सोमबार, जुलाई ७
रमाउँदै यहोवाको सेवा गर। खुसीले कराउँदै उहाँसामु आओ।—भज. १००:२.
यहोवा हामीले आनन्दित हुँदै राजीखुसीले उहाँको सेवा गरेको चाहनुहुन्छ। (२ कोरि. ९:७) तर लक्ष्य हासिल गर्ने इच्छा नै छैन भने पनि के हामीले प्रयास गरिरहनुपर्छ? प्रेषित पावलको उदाहरण विचार गरौँ। तिनले यसो भने: “म आफ्नो शरीरलाई कडा अनुशासनमा राख्छु र त्यसलाई दास बनाएर राख्छु।” (१ कोरि. ९:२५-२७, फुटनोट) कहिलेकाहीँ पावललाई यहोवाको स्तरअनुसार गरूँ जस्तो नलागे तापनि तिनले सही कुरा गर्न आफूलाई बाध्य तुल्याए। के यहोवाले पावलको सेवा स्विकार्नुभयो? पक्कै पनि! उहाँले पावललाई तिनले गरेको प्रयासको लागि इनाम दिनुभयो। (२ तिमो. ४:७, ८) कहिलेकाहीँ हामीलाई कुनै आध्यात्मिक गतिविधिमा भाग लिन मन लाग्दैन होला तर यहोवाप्रतिको प्रेमले गर्दा हामी त्यसमा भाग लिने प्रयास गर्छौँ। यसरी इच्छा नभए पनि लक्ष्य हासिल गर्न अघि बढेको देख्दा यहोवा खुसी हुनुहुन्छ। प्रेषित पावललाई जस्तै यहोवाले हाम्रो प्रयासमाथि पनि आशिष् दिनुहुनेछ। (भज. १२६:५) उहाँको आशिष् पाएको महसुस गर्दा हामीमा लक्ष्यसम्म पुग्ने इच्छा जाग्न सक्छ। w२३.०५ पृ. २९ अनु. ९-१०
मङ्गलबार, जुलाई ८
यहोवा परमेश्वरको दिन . . . आउँदै छ।—१ थिस्स. ५:२.
प्रेषित पावलले यहोवाको दिनमा नबच्नेहरूलाई निदाउने मानिसहरूसित तुलना गरे। निदाउने व्यक्तिहरूलाई समय बितेको पत्तै हुँदैन अनि आफूवरपर के भइरहेको छ भनेर पनि थाह हुँदैन। त्यसैले कुनै महत्त्वपूर्ण घटना घट्दा तिनीहरू आवश्यक कदम चाल्न सक्दैनन्। आज धेरैजसो मानिस आध्यात्मिक रूपमा निदाएका छन्। (रोमी ११:८) तिनीहरू “अन्तको दिन”-का चिन्हहरू र महासङ्कष्ट नजिकै छ भन्ने प्रमाणहरूलाई बेवास्ता गर्छन्। (२ पत्रु. ३:३, ४) तर जागा रहनू भन्ने सल्लाह पालन गर्नु अहिले हाम्रो समयमा झनै महत्त्वपूर्ण भएको छ। (१ थिस्स. ५:६) हामी किन शान्त रहनुपर्छ? किनकि हामी राजनैतिक वा सामाजिक विषयहरूमा मुछिनदेखि अलग रहन चाहन्छौँ। यहोवाको दिन झन्झनै नजिकिँदै जाँदा यस्ता कुराहरूमा मुछिने दबाब पनि बढ्दै जानेछ। तर यस्तो दबाब आइपर्दा के गर्ने भनेर चिन्ता गर्नुपर्दैन किनकि पवित्र शक्तिले हामीलाई शान्त रहन र सही निर्णय गर्न मदत गर्नेछ।—लुका १२:११, १२. w२३.०६ पृ. १० अनु. ६-७
बुधबार, जुलाई ९
हे ब्रह्माण्डका मालिक यहोवा! कृपया मलाई सम्झनुहोस् र मलाई बल दिनुहोस्।—न्याय. १६:२८.
सिमसोन भन्ने नाम सुन्नेबित्तिकै तपाईँको दिमागमा के आउँछ? सायद एकदमै बलियो व्यक्तिको चित्र आउँछ होला। हुन पनि सिमसोन त्यस्तै थिए। तर एकचोटि तिनले गलत निर्णय गरे, जसले गर्दा एकदमै पीडादायी नतिजा भोग्नुपऱ्यो। तैपनि यहोवाले तिनको गल्तीमा नभई तिनले उहाँको सेवामा गरेका कामहरूमा ध्यान दिनुभयो अनि तिनको उदाहरण हाम्रो फाइदाको लागि बाइबलमा लेख्न लगाउनुभयो। यहोवाले इस्राएलीहरूलाई मदत गर्न सिमसोनलाई चलाउनुभयो। सिमसोनको मृत्यु भएको सयौँ वर्षपछि यहोवाले प्रेषित पावललाई उल्लेखनीय विश्वास देखाएका पुरुषहरूको सूचीमा सिमसोनको नाम पनि लेख्न लगाउनुभयो। (हिब्रू ११:३२-३४) सिमसोनको उदाहरणबाट हामी प्रोत्साहन पाउन सक्छौँ। चुनौतीपूर्ण अवस्थाहरूमा समेत तिनी यहोवामा भर परे। सिमसोनको उदाहरणबाट हामी प्रोत्साहन पाउन सक्छौँ र व्यावहारिक पाठहरू सिक्न सक्छौँ। w२३.०९ पृ. २ अनु. १-२