मिका
१ यहुदाका राजाहरू+ योताम,+ आहाज+ र हिजकियाहको शासनकालमा+ मोरेसेथका मिकाकहाँ*+ आएको यहोवा परमेश्वरको वचन र तिनले सामरिया र यरुसलेमको विषयमा देखेको दर्शन:*
२ “ए सबै मानिस हो, सुन!
ए पृथ्वी र त्यसमा भएका सबै कुरा हो, ध्यान देओ!
यहोवा आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ।
ब्रह्माण्डका मालिक यहोवा नै तिमीहरूविरुद्ध साक्षी होऊन्।+
३ हेर, यहोवा आफ्नो निवासस्थानबाट निस्कँदै हुनुहुन्छ;
उहाँ तल ओर्लनुहुनेछ र पृथ्वीका अग्ला ठाउँहरूलाई कुल्चनुहुनेछ।
४ उहाँको पाउमुनि पहाडहरू पग्लिनेछन्+
अनि बेँसीहरू दुई फ्याक हुनेछन्;
आगोमा मैन पग्लेझैँ
र ठाडो भिरबाट पानी बगेझैँ।
५ यो सब याकुबको विद्रोह
र इस्राएलको घरानाको पापले गर्दा भएको हो।+
याकुबको विद्रोहको लागि को दोषी छ?
सामरिया होइन र?+
अनि यहुदाका अग्ला थानहरूको लागि को दोषी छ?+
यरुसलेम होइन र?
६ म सामरियालाई खुला मैदानमा अलपत्र परिरहेको भग्नावशेषको थुप्रो बनाइदिनेछु,
अङ्गुर मात्र लगाउन मिल्ने ठाउँ बनाइदिनेछु;
त्यसका ढुङ्गाहरू तल बेँसीमा हुर्ऱ्याइदिनेछु
अनि त्यसका जगहरू उदाङ्ग पारिदिनेछु।
७ त्यसका मूर्तिहरू सबै चकनाचुर पारिनेछन्।+
वेश्यावृत्ति गरेर त्यसले पाएका सबै उपहार आगोमा जलाइनेछन्।+
म त्यसका सबै मूर्ति नाश गरिदिनेछु।
त्यसले वेश्यावृत्ति गरेर जे-जति कमाएकी थिई,
ती सबै अरू वेश्याको कमाइ हुनेछ।”
८ यसकारण म बिलौना गर्नेछु र रोइकराइ गर्नेछु;+
म खाली खुट्टा हिँड्नेछु र नाङ्गै घुम्नेछु।+
स्याल रोएझैँ म रुनेछु
र सुतुरमुर्गले* जस्तै शोक गर्नेछु।
९ किनकि त्यसको घाउ निको हुनेछैन;+
त्यो घाउ यहुदासम्मै आइपुगेको छ।+
त्यो मेरा मानिसहरूको मूलढोका, यरुसलेमसम्मै फैलिएको छ।+
१० “गाथमा यसको घोषणा नगर;
तिमीहरू रुँदै नरोओ।
बेथ-अफ्राहमा* धुलोमा लडीबुडी गर।
११ ए साफिरका बासिन्दाहरू हो, नाङ्गो र लज्जित हुँदै पारि जाओ।
जानानका बासिन्दाहरू निस्केका छैनन्।
बेथ-एजेलमा रुवाबासी हुनेछ र त्यसले तिमीहरूलाई साथ दिन छोड्नेछ।
१२ किनकि मारोथका बासिन्दाहरू असल कुराको पर्खाइमा छन्।
तर यरुसलेमको मूलढोकामा यहोवाबाट विपत्ति आइपुगेको छ।
१३ ए लाकिसका+ बासिन्दाहरू हो, घोडाहरूलाई रथमा कस!
सियोनकी छोरीको* पाप तिमीहरूबाटै सुरु भयो
किनकि तिमीहरूमै इस्राएलको अपराध भेट्टाइयो।+
१४ त्यसैले तिमीहरूले मोरेसेथ-गाथलाई बिदाइको सौगात दिनेछौ।
अक्जिबका घरानाहरूले+ इस्राएलका राजाहरूलाई धोका दिए।
१५ ए मारेसाहका+ बासिन्दाहरू हो, म तिमीहरूलाई पराजित गर्ने* एक जना ल्याउनेछु।+
अनि इस्राएलको महिमा अदुल्लामसम्मै+ आउनेछ।
१६ आफ्ना प्यारा छोराछोरीको निम्ति तिमीहरू कपाल खौर र तालुखुइले बन।
आफूलाई गिद्धजस्तै* तालुखुइले बनाओ
किनकि तिमीहरूका छोराछोरीलाई खोसेर निर्वासनमा लगिएको छ।”+
२ “धिक्कार छ तिनीहरूलाई, जो दुष्ट युक्तिहरू रच्छन्,
जो ओछ्यानमा ढल्केर षड्यन्त्र रच्छन्!
