” पढेपछि मात्र मेरो मनको घाउ पूरै निको भयो। त्यसमा “के आमाको गर्भमै मरेको बच्चाको लागि फेरि जीवित हुने आशा छ?” भन्‍ने प्रश्‍नबारे चर्चा गरिएको थियो। यसको निर्णय यहोवाले नै गर्नुहुनेछ र उहाँ सधैँ जे सही छ, त्यही गर्नुहुन्छ भनेर त्यस लेखमा बताइएको थियो। यहोवाले आफ्नो छोरालाई “दियाबलका कामहरू नष्ट गर्ने” निर्देशन दिनुहुँदा हामीले यो दुष्ट संसारमा सहनुपरेको सबै चोट निको पारिदिनुहुनेछ। (१ युह. ३:८) त्यस लेखले हामीलाई यहोवाका सेवकहरूको रूपमा आफूले पाएको “मोती”-को अझ मोल गर्न पनि मदत गऱ्‍यो। भविष्यको यस्तो सुन्दर आशा नपाएको भए हाम्रो जीवन कत्ति निरस हुन्थ्यो होला!

मेरो गर्भ खेर गएको केही समयपछि हामीले फेरि पूर्ण-समय सेवा थाल्यौँ। हामीले केही महिना अस्ट्रेलिया बेथेलमा सेवा गऱ्‍यौँ अनि फेरि परिभ्रमण कार्यमै फर्कियौँ। चार वर्ष न्यु साउथ वेल्स र सिड्‌नीको ग्रामीण इलाकाहरूमा सेवा गरिसकेपछि १९८१ मा हामीलाई अस्ट्रेलिया शाखामा बोलाइयो (अहिले अस्ट्रेलेजिया भनिन्छ) र अहिलेसम्म हामी यहीँ सेवा गर्दै छौँ।

विन्स्टन, प्रशान्त महासागरको दक्षिणी भागका टापुहरूमा सेवा गर्दा बटुलेको अनुभवले अहिले अस्ट्रेलेजिया शाखा समितिको सदस्यको रूपमा काम गर्न पनि मदत पुऱ्‍याएको छ कि?

थुप्रै तरिकामा मदत पुऱ्‍याएको छ! पहिला त अस्ट्रेलिया शाखालाई अमेरिकी सामोआ र सामोआको सुपरिवेक्षण गर्न भनियो। पछि न्युजिल्यान्ड शाखालाई अस्ट्रेलिया शाखामै गाभियो। अहिले अस्ट्रेलेजिया शाखाले अस्ट्रेलिया, अमेरिकी सामोआ र सामोआ, कुक टापुहरू, न्युजिल्यान्ड, निऊ, टिमोर-लेस्टे, टोकलाऊ र टोंगाजस्ता ठाउँहरूको सुपरिवेक्षण गरिरहेको छ अनि यीमध्ये थुप्रै ठाउँमा शाखा प्रतिनिधिको रूपमा भ्रमण गर्न जाने सुअवसर पनि पाएको छु। पहिला यी ठाउँका वफादार भाइबहिनीसित मिलेर सेवा गर्दा बटुलेका अनुभवहरूले अहिले शाखा कार्यालयमा रहेर उहाँहरूको सेवा गर्न ठूलो मदत पुऱ्‍याएको छ।

विन्स्टन र पाम पेन अस्ट्रेलेजिया शाखामा

विन्स्टन र पाम अस्ट्रेलेजिया शाखामा

अन्तमा म के भन्‍न चाहन्छु भने, पाम र मेरो अनुभवले देखाएजस्तै वयस्कहरूले मात्र परमेश्‍वरको खोजी गर्छन्‌ भन्‍ने छैन। परिवारका अरू सदस्यहरूले कुनै चासो नदेखाए तापनि युवाहरूले भने त्यो ‘उच्च कोटिको मोती’ खोजिरहेका हुन सक्छन्‌। (२ राजा ५:२, ३; २ इति. ३४:१-३) यहोवा मायालु परमेश्‍वर हुनुहुन्छ; त्यसैले उहाँ जवान-वृद्ध सबैले जीवन पाएको चाहनुहुन्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुपर्छ।

करिब ५० वर्षअघि पाम र मैले परमेश्‍वरको खोजी गर्न सुरु गर्दा हाम्रो त्यो खोजीले कस्तो नतिजा ल्याउला भनेर हामीलाई थाह थिएन। परमेश्‍वरको राज्यबारे जुन सत्य हामीले थाह पाएका छौँ, त्यो साँच्चै बहुमूल्य मोती हो, त्यसलाई कुनै कुरासित दाँज्न सकिँदैन। हामीले त्यो बहुमूल्य मोतीलाई कुनै हालतमा नहराउने सङ्‌कल्प गरेका छौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने