मङ्गलबार, जून १०
खुट्टाका औँलाहरू केही भाग फलाम र केही भाग माटो मिसिएर बनेका थिए।—दानि. २:४२.
दानिएल २:४१-४३ मा गरिएको भविष्यवाणीलाई दानिएल र प्रकाशको किताबका अरू भविष्यवाणीसित तुलना गर्दा यी खुट्टाहरूले एङ्ग्लो-अमेरिकी गठबन्धनलाई बुझाउँछ भन्ने निष्कर्षमा पुग्न सक्छौँ। यस विश्वशक्तिको सन्दर्भमा दानिएलले यसो भने: “त्यो राज्य पनि कुनै पक्षमा बलियो र कुनै पक्षमा कमजोर हुनेछ।” किन कुनै पक्षमा कमजोर हुनेछ? किनभने त्यो विश्वशक्ति फलामजस्तै शक्तिशाली भए पनि गिलो माटोले सङ्केत गर्ने आम मानिसहरूले त्यसको कार्यक्षमतालाई कमजोर बनाइदिन्छन्। दानिएलले अर्थ खोलेको मूर्तिबाट हामी थुप्रै महत्त्वपूर्ण कुरा सिक्न सक्छौँ। पहिलो, एङ्ग्लो-अमेरिकी विश्वशक्तिले विभिन्न तरिकामा आफ्नो शक्ति प्रदर्शन गरेको छ। जस्तै: यसले पहिलो र दोस्रो विश्वयुद्ध जित्न महत्त्वपूर्ण भूमिका खेल्यो। तर यो विश्वशक्ति कमजोर हुँदै गइरहेको छ किनकि यसका नागरिकहरू आपसमा लड्छन् र सरकारको पनि विरोध गर्छन्। दोस्रो, यो गठबन्धन नै अन्तिम विश्वशक्ति हुनेछ। w२३.०८ पृ. १०-११ अनु. १२-१३
बुधबार, जून ११
आपत्मा पर्दा मैले यहोवालाई गुहारेँ, मदतको लागि मैले मेरा परमेश्वरलाई पुकारिरहेँ। उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्नुभयो।—भज. १८:६.
आफूले भोगिरहेको समस्या र परीक्षाले गर्दा कहिलेकाहीँ दाउद निराश हुन्थे। (भज. १८:४, ५) तर यहोवाको न्यानो माया र हेरविचारले तिनलाई स्फूर्ति दिन्थ्यो। यहोवाले निराश भएका आफ्ना ती साथीलाई “हरियो खर्कमा” र “पानीछेउको आराम गर्ने ठाउँमा” डोऱ्याउनुभयो। नतिजास्वरूप दाउदले फेरि बल पाए र उहाँको सेवामा आनन्दित भएर लागिरहन सके। (भज. १८:२८-३२; २३:२) आज पनि परीक्षाहरू आइपर्दा यहोवाको अटल प्रेमले गर्दा नै हामीले सहिरहन सकेका छौँ। (विला. ३:२२; कल. १:११) दाउदको जीवन थुप्रै चोटि खतरामा परेको थियो किनकि तिनका थुप्रै शत्रु थिए र उनीहरू शक्तिशाली थिए। तर यहोवाको प्रेमले गर्दा तिनले सुरक्षित महसुस गरे। हरेक अवस्थामा यहोवा आफ्नो साथमा हुनुहुन्छ भनेर तिनले महसुस गरे, जसले गर्दा तिनले ढाडस पाए। त्यसैले तिनले यस्तो भजन गाए: “[यहोवाले] मेरा सबै डर हटाइदिनुभयो।” (भज. ३४:४) हुनत दाउद कहिलेकाहीँ एकदमै डराए तर यहोवा तिनलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा थाह भएकोले तिनले आफ्नो डरलाई जित्न सके। w२४.०१ पृ. ३० अनु. १५-१७
बिहीबार, जून १२
दुष्टहरूले फकाउन खोज्दा तिनीहरूको पछि नलाग।—हितो. १:१०.
यहोआसका गलत निर्णयहरूबाट सिक्नुहोस्। प्रधानपुजारी यहोयादाको मृत्युपछि यहोआसले खराब साथीहरू रोजे। (२ इति. २४:१७, १८) तिनले यहुदाका भारदारहरूको कुरा सुन्ने निर्णय गरे। यहोआस तिनीहरूदेखि टाढै रहनुपर्थ्यो किनभने तिनीहरू यहोवालाई प्रेम गर्दैनथे। हुनत यहोआसलाई तिनको फुपूका छोरा जकरियाले सच्याउने कोसिस गरेका थिए तर यहोआसले उनको हत्या गर्न लगाए। (२ इति. २४:२०, २१; मत्ति २३:३५) कत्ति क्रूर अनि मूर्ख कदम! तिनको शासनकालको सुरु-सुरुतिर सबै कुरा राम्रै चलिरहेको थियो। तर दुःखको कुरा, पछि तिनी धर्मत्यागी र हत्यारा भए। पछि गएर तिनका आफ्नै सेवकहरूले तिनको हत्या गरे। (२ इति. २४:२२-२५) तिनले यहोवा र उहाँलाई प्रेम गर्नेहरूको कुरा सुन्न नछोडेको भए तिनको जीवन कत्ति राम्रो हुने थियो! w२३.०९ पृ. ९ अनु. ६