अनि बिहान उज्यालो हुनेबित्तिकै त्यो काम गरिहाल्छन्
किनकि तिनीहरूसित आफ्नो दुष्ट युक्ति पूरा गर्ने सामर्थ्य छ।+
२ तिनीहरू अर्काको जमिनमा आँखा गाड्छन् र ती खोस्छन्।+
तिनीहरू अर्काको घरको लालच गर्छन् र ती कब्जा गर्छन्।
जालझेल गरेर तिनीहरू अरूको घर हत्याउँछन्+
र अरूको पैतृक सम्पत्ति हात पार्छन्।
३ त्यसैले यहोवा यसो भन्नुहुन्छ:
‘म तिमीहरूमाथि विपत्ति ल्याउन युक्ति रच्दै छु+ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ।*+
तब तिमीहरू हठी हुन छोड्नेछौ+ किनकि त्यो विपत्तिको समय हुनेछ।+
४ त्यो दिन मानिसहरूले तिमीहरूबारे उखान भन्नेछन्
अनि तिमीहरूलाई सम्झेर धुरुधुरु रुनेछन्।+
तिनीहरूले यसो भन्नेछन्: “हामी पूरै बरबाद भयौँ!”+
उहाँले मेरा मानिसहरूको जमिन अर्कैको हातमा दिनुभयो; उहाँले त्यो हामीबाट खोस्नुभयो!+
उहाँले हाम्रो जमिन धोकेबाजलाई सुम्पिनुभएको छ।”
५ त्यसैले यहोवाको समुदायमा
नाप्ने डोरीले जमिन भागबन्डा गर्ने कोही हुनेछैन।
६ तिनीहरू भन्छन्, “प्रचार गर्न बन्द गर!
तिनीहरूले यी कुराहरूको प्रचार नगरून्।
हामी लज्जित हुनुपर्नेछैन!”
७ ए याकुबको घराना, तिमीहरूले यसो भनिरहेका छौ:
“के यहोवा अधीर हुनुभएको हो?*
के यो उहाँले नै गर्नुभएको हो?”
मेरो वचनले सोझो बाटोमा हिँड्नेहरूको भलाइ गर्दैन र?
८ तर हिजोआज मेरा आफ्नै मानिसहरू मेरा शत्रु बनेका छन्।
युद्धबाट फर्केजस्तै गरी निष्फिक्री भएर हिँडिरहेकाहरूलाई तिमीहरू खुलेआम लुट्छौ,
तिमीहरू तिनीहरूको लुगासँगै* सुन्दर गहनाहरू लुट्छौ।
९ तिमीहरू मेरा मानिसहरूमाझ भएका स्त्रीहरूलाई तिनीहरूको सुन्दर घरबाट निकालिदिन्छौ।
तिनीहरूका छोराछोरीलाई मैले दिएका असल कुराहरू तिमीहरू सदाका लागि खोसेर लैजान्छौ।
१० उठ, जाऊ! किनकि यो आरामसित बस्ने ठाउँ होइन।
भूमि अशुद्ध भएकोले+ त्यो नाश हुनेछ, त्यसको नाश पीडादायी हुनेछ।+
११ यदि कुनै मानिसले बतास र छलछामको पछि लागेर
“म तिमीहरूलाई दाखमद्य* र रक्सीबारे बताउनेछु” भनी झूट बोल्छ भने
ऊ केवल यी मानिसहरूलाई खुसी पार्ने प्रचारक हो!+
१२ ए याकुब, म निश्चय नै तिमीहरू सबैलाई बटुल्नेछु;
इस्राएलका बाँकी रहेकाहरूलाई म अवश्य भेला गर्नेछु।+
गोठका भेडाहरूलाई जस्तै, खर्कमा चरिरहेको बगाललाई जस्तै
म तिनीहरूलाई एक बनाउनेछु।+
त्यहाँ जताततै मानिसहरूको स्वर सुनिनेछ।’+
१३ जसले पर्खालमा प्वाल पार्छ, ऊ तिनीहरूको अघिअघि जानेछ;
तिनीहरूले भत्काउनेछन् र ढोकाबाट बाहिर निस्कनेछन्।+
तिनीहरूका राजा तिनीहरूको अघिअघि निस्कनेछन्
अनि यहोवाले तिनीहरू सबैलाई डोऱ्याउनुहुनेछ।”+
३ मैले भनेँ: “ए याकुबका नाइकेहरू हो
र शासकहरू हो, कृपया सुन।+
न्याय के हो, तिमीहरूलाई थाह हुनुपर्ने होइन र?
