प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt न्यायकर्ता १:१-२१:२५
  • न्यायकर्ता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • न्यायकर्ता
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
न्यायकर्ता

न्यायकर्ता

१ यहोसुको मृत्युपछि+ इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई सोधे:+ “कनानीहरूसित लड्‌न सबैभन्दा पहिला कुनचाहिँ कुल जानु ठीक होला?” २ यहोवा परमेश्‍वरले यस्तो जवाफ दिनुभयो: “यहुदाको कुल जाओस्‌।+ हेर! म त्यो देश यहुदाको कुललाई दिनेछु।”* ३ तब यहुदाको कुलका मानिसहरूले आफ्ना दाजुभाइ सिमियोनको कुलका मानिसहरूलाई भने: “हाम्रो भागमा परेको इलाकाबाट कनानीहरूलाई खेद्‌न हामीसँगै आओ।+ अनि हामी पनि तिमीहरूको भागमा परेको इलाकामा तिमीहरूसँगै जानेछौँ।” त्यसपछि सिमियोनको कुल यहुदाको कुलसँगै गयो।

४ यहुदाको कुल लडाइँ गर्न गयो। यहोवा परमेश्‍वरले कनानी र परिज्जीहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो+ र तिनीहरूले बेजेकमा १० हजार पुरुषलाई हराए। ५ तिनीहरूले बेजेकमा अदोनि-बेजेकलाई भेटे र त्यहीँ तिनीसित लडाइँ गरे अनि कनानी+ र परिज्जीहरूलाई+ हराए। ६ अदोनि-बेजेक भने भागे तर तिनीहरूले तिनलाई खेदेर पक्रे र तिनको हातखुट्टाको बुढीऔँला काटिदिए। ७ अनि अदोनि-बेजेकले भने: “मैले ७० जना राजाको हातखुट्टाको बुढीऔँला काटिदिएको थिएँ र तिनीहरू मेरो टेबुलमुनि खसेको खानेकुरा टिपेर खाने गर्थे। मैले तिनीहरूलाई जसो गरेँ, परमेश्‍वरले पनि मलाई त्यसै गर्नुभएको छ।” त्यसपछि तिनीहरूले अदोनि-बेजेकलाई यरुसलेम ल्याए+ र तिनी त्यहीँ मरे।

८ यहुदाको कुलका पुरुषहरूले यरुसलेमविरुद्ध लडाइँ गरेर+ त्यसलाई कब्जा गरे। अनि तिनीहरूले त्यहाँका मानिसहरूलाई तरबारले मारेर सहरमा आगो लगाइदिए। ९ त्यसपछि यहुदाको कुलका पुरुषहरू पहाडी इलाकामा, नेगेबमा र सेफेलाहमा+ बसोबास गर्ने कनानीहरूसँग लडाइँ गर्न गए। १० तिनीहरूले हेब्रोनमा बसोबास गर्ने कनानीहरूसँग लडाइँ गरे अनि सेसै, अहिमन र तल्मैलाई मारे।+ (हेब्रोनको पुरानो नाम किर्यथ-अर्बा थियो।)

११ त्यहाँबाट तिनीहरू दबिरका बासिन्दाहरूसित लडाइँ गर्न गए।+ (दबिरको पुरानो नाम किर्यथ-सेफेर थियो।)+ १२ अनि कालेबले+ भने: “जसले किर्यथ-सेफेरलाई आक्रमण गरेर त्यसलाई कब्जा गर्छ, उसलाई म मेरी छोरी अक्साह दिनेछु।”+ १३ तब कालेबका भाइ केनजका छोरा+ ओथ्निएलले+ किर्यथ-सेफेर कब्जा गरे। त्यसैले कालेबले आफ्नी छोरी अक्साहको विवाह ओथ्निएलसितै गराइदिए। १४ पतिको घर जान लाग्दा अक्साहले आफ्नो पतिलाई बुबासित एक टुक्रा जमिन माग्न कर लगाइन्‌। अक्साह आफ्नो गधाबाट ओर्लिन्‌।* तब कालेबले तिनलाई सोधे: “तिमीलाई के चाहियो?” १५ तब अक्साहले भनिन्‌: “तपाईँले मलाई दक्षिणमा* दिनुभएको जमिन सुक्खा छ। कृपया मलाई आशिष्‌स्वरूप गुलोथ-मैम* पनि दिनुहोस्‌।” त्यसैले कालेबले तिनलाई माथिल्लो गुलोथ र तल्लो गुलोथ दिए।

१६ मोसाका ससुरा+ एक केनी+ थिए; तिनका सन्तान यहुदाको कुलका मानिसहरूसँगै खजुरका बोटहरूको सहरबाट+ अरादको+ दक्षिणमा पर्ने यहुदाको निर्जनभूमिमा आए। अनि तिनीहरू त्यहाँकै मानिसहरूसँग बसोबास गर्न थाले।+ १७ तर यहुदाको कुलका मानिसहरू भने आफ्ना दाजुभाइ सिमियोनको कुलका मानिसहरूसँगै गए र तिनीहरूले जेफाथमा बसोबास गर्ने कनानीहरूलाई आक्रमण गरेर त्यस सहरलाई ध्वस्त पारिदिए।+ त्यसैले तिनीहरूले त्यस सहरको नाम होर्माह*+ राखे। १८ त्यसपछि यहुदाको कुलले गाजाका,+ अस्कलोनका+ र एक्रोनका+ सबै इलाका कब्जा गऱ्‍यो। १९ यहोवा परमेश्‍वर यहुदाको कुलसँग हुनुहुन्थ्यो; त्यसैले तिनीहरूले पहाडी इलाकालाई आफ्नो कब्जामा लिए। तर तिनीहरूले बेँसीका बासिन्दाहरूलाई भने खेद्‌न सकेनन्‌ किनभने उनीहरूसित युद्धका रथहरू थिए, जसका पाङ्‌ग्रामा धारिलो हतियार जडान गरिएका थिए।*+ २० मोसाले प्रतिज्ञा गरेझैँ यहुदाको कुलका मानिसहरूले कालेबलाई हेब्रोन दिए+ र तिनले अनाकका तीन जना छोरालाई त्यहाँबाट खेदे।+

२१ तर बिन्यामिनीहरूले यरुसलेममा बस्ने यबुसीहरूलाई खेदेनन्‌; त्यसैले तिनीहरू अहिलेसम्म पनि यरुसलेममा बिन्यामिनीहरूसँगै बसोबास गर्छन्‌।+

२२ यसै समयतिर युसुफका सन्तानले+ बेथेलमाथि आक्रमण गरे; यहोवा परमेश्‍वर तिनीहरूको साथमा हुनुहुन्थ्यो।+ २३ तिनीहरूले बेथेलमा जासुसी गर्न मानिसहरू पठाए। (बेथेलको पुरानो नाम लुज थियो।)+ २४ ती जासुसहरूले एक जना मानिस त्यस सहरबाट बाहिर निस्किरहेको देखे अनि तिनीहरूले त्यस मानिसलाई भने: “कृपया हामीलाई सहरमा घुस्ने बाटो देखाइदिनुहोस्‌; त्यसको बदलामा हामी तपाईँलाई दया देखाउनेछौँ।”* २५ तब त्यस मानिसले तिनीहरूलाई सहरमा घुस्ने बाटो देखाइदियो र तिनीहरूले सहरका सबै मानिसलाई तरबारले मारे तर त्यो मानिस र उसको परिवारलाई भने छोडिदिए।+ २६ त्यो मानिस हित्तीहरूको इलाकामा गयो र त्यहाँ एउटा सहर बसाल्यो। उसले त्यस सहरको नाम लुज राख्यो; अहिलेसम्म पनि त्यस सहरलाई लुज भनिन्छ।

२७ मनस्सेको कुलले यी इलाकाहरू र यी इलाकाको वरपरका सहरहरू आफ्नो कब्जामा लिएन: बेथ-सेन, तानक,+ दोर, इब्लाम अनि मगिद्दो।+ किनकि कनानीहरूले यी ठाउँहरू छोड्‌दै छोडेनन्‌। २८ इस्राएलीहरू शक्‍तिशाली भएपछि तिनीहरूले कनानीहरूलाई जबरजस्ती मजदुरी गर्न लगाए।+ तर तिनीहरूले कनानीहरूलाई एक जना पनि बाँकी नरहनेगरि भने धपाएनन्‌।+

२९ एप्रैमको कुलले पनि गेजेरमा बसोबास गर्ने कनानीहरूलाई खेदेन। कनानीहरू गेजेरमा+ तिनीहरूसँगै बसोबास गरिरहे।

३० जबुलुनको कुलले कित्रोन र नाहलोलमा+ बसोबास गर्ने कनानीहरूलाई खेदेन। कनानीहरू जबुलुनको कुलसँगै बसोबास गरिरहे र जबुलुनको कुलका मानिसहरूले उनीहरूलाई जबरजस्ती मजदुरी गर्न लगाए।+

३१ असेरको कुलले अक्को, सिदोन,+ अहलाब, अक्जिब,+ हेल्बाह, अफिक+ र रेहोबमा+ बसोबास गर्ने कनानीहरूलाई खेदेन। ३२ असेरको कुलका मानिसहरू कनानीहरूसँगै बसोबास गरिरहे किनभने तिनीहरूले कनानीहरूलाई खेदेनन्‌।

३३ नप्तालिको कुलले बेथ-सेमेस र बेथ-अनाथमा+ बसोबास गर्ने कनानीहरूलाई खेदेन र तिनीहरू त्यहाँका कनानीहरूसँगै बसे।+ नप्तालिको कुलका मानिसहरूले बेथ-सेमेस र बेथ-अनाथका बासिन्दाहरूलाई जबरजस्ती मजदुरी गर्न लगाए।

३४ एमोरीहरूले दानको कुललाई पहाडी इलाकातिर खेदे र तिनीहरूलाई तल बेँसीमा आउन दिएनन्‌।+ ३५ एमोरीहरूले हेरेस डाँडा अनि ऐय्यालोन+ र सालबिम+ छोड्‌दै छोडेनन्‌। तर युसुफका सन्तान शक्‍तिशाली भएपछि तिनीहरूले एमोरीहरूलाई जबरजस्ती मजदुरी गर्न लगाए। ३६ एमोरीहरूको इलाका अक्रब्बिमको+ उकालो र सेलाको मास्तिरदेखि सुरु हुन्थ्यो।

२ यहोवा परमेश्‍वरका स्वर्गदूत+ गिलगालबाट+ बोकिम गए र इस्राएलीहरूलाई भने: “मैले तिमीहरूलाई मिश्रबाट* छुटाएँ र तिमीहरूका पुर्खाहरूलाई जुन देश दिन्छु भनेर कसम खाएको थिएँ, त्यहाँ तिमीहरूलाई पुऱ्‍याएँ।+ अनि मैले यसो पनि भनेँ: ‘तिमीहरूसित गरेको करार म कहिल्यै तोड्‌नेछैनँ।+ २ तिमीहरूले पनि यस देशका मानिसहरूसित कुनै किसिमको करार नगर+ अनि तिनीहरूका वेदीहरू भत्काइदेओ।’+ तर तिमीहरूले मेरो कुरा सुनेनौ।+ तिमीहरूले किन यसो गऱ्‍यौ? ३ मैले तिमीहरूलाई पहिल्यै यसो भनेको थिएँ: ‘म तिनीहरूलाई तिमीहरूको सामनेबाट धपाउनेछैनँ;+ तिनीहरूले तिमीहरूलाई पासोमा पार्नेछन्‌+ र तिमीहरू बहकिएर तिनीहरूका देवताहरूलाई पुज्न थाल्नेछौ।’”+

४ यहोवा परमेश्‍वरको स्वर्गदूतले सबै इस्राएलीलाई यी कुरा बताएपछि तिनीहरूले रुवाबासी गर्न थाले। ५ त्यसैले तिनीहरूले त्यस ठाउँको नाम बोकिम* राखे अनि त्यहाँ यहोवा परमेश्‍वरको निम्ति बलि चढाए।

६ त्यसपछि यहोसुले मानिसहरूलाई बिदा गरे अनि तिनीहरू सबै आफूले पैतृक सम्पत्तिको रूपमा पाएको इलाकामा गए।+ ७ इस्राएलीहरूले यहोसु बाँचुन्जेल यहोवा परमेश्‍वरको सेवा गरिरहे। साथै तिनीहरूले ती नाइकेहरू बाँचुन्जेल पनि उहाँको सेवा गरिरहे, जो यहोसुको मृत्युपछि पनि जीवितै थिए र जसले यहोवा परमेश्‍वरले इस्राएलीहरूको खातिर गर्नुभएका सबै महान्‌ कार्य देखेका थिए।+ ८ नुनका छोरा, यहोवा परमेश्‍वरका सेवक यहोसुको ११० वर्षको उमेरमा मृत्यु भयो।+ ९ अनि तिनीहरूले यहोसुलाई तिम्नाथ-हेरेसमा+ गाडे। यो ठाउँ गास डाँडाको उत्तरतिर यहोसुले पैतृक सम्पत्तिको रूपमा पाएको एप्रैमको पहाडी इलाकामा पर्थ्यो।+ १० त्यस पुस्ताका सबै जना आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए। त्यसपछि एउटा नयाँ पुस्ता आयो। तिनीहरूले यहोवा परमेश्‍वरलाई चिनेका थिएनन्‌ र उहाँले इस्राएलीहरूको खातिर के-के गर्नुभएको थियो भनेर पनि तिनीहरूलाई थाह थिएन।

११ इस्राएलीहरूले यहोवा परमेश्‍वरको नजरमा जे खराब थियो, त्यही गरे र बाआल देवताहरूलाई पुजे।+ १२ यसरी तिनीहरूले आफ्ना पुर्खाहरूका परमेश्‍वर यहोवालाई त्यागे, जसले तिनीहरूलाई मिश्र देशबाट छुटाएर ल्याउनुभएको थियो।+ अनि तिनीहरूले आफू वरपर बसोबास गर्ने मानिसहरूका देवताहरूलाई पुजे;+ तिनीहरूले ती देवताहरूलाई ढोगेर यहोवा परमेश्‍वरलाई रिस उठाए।+ १३ तिनीहरूले यहोवा परमेश्‍वरलाई त्यागे अनि बाआल र अस्तोरेथका मूर्तिहरूलाई पुज्न थाले।+ १४ त्यसैले यहोवा परमेश्‍वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँले तिनीहरूलाई लुटेराहरूको हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूका सबै सरसामान लुटे।+ उहाँले तिनीहरूलाई वरपरका शत्रुहरूको हातमा सुम्पिदिनुभयो*+ र तिनीहरू आफ्ना शत्रुहरूसामु टिक्न सकेनन्‌।+ १५ यहोवा परमेश्‍वर तिनीहरूको विरुद्धमा उठ्‌नुभयो। यहोवाले भन्‍नुभएझैँ अनि यहोवाले तिनीहरूसित कसम खानुभएझैँ+ तिनीहरू जहाँ गए पनि उहाँले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो।+ तिनीहरूको जीवन दुःखैदुःखले भरियो।+ १६ त्यसैले तिनीहरूलाई लुटपाट गर्नेहरूबाट जोगाउन यहोवा परमेश्‍वरले तिनीहरूका निम्ति न्यायकर्ताहरूको प्रबन्ध गर्नुभयो।+

१७ तर तिनीहरूले ती न्यायकर्ताहरूको पनि कुरा सुन्‍न इन्कार गरे अनि अरू देवताहरूलाई पुजे* र ती देवताहरूलाई ढोगे। तिनीहरूले आफ्ना पुर्खाहरू हिँडेको बाटो त्याग्न कत्ति पनि बेर लगाएनन्‌। तिनीहरूका पुर्खाहरूले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेका थिए+ तर तिनीहरूले भने त्यसो गरेनन्‌। १८ थिचोमिचोमा पर्दा+ र दुर्व्यवहारको सिकार हुँदा तिनीहरूले सुस्केरा हाल्थे र त्यो देखेर यहोवा परमेश्‍वरको मन दयाले भरिन्थ्यो।*+ त्यसैले जब-जब यहोवा परमेश्‍वर इस्राएलीहरूका निम्ति न्यायकर्ता नियुक्‍त गर्नुहुन्थ्यो,+ तब-तब यहोवा परमेश्‍वरले त्यस न्यायकर्तालाई साथ दिनुहुन्थ्यो अनि तिनी बाँचुन्जेल उहाँले इस्राएलीहरूलाई शत्रुहरूको हातबाट जोगाउनुहुन्थ्यो।

१९ तर न्यायकर्ताको मृत्यु भएपछि तिनीहरू आफ्ना पुर्खाहरूभन्दा झनै भ्रष्ट भएर अरू देवताको पछि लाग्थे र ती देवताहरूलाई नै ढोग्थे।+ तिनीहरू अटेरी भइरहे र तिनीहरूले गलत काम गर्न छोडेनन्‌। २० आखिरमा यहोवा परमेश्‍वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो।+ उहाँले यसो भन्‍नुभयो: “यस जातिले मैले तिनीहरूका पुर्खाहरूसित गरेको करार तोडेको छ+ र मेरो आज्ञा पालन गरेको छैन।+ २१ त्यसैले यहोसुको मृत्युपछि यहाँ जुन-जुन जातिहरू अझै बाँकी छन्‌, तिनीहरूमध्ये एउटालाई पनि म यहाँबाट खेद्‌नेछैनँ।+ २२ इस्राएलीहरूले आफ्ना पुर्खाहरूले जस्तै यहोवाको आज्ञा पालन गर्छन्‌ कि गर्दैनन्‌ भनेर जाँच्न म ती जातिहरूलाई तिनीहरूको माझबाट हटाउनेछैनँ।”+ २३ त्यसैले यहोवा परमेश्‍वरले ती जातिहरूलाई रहन दिनुभयो। उहाँले तिनीहरूलाई तुरुन्तै हटाउनुभएन अनि यहोसुको हातमा पनि सुम्पनुभएन।

३ कनानीहरूसँग लडाइँ गरेको अनुभव नभएका इस्राएलीहरूलाई यहोवा परमेश्‍वर जाँच्न चाहनुहुन्थ्यो। त्यसैले उहाँले यी जातिहरूलाई इस्राएलीहरूमाझ रहन दिनुभयो:+ २ (इस्राएलीहरूको नयाँ पुस्तासित लडाइँको अनुभव थिएन, त्यसैले तिनीहरूले लडाइँ गर्ने अनुभव बटुलून्‌ भन्‍ने परमेश्‍वर चाहनुहुन्थ्यो) ३ पलिस्तियालीहरूका+ पाँच जना शासक, सबै कनानी, सिदोनीहरू+ र लेबनान डाँडाको+ बाआल-हर्मोनदेखि लेबो-हमाथसम्मका*+ हिव्वीहरू।+ ४ यहोवा परमेश्‍वरले मोसामार्फत इस्राएलीहरूका पुर्खाहरूलाई दिनुभएको आज्ञा तिनीहरूले पालन गर्छन्‌ कि गर्दैनन्‌ भनेर परमेश्‍वरले ती जातिहरूमार्फत जाँच्नुभयो।+ ५ त्यसैले इस्राएलीहरू कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबुसीहरूसँग बसोबास गर्न थाले।+ ६ इस्राएलीहरूले ती जातिहरूका छोरीहरूसँग बिहे गरे र आफ्ना छोरीहरू पनि तिनीहरूका छोराहरूलाई दिए अनि इस्राएलीहरूले तिनीहरूका देवताहरूलाई पुज्न थाले।+

७ यसरी इस्राएलीहरूले यहोवा परमेश्‍वरको नजरमा जे खराब थियो, त्यही गरे। तिनीहरूले आफ्ना परमेश्‍वर यहोवालाई बिर्से अनि बाआल देवताहरूलाई+ र पवित्र खामाहरूलाई*+ पुजे। ८ तब यहोवा परमेश्‍वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँले तिनीहरूलाई मेसोपोटामियाका* राजा कुसन-रिसातैमको हातमा सुम्पिदिनुभयो।* इस्राएलीहरू आठ वर्षसम्म राजा कुसन-रिसातैमको दास भएर बसे। ९ जब इस्राएलीहरूले मदतको लागि यहोवा परमेश्‍वरलाई पुकारे,+ तब यहोवा परमेश्‍वरले तिनीहरूलाई छुटकारा दिन कालेबको भाइ केनजको छोरा ओथ्निएललाई+ रोज्नुभयो।+ १० यहोवा परमेश्‍वरको पवित्र शक्‍ति ओथ्निएलमाथि आयो+ र तिनी इस्राएलीहरूका न्यायकर्ता भए। जब तिनी युद्ध गर्न गए, तब यहोवा परमेश्‍वरले मेसोपोटामियाका* राजा कुसन-रिसातैमलाई तिनको हातमा सुम्पिदिनुभयो। यसरी ओथ्निएलले ती राजालाई जिते। ११ त्यसपछि तिनीहरूको देशमा ४० वर्षसम्म शान्ति छायो। त्यसपछि केनजको छोरा ओथ्निएलको मृत्यु भयो।

१२ फेरि इस्राएलीहरूले यहोवा परमेश्‍वरको नजरमा जे खराब थियो, त्यही गर्न थाले।+ त्यसैले यहोवा परमेश्‍वरले मोआबका राजा+ एग्लोनलाई इस्राएलमाथि जित हासिल गर्न दिनुभयो किनभने तिनीहरूले यहोवा परमेश्‍वरको नजरमा खराब काम गरे। १३ इस्राएलीहरूसित लडाइँ गर्न एग्लोनले अम्मोनी+ र अमालेकीहरूलाई+ पनि बोलाए। तिनीहरूले इस्राएलीहरूलाई आक्रमण गरे र खजुरका बोटहरूको सहर कब्जा गरे।+ १४ इस्राएलीहरू १८ वर्षसम्म मोआबका राजा एग्लोनको दास भएर बसे।+ १५ इस्राएलीहरूले मदतको लागि यहोवा परमेश्‍वरलाई पुकार्दा+ यहोवाले तिनीहरूलाई छुटकारा दिन बिन्यामिनको+ कुलको गेराका छोरा एहुदलाई+ नियुक्‍त गर्नुभयो,+ जसको देब्रे हात चल्थ्यो।+ केही समयपछि इस्राएलीहरूले मोआबका राजा एग्लोनलाई एहुदको हातमा तिरो पठाए। १६ त्यहाँबाट जानुअघि एहुदले एक हात* लामो दुईधारे छुरी बनाए र त्यसलाई आफ्नो लुगामुनि दायाँ तिघ्रामा बाँधे। १७ तिनले मोआबका राजा एग्लोनलाई तिरो दिए। एग्लोन असाध्यै मोटा थिए।

१८ राजालाई तिरो दिइसकेपछि एहुद आफूसँगै तिरो बोकेर आएका मानिसहरूसित त्यहाँबाट निस्के। १९ गिलगालको+ कुँदिएका मूर्तिहरू भएको ठाउँमा* पुगेपछि एहुद फर्केर राजाकहाँ आए र यसो भने: “हे महाराज! हजुरलाई एउटा गोप्य सन्देश दिनु छ।” त्यो सुनेर राजाले आफ्ना सेवकहरूलाई भने: “तिमीहरू सबै बाहिर जाओ!” त्यसपछि तिनीहरू सबै बाहिर गए। २० त्यतिखेर राजा कौसीमा भएको शीतल कोठामा एक्लै बसिरहेका थिए। तब एहुदले भने: “परमेश्‍वरले हजुरलाई एउटा सन्देश पठाउनुभएको छ।” यो सुनेर राजा आफ्नो सिंहासनबाट जुरुक्क उठे। २१ अनि एहुदले आफ्नो दाहिने तिघ्रामा बाँधेको छुरी देब्रे हातले झिकेर राजाको भुँडीमा रोपिदिए। २२ त्यो छुरी बिँडसमेत भित्र पस्यो र बोसोले त्यसलाई छोप्यो। एहुदले त्यो छुरी बाहिर तानेनन्‌ अनि लादी बाहिर निस्केर छ्यालब्याल भयो। २३ अनि एहुद त्यस कोठाको ढोका बन्द गरेर बार्दलीबाट* बाहिर निस्के। २४ एहुद गइसकेपछि राजाका सेवकहरू आउँदा कौसीको कोठाको ढोका बन्द भएको देखे र तिनीहरूले भने: “महाराज भित्री कोठामा दिसा-पिसाब गर्न बसिरहनुभएको होला।” २५ धेरै बेर पर्खँदा पनि राजाले ढोका नखोलेपछि तिनीहरूलाई चिन्ता लाग्यो। त्यसैले तिनीहरूले साँचो लिएर ढोका खोले र भित्र पसे। त्यहाँ तिनीहरूले राजा मरेर भुईँमा लडिरहेको देखे।

