गन्ती
३६ गिलाद, जो युसुफको घरानाका मनस्सेका नाति अनि माकिरका छोरा थिए,+ तिनको वंशका नाइकेहरू मोसा र इस्राएलका कुलनायकहरूकहाँ आए। २ अनि तिनीहरूले यसो भने: “सबै इस्राएलीलाई तिनीहरूले पैतृक सम्पत्तिको रूपमा पाउने जमिन तिनीहरूको कुलअनुसार गोला हालेर बाँडिदिनू+ भनी यहोवा परमेश्वरले हजुरलाई आज्ञा दिनुभएको थियो अनि हाम्रा दाइ सलोफादको पैतृक सम्पत्ति तिनका छोरीहरूलाई बाँडिदिनू भनेर पनि यहोवा परमेश्वरले भन्नुभएको थियो।+ ३ तर तिनीहरूले अर्कै कुलका पुरुषहरूसित विवाह गरे भने तिनीहरूको पैतृक सम्पत्ति ती पुरुषहरूको कुलले पाउनेछ। अनि गोला हालेर पैतृक सम्पत्तिको रूपमा हामीलाई दिइएको जमिन हाम्रो कुलले गुमाउनुपर्नेछ। ४ साथै इस्राएलीहरूको स्वर्णवर्ष+ आएपछि ती स्त्रीहरूले पैतृक सम्पत्तिको रूपमा पाएको जमिन तिनीहरूले विवाह गरेर गएको कुलले सदाको लागि पाउनेछ। यसरी तिनीहरूले पैतृक सम्पत्तिको रूपमा पाएको भाग हाम्रा पितापुर्खाको कुलबाट गुम्नेछ।”
५ यहोवा परमेश्वरको आदेश पाइसकेपछि मोसाले इस्राएलीहरूलाई यसो भने: “युसुफको सन्तानको कुलले भनेको कुरा ठीकै हो। ६ त्यसैले यहोवा परमेश्वरले सलोफादका छोरीहरूलाई यस्तो आज्ञा दिनुभएको छ: ‘तिनीहरूले आफ्नो इच्छाअनुसार जोकोहीसँग पनि विवाह गर्न पाउँछन् तर तिनीहरूले विवाह गर्ने पुरुष तिनीहरूकै बुबाको कुलको कुनै परिवारबाट हुनुपर्छ। ७ इस्राएलीहरूको एउटा कुलले पैतृक सम्पत्तिको रूपमा पाएको जमिन अर्को कुलमा नजाओस्। इस्राएलीहरूको हरेक कुलले पाएको पैतृक सम्पत्ति तिनीहरूको बुबाकै कुलमा रहोस्। ८ इस्राएली कुलहरूमा पैतृक सम्पत्ति पाउने छोरीमान्छेले पछि आफ्नै बुबाको कुलको पुरुषसित विवाह गरोस्।+ यसरी हरेक इस्राएली कुलले आफ्नो बुबाको कुलको पैतृक सम्पत्ति सुरक्षित राख्न सक्नेछ। ९ एउटा कुलले पैतृक सम्पत्तिको रूपमा पाएको जमिन अर्को कुलमा नजाओस्। किनभने इस्राएलका हरेक कुलले आफ्नो पैतृक सम्पत्ति आफ्नै कुलभित्र राख्नुपर्छ।’”
१० सलोफादका छोरीहरूले यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै गरे।+ ११ सलोफादका छोरीहरू+ महलाह, तिर्जाह, होग्लाह, मिल्काह र नुहले आफ्नो बुबाका दाजुभाइका छोराहरूसितै विवाह गरे। १२ तिनीहरूले पैतृक सम्पत्तिको रूपमा पाएको जमिन तिनीहरूको बुबाकै कुलमा रहोस् भनेर तिनीहरूले युसुफको छोरा मनस्सेका सन्तानका परिवारभित्रै विवाह गरे।
१३ यरिहो सहरको वारिपट्टि अर्थात् यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा छँदा+ यहोवा परमेश्वरले इस्राएलीहरूलाई मोसामार्फत दिनुभएको आज्ञा तथा सुनाउनुभएको फैसला यी नै हुन्।