सोमबार, जून २३
पुरुषले आफ्ना बुबा र आमालाई छोड्छ अनि आफ्नी पत्नीसित बस्छ।—उत्प. २:२४.
तपाईँ र तपाईँको जोडीलाई सँगै समय बिताउन मन पर्दैन भने नि? तपाईँ के गर्न सक्नुहुन्छ? हामी आगोको उदाहरण विचार गरौँ। आगो बाल्नेबित्तिकै दन्किहाल्दैन। त्यसको लागि तपाईँले सुरुमा सानो अनि पछि ठूलठूला दाउरा थप्दै जानुपर्छ। त्यसैगरि तपाईँहरूले पनि हरेक दिन एकअर्कासित थोरै समय बिताउनुभए कसो होला? तपाईँहरू दुवैलाई मन पर्ने कुनै काम गर्न सक्नुहुन्छ। (याकु. ३:१८) यसरी सानो सुरुवात गरेर तपाईँहरूले सेलाइसकेको प्रेमलाई फेरि न्यानो बनाउन सक्नुहुन्छ। वैवाहिक सम्बन्धमा एकअर्कालाई आदर गर्नु एकदमै महत्त्वपूर्ण छ। यो आगो बलिरहन चाहिने अक्सिजनजस्तै हो। अक्सिजन भएन भने आगो तुरुन्तै निभ्छ। त्यसैगरि एकअर्कालाई आदर नगर्ने पतिपत्नीबीचको प्रेम पनि तुरुन्तै सेलाउन सक्छ। अर्कोतर्फ, एकअर्कालाई आदर देखाउन सक्दो कोसिस गर्नेहरूको आपसी प्रेम बलियो हुँदै जान्छ। हुनत तपाईँलाई आफ्नो जीवनसाथीलाई आदर देखाइरहेको छु जस्तो लाग्न सक्छ। तर महत्त्वपूर्ण कुरा, तपाईँको जीवनसाथीले आदर पाएको महसुस गरिरहेको छ कि छैन भन्ने हो। w२३.०५ पृ. २२ अनु. ९; पृ. २४-२५ अनु. १४-१५
मङ्गलबार, जून २४
जब चिन्ता र फिक्रीले मलाई छोप्यो, तब तपाईँले मलाई सान्त्वना र दिलासा दिनुभयो।—भज. ९४:१९.
बाइबलमा शत्रुहरूको विरोध वा अन्य दबाबले गर्दा निराश र त्रसित महसुस गरेका वफादार सेवकहरूबारे बताइएको छ। (भज. १८:४; ५५:१, ५) हामीले पनि स्कुलमा, काम गर्ने ठाउँमा वा परिवार अथवा सरकारबाट विरोधको सामना गरिरहेका हुन सक्छौँ। कुनै रोग लाग्दा हामीलाई ‘अब म मर्छु होला’ भनेर डर लाग्न सक्छ। हामीले सानो बालकले जस्तै निस्सहाय महसुस गर्न सक्छौँ। त्यस्तो बेला यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ? उहाँ हामीलाई सान्त्वना र दिलासा दिनुहुन्छ। त्यसैले प्रार्थना गरेर अनि बाइबल पढेर नियमित रूपमा यहोवासित समय बिताउनुपर्छ। (भज. ७७:१, १२-१४) यस्तो बानी विकास गर्नुभएको छ भने तनावपूर्ण अवस्था आइपर्नेबित्तिकै तपाईँले सबैभन्दा पहिला यहोवालाई नै सम्झिनुहुनेछ। आफ्नो डर र चिन्ता-फिक्रीबारे यहोवालाई बताउनुहोस्। बाइबल पढेर उहाँको कुरा सुन्नुहोस् अनि उहाँले दिनुहुने सान्त्वना महसुस गर्नुहोस्।—भज. ११९:२८. w२४.०१ पृ. २४-२५ अनु. १४-१६
बुधबार, जून २५
परमेश्वरले . . . तिमीहरूलाई बलियो बनाउनुहुन्छ अनि तिमीहरूमा इच्छा पैदा गर्नुहुन्छ र त्यो पूरा गर्ने शक्ति पनि दिनुहुन्छ।—फिलि. २:१३.
आफ्नो लक्ष्यसम्म पुग्न हामीसित बलियो इच्छा हुनुपर्छ। यस्तो इच्छाले हामीलाई कडा मेहनत गर्न उत्प्रेरित गर्छ। अनि लक्ष्यसम्म पुग्ने हाम्रो इच्छा जत्ति बलियो हुन्छ, त्यो हासिल गर्ने सम्भावना त्यत्ति नै धेरै हुन्छ।” त्यसोभए आफ्नो इच्छालाई अझ बलियो बनाउन तपाईँ के गर्न सक्नुहुन्छ? इच्छा बढाइदिन प्रार्थना गर्नुहोस्। यहोवाको पवित्र शक्तिले तपाईँमा लक्ष्यसम्म पुग्ने इच्छा पैदा गर्न सक्छ। लक्ष्य राख्नुपर्छ भनेर थाह भएकोले हामी लक्ष्य राख्छौँ होला अनि यो राम्रो कुरा पनि हो। तर हामीसित त्यो हासिल गर्ने इच्छा भने नहुन सक्छ। यहोवाले तपाईँको लागि गरिदिनुभएका कुराहरूमा मनन गर्नुहोस्। (भज. १४३:५) प्रेषित पावलले आफूलाई यहोवाले देखाउनुभएको असीम अनुग्रहमा मनन गरे। यसले तिनलाई यहोवाको सेवामा कडा मेहनत गर्न उत्प्रेरित गऱ्यो। (१ कोरि. १५:९, १०; १ तिमो. १:१२-१४) त्यसैगरि यहोवाले तपाईँको लागि गरिदिनुभएको कुरामा जत्ति धेरै मनन गर्नुहुन्छ, लक्ष्यसम्म पुग्ने तपाईँको इच्छा त्यत्ति नै बलियो हुनेछ।—भज. ११६:१२. w२३.०५ पृ. २७ अनु. ३-५