सोमबार, जून ९
जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।—मत्ति २४:१३.
अनन्त जीवन पाउन हामी धीरजी हुनै पर्छ। विगतका वफादार सेवकहरूले जस्तै हामीले पनि यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भनेर धीरजी भई पर्खनुपर्छ। (हिब्रू ६:११, १२) बाइबलमा हामीलाई किसानसित तुलना गरिएको छ। (याकु. ५:७, ८) किसानले आफ्नो बालीनाली रोप्न र गोडगाड गर्न धेरै मेहनत गर्छ। तर घाम कहिले लाग्छ वा पानी कहिले पर्छ भनेर थाह नहुने भएकोले उसलाई आफ्नो बाली ठ्याक्कै कहिले बढ्छ भनेर थाह हुँदैन। त्यसैले कटनी गर्ने समय पक्कै आउँछ भन्ने कुरामा भरोसा गर्दै ऊ धीरजी भई पर्खन्छ। त्यसैगरि ‘प्रभु कुन दिन आउनुहुन्छ भनेर हामीलाई थाह छैन’ तैपनि हामी आध्यात्मिक गतिविधिमा व्यस्त रहन्छौँ। (मत्ति २४:४२) यहोवाले आफ्ना प्रतिज्ञाहरू ठीक समयमा पूरा गर्नुहुनेछ भनेर भरोसा गर्छौँ र धैर्य गर्दै पर्खन्छौँ। हामी अधीर भयौँ भने पर्खँदापर्खँदै थाक्न सक्छौँ र सत्यबाट बिस्तारै तर्कन सक्छौँ। अनि क्षणिक आनन्द दिने कुराहरूको पछि लाग्न सक्छौँ। तर धीरजी भयौँ भने हामीले अन्तसम्मै सहन र उद्धार पाउन सक्छौँ।—मिका ७:७. w२३.०८ पृ. २२ अनु. ७
मङ्गलबार, जून १०
खुट्टाका औँलाहरू केही भाग फलाम र केही भाग माटो मिसिएर बनेका थिए।—दानि. २:४२.
दानिएल २:४१-४३ मा गरिएको भविष्यवाणीलाई दानिएल र प्रकाशको किताबका अरू भविष्यवाणीसित तुलना गर्दा यी खुट्टाहरूले एङ्ग्लो-अमेरिकी गठबन्धनलाई बुझाउँछ भन्ने निष्कर्षमा पुग्न सक्छौँ। यस विश्वशक्तिको सन्दर्भमा दानिएलले यसो भने: “त्यो राज्य पनि कुनै पक्षमा बलियो र कुनै पक्षमा कमजोर हुनेछ।” किन कुनै पक्षमा कमजोर हुनेछ? किनभने त्यो विश्वशक्ति फलामजस्तै शक्तिशाली भए पनि गिलो माटोले सङ्केत गर्ने आम मानिसहरूले त्यसको कार्यक्षमतालाई कमजोर बनाइदिन्छन्। दानिएलले अर्थ खोलेको मूर्तिबाट हामी थुप्रै महत्त्वपूर्ण कुरा सिक्न सक्छौँ। पहिलो, एङ्ग्लो-अमेरिकी विश्वशक्तिले विभिन्न तरिकामा आफ्नो शक्ति प्रदर्शन गरेको छ। जस्तै: यसले पहिलो र दोस्रो विश्वयुद्ध जित्न महत्त्वपूर्ण भूमिका खेल्यो। तर यो विश्वशक्ति कमजोर हुँदै गइरहेको छ किनकि यसका नागरिकहरू आपसमा लड्छन् र सरकारको पनि विरोध गर्छन्। दोस्रो, यो गठबन्धन नै अन्तिम विश्वशक्ति हुनेछ। w२३.०८ पृ. १०-११ अनु. १२-१३
बुधबार, जून ११
आपत्मा पर्दा मैले यहोवालाई गुहारेँ, मदतको लागि मैले मेरा परमेश्वरलाई पुकारिरहेँ। उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्नुभयो।—भज. १८:६.
आफूले भोगिरहेको समस्या र परीक्षाले गर्दा कहिलेकाहीँ दाउद निराश हुन्थे। (भज. १८:४, ५) तर यहोवाको न्यानो माया र हेरविचारले तिनलाई स्फूर्ति दिन्थ्यो। यहोवाले निराश भएका आफ्ना ती साथीलाई “हरियो खर्कमा” र “पानीछेउको आराम गर्ने ठाउँमा” डोऱ्याउनुभयो। नतिजास्वरूप दाउदले फेरि बल पाए र उहाँको सेवामा आनन्दित भएर लागिरहन सके। (भज. १८:२८-३२; २३:२) आज पनि परीक्षाहरू आइपर्दा यहोवाको अटल प्रेमले गर्दा नै हामीले सहिरहन सकेका छौँ। (विला. ३:२२; कल. १:११) दाउदको जीवन थुप्रै चोटि खतरामा परेको थियो किनकि तिनका थुप्रै शत्रु थिए र उनीहरू शक्तिशाली थिए। तर यहोवाको प्रेमले गर्दा तिनले सुरक्षित महसुस गरे। हरेक अवस्थामा यहोवा आफ्नो साथमा हुनुहुन्छ भनेर तिनले महसुस गरे, जसले गर्दा तिनले ढाडस पाए। त्यसैले तिनले यस्तो भजन गाए: “[यहोवाले] मेरा सबै डर हटाइदिनुभयो।” (भज. ३४:४) हुनत दाउद कहिलेकाहीँ एकदमै डराए तर यहोवा तिनलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा थाह भएकोले तिनले आफ्नो डरलाई जित्न सके। w२४.०१ पृ. ३० अनु. १५-१७