पाठ ५
पृथ्वीको लागि परमेश्वरको उद्देश्य के हो?
१. परमेश्वरले किन पृथ्वी सृष्टि गर्नुभयो?
यहोवा परमेश्वरले पृथ्वी मानिसहरूलाई दिनुभयो। यो हाम्रो घर हो। त्यसैले पहिलो मानव दम्पती आदम र हव्वालाई स्वर्गमा घरजम गरेर बस्नको लागि बनाइएको थिएन। परमेश्वरले स्वर्गमा बस्नको लागि स्वर्गदूतहरू बनाइसक्नुभएको थियो। (अय्यूब ३८:४, ७) बरु परमेश्वरले पहिलो मानिसलाई अदनको सुन्दर बगैंचामा अर्थात् प्रमोदवनमा राख्नुभयो। (उत्पत्ति २:१५- १७) यहोवाले आदम र तिनका भावी सन्तानलाई पृथ्वीमा सधैंभरि बाँच्ने आशा दिनुभयो।—भजन ३७:२९; ११५:१६ पढ्नुहोस्।
सुरुमा अदनको बगैंचा मात्रै प्रमोदवन थियो। पहिलो मानव दम्पतीले सन्तान जन्माएर पृथ्वी भर्नुपर्ने थियो। समयको दौडान तिनीहरूले सारा पृथ्वीलाई आफ्नो वशमा पार्नुपर्ने र यसलाई सुन्दर बगैंचा बनाउनुपर्ने थियो। (उत्पत्ति १:२८) पृथ्वी कहिल्यै नाश हुनेछैन। यो सधैं मानवजातिको घर हुनेछ।—भजन १०४:५ पढ्नुहोस्।
२. पृथ्वी अहिले किन सुन्दर बगैंचा जस्तो छैन?
आदम र हव्वाले परमेश्वरको आज्ञा मानेनन्। त्यसैले यहोवाले तिनीहरूलाई बगैंचाबाट निकालिदिनुभयो। सुन्दर बगैंचा अर्थात् प्रमोदवन गुम्यो र यसलाई कुनै पनि मानिसले पुनर्स्थापना गर्न सकेको छैन। बाइबल भन्छ: “पृथ्वी दुष्टहरूको हातमा दिइएको छ।”—अय्यूब ९:२४.—उत्पत्ति ३:२३, २४ पढ्नुहोस्।
यहोवाले मानवजातिको लागि सुरुमा राख्नुभएको उद्देश्य पूरा गर्न के उहाँ असफल हुनुभयो? अहँ! हुनुभएन। उहाँ सर्वशक्तिमान् हुनुहुन्छ। उहाँ कहिल्यै असफल हुनुहुन्न। (यशैया ४५:१८) आफ्नो उद्देश्य अनुरूप नै उहाँले मानिसजातिलाई फेरि प्रमोदवनमा राख्नुहुनेछ।—भजन ३७:११, ३४ पढ्नुहोस्।
३. प्रमोदवन कसरी पुनर्स्थापित हुन्छ?
परमेश्वरद्वारा नियुक्त राजाको रूपमा येशूले शासन गर्दा पृथ्वीमा प्रमोदवन पुनर्स्थापित हुन्छ। आरमागेडोन भनिने युद्धमा येशूले स्वर्गदूतहरूको नेतृत्व लिनुहुनेछ र परमेश्वरका विरोधी सबैलाई नाश गर्नुहुनेछ। त्यसपछि येशूले दुष्ट स्वर्गदूत सैतानलाई १,००० वर्षसम्म कैद गर्नुहुनेछ। परमेश्वरका जनहरू त्यस विनाशबाट बच्नेछन् किनभने येशूले तिनीहरूलाई डोऱ्याउनुहुनेछ र सुरक्षा गर्नुहुनेछ। तिनीहरूले पृथ्वीमा स्थापना हुने प्रमोदवनमा अनन्त जीवनको आनन्द उठाउनेछन्।—प्रकाश २०:१-३; २१:३, ४ पढ्नुहोस्।
४. दुःखकष्टको अन्त कहिले हुन्छ?
पृथ्वीमा भएको दुष्टतालाई परमेश्वरले कहिले नाश गर्नुहुन्छ? अन्त नजिकै छ भनेर चिनाउने “चिन्ह” येशूले दिनुभयो। अहिलेको संसारको अवस्थाले मानिसजातिको अस्तित्वलाई नै खतरामा पारेको छ। यसले हामी “यस युगको आखिरी समय”-मा बाँचिरहेका छौं भनेर देखाउँछ।—मत्ती २४:३, ७-१४, २१, २२ पढ्नुहोस्।
येशूले स्वर्गबाट पृथ्वीमाथि १,००० वर्षसम्म शासन गर्दा उहाँले दुःखकष्ट हटाउनुहुनेछ। (यशैया ९:६, ७; ११:९) त्यसबाहेक उहाँले प्रधान पुजारीको रूपमा पनि काम गर्नुहुनेछ र परमेश्वरलाई प्रेम गर्नेहरूको पाप पखाल्नुहुनेछ। यसरी परमेश्वरले येशूमार्फत रोगबिमार, बुढ्यौली र मृत्यु हटाउनुहुनेछ।—यशैया २५:८; ३३:२४ पढ्नुहोस्।
५. पृथ्वी भविष्यमा प्रमोदवन हुँदा त्यहाँ को बस्नेछ?
तपाईंले राज्यभवनमा परमेश्वरलाई प्रेम गर्ने र उहाँलाई कसरी खुसी पार्ने भनेर सिक्न इच्छुक मानिसहरू भेट्न सक्नुहुन्छ
परमेश्वरका आज्ञा पालन गर्ने मानिसहरू प्रमोदवनमा बस्नेछन्। (१ यूहन्ना २:१७) येशूले आफ्ना अनुयायीहरूलाई नम्र व्यक्तिहरू खोज्न र तिनीहरूलाई परमेश्वरसामु ग्रहणयोग्य हुने तरिका सिकाउन पठाउनुभयो। अहिले यहोवाले भविष्यको प्रमोदवनमा बस्न योग्य हुन लाखौं मानिसलाई तयार पार्दै हुनुहुन्छ। (सपन्याह २:३) यहोवाका साक्षीहरूको राज्यभवनमा मानिसहरूले असल पति अनि असल बुबा बन्ने र असल पत्नी अनि असल आमा बन्ने तरिका सिकिरहेका छन्। छोराछोरी र आमाबाबुहरू सँगसँगै उपासना गर्छन् र सुसमाचारले तिनीहरूको जीवन कसरी सुधार्छ भनेर सिक्छन्।—मीका ४:१-४ पढ्नुहोस्।