२६ राजाका सेवकहरू अलमलिरहेको बेला एहुदचाहिँ त्यहाँबाट भागे। तिनी कुँदिएका मूर्तिहरू+ भएको ठाउँ हुँदै* सकुशल सेराह पुगे। २७ एप्रैमको त्यो पहाडी इलाकामा+ पुगेपछि तिनले सिङ फुके।+ त्यसपछि इस्राएलीहरू तिनीसँगै पहाडी इलाकाबाट तल झरे; तिनी इस्राएलीहरूको अघिअघि हिँडे। २८ त्यसपछि एहुदले इस्राएलीहरूलाई भने: “मेरो पछिपछि आओ! यहोवा परमेश्‍वरले तिमीहरूका शत्रु मोआबीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुभएको छ।” तब इस्राएलीहरू तिनको पछि लागे र मोआबीहरू भाग्न नपाऊन्‌ भनेर उनीहरूले यर्दन नदीको जँघार* कब्जा गरे। २९ त्यतिबेला इस्राएलीहरूले लगभग १० हजार शूरवीर मोआबीलाई मारे,+ तिनीहरूमध्ये एक जना पनि उम्कन पाएन।+ ३० यसरी इस्राएलीहरूले त्यस दिन मोआबीहरूलाई आफ्नो अधीनमा पारे। त्यसपछि देशमा ८० वर्षसम्म शान्ति छायो।+

३१ एहुदपछि अनातका छोरा साम्गरले+ इस्राएलीहरूको रक्षा गरे। तिनले ६०० पलिस्तियालीलाई+ गाईवस्तु धपाउने सुइरोले+ हिर्काएर मारे।

४ तर एहुदको मृत्युपछि इस्राएलीहरूले फेरि यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे।+ २ त्यसैले यहोवा परमेश्‍वरले तिनीहरूलाई हजोरमा शासन गर्ने कनानका राजा याबिनको हातमा सुम्पिदिनुभयो।*+ तिनका सेनापति सिसरा थिए, जो हारोसेथ-हाग्गोयिममा+ बस्थे। ३ याबिनसित ९०० वटा ठूलठूला युद्धका रथ थिए, जसका पाङ्‌ग्रामा धारिलो हतियार जडान गरिएका थिए।*+ तिनले इस्राएलीहरूलाई २० वर्षसम्म अत्यन्तै थिचोमिचो गरे।+ त्यसैले इस्राएलीहरूले मदतको लागि यहोवा परमेश्‍वरलाई गुहारे।+

४ त्यतिबेला लप्पिदोथकी पत्नी दबोराले इस्राएलमा न्यायकर्ताको काम गरिरहेकी थिइन्‌। तिनी भविष्यवक्‍ता+ थिइन्‌। ५ तिनी एप्रैमको पहाडी इलाकामा रामा+ र बेथेलको+ बीचमा खजुरको बोटमुनि बस्ने गर्थिन्‌, जसलाई मानिसहरू दबोराको बोट भन्‍ने गर्थे र इस्राएलीहरू परमेश्‍वरको फैसला सुन्‍न तिनीकहाँ आउने गर्थे। ६ तिनले केदेस-नप्तालिका+ अबिनोमका छोरा बाराकलाई+ बोलाउन लगाइन्‌ र तिनलाई यसो भनिन्‌: “इस्राएलका परमेश्‍वर यहोवाले यस्तो आज्ञा दिनुभएको छ: ‘नप्तालि र जबुलुनको कुलबाट १० हजार पुरुष लिएर लडाइँ गर्न तबोर डाँडामा जाऊ। ७ याबिनका सेनापति सिसरा, तिनका रथहरू र तिनको पूरै सेनालाई म किसोन खोल्सामा*+ ल्याउनेछु र त्यहाँ तिनलाई तिम्रो हातमा सुम्पिदिनेछु।’”+

८ यो सुनेपछि बाराकले यसो भने: “तपाईँ मसँगै आउनुभयो भने म जान्छु तर तपाईँ आउनुभएन भने म पनि जाँदिनँ।” ९ तब दबोराले भनिन्‌: “म तिमीसँग अवश्‍य जानेछु। तर जितको श्रेय तिमीले पाउनेछैनौ किनभने यहोवा परमेश्‍वरले सिसरालाई+ एउटी स्त्रीको हातमा सुम्पिदिनुहुनेछ।” त्यसपछि दबोरा उठिन्‌ र बाराकसँगै केदेसतिर+ लागिन्‌। १० बाराकले जबुलुन र नप्तालिको+ कुलका पुरुषहरूलाई केदेसमा बोलाए र १० हजार पुरुष तिनको पछि लागे। दबोरा पनि तिनीसँगै गइन्‌।

११ हेबेर नाम गरेका एक केनी पुरुष अरू केनीहरूबाट+ छुट्टिएर बसेका थिए र तिनले केदेसको जानानिमको ठूलो रूखनजिकै आफ्नो पाल टाँगेका थिए। केनीहरू मोसाका ससुरा होबाबका+ सन्तान थिए।

१२ अबिनोमका छोरा बाराक तबोर डाँडामा+ गएका छन्‌ भन्‍ने खबर सिसराकहाँ पुऱ्‍याइयो। १३ यो खबर सुन्‍नेबित्तिकै सिसराले पाङ्‌ग्रामा धारिलो हतियार जडान गरिएका ९०० वटा रथ र हारोसेथ-हाग्गोयिममा आफूसँग भएका सबै सेना जम्मा गरे र किसोन खोल्सामा+ गए। १४ तब दबोराले बाराकलाई भनिन्‌: “उठ, यहोवा परमेश्‍वरले सिसरालाई आज तिम्रो हातमा सुम्पिदिनुहुनेछ। के यहोवा परमेश्‍वर तिम्रो अघिअघि जानुभएको छैन र?” अनि बाराक तबोर डाँडाबाट तल झरे र ती १० हजार पुरुष पनि तिनको पछि लागे। १५ यहोवा परमेश्‍वरले सिसरा, तिनको रथ र सबै सेनामाझ गोलमाल मच्चाइदिनुभयो;+ बाराकसामु तिनीहरूको केही सीप लागेन। त्यसैले सिसरा रथबाट ओर्लेर आफ्नो ज्यान जोगाउन भागे। १६ बाराकले रथहरू र सेनालाई हारोसेथ-हाग्गोयिमसम्मै खेदे। यसरी सिसराको पूरै सेना तरबारले नाश भयो, एक जना पनि बचेन।+

१७ तर सिसराचाहिँ भाग्दै-भाग्दै केनी हेबेरकी+ पत्नी याएलको+ पालमा पुगे किनभने हजोरको राजा याबिन+ र केनी हेबेरको घरानाबीच मित्रता थियो। १८ अनि याएल सिसरालाई भेट्‌न बाहिर निस्किन्‌ र तिनलाई यसो भनिन्‌: “आउनुहोस्‌ हजुर, भित्रै आउनुहोस्‌। नडराउनुहोस्‌।” तब सिसरा याएलको पालभित्र गए र याएलले तिनलाई कम्बल ओढाइदिइन्‌। १९ तब तिनले याएललाई भने: “कृपया मलाई पानी देऊ, मलाई तिर्खा लागेको छ।” याएलले दूध राखेको मशक* खोलिन्‌ र तिनलाई पिउन दिइन्‌।+ अनि तिनलाई फेरि कम्बल ओढाइदिइन्‌। २० तिनले याएललाई भने: “तिमी पालको ढोकामा उभिरह र कसैले ‘यहाँ कोही आएको छ’ भनेर सोध्यो भने ‘छैन’ भनिदेऊ।”

२१ तर हेबेरकी पत्नी याएलले पाल टाँग्ने किला र मुङ्‌ग्रो लिइन्‌ अनि एकदमै थाकेर मस्त निदाइरहेको सिसराको छेउमा बिस्तारै गइन्‌। अनि याएलले सिसराको कन्चटमा किला ठोकिदिइन्‌ र त्यो किला वारपार भएर भुईँमै गाडियो र तिनी त्यहीँ मरे।+

२२ बाराक सिसरालाई खोज्दै त्यहाँ आइपुगे अनि याएल बाराकलाई भेट्‌न बाहिर निस्किन्‌ र यसो भनिन्‌: “आउनुहोस्‌, तपाईँले खोजिरहनुभएको मानिस म देखाइदिन्छु।” बाराक याएलसँगै भित्र गए र सिसराको लास देखे। तिनको कन्चटमा किला वारपार हुनेगरि गाडिएको थियो।

२३ यसरी परमेश्‍वरले त्यो दिन कनानका राजा याबिनमाथि इस्राएलीहरूलाई विजयी तुल्याइदिनुभयो।+ २४ इस्राएलीहरू कनानका राजा याबिनमाथि झन्‌झनै हाबी हुँदै गए+ र आखिरमा तिनीहरूले याबिनलाई मारे।+

५ त्यो दिन दबोराले+ अबिनोमका छोरा बाराकसित+ मिलेर यो गीत गाइन्‌:+

 २ “यहोवाको जयजयकार गर!

किनभने इस्राएलीहरू राजीखुसी युद्ध गर्न गए,+

तिनीहरूले आफ्नो भाकल पूरा गरे।*

 ३ हे राजाहरू हो, सुन! हे शासकहरू हो, कान थाप!

यहोवाको लागि म गाउनेछु।

इस्राएलका परमेश्‍वर+ यहोवाको म स्तुति गर्नेछु।*+

 ४ हे यहोवा, जब तपाईँ सेइरबाट+ निस्कनुभयो,

जब तपाईँ एदोमको इलाकाबाट बाहिर जानुभयो,

तब धर्ती काँप्यो, आकाशको मूल फुट्‌यो

अनि बादलले पानी बर्सायो।

 ५ यहोवासामु पहाडहरू पग्लिए,*+

इस्राएलका परमेश्‍वर+ यहोवासामु सिनै डाँडा पनि टिक्न सकेन।+

 ६ अनातका छोरा साम्गरको+ पालामा

अनि याएलको+ पालामा बाटोहरू सुनसान भए;

बटुवाहरू मूलबाटो नभई गोरेटो बाटो भएर हिँडे।

 ७ इस्राएलीहरूलाई बचाउन म दबोरा+ खडा नहोउन्जेल,

तिनीहरूलाई एउटी आमाले झैँ नसम्हालुन्जेल,+

तिनीहरूका गाउँहरू सुनसान थिए।

 ८ तिनीहरूले नयाँ-नयाँ देवताहरू रोजे;+

तिनीहरूले सहरहरूका मूलढोकाहरूमा युद्ध गरे।+

तर ती ४० हजार इस्राएली योद्धासित

न ढाल न त भाला नै थियो।

 ९ म इस्राएलका सेनापतिहरूलाई साथ दिन्छु,+

जो मानिसहरूसँगै राजीखुसी लडाइँ गर्न गए।+

यहोवाको जयजयकार गर!

१० हे खैराखैरा गधाहरूमा सवार हुनेहरू हो,

हे महँगा-महँगा गलैँचामा बस्नेहरू हो,

हे सडकमा हिँड्‌नेहरू हो,

परमेश्‍वरका कार्यहरूमा ध्यान देओ!

११ बगाललाई पानी खुवाउन इनारमा आएकाहरूले कुराकानी गरे;

यहोवाले गर्नुभएका असल-असल कामहरूबारे तिनीहरूले बताए,

उहाँका जनहरू, हो इस्राएलका गाउँलेहरूले गरेका असल-असल कामहरू तिनीहरूले सम्झिए।

तब यहोवाका मानिसहरू सहरका मूलढोकाहरूमा आए।

१२ जाग, हे दबोरा,+ जाग!

जाग र गीत गाऊ!+

हे अबिनोमका छोरा बाराक,+ उठ! तिम्रा शत्रुहरूलाई बन्दी बनाएर लैजाऊ!

१३ तब बाँकी रहेकाहरू अगुवाहरूलाई साथ दिन आए;

शूरवीरहरूसित लड्‌न यहोवाका मानिसहरू मकहाँ आए।

१४ एप्रैमीहरू तल बेँसीमा झरे;

हे बिन्यामिनीहरू हो, तिनीहरू तिमीहरूको पछिपछि आइरहेका छन्‌।

माकिरबाट+ सेनापतिहरू आए

अनि जबुलुनबाट चाहिँ सेनामा भर्ती गराउनेहरू* आए।

१५ इस्साकारबाट आएका अगुवाहरू दबोरासित थिए

अनि इस्साकार र बाराकले+ पनि उनलाई साथ दिए।

बाराक तल बेँसीमा हिँडेरै आए।+

रुबेनको कुल भने दोधारमा थियो।

१६ तिमी दुई वटा बोराको* बीचमै बसिरह्‍यौ;

गोठालोले बजाएको बाँसुरीको धुन सुनेर मक्ख परिरह्‍यौ।+

रुबेनको कुल दोधारमै बसिरह्‍यो।

१७ हे गिलाद, तिमी यर्दनपारि नै बसिरह्‍यौ;+

हे दान, तिमी किन जहाजहरूमै बसिरह्‍यौ?+

असेर समुद्री किनारामा हात बाँधेर बसिरह्‍यो

अनि उसले आफ्नो बन्दरगाह छोडेन।+

१८ जबुलुनका मानिसहरूले ज्यानको खतरा मोले;

नप्तालिका मानिसहरूले पनि+ डाँडाहरूमा ज्यानको बाजी लगाए।+

१९ राजाहरूले आएर लडाइँ गरे;

मगिद्दोको मुहाननजिकै तानकमा+

कनानका राजाहरूले लडाइँ गरे।+

तर तिनीहरूले लडाइँमा चाँदी लुट्‌न सकेनन्‌।+

२० आकाशबाट ताराहरूले लडाइँ गरे;

तिनीहरू आ-आफ्नै ठाउँबाट सिसराविरुद्ध लडे।

२१ किसोन खोलाले शत्रुहरूलाई बगायो,+

त्यो पुरानो खोला, किसोन खोलाले स्वात्तै बगायो।

मैले वीर योद्धाहरूलाई कुल्चीमिल्ची गरेँ।

२२ अनि घोडाहरू टाप बजार्दै दौडे,

तिनका जङ्‌गी घोडाहरू तेज रफ्तारमा कुदे।+

२३ ‘मेरोजलाई सराप,’ यहोवाका दूतले भने,

‘हो, त्यसका बासिन्दाहरूलाई सराप

किनकि तिनीहरू यहोवालाई मदत गर्न अघि सरेनन्‌,

तिनीहरूका वीर योद्धाहरू यहोवालाई साथ दिन आएनन्‌।’

२४ स्त्रीहरूमध्ये सबैभन्दा आनन्दित हुन्‌ याएल,+

केनी हेबेरकी पत्नी;+

पालमा बस्ने स्त्रीहरूमध्ये सबैभन्दा आनन्दित हुन्‌ उनी।

२५ सिसराले पानी मागे तर याएलले दूध दिइन्‌।

उनले सिसरालाई ठूलो कचौरामा बाक्लो दूध* दिइन्‌।+

२६ याएलले हातमा पाल टाँग्ने किला लिइन्‌,

उनले आफ्नो दायाँ हातले मुङ्‌ग्रो उठाइन्‌।

अनि मुङ्‌ग्रो बजारेर सिसराको टाउको फुटाइदिइन्‌,

तिनको कन्चट वारपार छेडेर चुरचुर पारिदिइन्‌।+

२७ सिसरा याएलको खुट्टामा ढले;

याएलको खुट्टाको बीचमा सिसरा बेहोस भएर ढले;

जहाँ तिनी ढले, त्यहीँ तिनी मरे।

२८ झ्यालबाट एउटी स्त्रीले हेरिन्‌,

हो, सिसराकी आमाले आँखीझ्यालबाट चियाइन्‌,

‘अहिलेसम्म तिनको रथ किन फर्केर आएन?

तिनका घोडाहरूको टापको आवाज किन सुनिएन?’+

२९ तिनकी आमाका बुद्धिमती सेविकाहरूले जवाफ दिए,

तिनकी आमाले पनि मनमनै भनिन्‌,

३० ‘तिनीहरू लडाइँमा जितेको धनमाल बाँडिरहेका होलान्‌;

एक जना योद्धाको लागि एउटी केटी, होइन, दुइटी केटी,

सिसराको लागि लुटको मालबाट रङ्‌गीन कपडा, हो, रङ्‌गीन कपडा

अनि लडाइँमा गएका सिपाहीहरूको घाँटीमा बेर्न

बुट्टा भरिएको दुई वटा रङ्‌गीन लुगा।’

३१ हे यहोवा, तपाईँका शत्रुहरू सबै नाश होऊन्‌+

तर तपाईँलाई प्रेम गर्नेहरू सूर्यजस्तै चम्कून्‌।”

त्यसपछि देशमा ४० वर्षसम्म शान्ति छायो।+

६ तर इस्राएलीहरूले फेरि यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे।+ त्यसैले यहोवा परमेश्‍वरले तिनीहरूलाई सात वर्षसम्म मिद्यानीहरूको हातमा सुम्पिदिनुभयो।+ २ मिद्यानीहरूले इस्राएलीहरूलाई असाध्यै थिचोमिचो गर्न थाले।+ त्यसैले मिद्यानीहरूसँग डराएर इस्राएलीहरूले डाँडामा, गुफामा र शत्रुहरू पुग्न गाह्रो हुने ठाउँमा लुक्ने ठाउँहरू* बनाए।+ ३ इस्राएलीहरूले खेतमा बिउ छर्दा मिद्यानी, अमालेकी+ र पूर्वका मानिसहरू+ आएर तिनीहरूलाई आक्रमण गर्थे। ४ ती शत्रुहरू इस्राएलीहरूलाई आक्रमण गर्न छाउनी हालेर बस्थे र गाजासम्मै इस्राएलीहरूको बाली नष्ट गरिदिन्थे। तिनीहरूले इस्राएलीहरूको निम्ति खानलाई केही पनि छोड्‌दैनथे; भेडा, गोरु र गधा सबै लैजान्थे।+ ५ तिनीहरू आफ्ना वस्तुभाउ र पाल लिएर सलहको बथानझैँ आउँथे।+ तिनीहरू अनगिन्ती थिए र तिनीहरूका उँटहरू पनि असङ्‌ख्य थिए।+ अनि तिनीहरूले इस्राएलीहरूको इलाका तहसनहस पारिदिन्थे। ६ मिद्यानीहरूको यस्तो अत्याचारले गर्दा इस्राएलीहरू असाध्यै गरिब भए; त्यसैले इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई गुहारे।+

७ मिद्यानीहरूको कारण इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई मदतको लागि पुकार्दा+ ८ यहोवा परमेश्‍वरले इस्राएलीहरूकहाँ एक जना भविष्यवक्‍ता पठाउनुभयो। ती भविष्यवक्‍ताले इस्राएलीहरूलाई भने: “इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ, ‘मैले तिमीहरूलाई दासत्वको घर—मिश्रबाट* छुटाएँ।+ ९ मैले तिमीहरूलाई मिश्रीहरूको हातबाट र तिमीहरूलाई अत्याचार गर्ने सबैको हातबाट बचाएँ; मैले तिमीहरूका शत्रुहरूलाई तिमीहरूको सामनेबाट धपाएँ र तिनीहरूको देश तिमीहरूलाई दिएँ।+ १० अनि मैले तिमीहरूलाई भनेको थिएँ: “म यहोवा तिमीहरूका परमेश्‍वर हुँ।+ तिमीहरू बसोबास गरिरहेको एमोरीहरूको देशका देवताहरूको बिलकुलै भय नमान्‍नू।”+ तर तिमीहरूले मेरो कुरा सुनेनौ।’”*+

११ पछि यहोवा परमेश्‍वरका स्वर्गदूत आए+ अनि ओप्रामा भएको ठूलो रूखमुनि बसे। त्यो रूख अबिएजेरी+ योआसको थियो। तिनका छोरा गिदोन+ मिद्यानीहरूबाट गहुँ लुकाउन अङ्‌गुर पेल्ने ठाउँमा गहुँ चुटिरहेका थिए। १२ यहोवा परमेश्‍वरका स्वर्गदूत तिनीकहाँ देखा परे र भने: “हे वीर योद्धा! यहोवा परमेश्‍वर तिम्रो साथमा हुनुहुन्छ।”+ १३ तब गिदोनले स्वर्गदूतलाई भने: “रिसानी माफ होस्‌ प्रभु! यदि यहोवा परमेश्‍वर हाम्रो साथमा हुनुहुन्छ भने हामीमाथि यस्तो अत्याचार किन भइरहेको छ?+ उहाँले गर्नुभएका अचम्मका कामहरूबारे सुनाउँदा हाम्रा पुर्खाहरूले यसो भनेका थिए,+ ‘यहोवा परमेश्‍वरले हामीलाई मिश्रबाट छुटाएर ल्याउनुभयो।’+ तर अहिले यहोवा परमेश्‍वरले हामीलाई त्याग्नुभएको छ+ र मिद्यानीहरूको हातमा सुम्पिदिनुभएको छ।” १४ यहोवा परमेश्‍वरले तिनीतर्फ हेरेर तिनलाई भन्‍नुभयो: “साहसी होऊ! तिमीले इस्राएलीहरूलाई मिद्यानीहरूको हातबाट छुटाउनेछौ।+ तिमीलाई पठाउने म नै होइनँ र?” १५ तब गिदोनले भने: “रिसानी माफ होस्‌ यहोवा! इस्राएलीहरूलाई म कसरी छुटाउन सक्छु र? हेर्नुहोस्‌, मनस्सेको कुलमा मेरो घराना सबैभन्दा सानो छ र मेरो बुबाको घरानामा पनि म एक साधारण मानिस हुँ।” १६ तर यहोवा परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “म तिम्रो साथमा हुनेछु।+ तिमीले मिद्यानीहरूलाई एउटै मानिसलाई झैँ ढाल्नेछौ।”

१७ त्यसपछि गिदोनले भने: “यदि मैले तपाईँको नजरमा निगाह पाएको छु भने मसँग बोल्ने तपाईँ नै हुनुहुन्छ भनेर एउटा चिन्ह देखाउनुहोस्‌। १८ म तपाईँको निम्ति भेटी लिएर यहाँ नआउन्जेल कृपया कतै नजानुहोस्‌।”+ तब उहाँले भन्‍नुभयो: “हुन्छ, तिमी नआउन्जेल म यहीँ पर्खिरहन्छु।” १९ त्यसपछि गिदोन भित्र गए र बाख्राको एउटा पाठो काटेर त्यसको मासु पकाए। अनि एक एपा* पीठो मुछेर अखमिरा* रोटी पनि बनाए।+ तिनले मासुचाहिँ टोकरीमा र मासुको झोलचाहिँ खड्‌कुँलोमा हाले। अनि तिनले यी सबै खानेकुरा त्यो ठूलो रूखमुनि ल्याए र पस्किदिए।

२० तब साँचो परमेश्‍वरका स्वर्गदूतले गिदोनलाई भने: “मासु र अखमिरा रोटी त्यो ठूलो ढुङ्‌गामा राख र झोलचाहिँ त्यसमाथि खन्याऊ।” अनि तिनले त्यसै गरे। २१ त्यसपछि यहोवा परमेश्‍वरका स्वर्गदूतले आफ्नो हातमा भएको लट्ठीको टुप्पोले मासु र अखमिरा रोटीलाई छोए। तब ढुङ्‌गाबाट आगो निस्केर मासु र रोटी भस्म भयो।+ त्यसपछि यहोवा परमेश्‍वरका स्वर्गदूत गिदोनको सामनेबाट बिलाए। २२ तब गिदोनले तिनी यहोवा परमेश्‍वरका स्वर्गदूत रहेछन्‌ भनेर थाह पाए।+

तब गिदोनले तुरुन्तै यसो भने: “हाय! हे ब्रह्‍माण्डका मालिक यहोवा! मैले यहोवा परमेश्‍वरको स्वर्गदूतलाई आफ्नै आँखाले देखेँ।”+ २३ तर यहोवा परमेश्‍वरले भन्‍नुभयो: “तिमीलाई शान्ति होस्‌। नडराऊ!+ तिमी मर्नेछैनौ।” २४ त्यसपछि गिदोनले त्यहाँ यहोवा परमेश्‍वरको नाममा एउटा वेदी बनाए र त्यस वेदीको नाम यहोवा-सलोम*+ राखे। आजसम्म पनि त्यो वेदी त्यही नामले चिनिन्छ र त्यो अबिएजेरीहरूको इलाकामा पर्ने ओप्रामा अझैसम्म छ।

