शुक्रबार, जून ६
कुनै बेला तिमीहरू अन्धकारमा थियौ तर . . . अहिले ज्योतिमा छौ।—एफि. ५:८.
प्रेषित पावलले एफिससमा केही समय बसेर त्यहाँका मानिसहरूलाई सुसमाचार सुनाएका र सिकाएका थिए। (प्रेषि. १९:१, ८-१०; २०:२०, २१) त्यहाँका भाइबहिनीलाई धेरै प्रेम गर्ने भएकोले तिनी उनीहरूलाई यहोवाप्रति वफादार रहन मदत गर्न चाहन्थे। एफिससका ख्रिष्टियनहरू पहिला झूटो धर्म र अन्धविश्वासको दासत्वमा थिए। एफिसस सहर नैतिक रूपमा पतन भइसकेको थियो र निर्लज्ज आचरणमा चुर्लुम्म डुबेको थियो। मानिसहरू सहरका रङ्गमञ्चहरूमा मात्र नभई धार्मिक समारोहहरूमा समेत अश्लील ठट्टा गर्थे। (एफि. ५:३) त्यहाँका धेरैजसो मानिसले “नैतिक चेतना गुमाइसकेका” थिए, जसको शाब्दिक अर्थ “कुनै किसिमको पीडा महसुस नगर्नु” भन्ने हो। (एफि. ४:१७-१९) सही र गलतबारे यहोवाको स्तर सिक्नुअघि कुनै गलत काम गर्दा तिनीहरूलाई अन्तस्करणले घोच्दैन थियो। त्यसैले पावलले “तिनीहरूको दिमाग अन्धकारमा छ अनि परमेश्वरले दिनुहुने जीवनबाट तिनीहरू टाढा भएका छन्” भनेर लेखे। तर एफिससका केही ख्रिष्टियनहरू अन्धकारबाट निस्के। w२४.०३ पृ. २० अनु. २; पृ. २१ अनु. ४-६
शनिबार, जून ७
यहोवामा आशा राख्नेहरूले भने फेरि बल पाउनेछन्। तिनीहरू . . . गल्नेछैनन्।—यसै. ४०:३१.
न्यायकर्ता गिदोन आफ्नो जिम्मेवारी पूरा गर्न धेरै खटिनुपर्थ्यो। मिद्यानीहरू रणभूमिबाट रातको समयमा भाग्दा गिदोनले उनीहरूलाई यिज्रेल बेँसीदेखि यर्दन नदीसम्मै खेदे। (न्याय. ७:२२) के गिदोन यर्दनमै रोकिए? थकित भए तापनि तिनी र तिनका ३०० जना मानिस यर्दन तरेर पारि गए र शत्रुहरूलाई खेदिनै रहे। अन्तमा तिनीहरूले मिद्यानीहरूलाई भेट्टाए र मारे। (न्याय. ८:४-१२) गिदोन यहोवाले बल दिनुहुन्छ भन्ने कुरामा विश्वस्त थिए र उहाँले दिनु पनि भयो। (न्याय. ६:१४, ३४) एकपटक गिदोन र तिनका मानिसहरूले दुई मिद्यानी राजालाई पैदलै खेदिरहेका थिए। ती राजाहरू भने उँटमा भागिरहेका हुन सक्छन्। (न्याय. ८:१२, २१) तर यहोवाको मदत पाएर इस्राएलीहरूले उनीहरूलाई पक्रे र युद्ध जिते। त्यसैगरि एल्डरहरू पनि यहोवामा भर पर्नुपर्छ, जो “कहिल्यै थाक्नुहुन्न न त कहिल्यै गल्नुहुन्छ।” उहाँले तिनीहरूलाई आवश्यक परेको बेला बल दिनुहुनेछ।—यसै. ४०:२८, २९ w२३.०६ पृ. ६ अनु. १४; पृ. ७ अनु. १६
आइतबार, जून ८
[यहोवाले] तिमीहरूलाई छोड्नुहुनेछैन र त्याग्नुहुनेछैन।—व्यव. ३१:६.
जस्तोसुकै परीक्षा आइपरे तापनि हामीले आफ्नो हृदयलाई स्थिर राखिराख्न सक्छौँ। त्यसैले यहोवामा भरोसा राख्नुहोस्। यहोवाको निर्देशनमा भरोसा गर्दा बाराक कसरी सफल भए, विचार गरौँ। युद्ध लड्न इस्राएलीहरूसित न ढाल न त भाला नै थियो। तैपनि यहोवाले तिनीहरूलाई हातहतियारले सुसज्जित कनानी सेनापति सिसराविरुद्ध युद्ध लड्न भन्नुभयो। (न्याय. ५:८) भविष्यवक्ता दबोराले बाराकलाई तल बेँसीमा गएर ९०० रथसहित आएका सिसरासित लड्न भने। बेँसीमा रथहरू तीव्र गतिमा कुद्न सक्ने भएकोले इस्राएलीहरूलाई तिनीहरूसित लड्न निकै गाह्रो हुने थियो। तैपनि बाराकले दबोराको कुरा माने। सिसराको सेना तबोर डाँडाबाट तल ओर्लँदा यहोवाले ठूलो पानी पारिदिनुभयो र सिसराका रथहरू हिलोमा गाडिए अनि यहोवाले बाराकलाई विजयी तुल्याउनुभयो। (न्याय. ४:१-७, १०, १३-१६) हामीले पनि यहोवामा भरोसा राख्यौँ र उहाँले आफ्ना प्रतिनिधिहरूमार्फत दिनुहुने निर्देशनअनुसार चल्यौँ भने उहाँले हामीलाई विजयी तुल्याउनुहुनेछ। w२३.०७ पृ. १९ अनु. १७-१८