आमोस
१ आमोसले* लेखेका वचनहरू। तिनी तेकोका भेडापालन गर्नेहरूमध्ये एक थिए।+ भुईँचालो आउनुभन्दा दुई वर्षअघि,+ यहुदाका राजा उज्जियाह+ र इस्राएलका राजा योआसका छोरा+ यरोबामको+ शासनकालमा तिनले इस्राएलबारे दर्शन* देखेका थिए। २ तिनले भने:
“यहोवा सियोनबाट गर्जनुहुनेछ,
उहाँ यरुसलेमबाट ठूलो स्वरले कराउनुहुनेछ।
गोठालाका चरनहरूले शोक गर्नेछन्
अनि कर्मेलको टाकुरा सुकेर जानेछ।”+
३ “यहोवा यसो भन्नुहुन्छ,
‘“दमिसकले तीन पटक होइन तर चार-चार पटक विद्रोह* गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ
किनकि तिनीहरूले फलामे दाँदेले गिलादलाई दाइँ गरे।+
४ त्यसैले म हजाएलको घरानामाथि आगो पठाउनेछु+
अनि त्यसले बेन-हददका बलिया किल्लाहरूलाई भस्म गरिदिनेछ।+
५ म दमिसकका गजबारहरू भाँचिदिनेछु।+
म बिकाथ-आवेनका बासिन्दाहरूलाई
अनि बेथ-एदेनबाट शासन गर्नेलाई* नाश गर्नेछु।
अनि सिरियाका मानिसहरूलाई चाहिँ किरमा निर्वासनमा लगिनेछ,”+ यहोवा भन्नुहुन्छ।’
६ यहोवा यसो भन्नुहुन्छ,
‘“गाजाले तीन पटक होइन+ तर चार-चार पटक विद्रोह गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ
किनकि तिनीहरूले निर्वासनमा लगिएकाहरू+ सबैलाई एदोमको जिम्मा लगाए।
७ त्यसैले म गाजाको पर्खालमा आगो पठाउनेछु+
अनि त्यसले गाजाका बलिया किल्लाहरूलाई भस्म गरिदिनेछ।
८ म अस्दोदका+ बासिन्दाहरूलाई
अनि अस्कलोनबाट+ शासन गर्नेलाई* नाश गर्नेछु,
म एक्रोनविरुद्ध+ आफ्नो हात उठाउनेछु
अनि बाँकी रहेका सबै पलिस्तियालीको नामोनिसान मेटिनेछ,”+ ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ।’
९ यहोवा यसो भन्नुहुन्छ,
‘टायरले तीन पटक होइन+ तर चार-चार पटक विद्रोह गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ
किनकि तिनीहरूले निर्वासनमा लगिएकाहरू सबैलाई एदोमको जिम्मा लगाए।
अनि तिनीहरूले दाजुभाइबीचको करारलाई सम्झेनन्।+
१० त्यसैले म टायरको पर्खालमा आगो पठाउनेछु
अनि त्यसले टायरका बलिया किल्लाहरूलाई भस्म गर्नेछ।’+
११ यहोवा यसो भन्नुहुन्छ,
‘एदोमले तीन पटक होइन+ तर चार-चार पटक विद्रोह गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ
किनकि उसले आफ्नै भाइलाई तरबार लिएर खेद्यो+
अनि उसले कृपा देखाउन मानेन।
अनि रिसको झोकमा उसले तिनीहरूलाई टुक्राटुक्रा पारिरहन्छ;
ऊ तिनीहरूसित सधैँ क्रोधित भइरहन्छ।+
१२ त्यसैले म तेमानमा+ आगो पठाउनेछु
अनि त्यसले बोज्राहका+ बलिया किल्लाहरूलाई भस्म गर्नेछ।’
१३ यहोवा यसो भन्नुहुन्छ,
‘“अम्मोनले+ तीन पटक होइन तर चार-चार पटक विद्रोह गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ
किनकि तिनीहरूले आफ्नो सिमाना बढाउन गिलादका गर्भवती स्त्रीहरूको पेट चिरे।+
१४ त्यसैले म राब्बाहको पर्खालमा आगो पठाउनेछु+
अनि त्यसले राब्बाहका बलिया किल्लाहरूलाई भस्म गरिदिनेछ।
त्यस दिन युद्धको ठूलो आवाज सुनिनेछ
अनि त्यो दिन ठूलो आँधी र हुरीबतासको दिनझैँ हुनेछ।
१५ अनि तिनीहरूका राजाहरू आफ्ना भारदारहरूसहित निर्वासनमा जानेछन्,”+ यहोवा भन्नुहुन्छ।’
२ “यहोवा यसो भन्नुहुन्छ,
‘“मोआबले+ तीन पटक होइन तर चार-चार पटक विद्रोह* गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ
किनकि उसले चुनको लागि एदोमको राजाका हड्डीहरू जलायो।
२ त्यसैले म मोआबमा आगो पठाउनेछु
अनि त्यसले केरिओथका+ बलिया किल्लाहरूलाई भस्म गरिदिनेछ।
तब खैलाबैला, युद्धको ठूलो आवाज
र सिङ फुकेको आवाजसँगै मोआबको पतन हुनेछ।+
३ म उसको बीचबाट शासकलाई* हटाइदिनेछु