२५ त्यस रात यहोवा परमेश्‍वरले गिदोनलाई भन्‍नुभयो: “तिम्रो बुबाको बगालबाट एउटा सात वर्षे बहर* लिएर आऊ। तिम्रो बुबाले बनाएको बाआल देवताको वेदी भत्काइदेऊ र त्यस वेदीसँगै भएको पवित्र खामो* ढालिदेऊ।+ २६ अनि यहाँ अग्लो ठाउँमा ढुङ्‌गाहरू लहरै राखेर यहोवा परमेश्‍वरको लागि एउटा वेदी बनाऊ। त्यसपछि तिमीले ढालेको पवित्र खामोका काठहरू बालेर त्यस बहरलाई अग्निभेटीको* रूपमा वेदीमा चढाऊ।” २७ तब गिदोनले आफ्ना नोकरहरूमध्ये १० जनालाई छाने अनि यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ गरे। तर तिनी आफ्नो बुबाको घराना र सहरका मानिसहरूदेखि असाध्यै डराउँथे। त्यसैले तिनले त्यो काम दिउँसो नभई राती गरे।

२८ सहरका मानिसहरू भोलिपल्ट बिहान सबेरै उठ्‌दा तिनीहरूले बाआल देवताको वेदी भत्काइएको, त्यससँगैको पवित्र खामो ढालिएको अनि त्यहाँ एउटा नयाँ वेदी बनाएर त्यसमा बहरको बलि चढाइएको देखे। २९ यो देखेर तिनीहरूले एकअर्कालाई सोध्न लागे: “यो कसले गऱ्‍यो?” यताउता सोधखोज गरेपछि तिनीहरूले भने: “योआसको छोरा गिदोनले।” ३० त्यसैले सहरका मानिसहरूले योआसलाई यसो भने: “तिम्रो छोरालाई बाहिर निकाल, त्यसलाई हामी नमारी छोड्‌दैनौँ। त्यसले बाआल देवताको वेदी भत्काइदियो र वेदीसँगैको पवित्र खामो पनि ढालिदियो।” ३१ आफूलाई घेरिरहेका मानिसहरूलाई योआसले+ भने: “तिमीहरू बाआलको पक्षमा खडा हुनुपर्छ र? तिमीहरूले उसलाई बचाउनुपर्छ र? जो बाआलको पक्षमा खडा हुन्छ, ऊ आज बिहानै मारिनेछ।+ यदि बाआल नै देवता हो भने उसैले आफूलाई बचाओस्‌+ किनभने कसैले उसको वेदी भत्काइदिएको छ।” ३२ त्यस दिन योआसले यसो भन्दै गिदोनको नाम यरुब्बाआल* राखिदिए: “बाआलले आफूलाई बचाओस्‌ किनभने कसैले उसको वेदी भत्काइदिएको छ।”

३३ त्यसपछि मिद्यानी,+ अमालेकी+ र पूर्वका मानिसहरू एकजुट भए+ अनि नदी तरेर यिज्रेल बेँसीमा पुगे। अनि तिनीहरूले त्यहीँ छाउनी हाले। ३४ त्यतिबेला यहोवा परमेश्‍वरको पवित्र शक्‍ति गिदोनमाथि आयो+ र तिनले सिङ फुके।+ त्यसपछि अबिएजेरीहरू+ तिनलाई साथ दिन आए। ३५ गिदोनले मनस्सेको पूरै इलाकामा सन्देशवाहकहरू पठाए। त्यसपछि मनस्सेको कुलका मानिसहरू गिदोनलाई साथ दिन आए। तिनले असेर, जबुलुन र नप्तालिको कुलको इलाकामा पनि सन्देशवाहकहरू पठाए अनि ती कुलका मानिसहरू पनि गिदोनकहाँ आए।

३६ त्यसपछि गिदोनले साँचो परमेश्‍वरलाई भने: “यदि तपाईँ आफूले प्रतिज्ञा गरेझैँ इस्राएलीहरूलाई ममार्फत नै बचाउनुहुन्छ भने+ ३७ भेडाको यो ऊन म खलामा राख्दै छु। अनि शीत परेर यो ऊन मात्रै भिज्यो तर वरिपरिको भुईँचाहिँ भिजेको छैन भने तपाईँले आफ्नो प्रतिज्ञाअनुसारै इस्राएलीहरूलाई ममार्फत नै बचाउनुहुने रहेछ भनेर म बुझ्नेछु।” ३८ अनि त्यस्तै भयो। भोलिपल्ट बिहान सबेरै उठेर गिदोनले त्यो ऊन निचोर्दा त्यसबाट एउटा ठूलो कचौरा भरिनेजति पानी निस्कियो। ३९ तैपनि गिदोनले साँचो परमेश्‍वरलाई यसो भने: “कृपया मसँग नरिसाउनुहोस्‌, म तपाईँसँग फेरि अर्को एउटा बिन्ती गर्न चाहन्छु। तपाईँ मेरो साथमा हुनुहुन्छ कि हुनुहुन्‍न भनेर पक्का गर्न एक पटक फेरि जाँच गर्न चाहन्छु। कृपया यस पटकचाहिँ ऊन मात्र सुक्खा होस्‌ तर वरिपरिको भुईँचाहिँ शीतले भिजोस्‌।” ४० अनि त्यस रात परमेश्‍वरले त्यस्तै गर्नुभयो। ऊन मात्र सुक्खा थियो तर वरिपरिको भुईँचाहिँ पूरै भिजेको थियो।

७ त्यसपछि यरुब्बाआल अर्थात्‌ गिदोन+ र तिनीसँगै भएका मानिसहरू बिहान सबेरै उठे र ‘हारोदको मूल’-नजिकै छाउनी हाले; मिद्यानीहरूको छाउनीचाहिँ गिदोनको छाउनीको उत्तरतिर मोरे डाँडाको बेँसीमा थियो। २ यहोवा परमेश्‍वरले गिदोनलाई भन्‍नुभयो: “तिमीसँग अति धेरै मानिस छन्‌। यदि मैले मिद्यानीहरूलाई इस्राएलीहरूको हातमा सुम्पिदिएँ+ भने तिनीहरूले फुर्ती लगाएर मलाई यसो भन्‍नेछन्‌, ‘हामीले आफ्नै बलले यो जित हासिल गऱ्‍यौँ।’+ ३ अब सबै मानिससामु यस्तो घोषणा गर: ‘जो-जो डरले थरथर काँपिरहेका छन्‌, तिनीहरू घर फर्कून्‌।’”+ जब गिदोनले यसबारे घोषणा गरेर मानिसहरूलाई जाँचे, तब २२ हजार मानिस घर फर्के र १० हजार मात्र बाँकी रहे।

४ तैपनि यहोवा परमेश्‍वरले गिदोनलाई भन्‍नुभयो: “तिमीसँग अझै पनि धेरै मानिस छन्‌। त्यसैले तिनीहरूलाई तल खोलामा लैजाऊ र तिनीहरूमध्ये केहीलाई छान्‍न म तिमीलाई मदत गर्नेछु। मैले जसबारे ‘यो मानिस तिमीसँग जानेछ’ भनूँला, ऊ तिमीसँग जानेछ तर जसबारे ‘यो मानिस तिमीसँग जानेछैन’ भनूँला, ऊ तिमीसँग जानेछैन।” ५ तब तिनले मानिसहरूलाई तल खोलामा लगे।

अनि यहोवा परमेश्‍वरले गिदोनलाई भन्‍नुभयो: “ज-जसले कुकुरले जस्तै जिब्रोले चाटेर पानी पिउँछ, तिनीहरूलाई घुँडा टेकेर पानी पिउने मानिसहरूबाट अलग्गै छुट्ट्याऊ।” ६ हातमा पानी लिएर कुकुरले जस्तै पानी चाट्‌नेहरू जम्मा ३०० जना थिए। तर बाँकीले भने घुँडा टेकेर निहुरिएर पानी पिए।

७ तब यहोवा परमेश्‍वरले गिदोनलाई भन्‍नुभयो: “चाटेर पानी पिउने यी ३०० जनालाई चलाएर म तिमीहरूलाई बचाउनेछु र मिद्यानीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु।+ तर बाँकी सबै जना घर फर्कून्‌।” ८ त्यसैले गिदोनले ती ३०० जनालाई मात्र आफ्नो साथमा राखे। अनि बाँकी इस्राएलीहरूबाट खानेकुरा र सिङहरू लिएर तिनीहरूलाई घर फर्काइदिए। मिद्यानीहरूको छाउनी गिदोनको छाउनीभन्दा तलतिर बेँसीमा थियो।+

९ त्यो रात यहोवा परमेश्‍वरले गिदोनलाई भन्‍नुभयो: “उठ! गएर मिद्यानीहरूको छाउनीमा आक्रमण गर किनकि मैले तिनीहरूलाई तिम्रो हातमा सुम्पिदिएको छु।+ १० तर तिनीहरूमाथि आक्रमण गर्न तिमीलाई डर लाग्छ भने आफ्नो सेवक पुराहलाई लिएर तल तिनीहरूको छाउनीमा जाऊ ११ अनि तिनीहरूको कुरा सुन। त्यसपछि तिनीहरूको छाउनीमा आक्रमण गर्न तिमीलाई आँट आउनेछ।”* तब तिनी आफ्नो सेवक पुराहलाई लिएर तल मिद्यानीहरूको छाउनीनजिकै गए।

१२ मिद्यानी, अमालेकी र पूर्वका मानिसहरू+ तल बेँसीमा सलहको बथानजस्तै जम्मा भएका थिए। तिनीहरूका उँटहरू समुद्र किनारका बालुवासरी गन्‍नै नसकिने थिए।+ १३ जब गिदोन मिद्यानीहरूको छाउनीनजिक पुगे, तब त्यहाँ एक जना मानिसले आफ्नो साथीलाई आफूले देखेको सपनाबारे बताइरहेको थियो। त्यस मानिसले भन्यो, “मैले यस्तो सपना देखेँ: ‘जौको एउटा रोटी मिद्यानीहरूको छाउनीमा गुड्‌दै आयो। अनि त्यो रोटी एउटा पालमा बेसरी बजारियो र पाललाई लडाइदियो।+ त्यसले पाललाई उल्टाइदियो र पाल भुईँमा तेर्सियो।’” १४ तब त्यस मानिसको साथीले भन्यो: “यो रोटी अरू केही होइन, इस्राएली योआसको छोरा गिदोनकै तरबार हुनुपर्छ।+ परमेश्‍वरले मिद्यान र त्यसका सबै सेनालाई गिदोनको हातमा सुम्पिदिनुभएको छ।”+

१५ त्यस मानिसको सपना र त्यसको अर्थ सुन्‍नेबित्तिकै+ गिदोनले घोप्टो परेर परमेश्‍वरलाई दण्डवत्‌ गरे। त्यसपछि तिनले इस्राएलीहरूको छाउनीमा फर्केर यसो भने: “उठ! यहोवा परमेश्‍वरले मिद्यानीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुभएको छ।” १६ त्यसपछि गिदोनले ती ३०० जनालाई तीन दलमा बाँडे र प्रत्येकलाई एउटा-एउटा सिङ+ र भित्र राँको हालेको एउटा-एउटा गाग्रो दिए। १७ तब तिनले तिनीहरूलाई भने: “मलाई हेर! म जे गर्छु, तिमीहरू पनि त्यसै गर। छाउनीको नजिक पुगेपछि म जे गर्छु, तिमीहरूले पनि ठीक त्यसै गर। १८ जब म र मसँगै भएकाहरूले सिङ फुक्छौँ, तब तिमीहरूले पनि छाउनीको चारैतिर आफू उभिरहेको ठाउँबाट सिङ फुक्नू र यसो भनेर कराउनू, ‘यो लडाइँ यहोवाको र गिदोनको हो!’”

१९ गिदोन र तिनीसँगै भएका १०० जना पुरुष मध्यरात* नहुँदै मिद्यानीहरूको छाउनीको नजिकै आइपुगे; त्यतिबेला त्यहाँका पहरेदारहरूले भर्खरै मात्र आफ्नो पालो फेरेका थिए। तब गिदोन र तिनीसँगै आएका पुरुषहरूले आ-आफ्नो सिङ फुके+ र हातमा बोकेको गाग्रो फुटाए।+ २० यसरी ती तीनै दलले आ-आफ्नो सिङ फुके र गाग्रो फुटाए। तिनीहरूले बायाँ हातले राँको समाए, दायाँ हातमा भएको सिङ फुके र यसो भन्दै कराए: “यहोवाको र गिदोनको तरबार!” २१ गिदोन र तिनका मानिसहरूले छाउनीको चारैतिर आ-आफ्नै ठाउँमा उभिएर यो सबै गरे; मिद्यानीहरूका सैनिकहरूचाहिँ कराउँदै भागे।+ २२ यतिन्जेल ती ३०० जनाले सिङ फुकिरहे। यहोवा परमेश्‍वरले शत्रुहरूको छाउनीमा खलबली मच्चाइदिनुभयो र तिनीहरूले एकअर्काविरुद्ध तरबार उठाउन थाले।+ तब शत्रुहरूको सेना जेरेराहतर्फ बेथ-सित्ताहसम्म र तब्बाथनजिकै हाबिल-मेहोलाहको+ छेउछाउसम्मै भाग्यो।

२३ तब नप्तालि, असेर र मनस्सेको+ कुलबाट इस्राएली सिपाहीहरूलाई बोलाइयो अनि तिनीहरूले मिद्यानीहरूलाई खेदे। २४ गिदोनले एप्रैमको सम्पूर्ण पहाडी इलाकामा सन्देशवाहकहरूमार्फत यस्तो खबर पठाए: “मिद्यानीहरूलाई आक्रमण गर्न तल जाऊ अनि यर्दन नदीको जँघार* र बेथ-बराहसम्मका त्यसका शाखा नदीहरू कब्जा गर।” त्यसैले एप्रैमका सबै मानिसलाई बोलाइयो अनि तिनीहरूले यर्दन नदीको जँघार र बेथ-बराहसम्मका शाखा नदीहरू कब्जा गरे। २५ तिनीहरूले मिद्यानका दुई जना नाइके ओरेब र जिबलाई पनि पक्रे। तिनीहरूले ओरेबलाई+ एउटा ठूलो चट्टानमा मारे र त्यसलाई ओरेबको चट्टान भन्‍ने नाम दिइयो। त्यसैगरि तिनीहरूले जिबलाई अङ्‌गुर पेल्ने कोलमा मारे र त्यसलाई जिबको कोल भन्‍ने नाम दिइयो। तिनीहरूले मिद्यानीहरूलाई खेद्‌न छोडेनन्‌+ अनि तिनीहरूले ओरेब र जिबको टाउको यर्दनको इलाकामा गिदोनकहाँ ल्याए।

८ तब एप्रैमका मानिसहरूले गिदोनलाई भने: “तपाईँले हामीसित किन यस्तो व्यवहार गर्नुभयो? मिद्यानीहरूसित लड्‌न हामीलाई किन बोलाउनुभएन?”+ यस कुरालाई लिएर एप्रैमीहरूले गिदोनसित निकै गनगन गरे।+ २ तर गिदोनले तिनीहरूलाई भने: “तिमीहरूले गरेको कामको तुलनामा मैले त के नै गरेको छु र? हामी अबिएजेरको घरानाले+ जे गऱ्‍यौँ, त्योभन्दा कैयौँ गुणा महान्‌ काम त तिमीहरू एप्रैमको घरानाले+ नै गरेनौ र?* ३ परमेश्‍वरले मिद्यानीहरूका नाइके ओरेब र जिबलाई तिमीहरूकै हातमा सुम्पिदिनुभएको थियो।+ त्यसैले तिमीहरूले गरेको कामको तुलनामा मैले त्यस्तो के गरेको छु र?” गिदोनको यो कुरा सुनेपछि तिनीहरूको रिस शान्त भयो।

४ त्यसपछि गिदोन यर्दन तरेर पारि गए। तिनी र तिनीसँग भएका ३०० जना मानिस थाकेको भए तापनि तिनीहरूले शत्रुहरूलाई खेद्‌न छोडेनन्‌। ५ सुक्कोथमा पुगेपछि गिदोनले त्यहाँका मानिसहरूलाई भने: “म मिद्यानका राजाहरू जबह र जल्मुन्‍नालाई खेद्‌दै छु। बिन्ती छ, मसँगसँगै आइरहेका मेरा मानिसहरूलाई रोटी दिनुहोस्‌ किनभने तिनीहरू थाकेका छन्‌।” ६ तर सुक्कोथका नाइकेहरूले भने: “हामीले तपाईँका सिपाहीहरूलाई किन रोटी दिनु? के तपाईँले जबह र जल्मुन्‍नालाई आफ्नो कब्जामा लिइसक्नुभएको छ र?” ७ तब गिदोनले भने: “त्यसो हो भने ठीक छ! यहोवा परमेश्‍वरले जबह र जल्मुन्‍नालाई मेरो हातमा सुम्पिनुभएपछि म तिमीहरूलाई जङ्‌गली काँडाले बेसरी हिर्काउनेछु।”+ ८ त्यसपछि तिनी त्यहाँबाट पेनुएल गए र त्यहाँ पनि त्यस्तै बिन्ती गरे। तर पेनुएलका मानिसहरूले पनि सुक्कोथका मानिसहरूले जस्तै जवाफ दिए। ९ त्यसैले पेनुएलका मानिसहरूलाई पनि तिनले भने: “जब म विजयी भएर फर्कन्छु, तब तिमीहरूको यो धरहरा भत्काइदिनेछु।”+

१० जबह र जल्मुन्‍ना आफ्ना १५ हजार सिपाहीसित कर्कोरमा थिए। पूर्वबाट आएकाहरूमध्ये+ बच्नेहरू यति मात्र थिए किनभने तरबार भिरेका १ लाख २० हजार सिपाही लडाइँमा मारिएका थिए। ११ गिदोन भने नोबह र योगबेहाको+ पूर्वतिर पालमा बसोबास गर्ने मानिसहरूको बाटो हुँदै मास्तिर लागे अनि ती मानिसहरू तयार नभएको बेला गिदोनले तिनीहरूको छाउनीमा अचानक आक्रमण गरे। १२ जबह र जल्मुन्‍ना त्यहाँबाट भागे तर गिदोनले भने तिनीहरूलाई खेद्‌न छोडेनन्‌; तिनले ती मिद्यानी राजाहरू जबह र जल्मुन्‍नालाई पक्रे। तब तिनीहरूको पूरै छाउनीमा डरत्रास फैलियो।

१३ त्यसपछि योआसका छोरा गिदोन हेरेसको उकालो हुँदै लडाइँबाट फर्के। १४ त्यो बाटो फर्कँदै गर्दा तिनले सुक्कोथका एक जना युवकलाई समाते अनि सुक्कोथका नाइके र मुखियाहरूबारे सोधखोज गरे। त्यसैले त्यस युवकले त्यहाँका नाइकेहरू र मुखियाहरूको नाम लेखेर दियो। तिनीहरू जम्मा ७७ जना थिए। १५ त्यसपछि गिदोनले सुक्कोथका मानिसहरूकहाँ गएर भने: “जबह र जल्मुन्‍ना यहाँ छन्‌। तिमीहरूले यिनीहरूकै विषयमा मलाई यसो भनेर गिज्याएका थियौ: ‘हामीले तपाईँका सिपाहीहरूलाई किन रोटी दिनु? के तपाईँले जबह र जल्मुन्‍नालाई आफ्नो कब्जामा लिइसक्नुभएको छ र?’”+ १६ तब तिनले सुक्कोथका नाइकेहरूलाई पक्रे अनि तिनीहरूलाई जङ्‌गली काँडाले चुटेर पाठ सिकाए।+ १७ साथै तिनले पेनुएलको+ धरहरा भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे।

१८ गिदोनले जबह र जल्मुन्‍नालाई सोधे: “तिमीहरूले ताबोरमा मारेका मानिसहरू कस्ता देखिन्थे?” तिनीहरूले यस्तो जवाफ दिए: “उनीहरू तपाईँजस्तै थिए, सबै जना राजकुमारजस्तै देखिन्थे।” १९ तब गिदोनले भने: “तिनीहरू त मेरा साक्खै दाजुभाइ थिए। जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु, तिमीहरूले मेरा दाजुभाइलाई नमारेका भए म तिमीहरूको पनि ज्यान लिने थिइनँ।” २० गिदोनले आफ्नो पहिलो सन्तान यथेरलाई भने: “उठ र तिनीहरूलाई मार!” तर यथेरले आफ्नो तरबार थुतेनन्‌; तिनी डराए किनभने तिनी ठिटै थिए। २१ त्यसपछि जबह र जल्मुन्‍नाले भने: “तपाईँसित हिम्मत छ भने तपाईँ नै हामीलाई मार्नुहोस्‌।” तब गिदोन उठे अनि जबह र जल्मुन्‍ना दुवैलाई मारे।+ तिनले तिनीहरूका उँटको घाँटीमा भएका चन्द्रहारहरू पनि लिए।

२२ पछि इस्राएलीहरूले गिदोनलाई भने: “हामीमाथि तपाईँले नै—तपाईँ, तपाईँका छोरा र नातिले शासन गर्नुहोस्‌ किनभने तपाईँले हामीलाई मिद्यानीहरूको हातबाट बचाउनुभयो।”+ २३ तर गिदोनले तिनीहरूलाई भने: “म वा मेरो छोराले तिमीहरूमाथि शासन गर्नेछैनौँ। तिमीहरूमाथि त यहोवा परमेश्‍वरले नै शासन गर्नुहुनेछ।”+ २४ गिदोनले अझै भने: “म तिमीहरूलाई एउटा बिन्ती गर्न चाहन्छु: तिमीहरूले लुटेको धनमालबाट मलाई एउटा-एउटा नत्थ देऊ।” (किनकि इस्राएलीहरूले हराएका शत्रुहरू इस्माएली थिए र तिनीहरूले नाकमा सुनको नत्थ लगाउँथे।)+ २५ तब तिनीहरूले भने: “अवश्‍य दिन्छौँ।” अनि तिनीहरूले एउटा पछ्यौरा बिछ्याए अनि सबैले आफ्नो लुटको धनमालबाट एउटा-एउटा नत्थ त्यहाँ राखिदिए। २६ गिदोनले मागेका सुनको नत्थ जम्मा गर्दा १,७०० शेकेल* भयो। यसबाहेक तिनले चन्द्र आकारका गहना, हार अनि मिद्यानका राजाहरूले लगाउने बैजनी ऊनको पोसाक र उँटलाई लगाइएका हारहरू पनि जम्मा गरे।+

२७ यी सबै गरगहनाबाट गिदोनले एपोद*+ बनाए अनि सबैलाई देखाउन आफ्नो सहर ओप्रामा+ राखे। तर पूरै इस्राएलले त्यस एपोदसितै वेश्‍यावृत्ति गर्न* थाल्यो+ अनि गिदोन र तिनका सारा घरानाको लागि त्यो एउटा पासो बन्यो।+

२८ यसरी इस्राएलीहरूले मिद्यानीहरूलाई+ आफ्नो वशमा पारे अनि तिनीहरू इस्राएलीहरूविरुद्ध फेरि खडा भएनन्‌।* गिदोनको पालामा देशमा ४० वर्षसम्म शान्ति छायो।+

२९ योआसका छोरा यरुब्बाआल+ आफ्नो घर फर्के र त्यहीँ बसे।

३० गिदोनका ७० जना छोरा जन्मिए किनभने तिनका थुप्रै पत्नी थिए। ३१ सकेममा बस्ने तिनकी उपपत्नीबाट पनि एउटा छोरा जन्मियो र तिनले उसको नाम अबिमेलेक+ राखे। ३२ योआसका छोरा गिदोनले लामो र सन्तुष्ट जीवन बिताएपछि तिनको मृत्यु भयो। तिनलाई अबिएजेरीहरूको इलाका+ ओप्रामा तिनका बुबा योआस गाडिएकै ठाउँमा गाडियो।

३३ गिदोन मरेको धेरै समय बित्न नपाउँदै इस्राएलीहरूले फेरि बाआल देवताहरूसित वेश्‍यावृत्ति गर्न* थाले+ अनि तिनीहरूले बाआल-बेरिथलाई आफ्नो देवता बनाए।+ ३४ इस्राएलीहरूले आफ्ना परमेश्‍वर यहोवालाई सम्झेनन्‌,+ जसले तिनीहरूलाई वरपरका सबै शत्रुको हातबाट बचाउनुभएको थियो।+ ३५ इस्राएलको निम्ति यरुब्बाआलले अर्थात्‌ गिदोनले गरेका सबै असल काम तिनीहरूले बिर्से अनि गिदोनको घरानालाई पनि कुनै दया* देखाएनन्‌।+

