बिहीबार, सेप्टेम्बर ४
त्यहाँ एउटा मूलबाटो हुनेछ; त्यसलाई पवित्र मार्ग भनिनेछ।—यसै. ३५:८.
बेबिलोनबाट मातृभूमि फर्कने यहुदीहरू परमेश्वरको निम्ति “एक पवित्र जाति” हुनुपर्थ्यो। (व्यव. ७:६) तर यसको मतलब तिनीहरूले यहोवालाई खुसी तुल्याउन कुनै परिवर्तन नै गर्नुपर्दैन भन्ने त होइन। धेरैजसो यहुदीको जन्म बेबिलोनमा भएको थियो। तिनीहरूको सोचाइ अनि मूल्यमान्यता धेरै हदसम्म बेबिलोनीहरूको जस्तै भइसकेको हुनुपर्छ। यहुदीहरूको पहिलो समूह इस्राएलमा फर्केको ६९ वर्षपछि इस्राएलमै जन्मेका सन्तानले यहुदी भाषा बोल्न समेत नसिकेको कुरा थाह पाउँदा त राज्यपाल नहेम्याह तीनछक परे। (व्यव. ६:६, ७; नहे. १३:२३, २४) परमेश्वरको वचन मुख्यतः हिब्रू भाषामा लेखिएको थियो। ती केटाकेटीले हिब्रू भाषा नै बुझ्दैनथे भने तिनीहरूले कसरी यहोवालाई प्रेम गर्न र उहाँको उपासना गर्न सिक्न सक्थे र? (एज्रा १०:३, ४४) त्यसैले ती यहुदीहरूले ठूला परिवर्तनहरू गर्नुपर्थ्यो। यसो गर्न इस्राएलमा तिनीहरूलाई अझै सजिलो हुने थियो किनभने त्यहाँ शुद्ध उपासना क्रमिक रूपमा पुनर्स्थापित हुँदै थियो।—नहे. ८:८, ९. w२३.०५ पृ. १५ अनु. ६-७
शुक्रबार, सेप्टेम्बर ५
लड्न लागेका सबैलाई यहोवा सहारा दिनुहुन्छ अनि झुकेका सबैलाई उठाउनुहुन्छ।—भज. १४५:१४.
हाम्रो इच्छा जति नै बलियो भए पनि वा हामी अनुशासित भए पनि हाम्रो लक्ष्यमा बाधा आइपर्न सक्छ। जस्तै: “चिताउँदै नचिताएको घटना”-ले गर्दा हाम्रो समय र शक्ति खाइदिन सक्छ। यसले गर्दा आफ्नो लक्ष्य हासिल गर्न समय नै नहुन सक्छ। (उप. ९:११) कुनै कठिनाइको सामना गर्नुपर्दा हामी निराश हुन सक्छौँ र हामीमा कुनै बल नै बाँकी नहुन सक्छ। (हितो. २४:१०) त्रुटिपूर्ण भएकोले हामीबाट गल्तीहरू हुन्छन्। यसले गर्दा पनि हामीलाई लक्ष्यसम्म पुग्न अझै गाह्रो हुन सक्छ। (रोमी ७:२३) अथवा हामी एकदमै थकित हुन सक्छौँ। (मत्ति २६:४३) हामी यस्ता बाधाहरूलाई कसरी पन्छ्याउन सक्छौँ? लक्ष्यमा बाधा आइपर्दैमा तपाईँ असफल हुनुभयो भन्ने होइन। हामीलाई विभिन्न समस्या वा कठिनाइले लडाउन सक्छ भनी बाइबल बताउँछ। तर हामी फेरि उठ्न सक्छौँ भनेर पनि बाइबल बताउँछ। हो, बाधाहरूको बाबजुद अघि बढ्दा तपाईँ यहोवालाई खुसी बनाउन चाहनुहुन्छ भनेर प्रस्ट हुन्छ। यसरी तपाईँ अघि बढिरहेको देख्दा यहोवालाई कत्ति खुसी लाग्छ होला! w२३.०५ पृ. ३० अनु. १४-१५
शनिबार, सेप्टेम्बर ६
‘बगालको निम्ति उदाहरण बन्नुहोस्।’—१ पत्रु. ५:३.
अग्रगामी सेवा गर्दा जवान पुरुषहरूले थरीथरीका मानिसहरूसित मिलेर काम गर्न सिक्न सक्छन्। यसले तिनीहरूलाई बुद्धिमानीपूर्वक पैसा खर्च गर्न र आम्दानीभन्दा धेरै खर्च नगर्न पनि सिकाउँछ। (फिलि. ४:११-१३) पूर्ण-समय सेवा सुरु गर्नुअघि सहायक अग्रगामी सेवा गर्नु बेस हो। यसरी सहायक अग्रगामी सेवा गरेकाहरू नियमित अग्रगामी सेवाको लागि तयार हुन सकेका छन्। अग्रगामी सेवाले पूर्ण-समय सेवाका अरू ढोकाहरू पनि खोल्छ। जस्तै: निर्माण सेवा, बेथेल सेवा। ख्रिष्टियन पुरुषहरूले एल्डरको रूपमा मण्डलीका दाजुभाइ दिदीबहिनीको सेवा गर्ने लक्ष्य राख्नुपर्छ। एल्डरको रूपमा सेवा गर्न अघि बढिरहेका पुरुषहरूले ‘असल काम गर्न चाहेका हुन्छन्’ भनेर बाइबल बताउँछ। (१ तिमो. ३:१) सर्वप्रथम, भाइहरू सहायक सेवकको रूपमा सेवा गर्न योग्य हुनुपर्छ। सहायक सेवकहरूले एल्डरहरूलाई भाइबहिनीको ख्याल राख्न विभिन्न व्यावहारिक तरिकामा सघाउँछन्। एल्डर अनि सहायक सेवकहरू दुवैले नम्र भई मण्डलीका भाइबहिनीको सेवा गर्छन् र जोसका साथ सुसमाचार सुनाउने काममा भाग लिन्छन्। w२३.१२ पृ. २८ अनु. १४-१६