प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt जकरिया १:१-१४:२१
  • जकरिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जकरिया
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
जकरिया

जकरिया

१ राजा दाराको शासनकालको दोस्रो वर्षको+ आठौँ महिनामा इद्दोका नाति, बरक्याहका छोरा भविष्यवक्‍ता जकरियाकहाँ*+ यहोवा परमेश्‍वरको यो वचन आयो: २ “यहोवा तिमीहरूका पुर्खासित असाध्यै रिसाउनुभएको थियो।+

३ “मानिसहरूलाई भन, ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “‘मकहाँ फर्क,’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, ‘अनि म तिमीहरूकहाँ फर्कनेछु,’+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ।”’

४ “‘तिमीहरू आफ्ना पुर्खाजस्ता नहोओ, जसलाई पहिलेका भविष्यवक्‍ताहरूले यसो भनेका थिए: “सेनाहरूका यहोवा यस्तो आग्रह गर्नुहुन्छ, ‘तिमीहरू आफ्नो खराब मार्ग त्याग* र दुष्ट काम गर्न छोड।’”’+

“‘तर तिनीहरूले सुनेनन्‌, तिनीहरूले मेरो कुरामा ध्यानै दिएनन्‌,’+ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ।

५ “‘आज तिमीहरूका पुर्खा खोइ कहाँ छन्‌? अनि के भविष्यवक्‍ताहरू सधैँभरि बाँचे? ६ तर हेर, मेरा सेवकहरू—मेरा भविष्यवक्‍ताहरूलाई मैले जुन वचन र चेतावनीहरू सुनाउन आज्ञा दिएको थिएँ, के ती सबै तिमीहरूका पुर्खामाथि पूरा भएनन्‌ र?’+ त्यसैले तिनीहरू मकहाँ फर्के र यसो भने: ‘सेनाहरूका यहोवाले हाम्रो कामअनुसारै, हामीले रोजेको मार्गअनुसारै हामीसित व्यवहार गर्नुभयो, जसबारे उहाँले पहिल्यै चेतावनी दिनुभएको थियो।’”+

७ राजा दाराको शासनकालको दोस्रो वर्षको ११ औँ महिना+—शेबात* महिनाको २४ औँ दिनमा इद्दोका नाति, बरक्याहका छोरा भविष्यवक्‍ता जकरियाकहाँ यहोवा परमेश्‍वरको यो वचन आयो: ८ “मैले राती एउटा दर्शन* देखेँ। एक जना मानिस रातो घोडामा सवार थियो। ऊ पहाडको खोँचमा भएका मेहदीका बोटहरूमाझ आएर अडियो। अनि उसको पछाडि रातो, खैरो र सेतो रङ्‌गका घोडाहरू थिए।”

९ अनि मैले सोधेँ: “हे मेरा प्रभु, यिनीहरू को हुन्‌?”

मसित कुरा गरिरहेका स्वर्गदूतले यस्तो जवाफ दिए: “यिनीहरू को हुन्‌ भनेर म तिमीलाई देखाउँछु।”

१० तब मेहदीका बोटहरूमाझ अडिएको घोडसवारले भन्यो: “यिनीहरू ती नै हुन्‌, जसलाई यहोवा परमेश्‍वरले पृथ्वीको फन्को मार्न पठाउनुभएको थियो।” ११ अनि तिनीहरूले मेहदीका बोटहरूमाझ अडिएका यहोवा परमेश्‍वरका स्वर्गदूतलाई भने: “हामीले पृथ्वीको फन्को माऱ्‍यौँ। पृथ्वीमा कतै पनि हल्लाखल्ला छैन, पूरै पृथ्वी शान्त छ।”+

१२ तब यहोवा परमेश्‍वरका स्वर्गदूतले भने: “हे सेनाहरूका यहोवा, तपाईँ कतिन्जेल यरुसलेमलाई र यहुदाका सहरहरूलाई कृपा देखाउनुहुन्‍न,+ जससित तपाईँ क्रोधित हुनुभएको ७० वर्ष भइसक्यो?”+

१३ मसित कुरा गरिरहेका स्वर्गदूतलाई यहोवा परमेश्‍वरले दयालु अनि सान्त्वनादायी वचन बोल्दै जवाफ दिनुभयो। १४ त्यसपछि मसित कुरा गरिरहेका स्वर्गदूतले मलाई भने: “यसो भन्दै कराऊ, ‘सेनाहरूका यहोवा भन्‍नुहुन्छ: “म यरुसलेम र सियोनको लागि जोसले भरिएको छु।+ १५ म मेरा मानिसहरूसित धेरै रिसाएको थिइनँ+ तर राष्ट्रहरूले विपत्तिमाथि विपत्ति ल्याएर तिनीहरूलाई दुःख दिए।+ त्यसैले ढुक्कसित बसेका ती राष्ट्रहरूसित म अत्यन्तै क्रोधित भएको छु।”’+

१६ “त्यसैले यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘“म यरुसलेममा फर्केर त्यसलाई कृपा देखाउनेछु+ अनि त्यहाँ मेरो भवन फेरि बन्‍नेछ,”+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, “अनि नाप्ने डोरीले यरुसलेमलाई नापिनेछ।”’+

१७ “फेरि एक पटक यसो भन्दै कराऊ, ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “मेरा सहरहरू फेरि असल कुराहरूले भरिनेछन्‌ अनि यहोवाले सियोनलाई फेरि सान्त्वना दिनुहुनेछ+ र यरुसलेमलाई फेरि रोज्नुहुनेछ।”’”+

१८ तब मैले मास्तिर हेरेँ र चार वटा सिङ देखेँ।+ १९ अनि मसित कुरा गरिरहेका स्वर्गदूतलाई मैले यसो भनेर सोधेँ: “यी के हुन्‌?” तिनले जवाफ दिए: “यी ती नै सिङहरू हुन्‌, जसले यहुदा,+ इस्राएल+ र यरुसलेमलाई+ तितरबितर पारेका थिए।”

२० तब यहोवा परमेश्‍वरले मलाई चार जना कारिगर देखाउनुभयो। २१ अनि मैले सोधेँ: “यिनीहरू के गर्न आउँदै छन्‌?”

उहाँले भन्‍नुभयो: “ती सिङहरूले यहुदालाई यसरी तितरबितर पारे कि कसैले पनि आफ्नो शिर ठाडो गर्न सकेन। यी कारिगरहरू तिनीहरूलाई भयभीत पार्न अनि ती राष्ट्रहरूको सिङ भाँच्न आउनेछन्‌, जसले यहुदालाई तितरबितर पार्न आफ्नो सिङ उचाले।”

२ अनि मैले मास्तिर हेरेँ र हातमा नाप्ने डोरी+ लिएको एक जना मानिसलाई देखेँ। २ तब मैले सोधेँ: “तपाईँ कहाँ जाँदै हुनुहुन्छ?”

तिनले जवाफ दिए: “यरुसलेमलाई नाप्न, त्यसको चौडाइ र लम्बाइ कति छ भनेर हेर्न।”+

३ अनि हेर, मसित कुरा गरिरहेका स्वर्गदूत त्यहाँबाट गए र अर्को स्वर्गदूत तिनलाई भेट्‌न आए। ४ अनि उनले तिनलाई भने: “दौडेर जाऊ र त्यस युवकलाई यसो भन, ‘“यरुसलेम पर्खालविनाको गाउँजस्तै आबाद हुनेछ+ किनकि त्यहाँ मानिस र वस्तुभाउको सङ्‌ख्या बढ्‌नेछ।+ ५ अनि म त्यसको चारैतिर आगोको पर्खाल बन्‍नेछु+ र त्यसको महिमा बनेर त्यसको बीचमा रहनेछु,”’”+ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ।

६ “आओ! आओ! उत्तरको भूमिबाट भाग,”+ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ।

“किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासतिर तितरबितर पारिदिएको छु,”+ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ।

७ “हे सियोन, आऊ! तिमी, जो बेबिलोनकी छोरीसित बसोबास गर्दै छौ, निस्केर आऊ।+ ८ महिमाले भरिएपछि सेनाहरूका यहोवाले तिमीलाई लुट्‌ने राष्ट्रकहाँ मलाई पठाउनुभयो।+ उहाँ यसो भन्‍नुहुन्छ: ‘जसले तिमीलाई छुन्छ, उसले मेरो आँखाको नानीलाई* छुन्छ।+ ९ अब म तिनीहरूको विरुद्धमा हात उठाउनेछु अनि तिनीहरूलाई तिनीहरूको आफ्नै दासले लुट्‌नेछन्‌।’+ अनि सेनाहरूका यहोवाले नै मलाई पठाउनुभएको हो भनेर तिमीले जान्‍नेछौ।

१० यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ: “हे सियोनकी छोरी,* जयजयकार गर+ किनकि म आउँदै छु+ र म तिमीसित बास गर्नेछु।+ ११ त्यस दिन थुप्रै जातिले यहोवाको पक्ष लिनेछन्‌+ र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌ अनि म तिमीसित बास गर्नेछु।” अनि सेनाहरूका यहोवाले नै मलाई तिमीकहाँ पठाउनुभएको हो भनी तिमीले जान्‍नेछ्यौ। १२ पवित्र भूमिमा यहोवा परमेश्‍वरले यहुदालाई आफ्नो भाग बनाउनुहुनेछ अनि उहाँले यरुसलेमलाई फेरि रोज्नुहुनेछ।+ १३ हे सबै मानिस हो, यहोवा परमेश्‍वरसामु चुपचाप बस किनकि उहाँले आफ्नो पवित्र निवासस्थानबाट कदम चाल्नुहुनेछ।

३ त्यसपछि तिनले मलाई यहोवा परमेश्‍वरका स्वर्गदूतको अगाडि उभिरहेका प्रधानपुजारी यहोसु देखाए।+ उनलाई रोक्न सैतान+ उनको दायाँपट्टि उभिरहेको थियो। २ तब यहोवा परमेश्‍वरका स्वर्गदूतले सैतानलाई भने: “ए सैतान,+ यहोवाले तँलाई हप्काऊन्‌। हो, यरुसलेमलाई रोज्नुहुने+ यहोवाले तँलाई हप्काऊन्‌। के यी मानिस बलिरहेको मुढा होइनन्‌ र, जुन आगोबाट निकालिएको हो?”

३ यहोसुले फोहोर लुगा लगाएका थिए र उनी स्वर्गदूतको अगाडि उभिरहेका थिए। ४ स्वर्गदूतले आफ्नो अगाडि उभिरहेकाहरूलाई यसो भने, “यिनको फोहोर लुगा फुकालिदेऊ।” अनि ती स्वर्गदूतले उनलाई भने, “हेर, मैले तिम्रो पापलाई तिमीबाट हटाइदिएको छु। अब तिमीलाई राम्रो वस्त्र* पहिराइनेछ।”+

५ अनि मैले भनेँ: “यिनको शिरमा सफा फेटा बाँधिदेओ।”+ तब तिनीहरूले उनको शिरमा सफा फेटा बाँधिदिए अनि उनलाई अर्को लुगा लगाइदिए। त्यतिबेला यहोवाका स्वर्गदूत नजिकै उभिरहेका थिए। ६ अनि यहोवाका स्वर्गदूतले यहोसुलाई यसो भने: ७ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘यदि तिमी मेरो मार्गमा हिँड्‌यौ र मसामु आफ्ना सबै जिम्मेवारी पूरा गऱ्‍यौ भने तिमीले मेरो भवनमा न्यायकर्ताको काम गर्न पाउनेछौ+ र मेरा चोकहरूको हेरविचार गर्न* पाउनेछौ। अनि जो-जो यहाँ उभिरहेका छन्‌, तिनीहरूसँगै तिमीले पनि मेरो अगाडि आउजाउ गर्न पाउनेछौ।’

८ “‘हे प्रधानपुजारी यहोसु र उनको अगाडि बसिरहेका उनका साथीहरू हो, कृपया मेरो कुरा सुन किनकि तिमीहरू भविष्यमा हुने कुराको चिन्ह हौ। हेर! म मेरो सेवकलाई ल्याउँदै छु,+ जसको नाम टुसा+ हो। ९ मैले यहोसुको अगाडि राखेको ढुङ्‌गालाई हेर! त्यसमा सात वटा आँखा छन्‌: अनि म त्यसमा खोपेर केही लेख्नेछु,’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, ‘अनि म त्यस भूमिको दोष एकै दिनमा मेटाइदिनेछु।’+

१० “‘त्यस दिन तिमीहरू प्रत्येकले आ-आफ्नो छिमेकीलाई आफ्नो अङ्‌गुरको बोट र अन्जिरको रूखमुनि आउन निम्तो दिनेछौ,’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।”+

४ मसित कुरा गरिरहेका स्वर्गदूत फेरि आए अनि कसैलाई निद्राबाट ब्युँझाएझैँ गरी तिनले मलाई ब्युँझाए। २ त्यसपछि तिनले मलाई सोधे: “तिमीले के देख्यौ?”

तब मैले जवाफ दिएँ: “मैले सुनको एउटा पानस देखेँ।+ पानसमाथि एउटा कचौरा पनि छ। अनि पानसको हरेक टुप्पोमा एकएक वटा दियो छ। पानसमा भएका यी सात वटा दियोमा+ सात वटा नली छन्‌। ३ अनि पानसको छेउमा जैतुनका दुइटा रूख+ छन्‌; एउटा कचौराको दायाँपट्टि र अर्को बायाँपट्टि।”

४ त्यसपछि मसित कुरा गरिरहेका स्वर्गदूतलाई मैले सोधेँ: “हे मेरा प्रभु, यी सबै कुराको अर्थ के हो?” ५ मसित कुरा गरिरहेका स्वर्गदूतले मलाई सोधे: “के तिमीलाई यी सबै कुराको अर्थ थाह छैन?”

अनि मैले जवाफ दिएँ: “अहँ, थाह छैन, मेरा प्रभु।”

६ तब तिनले मलाई भने: “यरुबाबेलको लागि यहोवा परमेश्‍वरको यस्तो सन्देश छ: ‘“न कुनै सैन्य शक्‍तिले न त मानिसको बलले+ तर मेरो शक्‍तिले,”+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ। ७ ए विशाल पर्वत, तँ को होस्‌? यरुबाबेलको+ अगाडि तँ समतल जमिन* हुनेछस्‌।+ अनि तिनले टाकुराको ढुङ्‌गा ल्याउँदा यस्तो आवाज गुञ्जनेछ: “आहा! कस्तो राम्रो! कस्तो राम्रो!”’”

८ त्यसपछि फेरि यहोवा परमेश्‍वरको यस्तो वचन मकहाँ आयो: ९ “यरुबाबेलको हातले यस भवनको जग हालेको हो+ अनि तिनकै हातले यो भवन बनाउने काम पूरा पनि गर्नेछ।+ अनि सेनाहरूका यहोवाले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्‍नेछौ। १० सानो सुरुवातको* दिनलाई कसैले तुच्छ नठानोस्‌।+ किनकि यरुबाबेलको हातमा साहुल* देखेर मानिसहरू रमाउनेछन्‌। यी सात यहोवा परमेश्‍वरका आँखा हुन्‌, जसले पृथ्वीमा चारैतिर दृष्टि लगाइरहन्छन्‌।”+

११ तब मैले तिनलाई सोधेँ: “पानसको दायाँपट्टि र बायाँपट्टि भएका दुइटा जैतुनको रूखको अर्थ के हो?”+ १२ मैले तिनलाई दोस्रो पटक सोधेँ: “जैतुनका यी दुई हाँगाको* अर्थचाहिँ के हो, जसले सुनको दुइटा नलीबाट सुनौलो तेल खन्याइरहेको छ?”

१३ त्यसैले तिनले मलाई सोधे: “के तिमीलाई यी सबै कुराको अर्थ थाह छैन?”

अनि मैले जवाफ दिएँ: “अहँ, थाह छैन, मेरा प्रभु।”

१४ तिनले भने: “यी दुई अभिषिक्‍त जन हुन्‌, जो सारा पृथ्वीका मालिकको छेउमा उभिरहेका छन्‌।”+

५ मैले फेरि माथि हेरेँ र उडिरहेको एउटा मुठा देखेँ। २ तिनले मलाई सोधे: “तिमीले के देख्यौ?”

तब मैले जवाफ दिएँ: “उडिरहेको एउटा मुठा देखेँ, जसको लम्बाइ २० हात* र चौडाइ १० हात छ।”

३ त्यसपछि तिनले मलाई भने: “यो सराप हो, जुन सारा पृथ्वीमाथि लाग्नेछ। किनकि जसले चोरी गरेको छ,+ त्यसले मुठाको एकापट्टि लेखिएअनुसार सजाय पाउनुपर्ने हो तर पाएको छैन। अनि जसले झूटो कसम खाएको छ,+ त्यसले मुठाको अर्कोपट्टि लेखिएअनुसार सजाय पाउनुपर्ने हो तर पाएको छैन। ४ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, ‘मैले त्यो सराप पठाएको हुँ अनि त्यो चोरको घरमा र मेरो नाममा झूटो कसम खानेको घरमा पस्नेछ। त्यो त्यही घरभित्र रहनेछ अनि घरलाई, त्यसको काठलाई र त्यसको ढुङ्‌गालाई सखाप पार्नेछ।’”

५ तब मसित कुरा गरिरहेका स्वर्गदूत अगाडि आए र मलाई यस्तो आग्रह गरे: “माथि हेर अनि बाहिर के निस्किरहेको छ, हेर।”

६ अनि मैले सोधेँ: “त्यो के हो?”

