आइतबार, जुलाई १३
हेर! म सबै थोक नयाँ बनाउँदै छु।—प्रका. २१:५.
पद ५ को सुरुमा यसो भनिएको छ: “सिंहासनमा बस्नुहुनेले भन्नुभयो।” (प्रका. २१:५क) प्रकाशको किताबमा यहोवा स्वयम्ले बोल्नुभएको तीन वटा विवरण पाउँछौँ, जसमध्ये यो एउटा हो। याद गर्नुहोस्, यो ग्यारेन्टी न त शक्तिशाली स्वर्गदूतले न त फेरि जीवित हुनुभएका येसुले बरु स्वयम् यहोवा परमेश्वरले दिनुभएको हो। त्यसैले यहोवाले यसपछि भन्नुभएको कुरामा हामी पूर्णतया भरोसा गर्न सक्छौँ। किन? किनकि यहोवा “कहिल्यै झूट नबोल्नुहुने परमेश्वर” हुनुहुन्छ। (ति. १:२) त्यसैले प्रकाश २१:५, ६ मा लेखिएका शब्दहरू पक्कै पूरा हुनेछन्। “हेर!” शब्दबारे विचार गर्नुहोस्। “हेर!” भनेर अनुवाद गरिएको ग्रीक शब्द प्रकाशको किताबमा थुप्रै चोटि प्रयोग गरिएको पाउँछौँ। परमेश्वरले त्यसपछि के भन्नुभयो? उहाँले यसो भन्नुभयो: “म सबै थोक नयाँ बनाउँदै छु।” हुनत यहोवाले यी परिवर्तनहरू भविष्यमा गर्नुहुनेछ। तर उहाँ आफ्ना प्रतिज्ञाहरू पूरा हुने कुरामा यत्ति विश्वस्त हुनुहुन्छ कि उहाँ ती कुराहरू पूरा हुन थालिसकेको जस्तो गरी बताउँदै हुनुहुन्छ।—यसै. ४६:१०. w२३.११ पृ. ३-४ अनु. ७-८
सोमबार, जुलाई १४
तिनी बाहिर निस्केर धुरुधुरु रोए।—मत्ति २६:७५.
प्रेषित पत्रुसले आफ्ना कमीकमजोरीहरूसित सङ्घर्ष गरिरहनुपऱ्यो। केही उदाहरण विचार गरौँ। धर्मशास्त्रमा बताइएझैँ मानिसको छोराले दुःख भोग्नु र मारिनु आवश्यक छ भनेर येसुले बताउनुहुँदा पत्रुसले उहाँलाई हप्काए। (मर्कु. ८:३१-३३) पत्रुस र अन्य प्रेषितहरूले बारम्बार आफूहरूमध्ये को ठूलो हो भनेर बहस गरे। (मर्कु. ९:३३, ३४) येसुको मृत्युको अघिल्लो रात पत्रुसले आवेगमा आएर एक जना मानिसको कान च्वाट्टै काटिदिए। (युह. १८:१०) सोही रात तिनी मानिसहरूसित डराए र आफ्नो मित्र येसुलाई चिन्न तीन चोटि इन्कार गरे। (मर्कु. १४:६६-७२) तर पछि तिनी आफ्नो गल्ती सम्झेर धुरुधुरु रोए। येसुले एकदमै निराश भएका पत्रुसलाई त्याग्नुभएन। पुनर्जीवित हुनुभएपछि येसुले पत्रुसलाई उहाँप्रतिको प्रेम फेरि प्रमाणित गर्ने मौका दिनुभयो। उहाँले पत्रुसलाई आफ्ना भेडाहरूको हेरचाह गर्न भन्नुभयो। (युह. २१:१५-१७) पत्रुस उहाँले भन्नुभएजस्तै गर्न तयार भए। त्यसैले पेन्तिकोसको दिन पहिलो पटक पवित्र शक्तिद्वारा अभिषेक हुनेहरूमध्ये तिनी पनि एक थिए। w२३.०९ पृ. २२ अनु. ६-७
मङ्गलबार, जुलाई १५
गोठालोले झैँ मेरा साना भेडाहरूको हेरचाह गर।—युह. २१:१६.
प्रेषित पत्रुसले सङ्गी एल्डरहरूलाई ‘परमेश्वरको बगालको हेरचाह गर’ भन्ने सल्लाह दिए। (१ पत्रु. ५:१-४) तपाईँ एल्डरहरू भाइबहिनीलाई प्रेम गर्नुहुन्छ र तिनीहरूको हेरचाह गर्न चाहनुहुन्छ भनेर हामीले बुझेका छौँ। तर असाध्यै व्यस्त वा थकित भएकोले कहिलेकाहीँ यो जिम्मेवारी पूरा गर्न सक्दिनँ जस्तो तपाईँहरूलाई लाग्ला। त्यसो हो भने तपाईँ के गर्न सक्नुहुन्छ? आफ्नो भावना यहोवालाई पोख्नुहोस्। पत्रुसले यस्तो लेखे: “यदि कसैले सेवा गर्छ भने उसले परमेश्वरले दिनुहुने बलमा भर पर्दै सेवा गरोस्।” (१ पत्रु. ४:११) तपाईँको मण्डलीका भाइबहिनीले यस युगमा समाधान हुन नसक्ने समस्याहरू भोगिरहेका छन् होला। तर यो कुरा कहिल्यै नबिर्सनुहोस्: तपाईँले दिने मदतभन्दा “मुख्य गोठालो” येसुले दिनुहुने मदत कता हो कता धेरै छ! अनि उहाँ अहिले र नयाँ संसारमा पनि त्यसो गर्न सक्नुहुन्छ। तर यहोवा एल्डरहरूले आफ्ना भाइबहिनीलाई प्रेम गरेको, तिनीहरूको हेरचाह गरेको र “बगालको निम्ति उदाहरण” भएको मात्र चाहनुहुन्छ। w२३.०९ पृ. २९-३० अनु. १३-१४