९ पछि यरुब्बाआलका+ छोरा अबिमेलेक सकेममा आफ्ना मामाहरूकहाँ गए अनि तिनले तिनीहरूलाई र आफ्नो हजुरबुबाका पूरै घरानालाई* यसो भने: २ “कृपया सकेमका सबै अगुवालाई* यो कुरा सोध्नुहोस्‌, ‘तपाईँहरूमाथि यरुब्बाआलका ७० जना छोराले+ शासन गर्नु बेस कि एक जनाले? अनि यो कुरा पनि नबिर्सनुहोस्‌, तपाईँहरू र मबीच रगतको नाता छ।’”*

३ अबिमेलेकले भनेको कुरा तिनका मामाहरूले सकेमका सबै अगुवालाई बताइदिए र तिनीहरू अबिमेलेकको पक्ष लिन जुरमुरिए।* तिनीहरूले यसो भने: “तिनी हाम्रा आफ्नै भाइ हुन्‌।” ४ त्यसपछि तिनीहरूले अबिमेलेकलाई बाआल-बेरिथको मन्दिरबाट+ ७० टुक्रा चाँदी दिए र अबिमेलेकले त्यो चाँदी तिरेर केही निकम्मा र बेसोमती मानिसहरू भाडामा लिए। ५ त्यसपछि तिनी ती मानिसहरूलाई लिएर ओप्रामा+ आफ्नो बुबाको घरमा गए र त्यहाँ तिनले आफ्ना दाजुभाइ अर्थात्‌ यरुब्बाआलका ७० जना छोरालाई एउटै ढुङ्‌गामाथि मारे।+ यरुब्बाआलका कान्छो छोरा योताम मात्र बचे किनभने उनी लुकेर बसेका थिए।

६ तब सकेमका सबै अगुवा र बेथ-मिल्लोका मानिसहरू भेला भए अनि तिनीहरूले सकेमको खम्बा नजिकैको ठूलो रूखको छेउमा अबिमेलेकलाई राजा बनाए।+

७ जब योतामलाई यी सबै कुरा सुनाइयो, तब उनी जुरुक्क उठेर गिरिज्जिम डाँडाको टुप्पामा+ गए र ठूलो स्वरमा तिनीहरूलाई भने: “हे सकेमका अगुवाहरू हो, मेरो कुरा सुन्‍नुहोस्‌ र परमेश्‍वरले पनि तपाईँहरूको कुरा सुन्‍नुहुनेछ।

८ “एकचोटिको कुरा हो, रूखहरू आफूमाथि राजा नियुक्‍त गर्न भेला भए र तिनीहरूले जैतुनको रूखलाई भने, ‘तपाईँ हाम्रो राजा बन्‍नुहोस्‌।’+ ९ तर जैतुनको रूखले अरू रूखहरूलाई भन्यो, ‘परमेश्‍वर र मानिसहरूको सम्मानको लागि प्रयोग गरिने तेल निकाल्न छोडेर म किन अरू रूखहरूमाथि शासन गर्न* जाऊँ?’ १० त्यसपछि रूखहरूले अन्जिरको रूखलाई भने, ‘तपाईँ हाम्रो राजा बन्‍नुहोस्‌।’ ११ तब अन्जिरको रूखले तिनीहरूलाई भन्यो, ‘आफ्नो रूखमा राम्रा र मीठामीठा फल फलाउन छोडेर म किन अरू रूखहरूमाथि शासन गर्न जाऊँ?’ १२ त्यसपछि रूखहरूले अङ्‌गुरको बोटलाई भने, ‘तपाईँ हाम्रो राजा बन्‍नुहोस्‌।’ १३ तब अङ्‌गुरको बोटले तिनीहरूलाई भन्यो, ‘परमेश्‍वर र मानिसहरूलाई खुसी तुल्याउने नयाँ मद्य दिन छोडेर म किन अरू रूखहरूमाथि शासन गर्न जाऊँ?’ १४ अन्तमा सबै रूखले काँडे झाडीलाई भने, ‘तपाईँ हाम्रो राजा बन्‍नुहोस्‌।’+ १५ तब काँडे झाडीले अरू रूखहरूलाई भन्यो, ‘तपाईँहरू मलाई साँच्चै राजा बनाउन चाहनुहुन्छ भने मेरो छायामुनि आएर बस्नुहोस्‌। होइन भने काँडे झाडीबाट आगो निस्कोस्‌ र लेबनानका देवदारहरूलाई भस्म पारोस्‌।’

१६ “अब भन्‍नुहोस्‌, के तपाईँहरूले कुनै स्वार्थ नराखी साँचो मनले अबिमेलेकलाई राजा बनाउनुभएको हो?+ अनि के तपाईँहरूले यरुब्बाआल र उहाँको घरानामाथि दया देखाउनुभएको छ? के तपाईँहरूले उहाँसित आदरपूर्ण व्यवहार गर्नुभएको छ? १७ मेरो बुबाले आफ्नो ज्यानको खतरा मोलेर तपाईँहरूलाई मिद्यानीहरूको हातबाट+ बचाउनुभयो।+ १८ तर आज तपाईँहरू मेरो बुबाको घरानाविरुद्ध खडा भएर उहाँका ७० जना छोरालाई एउटै ढुङ्‌गामा मार्नुभयो।+ अनि मेरो बुबाकी दासीको छोरा+ अबिमेलेक तपाईँहरूको भाइ भएकोले तपाईँहरूले तिनलाई सकेमका अगुवाहरूको राजा बनाउनुभयो। १९ हो, यदि तपाईँहरूले यरुब्बाआल र उहाँको घरानासित कुनै स्वार्थ नराखी साँचो मनले यस्तो व्यवहार गर्नुभएको हो भने अबिमेलेकसित रमाउनुहोस्‌ र तिनी पनि तपाईँहरूसित रमाऊन्‌। २० होइन भने अबिमेलेकबाट आगो निस्कोस्‌ र सकेम अनि बेथ-मिल्लोका अगुवाहरूलाई भस्म पारोस्‌;+ त्यसरी नै सकेम अनि बेथ-मिल्लोका अगुवाहरूबाट पनि आगो निस्कोस्‌ र अबिमेलेकलाई भस्म पारोस्‌।”+

२१ त्यसपछि योताम+ भागेर बेरमा गए र आफ्नो दाइ अबिमेलेकको डरले गर्दा उनी त्यहीँ बसे।

२२ अबिमेलेकले इस्राएलमाथि तीन वर्ष शासन गरे। २३ त्यसपछि परमेश्‍वरले अबिमेलेक र सकेमका अगुवाहरूबीच फाटो ल्याइदिनुभयो र तिनीहरूले अबिमेलेकसित विश्‍वासघात गर्न थाले। २४ यरुब्बाआलका ७० जना छोराको रगतको बदला लिन सकियोस्‌ अनि तिनीहरूको रगतको दोष तिनीहरूका हत्यारा—आफ्नै दाजुभाइको हत्यारा अबिमेलेक+ र तिनलाई सघाउने सकेमका अगुवाहरूमाथि परोस्‌ भनेर यसो भएको थियो। २५ सकेमका अगुवाहरूले अबिमेलेकलाई मार्न डाँडाका टुप्पाहरूमा मानिसहरू खटाए। तिनीहरूले त्यो बाटो भएर हिँड्‌ने सबैलाई लुट्‌थे। पछि यो कुरा अबिमेलेकलाई सुनाइयो।

२६ अनि एबेदका छोरा गाल आफ्ना दाजुभाइसँगै सकेम आए+ र उनले सकेमका अगुवाहरूको मन जिते। २७ तिनीहरूले सकेमका मानिसहरूको बगानमा गएर अङ्‌गुर टिपे र त्यसलाई पेलेर मद्य बनाए अनि चाड मनाउन थाले। त्यसपछि तिनीहरू आफ्नो देवताको मन्दिरमा गए+ र त्यहाँ खानपिन गरेर अबिमेलेकलाई सराप्न थाले। २८ अनि एबेदका छोरा गालले भने: “अबिमेलेक र सकेम* को हुन्‌ र? हामी किन तिनीहरूको सेवा गरौँ? के अबिमेलेक यरुब्बाआलको+ छोरा होइन र? अनि के जबुलचाहिँ उसैले नियुक्‍त गरेको अधिकारी होइन र? अबिमेलेकको सेवा गर्नुभन्दा त बरु सकेमका बुबा हामोरको सन्तानकै सेवा गर्नु बेस! २९ यी मानिसहरू मेरो अधीनमा भएका भए म अबिमेलेकलाई हटाउने थिएँ।” त्यसपछि गालले अबिमेलेकलाई भने: “तिम्रो सेनाको सङ्‌ख्या बढाऊ र मसित लडाइँ गर्न आऊ।”

३० एबेदका छोरा गालको कुरा सुनेपछि त्यस सहरका प्रमुख जबुल रिसले चूर भए। ३१ त्यसैले तिनले सन्देशवाहकहरूमार्फत अबिमेलेककहाँ सुटुक्क* यस्तो खबर पठाए: “हेर्नुहोस्‌! एबेदका छोरा गाल र तिनका दाजुभाइ अहिले यहाँ छन्‌ र तिनीहरूले पूरै सहरलाई तपाईँविरुद्ध भड्‌काइरहेका छन्‌। ३२ यसकारण तपाईँ र तपाईँका मानिसहरू राती नै उठेर आउनुहोस्‌ र सहरबाहिर ढुकेर बस्नुहोस्‌। ३३ बिहान घाम झुल्कनेबित्तिकै उठ्‌नुहोस्‌ र सहरलाई आक्रमण गर्नुहोस्‌ अनि जब गाल र उनका मानिसहरू तपाईँहरूलाई आक्रमण गर्न आउँछन्‌, तब तिनीहरूलाई हराउन जे-जति गर्नुपर्छ, त्यो सबै गर्नुहोस्‌।”

३४ त्यसैले अबिमेलेक अनि तिनका मानिसहरू राती नै उठे र चार दल बनाएर सकेमलाई आक्रमण गर्न सहरबाहिर ढुकिरहे। ३५ जब एबेदका छोरा गाल सहरबाहिर गए र मूलढोकामा उभिए, तब अबिमेलेक र तिनका मानिसहरू आफू लुकिरहेको ठाउँबाट बाहिर निस्के। ३६ गालले मानिसहरू आइरहेको देखेपछि जबुललाई भने: “हेर त! मानिसहरू डाँडाका टुप्पाहरूबाट तल झर्दै छन्‌।” तर जबुलले गाललाई भने: “मानिसहरूजस्तै देखिएको त्यो त डाँडाहरूको छाया पो हो।”

३७ केही समयपछि गालले भने: “हेर त! मानिसहरू पहाडी इलाकाको बीचबाट आउँदै छन्‌ र एउटा दल मेओनेनिमको ठूलो रूख भएको बाटोबाट आउँदै छ।” ३८ जबुलले उनलाई भने: “तिमीले ‘अबिमेलेक को हो र? हामी किन त्यसको सेवा गरौँ?’+ भनेर फुर्ती लगाएका थियौ। खै, अहिले त्यो कुरा कहाँ गयो? तिमीले तिनीहरूलाई नै गिज्याएका थिएनौ र? अब जाऊ र तिनीहरूसित लड।”

३९ त्यसैले गाल सकेमका अगुवाहरूलाई लिएर गए र अबिमेलेकसित लडाइँ गरे। ४० अबिमेलेकले गाललाई खेदे र गाल त्यहाँबाट भागे। सहरको मूलढोकासम्मै मानिसहरूको लासैलास थियो।

४१ अबिमेलेक अरुमाहमै बसोबास गरिरहे अनि जबुलले+ गाल र उनका दाजुभाइलाई सकेमबाट खेदे। ४२ भोलिपल्ट मानिसहरू सहरबाहिर गए र यो कुरा अबिमेलेकलाई बताइयो। ४३ त्यसैले तिनले आफ्ना मानिसहरूलाई भेला गरेर तीन दलमा बाँडे र सहरबाहिर ढुकेर बसे। जब तिनले मानिसहरू सहरबाट बाहिर निस्किरहेको देखे, तब तिनले उनीहरूलाई आक्रमण गरेर मारे। ४४ अबिमेलेक र तिनीसँग भएको दल अघि बढेर सहरको मूलढोकालाई आफ्नो कब्जामा लिए अनि अर्को दुई वटा दलले चाहिँ सहरबाहिर भएका मानिसहरूलाई आक्रमण गरेर मारे। ४५ त्यस दिनभरि नै अबिमेलेकले सहरमाथि आक्रमण गरेर त्यसलाई आफ्नो कब्जामा लिए। तिनले सहरमा भएका मानिसहरूलाई मारे र सहरलाई पनि तहसनहस पारिदिए+ र त्यहाँको जमिनमा नुन छरिदिए।

४६ यो कुरा सुनेपछि सकेमको किल्लाका अगुवाहरू तुरुन्तै एल-बेरिथको मन्दिरको गोदाममा* गए।+ ४७ सकेमको किल्लाका सबै अगुवा एक ठाउँमा भेला भएका छन्‌ भनेर सुन्‍नेबित्तिकै ४८ अबिमेलेक र तिनका मानिसहरू जाल्मोन डाँडामा उक्लिए। अबिमेलेकले एउटा बन्चरो लिएर रूखको हाँगा काटे र आफ्नो काँधमा बोके। अनि आफ्ना मानिसहरूलाई भने: “मैले जे गरेँ, तिमीहरूले पनि झट्टै त्यसो गरिहाल!” ४९ तब अबिमेलेकका मानिसहरूले हाँगा काटे र तिनको पछिपछि लागे। त्यसपछि तिनीहरूले ती हाँगाहरू गोदामको चारैतिर ठड्‌याएर त्यसमा आगो लगाइदिए। यसरी सकेमका अगुवाहरू र त्यहाँको किल्लामा भएका सबै मानिस अर्थात्‌ पुरुष र स्त्रीगरि लगभग १ हजार जना मारिए।

५० त्यसपछि अबिमेलेक थेबेज गए; तिनले लडाइँ गरेर थेबेजलाई आफ्नो कब्जामा लिए। ५१ त्यस सहरको बीचमा एउटा बलियो किल्ला थियो। सहरका पुरुष, स्त्री र सबै अगुवा त्यहाँ भागे। अनि किल्लाको ढोका बन्द गरेर तिनीहरू छतमा गए। ५२ यत्तिकैमा अबिमेलेकले किल्लामा पुगेर आक्रमण गरे। अनि किल्लामा आगो लगाइदिन तिनी ढोकानजिक गए। ५३ तब एउटी स्त्रीले माथिबाट जाँतो खसालेर अबिमेलेकको खप्पर फुटाइदिइन्‌।+ ५४ तिनले तुरुन्तै आफ्नो हतियार बोक्ने सेवकलाई बोलाएर भने: “तरबार झिकेर मलाई मारिहाल नत्र त मानिसहरूले यसो भन्‍नेछन्‌, ‘तिनलाई एउटी स्त्रीले मारिन्‌।’” त्यसैले तिनको सेवकले तिनलाई तरबारले रोपिदिए र तिनी मरे।

५५ अबिमेलेक मरेको देखेपछि सबै इस्राएली आ-आफ्नो घर फर्के। ५६ यसरी परमेश्‍वरले अबिमेलेकले आफ्ना ७० जना दाजुभाइलाई मारेर आफ्ना बुबाको विरुद्धमा गरेको दुष्ट कामको बदला लिनुभयो।+ ५७ परमेश्‍वरले सकेमका मानिसहरूले गरेको दुष्ट कामको पनि बदला लिनुभयो। यसरी यरुब्बाआलका+ छोरा योतामको+ सराप तिनीहरूमाथि पऱ्‍यो।

१० अबिमेलेकपछि इस्राएलीहरूको उद्धार गर्न न्यायकर्ताको रूपमा तोला खडा भए। तिनी इस्साकारको कुलको दोदोका नाति, पुआका छोरा थिए।+ तिनी एप्रैमको पहाडी इलाकाको सामिरमा बस्थे। २ तिनी २३ वर्षसम्म इस्राएलीहरूको न्यायकर्ता भए। त्यसपछि तिनी मरे र तिनलाई सामिरमा गाडियो।

३ तोलापछि गिलादी याइर न्यायकर्ता बने। तिनी २२ वर्षसम्म इस्राएलीहरूको न्यायकर्ता भए। ४ तिनका ३० जना छोरा थिए र घुमफिर गर्नको लागि तिनीहरूसित ३० वटा गधा थिए। गिलादको इलाकामा तिनीहरूका ३० वटा सहर थिए, जसलाई अहिलेसम्म हव्वोथ-याइर+ भनिन्छ। ५ त्यसपछि याइर मरे र तिनलाई कमोनमा गाडियो।

६ इस्राएलीहरूले फेरि यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे।+ तिनीहरूले बाआल देवताहरू,+ अस्तोरेथ देवीका मूर्तिहरू अनि अराम,* सिदोन र मोआबका देवताहरूका+ साथै अम्मोनी+ र पलिस्तियालीहरूका+ देवताहरूलाई पुज्न थाले। तिनीहरूले यहोवा परमेश्‍वरलाई त्यागे र उहाँको उपासना गर्न छोडे। ७ तब यहोवा परमेश्‍वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँले तिनीहरूलाई पलिस्तियाली र अम्मोनीहरूको हातमा सुम्पिदिनुभयो।*+ ८ त्यसैले त्यस वर्षदेखि पलिस्तियाली र अम्मोनीहरूले यर्दनको पूर्वपट्टि गिलादमा बसोबास गर्ने सबै इस्राएलीलाई १८ वर्षसम्म एकदमै थिचोमिचो र अत्याचार गरे। त्यो पहिले एमोरीहरूको इलाका थियो। ९ अनि अम्मोनीहरू यर्दन नदी तरेर यहुदा, बिन्यामिन र एप्रैमको कुलका मानिसहरूसित पनि युद्ध गर्न आउँथे। त्यसैले इस्राएलीहरू साह्रै सङ्‌कटमा परे। १० त्यसपछि इस्राएलीहरूले मदतको लागि यहोवा परमेश्‍वरलाई यसो भन्दै पुकारे:+ “हामीले तपाईँविरुद्ध पाप गरेका छौँ किनभने हामीले तपाईँलाई त्याग्यौँ र बाआल देवताहरूलाई पुज्यौँ।”+

११ तर यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई भन्‍नुभयो: “के मैले तिमीहरूलाई मिश्रबाट* छुटाएर ल्याइनँ र?+ अनि एमोरी,+ अम्मोनी, पलिस्तियाली,+ १२ सिदोनी, अमालेकी र मिद्यानीहरूले तिमीहरूलाई थिचोमिचो गर्दा के मैले बचाइनँ र? त्यतिबेला तिमीहरूले मलाई पुकाऱ्‍यौ र मैले तिमीहरूलाई तिनीहरूको हातबाट छुटाएँ। १३ तैपनि तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ।+ त्यसैले अब म फेरि तिमीहरूलाई बचाउनेछैनँ।+ १४ तिमीहरूले ज-जसलाई आफ्ना देवता मानेका छौ, तिनीहरूकहाँ नै जाओ र मदतको लागि तिनीहरूलाई नै पुकार।+ ती देवताहरूले नै तिमीहरूलाई सङ्‌कटबाट बचाऊन्‌।”+ १५ तर इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई भने: “हामीले पाप गरेका छौँ। हामीलाई जे गर्न तपाईँलाई ठीक लाग्छ, त्यही गर्नुहोस्‌। तर बिन्ती छ, आज हामीलाई बचाउनुहोस्‌।” १६ त्यसपछि तिनीहरूले आफ्नो बीचबाट अरू देवताहरूका मूर्ति हटाए र यहोवा परमेश्‍वरको उपासना गर्न थाले।+ त्यसपछि उहाँले इस्राएलीहरूको दुःख हेरिरहन सक्नुभएन।+

१७ केही समयपछि अम्मोनीहरू+ युद्धको लागि भेला भए र तिनीहरूले गिलादमा छाउनी हाले। त्यसैले इस्राएलीहरू पनि एक ठाउँमा भेला भए र तिनीहरूले मिस्पामा छाउनी हाले। १८ गिलादका मानिसहरू र नाइकेहरूले आपसमा यसो भन्‍न थाले: “अम्मोनीहरूसित लडाइँ गर्न कसले हाम्रो नेतृत्व लिन्छ?+ जसले नेतृत्व लिन्छ, ऊ नै गिलादका सारा मानिसहरूको नाइके बनोस्‌।”

११ गिलादी यिप्तह+ शूरवीर योद्धा थिए; तिनी एउटी वेश्‍याको छोरा थिए र तिनको बुबाको नाम गिलाद थियो। २ गिलादकी पत्नीले पनि छोराहरू जन्माइन्‌। तिनका छोराहरू हुर्किएपछि तिनीहरूले यिप्तहलाई यसो भनेर घरबाट निकालिदिए: “तिमीले हाम्रो बुबाबाट केही पनि अंश पाउनेछैनौ किनभने तिमी अर्कै आइमाईको छोरा हौ।” ३ त्यसैले यिप्तह आफ्ना दाजुभाइहरूदेखि भागेर गए र तोबमा बसोबास गर्न थाले। त्यहाँका केही बेकम्मा मानिसहरूले तिनलाई साथ दिए र तिनको पछि लागे।

४ केही समयपछि अम्मोनीहरूले इस्राएलीहरूसित युद्ध गरे।+ ५ अम्मोनीहरू इस्राएलीहरूसित लड्‌न आउँदा गिलादका नाइकेहरू यिप्तहलाई फर्काउन तुरुन्तै तोब गए। ६ तिनीहरूले यिप्तहलाई भने: “आऊ! हाम्रो सेनापति बन अनि अम्मोनीहरूसित लड्‌न हामीलाई मदत गर।” ७ तर यिप्तहले गिलादका ती नाइकेहरूलाई भने: “मलाई असाध्यै घृणा गरेर मेरो बुबाको घरबाट निकाल्ने तपाईँहरू नै होइन र?+ अनि अहिले तपाईँहरूमाथि सङ्‌कट आइपर्दा मलाई किन बोलाउनुहुन्छ?” ८ यो सुनेपछि गिलादका नाइकेहरूले यिप्तहलाई भने: “हो, तर अब हामी तिमीकहाँ आएका छौँ। तिमी हामीसितै फर्क्यौ र अम्मोनीहरूविरुद्ध लडाइँ गऱ्‍यौ भने तिमी गिलादका सारा बासिन्दाको अगुवा हुनेछौ।”+ ९ त्यसैले यिप्तहले गिलादका नाइकेहरूलाई भने: “यदि तपाईँहरूले अम्मोनीहरूसित लड्‌न मलाई लैजानुभयो र तिनीहरूलाई हराउन यहोवा परमेश्‍वरले मलाई मदत गर्नुभयो भने म अवश्‍य तपाईँहरूको अगुवा बन्‍नेछु!” १० तब गिलादका नाइकेहरूले यिप्तहलाई भने: “हामीबीच यहोवा परमेश्‍वर नै साक्षी* बनून्‌ अनि हामीले अहिले जे भन्यौँ, त्यसअनुसार गरेनौँ भने उहाँले नै हाम्रो न्याय गरून्‌।” ११ त्यसपछि यिप्तह गिलादका नाइकेहरूसित गए अनि मानिसहरूले तिनलाई आफ्नो अगुवा र सेनापति बनाए। अनि यिप्तहले आफू र ती नाइकेहरूबीच भएको सबै कुरा मिस्पामा+ यहोवा परमेश्‍वरसामु दोहोऱ्‍याए।

१२ त्यसपछि यिप्तहले सन्देशवाहकहरूमार्फत अम्मोनीहरूका+ राजाकहाँ यो सन्देश पठाए: “मसित तपाईँको के दुस्मनी छ? अनि तपाईँ हाम्रो इलाकामा आक्रमण गर्न किन आउनुभयो?” १३ तब अम्मोनीहरूका राजाले यिप्तहका सन्देशवाहकहरूलाई यस्तो जवाफ दिए: “किनभने मिश्रबाट* निस्केपछि इस्राएलीहरूले हाम्रो इलाका लिए;+ तिनीहरूले अर्नोनदेखि+ याब्बोक र यर्दनसम्मको+ हाम्रो इलाका कब्जा गरे। त्यसैले खुरुक्क हामीलाई ती इलाकाहरू फर्काऊ।” १४ तर यिप्तहले सन्देशवाहकहरूलाई अम्मोनीहरूका राजाकहाँ फेरि पठाए १५ र यो खबर सुनाउन लगाए:

“यिप्तह यसो भन्‍नुहुन्छ: ‘इस्राएलीहरूले मोआबी+ र अम्मोनीहरूको+ इलाका लिएका होइनन्‌। १६ मिश्रबाट निस्केर आउँदा इस्राएलीहरू निर्जनभूमि हुँदै लाल समुद्रसम्म+ हिँडेर कादेसमा+ आइपुगेका थिए। १७ तब इस्राएलीहरूले सन्देशवाहकहरूमार्फत एदोमका+ राजालाई यस्तो सन्देश पठाएका थिए: “कृपया हामीलाई तपाईँको इलाका भएर जान दिनुहोस्‌!” तर एदोमका राजाले जान दिएनन्‌। अनि तिनीहरूले मोआबका+ राजालाई पनि त्यस्तै सन्देश पठाएका थिए तर तिनले पनि मानेनन्‌। त्यसैले इस्राएलीहरू कादेसमै+ बसोबास गरिरहे। १८ निर्जनभूमि हुँदै यात्रा गर्दा तिनीहरू एदोम+ र मोआबको इलाकाबाट हिँडेनन्‌। बरु मोआबको इलाकाको पूर्वतिरबाट गए+ अनि अर्नोनको इलाकाको छेउमा पाल टाँगे। तिनीहरू मोआबको इलाकाको छेउछाउसम्म पनि गएनन्‌+ किनभने अर्नोन मोआबको सिमाना थियो।

१९ “‘त्यसपछि इस्राएलीहरूले हेस्बोनमा शासन गर्ने एमोरीहरूका राजा सिहोनकहाँ सन्देशवाहकहरूमार्फत यस्तो खबर पठाए: “बिन्ती छ, हामीलाई तपाईँको इलाका हुँदै हाम्रो गन्तव्यसम्म पुग्न दिनुहोस्‌।”+ २० तर सिहोनले इस्राएलीहरूलाई विश्‍वास गरेनन्‌। त्यसैले सिहोनले आफ्ना सबै मानिस भेला गरे र याहजमा छाउनी हाले अनि इस्राएलीहरूसित लडे।+ २१ तब इस्राएलका परमेश्‍वर यहोवाले सिहोन र तिनका सारा मानिसलाई इस्राएलीहरूको हातमा सुम्पिदिनुभयो। इस्राएलीहरूले तिनीहरूलाई हराए अनि एमोरीहरूको पूरै इलाका आफ्नो कब्जामा लिए।+ २२ यसरी इस्राएलीहरूले अर्नोनदेखि याब्बोकसम्म अनि निर्जनभूमिदेखि यर्दनसम्म एमोरीहरूको पूरै इलाका आफ्नो कब्जामा लिए।+

२३ “‘इस्राएलका परमेश्‍वर यहोवाले नै आफ्ना जन इस्राएलीहरूको सामनेबाट एमोरीहरूलाई धपाउनुभएको थियो।+ अब के तपाईँ यी इस्राएलीहरूलाई यहाँबाट धपाउन खोज्दै हुनुहुन्छ? २४ के तपाईँ आफ्नो देवता केमोसले+ जे दिन्छ, त्यो लिनुहुन्‍न र? त्यसरी नै हाम्रा परमेश्‍वर यहोवाले ज-जसलाई हाम्रो सामनेबाट धपाउनुभएको छ, तिनीहरूलाई हामी पनि धपाउनेछौँ।+ २५ के तपाईँ जिप्पोरका छोरा, मोआबका राजा बालाकभन्दा+ ठूलो हुनुहुन्छ र? के बालाकले कहिल्यै इस्राएलीहरूसित झगडा गरेका थिए र? अनि के तिनले कहिल्यै इस्राएलीहरूसित लडाइँ गरे र? २६ इस्राएलीहरू हेस्बोन र त्यसवरपरका सहरहरू,+ अरोएर र त्यसवरपरका सहरहरू अनि अर्नोन नदीको किनारामा भएका सहरहरूमा ३०० वर्षसम्म बसुन्जेल तपाईँले किन ती इलाकाहरू फिर्ता लिन खोज्नुभएन?+ २७ मैले तपाईँविरुद्ध कुनै पाप गरेको छैनँ। त्यसैले मलाई आक्रमण गरेर तपाईँ गल्ती गर्दै हुनुहुन्छ। यहोवा परमेश्‍वर सबैभन्दा महान्‌ न्यायकर्ता+ हुनुहुन्छ; त्यसैले इस्राएलीहरू र अम्मोनीहरूबीच उहाँले नै न्याय गरून्‌।’”

२८ तर यिप्तहले पठाएको सन्देशलाई अम्मोनीहरूका राजाले वास्तै गरेनन्‌।

२९ तब यहोवा परमेश्‍वरको पवित्र शक्‍ति यिप्तहमाथि आयो।+ तिनी गिलाद र मनस्सेको इलाका हुँदै गिलादको मिस्पा गए+ अनि त्यहाँबाट अम्मोनीहरूसित युद्ध गर्न गए।

३० अनि यिप्तहले यहोवा परमेश्‍वरसित यस्तो भाकल गरे:+ “यदि तपाईँले अम्मोनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने ३१ अम्मोनीहरूमाथि विजयी भई फर्कँदा मलाई भेट्‌न मेरो घरको ढोकाबाट जो सबैभन्दा पहिला निस्कन्छ, ऊ यहोवा परमेश्‍वरको हुनेछ+ अनि म उसलाई अग्निभेटीको रूपमा चढाउनेछु।”+

३२ त्यसपछि यिप्तह अम्मोनीहरूसित युद्ध गर्न गए अनि यहोवा परमेश्‍वरले अम्मोनीहरूलाई तिनको हातमा सुम्पिदिनुभयो। ३३ तिनले अरोएरदेखि मिन्‍निथसम्म ठूलो मारकाट मच्चाए र त्यहाँका २० वटा सहरलाई कब्जा गरे। तिनी अम्मोनीहरूसित लड्‌दै हाबिल-केरामिमसम्मै पुगे। यसरी इस्राएलीहरूले अम्मोनीहरूलाई हराए।

३४ जब यिप्तह मिस्पामा+ आफ्नो घर फर्के, तब हेर! तिनकी छोरी खैँजडी बजाउँदै अनि नाच्दै तिनलाई भेट्‌न बाहिर निस्किन्‌। उनी यिप्तहकी एक्ली छोरी थिइन्‌; उनीबाहेक यिप्तहको अरू कुनै छोराछोरी थिएन। ३५ छोरीलाई देखेपछि यिप्तहले दुःखी हुँदै आफ्नो लुगा च्याते र यसो भने: “हाय! मेरी छोरी! तिमीले मेरो मनै भाँचिदियौ किनभने मैले पठाउनुपर्ने व्यक्‍ति तिमी नै पऱ्‍यौ। मैले यहोवा परमेश्‍वरलाई भाकल गरिसकेँ* अनि म आफ्नो भाकल तोड्‌न सक्दिनँ।”+

३६ तर यिप्तहकी छोरीले तिनलाई भनिन्‌: “बुबा, तपाईँले यहोवा परमेश्‍वरलाई भाकल गरिसक्नुभएको छ भने त्यो पूरा गर्नुहोस्‌+ किनभने यहोवा परमेश्‍वरले तपाईँको निम्ति तपाईँका शत्रुहरू—अम्मोनीहरूसित बदला लिनुभएको छ।” ३७ त्यसपछि यिप्तहकी छोरीले फेरि आफ्नो बुबालाई भनिन्‌: “कृपया मेरो यो बिन्ती पूरा गरिदिनुहोस्‌: दुई महिनाको लागि मलाई आफ्ना सहेलीहरूसित पहाडतिर जान दिनुहोस्‌ र म आफ्नो कुमारित्वको लागि उनीहरूसितै शोक मनाउनेछु।”*

३८ यो सुनेपछि यिप्तहले भने: “जाऊ छोरी!” तिनले आफ्नी छोरीलाई दुई महिनाको लागि जान दिए। अनि उनी साथीहरूसित पहाडहरूतिर गएर आफ्नो कुमारित्वको लागि उनीहरूसितै शोक मनाइन्‌। ३९ दुई महिना पूरा भएपछि उनी आफ्नो बुबाकहाँ फर्किन्‌। त्यसपछि यिप्तहले आफ्नी छोरीबारे गरेको भाकल पूरा गरे।+ उनले कुनै पुरुषसित कहिल्यै शारीरिक सम्बन्ध राखिनन्‌। अनि इस्राएलमा यस्तो चलन बस्यो:* ४० वर्षेनी इस्राएली ठिटीहरू वर्षको चार दिन गिलादका यिप्तहकी छोरीको प्रशंसा गर्न उनलाई भेट्‌न जाने गर्थे।

१२ तब एप्रैमका मानिसहरू एक ठाउँमा भेला भए र तिनीहरू नदी तरेर जाफोन गए।* तिनीहरूले यिप्तहलाई भने: “अम्मोनीहरूसित लडाइँ गर्न जाँदा हामीलाई किन बोलाएनौ?+ अब तिमीलाई तिम्रो घरभित्र थुनेर घरसहित जलाइदिनेछौँ।” २ तर यिप्तहले भने: “म र मेरा मानिसहरूको अम्मोनीहरूसँग ठूलो युद्ध भएको थियो। त्यतिबेला मैले तपाईँहरूसँग मदत मागेको थिएँ तर तपाईँहरू मलाई तिनीहरूको हातबाट बचाउन आउनुभएन। ३ जब मैले तपाईँहरू मलाई मदत गर्न आउनुहुनेछैन भनेर थाह पाएँ, तब म आफ्नो ज्यानको खतरा मोलेर अम्मोनीहरूसँग लडाइँ गर्न गएँ।+ अनि यहोवा परमेश्‍वरले नै तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो। अब आज तपाईँहरू किन मलाई आक्रमण गर्न आउँदै हुनुहुन्छ?”

४ त्यसपछि यिप्तहले गिलादका+ सबै पुरुषलाई भेला गरे र तिनीहरूले एप्रैमविरुद्ध लडाइँ गरे; गिलादका पुरुषहरूले एप्रैमीहरूलाई हराए, जसले यसो भनेका थिए: “हे गिलादीहरू, तिमीहरू एप्रैम र मनस्सेका मानिसहरूबीच बसोबास गर्छौ तर वास्तवमा तिमीहरू एप्रैमबाट भागेका भगुवाहरू मात्र हौ।” ५ गिलादीहरूले एप्रैमको अगाडि पर्ने यर्दन नदीका जँघारहरू* कब्जा गरे।+ अनि भागेर जान खोजिरहेका एप्रैमका मानिसहरूले “मलाई पारि जान दिनुहोस्‌” भनेर बिन्ती गर्दा गिलादका मानिसहरूले तिनीहरू प्रत्येकलाई सोध्थे, “तिमी एप्रैमी हौ?” यदि उसले “होइनँ!” भन्यो भने ६ तिनीहरू उसलाई भन्थे, “त्यसोभए शिब्बोलेथ भन त।” तर ठीकसित उच्चारण गर्न नसकेर उसले “सिब्बोलेथ” भन्थ्यो। तब तिनीहरूले उसलाई पक्रेर यर्दन नदीको जँघारमा मारिदिन्थे। यसरी त्यतिबेला ४२ हजार एप्रैमी मारिए।

७ यिप्तह छ वर्षसम्म इस्राएलीहरूका न्यायकर्ता भए। त्यसपछि गिलादी यिप्तह मरे र तिनलाई गिलादमा तिनकै सहरमा गाडियो।

८ यिप्तहपछि बेतलेहेमका इब्सान इस्राएलीहरूका न्यायकर्ता भए।+ ९ तिनका ३० वटा छोरा र ३० वटी छोरी थिए। तिनले आफ्ना छोरीहरूको बिहे आफ्नो खलकबाहिरका केटाहरूसित गराइदिए र आफ्ना छोराहरूको लागि पनि अर्कै खलकबाट ३० वटी केटी ल्याए। तिनी सात वर्षसम्म इस्राएलीहरूका न्यायकर्ता भए। १० त्यसपछि इब्सान मरे र तिनलाई बेतलेहेममा गाडियो।

११ इब्सानपछि जबुलुनको कुलका एलोन इस्राएलीहरूका न्यायकर्ता भए। तिनी १० वर्षसम्म इस्राएलीहरूका न्यायकर्ता भए। १२ त्यसपछि जबुलुनको कुलका एलोन मरे र तिनलाई जबुलुनको इलाकामा पर्ने ऐय्यालोनमा गाडियो।

१३ एलोनपछि पिराथोनी हिल्लेलका छोरा अब्दोन इस्राएलीहरूका न्यायकर्ता भए। १४ तिनका ४० जना छोरा र ३० जना नाति थिए। घुमफिर गर्नको लागि तिनीहरूका ७० वटा गधा थिए। अब्दोन आठ वर्षसम्म इस्राएलीहरूका न्यायकर्ता भए। १५ त्यसपछि पिराथोनी हिल्लेलका छोरा अब्दोन मरे र तिनलाई पिराथोनमा गाडियो; पिराथोन एप्रैमको इलाकामा भएको अमालेकीहरूको+ पहाडमा पर्छ।

१३ इस्राएलीहरूले फेरि यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे।+ त्यसैले यहोवा परमेश्‍वरले तिनीहरूलाई ४० वर्षसम्म पलिस्तियालीहरूको+ हातमा सुम्पिदिनुभयो।

२ त्यतिबेला जोराह+ सहरमा दानको+ कुलका एक जना मानिस थिए; तिनको नाम मानोह+ थियो र तिनकी पत्नी बाँझी थिइन्‌। तिनीहरूको कुनै सन्तान थिएन।+ ३ एकदिन यहोवा परमेश्‍वरका स्वर्गदूत मानोहकी पत्नीकहाँ देखा परे अनि यसो भने: “हेर! तिमी बाँझी छ्यौ र तिमीहरूको कुनै सन्तान छैन। तर अब तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ।+ ४ त्यसैले यस कुरामा ध्यान देऊ: तिमीले दाखमद्य*+ वा अरू कुनै किसिमको मद्य नपिउनू अनि अशुद्ध खानेकुरा केही नखानू।+ ५ हेर! तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ। उसको कपाल कहिल्यै नकाटियोस्‌+ किनभने ऊ जन्मैदेखि* परमेश्‍वरको निम्ति एक नाजिरी* हुनेछ। अनि उसले इस्राएलीहरूलाई पलिस्तियालीहरूको हातबाट बचाउनेछ।”+

६ तब त्यस स्त्रीले आफ्नो पति मानोहकहाँ गएर यसो भनिन्‌: “साँचो परमेश्‍वरका एक जना मानिस मकहाँ आए। तिनी साँचो परमेश्‍वरका स्वर्गदूतजस्तै देखिन्थे र तिनलाई देखेर म डराएँ। मैले तिनलाई तिनी कहाँबाट आएका हुन्‌ भनेर सोधिनँ अनि तिनले पनि आफ्नो नाम बताएनन्‌।+ ७ तर तिनले भने: ‘हेर! तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ। त्यसैले दाखमद्य वा अरू कुनै किसिमको रक्सी नपिउनू अनि अशुद्ध खानेकुरा केही नखानू किनभने तिम्रो छोरा जन्मेदेखि मर्ने दिनसम्मै परमेश्‍वरको निम्ति एक नाजिरी हुनेछ।’”

८ तब मानोहले यहोवा परमेश्‍वरलाई यस्तो बिन्ती गरे: “हे यहोवा, तपाईँले पठाउनुभएको ती मानिसलाई कृपया हामीकहाँ फेरि पठाइदिनुहोस्‌ र हाम्रो छोरा जन्मिएपछि उसलाई कसरी हुर्काउनुपर्ने हो, त्यो तिनले हामीलाई सिकाइदेऊन्‌।” ९ साँचो परमेश्‍वरले मानोहको यो बिन्ती सुन्‍नुभयो। एकदिन मानोहकी पत्नी बाहिर बसिरहेको बेला साँचो परमेश्‍वरका स्वर्गदूत फेरि तिनीकहाँ आए। त्यतिबेला तिनका पति मानोह सँगै थिएनन्‌। १० तिनी दौडेर आफ्नो पतिकहाँ गइन्‌ र भनिन्‌: “हेर्नुहोस्‌! त्यो दिन मकहाँ आएका मानिस फेरि आज पनि आएका छन्‌।”+

११ तब मानोह आफ्नी पत्नीसँगै ती मानिस भएको ठाउँमा गइहाले। अनि मानोहले ती मानिसलाई सोधे: “मेरी पत्नीसित कुरा गर्ने के तपाईँ नै हुनुहुन्छ?” तिनले जवाफ दिए: “हो, म नै हुँ।” १२ अनि मानोहले भने: “तपाईँले भन्‍नुभएको कुरा पूरा होस्‌! तर हामीलाई भन्‍नुहोस्‌, हाम्रो छोराको जीवन कस्तो हुनेछ र ठूलो भएपछि उसले के गर्नेछ?”+ १३ त्यसपछि यहोवा परमेश्‍वरका स्वर्गदूतले मानोहलाई भने: “मैले तिम्री पत्नीलाई जुन-जुन कुरा नगर्नू भनेको छु, ती सबै कुराबाट ऊ टाढै बसोस्‌।+ १४ उसले अङ्‌गुर र अङ्‌गुरबाट बनेको केही पनि नखाओस्‌। उसले दाखमद्य वा अरू कुनै किसिमको मद्य नपिओस्‌+ अनि अशुद्ध खानेकुरा केही नखाओस्‌।+ मैले उसलाई जे-जे भनेको थिएँ, ती सबै उसले पालन गरोस्‌।”

१५ त्यसपछि मानोहले यहोवा परमेश्‍वरका स्वर्गदूतलाई भने: “कृपया बस्नुहोस्‌! तपाईँको निम्ति बाख्राको पाठो पकाएर ल्याउनेछौँ।”+ १६ तर यहोवा परमेश्‍वरका स्वर्गदूतले मानोहलाई भने: “म यहाँ बसेँ भने पनि तिमीले पकाएको खाना खानेछैनँ तर यदि चाहन्छौ भने तिमीले यहोवा परमेश्‍वरको निम्ति अग्निभेटी चढाउन सक्छौ।” ती मानिस यहोवा परमेश्‍वरका स्वर्गदूत हुन्‌ भनेर मानोहलाई थाह थिएन। १७ तब मानोहले यहोवा परमेश्‍वरका स्वर्गदूतलाई भने: “तपाईँको नाम के हो?+ किनभने तपाईँले भन्‍नुभएको कुरा पूरा भएपछि हामी तपाईँको सम्मान गर्न चाहन्छौँ।” १८ तर यहोवा परमेश्‍वरका स्वर्गदूतले तिनलाई भने: “मेरो नाम नसोध किनभने त्यो नाम सुनेर तिमी चकित हुनेछौ!”

१९ त्यसपछि मानोहले बाख्राको पाठो र अन्‍नभेटी लिए अनि ती भेटीहरू एउटा ठूलो ढुङ्‌गामा राखेर यहोवा परमेश्‍वरको निम्ति चढाए। तब परमेश्‍वरले मानोह र तिनकी पत्नीले देख्नेगरि एउटा अचम्मको काम गर्नुभयो। २० आगो दन्किएर ज्वाला वेदीबाट मास्तिर गयो अनि मानोह र तिनकी पत्नीले हेर्दाहेर्दै यहोवा परमेश्‍वरका स्वर्गदूत आगोको ज्वालामा पसे र स्वर्गतिर उक्लिए। यो देख्नेबित्तिकै मानोह र तिनकी पत्नी भुईँमा घोप्टो परे। २१ तब मानोहले ती मानिस यहोवा परमेश्‍वरका स्वर्गदूत रहेछन्‌ भनेर थाह पाए। त्यसपछि यहोवा परमेश्‍वरका स्वर्गदूत मानोह र तिनकी पत्नीकहाँ फेरि देखा परेनन्‌।+ २२ अनि मानोहले आफ्नी पत्नीलाई भने: “अब हामी अवश्‍य मर्नेछौँ किनभने हामीले परमेश्‍वरलाई देख्यौँ।”+ २३ तर मानोहकी पत्नीले भनिन्‌: “यहोवा परमेश्‍वर हामीलाई मार्न नै चाहनुहुन्थ्यो भने उहाँले हाम्रो अग्निभेटी+ र अन्‍नभेटी ग्रहण गर्नुहुने थिएन अनि उहाँले यी सबै कुरा हामीलाई देखाउनुहुने थिएन र यी सबै कुरा हामीलाई भन्‍नुहुने पनि थिएन।”

२४ केही समयपछि मानोहकी पत्नीले एउटा छोरा जन्माइन्‌ अनि उसको नाम सिमसोन+ राखियो। त्यो बालक हुर्कँदै जाँदा यहोवा परमेश्‍वरले उसलाई आशिष्‌ दिइरहनुभयो। २५ पछि सिमसोन जोराह र एस्ताओलको+ बीचमा पर्ने महनेह-दानमा+ छँदा यहोवा परमेश्‍वरको पवित्र शक्‍ति तिनीमाथि आयो।+

१४ केही समयपछि सिमसोन तिम्नाह गए अनि त्यहाँ तिनले एउटी पलिस्तियाली केटीलाई देखे। २ त्यसैले त्यहाँबाट फर्केपछि तिनले आफ्ना बुबाआमालाई भने: “तिम्नाहमा मैले एउटी पलिस्तियाली केटी देखेँ, ऊसँगै मेरो विवाह गराइदिनुहोस्‌।” ३ तर तिनका बुबाआमाले भने: “विवाह गर्नलाई आफ्नै नातागोतामा अनि हाम्रै मानिसहरूमाझ कुनै केटी पाएनौ?+ ती बेखतने पलिस्तियालीहरूकी छोरीसित किन विवाह गर्छौ?” तर सिमसोनले आफ्ना बुबालाई भने: “त्यही केटीसित मेरो विवाह गराइदिनुहोस्‌। मलाई त्यही केटी मन पर्छ।” ४ सिमसोनले यस्तो निर्णय गर्नुको पछाडि यहोवा परमेश्‍वरकै हात छ भनेर तिनका बुबाआमालाई थाह थिएन किनभने परमेश्‍वरले पलिस्तियालीहरूलाई आक्रमण गर्ने मौका खोजिरहनुभएको थियो। त्यतिबेला पलिस्तियालीहरूले इस्राएलीहरूमाथि शासन गरिरहेका थिए।+

५ त्यसैले सिमसोन आफ्ना बुबाआमासँगै तिम्नाह गए। तिनी तिम्नाहमा भएको अङ्‌गुर बगानमा पुगेपछि अचानक एउटा सिंह गर्जँदै तिनलाई झम्टन आयो। ६ तब यहोवा परमेश्‍वरको पवित्र शक्‍ति सिमसोनमाथि आयो+ र कसैले बाख्राको पाठोलाई हातैले दुई फ्याक पारेझैँ तिनले त्यस सिंहलाई दुई फ्याक पारिदिए। तर तिनले यसबारे आफ्ना बुबा वा आमालाई केही भनेनन्‌। ७ त्यसपछि सिमसोन ती केटीकहाँ गए र ऊसँग कुरा गरे अनि आफ्नो लागि सुहाउने केटी ऊ नै हो भनेर तिनी पक्का भए।+

८ पछि सिमसोन ती केटीलाई आफ्नो घर लैजान त्यस ठाउँमा फर्केर गए।+ बाटोमा जाँदै गर्दा तिनी आफूले मारेको सिंह हेर्न गए। त्यसको जीउमा मौरीले घार बनाएर मह पनि पारिसकेको थियो। ९ तब सिमसोनले मह काढेर हातैमा लिए अनि खाँदै हिँडे। तिनको अघिअघि हिँडिरहेका तिनका बुबाआमालाई भेटेपछि तिनले उनीहरूलाई पनि अलिकता मह दिए। तर त्यो मह सिंहको सिनुबाट काढिएको हो भनेर चाहिँ तिनले उनीहरूलाई भनेनन्‌।

१० पछि सिमसोन आफ्नो बुबासित त्यस केटीकहाँ गए र तिनले त्यहाँ एउटा ठूलो भोज दिए किनभने त्यतिबेला केटा पक्षले यसरी भोज दिने चलन थियो। ११ जब मानिसहरूले सिमसोनलाई देखे, तब तिनीहरूले दुलहासँगै बस्न ३० जना केटा ल्याइदिए। १२ त्यसपछि सिमसोनले ती केटाहरूलाई भने: “म तिमीहरूलाई एउटा गाउँखाने कथा भन्छु। भोज भइरहेको यो सात दिनभित्र तिमीहरूले त्यसको जवाफ बतायौ भने म तिमीहरूलाई मलमलको ३० वटा भित्री लुगा र ३० वटा बाहिरी लुगा दिनेछु। १३ तर तिमीहरूले जवाफ दिन सकेनौ भने मलाई मलमलको ३० वटा भित्री लुगा र ३० वटा बाहिरी लुगा दिनुपर्नेछ।” तब तिनीहरूले भने: “गाउँखाने कथा हामीलाई भन्‍नुहोस्‌, हामी सुन्‍न चाहन्छौँ।” १४ त्यसैले सिमसोनले तिनीहरूलाई भने:

“जसले अरूलाई खान्छ, उसबाट खानेकुरा निस्क्यो;

जो बलियो छ, उसबाट गुलियो कुरा निस्क्यो।”+

तीन दिनसम्म पनि तिनीहरूले यो गाउँखाने कथाको जवाफ पत्ता लगाउन सकेनन्‌। १५ चौथो दिन तिनीहरूले सिमसोनकी पत्नीलाई भने: “तिम्रो पतिलाई फकाऊ+ र त्यो गाउँखाने कथाको जवाफ फुत्काऊ। नत्र भने तिमीलाई र तिम्रो बुबाको घरका सबैलाई घरभित्र थुनेर घरैसमेत जलाइदिनेछौँ। बेकारमा हामीलाई लुट्‌न यहाँ किन बोलायौ?” १६ तब सिमसोनकी पत्नीले तिनीसामु रोइकराइ गर्दै यसो भनी: “तपाईँ मलाई माया गर्नुहुन्‍न, तपाईँ मलाई हेला गर्नुहुन्छ।+ तपाईँले मेरा मानिसहरूलाई एउटा गाउँखाने कथा भन्‍नुभयो तर त्यसको जवाफ मलाई बताउनुभएको छैन।” अनि सिमसोनले आफ्नी पत्नीलाई भने: “मैले मेरा बुबाआमालाई त त्यसको जवाफ भनेको छैनँ भने तिमीलाई चाहिँ किन भनूँ?” १७ तर सिमसोनकी पत्नीले सात दिनको भोज नसिद्धिउन्जेल दिनदिनै रोइकराइ गरिरही। यो देखेर सातौँ दिनमा सिमसोनले उसलाई त्यस गाउँखाने कथाको जवाफ बताइदिए किनभने उसले ज्यादै कचकच गरिरहेकी थिई। त्यसपछि उसले आफ्ना मानिसहरूलाई त्यस गाउँखाने कथाको जवाफ बताइदिई।+ १८ त्यसैले सातौँ दिन घाम अस्ताउनुअघि* सहरका मानिसहरू सिमसोनकहाँ आएर भने:

“महभन्दा गुलियो के हुन्छ?