तिनले जवाफ दिए: “बाहिर निस्किरहेको त्यो चिज एपाको भाँडो* हो।” तिनले अझै भने: “त्यो सारा पृथ्वीमा भएका मानिसहरूको रूप हो।” ७ अनि मैले त्यस भाँडोको गोलो आकारको सिसाको ढक्कन उठाइएको देखेँ र त्यसभित्र एउटी स्त्री बसिरहेकी थिई। ८ अनि तिनले भने: “त्यस स्त्रीको नाम दुष्टता हो।” अनि तिनले त्यसलाई फेरि एपाको भाँडोभित्र जाकिदिए र सिसाको ढक्कनले त्यस भाँडोको मुख बन्द गरिदिए।

९ तब मैले माथि हेरेँ अनि दुई जना स्त्री आइरहेका देखेँ। तिनीहरू वेगसित मास्तिर उड्‌दै थिए। तिनीहरूका पखेटाहरू गरुडका पखेटाजस्तै थिए। अनि तिनीहरूले त्यो भाँडो उठाएर पृथ्वी र आकाशको बीचमा लगे। १० तब मसित कुरा गरिरहेका स्वर्गदूतलाई मैले सोधेँ: “तिनीहरूले त्यो एपाको भाँडो कहाँ लैजाँदै छन्‌?”

११ तिनले जवाफ दिए: “सिनार देशमा*+ लैजाँदै छन्‌, जहाँ तिनीहरूले त्यस स्त्रीको लागि एउटा घर बनाउनेछन्‌ अनि घर बनिसकेपछि तिनीहरूले त्यहाँ त्यसको उचित ठाउँमा त्यसलाई राख्नेछन्‌।”

६ मैले फेरि माथि हेरेँ र के देखेँ भने, दुई वटा पहाडको बीचबाट चार वटा रथहरू आइरहेका थिए र ती पहाडहरू तामाका थिए। २ पहिलो रथमा राता घोडाहरू थिए अनि दोस्रो रथमा काला घोडाहरू थिए।+ ३ तेस्रो रथमा सेता घोडाहरू थिए अनि चौथो रथमा चाहिँ छिर्केमिर्के र थोप्ले घोडाहरू थिए।+

४ मसित कुरा गरिरहेका स्वर्गदूतलाई मैले सोधेँ: “हे मेरा प्रभु, यी के हुन्‌?”

५ स्वर्गदूतले मलाई जवाफ दिए: “यी स्वर्गका चार शक्‍तिहरू हुन्‌;+ यिनीहरू सारा पृथ्वीका मालिकसामु उपस्थित भएर निस्केका हुन्‌।+ ६ काला घोडाहरू भएको रथ उत्तरको देशतिर जाँदै छ,+ सेता घोडाहरू समुद्रपारि जाँदै छन्‌ अनि छिर्केमिर्के घोडाहरू दक्षिणको देशतिर जाँदै छन्‌। ७ अनि थोप्ले घोडाहरू पृथ्वीको फन्को मार्नलाई आतुर छन्‌।” तब तिनले यसो भने: “जाओ, पृथ्वीको फन्को मार।” अनि तिनीहरू पृथ्वीको फन्को मार्न निस्किए।

८ तब तिनले मलाई बोलाए र यसो भने: “हेर, उत्तरको देशतिर गएका घोडाहरूले गर्दा त्यस ठाउँमाथिको यहोवा परमेश्‍वरको क्रोध शान्त भएको छ।”

९ फेरि यहोवा परमेश्‍वरको यो वचन मकहाँ आयो: १० “हेल्दै, तोबियाह र यदायाहले निर्वासनबाट ल्याएका कुराहरू तिनीहरूबाट लेऊ, जुन तिनीहरूले निर्वासनमा गएका मानिसहरूबाट ल्याएका थिए। अनि बेबिलोनबाट आएका यी मानिसहरूसित तिमी त्यही दिन सपन्याहका छोरा योसियाहको घरमा जाऊ। ११ तिमीले सुन र चाँदी लिनू अनि त्यसबाट एउटा मुकुट* बनाउनू र यहोजादाकका छोरा प्रधानपुजारी यहोसुको+ शिरमा त्यो पहिराइदिनू। १२ अनि तिनलाई यसो भन्‍नू,

“‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “टुसा नामको मानिस यिनै हुन्‌।+ तिनी आफ्नै ठाउँबाट अङ्‌कुराउनेछन्‌ र तिनले यहोवा परमेश्‍वरको मन्दिर निर्माण गर्नेछन्‌।+ १३ तिनले नै यहोवा परमेश्‍वरको मन्दिर बनाउनेछन्‌ र तिनले नै गौरव पाउनेछन्‌। तिनले आफ्नो सिंहासनमा बसेर शासन गर्नेछन्‌ र तिनी पुजारी पनि हुनेछन्‌+ अनि यी दुईबीच* शान्ति कायम रहनेछ। १४ अनि त्यो मुकुट* यहोवा परमेश्‍वरको मन्दिरमा हेलेम, तोबियाह, यदायाह+ र सपन्याहका छोरा हेनको सम्झनाको चिनो* हुनेछ। १५ अनि टाढा-टाढा रहेकाहरू आउनेछन्‌ र यहोवा परमेश्‍वरको मन्दिर निर्माण गर्न सघाउनेछन्‌।” यो कुरा अवश्‍य पूरा हुनेछ। अनि तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको स्वर सुन्‍न छोडेनौ भने सेनाहरूका यहोवाले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनेर तिमीहरूले जान्‍नेछौ।’”

७ अनि राजा दाराको शासनकालको चौथो वर्षको नवौँ महिना—किसलेव* महिनाको चौथो दिन यहोवा परमेश्‍वरको वचन जकरियाकहाँ आयो।+ २ बेथेलका मानिसहरूले सारेजर र रेगेम-मेलेक अनि तिनका मानिसहरूलाई यहोवा परमेश्‍वरको निगाहको लागि बिन्ती गर्न पठाए। ३ अनि तिनीहरूले सेनाहरूका यहोवाको भवनका* पुजारीहरू र भविष्यवक्‍ताहरूलाई यसो भनेर बिन्ती गरे: “के म पाँचौँ महिनामा शोक गर्दै उपवास बसूँ,+ जसरी मैले वर्षौँदेखि गर्दै आएको छु?”

४ फेरि सेनाहरूका यहोवाको यो वचन मकहाँ आयो: ५ “देशका सबै मानिस र पुजारीहरूलाई यसो भन, ‘सत्तरी वर्षसम्म+ पाँचौँ र सातौँ महिनामा+ जब-जब तिमीहरू उपवास बस्थ्यौ अनि शोक गर्थ्यौ, के त्यो तिमीहरूले साँच्चै मेरो लागि गरेका थियौ र? ६ अनि जब-जब तिमीहरू खान्थ्यौ र पिउँथ्यौ, के तिमीहरूले आफ्नै लागि खाइरहेका र पिइरहेका थिएनौ र? ७ यरुसलेम र त्यसवरपरका सहरहरू आबाद भएको बेला र त्यहाँ शान्ति छाएको बेला अनि नेगेब र सेफेलाहमा मानिसहरू बसोबास गरेको बेला तिमीहरूले यहोवा परमेश्‍वरका वचनहरू पालन गर्नुपर्थ्यो, जुन उहाँले पहिलेका आफ्ना भविष्यवक्‍ताहरूमार्फत घोषणा गर्नुभएको थियो।’”+

८ फेरि यहोवा परमेश्‍वरको यो वचन जकरियाकहाँ आयो: ९ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘निष्पक्ष भएर न्याय गर+ अनि एकअर्कासित व्यवहार गर्दा अटल प्रेम*+ र कृपा देखाओ। १० विधवा र अनाथलाई*+ अनि विदेशी+ र गरिबलाई नठग+ अनि मनमनै एकअर्काविरुद्ध षड्‌यन्त्र पनि नरच।’+ ११ तर तिनीहरूले सुन्दै सुनेनन्‌,+ हठी हुँदै आफ्नो पीठ फर्काए+ अनि केही नसुन्‍नलाई आफ्नो कान थुने।+ १२ तिनीहरूले आफ्नो मन हिराजस्तै* कडा बनाए,+ तिनीहरूले व्यवस्था* पालन गरेनन्‌ र यहोवा परमेश्‍वरले आफ्नो पवित्र शक्‍तिमार्फत पहिलेका आफ्ना भविष्यवक्‍ताहरूद्वारा सुनाउनुभएका वचनहरूलाई बेवास्ता गरे।+ त्यसकारण सेनाहरूका यहोवा तिनीहरूदेखि अत्यन्तै क्रोधित हुनुभयो।”+