अनि उसलाई र उसका भारदारहरूलाई मारिदिनेछु,”+ यहोवा भन्नुहुन्छ।’
४ यहोवा यसो भन्नुहुन्छ,
‘यहुदाले+ तीन पटक होइन तर चार-चार पटक विद्रोह गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ
किनकि तिनीहरूले यहोवाको व्यवस्थालाई* तिरस्कार गरे,
तिनीहरूले उहाँका नियमहरू पालन गरेनन्+
अनि जुन झूटहरूको पछि तिनीहरूका पुर्खाहरू हिँडेका थिए, तिनीहरू पनि ती नै झूटहरूको बहकाउमा परे।+
५ त्यसैले म यहुदामा आगो पठाउनेछु
अनि त्यसले यरुसलेमका बलिया किल्लाहरूलाई भस्म गरिदिनेछ।’+
६ यहोवा यसो भन्नुहुन्छ,
‘इस्राएलले+ तीन पटक होइन तर चार-चार पटक विद्रोह गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ
किनकि तिनीहरू चाँदीको लागि धर्मीहरूलाई
र एक जोर जुत्ताको लागि गरिबहरूलाई बेच्छन्।+
७ तिनीहरू असहायहरूको टाउको धुलोमा कुल्चीमिल्ची गर्छन्;+
तिनीहरू सोझाहरूको बाटो छेक्छन्।+
बुबा र छोराले एउटै केटीसित यौनसम्बन्ध राख्छन्
र मेरो पवित्र नामलाई अपवित्र तुल्याउँछन्।
८ तिनीहरू बन्धकी राखिएका कपडाहरू जफत गर्छन्+ र प्रत्येक वेदीअगाडि त्यो बिछ्याएर पस्रिन्छन्।+
अनि अरूलाई जरिमाना तिराएको पैसाबाट तिनीहरू आफ्ना देवताहरूका मन्दिरहरूमा रक्सी पिउँछन्।’
९ ‘तर मैले नै तिनीहरूको अगाडि एमोरीहरूलाई नाश गरेको थिएँ,+
जो देवदारको रूखजस्तै अग्ला र फलाँटको रूखजस्तै बलिया थिए;
मैले माथिबाट त्यसको फल र तलबाट त्यसका जराहरू नाश गरेको थिएँ।+
१० मैले तिमीहरूलाई मिश्रबाट* छुटाएर ल्याएँ+
अनि एमोरीहरूको देश अधिकार गर्नलाई
चालीस वर्षसम्म निर्जनभूमिमा डोऱ्याएँ।+
११ मैले तिमीहरूका छोराहरूमध्ये कतिलाई भविष्यवक्ता नियुक्त गरेँ +
अनि कति जवान पुरुषहरूलाई नाजिरीको रूपमा छानेँ।+
ए इस्राएलका मानिसहरू हो, मैले नै त्यसो गरेको होइनँ र?’ यहोवा घोषणा गर्नुहुन्छ।
१२ ‘तर तिमीहरूले नाजिरीहरूलाई मद्य पिउन दिइरह्यौ+
र भविष्यवक्ताहरूलाई यस्तो आज्ञा दियौ: “भविष्यवाणी नगर!”+
१३ त्यसैले म तिमीहरूलाई तिमीहरूकै ठाउँमा कुल्चीमिल्ची गरिदिनेछु,
अन्नले भरिएको गाडाले किचेझैँ म तिमीहरूलाई किच्नेछु।
१४ वेगसित दगुर्नेले भाग्न कुनै ठाउँ पाउनेछैन;+
बलियो मानिसको बल घट्नेछ;
अनि कुनै योद्धाले आफ्नो ज्यान बचाउन सक्नेछैन।
१५ धनुर्धारी आफ्नो ठाउँमा टिक्न सक्नेछैन;
छिटो दगुर्ने मानिस पनि उम्कन सक्नेछैन
अनि घोडसवारले आफ्नो ज्यान बचाउन सक्नेछैन।
१६ त्यस दिन सबैभन्दा साहसी योद्धा पनि नाङ्गै भाग्नेछ,’+ यहोवा घोषणा गर्नुहुन्छ।”
३ “ए इस्राएलका मानिसहरू हो, यहोवाले तिमीहरूबारे—मिश्रबाट उहाँले छुटाएर ल्याउनुभएका सबै परिवारबारे भन्नुभएको कुरा सुन:
२ ‘पृथ्वीका सबै परिवारमध्ये तिमीहरूलाई मात्र मैले चिनेको छु।+
त्यसैले तिमीहरूले गरेका सबै गल्तीको हिसाब म तिमीहरूसित लिनेछु।+
३ आपसमा सहमत नभई* दुई जना सँगै हिँड्छन् र?
४ वनमा कुनै सिकार छैन भने सिंह गर्जन्छ र?
सिकार नपक्रीकनै कुनै जवान सिंहले आफ्नो ओडारमा ङ्वार्र-ङुर्र गर्छ र?
५ चराको लागि जमिनमा कुनै पासो थापिएको छैन भने* त्यो पासोमा पर्छ र?
पासोमा केही पनि परेको छैन भने त्यो पासो आफै जमिनबाट माथि उचालिन्छ र?
६ सहरमा सिङ फुकियो भने त्यहाँका बासिन्दाहरू डराउँदैनन् र?
सहरमा विपत्ति आइपऱ्यो भने यहोवाले नै त्यो ल्याउनुभएको होइन र?
७ ब्रह्माण्डका मालिक यहोवाले आफ्ना सेवकहरूलाई—आफ्ना भविष्यवक्ताहरूलाई
आफ्नो गोप्य कुरा नखुलाईकन कुनै काम गर्नुहुन्न।+
८ सिंह गर्जेको छ!+ कोचाहिँ डराउँदैन र?
ब्रह्माण्डका मालिक यहोवा बोल्नुभएको छ! कसले भविष्यवाणी गर्दैन र?’+
९ ‘अस्दोदका बलिया किल्लाहरूमा यसको घोषणा गर
अनि मिश्रका बलिया किल्लाहरूमा यसको घोषणा गर।
यसो भन: “सामरियाका पहाडहरूमा जम्मा होओ,+
हेर, त्यहाँ कत्ति खैलाबैला मच्चिएको छ
अनि कत्ति छलछाम भइरहेको छ।+
१० किनकि तिनीहरू जे सही छ, त्यो गर्न जान्दैनन्,
तिनीहरू आफ्ना बलिया किल्लाहरूमा हिंसा र विनाश थुपार्छन्,” यहोवा घोषणा गर्नुहुन्छ।’
११ त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ,
‘एउटा शत्रुले भूमिलाई घेर्नेछ,+
उसले तिमीहरूको शक्ति खोस्नेछ
अनि तिमीहरूका बलिया किल्लाहरू लुटिनेछन्।’+
१२ यहोवा यसो भन्नुहुन्छ,
‘जसरी गोठालोले सिंहको मुखबाट दुइटा खुट्टा वा कानको टुक्रा मात्र खोस्न सक्छ,
त्यसरी नै इस्राएलका मानिसहरूलाई
अनि सामरियामा भव्य पलङ र शानदार शय्यामा* ढल्किरहेकाहरूलाई पनि खोसिनेछ।’+
१३ ब्रह्माण्डका मालिक यहोवा, सेनाहरूका परमेश्वर यस्तो घोषणा गर्नुहुन्छ, ‘सुन र याकुबको घरानालाई चेतावनी देऊ।*
१४ ‘जुन दिन म इस्राएलसित उसले गरेको सबै विद्रोहको* लेखा लिनेछु,+
त्यस दिन म बेथेलका वेदीहरूसित पनि लेखा लिनेछु;+
वेदीका सिङहरू काटिनेछन् र ती भुईँमा खस्नेछन्।+
१५ म हिउँदको घर र गर्मी यामको घर दुवैलाई ढालिदिनेछु।’
‘हस्तिदन्तले बनेका घरहरू तहसनहस हुनेछन्।+
अनि भव्य* घरहरू पनि नाश हुनेछन्,’+ यहोवा घोषणा गर्नुहुन्छ।”
४ “ए बासानका गाईहरू हो, सुन!
तिमीहरू, जो सामरियाका पहाडहरूमा बस्छौ,+
तिमी स्त्रीहरू, जो सोझाहरूलाई ठग्छौ+ र गरिबहरूलाई पेल्छौ
अनि आफ्ना पतिहरूलाई* ‘पिउनलाई केही ल्याइदिनुहोस्!’ भन्छौ।
२ ब्रह्माण्डका मालिक यहोवाले आफ्नो पवित्रताको नाममा कसम खानुभएको छ,
‘“हेर! ती दिनहरू आउँदै छन्, जब तिमीहरूलाई मासु झुन्ड्याउने अङ्कुसेले झुन्ड्याइनेछ
अनि बाँकीलाई माछा तान्ने बल्छीले तानिनेछ।
३ तिमीहरू प्रत्येक आ-आफ्नो अगाडि भएको पर्खालका धाँजाहरूबाट निस्कनेछौ
अनि तिमीहरूलाई हार्मोनमा फ्याँकिनेछ,” यहोवा घोषणा गर्नुहुन्छ।’
गिलगाल आओ र झन् धेरै अपराध गर।+
बिहान बलिहरू ल्याओ+
र तेस्रो दिन तिमीहरूका दशांशहरू* ल्याओ।+
५ परमेश्वरलाई धन्यवाद दिन खमिर* हालिएको रोटी चढाओ+
र स्वैच्छिकभेटी चढाउँदा ठूलो स्वरले सुनाउँदै हिँड।
किनकि ए इस्राएलका मानिसहरू हो, तिमीहरू त्यसै गर्न मन पराउँछौ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
६ ‘मैले तिमीहरूका सबै सहरका मानिसहरूलाई भोकभोकै पारिदिएँ;*
तिमीहरूको घरघरमा अनिकाल मच्चाइदिएँ;+
तैपनि तिमीहरू मकहाँ फर्केनौ,’+ यहोवा घोषणा गर्नुहुन्छ।
७ ‘मैले कटनीको समयभन्दा तीन महिनाअघि वर्षा रोकिदिएँ;+
एउटा सहरमा पानी बर्साएँ, अर्को सहरमा रोकिदिएँ।
जमिनको एउटा भागमा पानी पर्दा
अर्को भागमा पानी नपरेर जमिन चिराचिरा पर्थ्यो।
८ दुई-तीन वटा सहरका मानिसहरू पानी पिउन लर्खराउँदै एउटा सहरमा जान्थे+
तर तिनीहरू तृप्त हुँदैनथे
तैपनि तिमीहरू मकहाँ फर्केनौ,’+ यहोवा घोषणा गर्नुहुन्छ।
९ ‘मैले तिमीहरूको बोटबिरुवालाई तातो हावा र ढुसीले प्रहार गरेँ;+
तिमीहरूले आफ्नो बारी र अङ्गुर बगानहरू बढाउँदै लग्यौ।
तर सलहले तिमीहरूको अन्जिरका रूखहरू र जैतुनका रूखहरू सखाप पाऱ्यो।+
तैपनि तिमीहरू मकहाँ फर्केनौ,’+ यहोवा घोषणा गर्नुहुन्छ।
१० ‘मैले मिश्रमा जस्तै तिमीहरूमाझ महामारी पठाएँ।+
अनि तरबारले तिमीहरूका जवान पुरुषहरूलाई काटिदिएँ+ र तिमीहरूका घोडाहरू कब्जा गरेँ।+
तिमीहरूका छाउनीहरूलाई मैले सडेका लासहरूको दुर्गन्धले भरिदिएँ।+
तैपनि तिमीहरू मकहाँ फर्केनौ,’ यहोवा घोषणा गर्नुहुन्छ।
११ ‘मैले तिमीहरूको देश नाश गरिदिएँ,
जसरी परमेश्वरले सदोम र गमोरालाई नाश गर्नुभएको थियो।+
अनि तिमीहरू आगोबाट झिकेको मुढाजस्तै भएका थियौ।
तैपनि तिमीहरू मकहाँ फर्केनौ,’+ यहोवा घोषणा गर्नुहुन्छ।
१२ त्यसैले ए इस्राएल, म तिमीलाई फेरि सजाय दिनेछु।
म तिमीलाई त्यसै गर्नेछु,
त्यसैले ए इस्राएल, तिम्रा परमेश्वरको सामना गर्न तयार होऊ।
१३ किनकि हेर! पहाडहरू बनाउनुहुने उहाँ नै हुनुहुन्छ+ र बतास सृजनुहुने पनि उहाँ नै हुनुहुन्छ;+
उहाँ मानिसहरूलाई आफ्ना विचारहरू बताउनुहुन्छ
उहाँ बिहानीको उज्यालोलाई अन्धकारमा परिणत गर्नुहुन्छ+
उहाँ पृथ्वीका अग्ला ठाउँहरूलाई कुल्चनुहुन्छ;+
उहाँको नाम सेनाहरूका परमेश्वर यहोवा हो।”
५ “ए इस्राएलको घराना, सुन; यो शोकगीत म तिमीहरूविरुद्ध सुनाउँदै छु:
२ ‘कुमारी इस्राएल ढलेकी छे;
ऊ फेरि उठ्न सक्दिन।
ऊ आफ्नै भूमिमा त्यागिएकी छे;
उसलाई उठाउने कोही छैन।’
३ “किनकि ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:
‘जुन सहर हजार सिपाही लिएर निस्कन्छ, त्यससित सय जना बाँकी हुनेछ
अनि जुन सहर सय जना लिएर निस्कन्छ, त्यससित दस जना बाँकी हुनेछ; इस्राएलको घरानालाई यस्तै हुनेछ।’+
४ “किनकि यहोवा इस्राएलको घरानालाई यसो भन्नुहुन्छ:
‘मलाई खोज र तिमीहरू बाँच्नेछौ।+
गिलगाल नजाओ;+ बेर्सेबा पनि नजाओ+
किनकि गिलगाल अवश्य निर्वासनमा जानेछ+
र बेथेलचाहिँ नाश हुनेछ।*
६ यहोवाको खोजी गर र तिमीहरू बाँच्नेछौ।+
नत्र युसुफको घरानामाथि उहाँ आगोजस्तै दन्किनुहुनेछ;
बेथेललाई भस्म गरिदिनुहुनेछ अनि आगो निभाउने कोही हुनेछैन।
७ तिमीहरूले न्यायलाई तीतेपातीबराबर* तुल्याएका छौ
र धार्मिकतालाई* माटोमा मिलाएका छौ।+
८ जसले किमाह तारामण्डल* र केसिल तारामण्डल* बनाउनुभयो,+
जसले घोर अन्धकारलाई बिहानीको उज्यालोमा परिणत गर्नुहुन्छ
अनि दिनलाई रातको निस्पट्ट अँध्यारोजस्तो बनाउनुहुन्छ+
अनि जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ
र पृथ्वीको सतहमा खन्याउनुहुन्छ+
—उहाँको नाम यहोवा हो।
९ उहाँले बलियाहरूविरुद्ध अचानक विनाश ल्याउनुहुनेछ।
तिनीहरूका किल्लाहरू तहसनहस पारिदिनुहुनेछ।
१० सहरको मूलढोकामा बसेर सुधार्ने व्यक्तिहरूलाई तिनीहरू हेला गर्छन्
अनि सत्य बोल्नेहरूलाई तिनीहरू घृणा गर्छन्।+
११ तिमीहरू गरिबहरूबाट खेतबारीको चर्को कुत* उठाउँछौ;
तिनीहरूको बाली तिमीहरू तिरोको रूपमा लिन्छौ।+
त्यसैले तिमीहरू आफ्नो ढुङ्गाको घरमा बास गर्न पाउनेछैनौ+
अनि आफूले लगाएको असल अङ्गुर बगानको मद्य पनि तिमीहरूले पिउन पाउनेछैनौ।+
१२ मलाई थाह छ, तिमीहरूले कतिसम्म अपराध गरेका छौ
अनि तिमीहरूले कतिसम्म घोर पाप गरेका छौ
—तिमीहरू धर्मीहरूलाई सताउँछौ,
घुस लिन्छौ
अनि सहरको मूलढोकामा गरिबहरूको अधिकार खोस्छौ।+
१३ यसकारण अन्तर्दृष्टि* भएकाहरू त्यस बेला चुप लागेर बस्नेछन्
किनकि त्यो विपत्तिको समय हुनेछ।+
१४ जे असल छ, त्यसको खोजी गर; जे खराब छ, त्यसको होइन;+
तब तिमीहरू बाँच्नेछौ।+
अनि तिमीहरूले भनेझैँ+
सेनाहरूका परमेश्वर यहोवा तिमीहरूको साथमा हुनुहुनेछ।
१५ खराब कुरालाई घृणा गर र असल कुरालाई प्रेम गर,+
सहरको मूलढोकामा न्याय कायम रहोस्।+
तब सायद सेनाहरूका परमेश्वर यहोवाले
युसुफका बाँकी रहेकाहरूलाई कृपा देखाउनुहुनेछ।’+
१६ “त्यसैले यहोवा, सेनाहरूका परमेश्वर यहोवा यसो भन्नुहुन्छ:
‘सहरका चोकहरूमा तिनीहरू डाँको छोडेर रुनेछन्
अनि सडक-सडकमा तिनीहरूले यसो भन्नेछन्, “हाय! हाय!”
शोक गर्न तिनीहरूले किसानहरूलाई बोलाउनेछन्
अनि रोइकराइ गर्नको लागि शोक गर्नेहरू भाडामा ल्याउनेछन्।’
१७ ‘प्रत्येक अङ्गुर बगानमा रुवाबासी हुनेछ+
किनकि म तिमीहरूको बीचबाट जानेछु,’ यहोवा भन्नुहुन्छ।
१८ ‘यहोवाको दिनको तिर्सना गर्नेहरूलाई धिक्कार छ!+
यहोवाको दिनमा के होला भन्ने आशा गर्छौ?+
त्यो अन्धकारको दिन हुनेछ, उज्यालोको होइन।+
१९ त्यो दिन यस्तो हुनेछ, मानौँ एक जना मानिस सिंहदेखि भाग्छ तर भालुसित उसको जम्काभेट हुन्छ
अनि आफ्नो घरभित्र पसेपछि भित्ता समातेर अडेस लगाउँदा सर्पले उसलाई डस्छ।
२० यहोवाको दिनमा उज्यालोको सट्टा अन्धकार छाउनेछैन र?
उज्यालो नभई निस्पट्ट अँध्यारो हुनेछैन र?
२१ म तिमीहरूका चाडहरूलाई घृणा गर्छु,+ तुच्छ ठान्छु
अनि तिमीहरूको पवित्र सभाको सुगन्धबाट खुसी हुन्नँ।
२२ तिमीहरूले मलाई अग्निभेटी* र भेटीहरू चढाए पनि
म ती ग्रहण गर्दिनँ;+
मोटाघाटा पशुहरूको मेलबलि* चढाए पनि म प्रसन्न हुन्नँ।+
२३ तिमीहरूको गीतको हल्लाखल्ला बन्द गर
अनि तिमीहरूका तारे बाजाहरूको झङ्कार मलाई नसुनाओ।+
२४ न्याय पानीजस्तै कलकल बगोस्+
अनि धार्मिकताचाहिँ कहिल्यै नसुक्ने खोलाजस्तै बगोस्।
२५ ए इस्राएलको घराना, तिमीहरूले निर्जनभूमिमा ४० वर्षसम्म
मेरो लागि बलि र भेटीहरू ल्यायौ र?+
२६ अब तिमीहरूले आफ्नो लागि बनाएको मूर्ति, तिमीहरूका तारा देव
—तिमीहरूका राजा सक्कुथ र कियुनलाई* बोकेर लैजानुपर्नेछ।
२७ यसकारण म तिमीहरूलाई दमिसकबाट टाढा निर्वासनमा पठाउनेछु,’+ सेनाहरूका परमेश्वर भन्नुहुन्छ, जसको नाम यहोवा हो।”+
६ “आफैमा भर परेर* सियोनमा बसिरहेकाहरूलाई धिक्कार छ!
ती मानिसहरू, जो सामरियाको पहाडमा चैनसित बसेका छन्,+
प्रमुख ठानिने देशका ठूलाबडा मानिसहरू,
जसकहाँ इस्राएलको घराना आउने गर्छ।
२ पारि काल्नेहमा जाओ अनि हेर।
त्यहाँबाट महान् हमाथमा+ जाओ
अनि पलिस्तियालीहरूको गाथतिर पनि झर।
ती ठाउँहरू यी राज्यहरूभन्दा* उत्तम छन् र?
तिनीहरूको इलाका तिमीहरूको भन्दा ठूलो छ र?
३ तिमीहरू किन विपत्तिको दिनलाई चटक्कै बिर्सेर+
हिंसाले भरिएको शासन* ल्याउन चाहन्छौ?+
४ तिनीहरू बगालबाट थुमा र बोसो लागेको बाछोको मासु खाँदै+
हस्तिदन्तले बनेको पलङमा पल्टिन्छन्+ र शानदार शय्यामा खुट्टा पसारेर बस्छन्।+
५ तिनीहरू वीणाको* धुन सुनेर गीत रच्छन्+
अनि दाउदले जस्तै नयाँ-नयाँ बाजाहरू बनाउँछन्।+
६ तिनीहरू प्यालाभरि रक्सी पिउँछन्+
अनि दामी-दामी तेल घस्छन्।
तर युसुफमाथि आएको विपत्तिको तिनीहरूलाई वास्तै छैन।+
७ त्यसैले निर्वासनमा लगिनेहरूमध्ये तिनीहरू सबैभन्दा पहिलो हुनेछन्+
अनि खुट्टा पसारेर बस्नेहरूको मोजमस्ती खतम हुनेछ।
८ ‘ब्रह्माण्डका मालिक यहोवाले आफ्नै कसम खानुभएको छ,’+ सेनाहरूका परमेश्वर यहोवा घोषणा गर्नुहुन्छ,
‘“म याकुबको घमन्डलाई तुच्छ ठान्छु,+
उसका बलिया किल्लाहरूलाई घृणा गर्छु;+
म त्यो सहर र त्यसमा भएका सबै कुरालाई शत्रुको हातमा सुम्पिदिनेछु।+
९ “‘“यदि कुनै घरमा दस जना मानिस बाँकी रहे भने पनि तिनीहरू मर्नेछन्। १० तिनीहरूको एक जना आफन्त* त्यहाँ आउनेछ र तिनीहरूको लासलाई पालैपालो बाहिर निकालेर जलाउनेछ। उसले त्यो घरबाट तिनीहरूका हड्डीहरू बाहिर निकाल्नेछ। त्यसपछि घरको भित्री कोठाहरूमा रहेकाहरूलाई उसले भन्नेछ, ‘अझै कोही बाँकी छ?’ अनि त्यसले भन्नेछ, ‘कोही छैन!’ त्यसपछि उसले भन्नेछ, ‘चुप लाग! किनकि यो यहोवाको नाम लिने समय पटक्कै होइन।’”
११ यहोवाले नै यो आज्ञा दिनुभएको हो,+
ठूलो घरलाई उहाँले ध्वस्त पारिदिनुहुनेछ
अनि सानो घरलाई तहसनहस पारिदिनुहुनेछ।+
१२ घोडाहरू चट्टानमा दौडन्छन् र?
अनि कसैले गोरु लगेर चट्टानमा जोत्छ र?
तिमीहरूले न्यायलाई विषालु बोटजस्तै बनाएका छौ
अनि धार्मिकताको फललाई तीतेपातीजस्तै* पारिदिएका छौ।+
१३ व्यर्थ कुराहरूको लागि तिमीहरू रमाहट गर्छौ
अनि तिमीहरू यसो भन्छौ, “हामी आफ्नै बल बर्कतले शक्तिशाली भएका होइनौँ र?”+
१४ त्यसैले ए इस्राएलको घराना, म एउटा राष्ट्रलाई तिमीहरूको विरुद्धमा ल्याउनेछु+
अनि तिनीहरूले लेबो-हमाथदेखि*+ अराबाहको वादीसम्म* तिमीहरूमाथि दमन गर्नेछन्,’ सेनाहरूका परमेश्वर यहोवा घोषणा गर्नुहुन्छ।”
७ मलाई ब्रह्माण्डका मालिक यहोवाले यस्तो दर्शन* दिनुभयो: पछिल्लो बाली* उम्रिन थालेपछि उहाँले सलहको बथान पठाउनुभयो। यो पछिल्लो बाली राजालाई दिनुपर्ने घाँस काटिएपछि उम्रेको थियो। २ सलहको बथानले जमिनको बालीनाली सखाप पारेपछि मैले भनेँ: “हे ब्रह्माण्डका मालिक यहोवा, बिन्ती छ, क्षमा दिनुहोस्!+ याकुब कसरी जीवित रहन सक्ला? किनकि ऊ कमजोर भएको छ।”+
३ त्यसैले यहोवाले यस कुरामा पुनर्विचार गर्नुभयो*+ र यहोवाले भन्नुभयो: “त्यसो हुनेछैन।”
४ त्यसपछि ब्रह्माण्डका मालिक यहोवाले मलाई फेरि यस्तो दर्शन दिनुभयो: ब्रह्माण्डका मालिक यहोवाले सजाय दिन आगो बर्साउनुभयो। आगोले सागरलाई सुकाइदियो अनि जमिनको एक भागमा डढेलो लगाइदियो। ५ तब मैले भनेँ: “हे ब्रह्माण्डका मालिक यहोवा, बिन्ती छ, यसो नगर्नुहोस्।+ याकुब कसरी जीवित रहन सक्ला? किनकि ऊ कमजोर भएको छ।”+
६ त्यसैले यहोवाले यस कुरामा पुनर्विचार गर्नुभयो*+ र ब्रह्माण्डका मालिक यहोवाले भन्नुभयो: “त्यसो पनि हुनेछैन।”
७ उहाँले मलाई फेरि यस्तो दर्शन दिनुभयो: यहोवा परमेश्वर साहुलले* नापेर बनाइएको पर्खालमा उभिरहनुभएको थियो अनि उहाँको हातमा साहुल थियो। ८ तब यहोवा परमेश्वरले मलाई सोध्नुभयो: “आमोस, तिमीले के देख्यौ?” अनि मैले भनेँ: “एउटा साहुल।” त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: “म आफ्नो जाति इस्राएललाई साहुलले नाप्नेछु। अब म तिनीहरूलाई फेरि कहिल्यै माफी दिनेछैनँ।+ ९ इसहाकका अग्ला थानहरू*+ उजाड पारिनेछन् अनि इस्राएलका पवित्र स्थानहरू* तहसनहस पारिनेछन्;+ म यरोबामको घरानाविरुद्ध तरबार लिएर आउनेछु।”+
१० बेथेलका पुजारी अमस्याहले+ इस्राएलका राजा यरोबामलाई+ यस्तो सन्देश पठाए: “आमोसले इस्राएलकै घरानाको बीचमा बसेर हजुरविरुद्ध षड्यन्त्र रच्दै छ।+ देशका मानिसहरूलाई उसको कुरा खपिनसक्नु भएको छ।+ ११ किनकि आमोसले यसो भन्दै छ, ‘यरोबाम तरबारले काटिनेछ अनि इस्राएलचाहिँ अवश्य आफ्नो भूमिबाट निर्वासनमा जानेछ।’”+
१२ तब अमस्याहले आमोसलाई यसो भने: “ए दर्शी, जाऊ, यस देशबाट भागेर यहुदा जाऊ। त्यहीँ गएर रोटीको लागि काम गर* अनि त्यहीँ भविष्यवाणी गर।+ १३ अब उपरान्त तिमी बेथेलमा भविष्यवाणी नगर+ किनकि यो राजाको पवित्र स्थान* हो,+ राज्यको मन्दिर हो।”
१४ तब आमोसले अमस्याहलाई जवाफ दिए: “म भविष्यवक्ता थिइनँ न त भविष्यवक्ताको छोरा नै हुँ; म त गोठालो थिएँ+ अनि अन्जिरको रूखको हेरचाह गर्थेँ।* १५ तर यहोवा परमेश्वरले मलाई बगालको हेरचाह गर्ने काम छोड्न लगाउनुभयो अनि यहोवाले मलाई यसो भन्नुभयो, ‘जाऊ, मेरो जाति इस्राएलकहाँ गएर भविष्यवाणी गर।’+ १६ त्यसैले अब यहोवा परमेश्वरको यो वचन सुन्नुहोस्: ‘तिमी भन्छौ, “इस्राएलको विरुद्धमा भविष्यवाणी नगर+ अनि इसहाकको घरानाको विरुद्धमा प्रचार नगर।”+ १७ त्यसकारण यहोवा परमेश्वर यसो भन्नुहुन्छ: “तिम्री पत्नी सहरमा वेश्या बन्नेछे अनि तिम्रा छोराछोरीहरू तरबारले काटिनेछन्। तिम्रो जग्गाजमिन डोरीले नापी-नापी बाँडिनेछ। तिमीचाहिँ अशुद्ध भूमिमा मर्नेछौ अनि इस्राएल अवश्य आफ्नो भूमिबाट निर्वासनमा जानेछ।”’”+
८ ब्रह्माण्डका मालिक यहोवाले मलाई यस्तो दर्शन* दिनुभयो: हेर! ग्रीष्म ऋतुको फलले भरिएको एउटा डालो थियो। २ तब उहाँले सोध्नुभयो: “आमोस, तिमीले के देख्यौ?” अनि मैले भनेँ, “ग्रीष्म ऋतुको फलले भरिएको एउटा डालो देखेँ।” तब यहोवा परमेश्वरले मलाई भन्नुभयो: “मेरो जाति इस्राएलको अन्त हुने समय आएको छ। म तिनीहरूलाई फेरि कहिल्यै माफी दिनेछैनँ।+ ३ ‘त्यो दिन मन्दिरमा भजनको सट्टा रुवाबासीको आवाज सुनिनेछ,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। ‘जताततै लासको थुप्रो हुनेछ,+ सन्नाटा छाउनेछ।’
४ सुन, तिमीहरू जो गरिबहरूलाई कुल्चीमिल्ची गर्छौ
अनि देशका असहायहरूलाई निमिट्यान्न पार्छौ,+
५ तिमीहरू यसो भन्छौ, ‘औँसीको चाड कहिले सकिएला+ र हामीले अन्न बेच्न पाऔँला!
विश्रामदिन*+ कहिले सकिएला र हाम्रो अन्न बिक्री होला!
अनि हामी एपाको* नापलाई घटाउनेछौँ
र शेकेलको* वजनलाई बढाउनेछौँ।
हामी छलको तराजु चलाएर ठगी गर्नेछौँ।+
६ तब हामी खाँचोमा परेकाहरूलाई चाँदी तिरेर किन्न सक्नेछौँ
र गरिबहरूलाई एक जोर जुत्ताको दाममा किन्न सक्नेछौँ+
अनि अन्न निफन्दा निस्केको कसिङ्गर बेच्न सक्नेछौँ।
७ यहोवाले याकुबको गौरवको शपथ खाएर भन्नुभएको छ,+
‘तिनीहरूको कुकर्म म कहिल्यै बिर्सनेछैनँ।+
८ त्यसकारण भूमि* काँप्नेछ
अनि त्यसका सबै बासिन्दाले शोक गर्नेछन्।+
नाइल नदी उर्लेझैँ त्यो उर्लनेछैन र?
अनि त्यो मिश्रको नाइल नदीझैँ उर्लँदै-घट्दै गर्नेछैन र?’+
९ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ,
‘त्यो दिन म सूर्यलाई मध्यदिनमै अस्ताउन लगाउनेछु
अनि म उज्यालो दिनमा भूमिलाई अन्धकारमय पारिदिनेछु।+
१० म तिमीहरूको चाडलाई शोकमा बदलिदिनेछु+
अनि तिमीहरूको भजनलाई शोकगीतमा परिणत गरिदिनेछु।
सबैको कम्मरमा म भाङ्ग्रा लगाइदिनेछु अनि सबैको कपाल खौरिदिनेछु।
आफ्नो एक्लो छोराको मृत्यु हुँदा शोक गरेझैँ तिनीहरूले त्यो दिन शोक गर्नेछन्।
त्यस दिनको अन्त साह्रै नमीठो हुनेछ।’
११ ‘हेर, यस्तो दिन आउँदै छ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ,
‘जब म देशमा अनिकाल पठाउनेछु,
खानेकुरा र पानीको होइन
तर यहोवाको वचनको अनिकाल!+
१२ तिनीहरू एउटा समुद्रदेखि अर्को समुद्रसम्म
अनि उत्तरदेखि पूर्वसम्म लरखराउँदै जानेछन्।
यहोवाको वचनको खोजीमा तिनीहरू यताउता भौँतारिनेछन् तर फेला पार्नेछैनन्।
१३ त्यो दिन राम्री कन्याहरू र युवकहरू
तिर्खाले प्याकप्याक भएर बेहोस हुनेछन्।
१४ जसले सामरियाको पापको शपथ खाएर+ यसो भन्छन्,
“हे दान!+ तिम्रो देवताको कसम!”
“बेर्सेबाको+ बाटोको कसम!”
तिनीहरू ढल्नेछन् र फेरि कहिल्यै उठ्नेछैनन्।’”+
९ मैले यहोवालाई वेदीमाथि उभिरहनुभएको देखेँ+ र उहाँले भन्नुभयो: “सँघार नै हल्लिने गरी थामको शिरमा हिर्काऊ। शिर नै ढालिदेऊ अनि म बाँकी रहेका मानिसहरूलाई तरबारले काट्नेछु। कोही पनि भाग्न पाउनेछैन, कोही पनि उम्केर जान सक्नेछैन।+
२ चिहान* खनेर तिनीहरू त्यहाँ लुके तापनि
म तिनीहरूलाई आफ्नो हातले निकाल्नेछु
अनि तिनीहरू माथि आकाशसम्म उक्लिए तापनि
म तिनीहरूलाई त्यहाँबाट तल झार्नेछु।
३ कर्मेल डाँडाको टुप्पोमा तिनीहरू लुके तापनि
म तिनीहरूलाई त्यहाँ खोज्नेछु र पक्रनेछु।+
मेरो दृष्टिबाट लुक्न समुद्रको पिँधमा गए तापनि
त्यहाँ तिनीहरूलाई डस्न सर्पलाई हुकुम गर्नेछु।
४ तिनीहरूका शत्रुहरूले तिनीहरूलाई कैदी बनाएर लगे तापनि
म त्यहाँ तरबारलाई आदेश दिनेछु र त्यसले तिनीहरूलाई काट्नेछ;+
तिनीहरूलाई आशिष् दिन होइन तर तिनीहरूमाथि विपत्ति ल्याउन म तिनीहरूमाथि नजर राख्नेछु।+
५ किनकि ब्रह्माण्डका मालिक, सेनाहरूका परमेश्वर यहोवाले नै भूमिलाई* छुनुहुनेछ,
त्यसैले त्यो पग्लनेछ+ र सबै बासिन्दाले शोक गर्नेछन्+
अनि त्यो नाइल नदी उर्लेझैँ उर्लनेछ
र मिश्रको नाइल नदीझैँ घट्नेछ।+
६ ‘जसले स्वर्गसम्म जान भऱ्याङ बनाउनुहुन्छ
अनि पृथ्वीमा आफ्नो संरचना* बसाल्नुहुन्छ
र समुद्रका पानीलाई बोलाएर
पृथ्वीको सतहमा खन्याउनुहुन्छ,+
उहाँको नाम यहोवा हो।’+
७ ‘ए इस्राएलीहरू हो, के तिमीहरू मेरो लागि कुसीहरूजस्तो* छैनौ र?’ यहोवा घोषणा गर्नुहुन्छ।
‘के मैले इस्राएललाई मिश्रबाट,+
पलिस्तियालीहरूलाई क्रेटबाट+ र सिरियालाई किरबाट छुटाएर ल्याएको होइनँ र?’+
८ ‘हेर! ब्रह्माण्डका मालिक यहोवाको नजर पापी राष्ट्रमाथि छ
अनि उहाँले पृथ्वीबाट त्यसको नामोनिसान मेटिदिनुहुनेछ+
तर म याकुबको घरानालाई भने पूरै नाश गर्नेछैनँ,’+ यहोवा घोषणा गर्नुहुन्छ।
९ ‘किनकि हेर! म आदेश दिँदै छु।
जसरी चाल्नीमा अन्न चाल्दा ससाना ढुङ्गाचाहिँ खस्दैन
तर अन्न भने चारैतिर छरिन्छ,
त्यसैगरि म इस्राएलको घरानालाई हल्लाउनेछु+ र चारैतिर सबै राष्ट्रमा तितरबितर पारिदिनेछु
१० तर मेरा मानिसहरूबीच भएका पापीहरू भने तरबारले काटिनेछन्
किनकि तिनीहरू यसो भनिरहेका छन्, “विपत्ति हामीमाथि आइपर्नेछैन, त्यसले हामीलाई भेट्दैन।”’
११ ‘त्यस दिन म दाउदको भत्किएको छाप्रो पुनर्निर्माण गर्नेछु।+
त्यसका* चिराहरूलाई मर्मत गर्नेछु,
भग्नावशेषलाई फेरि बनाउनेछु;
अघिअघिका दिनहरूमा जस्तै त्यसलाई फेरि बनाउनेछु।+
१२ अनि तिनीहरूले एदोमको बाँकी रहेको भूमिमा अधिकार जमाउनेछन्;+
मेरो नाम पुकार्ने अरू सबै राष्ट्रमा पनि अधिकार जमाउनेछन्,’ यहोवा घोषणा गर्नुहुन्छ। उहाँले नै यी सब गर्नुहुनेछ।
१३ यहोवा घोषणा गर्नुहुन्छ, ‘हेर, त्यो दिन आउँदै छ,
जब कटनी गर्नेलाई हलो जोत्नेले उछिन्नेछ;
अङ्गुर कुल्चनेलाई बिउ छर्नेले उछिन्नेछ+
अनि पहाडहरूबाट नयाँ मद्य तपतप चुहिनेछ+
अनि सबै डाँडामा त्यो बग्नेछ।*+
१४ कैदमा लगिएको मेरो प्रजा इस्राएललाई म जम्मा गर्नेछु+
अनि तिनीहरूले उजाड पारिएका सहरहरू पुनर्निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्;+
तिनीहरूले अङ्गुर बगान लगाउनेछन् र मद्य पिउनेछन्+
अनि फलफूलका बगानहरू लगाउनेछन् र त्यसका फलहरू खानेछन्।’+
१५ ‘तिनीहरूलाई म तिनीहरूको भूमिमा रोप्नेछु
अनि तिनीहरूलाई मैले दिएको भूमिबाट
तिनीहरू फेरि कहिल्यै उखेलिनेछैनन्,’+ यहोवा तिमीहरूका परमेश्वर भन्नुहुन्छ।”
यसको अर्थ हो, “भार बन्नु” वा “भार बोक्नु।”
शब्दावली हेर्नुहोस्।
वा “अपराध।”
शा., “राजदण्ड समाउनेलाई।”
शा., “राजदण्ड समाउनेलाई।”
वा “अपराध।”
शा., “न्यायकर्तालाई।”
वा “निर्देशनलाई।”
वा “इजिप्टबाट।”
वा “भेट्ने योजना नबनाई।”
वा सम्भवतः “कुनै चारो राखिएको छैन भने।”
वा “दमिसकको शय्यामा।”
वा “याकुबको घरानाविरुद्ध साक्षी देऊ।”
वा “अपराधको।”
वा सम्भवतः “थुप्रै।”
वा “मालिकहरूलाई।”
वा “विद्रोह।”
वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शा., “तिमीहरूको दाँत सफा पारिदिएँ।”
वा सम्भवतः “टुनामुनाको ठाउँ हुनेछ।”
वा “तीतोपनाबराबर।”
शब्दावली हेर्नुहोस्।
यसले वृष तारामण्डलको प्लिएड्स ताराहरूलाई जनाएको हुन सक्छ।
यसले सिकारी अर्थात मृगशिरा तारामण्डललाई जनाएको हुन सक्छ।
वा “जग्गा कर।”
वा “आन्तरिक चेतना।”
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
यी दुवै देवताले शनि ग्रहलाई जनाएको हुन सक्छ, जसको पूजा गरिन्थ्यो।
वा “ढुक्क भएर।”
यसले यहुदा र इस्राएलको राज्यलाई जनाएको हुनुपर्छ।
शा., “हिंसाको जड।”
वा “तारे बाजाको।”
शा., “बुबाको आफन्त।”
वा “तीतोपनाजस्तै।”
वा “हमाथ छिर्ने ठाउँदेखि।”
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
जनवरी र फेब्रुअरी महिनातिरको बाली।
वा “पछुताउनुभयो।”
वा “पछुताउनुभयो।”
डकर्मीले गारो उठाउँदा सुर सोझो भए-नभएको जाँच्ने साधन।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शा., “रोटी खाऊ।”
शब्दावली हेर्नुहोस्।
वा “अन्जिरको फलमा चिरा पार्ने काम गर्थेँ।”
शब्दावली हेर्नुहोस्।
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा “पृथ्वी।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्।
वा “पृथ्वीलाई।”
वा “गुम्बज।”
वा “इथियोपियालीहरूजस्तो।”
वा “तिनीहरूका।”
शा., “त्यो पग्लनेछ।”