बुधबार, जून ११
आपत्मा पर्दा मैले यहोवालाई गुहारेँ, मदतको लागि मैले मेरा परमेश्वरलाई पुकारिरहेँ। उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्नुभयो।—भज. १८:६.
आफूले भोगिरहेको समस्या र परीक्षाले गर्दा कहिलेकाहीँ दाउद निराश हुन्थे। (भज. १८:४, ५) तर यहोवाको न्यानो माया र हेरविचारले तिनलाई स्फूर्ति दिन्थ्यो। यहोवाले निराश भएका आफ्ना ती साथीलाई “हरियो खर्कमा” र “पानीछेउको आराम गर्ने ठाउँमा” डोऱ्याउनुभयो। नतिजास्वरूप दाउदले फेरि बल पाए र उहाँको सेवामा आनन्दित भएर लागिरहन सके। (भज. १८:२८-३२; २३:२) आज पनि परीक्षाहरू आइपर्दा यहोवाको अटल प्रेमले गर्दा नै हामीले सहिरहन सकेका छौँ। (विला. ३:२२; कल. १:११) दाउदको जीवन थुप्रै चोटि खतरामा परेको थियो किनकि तिनका थुप्रै शत्रु थिए र उनीहरू शक्तिशाली थिए। तर यहोवाको प्रेमले गर्दा तिनले सुरक्षित महसुस गरे। हरेक अवस्थामा यहोवा आफ्नो साथमा हुनुहुन्छ भनेर तिनले महसुस गरे, जसले गर्दा तिनले ढाडस पाए। त्यसैले तिनले यस्तो भजन गाए: “[यहोवाले] मेरा सबै डर हटाइदिनुभयो।” (भज. ३४:४) हुनत दाउद कहिलेकाहीँ एकदमै डराए तर यहोवा तिनलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा थाह भएकोले तिनले आफ्नो डरलाई जित्न सके। w२४.०१ पृ. ३० अनु. १५-१७
बिहीबार, जून १२
दुष्टहरूले फकाउन खोज्दा तिनीहरूको पछि नलाग।—हितो. १:१०.
यहोआसका गलत निर्णयहरूबाट सिक्नुहोस्। प्रधानपुजारी यहोयादाको मृत्युपछि यहोआसले खराब साथीहरू रोजे। (२ इति. २४:१७, १८) तिनले यहुदाका भारदारहरूको कुरा सुन्ने निर्णय गरे। यहोआस तिनीहरूदेखि टाढै रहनुपर्थ्यो किनभने तिनीहरू यहोवालाई प्रेम गर्दैनथे। हुनत यहोआसलाई तिनको फुपूका छोरा जकरियाले सच्याउने कोसिस गरेका थिए तर यहोआसले उनको हत्या गर्न लगाए। (२ इति. २४:२०, २१; मत्ति २३:३५) कत्ति क्रूर अनि मूर्ख कदम! तिनको शासनकालको सुरु-सुरुतिर सबै कुरा राम्रै चलिरहेको थियो। तर दुःखको कुरा, पछि तिनी धर्मत्यागी र हत्यारा भए। पछि गएर तिनका आफ्नै सेवकहरूले तिनको हत्या गरे। (२ इति. २४:२२-२५) तिनले यहोवा र उहाँलाई प्रेम गर्नेहरूको कुरा सुन्न नछोडेको भए तिनको जीवन कत्ति राम्रो हुने थियो! w२३.०९ पृ. ९ अनु. ६
शुक्रबार, जून १३
डराउन छोड।—लुका ५:१०.
प्रेषित पत्रुस वफादार रहिरहनेछन् भनेर येसुलाई थाह थियो। त्यसैले उहाँले दयालुपूर्वक पत्रुसलाई “डराउन छोड” भन्नुभयो। येसुले पत्रुसमा यस्तो भरोसा देखाउनुभएकोले तिनले आफ्नो जीवनमा ठूलो परिवर्तन गरे। पत्रुस र तिनका भाइ अन्द्रियासले माछा मार्ने व्यवसाय छोडे अनि येसुसँगै पूर्ण-समय सेवामा लागे र थुप्रै आशिष् पाए। (मर्कु. १:१६-१८) ख्रिष्टको अनुयायीको रूपमा पत्रुसले थुप्रै रोमाञ्चकारी अनुभव बटुले। येसुले बिरामीहरूलाई निको पार्नुभएको, प्रेतहरूलाई धपाउनुभएको र मरिसकेकाहरूलाई जीवित पार्नुभएको समेत तिनले देखे। (मत्ति ८:१४-१७; मर्कु. ५:३७, ४१, ४२) साथै तिनले भविष्यसूचक दर्शनमा येसुलाई परमेश्वरको राज्यको राजाको रूपमा पनि देखे, जुन दर्शन तिनले कहिल्यै बिर्सेनन्। (मर्कु. ९:१-८; २ पत्रु. १:१६-१८) हो, येसुको अनुयायी नभएको भए पत्रुसले यी कुराहरू कहिल्यै देख्ने थिएनन्। नकारात्मक भावनाहरू हटाउन सकेकोमा र यस्ता आशिष्हरू पाएकोमा तिनी कत्ति खुसी भए होलान्! w२३.०९ पृ. २१ अनु. ४-५