१३ “सेनाहरूका यहोवा भन्‍नुहुन्छ, ‘जसरी मैले* बोलाउँदा तिनीहरूले जवाफ दिएनन्‌,+ त्यसैगरि तिनीहरूले मलाई पुकार्दा मैले जवाफ दिन चाहिनँ।+ १४ अनि मैले आँधीहुरी ल्याएँ र तिनीहरूले चिन्दै नचिनेका देशहरूमा तिनीहरूलाई तितरबितर पारिदिएँ।+ तिनीहरूको भूमि उजाड भयो, त्यहाँबाट कोही पनि हिँडेन र त्यहाँ कोही पनि फर्केर आएन+ किनकि शत्रुहरूले तिनीहरूको सुन्दर देशको हालत यस्तो बनाइदिए कि त्यसलाई देख्नेजति सबै डरले थरथर काँप्थे।’”

८ सेनाहरूका यहोवाको वचन मकहाँ फेरि आयो: २ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘म सियोनको लागि ठूलो जोसले भरिनेछु,+ म त्यसको खातिर त्यसका शत्रुहरूप्रति ठूलो क्रोधले भरिनेछु।’”

३ “यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘म सियोनमा फर्कनेछु+ र यरुसलेममा बास गर्नेछु+ अनि यरुसलेमलाई सत्यको* सहर भनिनेछ+ र सेनाहरूका यहोवाको डाँडालाई पवित्र डाँडा भनिनेछ।’”+

४ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘वृद्धहरू यरुसलेमका चोकहरूमा फेरि बस्नेछन्‌; तिनीहरू प्रत्येकको हातमा लौरो हुनेछ किनकि तिनीहरू दीर्घायु हुनेछन्‌।+ ५ अनि सहरका चोकहरूमा जताततै केटाकेटीहरू खेलिरहेका हुनेछन्‌।’”+

६ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘ती दिनहरूमा बाँकी रहेका मानिसहरूलाई यो कुरा असम्भव लाग्ला तर के त्यो मेरो लागि पनि असम्भव हुन्छ र?’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।”

७ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘म आफ्ना मानिसहरूलाई पूर्व र पश्‍चिमका राष्ट्रहरूबाट बचाउनेछु।+ ८ अनि म तिनीहरूलाई यरुसलेममा ल्याउनेछु+ र तिनीहरू त्यहाँ बास गर्नेछन्‌; तिनीहरू मेरा मानिसहरू हुनेछन्‌ अनि म सत्यतामा* र धार्मिकतामा तिनीहरूको परमेश्‍वर हुनेछु।’”+

९ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘भविष्यवक्‍ताहरूको मुखबाट यी वचन सुन्‍ने मानिसहरू हो,+ आफ्नो हात बलियो बनाओ।*+ यी ती नै वचनहरू हुन्‌, जुन सेनाहरूका यहोवाको भवनको जग बसालिएको दिनमा पनि भनिएका थिए। १० त्यसअघि न मानिसलाई न त जनावरलाई ज्याला दिइन्थ्यो+ अनि शत्रुहरूले गर्दा आउने-जाने मानिसहरू सुरक्षित पनि थिएनन्‌ किनकि मैले सबै मानिसलाई एकअर्काविरुद्ध उठाएको थिएँ।’

११ “तर अब म बाँकी रहेकाहरूसित पहिलाको जस्तो व्यवहार गर्नेछैनँ,’+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ। १२ ‘किनकि शान्तिको बिउ रोपिनेछ; अङ्‌गुरको बोटमा फल फल्नेछ र जमिनले प्रशस्त उब्जनी दिनेछ+ अनि आकाशबाट शीत झर्नेछ। अनि बाँकी रहेका मानिसहरूलाई म यी सबै कुरामाथि अधिकार दिनेछु।+ १३ हे यहुदाको घराना र यरुसलेमको घराना हो, तिमीहरू जातिजातिबीच सराप पाएका मानिसहरू भएका थियौ+ तर अब भने म तिमीहरूलाई बचाउनेछु र तिमीहरू आशिष्‌को स्रोत हुनेछौ।+ त्यसैले नडराओ!+ आफ्ना पाखुरा बलियो बनाओ।*+

१४ “किनकि सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘“तिमीहरूका पुर्खाहरूले मलाई क्रोधित तुल्याएको कारण जसरी मैले तिमीहरूमाथि विपत्ति ल्याउने निधो गरेँ र मैले आफ्नो मन परिवर्तन गरिनँ,”* सेनाहरूका यहोवा भन्‍नुहुन्छ,+ १५ “त्यसरी नै यस पटक यरुसलेमको र यहुदाको घरानाको भलो गर्ने मैले निधो गरेको छु।+ त्यसैले नडराओ!”’+

१६ “‘तिमीहरूले यी कुराहरू गर्नुपर्छ: एकअर्कासित साँचो बोल्नू+ अनि तिमीहरूले मूलढोकामा यस्तो न्याय गर्नू, जसले गर्दा सत्यता र शान्ति कायम हुन्छ।+ १७ मनमनै एकअर्काविरुद्ध षड्‌यन्त्र नरच्नू+ र झूटो शपथ नखानू+ किनकि यी कुराहरूलाई म घृणा गर्छु,’+ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ।”

१८ फेरि सेनाहरूका यहोवाको यो वचन मकहाँ आयो: १९ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘चौथो महिनाको उपवास,+ पाँचौँ महिनाको उपवास,+ सातौँ महिनाको उपवास+ र दसौँ महिनाको उपवास+ यहुदाको घरानाको लागि रमाहट र हर्षको समय—खुसीयालीको चाड हुनेछ।+ त्यसैले सत्य र शान्तिलाई प्रेम गर।’

२० “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘यस्तो समय आउनेछ, जब जातिजातिका मानिसहरू र विभिन्‍न सहरका मानिसहरू आउनेछन्‌; २१ अनि एउटा सहरका बासिन्दाहरू अर्को सहरका बासिन्दाहरूकहाँ जानेछन्‌ र भन्‍नेछन्‌: “आओ, यहोवा परमेश्‍वरको अनुग्रहको लागि बिन्ती गर्न जाऔँ र सेनाहरूका यहोवाको खोजी गरौँ। म पनि जाँदै छु।”+ २२ थुप्रै जाति र शक्‍तिशाली राष्ट्रहरू सेनाहरूका यहोवाको खोजी गर्न र यहोवाको अनुग्रहको लागि बिन्ती गर्न यरुसलेम आउनेछन्‌।’+

२३ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘ती दिनहरूमा विभिन्‍न भाषा बोल्ने जातिजातिका दस जना मानिसले+ एक जना यहुदीको* लुगा* च्याप्प समात्नेछन्‌ र यसो भन्‍नेछन्‌: “हामी तपाईँहरूसितै जान्छौँ+ किनभने हामीले सुनेका छौँ, परमेश्‍वर तपाईँहरूसित हुनुहुन्छ।”’”+

९ एउटा घोषणा:

“यहोवाको वचन हद्राकको विरुद्धमा छ

अनि दमिसक उहाँको निसाना हो+

—किनकि यहोवाको दृष्टि मानिसजातिमाथि+

र इस्राएलका सबै कुलमाथि छ—

 २ अनि उहाँको वचन हमाथको+ विरुद्धमा छ, जुन त्यसको सिमानामा छ;

टायर+ र सिदोनको+ विरुद्धमा छ किनकि तिनीहरू अति बुद्धिमान्‌ छन्‌।+

 ३ टायरले आफ्नो लागि गढ* बनायो।

त्यसले धुलोसरि चाँदी थुपाऱ्‍यो

अनि सडकको हिलोसरि सुन जम्मा गऱ्‍यो।+

 ४ हेर! यहोवाले त्यसको धनसम्पत्ति खोस्नुहुनेछ

अनि त्यसको सेनालाई समुद्रमा खतम पार्नुहुनेछ;+

त्यसलाई आगोले भस्म पार्नुहुनेछ।+

 ५ अस्कलोनले त्यो देख्नेछ अनि भयभीत हुनेछ;

