थिस्सलोनिकीहरूलाई दोस्रो पत्र
१ पावल, सिल्भानस* र तिमोथि+ थिस्सलोनिकीहरूको मण्डलीलाई, जुन परमेश्वर, हाम्रा बुबा र प्रभु येसु ख्रिष्टसित एकतामा छ, यो पत्र लेख्दै छौँ।
२ परमेश्वर, हाम्रा बुबाबाट र प्रभु येसु ख्रिष्टबाट तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्।
३ हे भाइहरू हो, तिमीहरूका लागि परमेश्वरलाई सधैँ धन्यवाद चढाउन हामीलाई करै लागेको छ। यो उपयुक्त छ किनकि तिमीहरूको विश्वास झन्झन् बढ्दै छ र एकअर्काप्रति तिमीहरू हरेकको प्रेम बढ्दै छ।+ ४ फलस्वरूप परमेश्वरका मण्डलीहरूमाझ हामी तिमीहरूमा गर्व गर्छौँ + किनभने आफूमाथि आइपरेको सारा खेदो र कठिनाइ* भोग्दै *+ तिमीहरूले सहनशीलता र विश्वास देखाइरहेका छौ। ५ यो परमेश्वरको उचित न्यायको प्रमाण हो अनि यसैले गर्दा तिमीहरू परमेश्वरको राज्य हासिल गर्न योग्य ठहरिएका छौ र वास्तवमा तिमीहरू त्यही राज्यका लागि दुःख भोग्दै छौ।+
६ तसर्थ परमेश्वरको नजरमा यही उचित छ, जसले तिमीहरूमाथि सङ्कष्ट ल्याउँछन्, त्यसको बदलामा उहाँले तिनीहरूमाथि सङ्कष्ट ल्याउनुहुनेछ।+ ७ तर तिमीहरू, जो अहिले सङ्कष्ट भोगिरहेका छौ, प्रभु येसु आफ्ना शक्तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट प्रकट हुनुहुँदा+ तिमीहरूलाई हामीसँगै ती सङ्कष्टहरूबाट उद्धार गर्नुहुनेछ। ८ त्यतिखेर उहाँ बल्दो आगोको साथ प्रकट हुनुहुनेछ र ज-जसले परमेश्वरलाई चिन्दैनन् र जो-जो हाम्रा प्रभु येसुसित सम्बन्धित सुसमाचारबमोजिम चल्दैनन्, तिनीहरूसित बदला लिनुहुनेछ।+ ९ तिनीहरू प्रभुको सामुन्नेबाट हटाइनेछन् र उहाँको शक्तिको महिमाबाट वञ्चित हुनेछन्। तिनीहरूले अनन्त विनाशको सजाय भोग्नेछन्।+ १० त्यतिबेला उहाँ आफ्ना पवित्र जनहरूसँगै महिमा पाउन आउनुहुनेछ र उहाँमाथि विश्वास गर्नेहरू सबैले त्यस दिन उहाँको प्रशंसा गर्नेछन्। तिमीहरूले पनि त्यसै गर्नेछौ किनभने हामीले दिएको साक्षीमा तिमीहरूले विश्वास गऱ्यौ।
११ त्यसैले हामी सधैँ तिमीहरूका लागि प्रार्थना गर्छौँ कि हाम्रा परमेश्वरले तिमीहरूलाई आफ्नो बोलावटको योग्य ठानून्+ र उहाँ जे भलाइ गर्न चाहनुहुन्छ, आफ्नो शक्तिद्वारा ती सबै गरून् र विश्वासद्वारा उत्प्रेरित भई तिमीहरूले जे काम गरिरहेका छौ, त्यसलाई सफल पारून् १२ ताकि तिमीहरूले गर्दा हाम्रा प्रभु येसुको नामको महिमा होस् र उहाँसित एकतामा रहेर तिमीहरूको पनि महिमा होस्, जुन हाम्रा परमेश्वर र प्रभु येसु ख्रिष्टको असीम अनुग्रहद्वारा प्राप्त हुन्छ।
२ तथापि हे भाइ हो, हाम्रा प्रभु येसु ख्रिष्टको उपस्थितिको विषयमा+ र उहाँसित हुन हामीलाई जम्मा गरिने सन्दर्भमा+ हामी तिमीहरूलाई के अनुरोध गर्न चाहन्छौँ भने २ यहोवा* परमेश्वरको दिन+ आइपुग्यो भनी कसैले दाबी गर्दैमा झट्टै आफ्नो सुद्धीबुद्धि नगुमाइहाल र नघबराओ, चाहे कसैले त्यो प्रेरित सन्देश+ हो भनोस् वा तिमीहरूले कसैबाट मौखिक रूपमा सुनेको सन्देश होस् वा हामीले पठाएको जस्तो देखिने पत्र नै किन नहोस्।
३ यस विषयमा कसैले तिमीहरूलाई कुनै तरिकामा बहकाउन नपाओस् किनभने त्यो दिन तबसम्म आउनेछैन, जबसम्म पहिला धर्मत्याग+ सुरु हुँदैन अनि कुकर्मी पुरुष+ अर्थात् विनाशको छोरा प्रकट हुँदैन।+ ४ त्यो विरोधी हो र त्यसले आफूलाई ईश्वर कहलिएकाहरूमध्ये सबैभन्दा माथि वा उपासना गरिने हरेक थोकभन्दा माथि उचाल्नेछ। यहाँसम्म कि त्यो परमेश्वरको मन्दिरमा बस्नेछ र जनसमक्ष आफूलाई ईश्वरको रूपमा प्रस्तुत गर्नेछ। ५ तिमीहरूसित छँदा म यी कुरा भन्ने गर्थेँ भनेर के तिमीहरूलाई सम्झना छैन?
६ तर त्यो आफ्नो समयमा मात्र प्रकट होस् भनेर त्यसलाई कुन कुराले रोकिराखेको छ, त्यो अब तिमीहरूलाई थाह छ। ७ हो, त्यसको कुकर्म एउटा रहस्य हो र त्यसले आफ्नो काम थालिसकेको छ।+ तर जसले अहिले त्यसलाई रोक्ने काम गरिरहेको छ, ऊ नहटेसम्म मात्र त्यो रहस्यको रूपमा रहनेछ। ८ त्यसपछि त्यो कुकर्मी पुरुष पक्कै प्रकट हुनेछ, जसलाई प्रभु येसुले आफ्नो उपस्थिति जाहेर गर्ने बेला+ आफ्नो मुखबाट निस्कने शक्तिद्वारा नाश गर्नुहुनेछ+ र नामेट पार्नुहुनेछ। ९ तर त्यस कुकर्मी पुरुषको उपस्थिति सैतानको कामको उपज हो+ र त्यो कुकर्मी पुरुषले हरकिसिमका शक्तिशाली काम, झूटा चमत्कार र आश्चर्यजनक कार्यहरू,+ १० हरकिसिमका खराब अनि छली कामहरू गर्नेछ। विनाशको सजाय पाउने मानिसहरू त्यसका यी सबै कामले गर्दा बहकिनेछन्।+ तिनीहरू विनाश हुनेछन् किनकि तिनीहरूले सत्यलाई प्रेम गरेनन्, जसद्वारा तिनीहरूको उद्धार हुन सक्थ्यो। ११ यसकारण परमेश्वरले तिनीहरूलाई झूटा शिक्षाहरूद्वारा बहकिन दिनुहुन्छ ताकि तिनीहरूले झूटमै विश्वास गरून्+ १२ र तिनीहरू सबैलाई न्यायदण्ड दिन सकियोस् किनभने तिनीहरूले सत्यमा विश्वास गरेनन् बरु कुकर्मलाई मन पराए।
१३ यहोवा* परमेश्वरले प्रिय ठान्नुभएका हे मेरा भाइहरू हो, तिमीहरूको निम्ति परमेश्वरलाई सधैँ धन्यवाद चढाउन हामीलाई करै लागेको छ किनभने परमेश्वरले तिमीहरूलाई उद्धारको निम्ति सुरुदेखि नै चुन्नुभएको हो।+ तिमीहरूले सत्यमा विश्वास गरेको हुनाले उहाँले तिमीहरूलाई पवित्र शक्तिद्वारा पवित्र पारेर चुन्नुभएको हो।+ १४ यही उद्धारको निम्ति उहाँले तिमीहरूलाई सुसमाचारद्वारा बोलाउनुभएको हो; तिमीहरूले हाम्रा प्रभु येसु ख्रिष्टको महिमा प्राप्त गर्न सक भनी हामी त्यो सुसमाचार घोषणा गर्छौँ।+ १५ त्यसैले हे भाइ हो, स्थिर होओ+ अनि चाहे मौखिक तवरमा होस् वा हाम्रो पत्रद्वारा, हामीबाट सिकेका कुराहरू पक्रिराख।+ १६ यसबाहेक हाम्रा प्रभु येसु ख्रिष्ट स्वयम्ले र हामीलाई प्रेम गर्नुहुने अनि आफ्नो असीम अनुग्रहद्वारा चिरस्थायी सान्त्वना र उज्ज्वल आशा दिनुहुने+ परमेश्वर, हाम्रा बुबाले+ १७ तिमीहरूको हृदयलाई सान्त्वना देऊन् र तिमीहरूलाई हरेक असल काम अनि वचनका लागि स्थिर बनाऊन्।*
३ अन्तमा हे भाइ हो, हाम्रो निम्ति प्रार्थना गरिरहो+ ताकि यहोवा* परमेश्वरको वचन द्रुत गतिमा फैलिँदै जाओस्+ अनि तिमीहरूले त्यसलाई आदरपूर्वक स्विकारेजस्तै अरूहरूले पनि स्विकारून्। २ साथै खतरनाक र दुष्ट मानिसहरूबाट हामीले छुटकारा पाउन सकौँ + भनेर पनि प्रार्थना गरिदेओ किनभने विश्वास सबैसित हुँदैन।+ ३ तर प्रभु विश्वासयोग्य हुनुहुन्छ अनि उहाँले तिमीहरूलाई बलियो बनाउनुहुनेछ र त्यस दुष्टबाट* जोगाउनुहुनेछ। ४ यसबाहेक प्रभुको चेलाको नाताले हामीलाई भरोसा छ कि हामीले दिएका निर्देशनहरू तिमीहरूले पालन गरिरहेका छौ र पछि पनि गरिरहनेछौ। ५ प्रभुले तिमीहरूको हृदयलाई निरन्तर डोऱ्याइरहून् ताकि तिमीहरू परमेश्वरलाई प्रेम गरिरहन+ अनि ख्रिष्टको निम्ति सहनशील भइरहन सक।+
६ अब हे भाइ हो, प्रभु येसु ख्रिष्टको नाममा हामी तिमीहरूलाई के निर्देशन दिँदै छौँ भने जो भाइ तिमीहरूले* हामीबाट पाएको निर्देशनबमोजिम+ नचली बेकाइदासित चलिरहेको छ,+ ऊदेखि अलग होओ। ७ तिमीहरूले कसरी हाम्रो अनुकरण गर्नुपर्ने हो,+ त्यो तिमीहरू आफैलाई थाह छ किनभने हामी तिमीहरूमाझ न बेकाइदासित चल्यौँ ८ न त सित्तैँमा* कसैको खानेकुरा खायौँ।+ बरु तिमीहरूमध्ये कसैको निम्ति खर्चिलो बोझ नबनौँ भनेर मेहनत र कडा परिश्रम गरेर दिनरात काम गऱ्यौँ।+ ९ हुनत हामीसित अधिकार नभएको होइन+ तर तिमीहरूले हाम्रो अनुकरण गर्न सक भनेर हामी तिमीहरूको निम्ति उदाहरण बन्न चाहन्थ्यौँ।+ १० भनौँ भने तिमीहरूसित छँदा हामी तिमीहरूलाई यस्तो आदेश दिने गर्थ्यौँ: “काम गर्न नचाहनेले खाँदा पनि नखाओस्।”+ ११ तिमीहरूमाझ केही मानिसहरू बेकाइदासित चलिरहेका छन्+ भनी हामीले सुनेका छौँ, जो पटक्कै काम गर्न चाहँदैनन् तर आफूसित सरोकार नभएका कुराहरूमा हात हाल्दै हिँड्छन्।+ १२ यस्ता मानिसहरूलाई प्रभु येसु ख्रिष्टको नाममा हामी के आदेश अनि अर्ती दिन्छौँ भने तिनीहरूले खुरुखुरु आफ्नो काम गरून् र आफ्नै कमाइ खाऊन्।+
१३ तर हे भाइ हो, तिमीहरू भने हरेस नखाई असल काम गरिरहो। १४ तर यदि कसैले यस पत्रमा भएको हाम्रो वचन पालन गर्दैन भने त्यस्तालाई चिनिराख* र ऊसित सङ्गत गर्न छोड+ ताकि ऊ आफ्नो काम सम्झेर लज्जित होस्। १५ तैपनि उसलाई आफ्नो शत्रु नठानिहाल बरु आफ्नो भाइ ठानेर निरन्तर सम्झाइबुझाइ गरिरहो।+
१६ अब शान्तिका प्रभु आफैले तिमीहरूलाई हरतवरले निरन्तर शान्ति दिइरहून्।+ प्रभु तिमीहरू सबैसित रहून्।
१७ अब म पावल आफ्नै हातले मेरो अभिवादन लेख्दै छु,+ जुन मेरा सबै पत्रको चिनारी हो। म यसरी नै लेख्नेगर्छु।
१८ हाम्रा प्रभु येसु ख्रिष्टको असीम अनुग्रह तिमीहरू सबैसित रहोस्।
तिनलाई सिलास पनि भनिन्छ।
वा “सङ्कष्ट।”
वा “सहँदै।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अतिरिक्त लेख क५ हेर्नुहोस्।
वा “बलियो पारून्।”
अतिरिक्त लेख क५ हेर्नुहोस्।
अर्थात्, सैतानबाट।
वा सम्भवतः “तिनीहरूले।”
वा “पैसा नतिरी।”
शा., “त्यस्तालाई चिन्ह लगाएर राख।”