अनि सिंहभन्दा बलियो के हुन्छ?”+

त्यसपछि सिमसोनले भने:

“मेरी तरुनी गाई नजोतेको भए+

तिमीहरूले त्यस गाउँखाने कथाको जवाफ कसरी भन्‍न सक्थ्यौ र!”

१९ त्यसपछि यहोवा परमेश्‍वरको पवित्र शक्‍तिले तिनलाई बल दियो+ र तिनी अस्कलोन+ गए। तिनले त्यहाँ ३० जना पुरुषलाई मारे र तिनीहरूको लुगा ल्याएर गाउँखाने कथाको जवाफ दिने ती मानिसहरूलाई दिए।+ त्यसपछि तिनी रिसले चूर हुँदै आफ्नो बुबाको घर फर्के।

२० अनि ती ३० जना केटामध्ये एक जनासित सिमसोनकी पत्नीको+ विवाह गराइयो।+

१५ केही समयपछि गहुँ काट्‌ने बेलामा सिमसोन आफ्नी पत्नीलाई भेट्‌न बाख्राको पाठो लिएर गए। तिनले भने: “म आफ्नी पत्नीलाई भेट्‌न उसको कोठामा* जान चाहन्छु।” तर तिनका ससुराले तिनलाई जान दिएनन्‌। २ तिनका ससुराले भने: “मैले त तिमीले उसलाई एकदमै हेला गर्छौ भन्ठानेको थिएँ।+ त्यसैले मैले तिमीसँगै भएका ती केटाहरूमध्ये एक जनासित उसको विवाह गराइदिएँ।+ उसकी बहिनीचाहिँ ऊभन्दा झनै राम्री छे नि, होइन र? त्यसैले कृपया बहिनीलाई लैजाऊ।” ३ तब सिमसोनले भने: “अब म पलिस्तियालीहरूलाई छोड्‌दिनँ! यसपालि तिनीहरूले भोग्नुपर्ने हानिको लागि तिनीहरू नै जिम्मेवार हुनेछन्‌।”

४ त्यसैले सिमसोन गए र ३०० वटा फ्याउरा पक्रे। तिनले राँको बनाउन लट्ठीहरू पनि ल्याए। त्यसपछि दुई-दुई वटा फ्याउराको पुच्छर बाँधे र त्यसरी बाँधेको पुच्छरको बीचमा एउटा-एउटा लट्ठी राखिदिए। ५ तिनले ती लट्ठीहरूमा आगो सल्काइदिए र फ्याउराहरूलाई पलिस्तियालीहरूका गहुँ बालीमा छोडिदिए। तिनले पलिस्तियालीहरूको अन्‍नको बिटा र पाकिसकेको गहुँदेखि लिएर अङ्‌गुरको र जैतुनको बगान सबैमा आगो लगाइदिए।

६ अनि पलिस्तियालीहरूले सोधे: “यो कसले गऱ्‍यो?” तब उनीहरूलाई यस्तो जवाफ दिइयो: “तिम्नाहका बासिन्दाको ज्वाइँ सिमसोनले। किनभने तिनको ससुराले आफ्नी छोरीको विवाह सिमसोनसँगै भएका एक जना केटासित गरिदिए।”+ यो कुरा सुनेपछि पलिस्तियालीहरू गएर सिमसोनकी पत्नी र ससुरालाई जलाइदिए।+ ७ त्यसपछि सिमसोनले पलिस्तियालीहरूलाई भने: “तिमीहरूले किन यस्तो गऱ्‍यौ? अब म तिमीहरूसित बदला लिएरै छोड्‌छु।”+ ८ तिनले एकपछि अर्को गर्दै सबैलाई मारे र लासको थुप्रो लगाए। त्यसपछि तिनी तलतिर गएर एतामको पहरामा भएको ओडारमा बस्न थाले।

९ पछि पलिस्तियालीहरू माथि उक्लिए र यहुदामा छाउनी हालेर बसे। उनीहरूले लेहीमा लुटपाट+ मच्चाउन थाले। १० तब यहुदाका मानिसहरूले भने: “तिमीहरू किन हामीलाई आक्रमण गर्न आयौ?” पलिस्तियालीहरूले यस्तो जवाफ दिए: “हामी सिमसोनलाई पक्रन आएका हौँ। उसले हाम्रा मानिसहरूलाई जसो गऱ्‍यो, हामी पनि उसलाई त्यसै गर्नेछौँ।” ११ त्यसैले यहुदाका ३ हजार पुरुष एतामको पहरामा भएको ओडारमा गएर सिमसोनलाई भने: “पलिस्तियालीहरूले हामीमाथि राज गर्दै छन्‌ भनेर के तिमीलाई थाह छैन?+ तैपनि तिमीले किन त्यसो गऱ्‍यौ?” तब सिमसोनले तिनीहरूलाई भने: “मैले पलिस्तियालीहरूसँग बदला लिएको मात्र हुँ।” १२ तर यहुदाका मानिसहरूले भने: “हामी तिमीलाई पक्रेर पलिस्तियालीहरूको हातमा सुम्पन आएका हौँ।” तब सिमसोनले भने: “तिमीहरू आफैले चाहिँ मलाई आक्रमण गर्नेछैनौ भनेर कसम खाओ।” १३ यहुदाका मानिसहरूले भने: “हामी तिमीलाई मार्नेछैनौँ, केवल तिमीलाई डोरीले बाँधेर पलिस्तियालीहरूको हातमा सुम्पनेछौँ।”

त्यसपछि तिनीहरूले दुइटा नयाँ डोरी ल्याएर सिमसोनलाई बाँधे र तिनलाई ओडारबाट बाहिर निकाले। १४ सिमसोनलाई लेहीमा ल्याएको देखेपछि पलिस्तियालीहरू खुसीले कराए। तब तिनीमाथि यहोवा परमेश्‍वरको पवित्र शक्‍ति आयो+ र तिनको पाखुरामा बाँधिएको डोरी आगोले खाएको मलमलको धागोजस्तै धुजाधुजा भयो र तिनको हात बाँधिएको डोरी पनि फुस्कियो।+ १५ तिनले गधाको एउटा आलो बङ्‌गारा देखे; तिनले त्यो बङ्‌गारा टिपे र त्यसैले हिर्काएर १ हजार मानिसलाई मारे।+ १६ त्यसपछि सिमसोनले भने:

“गधाको बङ्‌गाराले हिर्काएर मैले शत्रुहरूको लासको थुप्रो लगाएँ!

एउटा बङ्‌गाराले मैले १ हजार मानिसलाई मारेँ!”+

१७ यति भनिसकेपछि तिनले त्यो बङ्‌गारा फ्याँके र त्यस ठाउँको नाम रामाथ-लेही*+ राखे। १८ त्यसपछि तिनलाई साह्रै तिर्खा लाग्यो र यहोवा परमेश्‍वरलाई यसो भनेर पुकारे: “तपाईँले आफ्नो दासको यत्ति ठूलो उद्धार गर्नुभयो। अब के मलाई तिर्खाले प्याकप्याक भएर मर्न दिनुहुन्छ? अनि बेखतनेहरूको हातमा सुम्पिदिनुहुन्छ?” १९ त्यसैले परमेश्‍वरले लेहीमा चिरा पारेर पानी निकाल्नुभयो।+ पानी पिएपछि तिनको तागत आयो र तिनी फुर्तिला भए। त्यसैले तिनले त्यस ठाउँको नाम एन-हक्कोरे* राखे र लेहीको त्यो ठाउँ आजसम्म पनि त्यही नामले चिनिन्छ।

२० पलिस्तियालीहरूले प्रभुत्व जमाएको समयमा तिनी २० वर्षसम्म इस्राएलका न्यायकर्ता भए।+

१६ एकचोटि सिमसोन गाजा गए र त्यहाँ तिनले एउटी वेश्‍यालाई देखे। अनि सिमसोन त्यस वेश्‍याकहाँ गए। २ सिमसोन आएका छन्‌ भनेर गाजाका मानिसहरूले खबर पाए। त्यसैले उनीहरूले त्यस ठाउँलाई चारैतिरबाट घेरा हाले अनि तिनलाई पक्रन सहरको मूलढोकामा रातभरि चुपचाप ढुकेर बसे। उनीहरूले आपसमा यसो भने: “बिहान उज्यालो हुनेबित्तिकै हामी सिमसोनलाई मारौँ।”

३ तर मध्यरात नहोउन्जेल सिमसोन ढल्केर बसिरहे। त्यसपछि तिनी जुरुक्क उठेर सहरको मूलढोकातिर गए अनि तिनले त्यस ढोकाका खापाहरू र त्यसका दुई वटा खम्बा च्याप्प समातेर गजबारैसमेत ती उखेले। अनि ती आफ्नो काँधमा बोकेर तिनी हेब्रोनतिर फर्केको पहाडको टुप्पासम्म गए।

४ केही समयपछिको कुरा हो, सोरेक बेँसीमा* बस्ने दलिला नाम गरेकी केटीसित सिमसोनको माया बस्यो।+ ५ त्यसैले पलिस्तियाली शासकहरूले दलिलाकहाँ आएर भने: “सिमसोनलाई फकाइफुस्ल्याइ गर+ अनि तिनी यत्तिको बलियो हुनुको कारण के हो र तिनलाई केले बाँधेर हाम्रो काबूमा राख्न सक्छौँ, पत्ता लगाऊ। यसो गऱ्‍यौ भने तिमीले हामी प्रत्येकको तर्फबाट ११-११ सय टुक्रा चाँदी पाउनेछ्यौ।”

६ पछि दलिलाले सिमसोनलाई भनिन्‌: “तपाईँसित यत्ति धेरै बल कहाँबाट आयो अनि तपाईँलाई केले बाँध्यो भने काबूमा राख्न सकिन्छ, मलाई भन्‍नुहोस्‌ न!” ७ सिमसोनले भने: “नसुकाइएको सात वटा नयाँ ताँदोले* मलाई बाँध्यो भने मेरो बल जानेछ अनि म साधारण मानिसजस्तै हुनेछु।” ८ त्यसपछि पलिस्तियाली शासकहरूले दलिलाकहाँ नसुकाइएको सात वटा नयाँ ताँदो ल्याइदिए अनि दलिलाले सिमसोनलाई बाँधिन्‌। ९ पलिस्तियालीहरू भने अर्को कोठामा ढुकेर बसिरहेका थिए। अनि दलिला यसो भन्दै कराइन्‌: “सिमसोन! पलिस्तियालीहरू तपाईँलाई आक्रमण गर्न आए!” यो सुन्‍नेबित्तिकै सिमसोनले आफूलाई बाँधिराखेका ताँदो सजिलै चुँडाइदिए, जसरी आगोले छुनेबित्तिकै आलसको धागो* टुक्राटुक्रा हुन्छ।+ तिनको बलको कारण के हो भनेर पलिस्तियालीहरूले थाह पाउन सकेनन्‌।

१० तब दलिलाले सिमसोनलाई भनिन्‌: “हेर्नुहोस्‌! तपाईँले मसित झूट बोलेर मलाई झुक्क्याउनुभयो। अब बिन्ती छ, मलाई भन्‍नुहोस्‌, तपाईँलाई केले बाँध्नुपर्छ?” ११ अनि सिमसोनले दलिलालाई भने: “पहिला नचलाइएको नयाँ डोरीले मलाई बाँध्यो भने मेरो बल जानेछ अनि म साधारण मानिसजस्तै हुनेछु।” १२ त्यसपछि दलिलाले नयाँ डोरी ल्याइन्‌ र त्यसले सिमसोनलाई बाँधिन्‌। अनि दलिला यसरी कराइन्‌: “सिमसोन! पलिस्तियालीहरू तपाईँलाई आक्रमण गर्न आए!” (यतिबेला पलिस्तियालीहरू अर्को कोठामा ढुकेर बसिरहेका थिए।) यो सुन्‍नेबित्तिकै सिमसोनले आफूलाई बाँधिराखेको डोरीलाई धागोजस्तै गरी चुँडाइदिए।+

१३ त्यसपछि दलिलाले सिमसोनलाई भनिन्‌: “तपाईँले फेरि पनि झूट बोलेर मलाई झुक्क्याउनुभयो!+ अब नढाँटी भन्‍नुहोस्‌, तपाईँलाई केले बाँध्नुपर्छ?” तब सिमसोनले दलिलालाई भने: “मेरो सात वटा चुल्ठोलाई तानको धागोमा बुन्‍नुपर्छ।” १४ अनि दलिलाले सिमसोनको कपाललाई तानको किलाले कसिदिइन्‌। त्यसपछि दलिला यसो भन्दै कराइन्‌: “सिमसोन! पलिस्तियालीहरू तपाईँलाई आक्रमण गर्न आए!” यो सुनेर सिमसोन निद्राबाट ब्युँझिए अनि तानको किला र धागो निकालिदिए।

१५ तब दलिलाले भनिन्‌: “तपाईँ मलाई आफ्नो मनको कुरै बताउनुहुन्‍न भने ‘तिमीलाई माया गर्छु’+ भनेर कसरी भन्‍न सक्नुहुन्छ? तपाईँले मलाई तीन-तीन चोटि झुक्क्याइसक्नुभयो; तपाईँसित यत्ति धेरै बल कहाँबाट आयो भनेर मलाई अझै बताउनुभएको छैन।”+ १६ दलिलाले दिनदिनै कचकच गरेर सिमसोनलाई वाक्कै पारिन्‌; यसकारण सिमसोन हैरान भए।+ १७ केही सीप नलागेपछि सिमसोनले दलिलालाई यसरी सबै कुरा बताइदिए: “मेरो कपाल अहिलेसम्म काटिएको छैन किनभने म जन्मैदेखि* परमेश्‍वरको निम्ति एक नाजिरी* हुँ।+ मेरो कपाल काट्‌यो भने मेरो बल जानेछ अनि म कमजोर भएर अरू मानिसजस्तै हुनेछु।”

१८ सिमसोनले आफूलाई सबै कुरा बताएको पक्का भएपछि दलिलाले तुरुन्तै पलिस्तियाली शासकहरूकहाँ यस्तो खबर पठाइन्‌:+ “झट्टै आउनुहोस्‌! यसपालिचाहिँ सिमसोनले मलाई सबै कुरा बताएका छन्‌।” त्यसपछि पलिस्तियाली शासकहरू पैसा लिएर दलिलाकहाँ आए। १९ दलिलाले सिमसोनलाई आफ्नो काखमा सुताइन्‌; त्यसपछि उनले एक जना मानिस बोलाएर सिमसोनको सातै वटा चुल्ठो काटेर ठुट्टै पार्न लगाइन्‌। यसो गरेपछि दलिलाले सिमसोनलाई आफ्नो काबूमा राख्न सकिन्‌ किनभने तिनको बल गइसकेको थियो। २० अनि दलिला यसो भन्दै कराइन्‌: “सिमसोन! पलिस्तियालीहरू तपाईँलाई आक्रमण गर्न आए!” यो सुनेपछि सिमसोन निद्राबाट ब्युँझिए अनि भने: “म पहिलाजस्तै बाहिर निस्कन्छु र आफूलाई छुटाउँछु।”+ तर यहोवा परमेश्‍वरले तिनलाई छोडिसक्नुभएको छ भनी तिनलाई थाह थिएन। २१ त्यसपछि पलिस्तियालीहरूले सिमसोनलाई पक्रेर तिनको आँखा निकालिदिए। उनीहरूले तिनलाई गाजामा ल्याए अनि तामाको दुई वटा साङ्‌लाले बाँधेर झ्यालखानामा हाले र गहुँ पिँध्ने काम गर्न लगाए। २२ तर पहिला ठुट्टै पारेर काटिएको तिनको कपाल फेरि बढ्‌न थाल्यो।+

२३ पछि पलिस्तियाली शासकहरू आफ्ना देवता दागोनलाई+ थुप्रै बलि चढाउन र खुसीयाली मनाउन भेला भए। अनि उनीहरूले यसो भने: “हाम्रा देवताले हाम्रो शत्रु सिमसोनलाई हाम्रो हातमा सुम्पिदिएका छन्‌!” २४ दागोनको मूर्ति देखेपछि मानिसहरूले यसो भन्दै जयजयकार गर्न थाले: “हाम्रो देशलाई तहसनहस गर्ने+ र हाम्रा थुप्रै भाइबन्धुलाई मार्ने+ त्यस शत्रुलाई हाम्रो देवताले हाम्रो हातमा सुम्पिदिएका छन्‌।”

२५ खुसीले रमाउँदै ती मानिसहरूले भने: “सिमसोनलाई झ्यालखानाबाट यहाँ ल्याओ, हामी त्यसको रमिता हेरौँ।” त्यसैले उनीहरूले सिमसोनलाई झ्यालखानाबाट ल्याउन लगाए र दुई वटा खम्बाको बीचमा उभ्याए। २६ सिमसोनले आफ्नो हात समातिरहेको ठिटोलाई भने: “यस मन्दिरलाई थामिरहेका खम्बाहरू मलाई छाम्न देऊ, म त्यसमा अडेस लगाउन चाहन्छु।” २७ (हुन पनि त्यतिबेला मन्दिरभरि पुरुषहरू र स्त्रीहरू खचाखच थिए। पलिस्तियाली शासकहरू सबै जना त्यहीँ थिए। मन्दिरको छतबाट पनि लगभग ३ हजार पुरुष र स्त्रीले सिमसोनको रमिता हेरिरहेका थिए।)

२८ तब सिमसोनले+ यहोवा परमेश्‍वरलाई यसरी पुकारे: “हे ब्रह्‍माण्डका मालिक यहोवा! कृपया मलाई सम्झनुहोस्‌ र मलाई बल दिनुहोस्‌।+ हे परमेश्‍वर, बिन्ती छ, यही एक पटकको लागि बल दिनुहोस्‌ र यी पलिस्तियालीहरूसित मेरो एउटा आँखाको भए पनि बदला लिन सकूँ।”+

२९ त्यसपछि सिमसोनले मन्दिरलाई थामिराखेका बीचको दुई वटा खम्बामा आफ्नो हात राखे। तिनले आफ्नो दायाँ हात एउटा खम्बामा र बायाँ हात अर्को खम्बामा राखे। ३० सिमसोन यसो भन्दै कराए: “आज मैले यी पलिस्तियालीहरूलाई आफूसँगै नाश गर्न सकूँ!” त्यसपछि तिनले आफ्नो भएभरको बल लगाएर ती खम्बाहरूलाई ठेले। तब मन्दिर गर्ल्यामगुर्लुम ढल्यो अनि त्यहाँ भएका पलिस्तियाली शासकहरू र सबै मानिस मरे।+ यसरी सिमसोनले आफ्नो जीवनभर जति जनालाई मारेका थिए, त्योभन्दा धेरै त आफ्नो मृत्युको दिनमा मारे।+

३१ पछि तिनका भाइहरू र तिनका बुबापट्टिका सबै जना तिनको लास लिन आए। उनीहरूले तिनको लास लगेर जोराह+ र एस्ताओलको बीचमा तिनको बुबा मानोहको+ चिहानसँगै गाडे। तिनी २० वर्षसम्म इस्राएलीहरूका न्यायकर्ता भएका थिए।+

१७ एप्रैमको पहाडी इलाकामा+ मिका नाम गरेका एक जना मानिस बस्थे। २ तिनले आफ्नी आमालाई भने: “तपाईँलाई याद होला, तपाईँसँग भएको ११ सय टुक्रा चाँदी चोरी भएको थियो र त्यो चोर्नेलाई तपाईँले सराप दिनुभएको थियो। त्यो सराप मैले सुनेको थिएँ। हेर्नुहोस्‌, त्यो चाँदी मसित छ। मैले नै त्यो लिएको थिएँ।” यो सुनेर तिनकी आमाले भनिन्‌: “बाबु, यहोवा परमेश्‍वरले तिमीलाई आशिष्‌ देऊन्‌!” ३ त्यसपछि तिनले ११ सय टुक्रा चाँदी आफ्नी आमालाई फर्काइदिए। तर तिनकी आमाले भनिन्‌: “यो चाँदी म यहोवा परमेश्‍वरको लागि अलग्गै छुट्ट्याएर राख्छु। यसबाट तिमीले दुई वटा मूर्ति बनाऊ, एउटा खोपेर अनि अर्कोचाहिँ पगालेर।+ यो चाँदी तिम्रै लागि हो।”

४ मिकाले चाँदी फर्काएपछि तिनकी आमा २०० टुक्रा चाँदी लिएर सुनारकहाँ गइन्‌। अनि त्यसबाट सुनारले एउटा खोपेर अनि अर्को चाहिँ पगालेर दुई वटा मूर्ति बनाइदिए। त्यसपछि ती मूर्तिहरू मिकाको घरमा राखियो। ५ मिकाको घरमा एउटा पूजाथान थियो। तिनले एउटा एपोद*+ र कुलदेवताका मूर्तिहरू*+ बनाए। अनि तिनले आफ्नो एक जना छोरालाई पुजारीको रूपमा सेवा गर्न नियुक्‍त गरे।+ ६ त्यतिबेला इस्राएलमा कुनै राजा थिएनन्‌।+ त्यसैले हरेकले आफूलाई जे सही लाग्छ, त्यही गर्थ्यो।+