गाजालाई छटपटी हुनेछ

अनि एक्रोनलाई पनि त्यस्तै हुनेछ किनकि त्यसको आशा निराशामा बद्‌लिनेछ।

गाजाबाट राजाको नामोनिसान मेटिनेछ

अनि अस्कलोन फेरि आबाद हुनेछैन।+

 ६ अस्दोदमा नाजायज छोराहरू बसोबास गर्नेछन्‌

अनि पलिस्तियालीको घमन्डलाई म चकनाचुर पारिदिनेछु।+

 ७ रगतमा लतपतिएको चिज म त्यसको मुखबाट हटाइदिनेछु,

त्यसको दाँतबाट घिनलाग्दो कुरा हटाइदिनेछु

अनि त्यसका बचेका मानिसहरू हाम्रा परमेश्‍वरका हुनेछन्‌;

त्यो यहुदामा नाइकेजस्तै* हुनेछ+

अनि एक्रोनका मानिसहरूचाहिँ यबुसीहरूजस्तै हुनेछन्‌।+

 ८ म आफ्नो घरको सुरक्षा गर्न छाउनी हाल्नेछु+

अनि त्यहाँबाट कोही पनि आउजाउ गर्न पाउनेछैन

अनि कोही अत्याचारी फेरि त्यहाँबाट भएर हिँड्‌नेछैन+

किनकि मैले आफ्नै आँखाले यी सबै* देखेँ।

 ९ हे सियोनकी छोरी,* खुसीयाली मनाऊ।

हे यरुसलेमकी छोरी, जयजयकार गर।

हेर! तिम्रा राजा तिमीकहाँ आउँदै छन्‌।+

तिनी न्यायी छन्‌ अनि तिनले उद्धार गर्नेछन्‌;*

तिनी नम्र छन्‌+ र गधामाथि,

हो, गधाको बछेडोमाथि सवार भएर आउनेछन्‌।+

१० म एप्रैमबाट युद्धको रथ खोस्नेछु

अनि यरुसलेमबाट घोडा लैजानेछु।

लडाइँको धनु खोसिनेछ।

अनि तिनले जातिजातिमाझ शान्तिको घोषणा गर्नेछन्‌;+

तिनले एउटा समुद्रदेखि अर्को समुद्रसम्म

अनि युफ्रेटिस नदीदेखि पृथ्वीको कुनाकुनासम्म शासन गर्नेछन्‌।+

११ हे स्त्री, जहाँसम्म तिम्रो कुरा छ, तिमीसित बाँधेको रगतको करारको आधारमा

म तिम्रा कैदीहरूलाई सुक्खा खाडलबाट बाहिर निकाल्नेछु।+

१२ ए आशा पाएका कैदीहरू हो, तिमीहरू किल्लामा फर्क।+

आज म तिमीलाई भन्दै छु,

‘हे स्त्री, म तिमीलाई दोबर आशिष्‌ दिनेछु।+

१३ म यहुदालाई मेरो धनुलाई जस्तै तयार पार्नेछु।*

एप्रैमलाई धनुमा काँडझैँ चढाउनेछु

हे सियोन, म तिम्रा छोराहरूलाई

ग्रीसका छोराहरूको विरुद्धमा उठाउनेछु

अनि म तिमीलाई योद्धाको तरबारजस्तै बनाउनेछु।’

१४ यहोवा तिनीहरूको साथमा हुनुहुन्छ भनेर देखिनेछ

अनि उहाँको काँड बिजुलीजस्तै निस्कनेछ।

ब्रह्‍माण्डका मालिक यहोवाले सिङ फुक्नुहुनेछ+

अनि उहाँ दक्षिणको आँधीसहित अघि बढ्‌नुहुनेछ।

१५ सेनाहरूका यहोवाले तिनीहरूको रक्षा गर्नुहुनेछ

अनि तिनीहरूले घुयेँत्रोका ढुङ्‌गाहरूलाई निल्नेछन्‌ र आफ्नो अधीनमा पार्नेछन्‌।+

तिनीहरूले पिउनेछन्‌ र मद्यले मात्तिएको बेलामा जस्तै हल्लाखल्ला गर्नेछन्‌;

तिनीहरू भरिनेछन्‌

—मन्दिरको कचौराजस्तै, वेदीको कुनाजस्तै।+

१६ यहोवा तिनीहरूका परमेश्‍वरले त्यस दिन तिनीहरूलाई बचाउनुहुनेछ;

आफ्ना मानिसहरूलाई, आफ्नो बगाललाई उहाँले बचाउनुहुनेछ;+

तिनीहरू मुकुटमा* जडिएको रत्नझैँ उहाँको भूमिमा चम्कनेछन्‌।+

१७ उहाँ कत्ति भला हुनुहुन्छ!+

उहाँ कत्ति आकर्षक हुनुहुन्छ!

युवायुवतीहरू अन्‍न खाएर हृष्टपुष्ट हुनेछन्‌

र नयाँ मद्य पिएर आनन्दित हुनेछन्‌।”+

१० “वसन्तको झरीको बेला यहोवासित झरीको लागि बिन्ती गर।

कालो बादल बनाउनुहुने,

मानिसहरूको लागि पानी बर्साउनुहुने+

अनि सबैलाई खेतको उब्जनी दिनुहुने यहोवा नै हुनुहुन्छ।

 २ कुलदेवताका मूर्तिहरूले* छली कुरा* गरेका छन्‌;

जोखना हेर्नेहरूले झूटो दर्शन* देखेका छन्‌।

तिनीहरू व्यर्थका सपनाहरूबारे कुरा गर्छन्‌

अनि तिनीहरू सान्त्वना दिन बेकारको प्रयास गर्छन्‌।

त्यसकारण मानिसहरू भेडाजस्तै भौँतारिनेछन्‌;

गोठालो नभएकोले तिनीहरूले दुःख पाउनेछन्‌।

 ३ गोठालाहरूविरुद्ध मेरो रिस दन्केको छ

अनि अत्याचारी अगुवाहरूको* म लेखा लिनेछु;

सेनाहरूका यहोवाले आफ्नो बगालतर्फ,+ यहुदाको घरानातर्फ फेरि ध्यान दिनुभएको छ,

उहाँले तिनीहरूलाई युद्धको शानदार घोडाजस्तै बनाउनुभएको छ।

 ४ त्यसबाट* एक जना नाइके* निस्किआउनेछ,

त्यसबाट एक जना मदत गर्ने शासक* निस्किआउनेछ,

त्यसबाट युद्धको धनु निस्कनेछ,

प्रत्येक निरीक्षक* त्यसैबाट आउनेछ; तिनीहरू

सबै एकसाथ निस्कनेछन्‌।

 ५ तिनीहरू योद्धाहरूजस्तै हुनेछन्‌,

तिनीहरू हिलो कुल्चँदै लडाइँमा अघि बढ्‌छन्‌।

तिनीहरूले युद्ध लड्‌नेछन्‌ किनकि यहोवा तिनीहरूको साथमा हुनुहुन्छ।+

अनि शत्रुका घोडसवारहरूको बेइज्जत हुनेछ।+

 ६ म यहुदाको घरानालाई उच्च तुल्याउनेछु

अनि युसुफको घरानालाई बचाउनेछु।+

म तिनीहरूमाथि कृपा देखाउनेछु+

र तिनीहरूलाई पहिलेकै अवस्थामा फर्काउनेछु;

मैले तिनीहरूलाई कहिल्यै नत्यागेझैँ तिनीहरू हुनेछन्‌+

किनकि म यहोवा तिनीहरूका परमेश्‍वर हुँ र म तिनीहरूको बिन्ती सुन्‍नेछु।

 ७ एप्रैमका मानिसहरू शक्‍तिशाली योद्धाजस्तै हुनेछन्‌

अनि मद्य पिएको बेलामा झैँ तिनीहरूको मन हर्षित हुनेछ।+

तिनीहरूका छोराहरूले त्यो देख्नेछन्‌ र खुसी हुनेछन्‌;

अनि यहोवालाई सम्झेर तिनीहरूको मन रमाउनेछ।+

 ८ ‘म सिटी बजाएर तिनीहरूलाई एकै ठाउँमा भेला गर्नेछु।

म तिनीहरूलाई छुटाउनेछु+ र तिनीहरूको सङ्‌ख्या बढ्‌नेछ,

तिनीहरू निरन्तर बढिरहनेछन्‌।

 ९ मैले तिनीहरूलाई बिउझैँ जातिजातिमाझ छरेँ,

तैपनि टाढा-टाढाको देशबाट तिनीहरूले मलाई सम्झनेछन्‌;

तिनीहरू नयाँ जोसले भरिनेछन्‌ र आफ्ना छोराहरूसितै फर्केर आउनेछन्‌।

१० म मिश्रबाट* तिनीहरूलाई फर्काएर ल्याउनेछु

अनि अस्सेरियाबाट तिनीहरूलाई भेला पार्नेछु;+

म तिनीहरूलाई गिलाद+ र लेबनानमा ल्याउनेछु,

ती ठाउँहरूमा समेत तिनीहरू अटाउनेछैनन्‌।+

११ समुद्रले तिनीहरूको बाटो छेक्दा

म त्यहाँबाट जानेछु र त्यसको छाललाई हिर्काउनेछु;+

नाइल नदीले तिनीहरूलाई रोक्दा

म त्यसको पानीलाई सुकाइदिनेछु।

अस्सेरियाको घमन्ड तोडिनेछ।

अनि मिश्रको राजदण्ड त्यसबाट खोसिनेछ।+

१२ म यहोवाले नै तिनीहरूलाई उच्च तुल्याउनेछु+

अनि तिनीहरू मेरो नाममा हिँड्‌नेछन्‌,’+ यहोवा घोषणा गर्नुहुन्छ।”

११ “ए लेबनान, तेरा ढोकाहरू खोल्‌

र तेरा देवदारका रूखहरूलाई आगोले भस्म पारून्‌।

 २ ए धुपीको रूख, रोइकराइ गर्‌ किनकि देवदारका रूखहरू ढलेका छन्‌;

सानदार रूखहरू नाश भएका छन्‌!

ए बासानका फलाँटका रूखहरू हो, विलाप गर

किनकि घना जङ्‌गल विनाश भएको छ!

 ३ गोठालाहरूको रोइकराइ सुन

किनकि तिनीहरूको वैभव नष्ट पारिएको छ।

अनि जवान सिंहहरूको गर्जन सुन

किनकि यर्दनका बाक्ला झाडीहरू नाश भएका छन्‌।

४ “यहोवा मेरा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘काट्‌न राखिएका भेडाहरूलाई चराओ।+ ५ तिनीहरूलाई किन्‍नेहरू तिनीहरूलाई काट्‌छन्‌+ तर उनीहरूलाई दोषी ठहराइँदैन। तिनीहरूलाई बेच्नेहरू+ यसो भन्छन्‌, “यहोवाको महिमा होस्‌ किनकि म सम्पन्‍न हुनेछु।” अनि तिनीहरूका गोठालाहरूले तिनीहरूलाई पटक्कै दया देखाउँदैनन्‌।’+

६ “‘किनकि अब म देशका बासिन्दाहरूलाई दया देखाउनेछैनँ,’ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ। ‘त्यसैले म हरेक मानिसलाई उसको छिमेकी र राजाको हातमा सुम्पिनेछु। तिनीहरूले देशलाई कुल्चीमिल्ची गर्नेछन्‌ र म ती मानिसहरूलाई तिनीहरूको हातबाट बचाउनेछैनँ।’”

७ अनि काट्‌न राखिएका भेडाहरूलाई+ मैले चराउन थालेँ; बगालका भेडाहरूमध्ये जो-जो थिचोमिचोमा परेका छन्‌, तिनीहरूको निम्ति मैले यसो गरेँ। मैले दुइटा लौरो लिएँ र तिनीहरूको नाम राखेँ, एउटाको अनुग्रह र अर्कोको एकता।+ अनि मैले बगाललाई चराउन थालेँ। ८ अनि मैले एकै महिनामा तीन जना गोठालोलाई हटाइदिएँ किनकि म तिनीहरूदेखि वाक्क भएको थिएँ र तिनीहरू पनि मलाई घृणा गर्थे। ९ अनि मैले भनेँ: “म तिमीहरूलाई चराइरहनेछैनँ। मर्नेहरू मरून्‌ र नाश हुनेहरू नाश होऊन्‌। अनि बाँकी भएकाहरूले चाहिँ एकअर्काको मासु लुछेर खाऊन्‌।” १० अनि मैले अनुग्रह नामको लौरो लिएँ+ र त्यसलाई काटेँ। यसरी मैले आफ्ना मानिसहरूसित गरेको करार तोडेँ। ११ तब त्यो दिन करार टुट्‌यो र बगालका थिचोमिचोमा परेकाहरू, जसले मलाई हेरिरहेका थिए, तिनीहरूले यो यहोवा परमेश्‍वरको वचन हो भनेर थाह पाए।

१२ अनि मैले तिनीहरूलाई भनेँ: “तिमीहरूलाई ठीक लाग्छ भने मेरो ज्याला देऊ तर ठीक लाग्दैन भने नदेऊ।” अनि तिनीहरूले मलाई ३० टुक्रा चाँदी ज्याला दिए।*+

१३ त्यसपछि यहोवा परमेश्‍वरले मलाई भन्‍नुभयो: “तिनीहरूले मेरो लागि साह्रै ठूलो मोल तोके! जाऊ, गएर त्यसलाई ढुकुटीमा फ्याँक।”+ तब मैले ३० टुक्रा चाँदी लिएँ र यहोवाको भवनको ढुकुटीमा फ्याँकिदिएँ।+

१४ त्यसपछि मैले एकता नामको मेरो दोस्रो लौरोलाई काटेँ+ अनि यसले गर्दा यहुदा र इस्राएलको भ्रातृत्व टुट्‌यो।+

१५ अनि यहोवा परमेश्‍वरले मलाई भन्‍नुभयो: “एउटा निकम्मा गोठालोको औजार लेऊ+ १६ किनकि म यस देशमा एउटा गोठालोलाई खडा हुन दिनेछु। त्यसले नाश हुन लागेका भेडाहरूको हेरचाह गर्नेछैन;+ त्यसले पाठोहरूलाई खोज्नेछैन, घाइतेहरूलाई पट्टी बाँध्नेछैन+ र हट्टाकट्टाहरूलाई खुवाउनेछैन। बरु मोटोघाटोको मासु खानेछ+ र भेडाहरूको खुर निकालिदिनेछ।+

१७ बगाललाई अलपत्र छोड्‌ने+ मेरो निकम्मा गोठालोलाई धिक्कार छ!+

तरबारले त्यसको पाखुरामा र दायाँ आँखामा प्रहार गर्नेछ।

त्यसको पाखुरा पूरै सुक्नेछ

अनि त्यसको दायाँ आँखा पूरै अन्धो हुनेछ।”

१२ एउटा घोषणा:

“इस्राएलबारे यहोवाको वचन,” यहोवा घोषणा गर्नुहुन्छ,

जसले आकाशलाई फैलाउनुभयो,+

पृथ्वीको जग बसाल्नुभयो+

र मानिसमा जीवनको सास हालिदिनुभयो।

२ “म यरुसलेमलाई एउटा कचौरा बनाउनेछु, जसबाट पिउँदा वरपरका मानिसहरू लर्खराउनेछन्‌। अनि यहुदासँगै यरुसलेम पनि घेराबन्दीमा पर्नेछ।+ ३ त्यस दिन म सबै मानिसको लागि यरुसलेमलाई एउटा भारी* ढुङ्‌गा बनाइदिनेछु। अनि त्यसलाई उठाउने सबै निश्‍चय नै गम्भीर घाइते हुनेछन्‌।+ अनि पृथ्वीका सबै राष्ट्र त्यसविरुद्ध जम्मा हुनेछन्‌।”+ ४ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ, “त्यस दिन म घोडाहरूलाई आतङ्‌कित तुल्याउनेछु र घोडसवारहरूलाई बौलाहा बनाइदिनेछु। यहुदाको घरानामाथि म आफ्नो नजर राख्नेछु तर जातिजातिका मानिसहरूको सबै घोडालाई अन्धो बनाइदिनेछु। ५ अनि यहुदाका नाइकेहरूले* मनमनै यसो भन्‍नेछन्‌, ‘यरुसलेमका बासिन्दाहरू हाम्रो शक्‍ति हुन्‌ किनकि सेनाहरूका यहोवा तिनीहरूका परमेश्‍वर हुनुहुन्छ।’+ ६ त्यो दिन म यहुदाका नाइकेहरूलाई बलिरहेको दाउरामाथि राखेको मकलजस्तै र अन्‍नका बिटाहरूको बीचमा+ दन्केको राँकोजस्तै बनाइदिनेछु। अनि तिनीहरूले दायाँ र बायाँका सबै मानिसलाई भस्म गरिदिनेछन्‌।+ अनि यरुसलेमका मानिसहरू फेरि आफ्नै ठाउँमा* रहनेछन्‌, हो, तिनीहरू यरुसलेममै बसोबास गर्नेछन्‌।+

७ “दाउदको घरानाको र यरुसलेमका बासिन्दाहरूको वैभव यहुदाको भन्दा धेरै नहोस्‌ भनेर यहोवा परमेश्‍वरले सबैभन्दा पहिला यहुदाका पालहरूलाई जोगाउनुहुनेछ। ८ त्यो दिन यहोवा परमेश्‍वरले यरुसलेमका बासिन्दाहरूको रक्षा गर्नुहुनेछ;+ त्यो दिन तिनीहरूमध्ये ठक्कर खानेहरू* दाउदजस्तै हुनेछन्‌ अनि दाउदको घरानाचाहिँ ईश्‍वरजस्तै हुनेछ, हो, तिनीहरूको अघिअघि जाने यहोवा परमेश्‍वरको स्वर्गदूतजस्तै हुनेछ।+ ९ त्यो दिन म यरुसलेमविरुद्ध आउने कुनै पनि राष्ट्रलाई बाँकी राख्नेछैनँ।+

१० “म दाउदको घरानामाथि र यरुसलेमका बासिन्दाहरूमाथि पवित्र शक्‍ति खन्याउनेछु अनि तिनीहरूले मलाई बिन्ती गर्नेछन्‌ र मेरो अनुग्रह पाउनेछन्‌। जसलाई तिनीहरूले घोपे,+ उसैलाई तिनीहरूले हेर्नेछन्‌ र एक मात्र छोराको मृत्यु हुँदा रोइकराइ गरेझैँ तिनीहरूले उसको लागि रोइकराइ गर्नेछन्‌। पहिलो सन्तानको मृत्यु हुँदा शोक गरेझैँ तिनीहरूले उसको लागि शोक गर्नेछन्‌। ११ त्यो दिन यरुसलेममा ठूलो रुवाबासी हुनेछ, मगिद्दो बेँसीको+ हदद-रिम्मोनमा भएझैँ रुवाबासी हुनेछ। १२ अनि पूरै देशले रुवाबासी गर्नेछ, प्रत्येक घरानाले छुट्टाछुट्टै रुवाबासी गर्नेछ; दाउदको घरानाले छुट्टै र तिनीहरूका स्त्रीहरूले छुट्टै नातानको घरानाले+ छुट्टै र तिनीहरूका स्त्रीहरूले छुट्टै; १३ लेविको घरानाले+ छुट्टै र तिनीहरूका स्त्रीहरूले छुट्टै; सिमीको घरानाले+ छुट्टै र तिनीहरूका स्त्रीहरूले छुट्टै १४ अनि बाँकी भएका सबै घरानाले र तिनीहरूका स्त्रीहरूले पनि छुट्टाछुट्टै रुवाबासी गर्नेछन्‌।

१३ “त्यो दिन दाउदको घराना र यरुसलेमका बासिन्दाहरूको पाप र अशुद्धता पखाल्न तिनीहरूको निम्ति एउटा कुवा खनिनेछ।+

२ “सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यो दिन म त्यस देशबाट मूर्तिहरू नष्ट गर्नेछु+ र तिनीहरूको फेरि कहिल्यै सम्झना गरिनेछैन अनि म त्यस देशबाट भविष्यवक्‍ताहरू+ र दुष्ट शक्‍तिलाई हटाइदिनेछु। ३ अनि कसैले फेरि भविष्यवाणी गऱ्‍यो भने तिनलाई जन्म दिने तिनका आमाबुबाले तिनलाई यसो भन्‍नेछन्‌, ‘तँ बाँच्नेछैनस्‌ किनकि तैँले यहोवा परमेश्‍वरको नाम लिएर झूट बोलिस्‌।’ अनि तिनलाई जन्म दिने तिनका आमाबुबाले तिनले गरेको भविष्यवाणीको कारण तिनलाई तरबारले छेड्‌नेछन्‌।+

४ “त्यो दिन प्रत्येक भविष्यवक्‍ता भविष्यवाणी गर्ने बेला आफूले देखेको दर्शनले* गर्दा लाजमा पर्नेछन्‌ अनि तिनीहरूले भुत्लाबाट बनेको लुगा* लगाउन छोड्‌नेछन्‌,+ जुन लगाएर तिनीहरूले मानिसहरूलाई धोका दिने गर्थे। ५ अनि तिनले भन्‍नेछन्‌, ‘म भविष्यवक्‍ता होइनँ। म त खेतीकिसानी गर्ने मानिस हुँ किनकि म सानै छँदा मलाई एक जना मानिसले किनेको थियो।’ ६ अनि कसैले तिनलाई ‘तिम्रो शरीरमा* भएका यी चोटहरूचाहिँ के हो त?’ भनेर सोध्यो भने तिनले यस्तो जवाफ दिनेछन्‌ ‘यी चोटहरू त मैले मेरा साथीहरूको* घरमा पाएका चोटहरू हुन्‌।’”

 ७ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, “ए तरबार, मेरो गोठालोविरुद्ध उठ्‌,+

त्यस मानिसविरुद्ध उठ्‌, जो मेरो साथी हो।

गोठालोलाई प्रहार गर्‌+ र भेडाहरू तितरबितर होऊन्‌+

अनि म आफ्नो हात तुच्छहरूमाथि उठाउनेछु।”

 ८ यहोवा घोषणा गर्नुहुन्छ, “सारा देशमा भएका मानिसहरूमध्ये

दुई भाग काटिनेछन्‌ र नष्ट हुनेछन्‌

अनि तेस्रो भागलाई चाहिँ छोडिनेछ।

 ९ म तेस्रो भागलाई आगोले खार्नेछु;

म तिनीहरूलाई चाँदी खारेझैँ खार्नेछु

अनि सुन जाँचेझैँ तिनीहरूलाई जाँच्नेछु।+

तिनीहरूले मलाई पुकार्नेछन्‌

अनि म तिनीहरूलाई जवाफ दिनेछु।

म भन्‍नेछु, ‘तिनीहरू मेरा मानिसहरू हुन्‌’+

अनि तिनीहरूले भन्‍नेछन्‌, ‘यहोवा हाम्रा परमेश्‍वर हुनुहुन्छ।’”

१४ “हेर! त्यो दिन आउँदै छ, यहोवाको दिन। त्यो दिन तिमीबाट* लुटिएका मालसामान तिम्रै अगाडि बाँडिनेछ। २ यरुसलेमसित लड्‌न म सबै राष्ट्रलाई भेला गर्नेछु। अनि सहरलाई कब्जा गरिनेछ, घरहरू लुटिनेछन्‌ र स्त्रीहरूलाई बलात्कार गरिनेछ। आधा सहर निर्वासनमा लगिनेछ तर बाँकी रहेका मानिसहरूलाई भने सहरबाट लगिनेछैन।

३ “यहोवा परमेश्‍वर ती राष्ट्रहरूसित लड्‌न आउनुहुनेछ+ र उहाँ युद्धको दिनमा जसरी लड्‌नुहुन्छ, त्यसरी नै तिनीहरूसित लड्‌नुहुनेछ।+ ४ त्यो दिन उहाँ जैतुन डाँडामा+ उभिनुहुनेछ, जसको पूर्वपट्टि यरुसलेम सहर छ अनि जैतुन डाँडा पूर्वदेखि पश्‍चिमसम्म* चिरा परेर दुई फ्याक हुनेछ र बीचमा ठूलो बेँसी बन्‍नेछ। डाँडाको आधा भाग उत्तरतिर र आधा भाग दक्षिणतिर सर्नेछ। ५ तिमीहरू मेरा डाँडाहरूको बेँसीमा भागेर जानेछौ किनकि डाँडाहरूको बेँसी अजेलसम्मै फैलिनेछ। यहुदाका राजा उज्जियाहको पालामा भुईँचालो आउँदा+ तिमीहरू जसरी भागेका थियौ, त्यसरी नै तिमीहरू भाग्नुपर्नेछ। तब यहोवा मेरा परमेश्‍वर आउनुहुनेछ र उहाँसँग सबै पवित्र जन पनि आउनेछन्‌।+