२ तर तिमीहरू जे असल छ, त्यसलाई घृणा गर्छौ+ अनि जे खराब छ, त्यसलाई मन पराउँछौ;+
तिमीहरू मेरा मानिसहरूको छाला काढ्छौ अनि हड्डीबाट मासु लुछ्छौ।+
३ तिमीहरू मेरा मानिसहरूको मासु पनि खान्छौ+
अनि तिनीहरूको छाला काढ्छौ,
खड्कुँलोमा पकाउन मासुलाई टुक्राटुक्रा पारेझैँ
तिमीहरू तिनीहरूको हड्डीहरू भाँचेर टुक्राटुक्रा पार्छौ।+
४ त्यसबेला तिनीहरूले यहोवालाई गुहार्नेछन्
तर उहाँले जवाफ दिनुहुनेछैन।
तिनीहरूको दुष्टताले गर्दा+
त्यसबेला उहाँले तिनीहरूबाट आफ्नो अनुहार फर्काउनुहुनेछ।+
५ मेरा मानिसहरूलाई बहकाउने भविष्यवक्ताहरू,+
जो खान पाउँदा* ‘शान्ति! शान्ति!’ भन्छन्+
तर तिनीहरूलाई केही खान नदिनेहरूको विरुद्धमा युद्धको घोषणा गर्छन्, तिनीहरूबारे यहोवा यसो भन्नुहुन्छ:
६ ‘तिमीहरूको लागि यस्तो रात आउनेछ,+ जब तिमीहरूले कुनै दर्शन* देख्नेछैनौ।+
तिमीहरूको चारैतिर अन्धकार नै अन्धकार छाउनेछ, तिमीहरूले जोखना हेर्न सक्नेछैनौ।
भविष्यवक्ताहरूको लागि सूर्य अस्ताउनेछ
र दिनचाहिँ अन्धकारमा परिणत हुनेछ।+
७ दर्शीहरू लाजमा पर्नेछन्+
अनि जोखना हेर्नेहरूचाहिँ लज्जित हुनेछन्।
तिनीहरू सबैले आफ्नो जुँगा* छोप्नुपर्नेछ
किनकि तिनीहरूले परमेश्वरबाट कुनै जवाफ पाउनेछैनन्।’”
८ तर म भने याकुबलाई उसले गरेको विद्रोहबारे र इस्राएललाई उसले गरेको पापबारे बताउन
यहोवाको पवित्र शक्तिको बलले भरिएको छु
अनि न्याय र हिम्मतले भरिएको छु।
९ हे याकुबको घरानाका नाइकेहरू हो,
हे इस्राएलको घरानाका शासकहरू हो, बिन्ती छ, यो कुरा सुन!+
तिमीहरू न्यायलाई घृणा गर्छौ अनि जे कुरा सीधा छ, त्यसलाई बाङ्गो बनाउँछौ।+
१० तिमीहरूले सियोन रक्तपातले र यरुसलेम अधर्मले बनायौ।+
११ त्यसका नाइकेहरूले घुस लिएर न्याय गर्छन्,+
त्यसका पुजारीहरूले दाम लिएर सिकाउँछन्+
अनि त्यसका भविष्यवक्ताहरू पैसा लिएर जोखना हेर्छन्।+
तैपनि तिनीहरू यहोवामा भर पर्दै* यसो भन्छन्:
“यहोवा हाम्रो साथमा हुनुहुन्न र?+
हामीमाथि कुनै विपत्ति आइपर्नेछैन।”+
१२ त्यसैले तिमीहरूको कारण
सियोन खेतजस्तै जोतिनेछ,
यरुसलेम भग्नावशेषको थुप्रो हुनेछ+
अनि भवन* बसालिएको डाँडाचाहिँ जङ्गलमा भएका अग्ला डाँडाहरूजस्तै हुनेछ।+
४ आखिरी समयमा
यहोवा परमेश्वरको भवनको डाँडा+
अरू डाँडाभन्दा माथि उठाइनेछ,
त्यसलाई टाकुरामाथि नहल्लिनेगरि बसालिनेछ
र त्यहाँ जातिजातिका मानिसहरू ओइरिनेछन्।+
२ अनि जातिजातिका मानिसहरूले यसो भन्नेछन्:
“आओ, हामी यहोवाको डाँडामा जाऔँ।
याकुबका परमेश्वरको भवनमा जाऔँ।+
उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ
अनि हामी त्यस मार्गमा हिँड्नेछौँ।”
किनकि व्यवस्था* सियोनबाटै दिइनेछ
र यहोवाको वचनचाहिँ यरुसलेमबाटै आउनेछ।
३ उहाँले जातिजातिका मानिसहरूको इन्साफ गर्नुहुनेछ+
र टाढा-टाढाका शक्तिशाली जातिहरूसित आफ्नो मामिला सुल्झाउनुहुनेछ।
तिनीहरूले आ-आफ्नो तरबार पिटेर हलोको फाली बनाउनेछन्
र भाला पिटेर हँसिया बनाउनेछन्।+
एउटा जातिले अर्को जातिको विरुद्धमा तरबार उठाउनेछैन
र तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्।+
४ तिनीहरू प्रत्येक आ-आफ्नो अङ्गुरको बोट र आ-आफ्नो अन्जिरको बोटमुनि बस्नेछन्+
अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन+
किनकि यी सबै कुरा सेनाहरूका यहोवाले नै भन्नुभएको हो।
५ जातिजातिका मानिसहरू आ-आफ्ना देवताको नाममा हिँड्नेछन्
तर हामी भने सदासर्वदा यहोवा हाम्रा परमेश्वरको नाममा हिँड्नेछौँ।+
६ यहोवा परमेश्वर घोषणा गर्नुहुन्छ, “त्यो दिन
म खोच्याएर हिँड्नेहरूलाई भेला गर्नेछु
अनि तितरबितर भएकाहरूलाई बटुल्नेछु।+
अनि मैले कठोर व्यवहार गरेकाहरूलाई पनि भेला गर्नेछु।
७ खोच्याएर हिँड्नेहरूलाई म बाँकी राख्नेछु+
अनि टाढा-टाढा लगिएकाहरूलाई एउटा शक्तिशाली राष्ट्र बनाउनेछु;+
अनि तिनीहरूमाथि यहोवाले सियोन डाँडाबाट शासन गर्नुहुनेछ,
अहिले र सदासर्वदा।
८ अनि हे बगालको धरहरा,
तिमीले पहिला पाएको त्यो अधिकार तिमीलाई फेरि दिइनेछ।+
हे यरुसलेमकी छोरी, तिमीले आफ्नो राज्य फिर्ता पाउनेछ्यौ।+
९ तिमी किन ठूलो स्वरले चिच्याइरहेकी छ्यौ?
के तिम्रो राजा छैन?
तिम्रा सल्लाहकारहरू नष्ट भए?
के यही कारणले तिमी बेथा लागेकी स्त्रीजस्तै छटपटाइरहेकी हौ?+
१० हे सियोनकी छोरी,
बेथा लागेकी स्त्रीजस्तै छटपटाऊ र सुस्केरा हाल
किनकि तिमी सहरबाट निस्केर मैदानमा बस्नेछ्यौ।
तिमी टाढा बेबिलोनसम्म जानेछ्यौ+
र त्यहाँ तिम्रो उद्धार गरिनेछ;+
त्यहाँ यहोवाले मोल तिरेर तिमीलाई शत्रुहरूको हातबाट फिर्ता ल्याउनुहुनेछ।+
११ थुप्रै राष्ट्र तिमीविरुद्ध जम्मा हुनेछन्।
तिनीहरूले भन्नेछन्, ‘त्यसलाई बिटुलो पारियोस्
अनि हामीले आफ्नै आँखाले सियोनमाथि यी सबै भएको देख्न पाऔँ।’
१२ तर तिनीहरूलाई यहोवा परमेश्वरको विचार थाह छैन,
तिनीहरू उहाँको उद्देश्य* बुझ्दैनन्;
भर्खरै काटिएको अन्नको बिटालाई खलामा जम्मा गरिएझैँ उहाँले तिनीहरूलाई जम्मा गर्नुहुनेछ।
१३ हे सियोनकी छोरी, उठ र दाइँ गर+
किनकि म तिम्रो सिङलाई फलामको बनाइदिनेछु,
तिम्रो खुरलाई तामाको बनाइदिनेछु
अनि तिमीले थुप्रै मानिसलाई नाश गर्नेछ्यौ।+
तिमीले तिनीहरूको बेइमानीको कमाइ यहोवालाई दिनेछ्यौ
अनि तिनीहरूका धनसम्पत्ति सारा पृथ्वीका साँचो प्रभुको लागि छुट्ट्याउनेछ्यौ।”+
५ “हे आक्रमणमा परेकी छोरी,
तिमीले आफ्नै शरीरमा घाउ बनाइरहेकी छ्यौ;
शत्रुहरूले हामीलाई घेरा हालेका छन्।+
तिनीहरू इस्राएलका न्यायकर्तालाई छडीले गालामा हिर्काउँछन्।+
२ अनि हे बेतलेहेम एप्राता,+
तिमी जो यहुदाका हजारौँमध्ये* सबैभन्दा सानो छौ,
तिमीबाट मेरो निम्ति एक जना आउनेछ, जसले इस्राएलमा शासन गर्नेछ,+
जसको सुरुवात प्राचीनकालमा, युगौँअघि भएको थियो।
३ त्यसैले जन्म दिने त्यस स्त्रीको जन्माउने बेला नभएसम्म
परमेश्वरले तिनीहरूलाई त्याग्नुहुनेछ।
अनि बाँकी रहेका तिनका दाजुभाइहरू इस्राएलका मानिसहरूकहाँ फर्केर आउनेछन्।
४ तिनी उठ्नेछन् र यहोवाबाट बल पाएर
आफ्ना परमेश्वर यहोवाको महान् नाममा गोठालोको काम गर्नेछन्।+
अनि तिनीहरू ढुक्कसित बस्नेछन्+
किनकि त्यसपछि तिनको महानता पृथ्वीको कुनाकुनासम्म फैलिनेछ।+
५ अनि तिनले शान्ति ल्याउनेछन्।+
अस्सेरियालीहरूले हाम्रो भूमिमा आक्रमण गरेर हाम्रा बलिया किल्लाहरूलाई कुल्चिए भने पनि+
हामी तिनीहरूको विरुद्धमा मानिसहरूबाट सात जना गोठाला, हो, आठ जना शासक* खडा गर्नेछौँ।
६ तिनीहरूले अस्सेरियाविरुद्ध तरबार उठाउनेछन्+
अनि निम्रोदको देशको+ मूलढोकाहरूमा तरबार चलाउनेछन्।
अस्सेरियालीहरूले हाम्रो भूमिमा आक्रमण गरेर हाम्रा इलाकाहरूलाई कुल्चँदा
तिनले हामीलाई अस्सेरियालीहरूको हातबाट छुटाउनेछन्।+
७ याकुबका बाँकी रहेका मानिसहरू जातिजातिको बीचमा रहनेछन्।
तिनीहरू यहोवाले पार्नुभएको शीतजस्तै हुनेछन्,
बोटबिरुवामा परेको झरीजस्तै हुनेछन्,
जो मानिसमा भर पर्दैनन्
र मानिसका सन्तानको बाटो हेर्दैनन्।
८ याकुबका बाँकी रहेका मानिसहरू राष्ट्रहरूमाझ रहनेछन्,
तिनीहरू जातिजातिको बीचमा रहनेछन्।
जङ्गलका जनावरहरूको बीचमा रहेको सिंहजस्तै,
भेडाको बगालमाझ भएको जवान सिंहजस्तै तिनीहरू हुनेछन्,
जो तिनीहरूको बीचबाट भएर जान्छन् अनि तिनीहरूलाई झम्टेर टुक्राटुक्रा पार्छन्;
तिनीहरूलाई बचाउन सक्ने कोही हुनेछैन।
९ तिमीले आफ्ना शत्रुहरूमाथि हात उठाउनेछौ
र तिम्रा सबै शत्रु नाश हुनेछन्।”
१० यहोवा घोषणा गर्नुहुन्छ,
“त्यो दिन म तिमीहरूका घोडाहरूलाई नाश गर्नेछु र रथहरूलाई टुक्राटुक्रा पारिदिनेछु।
११ तिमीहरूको देशमा भएका सहरहरू म नाश गरिदिनेछु
र तिमीहरूका किल्लाहरू ढालिदिनेछु।
१२ तिमीहरूले गर्ने टुनामुनाको म अन्त गरिदिनेछु,
तिमीहरूमाझ कोही पनि जादुगर बाँकी रहनेछैन।+
१३ तिमीहरूका मूर्तिहरू र थामहरू म चकनाचुर पारिदिनेछु,
आफ्नै हातले बनाएका कुराहरूलाई तिमीहरूले कहिल्यै ढोग्नेछैनौ।+
१४ तिमीहरूका पवित्र खामाहरू * म उखेलिदिनेछु+
र तिमीहरूका सहरहरू तहसनहस पारिदिनेछु।
१५ रिस र क्रोधका साथ
म अटेरी राष्ट्रहरूसित बदला लिनेछु।”
६ यहोवा के भन्नुहुन्छ, कृपया सुन।
उठ र पहाडहरूसमक्ष मुद्दा पेस गर,
डाँडाहरूले तिमीहरूको कुरा सुनून्।+
२ हे पहाडहरू हो, हे पृथ्वीका बलिया जगहरू हो,
यहोवाले पेस गर्नुभएको मुद्दा सुन+
किनकि आफ्ना मानिसहरूविरुद्ध यहोवाको मुद्दा छ;
उहाँले इस्राएलविरुद्ध बहस गर्नुहुनेछ:+
३ “हे मेरा मानिसहरू हो, मैले तिमीहरूलाई के गरेको छु?
मैले तिमीहरूलाई कसरी थकित तुल्याएको छु?+
मेरो विरुद्धमा बयान देओ।
४ मैले तिमीहरूलाई मिश्रबाट* छुटाएर ल्याएँ,+
दासत्वको घरबाट मैले तिमीहरूको उद्धार गरेँ;+
मोसा, हारुन र मरियमलाई मैले तिमीहरूको अघिअघि पठाएँ।+
५ हे मेरा मानिसहरू हो, मोआबको राजा बालाकले कस्तो प्रस्ताव राखेको थियो,+
बेअरको छोरो बालामले के जवाफ दिएको थियो+
अनि सित्तिमदेखि+ गिलगालसम्म के भएको थियो,+ के तिमीहरूले सम्झेका छौ?
ती सम्झ र यहोवाले आफ्नो धार्मिक स्तरअनुसार काम गर्नुहुन्छ भनेर तिमीहरूले बुझ्नेछौ।”
६ म के लिएर यहोवासामु आऊँ?
म के लिएर उच्च स्थानमा विराजमान हुनुहुने परमेश्वरलाई दण्डवत् गरूँ?
के म उहाँसामु अग्निभेटी* लिएर आऊँ?
एक वर्षे बाछाहरू लिएर आऊँ?+
७ यहोवासामु हजारौँ थुमा ल्याइँदा के उहाँ खुसी हुनुहुनेछ?
तेलको भल बगेको देखेर के उहाँ रमाउनुहुनेछ?+
मेरो अपराध र पापको लागि
के म आफ्नो पहिलो सन्तान, आफ्नै शरीरको फल दिऊँ?+
८ हे मानिस, असल के हो, उहाँले तिमीलाई बताउनुभएको छ।
अनि यहोवा तिमीबाट के चाहनुहुन्छ?
केवल यति होइन र? निष्पक्ष हुनू,+ वफादार भई प्रेम गरिरहनू*+
अनि मर्यादामा रहेर आफ्ना परमेश्वरसित हिँड्नू।+
९ यहोवाको स्वरले यस सहरलाई बोलाइरहेको छ;
बुद्धि* हुनेहरूले तपाईँको नामको डर मान्नेछन्।
छडीलाई र त्यसलाई नियुक्त गर्नुहुनेलाई ध्यान देओ।+
१० के दुष्टको घरमा अझै पनि दुष्टताको धनसम्पत्ति छ?
अनि के ऊसित अझै एपाको* झूटो* नाप छ, जुन घिनलाग्दो कुरा हो?
११ मसित छलको तराजु र झोलाभरि बेइमानीको ढक छ भने
१२ किनकि त्यहाँका धनी मानिसहरू हिंसा मच्चाउँछन्
अनि त्यहाँका बासिन्दाहरू झूट बोल्छन्;+
तिनीहरूको जिब्रो छली छ।+
१३ “त्यसैले म तिमीहरूलाई हिर्काउनेछु र घाइते पारिदिनेछु,+
तिमीहरूको पापको कारण तिमीहरूलाई उजाड तुल्याइदिनेछु।
१४ तिमीहरूले खानेछौ तर अघाउनेछैनौ;
तिमीहरूको पेट खाली रहनेछ।+
तिमीहरू जे कुरा लैजान्छौ, त्यसलाई जोगाउन सक्नेछैनौ,
तिमीहरूले लगेको कुरा म तरबारलाई सुम्पिदिनेछु।
१५ तिमीहरूले बिउ छर्नेछौ तर कटनी गर्न पाउनेछैनौ।
तिमीहरूले जैतुन कुल्चेर पेल्नेछौ तर त्यसको तेल उपभोग गर्न पाउनेछैनौ;
तिमीहरूले नयाँ मद्य बनाउनेछौ तर त्यो पिउन पाउनेछैनौ।+
१६ तिमीहरू ओम्रिको विधिविधान पालन गर्छौ र आहाबको घरानाको जस्तै काम गर्छौ+
अनि तिमीहरू तिनीहरूको सल्लाहअनुसार हिँड्छौ।
त्यसैले म तिमीहरूको हालत यस्तो बनाइदिनेछु कि तिमीहरूलाई देख्नेहरू डरले थरथर काँप्नेछन्।
अनि मानिसहरूले त्यहाँका बासिन्दाहरूलाई खिसी गर्दै सिटी बजाउनेछन्;+
तिमीहरूले मानिसहरूको गिल्ला सहनुपर्नेछ।”+
७ मलाई धिक्कार छ! म ग्रीष्म ऋतुको फल टिपिसकेपछि
र अङ्गुर टिपेर सिलाबाला बटुलिसकेपछि
खानको लागि अङ्गुरको एउटै झुप्पा पनि नभेट्टाउने मान्छेजस्तै भएको छु।
मलाई असाध्यै खाऊँखाऊँ लाग्ने अन्जिरको पहिलो फल पनि छैन।
२ पृथ्वीबाट वफादार मानिस नष्ट भएको* छ;
मानिसहरूबीच एक जना पनि सोझो छैन।+
तिनीहरू सबै रगत बगाउन ढुकिबस्छन्।+
तिनीहरू प्रत्येकले जाल बिछ्याएर आफ्नै दाजुभाइलाई सिकार बनाउँछन्।
३ तिनीहरूका हात खराब काम गर्न खप्पिस भएका छन्;+
भारदारहरू आफ्ना मागहरू तेर्स्याउँछन्,
न्यायकर्ताहरू इनाम माग्छन्,+
ठूलाबडा आफ्नो इच्छा प्रकट गर्छन्+
अनि तिनीहरू सबै मिलेर योजना बनाउँछन्।*
४ तिनीहरूमध्ये असलचाहिँ काँडाजस्तै छ,
तिनीहरूमध्ये सबैभन्दा सोझोचाहिँ काँडेबारभन्दा तीखो छ।
तिमीहरूका पहरेदारहरूले सुनाएको सजायको समय आउँदै छ;
तिमीहरूसित हिसाब लिने समय आउँदै छ।+
त्यसैले तिनीहरू अत्तालिनेछन्।+
५ आफ्नो साथीमा भरोसा नराख
वा घनिष्ठ मित्रलाई विश्वास नगर।+
तिम्रै अङ्गालोमा सुत्नेसित समेत होस पुऱ्याएर कुरा गर।
६ किनकि छोराले बुबालाई घृणा गर्छ,
छोरी आमाको विरुद्धमा उठ्छे,+
बुहारी सासूको विरुद्धमा उठ्छे+
अनि मानिसको शत्रु उसकै घरभित्रका मानिसहरू हुन्छन्।+
७ तर म त यहोवाको बाटो हेर्नेछु।+
म मेरा उद्धारक, मेरा परमेश्वरलाई नै पर्खनेछु।*+
मेरा परमेश्वरले मेरो आवाज सुन्नुहुनेछ।+
८ ए मेरो शत्रु,* मलाई देखेर तँ नरमा।
म लडेको छु तर फेरि उठ्नेछु;
म अँध्यारोमा भए तापनि यहोवा मेरो ज्योति हुनुहुनेछ।
९ जबसम्म यहोवाले मेरो पक्षमा मुद्दा लड्नुहुन्न र मेरो इन्साफ गर्नुहुन्न,
तबसम्म म उहाँको क्रोध सहनेछु
किनकि मैले उहाँको विरुद्धमा पाप गरेको छु।+
उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ
र उहाँले गर्नुभएको न्याय मैले देख्नेछु।
१० मेरो शत्रुले पनि त्यो देख्नेछे
र त्यो लाजले भुतुक्क हुनेछे; त्यसले मलाई यसो भनेकी थिई:
“खोइ तेरो परमेश्वर यहोवा?”+
मेरो आँखाले त्यसलाई देख्नेछ
अनि त्यसलाई सडकको हिलोजस्तै कुल्चिइनेछ।
११ त्यो दिन तिमीहरूले आफ्नो लागि ढुङ्गाको पर्खाल लगाउनेछौ;
त्यो दिन साँध-सिमाना विस्तार गरिनेछ।
१२ त्यो दिन मानिसहरू तिमीहरूकहाँ आउनेछन्;
तिनीहरू टाढा अस्सेरियादेखि र मिश्रका सहरहरूदेखि आउनेछन्।
मिश्रदेखि युफ्रेटिस नदीसम्मका मानिसहरू,
एउटा समुद्रदेखि अर्को समुद्रसम्मका र एउटा पहाडदेखि अर्को पहाडसम्मका मानिसहरू आउनेछन्।+
१३ भूमि आफ्ना बासिन्दाहरूको कारण,
तिनीहरूको कुकर्मको कारण* उजाड हुनेछ।
१४ जङ्गलको माझमा—फलफूल बगानमा एक्लै बसिरहेको तिम्रो सम्पत्ति
—तिम्रो बगाल, हो, तिम्रा मानिसहरूलाई लौरोले डोऱ्याऊ।+
उहिले-उहिलेका दिनहरूमा जस्तै तिनीहरूलाई फेरि बासान र गिलादमा चर्न देऊ।+
१५ “तिमीहरू मिश्रबाट छुटेर आएको समयमा जस्तै
म तिमीहरूलाई अचम्मका कामहरू देखाउनेछु।+
१६ राष्ट्रहरूले यो देख्नेछन् र तिनीहरू शक्तिशाली भए तापनि लज्जित हुनेछन्।+
तिनीहरूले हातले आफ्नो मुख छोप्नेछन्;
तिनीहरूको कान बहिरो हुनेछ।
१७ सर्पले जस्तै तिनीहरूले धुलो चाट्नेछन्;+
जमिनका घस्रने जनावरहरूजस्तै तिनीहरू आफ्नो बलियो गढबाट थरथर काँप्दै निस्कनेछन्।
तिनीहरू डराउँदै यहोवा हाम्रा परमेश्वरकहाँ आउनेछन्
र तिनीहरूले उहाँको डर मान्नेछन्।”+
१८ तपाईँजस्तो परमेश्वर को छ,
जसले बाँकी रहेका आफ्ना मानिसहरूको गल्तीलाई क्षमा गर्नुहुन्छ र तिनीहरूका अपराधहरू सम्झनुहुन्न?+
उहाँले सधैँभरि आफ्नो रिस पालेर राख्नुहुन्न
किनकि उहाँ अटल प्रेममा* रमाउनुहुन्छ।+
१९ उहाँले हामीलाई फेरि कृपा देखाउनुहुनेछ;+ हाम्रा गल्तीहरूको नामोनिसान मेटाइदिनुहुनेछ।*
तपाईँले तिनीहरूका सबै पाप समुद्रको गहिराइमा मिल्काइदिनुहुनेछ।+
२० उहिले-उहिलेका दिनमा हाम्रा पुर्खाहरूसित शपथ खानुभएझैँ
तपाईँले याकुबलाई वफादारी देखाउनुहुनेछ
र अब्राहामलाई अटल प्रेम देखाउनुहुनेछ।+
माइकल वा मिकायाह नामको छोटो रूप। यसको अर्थ हो, “यहोवाजस्तो को छ?”
शब्दावली हेर्नुहोस्।
वा “अस्ट्रिजले।”
वा “अफ्राहको घरानामा।”
“सियोनकी छोरी” कवितात्मक अभिव्यक्ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।
वा “खेद्ने।”
यहाँ प्रयोग गरिएको हिब्रू शब्दले चीललाई पनि जनाउन सक्छ।
शा., “तिमीहरूले आफ्नो गर्दन हटाउन सक्नेछैनौ।”
वा “के यहोवाको पवित्र शक्ति अधीर भएको छ?”
वा सम्भवतः “लुगाबाट।”
अङ्गुरबाट बनेको रक्सी।
वा सम्भवतः “केही चपाउन पाउँदा।”
शब्दावली हेर्नुहोस्।
वा “मुख।”
वा “भर परेको दाबी गर्दै।”
वा “मन्दिर।”
वा “निर्देशन।”
“सियोनकी छोरी” कवितात्मक अभिव्यक्ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।
वा “सल्लाह।”
वा “कुलमध्ये।”
वा “नाइके।”
शब्दावली हेर्नुहोस्।
वा “इजिप्टबाट।”
शब्दावली हेर्नुहोस्।
वा “दयालु हुनू र वफादार भई प्रेम गर्नू।” शा., “अटल प्रेमलाई प्रेम गर्नू।”
वा “व्यावहारिक ज्ञान।”
अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा “अपूरो।”
वा “नैतिक रूपमा स्वच्छ।”
वा “हराएको।”
शा., “तिनीहरू सबै मिलेर जाल बुन्छन्।”
वा “म धैर्य गर्दै पर्खनेछु।”
यहाँ चलाइएको “शत्रु” शब्द हिब्रूमा स्त्रीलिङ्गमा छ।
शा., “तिनीहरूको कामको फलको कारण।”
शब्दावली हेर्नुहोस्।
वा “कुल्चीमिल्ची गर्नुहुनेछ; अधीनमा राख्नुहुनेछ।”