७ यहुदाको बेतलेहेममा+ एक जना जवान मानिस केही समयदेखि यहुदाको कुलका मानिसहरूसँगै बसोबास गरिरहेका थिए। तिनी लेवी थिए।+ ८ एकदिन तिनी यहुदाको बेतलेहेम सहर छोडेर गए र बसोबास गर्नको लागि अर्कै ठाउँ खोज्न थाले। यात्रा गर्दै जाँदा तिनी एप्रैमको पहाडी इलाकामा मिकाको घरमा पुगे।+ ९ तिनलाई देखेर मिकाले सोधे: “तिमी कहाँबाट आयौ?” तिनले भने: “म यहुदाको बेतलेहेमबाट आएको हुँ र म लेवी हुँ। बस्नको लागि ठाउँ खोज्दै हिँडिरहेको छु।” १० त्यसपछि मिकाले तिनलाई भने: “तिमी मसँगै बस अनि मेरो सल्लाहकार* र पुजारी बनिदेऊ। म तिमीलाई एक जोर लुगा, खानेकुरा र हरेक वर्ष १० टुक्रा चाँदी दिनेछु।” यो सुनेपछि ती लेवी घरभित्र गए। ११ ती लेवी मिकाको घरमा बस्न राजी भए र तिनी मिकाको छोराजस्तै भए। १२ साथै मिकाले ती लेवीलाई पुजारीको रूपमा सेवा गर्न नियुक्‍त गरे+ र तिनी मिकाकै घरमा बस्न थाले। १३ मिकाले भने: “अब भने म ढुक्क छु, यहोवा परमेश्‍वरले मलाई आशिष्‌ दिनुहुनेछ किनभने एक जना लेवी मेरो पुजारी भएका छन्‌।”

१८ त्यस समयमा इस्राएलमा कुनै राजा थिएनन्‌।+ अनि त्यतिबेला दानको कुलले+ बसोबास गर्नको लागि ठाउँ* खोजिरहेको थियो। किनकि तिनीहरूले इस्राएलका अरू कुलहरूमाझ पैतृक सम्पत्तिको रूपमा जति जग्गाजमिन पाएका थिए, त्यो तिनीहरूको लागि पुग्दो थिएन।+

२ दानको कुलका मानिसहरूले जोराह र एस्ताओलमा+ बस्ने आफ्नै कुलका पाँच जना योग्य पुरुषलाई देशको जासुसी गर्न पठाए। तिनीहरूले ती पुरुषहरूलाई भने: “जाओ, देशको कुनाकाप्चा हेरेर आओ।” ती पुरुषहरू एप्रैमको पहाडी इलाकामा पुगेपछि मिकाको+ घरमा बास बसे। ३ मिकाको घरनजिकै पुगेपछि तिनीहरूले ती जवान लेवीको स्वर सुने* र उनलाई चिने। त्यसैले तिनीहरूले उनीकहाँ गएर सोधे: “तपाईँ यहाँ के गर्दै हुनुहुन्छ? तपाईँलाई यहाँ कसले ल्यायो?” ४ मिकाले उनको लागि के-के गरिदिए भनेर ती लेवीले सबै कुरा बताए। उनले यसो पनि भने: “मिकाले मलाई ज्याला दिएर पुजारीको रूपमा काम गर्न राख्नुभएको छ।”+ ५ त्यसपछि ती मानिसहरूले उनलाई भने: “हाम्रो यात्रा सफल हुन्छ कि हुँदैन भनेर कृपया परमेश्‍वरलाई सोध्नुहोस्‌।” ६ ती पुजारीले तिनीहरूलाई भने: “ढुक्क भएर जानुहोस्‌! यहोवा परमेश्‍वर तपाईँहरूको साथमा हुनुहुन्छ।”

७ त्यसैले ती पाँच जना मानिसले यात्रा जारी राखे र यात्रा गर्दागर्दै तिनीहरू लेसमा+ पुगे। त्यहाँका मानिसहरू सिदोनीहरूजस्तै कसैमा भर नपरी जीवन बिताइरहेको तिनीहरूले देखे। उनीहरू शान्तिसित बसिरहेका थिए। कसैले आक्रमण गर्ला भन्‍ने डर उनीहरूमा थिएन।+ अनि उनीहरूलाई दमन गर्ने कुनै क्रूर शासक पनि थिएन। उनीहरू सिदोनीहरूदेखि टाढा थिए र अरू ठाउँका मानिसहरूसित उनीहरूको कुनै सम्बन्ध थिएन।

८ ती पाँच जना मानिस जोराह र एस्ताओलमा+ फर्केपछि तिनीहरूका भाइबन्धुले सोधे: “तिमीहरूको काम कस्तो भयो?” ९ तिनीहरूले यस्तो जवाफ दिए: “हामी त्यो इलाका कब्जा गर्न जाऔँ किनकि त्यो ठाउँ असाध्यै राम्रो छ। आलटाल नगरी त्यहाँ आक्रमण गर्न गइहालौँ! १० त्यहाँ गएपछि तिमीहरूले देख्नेछौ, त्यहाँका मानिसहरू कसैले आक्रमण गर्ला भन्‍ने डरविना बसिरहेका छन्‌+ र त्यो इलाका ठूलो छ। परमेश्‍वरले त्यो ठाउँ तिमीहरूको हातमा सुम्पिदिनुभएको छ; त्यहाँ कुनै कुराको कमी छैन।”+

११ त्यसपछि दानको कुलका ६०० जना मानिस हातहतियार भिरेर युद्धको लागि तयार भए अनि तिनीहरू जोराह र एस्ताओलबाट हिँडे।+ १२ त्यहाँबाट माथि उक्लेर तिनीहरूले यहुदाको किर्यथ-येरिमनजिकै+ छाउनी हाले। त्यसैले किर्यथ-येरिमको पश्‍चिममा पर्ने त्यस ठाउँलाई अहिलेसम्म पनि महनेह-दान*+ भनिन्छ। १३ त्यहाँबाट तिनीहरू एप्रैमको पहाडी इलाकामा गए र मिकाको घरमा पुगे।+

१४ लेसमा+ जासुसी गर्न गएका पाँच जना मानिसले आफ्ना भाइबन्धुलाई भने: “थाह छ तिमीहरूलाई, यी घरहरूमा एपोद,* कुलदेवताका मूर्तिहरू* अनि एउटा खोपेर र अर्कोचाहिँ धातु पगालेर बनाइएको मूर्ति छ।+ ल, अब तिमीहरू नै सोच, के गर्नुपर्ला!” १५ त्यसैले तिनीहरू त्यहीँ रोकिए अनि ती पाँच जना मानिस मिकाको घरनजिकै बस्ने जवान लेवीको+ घरमा गए। त्यहाँ पुगेपछि तिनीहरूले उनको हालखबर सोधे। १६ युद्धको लागि हातहतियार भिरेर तयार भएका दानको कुलका ६०० जना मानिस+ भने प्रवेशद्वारमै उभिरहे। १७ जासुसी गर्न गएका ती पाँच जना मानिस+ खोपेर बनाइएको मूर्ति, एपोद,+ कुलदेवताका मूर्तिहरू+ अनि धातु पगालेर बनाइएको मूर्ति+ लिन गए। (पुजारी+ भने युद्धको लागि हातहतियार भिरेर तयार भएका ६०० जना मानिससित प्रवेशद्वारमा उभिरहेका थिए।) १८ तिनीहरू मिकाको घरभित्र गए अनि खोपेर बनाइएको मूर्ति, एपोद, कुलदेवताका मूर्तिहरू अनि धातु पगालेर बनाइएको मूर्ति लिएर आए। यो देखेर पुजारीले तिनीहरूलाई भने: “तिमीहरूले यो के गरेको?” १९ तर तिनीहरूले ती पुजारीलाई यस्तो जवाफ दिए: “चुप लाग्नुहोस्‌! एक शब्द पनि नबोल्नुहोस्‌। बरु हामीसित आएर हाम्रो सल्लाहकार* र पुजारी बनिदिनुहोस्‌। तपाईँ एउटा परिवारको पुजारी भएर बस्न चाहनुहुन्छ+ कि इस्राएलको एउटा कुल र त्यसको पूरै घरानाको पुजारी बन्‍न चाहनुहुन्छ?”+ २० पुजारीलाई ती मानिसहरूको कुरा चित्त बुझ्यो। त्यसैले एपोद, कुलदेवताका मूर्तिहरू र खोपेर बनाइएको मूर्ति+ लिएर उनी तिनीहरूकै समूहमा सामेल भए।

२१ तिनीहरू त्यहाँबाट हिँडे। अनि तिनीहरूले आफ्ना बहुमूल्य सरसामान, बालबच्चा र गाईवस्तुलाई अघि लगाएर आफूचाहिँ पछिपछि गए। २२ दानको कुलका मानिसहरू मिकाको घरबाट केही पर पुगेपछि मिकाका छिमेकीहरू एक ठाउँमा भेला भए अनि तिनीहरूको पछिपछि गए। तिनीहरूको नजिकै पुगेपछि २३ मिकाका छिमेकीहरूले तिनीहरूलाई ठूलो स्वरले बोलाए। तिनीहरूले पछाडि फर्केर हेर्दा मिकालाई देखे र उनलाई सोधे: “के भयो? किन यसरी हुल बाँधेर आउनुभएको?” २४ त्यसपछि मिकाले भने: “तपाईँहरूले मैले बनाएका मूर्तिहरू र मेरो परिवारको पुजारीलाई समेत लैजानुभयो। अब मसित के नै बाँकी छ र! यो कुरा थाह हुँदाहुँदै ‘के भयो’ भनेर उल्टै मलाई सोध्नुहुन्छ?” २५ दानको कुलका मानिसहरूले भने: “यसरी ठूलठूलो स्वरले नकराउनुहोस्‌! नत्र त हाम्रा मानिसहरू रिसाउलान्‌ र तपाईँहरूलाई आक्रमण गर्लान्‌। अनि तिनीहरू तपाईँ र तपाईँको घरानालाई मार्न समेत पछि पर्नेछैनन्‌।” २६ त्यसपछि दानको कुलका मानिसहरू आफ्नो बाटो लागे। ती मानिसहरू आफूभन्दा शक्‍तिशाली रहेछन्‌ भन्‍ने देखेपछि मिका आफ्नो घर फर्के।

२७ मिकाले बनाएका मूर्तिहरू र उनको पुजारीलाई लिएर दानको कुलका मानिसहरू लेसमा+ गए। त्यहाँका बासिन्दाहरू कसैले आक्रमण गर्ला भन्‍ने डरविना शान्तिसित बसिरहेका थिए।+ तिनीहरूले त्यहाँका मानिसहरूलाई तरबारले मारे र सहरमा आगो लगाइदिए। २८ त्यस सहरलाई जोगाउने कोही पनि थिएन किनकि त्यो सहर सिदोनबाट धेरै टाढा थियो। त्यो सहर बेथ-रेहोब इलाकाको बेँसीमा पर्थ्यो अनि अरू ठाउँका मानिसहरूसित उनीहरूको कुनै सम्बन्ध थिएन।+ पछि दानको कुलका मानिसहरूले त्यो सहर पुनर्निर्माण गरे र त्यहाँ बसोबास गर्न थाले। २९ तिनीहरूले त्यस सहरको नाम परिवर्तन गरेर आफ्नो पुर्खाको नामबाटै दान+ राखे, जो इस्राएलका छोरा थिए।+ लेसचाहिँ त्यस सहरको पुरानो नाम थियो।+ ३० त्यसपछि तिनीहरूले खोपेर बनाइएको मूर्ति त्यहाँ स्थापना गरे।+ अनि देशका मानिसहरूलाई निर्वासनमा नलगिएसम्म जोनाथन+ अनि उनका छोराहरूले दानको कुलका मानिसहरूको लागि पुजारीको रूपमा सेवा गरे। जोनाथन मोसाको छोरा गेर्सोमका सन्तान+ थिए। ३१ तिनीहरूले मिकाले खोपेर बनाएको मूर्ति त्यहाँ स्थापना गरे र सिलोमा साँचो परमेश्‍वरको घर* छउन्जेल त्यो मूर्ति त्यहीँ नै रह्‍यो।+

१९ इस्राएलमा कुनै राजा नभएको समयमा+ एक जना लेवी एप्रैमको पहाडी इलाकाको+ दुर्गम गाउँमा बसोबास गर्थे। तिनले यहुदाको बेतलेहेमकी+ एउटी स्त्रीलाई आफ्नी उपपत्नी बनाए। २ तर तिनकी उपपत्नीले तिनलाई विश्‍वासघात गरिन्‌ अनि तिनलाई छोडेर यहुदाको बेतलेहेममा आफ्नो बुबाको घरमा फर्किन्‌। उनी आफ्नो माइतीमा बसेको चार महिना भइसकेको थियो। ३ तब उनका पति उनलाई फकाएर ल्याउन ससुराली गए। तिनले आफ्नो एक जना सेवकलाई सँगै लगे र तिनीहरूसित दुई वटा गधा पनि थियो। त्यहाँ पुगेपछि तिनकी उपपत्नीले तिनलाई घरभित्र लगिन्‌। आफ्नो ज्वाइँ आएको देखेर तिनका ससुरा खुसी भए। ४ तिनका ससुराले तिनलाई तीन दिन त्यहीँ बस्न कर गरे; त्यसैले तिनी तीन दिन त्यहीँ बसे अनि तिनीहरूले सँगै खानपिन गरे।

५ चौथो दिन बिहान तिनीहरू सबेरै उठे र जाने तरखर गरे। यो देखेर ससुराले ज्वाइँलाई भने: “जानुअघि केही खानुहोस्‌ नत्र यात्रा गर्न गाह्रो होला।” ६ त्यसैले तिनीहरू दुवै बसेर खानपिन गर्न लागे। त्यसपछि ससुराले आफ्नो ज्वाइँलाई भने: “कृपया आज राती यहीँ बस्नुहोस्‌ र रमाइलो गर्नुहोस्‌।” ७ तिनी उठेर जान लाग्दा ससुराले एक रात अझै बस्न कर गरेकोले तिनी त्यहीँ बसे।

८ पाँचौँ दिन बिहान तिनी सबेरै उठेर जाने तरखर गर्दा तिनका ससुराले भने: “केही खाएर जानुहोस्‌ नत्र भने यात्रा गर्न गाह्रो होला।” अनि तिनीहरू दिन नढल्केसम्म अलमलिरहे र खानपिन गर्दै बसे। ९ तिनी आफ्नी उपपत्नी र सेवकलाई लिएर फर्कन लाग्दा तिनका ससुराले भने: “हेर्नुहोस्‌, साँझ पर्न लागिसक्यो। अब एकछिनमा त झमक्कै भइहाल्छ। त्यसैले कृपया आज राती पनि यहीँ बस्नुहोस्‌ र रमाइलो गर्नुहोस्‌। अनि भोलि बिहान सबेरै उठेर घर* जानुहोला।” १० तर अर्को एक रात त्यहाँ बस्न तिनले मानेनन्‌। त्यसैले तिनले आफ्नो यात्रा थाले अनि यबुस अर्थात्‌ यरुसलेमसम्म+ पुगे। तिनीसित भारी बोकेका दुई वटा गधा, तिनकी उपपत्नी र सेवक पनि सँगै थिए।

११ तिनीहरू यबुसको नजिकै पुग्दा साँझ पर्न लागिसकेको थियो। त्यसैले तिनका सेवकले भने: “मालिक, हामी यहाँ यबुसीहरूकै सहरमा बास बसौँ कि?” १२ तर तिनका मालिकले भने: “विदेशीहरूको यस सहरमा बास नबसौँ, यहाँ इस्राएलीहरू छैनन्‌। हामी गिबाहसम्म+ जाऔँ।” १३ तिनले आफ्ना सेवकलाई भने: “आऊ, हामी यहाँबाट गिबाह वा रामासम्म+ जाऔँ अनि त्यहीँ बास बसौँ।” १४ त्यसैले तिनीहरूले यात्रा अघि बढाए। तिनीहरू बिन्यामिनको कुलका मानिसहरू बसोबास गर्ने गिबाहनजिकै पुग्दा घाम डुब्न थालिसकेको थियो।

१५ त्यसैले तिनीहरू गिबाहमा रोकिए अनि रात बिताउन सहरभित्र छिरे र सहरको चोकमा बसे। तर तिनीहरूलाई बास दिन कसैले पनि आफ्नो घरमा लगेन।+ १६ बल्ल एक जना वृद्ध पुरुष त्यहाँ आइपुगे। तिनी आफ्नो खेतबाट घर फर्कँदै थिए। तिनी एप्रैमको पहाडी इलाकाका+ थिए र केही समयदेखि गिबाहमा बसोबास गर्दै थिए। तर गिबाह सहरका बासिन्दाहरू भने बिन्यामिनी+ थिए। १७ ती वृद्ध पुरुषले सहरको चोकमा बटुवाहरूलाई देखेपछि सोधे: “तपाईँहरू कहाँबाट आउनुभयो? अनि कहाँ जाँदै हुनुहुन्छ?” १८ तिनले जवाफ दिए: “हामी यहुदाको बेतलेहेमबाट आएका हौँ र आफ्नो घर फर्कँदै छौँ। मेरो घर एप्रैमको पहाडी इलाकाको एउटा दुर्गम गाउँमा पर्छ। म यहुदाको बेतलेहेम गएको थिएँ+ र अहिले यहोवा परमेश्‍वरको घरमा फर्कँदै छु।* तर यहाँ मलाई कसैले पनि बास दिएन। १९ हामीसित हाम्रा गधाहरूको लागि पुग्दो पराल र दाना छ।+ म, मेरी उपपत्नी अनि हाम्रो सेवकको लागि रोटी+ र मद्य पनि छ। हामीलाई चाहिनेजति सबै कुरा हामीसित छ।” २० यो सुनेर ती वृद्ध पुरुषले भने: “तपाईँहरू मेरो घरमा आउनुहोस्‌!* म तपाईँहरूलाई चाहिने सबै कुराको बन्दोबस्त मिलाउँछु। राती यसरी चोकमा नबस्नुहोस्‌।” २१ त्यसैले ती वृद्ध पुरुषले तिनीहरूलाई आफ्नो घरमा लगे अनि गधालाई दानापानी दिए। त्यसपछि तिनीहरूले आफ्नो खुट्टा धोए र खानपिन गरे।

२२ तिनीहरू आनन्दले बसिरहेको बेला सहरका केही निकम्मा मानिसहरू आएर ती वृद्ध पुरुषको घर घेरे अनि ढोका बेसरी घचघच्याए। ती निकम्मा मानिसहरूले घरको मालिक, ती वृद्ध पुरुषलाई कराउँदै यसो भन्‍न थाले: “तिम्रो घरमा आएको त्यस मानिसलाई यहाँ बाहिर निकाल, हामी ऊसित सम्भोग गर्न चाहन्छौँ।”+ २३ तब त्यस घरका मालिकले बाहिर निस्केर भने: “मेरा मित्रहरू हो, बिन्ती छ, यस्तो दुष्ट काम नगर्नुहोस्‌! तिनी मेरा पाहुना हुन्‌। कृपया यस्तो घिनलाग्दो काम नगर्नुहोस्‌। २४ मेरो एउटी कुमारी छोरी छे अनि त्यस मानिसकी उपपत्नी पनि यहीँ छिन्‌। म उनीहरूलाई बाहिर ल्याउँछु अनि यदि तपाईँहरूलाई केही गर्नै पर्ने हो भने उनीहरूसितै गर्नुहोस्‌।+ तर यस मानिससित भने यस्तो घिनलाग्दो काम नगर्नुहोस्‌।”

२५ तर ती मानिसहरूले त्यस वृद्ध पुरुषको कुरा सुन्दै सुनेनन्‌। त्यसैले त्यहाँ बास बसेका लेवीले आफ्नी उपपत्नीलाई समाएर बाहिर ती मानिसहरूकहाँ ल्याइदिए।+ तिनीहरूले त्यस स्त्रीलाई रातभरि बलात्कार गर्नुका साथै दुर्व्यवहार गरे। अनि भोलिपल्ट बिहान मिरमिरेमा तिनीहरूले उसलाई पठाइदिए। २६ बिहान मिरमिरेमा त्यो स्त्री आएर ती वृद्ध पुरुषको घरको ढोकाअगाडि लडी, जहाँ उसका पति बास बसिरहेका थिए। अनि उज्यालो नहोउन्जेल त्यो स्त्री त्यहीँ लडिरही। २७ त्यस स्त्रीको पति आफ्नो यात्रा थाल्न बिहान उठे र तिनले घरका ढोकाहरू खोले। ढोका खोल्दा तिनले आफ्नी उपपत्नी ढोकाको सँघारमा हात पसारेर लडिरहेकी देखे। २८ तिनले आफ्नी उपपत्नीलाई भने: “उठ, हामी जाऔँ!” तर केही जवाफ आएन किनकि ऊ मरिसकेकी थिई। त्यसैले तिनले उनलाई गधामा राखे र आफ्नो घरतिर लागे।

२९ घर पुगेपछि तिनले एउटा छुरी लिए अनि आफ्नी उपपत्नीको लासलाई १२ टुक्रा पारे। त्यसपछि तिनले इस्राएलको १२ कुललाई एक-एक टुक्रा पठाइदिए। ३० यो देख्ने सबैले आपसमा भने: “इस्राएलीहरू मिश्रबाट* निस्केर आएको दिनदेखि आजसम्म यस्तो घटना कहिल्यै भएको वा देखिएको थिएन। अब यसबारे गहिरिएर सोच, सल्लाह गर+ अनि के गर्नुपर्छ, भन।”

२० त्यसपछि दानदेखि+ बेर्सेबासम्मका र गिलादको इलाकाका+ सबै इस्राएली पुरुष आए। तिनीहरूको सारा समुदाय एकजुट* भएर मिस्पामा+ यहोवा परमेश्‍वरसामु भेला भयो। २ सारा इस्राएलीहरूका र सबै कुलका नाइकेहरू परमेश्‍वरका मानिसहरूको समुदायमा आ-आफ्नो स्थानमा खडा भए। त्यहाँ तरबार भिरेका ४ लाख पैदल सिपाही थिए।+

३ सबै इस्राएली पुरुष मिस्पामा जम्मा भएका छन्‌ भनेर बिन्यामिनीहरूले सुने।

त्यसपछि ती इस्राएली पुरुषहरूले सोधे: “हामीलाई भन, यस्तो अप्रिय घटना कसरी घट्‌यो?”+ ४ तब ती लेवी,+ जसकी उपपत्नीको हत्या भएको थियो, तिनले भने: “म मेरी उपपत्नीसँगै बिन्यामिनीहरूको इलाका गिबाहमा+ बास बस्न गएको थिएँ। ५ अनि गिबाहका मानिसहरू* आएर हामी बास बसेको घरलाई राती घेरे। तिनीहरूले मलाई मार्न खोजेका थिए। तिनीहरूले मलाई त केही गरेनन्‌ तर मेरी उपपत्नीलाई भने बलात्कार गरे र उनी मरिन्‌।+ ६ त्यसपछि मैले मेरी उपपत्नीको लासलाई टुक्राटुक्रा पारेँ। इस्राएलमा भएको यस्तो घिनलाग्दो अनि नीच कामबारे सबैले थाह पाऊन्‌ भनेर इस्राएलका प्रत्येक कुलले पैतृक सम्पत्तिको रूपमा पाएको इलाकामा त्यस लासको एक-एक टुक्रा पठाइदिएँ।+ ७ हे इस्राएलका मानिसहरू हो, अब के गर्नुपर्ला, तपाईँहरू नै भन्‍नुहोस्‌।”+

८ त्यसपछि सबै मानिस एकजुट भई खडा भएर भने: “हामीमध्ये कोही पनि आफ्नो पालमा वा घरमा फर्कनेछैनौँ। ९ गिबाहका मानिसहरूलाई हामी यसरी आक्रमण गरौँ: आक्रमण गर्न को-को जाने भनेर पहिला गोला हालौँ।+ १० सिपाहीहरूको लागि खानेकुराको बन्दोबस्त मिलाउन इस्राएलको सबै कुलका प्रत्येक १०० जनाबाट १० जना, प्रत्येक १,००० जनाबाट १०० जना र प्रत्येक १०,००० जनाबाट १,००० जना छानौँ। इस्राएलमा यस्तो नीच काम गरेकोमा बिन्यामिनीहरूको इलाकाका गिबाहका मानिसहरूविरुद्ध हामी कदम चालौँ।” ११ यसरी इस्राएलका सबै पुरुष त्यस सहरविरुद्ध युद्ध गर्न एकजुट भए।

१२ त्यसपछि इस्राएलका कुलहरूले बिन्यामिनीहरूकहाँ मानिसहरू पठाएर यो कुरा सोधे: “तिमीहरूले यस्तो खराब काम किन गऱ्‍यौ? १३ अब गिबाहका+ ती निकम्मा मानिसहरूलाई हाम्रो हातमा सुम्पिदेओ। इस्राएलबाट यस्तो कुकर्म हटाउन हामी तिनीहरूलाई मार्नेछौँ।”+ तर बिन्यामिनीहरूले आफ्ना इस्राएली भाइबन्धुको कुरै सुन्‍न मानेनन्‌।