६ “त्यो दिन कतै पनि चहकिलो ज्योति हुनेछैन,+ सबै थोक जम्नेछ।* ७ त्यो एउटा यस्तो दिन हुनेछ, जुन यहोवाको दिन भनेर चिनिनेछ।+ त्यतिबेला न दिन हुनेछ न रात अनि बेलुकीपख उज्यालो हुनेछ। ८ त्यो दिन यरुसलेमबाट+ जीवन दिने पानी+ बग्नेछ, आधा पूर्वको समुद्रतिर*+ अनि आधा पश्‍चिमको समुद्रतिर।*+ गर्मी याम र जाडो याममा पनि त्यो बगिरहनेछ। ९ अनि यहोवा परमेश्‍वर सारा पृथ्वीका महाराजा हुनुहुनेछ।+ त्यस दिन यहोवा परमेश्‍वरको मात्रै उपासना गरिनेछ+ र उहाँकै मात्र नाम लिइनेछ।+

१० “सारा देश अराबाहजस्तै+ हुनेछ—गेबादेखि+ यरुसलेमको दक्षिणमा रहेको रिम्मोनसम्मै।+ अनि यरुसलेम खडा हुनेछ र फेरि त्यसकै ठाउँमा बसालिनेछ;+ बिन्यामिन-ढोकादेखि+ पहिलो-ढोका भएको ठाउँसम्मै, पहिलो-ढोकादेखि कुना-ढोकासम्मै; हननेल धरहरादेखि+ राजाको कोलसम्मै त्यो आबाद हुनेछ। ११ मानिसहरू यरुसलेममा बसोबास गर्नेछन्‌; त्यसमाथि फेरि कहिल्यै विनाशको सराप+ आइपर्नेछैन अनि मानिसहरू त्यहाँ सुरक्षित रहनेछन्‌।+

१२ “अनि यरुसलेमविरुद्ध युद्ध गर्ने सबै जातिलाई+ यहोवा परमेश्‍वरले यस्तो महामारीले प्रहार गर्नुहुनेछ: तिनीहरू उभिँदा-उभिँदै तिनीहरूको शरीर कुहिनेछ, तिनीहरूका आँखाहरू खोपिल्टाभित्रै कुहिनेछन्‌ अनि तिनीहरूको जिब्रो तिनीहरूको मुखभित्रै कुहिनेछ।

१३ “त्यो दिन यहोवा परमेश्‍वरले तिनीहरूबीच गोलमाल मच्चाइदिनुहुनेछ। अनि तिनीहरू प्रत्येकले आफ्नै साथीको हात समात्नेछन्‌ र तिनीहरूले एकअर्कालाई आक्रमण गर्नेछन्‌।+ १४ यरुसलेमको युद्धमा यहुदा पनि सँगसँगै लड्‌नेछ अनि वरपरका सबै राष्ट्रको धनसम्पत्ति—प्रशस्तै सुन, चाँदी र लुगाफाटा बटुलिनेछ।+

१५ “अनि शत्रुको छाउनीमा भएका घोडा, खच्चर, उँट, गधा र सबै वस्तुभाउमाथि पनि त्यस्तै महामारी आइपर्नेछ।

१६ “यरुसलेमलाई आक्रमण गर्न आउने सबै राष्ट्रका बाँकी मानिसहरू वर्षैपिच्छे+ सेनाहरूका यहोवा,+ जो राजा हुनुहुन्छ, उहाँलाई दण्डवत्‌* गर्न अनि झुप्रोबासको चाड*+ मनाउन यरुसलेम आउनेछन्‌। १७ तर सेनाहरूका यहोवा, जो राजा हुनुहुन्छ, उहाँलाई दण्डवत्‌ गर्न पृथ्वीका परिवारहरूमध्ये कोही यरुसलेमसम्म उक्लिएन भने तिनीहरूमाथि पानी बर्सनेछैन।+ १८ अनि यदि मिश्रको कुनै परिवार त्यहाँसम्म उक्लिएन र त्यहाँ प्रवेश गरेन भने तिनीहरूमाथि पानी बर्सनेछैन। बरु यहोवा परमेश्‍वरले झुप्रोबासको चाड मनाउन यरुसलेम नउक्लिने राष्ट्रहरूमाथि जस्तो महामारी पठाउनुहुन्छ, तिनीहरूमाथि पनि त्यस्तै महामारी पठाउनुहुनेछ। १९ मिश्र वा अरू कुनै राष्ट्र झुप्रोबासको चाड मनाउन आएन भने तिनीहरूको पापको सजाय यही हुनेछ।

२० “त्यो दिन घोडाहरूको घण्टीमा यी शब्दहरू कुँदिएका हुनेछन्‌, ‘यहोवा पवित्र हुनुहुन्छ!’+ अनि यहोवा परमेश्‍वरको भवनमा भएका खड्‌कुँलाहरू+ वेदीको अगाडि भएका कचौराहरूजस्तै+ पवित्र हुनेछन्‌। २१ अनि यरुसलेम र यहुदामा भएका सबै खड्‌कुँला पवित्र हुनेछन्‌ र ती सबै सेनाहरूका यहोवाको हुनेछन्‌। बलिदान चढाउनेहरू सबै त्यहाँ आउनेछन्‌ र तिनीहरूले तीमध्ये केही खड्‌कुँलाहरूमा मासु उसिन्‍नेछन्‌। त्यो दिन सेनाहरूका यहोवाको भवनमा कोही पनि कनानी* बाँकी रहनेछैन।”+

यसको अर्थ हो, “यहोवाले सम्झनुभएको छ।”

वा “फर्क।”

अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “आँखाको गेडीलाई।”

“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

वा “विशेष पोसाक।”

वा “निगरानी गर्न; सुरक्षा गर्न।”

वा “मैदान।”

वा “सानो कुराको।”

शा., “ढुङ्‌गा, टिन।” डकर्मीले गारो उठाउँदा सुर सोझो भए-नभएको जाँच्ने साधन।

अर्थात्‌, लटरम्म फल फलेको हाँगाको।

एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “एपा।” यहाँ यसले एक एपा नाप्न प्रयोग गरिने भाँडो वा डालोलाई जनाउँछ। एक एपा भनेको २२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अर्थात्‌, बेबिलोनी साम्राज्यमा।

वा “भव्य मुकुट।”

अर्थात्‌, राजा र पुजारीको रूपमा तिनले खेल्ने दोहोरो भूमिकाबीच।

वा “भव्य मुकुट।”

वा “सम्झना।”

अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

वा “मन्दिरका।”

शब्दावली हेर्नुहोस्‌।

वा “बुबा गुमाएको बच्चालाई।”

वा सम्भवतः “कडा पत्थरजस्तै,” जस्तै: चकमक पत्थर।

वा “निर्देशन।”

शा., “उहाँले।”

वा “वफादार।”

वा “वफादारीमा।”

वा “साहस गर।”

वा “साहस गर।”

वा “मैले पछुतो मानिनँ।”

शा., “एक जना यहुदी पुरुषको।”

वा “लुगाको छेउ।”

वा “घेरा-मचान।”

शा., “शेखजस्तै।” यसले कुलको नाइकेलाई जनाउँछ।

यसले उहाँका मानिसहरूले भोगेको दुःखलाई जनाएको हुनुपर्छ।

“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

वा “तिनी विजयी हुनेछन्‌; तिनी बचाइएका हुनेछन्‌।”

वा “ताँदो चढाउनेछु।”

वा “ताजमा।”

हिब्रू भाषामा टेराफिम। शब्दावलीमा “टेराफिम” हेर्नुहोस्‌।

वा “टुनामुना; रहस्यमय कुरा।”

शब्दावली हेर्नुहोस्‌।

शा., “बाख्राहरूको।”

अर्थात्‌, यहुदाको घरानाबाट।

शा., “कुनाको धरहरा,” यसले मुख्य वा खास व्यक्‍तिलाई चित्रण गर्छ; मुखिया।

शा., “किला,” यसले सहयोग गर्ने व्यक्‍तिलाई चित्रण गर्छ; शासक।

वा “ठेकेदार।”

वा “इजिप्टबाट।”

शा., “जोखेर दिए।”

वा “बोझिलो।”

शा., “शेखहरूले।” यसले कुलको नाइकेलाई जनाउँछ।

वा “आफ्नो सही ठाउँमा।”

वा “कमजोरहरू।”

शब्दावली हेर्नुहोस्‌।

वा “भविष्यवक्‍ताले लगाउने विशेष किसिमको पोसाक।”

शा., “तिम्रा हातहरूको बीचमा।” अर्थात्‌, छातीमा वा पिठिउँमा।

वा “मलाई माया गर्नेहरूको।”

यसले पद २ मा उल्लेख गरिएको सहरलाई जनाउँछ।

शा., “समुद्रसम्म।”

वा “अचल हुनेछ,” चिसोले गर्दा जमेझैँ हुनेछ।

अर्थात्‌, मृतसागरतिर।

अर्थात्‌, भूमध्यसागरतिर।

वा “उपासना।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “व्यापारी।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने