शुक्रबार, सेप्टेम्बर ५
लड्न लागेका सबैलाई यहोवा सहारा दिनुहुन्छ अनि झुकेका सबैलाई उठाउनुहुन्छ।—भज. १४५:१४.
हाम्रो इच्छा जति नै बलियो भए पनि वा हामी अनुशासित भए पनि हाम्रो लक्ष्यमा बाधा आइपर्न सक्छ। जस्तै: “चिताउँदै नचिताएको घटना”-ले गर्दा हाम्रो समय र शक्ति खाइदिन सक्छ। यसले गर्दा आफ्नो लक्ष्य हासिल गर्न समय नै नहुन सक्छ। (उप. ९:११) कुनै कठिनाइको सामना गर्नुपर्दा हामी निराश हुन सक्छौँ र हामीमा कुनै बल नै बाँकी नहुन सक्छ। (हितो. २४:१०) त्रुटिपूर्ण भएकोले हामीबाट गल्तीहरू हुन्छन्। यसले गर्दा पनि हामीलाई लक्ष्यसम्म पुग्न अझै गाह्रो हुन सक्छ। (रोमी ७:२३) अथवा हामी एकदमै थकित हुन सक्छौँ। (मत्ति २६:४३) हामी यस्ता बाधाहरूलाई कसरी पन्छ्याउन सक्छौँ? लक्ष्यमा बाधा आइपर्दैमा तपाईँ असफल हुनुभयो भन्ने होइन। हामीलाई विभिन्न समस्या वा कठिनाइले लडाउन सक्छ भनी बाइबल बताउँछ। तर हामी फेरि उठ्न सक्छौँ भनेर पनि बाइबल बताउँछ। हो, बाधाहरूको बाबजुद अघि बढ्दा तपाईँ यहोवालाई खुसी बनाउन चाहनुहुन्छ भनेर प्रस्ट हुन्छ। यसरी तपाईँ अघि बढिरहेको देख्दा यहोवालाई कत्ति खुसी लाग्छ होला! w२३.०५ पृ. ३० अनु. १४-१५
शनिबार, सेप्टेम्बर ६
‘बगालको निम्ति उदाहरण बन्नुहोस्।’—१ पत्रु. ५:३.
अग्रगामी सेवा गर्दा जवान पुरुषहरूले थरीथरीका मानिसहरूसित मिलेर काम गर्न सिक्न सक्छन्। यसले तिनीहरूलाई बुद्धिमानीपूर्वक पैसा खर्च गर्न र आम्दानीभन्दा धेरै खर्च नगर्न पनि सिकाउँछ। (फिलि. ४:११-१३) पूर्ण-समय सेवा सुरु गर्नुअघि सहायक अग्रगामी सेवा गर्नु बेस हो। यसरी सहायक अग्रगामी सेवा गरेकाहरू नियमित अग्रगामी सेवाको लागि तयार हुन सकेका छन्। अग्रगामी सेवाले पूर्ण-समय सेवाका अरू ढोकाहरू पनि खोल्छ। जस्तै: निर्माण सेवा, बेथेल सेवा। ख्रिष्टियन पुरुषहरूले एल्डरको रूपमा मण्डलीका दाजुभाइ दिदीबहिनीको सेवा गर्ने लक्ष्य राख्नुपर्छ। एल्डरको रूपमा सेवा गर्न अघि बढिरहेका पुरुषहरूले ‘असल काम गर्न चाहेका हुन्छन्’ भनेर बाइबल बताउँछ। (१ तिमो. ३:१) सर्वप्रथम, भाइहरू सहायक सेवकको रूपमा सेवा गर्न योग्य हुनुपर्छ। सहायक सेवकहरूले एल्डरहरूलाई भाइबहिनीको ख्याल राख्न विभिन्न व्यावहारिक तरिकामा सघाउँछन्। एल्डर अनि सहायक सेवकहरू दुवैले नम्र भई मण्डलीका भाइबहिनीको सेवा गर्छन् र जोसका साथ सुसमाचार सुनाउने काममा भाग लिन्छन्। w२३.१२ पृ. २८ अनु. १४-१६
आइतबार, सेप्टेम्बर ७
जब तिनी सानै थिए—आफ्ना पुर्खा दाउदका परमेश्वरको खोजी गर्न थाले।—२ इति. ३४:३.
यहोवाको खोजी गर्न थाल्दा राजा योसियाह १६ वर्षका थिए। तिनी यहोवा र उहाँको इच्छाबारे सिक्न चाहन्थे। तर यी जवान राजाको जीवन सजिलो भने थिएन। त्यतिबेला थुप्रै मानिस झूटो देवीदेवताको उपासना गर्थे। त्यसैले तिनीहरूलाई रोक्न योसियाह साहसी हुनुपर्थ्यो। अनि तिनले साँच्चै साहस देखाए! बीस वर्ष नपुग्दै तिनले यहुदा र यरुसलेमबाट झूटो उपासना हटाउन थाले। (२ इति. ३४:१, २) तपाईँ कलिलै उमेरको हुनुहुन्छ भने पनि योसियाहले जस्तै यहोवा र उहाँका गुणहरूबारे अझ धेरै सिक्ने छनौट गर्न सक्नुहुन्छ। यसो गर्दा तपाईँ आफ्नो जीवन उहाँलाई समर्पण गर्न उत्प्रेरित हुनुहुनेछ। समर्पण गरेपछि तपाईँले कसरी जीवन बिताउनुपर्छ? लुक भाइले १४ वर्षको उमेरमा बप्तिस्मा गरे। तिनले यहोवालाई आफ्नो जीवन समर्पण गरेको दिन यसो भने: “अबदेखि म यहोवाको सेवालाई पहिलो स्थान दिन्छु र उहाँलाई खुसी बनाउने कोसिस गर्छु।” (मर्कु. १२:३०) तपाईँ पनि यस्तै गर्न इच्छुक हुनुभयो भने त्यो तपाईँको लागि आशिष् साबित हुनेछ! w२३.०९ पृ. ११ अनु. १२-१३