मङ्गलबार, जुलाई ८
यहोवा परमेश्वरको दिन . . . आउँदै छ।—१ थिस्स. ५:२.
प्रेषित पावलले यहोवाको दिनमा नबच्नेहरूलाई निदाउने मानिसहरूसित तुलना गरे। निदाउने व्यक्तिहरूलाई समय बितेको पत्तै हुँदैन अनि आफूवरपर के भइरहेको छ भनेर पनि थाह हुँदैन। त्यसैले कुनै महत्त्वपूर्ण घटना घट्दा तिनीहरू आवश्यक कदम चाल्न सक्दैनन्। आज धेरैजसो मानिस आध्यात्मिक रूपमा निदाएका छन्। (रोमी ११:८) तिनीहरू “अन्तको दिन”-का चिन्हहरू र महासङ्कष्ट नजिकै छ भन्ने प्रमाणहरूलाई बेवास्ता गर्छन्। (२ पत्रु. ३:३, ४) तर जागा रहनू भन्ने सल्लाह पालन गर्नु अहिले हाम्रो समयमा झनै महत्त्वपूर्ण भएको छ। (१ थिस्स. ५:६) हामी किन शान्त रहनुपर्छ? किनकि हामी राजनैतिक वा सामाजिक विषयहरूमा मुछिनदेखि अलग रहन चाहन्छौँ। यहोवाको दिन झन्झनै नजिकिँदै जाँदा यस्ता कुराहरूमा मुछिने दबाब पनि बढ्दै जानेछ। तर यस्तो दबाब आइपर्दा के गर्ने भनेर चिन्ता गर्नुपर्दैन किनकि पवित्र शक्तिले हामीलाई शान्त रहन र सही निर्णय गर्न मदत गर्नेछ।—लुका १२:११, १२. w२३.०६ पृ. १० अनु. ६-७
बुधबार, जुलाई ९
हे ब्रह्माण्डका मालिक यहोवा! कृपया मलाई सम्झनुहोस् र मलाई बल दिनुहोस्।—न्याय. १६:२८.
सिमसोन भन्ने नाम सुन्नेबित्तिकै तपाईँको दिमागमा के आउँछ? सायद एकदमै बलियो व्यक्तिको चित्र आउँछ होला। हुन पनि सिमसोन त्यस्तै थिए। तर एकचोटि तिनले गलत निर्णय गरे, जसले गर्दा एकदमै पीडादायी नतिजा भोग्नुपऱ्यो। तैपनि यहोवाले तिनको गल्तीमा नभई तिनले उहाँको सेवामा गरेका कामहरूमा ध्यान दिनुभयो अनि तिनको उदाहरण हाम्रो फाइदाको लागि बाइबलमा लेख्न लगाउनुभयो। यहोवाले इस्राएलीहरूलाई मदत गर्न सिमसोनलाई चलाउनुभयो। सिमसोनको मृत्यु भएको सयौँ वर्षपछि यहोवाले प्रेषित पावललाई उल्लेखनीय विश्वास देखाएका पुरुषहरूको सूचीमा सिमसोनको नाम पनि लेख्न लगाउनुभयो। (हिब्रू ११:३२-३४) सिमसोनको उदाहरणबाट हामी प्रोत्साहन पाउन सक्छौँ। चुनौतीपूर्ण अवस्थाहरूमा समेत तिनी यहोवामा भर परे। सिमसोनको उदाहरणबाट हामी प्रोत्साहन पाउन सक्छौँ र व्यावहारिक पाठहरू सिक्न सक्छौँ। w२३.०९ पृ. २ अनु. १-२
बिहीबार, जुलाई १०
आफ्नो निवेदन परमेश्वरसमक्ष जाहेर गर।—फिलि. ४:६.
यहोवालाई नियमित रूपमा मनैदेखि प्रार्थना गर्दा हामी सहनशील हुन सक्छौँ। (१ थिस्स. ५:१७) सायद तपाईँले अहिले कुनै कठिन परीक्षा भोग्नुपरेको छैन होला। तैपनि निराश हुँदा, अलमलमा पर्दा वा दोधारमा पर्दा के तपाईँ यहोवाको डोऱ्याइ खोज्नुहुन्छ? तपाईँ अहिले सानातिना चुनौतीहरू आइपर्दा यहोवाको मदत खोज्ने गर्नुहुन्छ भने भविष्यमा अझै ठूला चुनौतीहरू आइपर्दा तपाईँले विनाहिचकिचाहट उहाँलाई पुकार्नुहुनेछ। अनि तपाईँलाई कहिले र कसरी मदत गर्ने भनेर यहोवा जान्नुहुन्छ भन्ने कुरामा तपाईँ विश्वस्त हुनुहुनेछ। (भज. २७:१, ३) हामीले अहिले वफादार भई परीक्षाहरू सह्यौँ भने महासङ्कष्टमा पनि सहनशील हुने सक्ने सम्भावना धेरै हुनेछ। (रोमी ५:३) हामी किन यसो भन्न सक्छौँ? थुप्रै भाइबहिनीले प्रत्येक चोटि विश्वासको परीक्षा सहँदा त्यसले अर्को चुनौती सहन मदत गरेको अनुभव गरेका छन्। सहनशीलताले तिनीहरूलाई खारिन मदत गरेको छ। यहोवा मदत गर्न तयार र इच्छुक हुनुहुन्छ भन्ने कुरामा तिनीहरूको विश्वास अझ बलियो भएको छ। अनि यस्तो विश्वासले अर्को परीक्षा सहन मदत गरेको छ।—याकु. १:२-४. w२३.०७ पृ. ३ अनु. ७-८