‘ पवित्र शक्तिद्वारा पाइने एकतामा रहिरहो’
प्रेषित पावलले एफिससका ख्रिष्टियनहरूलाई यस्तो सल्लाह दिए: “प्रेम देखाउँदै एकअर्कालाई सहेर अनि शान्तिको बन्धनमा बाँधिएर पवित्र शक्तिद्वारा पाइने एकतामा रहन उत्कट प्रयास गरिरहो।”—एफि. ४:२, ३.
हामीमाझ भएको “एकता” परमेश्वरको सक्रिय शक्ति अर्थात् “पवित्र शक्ति”-ले गर्दा नै सम्भव भएको हो। तर पावलले बताएझैँ हामीले यस्तो एकता कायम राख्न प्रयास गरिरहनुपर्छ अनि यो जिम्मेवारी हामी प्रत्येकको हो।
मानौँ, कसैले तपाईँलाई नयाँ साइकल उपहार दियो। त्यसलाई ठीक अवस्थामा राख्ने जिम्मेवारी कसको हो? तपाईँकै हो। तर तपाईँले त्यो साइकल जथाभाबी चलाउनुभयो अनि त्यो बिग्रियो। अब के तपाईँले साइकल उपहार दिने व्यक्तिलाई त्यसको दोष लगाउन मिल्छ?
त्यसैगरि हामीमाझ भएको एकता परमेश्वरले दिनुभएको उपहार हो तर यसलाई कायम राख्नु हामी प्रत्येकको जिम्मेवारी हो। मण्डलीको कुनै भाइ वा बहिनीसित मनमुटाव भएको छ भने हामी आफैलाई यस्तो प्रश्न सोध्न सक्छौँ, ‘तिनीसितको मामिला सुल्झाएर के म मण्डलीको एकता कायम राख्न प्रयास गर्दै छु?’
एकता कायम राख्न “उत्कट प्रयास गरिरहो”
पावलले बताएझैँ कहिलेकाहीँ हामीले पवित्र शक्तिद्वारा पाइने एकता कायम राख्न निकै प्रयास गर्नुपर्ने हुन सक्छ। विशेषगरि कुनै भाइ वा बहिनीले हाम्रो चित्त दुखाएका छन् भने हामीले झनै प्रयास गर्नुपर्ने हुन्छ। के यसको मतलब एकता कायम गर्न हामीले त्यो भाइ वा बहिनीसँग गएर कुरा गर्नै पर्छ भन्ने हो? त्यसो गर्नु सधैँ आवश्यक नपर्न सक्छ। आफैलाई सोध्नुहोस्, ‘के मैले यस विषयमा तिनीसित कुरा गरेँ भने एकता कायम हुन्छ? कि समस्या झनै ठूलो हुन्छ?’ कुनै-कुनै अवस्थामा हाम्रो चित्त दुखाउने व्यक्तिलाई क्षमा दिनु वा त्यसलाई बेवास्ता गर्नु नै बुद्धिमानी हुन्छ।—हितो. १९:११; मर्कु. ११:२५.
आफैलाई सोध्नुहोस्, ‘के मैले यस विषयमा तिनीसित कुरा गरेँ भने एकता कायम हुन्छ? कि समस्या झनै ठूलो हुन्छ?’
प्रेषित पावलले ‘प्रेम देखाउँदै एकअर्कालाई सहिरहन’ सल्लाह दिए। (एफि. ४:२) एउटा किताबले बताएअनुसार यस अभिव्यक्तिलाई “कुनै व्यक्ति जस्तो हो, त्यस्तै रूपमा स्विकार्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ। यसको अर्थ हाम्रा भाइबहिनीहरू पनि हामीजस्तै त्रुटिपूर्ण छन् भन्ने कुरा हामीले स्विकार्नुपर्छ। हुनत हामी “नयाँ व्यक्तित्व” धारण गर्न प्रयास गर्दै छौँ। (एफि. ४:२३, २४) तर यसको मतलब हामी कहिले पनि चुक्दै चुक्दैनौँ भन्ने त होइन। (रोमी ३:२३) यो कुरा स्विकाऱ्यौँ भने एकअर्कालाई सहिरहन र क्षमा दिन हामीलाई सजिलो हुनेछ अनि यसो गर्दा “पवित्र शक्तिद्वारा पाइने एकता” कायम राख्न सक्नेछौँ।
कसैले हाम्रो चित्त दुखाउँदा तिनलाई क्षमा दियौँ र त्यो कुरा बिर्सियौँ भने हामी भाइबहिनीहरूसित “शान्तिको बन्धनमा” बाँधिनेछौँ। एफिसी ४:३ मा “शान्तिको बन्धन” भनेर अनुवाद गरिएको ग्रीक शब्द कलस्सी २:१९ मा पनि चलाइएको छ। तर त्यस पदमा यो शब्दलाई “अस्थिबन्धन” भनेर अनुवाद गरिएको छ। अस्थिबन्धन (लिगामेन्ट) भनेको हड्डीहरूलाई आपसमा जोड्ने दह्रो तन्तुहरू हो। हामीमाझ भएको शान्ति र प्रेम पनि अस्थिबन्धनजस्तै हो। त्यसले हामीलाई मनमुटाव भए तापनि भाइबहिनीसित नजिक भइरहन मदत गर्छ।
कुनै भाइ वा बहिनीको कारण चित्त दुख्दा, निराश हुँदा वा रिस उठ्दा तिनले गरेको गल्तीमा ध्यान दिनुको साटो तिनले किन त्यस्तो गरे भनेर बुझ्न प्रयास गर्नुहोस्। (कल. ३:१२) हामी सबै जना त्रुटिपूर्ण भएकोले कुनै न कुनै बेला तपाईँले पनि कसैको चित्त दुखाउनुभएको छ होला। यो कुरा मनमा राख्नुभयो भने “पवित्र शक्तिद्वारा पाइने एकता” कायम राख्न आफ्नो तर्फबाट सक्दो गर्न सक्नुहुनेछ।