सोमबार, जुलाई १४
तिनी बाहिर निस्केर धुरुधुरु रोए।—मत्ति २६:७५.
प्रेषित पत्रुसले आफ्ना कमीकमजोरीहरूसित सङ्घर्ष गरिरहनुपऱ्यो। केही उदाहरण विचार गरौँ। धर्मशास्त्रमा बताइएझैँ मानिसको छोराले दुःख भोग्नु र मारिनु आवश्यक छ भनेर येसुले बताउनुहुँदा पत्रुसले उहाँलाई हप्काए। (मर्कु. ८:३१-३३) पत्रुस र अन्य प्रेषितहरूले बारम्बार आफूहरूमध्ये को ठूलो हो भनेर बहस गरे। (मर्कु. ९:३३, ३४) येसुको मृत्युको अघिल्लो रात पत्रुसले आवेगमा आएर एक जना मानिसको कान च्वाट्टै काटिदिए। (युह. १८:१०) सोही रात तिनी मानिसहरूसित डराए र आफ्नो मित्र येसुलाई चिन्न तीन चोटि इन्कार गरे। (मर्कु. १४:६६-७२) तर पछि तिनी आफ्नो गल्ती सम्झेर धुरुधुरु रोए। येसुले एकदमै निराश भएका पत्रुसलाई त्याग्नुभएन। पुनर्जीवित हुनुभएपछि येसुले पत्रुसलाई उहाँप्रतिको प्रेम फेरि प्रमाणित गर्ने मौका दिनुभयो। उहाँले पत्रुसलाई आफ्ना भेडाहरूको हेरचाह गर्न भन्नुभयो। (युह. २१:१५-१७) पत्रुस उहाँले भन्नुभएजस्तै गर्न तयार भए। त्यसैले पेन्तिकोसको दिन पहिलो पटक पवित्र शक्तिद्वारा अभिषेक हुनेहरूमध्ये तिनी पनि एक थिए। w२३.०९ पृ. २२ अनु. ६-७
मङ्गलबार, जुलाई १५
गोठालोले झैँ मेरा साना भेडाहरूको हेरचाह गर।—युह. २१:१६.
प्रेषित पत्रुसले सङ्गी एल्डरहरूलाई ‘परमेश्वरको बगालको हेरचाह गर’ भन्ने सल्लाह दिए। (१ पत्रु. ५:१-४) तपाईँ एल्डरहरू भाइबहिनीलाई प्रेम गर्नुहुन्छ र तिनीहरूको हेरचाह गर्न चाहनुहुन्छ भनेर हामीले बुझेका छौँ। तर असाध्यै व्यस्त वा थकित भएकोले कहिलेकाहीँ यो जिम्मेवारी पूरा गर्न सक्दिनँ जस्तो तपाईँहरूलाई लाग्ला। त्यसो हो भने तपाईँ के गर्न सक्नुहुन्छ? आफ्नो भावना यहोवालाई पोख्नुहोस्। पत्रुसले यस्तो लेखे: “यदि कसैले सेवा गर्छ भने उसले परमेश्वरले दिनुहुने बलमा भर पर्दै सेवा गरोस्।” (१ पत्रु. ४:११) तपाईँको मण्डलीका भाइबहिनीले यस युगमा समाधान हुन नसक्ने समस्याहरू भोगिरहेका छन् होला। तर यो कुरा कहिल्यै नबिर्सनुहोस्: तपाईँले दिने मदतभन्दा “मुख्य गोठालो” येसुले दिनुहुने मदत कता हो कता धेरै छ! अनि उहाँ अहिले र नयाँ संसारमा पनि त्यसो गर्न सक्नुहुन्छ। तर यहोवा एल्डरहरूले आफ्ना भाइबहिनीलाई प्रेम गरेको, तिनीहरूको हेरचाह गरेको र “बगालको निम्ति उदाहरण” भएको मात्र चाहनुहुन्छ। w२३.०९ पृ. २९-३० अनु. १३-१४
बुधबार, जुलाई १६
बुद्धिमान् मानिसहरूको तर्क व्यर्थ छ भनेर यहोवा परमेश्वरलाई थाह छ।—१ कोरि. ३:२०.
हामीले मानिसको सोचाइ राख्नु हुँदैन। यदि हामीले कुनै मामिलामा मानिसको जस्तै सोचाइ राख्यौँ भने यहोवा र उहाँका स्तरहरूलाई बेवास्ता गर्ने हदसम्म पुग्न सक्छौँ। (१ कोरि. ३:१९) “संसारको बुद्धि”-ले हामीलाई अक्सर यहोवाको नियम उल्लङ्घन गर्न उक्साउँछ। पर्गामम र थिआटिरा मण्डलीका केही ख्रिष्टियनले मूर्तिपूजा र अवैध यौनसम्बन्धप्रति त्यस सहरका मानिसहरूको जस्तै सोचाइ राखेका थिए। अवैध यौनसम्बन्ध राख्नुलाई हल्कासित लिएकोले येसुले दुइटै मण्डलीलाई कडा सल्लाह दिनुभयो। (प्रका. २:१४, २०) आज पनि मानिसहरूले हामीलाई गलत धारणा राख्न दबाब दिन सक्छन्। परिवारका सदस्यहरू र साथीभाइले यहोवाका नीतिनियमहरू एकदमै कडा छन् र ती पालन गर्नुपर्दैन भनेर विश्वास दिलाउन खोज्छन। तिनीहरूले बाइबलका नैतिक स्तरहरू पुरानो भइसके र नैतिक तवरमा स्वच्छ रहनुपर्दैन भनेर बताउन सक्छन्। कहिलेकाहीँ हामीलाई यहोवाले दिनुभएको निर्देशन स्पष्ट छैन जस्तो लाग्न सक्छ। हामी “लेखिएका कुराहरूभन्दा बढ्ता गर्ने” पासोमा पर्न सक्छौँ।—१ कोरि. ४:६. w२३.०७ पृ. १६ अनु. १०-११