१४ इस्राएली पुरुषहरूसित युद्ध गर्न बिन्यामिनीहरू आ-आफ्नो सहरबाट निस्केर गिबाहमा भेला भए। १५ त्यस दिन बिन्यामिनीहरूको विभिन्‍न सहरबाट तरबार भिरेका २६ हजार सिपाही जम्मा भए अनि गिबाहका बासिन्दाहरूमध्येबाट ७०० निपुण योद्धा पनि आए। १६ त्यस सेनामा देब्रे हात चल्ने ७०० निपुण योद्धा थिए। तिनीहरू सबै घुयेँत्रो चलाउन सिपालु थिए र तिनीहरूको निसाना अचुक थियो।*

१७ इस्राएलीहरूले पनि बिन्यामिनको कुलबाहेक अरू सबै कुलबाट तरबार भिरेका ४ लाख पुरुष जम्मा गरे;+ तिनीहरू सबै कुशल योद्धा थिए। १८ परमेश्‍वरसँग सल्लाह माग्न+ तिनीहरू त्यहाँबाट बेथेल गए। त्यहाँ पुगेपछि तिनीहरूले परमेश्‍वरलाई सोधे: “बिन्यामिनीहरूसँग युद्ध गर्न हामीमध्ये कोचाहिँ सबैभन्दा अघि जाऔँ?” यहोवा परमेश्‍वरले यस्तो जवाफ दिनुभयो: “यहुदाको कुल सबैभन्दा अघि जाओस्‌।”

१९ त्यसपछि इस्राएलीहरू बिहान उठे र तिनीहरूले गिबाहलाई आक्रमण गर्न छाउनी हाले।

२० त्यसपछि इस्राएली सिपाहीहरू बिन्यामिनीहरूसित युद्ध गर्न अघि बढे; बिन्यामिनीहरूलाई आक्रमण गर्न तिनीहरू दल-दल बनाएर गिबाहमा तैनाथ भए। २१ तब गिबाहबाट बिन्यामिनीहरू आए र उनीहरूले त्यस दिन इस्राएलका २२ हजार सिपाहीलाई मारे। २२ तर इस्राएली सिपाहीहरूले हिम्मत हारेनन्‌; तिनीहरू भोलिपल्ट पनि दल-दल बनाएर युद्ध गर्न पहिलेकै ठाउँमा गए। २३ त्यहाँ जानुअघि इस्राएलीहरू बेथेल गए र यहोवा परमेश्‍वरसामु साँझसम्मै रोइरहे। अनि तिनीहरूले यहोवा परमेश्‍वरलाई सोधे: “के हामी हाम्रा बिन्यामिनी भाइहरूसित युद्ध गर्न फेरि जाऔँ?”+ यहोवा परमेश्‍वरले भन्‍नुभयो: “जाओ।”

२४ त्यसैले दोस्रो दिन इस्राएलीहरू युद्ध गर्न बिन्यामिनीहरू भएको ठाउँनजिकै गए। २५ त्यस दिन बिन्यामिनीहरू पनि गिबाहबाट आए र दोस्रो दिनको त्यस युद्धमा उनीहरूले तरबार भिरेका १८ हजार इस्राएलीलाई मारे;+ तिनीहरू सबै तरबार भिरेका सिपाहीहरू थिए। २६ तब इस्राएली पुरुषहरू फर्केर बेथेल गए। तिनीहरू त्यहाँ यहोवा परमेश्‍वरसामु रोएर बसिरहे।+ त्यस दिन तिनीहरू साँझसम्मै उपवास बसे+ र तिनीहरूले यहोवा परमेश्‍वरको लागि अग्निभेटी+ र मेलबलि*+ चढाए। २७ त्यसपछि इस्राएलका पुरुषहरूले यहोवा परमेश्‍वरसित निर्देशन मागे+ किनभने त्यतिबेला साँचो परमेश्‍वरको करारको सन्दुक* बेथेलमै थियो। २८ त्यतिबेला हारुनका नाति, एलियाजारका छोरा पिनहास+ करारको सन्दुकको सामने सेवा गर्थे। ती इस्राएली पुरुषहरूले सोधे: “हाम्रा बिन्यामिनी भाइहरूविरुद्ध युद्ध गर्न हामी फेरि जाऔँ कि नजाऔँ?”+ यहोवा परमेश्‍वरले जवाफ दिनुभयो: “जाओ! किनभने भोलि म तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनेछु।” २९ त्यसपछि इस्राएलीहरूले गिबाहको चारैतिर ढुकेर बस्न+ आफ्ना सिपाहीहरूलाई खटाए।

३० तेस्रो दिन इस्राएलीहरू बिन्यामिनीहरूसित युद्ध गर्न गए। तिनीहरू यस पटक पनि पहिलाजस्तै दल-दल बनाएर गिबाहलाई आक्रमण गर्न गए।+ ३१ जब बिन्यामिनीहरू इस्राएलीहरूसित युद्ध गर्न निस्के, तब इस्राएलीहरूलाई खेद्‌दै उनीहरू आफ्नो सहरबाट टाढा पुगे।+ पहिलाजस्तै उनीहरूले इस्राएलीहरूलाई आक्रमण गर्न थाले। अनि बिन्यामिनीहरूले बेथेलतिर र गिबाहतिर जाने मूलबाटोहरूको खुला मैदानमा लगभग ३० जना इस्राएलीलाई मारे।+ ३२ त्यसैले बिन्यामिनीहरूले आपसमा यसो भने: “हामी तिनीहरूलाई फेरि पनि जित्दै छौँ।”+ तर यो इस्राएलीहरूको चाल थियो। तिनीहरूले यसो भनेका थिए: “हामी भागेझैँ गरौँ र बिन्यामिनीहरूलाई सहरबाट टाढा मूलबाटोसम्म पुऱ्‍याऔँ।” ३३ तब इस्राएली सिपाहीहरू आ-आफ्नो ठाउँबाट निस्के र दल-दल बनाएर बाआल-तामारमा तैनाथ भए। अनि गिबाहको चारैतिर ढुकेर बसेका सिपाहीहरू पनि सहरलाई आक्रमण गर्न निस्के। ३४ यसरी इस्राएलका १० हजार निपुण योद्धा गिबाहनजिकै पुगे र त्यहाँ घमासान युद्ध भयो। तर बिन्यामिनीहरूलाई आफूमाथि ठूलो विपत्ति आइपर्नै लागेको छ भनेर पत्तै थिएन।

३५ यहोवा परमेश्‍वरले इस्राएलीहरूसामु बिन्यामिनीहरूलाई हराउनुभयो।+ त्यस दिन इस्राएलीहरूले २५ हजार १ सय बिन्यामिनीलाई मारे; तिनीहरू सबै तरबार भिरेका सिपाहीहरू थिए।+

३६ इस्राएली सिपाहीहरू भागेको देख्दा बिन्यामिनीहरूले तिनीहरूलाई हराइसकेका छौँ भन्ठानेका थिए।+ तर तिनीहरूले भागेझैँ मात्र गरेका थिए किनकि गिबाहको चारैतिर ढुकेर बसेका सिपाहीहरूले सहरलाई आक्रमण गर्नेछन्‌ भनेर तिनीहरू ढुक्क थिए।+ ३७ ढुकेर बसेका सिपाहीहरू गिबाहलाई आक्रमण गर्न तुरुन्तै निस्के। तिनीहरू सहरभित्र घुसेर चारैतिर फैलिए अनि तिनीहरूले त्यहाँ भएका सबैलाई तरबारले मारे।

३८ इस्राएली सिपाहीहरूले पहिला सल्लाह गरेअनुसारै सहरको चारैतिर ढुकेर बसेका सिपाहीहरूले सहरभित्र घुस्नेबित्तिकै सङ्‌केतको रूपमा धुवाँको मुस्लो निकाल्नुपर्थ्यो।

३९ इस्राएली सिपाहीहरू बिन्यामिनीहरूदेखि भागिरहेको बेला बिन्यामिनीहरूले आक्रमण गर्न थाले र लगभग ३० जना इस्राएलीलाई मारे।+ तब बिन्यामिनीहरूले भने: “हेर! तिनीहरू भाग्दै छन्‌! हामीले फेरि पनि तिनीहरूलाई जित्यौँ।”+ ४० त्यति नै बेला सहरबाट सङ्‌केतको रूपमा धुवाँको मुस्लो निस्कन थाल्यो। बिन्यामिनीहरूले पछाडि फर्केर हेर्दा पूरै सहर जलिरहेको र आकाशतिर धुवाँ उडिरहेको देखे। ४१ त्यसपछि इस्राएली सिपाहीहरूले फनक्क फर्केर आक्रमण गर्न थाले। यो देखेर बिन्यामिनीहरू आत्तिए किनभने उनीहरूमाथि विपत्ति आइसकेको थियो। ४२ त्यसैले ती बिन्यामिनीहरू इस्राएली सिपाहीहरूदेखि भागेर निर्जनभूमितिर लागे। तर इस्राएलीहरूले उनीहरूलाई खेद्‌न छोडेनन्‌ अनि उनीहरूलाई मार्न सहरबाट अरू सिपाहीहरू पनि आइपुगे। ४३ इस्राएलीहरूले बिन्यामिनीहरूलाई खेद्‌न छोडेनन्‌ र चारैतिरबाट घेरे। तिनीहरूले बिन्यामिनीहरूलाई गिबाहको पूर्वतिर हराए। ४४ यसरी १८ हजार बिन्यामिनी मारिए; उनीहरू सबै वीर योद्धा थिए।+

४५ बाँकी बिन्यामिनीहरू निर्जनभूमिमा भएको रिम्मोनको पहरातिर भाग्न थाले।+ उनीहरूमध्ये ५ हजारलाई इस्राएलीहरूले मूलबाटोमा मारे। इस्राएलीहरूले बिन्यामिनीहरूलाई गिदोमसम्मै खेदिरहे र अरू २ हजारलाई पनि मारे। ४६ त्यस दिन जम्मा २५ हजार बिन्यामिनी मारिए; उनीहरू सबै तरबार भिरेका वीर योद्धा थिए।+ ४७ तर ६०० सिपाही भने निर्जनभूमिमा भएको रिम्मोनको पहरामा गएर लुके र चार महिनासम्म उनीहरू त्यहीँ बसे।

४८ त्यसपछि इस्राएली सिपाहीहरू बिन्यामिनीहरूको सहरमा फर्के र त्यस सहरमा बाँकी भएका मानिस, वस्तुभाउ सबैलाई तरबारले मारे। तिनीहरूले बाटोमा पर्ने सबै सहरमा पनि आगो लगाइदिए।

२१ इस्राएलीहरूले मिस्पामा+ यस्तो शपथ खाएका थिए: “हामी कसैले पनि बिन्यामिनीहरूलाई हाम्रा छोरीहरू दिनेछैनौँ।”+ २ बिन्यामिनीहरूसित युद्ध गरेपछि मानिसहरू बेथेल आए+ र साँझसम्मै साँचो परमेश्‍वरको सामने बसेर रोइकराइ गरिरहे। ३ तिनीहरूले यसरी बिलौना गरे: “हे इस्राएलका परमेश्‍वर यहोवा, आज इस्राएलीहरूको एउटा कुल हामीमाझ छैन। इस्राएलमा यस्तो के भयो?” ४ मानिसहरू भोलिपल्ट बिहान सबेरै उठे अनि अग्निभेटी र मेलबलि+ चढाउन त्यहाँ एउटा वेदी बनाए।

५ तब इस्राएलीहरूले सोधे: “हामी यहोवा परमेश्‍वरसामु भेला हुँदा इस्राएलको कुनचाहिँ कुल आएको थिएन?” किनकि मिस्पामा यहोवा परमेश्‍वरसामु कुनै कुल भेला हुन आएन भने त्यस कुलका मानिसहरू मारिनै पर्छ भनेर तिनीहरूले गम्भीर शपथ खाएका थिए। ६ तब इस्राएलीहरू आफ्ना बिन्यामिनी दाजुभाइको हालत सम्झेर दुःखी भए। तिनीहरूले भने: “आज हाम्रो माझबाट इस्राएलको एउटा कुल मासियो। ७ बिन्यामिनीहरूलाई हाम्रा छोरीहरू दिनेछैनौँ भनेर हामीले यहोवा परमेश्‍वरसामु शपथ खाइसकेका छौँ।+ त्यसैले बाँकी रहेका बिन्यामिनीहरूको लागि हामीले अब कहाँबाट पत्नी ल्याइदिने?”+

८ तिनीहरूले सोधे: “इस्राएलका कुलहरूमध्ये मिस्पामा यहोवा परमेश्‍वरसामु कुनचाहिँ कुलका मानिसहरू भेला भएका थिएनन्‌?”+ हुन पनि इस्राएलीहरू भेला भएको ठाउँमा याबेस-गिलादबाट कोही पनि आएका थिएनन्‌। ९ भेला भएका मानिसहरू गन्दा याबेस-गिलादबाट कोही पनि नआएको पत्ता लाग्यो। १० त्यसैले इस्राएलीहरूको समुदायले आफ्ना १२ हजार वीर योद्धालाई त्यहाँ पठायो। तिनीहरूलाई यस्तो आदेश दिइयो: “जाओ! याबेस-गिलादका सबै बासिन्दालाई तरबारले मार; स्त्री, बालबच्चा कसैलाई नछोड।+ ११ तिमीहरूले यसो गर: त्यहाँका पुरुषहरू सबैलाई मार अनि पुरुषहरूसँग यौनसम्बन्ध राखेका स्त्रीहरूलाई पनि मार।” १२ तिनीहरूले याबेस-गिलादका बासिन्दाहरूमाझ ४०० जना कन्या भेट्टाए, जसले कुनै पुरुषसँग कहिल्यै यौनसम्बन्ध राखेका थिएनन्‌। त्यसैले तिनीहरूले ती केटीहरूलाई कनान देशको सिलोमा+ भएको छाउनीमा ल्याए।

१३ त्यसपछि इस्राएलको समुदायले रिम्मोनको पहरामा लुकेर बसिरहेका+ बिन्यामिनीहरूलाई मेलमिलाप गरौँ भनेर खबर पठायो। १४ तब बिन्यामिनको कुलका ती मानिसहरू आए। अनि इस्राएलको समुदायले याबेस-गिलादमा+ नमारिएका कन्याहरू तिनीहरूलाई पत्नीको रूपमा दियो; तर बिन्यामिनी पुरुषहरूलाई ती कन्याहरूको सङ्‌ख्या पर्याप्त भएन। १५ अनि आफ्ना बिन्यामिनी दाजुभाइको हालत सम्झेर इस्राएलीहरू दुःखी भए+ किनभने यहोवा परमेश्‍वरले इस्राएलका कुलहरूबाट बिन्यामिनीहरूलाई अलग पार्नुभएको थियो। १६ इस्राएलको समुदायका नाइकेहरूले भने: “हामीले बिन्यामिनको कुलका सबै स्त्रीलाई मारिसकेका छौँ। अब बाँकी बिन्यामिनी पुरुषहरूको लागि हामीले कहाँबाट पत्नी ल्याइदिने?” १७ तिनीहरूले जवाफ दिए: “बिन्यामिनको कुलका बाँकी रहेकाहरूको पैतृक सम्पत्ति मासिनु हुँदैन, नत्र त इस्राएलको एउटा कुलको नामोनिसान रहनेछैन। १८ तर हामी तिनीहरूसित आफ्ना छोरीहरूको बिहे गरिदिन सक्दैनौँ किनभने इस्राएलीहरूले यस्तो शपथ खाएका छन्‌: ‘जसले बिन्यामिनी पुरुषलाई आफ्नी छोरी दिन्छ, ऊ श्रापित होस्‌।’”+

१९ त्यसपछि तिनीहरूले भने: “हेर! यहोवा परमेश्‍वरको निम्ति वर्षैपिच्छे सिलोमा+ चाड मनाइन्छ, जुन ठाउँ बेथेलको उत्तरमा अनि बेथेलदेखि सकेमसम्म जाने मूलबाटोको पूर्वमा र लबोनाहको दक्षिणमा पर्छ।” २० त्यसैले तिनीहरूले बिन्यामिनीहरूलाई यस्तो आदेश दिए: “जाओ! गएर अङ्‌गुर बगानहरूमा लुकेर बस। २१ अनि जब तिमीहरूले सिलोका केटीहरू* नाच्न* आएका देख्छौ, तब अङ्‌गुर बगानहरूबाट बाहिर निस्क र सिलोका ती केटीहरूमध्येबाट एक-एक जनालाई समातेर आफ्नी पत्नी बनाओ; त्यसपछि तिमीहरू आफ्नो कुल बिन्यामिनीहरूको इलाकामा फर्क। २२ अनि ती केटीहरूका बुबाहरू वा दाजुभाइहरू हामीकहाँ गुनासो गर्न आए भने हामी उनीहरूलाई यसो भन्‍नेछौँ: ‘हामीमाथि दया देखाउनुहोस्‌ किनभने हामीले युद्ध जितेर तिनीहरू सबैको लागि पुग्ने केटीहरू ल्याइदिन सकेनौँ+ अनि तपाईँहरूले पनि आफ्ना छोरीहरू दिन सक्नुहुन्‍नथ्यो किनकि त्यसो गर्नुभएको भए तपाईँहरू दोषी ठहरिनुहुने थियो।’”+

२३ अनि ती बिन्यामिनी पुरुषहरूले त्यसै गरे; नाचिरहेका केटीहरूमध्येबाट तिनीहरू प्रत्येकले आ-आफ्नो लागि एक-एक जनालाई आफ्नी पत्नी बनाउन लिएर गए। त्यसपछि तिनीहरू आफूले पैतृक सम्पत्तिको रूपमा पाएको इलाकामा फर्के र सहरहरू पुनर्निर्माण गरेर+ त्यहीँ बसोबास गर्न थाले।

२४ त्यसपछि इस्राएलीहरू त्यहाँबाट छुट्टिए अनि तिनीहरू आ-आफ्नो कुल र परिवारअनुसार आफूले पैतृक सम्पत्तिको रूपमा पाएको इलाकामा फर्के।

२५ त्यतिबेला इस्राएलमा कुनै राजा थिएनन्‌।+ त्यसैले हरेकले आफूलाई जे सही लाग्छ, त्यही गर्थ्यो।

वा “दिएको छु।”

वा सम्भवतः “अक्साहले आफ्नो बुबाको ध्यान खिच्न गधामा बसेर थपडी मारिन्‌।”

वा “नेगेबमा।”

यसको अर्थ हो, “पानीको कुण्ड।”

यसको अर्थ हो, “नाश गर्न सुम्पिइएको।”

शा., “फलामका रथहरू थिए।”

शा., “तपाईँलाई अटल प्रेम देखाउनेछौँ।”

वा “इजिप्टबाट।”

यसको अर्थ हो, “रुनेहरू।”

शा., “बेचिदिनुभयो।”

वा “अरू देवताहरूसित वेश्‍यावृत्ति गरे।”

वा “पछुतो मान्‍नुहुन्थ्यो।”

वा “हमाथ छिर्ने ठाउँसम्मका।”

शब्दावली हेर्नुहोस्‌।

शा., “अराम-नहरैमका।”

शा., “बेचिदिनुभयो।”

शा., “अरामका।”

यसले छोटो हातलाई जनाएको हुन सक्छ, जसको लम्बाइ लगभग ३८ सेन्टिमिटर हुन्छ। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा सम्भवतः “ढुङ्‌गाखानीमा।”

वा सम्भवतः “झ्यालबाट।”

वा सम्भवतः “ढुङ्‌गाखानी हुँदै।”

पैदल नै तर्न सकिने गहिराइ कम भएको नदीको भाग।

शा., “बेचिदिनुभयो।”

शा., “फलामका रथहरू थिए।”

वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

जनावरको छालाबाट बनेको थैलो।

शा., “आफ्नो केश खुला छोडे।” यो तिनीहरूले भाकल गरेका थिए भन्‍ने कुराको चिन्ह थियो।

वा “यहोवाको प्रशंसा गर्न म धुन बजाउनेछु।”

वा सम्भवतः “हल्लिए।”

वा सम्भवतः “शास्त्रीले प्रयोग गर्ने साधनको जिम्मा पाएकाहरू।”

यसले भारी बोक्ने जनावरलाई बोकाइने बोराहरूलाई जनाउँछ।

वा “दही।”

वा सम्भवतः “जमिनमुनिका भण्डारहरू।”

वा “इजिप्टबाट।”

शा., “मेरो आवाज सुनेनौ।”

लगभग २२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावलीमा “खमिर” हेर्नुहोस्‌।

यसको अर्थ हो, “यहोवा शान्ति हुनुहुन्छ।”

शा., “सात वर्षे दोस्रो बहर।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

यसको अर्थ हो, “बाआलले आफ्नो मुद्दा आफै लडोस्‌।”

शा., “तिम्रो हात बलियो हुनेछ।”

शा., “रातको दोस्रो प्रहर सुरु हुँदा।” राती १० बजेतिरदेखि बिहान २ बजेतिरसम्म।

पैदल नै तर्न सकिने गहिराइ कम भएको नदीको भाग।

शा., “अबिएजेरको घरानाले कटनी गरेको अङ्‌गुरभन्दा एप्रैमको घरानाले बटुलेका सिलाबाला नै उत्तम छैनन्‌ र?”

एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

साँचो परमेश्‍वरको उपासनालाई त्यागेर झूटा देवताहरूलाई पुज्नुलाई वेश्‍यावृत्तिसित तुलना गरिएको छ।

शा., “शिर उठाएनन्‌।”

साँचो परमेश्‍वरको उपासनालाई त्यागेर झूटा देवताहरूलाई पुज्नुलाई वेश्‍यावृत्तिसित तुलना गरिएको छ।

वा “अटल प्रेम।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्‌।

शा., “आमापट्टिको हजुरबुबाको पूरै घरानालाई।”

वा सम्भवतः “जग्गाधनीलाई।”

शा., “म तपाईँहरूकै हाड र मासु हुँ।”

शा., “तिनीहरूको हृदय अबिमेलेकतर्फ ढल्कियो।”

शा., “आफ्ना हाँगाहरू हल्लाउन।”

यसले सकेमका अधिकारी जबुललाई जनाएको हुन सक्छ।

वा “चलाखीपूर्ण तरिकामा।”

वा “किल्लामा।”

वा “सिरिया।”

शा., “बेचिदिनुभयो।”

वा “इजिप्टबाट।”

शा., “कुरा सुन्‍ने व्यक्‍ति।”

वा “इजिप्टबाट।”

शा., “मैले यहोवा परमेश्‍वरसामु आफ्नो मुख खोलेको छु।”

वा “आफ्ना सहेलीहरूसित रुनेछु किनभने म कहिल्यै विवाह गर्नेछैनँ।”

वा “नियम बन्यो।”

वा सम्भवतः “नदी तरेर उत्तरतिर गए।”

पैदल नै तर्न सकिने गहिराइ कम भएको नदीको भाग।

अङ्‌गुरबाट बनेको रक्सी।

शा., “गर्भदेखि नै।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “तिनी भित्री कोठामा जानुअघि।”

वा “भित्री कोठामा।”

यसको अर्थ हो, “बङ्‌गाराको डाँडा।”

यसको अर्थ हो, “पुकार्नेको मुहान।”

वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

वा “नसाले।”

वा “सलेदो।”

शा., “गर्भदेखि।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा टेराफिम। शब्दावलीमा “टेराफिम” हेर्नुहोस्‌।

शा., “बुबा।”

शा., “पैतृक सम्पत्ति।”

वा “लबज चिने।”

यसको अर्थ हो, “दानको कुलको छाउनी।”

शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा टेराफिम। शब्दावलीमा “टेराफिम” हेर्नुहोस्‌।

शा., “बुबा।”

वा “वासस्थान।”

शा., “पाल।”

वा सम्भवतः “म यहोवा परमेश्‍वरको घरमा सेवा गर्छु।”

शा., “तपाईँहरूलाई शान्ति होस्‌!”

वा “इजिप्टबाट।”

शा., “एकै जना मानिसजस्तो।”

वा सम्भवतः “जग्गाधनीहरू।”

शा., “तिनीहरू एउटा रौँलाई समेत निसाना नचुकाई घुयेँत्रोले हान्‍न सक्थे।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “छोरीहरू।”

शा., “घेरा बनाएर नाच्न।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने