प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt मत्ति १:१-२८:२०
  • मत्तिको सुसमाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मत्तिको सुसमाचार
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
मत्तिको सुसमाचार

मत्तिको सुसमाचार

१ अब्राहामका छोरा,+ दाउदका छोरा+ येसु ख्रिष्टको* वंशावली:

 २ अब्राहामबाट इसहाक जन्मिए;+

इसहाकबाट याकुब जन्मिए;+

याकुबबाट यहुदा+ र तिनका दाजुभाइ जन्मिए;

 ३ यहुदाबाट तामारले पेरेज र जेरहलाई जन्माइन्‌;+

पेरेजबाट हेस्रोन जन्मिए;+

हेस्रोनबाट राम जन्मिए;+

 ४ रामबाट अम्मिनादाब जन्मिए;

अम्मिनादाबबाट नहसोन जन्मिए;+

नहसोनबाट साल्मोन जन्मिए;

 ५ साल्मोनबाट राहाबले बोअजलाई जन्माइन्‌;+

बोअजबाट रुथले ओबेदलाई जन्माइन्‌;+

ओबेदबाट यिसै जन्मिए;+

 ६ यिसैबाट राजा दाउद जन्मिए।+

दाउदबाट उरियाहकी पत्नीले सुलेमानलाई जन्माइन्‌;+

 ७ सुलेमानबाट रहबाम जन्मिए;+

रहबामबाट अबियाह जन्मिए;

अबियाहबाट आसा जन्मिए;+

 ८ आसाबाट यहोसापात जन्मिए;+

यहोसापातबाट यहोराम जन्मिए;+

यहोरामबाट उज्जियाह जन्मिए;

 ९ उज्जियाहबाट योताम जन्मिए;+

योतामबाट आहाज जन्मिए;+

आहाजबाट हिजकियाह जन्मिए;+

१० हिजकियाहबाट मनस्से जन्मिए;+

मनस्सेबाट अमोन जन्मिए;+

अमोनबाट योसियाह जन्मिए;+

११ यहुदीहरूलाई बन्दी बनाएर बेबिलोन लगिएको बेला+ योसियाहबाट+ येकोनिया+ र तिनका दाजुभाइ जन्मिए।

१२ बेबिलोनमा येकोनियाबाट सालतिएल जन्मिए;

सालतिएलबाट यरुबाबेल जन्मिए;+

१३ यरुबाबेलबाट अबिउद जन्मिए;

अबिउदबाट एलियाकिम जन्मिए;

एलियाकिमबाट आजोर जन्मिए;

१४ आजोरबाट सादोक जन्मिए;

सादोकबाट आखिम जन्मिए;

आखिमबाट एलिउद जन्मिए;

१५ एलिउदबाट एलियाजार जन्मिए;

एलियाजारबाट मत्थान जन्मिए;

मत्थानबाट याकुब जन्मिए;

१६ याकुबबाट युसुफ जन्मिए, जो मरियमका पति थिए। यिनै मरियमले येसुलाई जन्माइन्‌,+ जो ख्रिष्ट कहलाइनुभयो।+

१७ यसरी सबै गरेर अब्राहामदेखि दाउदसम्म १४ पुस्ता, दाउददेखि यहुदीहरूलाई बन्दी बनाएर बेबिलोन लगिएको समयसम्म १४ पुस्ता र यहुदीहरूलाई बेबिलोन लगिएको समयदेखि ख्रिष्टसम्म १४ पुस्ता भयो।

१८ येसु ख्रिष्टको जन्म यसरी भयो। उहाँकी आमा मरियमको युसुफसित मगनी भएको थियो तर तिनीहरूको विवाह हुनुअघि नै पवित्र शक्‍तिद्वारा* तिनी गर्भवती भइन्‌।+ १९ तर तिनका पति युसुफ धर्मी मानिस भएकोले तिनको बेइज्जत गर्न चाहँदैनथे। त्यसैले उनले गुप्तमै तिनीसित सम्बन्धविच्छेद गर्ने निधो गरे।+ २० यी कुराहरू विचार गरिसकेपछि उनी निदाए र हेर! यहोवा* परमेश्‍वरका स्वर्गदूत सपनामा उनीकहाँ आएर यसो भने: “हे दाउदको छोरा युसुफ, मरियमसित विवाह गर्न* नडराऊ! किनभने तिनी पवित्र शक्‍तिद्वारा गर्भवती भएकी हुन्‌।+ २१ तिनले एउटा छोरा जन्माउनेछिन्‌ र तिमीले उहाँको नाम येसु* राख्नू+ किनभने उहाँले आफ्ना मानिसहरूलाई पापबाट उद्धार गर्नुहुनेछ।”+ २२ वास्तवमा यी सबै कुरा यहोवा* परमेश्‍वरले आफ्नो भविष्यवक्‍ताद्वारा भन्‍नुभएको यो वचन पूरा हुनलाई भएको थियो: २३ “हेर! कन्या गर्भवती हुनेछिन्‌ र एउटा छोरा जन्माउनेछिन्‌ र तिनीहरूले उहाँको नाम इम्मानुएल राख्नेछन्‌,”+ जसको अर्थ हो, “परमेश्‍वर हामीसित हुनुहुन्छ।”+

२४ तब युसुफ निद्राबाट ब्युँझे र उनले यहोवा* परमेश्‍वरको स्वर्गदूतले भनेझैँ आफ्नी पत्नीलाई घरमा ल्याए। २५ तर छोरा नजन्मेसम्म युसुफले आफ्नी पत्नीसित यौनसम्बन्ध राखेनन्‌+ र युसुफले बालकको नाम येसु राखे।+

२ हेरोद* राजाको पालामा+ यहुदियाको बेतलेहेममा येसुको जन्म भएपछि+ हेर! पूर्वबाट ज्योतिषीहरू यरुसलेम आए २ र भने: “जो यहुदीहरूका राजा भएर जन्मनुभयो, उहाँ कहाँ हुनुहुन्छ?+ किनभने पूर्वमा छँदा हामीले उहाँको तारा देख्यौँ र उहाँको दर्शन गर्न* हामी आएका हौँ।” ३ यो सुनेपछि राजा हेरोद व्याकुल भए र सारा यरुसलेममा खैलाबैला मच्चियो। ४ अनि तिनले सबै मुख्य पुजारीहरूलाई र शास्त्रीहरूलाई भेला गराएर ख्रिष्टको* जन्म कहाँ हुने हो भनेर सोधपुछ गरे। ५ उनीहरूले तिनलाई भने: “यहुदियाको बेतलेहेममा+ किनकि भविष्यवक्‍ताले यस्तो लेखेका छन्‌: ६ ‘हे यहुदा मुलुकको बेतलेहेम, तँ कुनै किसिमले यहुदाका शासकहरूमाझ तुच्छ छैनस्‌ किनकि तँबाट एक जना शासन गर्ने निस्किआउनेछ, जसले मेरो प्रजा इस्राएललाई गोठालोले झैँ डोऱ्‍याउनेछ।’”+

७ तब हेरोदले ज्योतिषीहरूलाई सुटुक्क बोलाए अनि उनीहरूसित राम्ररी सोधपुछ गरी त्यो तारा सुरुमा देखा परेको समय पत्ता लगाए। ८ अनि तिनले उनीहरूलाई यसो भनेर बेतलेहेम पठाए: “जाओ! त्यस सानो बालकलाई राम्ररी खोज अनि तिमीहरूले उहाँलाई भेट्टाएपछि फर्केर मलाई खबर गर ताकि म पनि गएर उहाँको दर्शन गर्न सकूँ।” ९ राजाको कुरा सुनेपछि उनीहरू आफ्नो बाटो लागे अनि हेर! पूर्वमा छँदा उनीहरूले देखेको त्यो तारा+ उनीहरूको अघिअघि लाग्यो र सानो बालक भएको घरमाथि पुगेपछि टक्क अडियो। १० त्यो तारा अडिएको देखेर उनीहरू असाध्यै खुसी भए। ११ जब उनीहरू त्यस घरभित्र पसे, तब उनीहरूले सानो बालकलाई उहाँकी आमा मरियमसँग देखे अनि उनीहरूले घोप्टो परेर उहाँलाई दण्डवत्‌ गरे। साथै उनीहरूले आफ्नो कन्तुरबाट सुन, सेतो धूप* र मर्र* झिकेर उहाँलाई उपहारस्वरूप दिए। १२ तर हेरोदकहाँ फर्केर नजानू भनी सपनामा परमेश्‍वरले चेतावनी दिनुभएकोले+ उनीहरू अर्कै बाटो भएर आफ्नो देश फर्के।

१३ उनीहरू फर्केपछि, हेर! यहोवा* परमेश्‍वरका स्वर्गदूत सपनामा युसुफकहाँ देखा परेर+ यसो भने: “उठ! सानो बालक र उहाँकी आमालाई लिएर मिश्रमा* भाग अनि मैले नभनेसम्म त्यहीँ बस किनकि हेरोदले यस बालकलाई खोजेर मार्न आँटेको छ।” १४ त्यसैले तिनी उठे अनि सानो बालक र उहाँकी आमालाई लिएर राती नै मिश्र गए १५ अनि हेरोदको मृत्यु नहोउन्जेल तिनी त्यहीँ बसे। यसरी यहोवा* परमेश्‍वरले आफ्नो भविष्यवक्‍ताद्वारा भन्‍नुभएको यो वचन पूरा भयो: “मैले आफ्नो छोरालाई मिश्रबाट बोलाएँ।”+

१६ जब हेरोदले ज्योतिषीहरूले आफूलाई झुक्क्याएछन्‌ भनी थाह पाए, तब तिनी रिसले आगो भए अनि आफ्ना चाकरहरूलाई यस्तो हुकुम दिए: ‘जाओ, बेतलेहेम सहर र त्यसवरिपरिका ठाउँहरूका दुई वर्ष र त्योभन्दा मुनिका सबै बालकलाई मार।’ तिनले ज्योतिषीहरूसित राम्ररी सोधपुछ गरेर पत्ता लगाएको समयको आधारमा यसो गर्न लगाएका थिए।+ १७ यसरी भविष्यवक्‍ता यर्मियाद्वारा भनिएको यो वचन पूरा भयो: १८ “रामामा एउटा स्वर सुनियो, रोदन र क्रन्दनको; राहेल+ आफ्ना बालबच्चाको निम्ति विलाप गर्दै थिई; ऊ शान्त हुन मानिन किनकि तिनीहरू अब रहेनन्‌।”+

१९ हेरोदको मृत्यु भइसकेपछि हेर! यहोवा* परमेश्‍वरका स्वर्गदूत मिश्रमा युसुफकहाँ सपनामा देखा परे+ २० र यसो भने: “उठ, सानो बालक र उहाँकी आमालाई लिएर इस्राएलतिर लाग किनकि बालकको ज्यान लिन खोज्नेहरू मरिसके।” २१ तब तिनी उठे अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल पसे। २२ तर यहुदियामा अर्खिलाउसले आफ्नो बुबा हेरोदको सट्टा शासन गर्न थाले भनेर सुनेपछि युसुफ त्यहाँ जान डराए। साथै परमेश्‍वरले सपनामा चेतावनी पनि दिनुभएकोले+ तिनी गालिलको इलाकामा गए।+ २३ तिनी नासरत+ नामको सहरमा गएर बसे। यसरी भविष्यवक्‍ताहरूको यो वचन पूरा भयो: “उहाँ नासरी* कहलाइनुहुनेछ।”+

३ ती दिनहरूमा बप्तिस्मा गराउने युहन्‍नाले+ यहुदियाको निर्जनभूमिमा आएर यसो भन्दै प्रचार गरे:+ २ “पश्‍चात्ताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ।”+ ३ वास्तवमा युहन्‍ना तिनै व्यक्‍ति हुन्‌, जसबारे भविष्यवक्‍ता यसैयाले यसो भनेका थिए:+ “उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ, ‘यहोवाको* बाटो तयार पार, उहाँको मार्ग सोझो बनाओ।’”+ ४ युहन्‍ना उँटको रौँबाट बनेको लुगा लगाउँथे अनि कम्मरमा छालाको पटुका कस्थे।+ तिनी सलह र वन-मह खान्थे।+ ५ त्यसबेला यरुसलेम, सारा यहुदिया र यर्दन नदीवरिपरिका सबै ठाउँका मानिसहरू तिनीकहाँ आउँथे+ ६ अनि उनीहरू आ-आफ्ना पाप खुलेआम स्विकार्थे र तिनले यर्दन नदीमा उनीहरूको बप्तिस्मा गराउँथे।*+

७ जब तिनले थुप्रै फरिसी* र सदुकी* बप्तिस्मा गर्ने ठाउँमा आउँदै गरेको देखे,+ तब तिनले उनीहरूलाई यसो भने: “हे विषालु सर्पका बच्चाहरू हो!+ आउँदै गरेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो?+ ८ यसकारण पश्‍चात्ताप प्रकट हुने फल फलाओ। ९ तिमीहरू ‘हाम्रो बुबा अब्राहाम हुनुहुन्छ’ भनी नठान।+ किनकि म तिमीहरूलाई भन्छु, परमेश्‍वरले यी ढुङ्‌गाहरूबाट अब्राहामको निम्ति सन्तान खडा गर्न सक्नुहुन्छ। १० बन्चरो रूखको जरामा परिसकेको छ। त्यसैले असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ।+ ११ म त तिमीहरूको बप्तिस्मा पानीले गराउँछु किनकि तिमीहरूले पश्‍चात्ताप गरेका छौ+ तर मपछि आउनुहुने मभन्दा शक्‍तिशाली हुनुहुन्छ, जसको जुत्ता खोल्न समेत म लायकको छैनँ।+ उहाँले तिमीहरूको बप्तिस्मा पवित्र शक्‍ति+ र आगोले गराउनुहुनेछ।+ १२ बत्ताउने बेल्चा उहाँको हातमा छ। उहाँले आफ्नो खला पूरै सफा गर्नुहुनेछ र आफ्नो गहुँलाई भण्डारमा जम्मा गर्नुहुनेछ तर भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोमा जलाउनुहुनेछ।”+

१३ तब येसु युहन्‍नाद्वारा बप्तिस्मा गर्न गालिलबाट यर्दन नदीमा आउनुभयो।+ १४ तर युहन्‍नाले यसो भन्दै उहाँलाई रोक्न खोजे: “मैले पो तपाईँबाट बप्तिस्मा गर्नु आवश्‍यक छ, उल्टै तपाईँ मकहाँ आउँदै हुनुहुन्छ?” १५ येसुले तिनलाई जवाफ दिनुभयो: “अहिलेलाई यस्तै हुन देऊ। किनकि यसरी नै हामीले परमेश्‍वरको सबै इच्छा पूरा गर्नु उचित हुन्छ।” त्यसपछि तिनले उहाँलाई रोकेनन्‌। १६ बप्तिस्मा गरेपछि येसु तुरुन्तै पानीमाथि निस्कनुभयो अनि हेर! आकाश खुल्यो+ र युहन्‍नाले परमेश्‍वरको पवित्र शक्‍ति ढुकुरको रूपमा उहाँमाथि ओर्लँदै गरेको देखे।+ १७ अनि हेर! आकाशबाट यसो भन्‍ने आवाज पनि आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्‌,+ जसलाई मैले स्विकारेको छु।”+

४ तब परमेश्‍वरको शक्‍तिले येसुलाई निर्जनभूमितिर डोऱ्‍यायो, जहाँ दियाबलले लोभ देखाएर उहाँलाई प्रलोभनमा पार्ने+ कोसिस गऱ्‍यो।+ २ अनि ४० दिन र ४० रात उपवास बसेपछि उहाँ भोकाउनुभयो। ३ तब त्यो प्रलोभक+ आयो र यसो भन्यो: “यदि तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने यी ढुङ्‌गाहरू रोटी भइजाऊन्‌ भन्‍नुहोस्‌।” ४ तर उहाँले यसो भन्दै जवाफ दिनुभयो: “यस्तो लेखिएको छ, ‘मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन तर यहोवा* परमेश्‍वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।’”+

५ त्यसपछि दियाबलले उहाँलाई पवित्र सहरमा लग्यो+ र मन्दिरको पर्खालको बुर्जामा* राख्यो+ ६ र उहाँलाई भन्यो: “तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्‌ किनभने यस्तो लेखिएको छ: ‘तिमीलाई जोगाउन उहाँले आफ्ना स्वर्गदूतहरूलाई हुकुम गर्नुहुनेछ’ र ‘उनीहरूले तिमीलाई हातहातै बोक्नेछन्‌ ताकि तिम्रो खुट्टा ढुङ्‌गामा नबजारियोस्‌।’”+ ७ येसुले त्यसलाई भन्‍नुभयो: “यस्तो पनि लेखिएको छ: ‘तिमीहरूले यहोवा* आफ्ना परमेश्‍वरको परीक्षा कहिल्यै नलिनू।’”+

८ फेरि दियाबलले उहाँलाई असाध्यै अग्लो डाँडामा लग्यो अनि संसारका सबै राज्य र त्यसको महिमा देखायो+ ९ र त्यसले उहाँलाई भन्यो: “यदि तपाईँले घोप्टो परेर मलाई एक चोटि ढोग्नुभयो भने यी सबै थोक म तपाईँलाई दिनेछु।” १० तब येसुले त्यसलाई भन्‍नुभयो: “ए सैतान, पर गइहाल्‌! किनभने यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ+ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’”+ ११ त्यसपछि दियाबलले उहाँलाई छोडेर गयो+ र हेर! स्वर्गदूतहरू आएर उहाँको सेवा-सुसार गर्न थाले।+

१२ अनि जब उहाँले युहन्‍ना पक्राउ परे भनी सुन्‍नुभयो,+ तब उहाँ गालिलतिर लाग्नुभयो।+ १३ अनि नासरत छोडेपछि उहाँ समुद्रछेउमा पर्ने कफर्नहुममा आएर बस्न थाल्नुभयो,+ जुन जबुलुन र नप्तालिको इलाकामा पर्थ्यो। १४ यसरी भविष्यवक्‍ता यसैयाले भनेको यो वचन पूरा भयो: १५ “हे जबुलुनको भूमि र नप्तालिको भूमि, समुद्रको बाटो छेउ अनि यर्दन नदीको पारि पर्ने इलाका, जातिजातिहरूको गालिल! १६ अँध्यारोमा बसिरहेका मानिसहरूले एउटा चहकिलो ज्योति देखे+ अनि मृत्युको छाया परेको ठाउँमा बसिरहेकाहरूमाथि ज्योति उदायो।”+ १७ त्यस बेलादेखि येसुले यसो भन्दै प्रचार गर्न थाल्नुभयो: “पश्‍चात्ताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ।”+

१८ गालिल समुद्रको* छेउमा हिँड्‌दै गर्दा उहाँले पत्रुस भनिने सिमोन+ र तिनका भाइ अन्द्रियासलाई देख्नुभयो। ती दुई दाजुभाइ समुद्रमा जाल हान्दै थिए। तिनीहरू जलारी थिए।+ १९ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको जलारी बनाउनेछु।”+ २० उत्तिखेरै आफ्ना जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।+ २१ त्यहाँबाट हिँडेपछि उहाँले याकुब र तिनका भाइ युहन्‍नालाई देख्नुभयो, जो जब्दिका छोराहरू थिए।+ तिनीहरू डुङ्‌गामा बसेर आफ्ना बुबासित जाल तुन्दै थिए र उहाँले तिनीहरूलाई बोलाउनुभयो।+ २२ उत्तिखेरै तिनीहरू डुङ्‌गालाई अनि आफ्ना बुबालाई छोडेर उहाँको पछि लागे।

२३ त्यसपछि सारा गालिल घुम्दै+ उहाँले तिनीहरूका सभाघरहरूमा* सिकाउनुभयो+ र राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूका हरप्रकारका रोगबिमार पनि निको पार्नुभयो।+ २४ उहाँको कीर्ति सारा सिरियाभरि फैलियो अनि तिनीहरूले विभिन्‍न रोग र पीडाले गर्दा दु:ख पाएका,+ प्रेतले* सताएका,+ छारे रोग लागेका+ र पक्षाघात भएका अनि हरप्रकारका दुःख भोगिरहेका मानिसहरूलाई उहाँकहाँ ल्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो। २५ त्यसैले गालिल, डेकापोलिस,* यरुसलेम, यहुदिया र यर्दन नदीपारिबाट हुलका हुल मानिसहरू आए र उहाँको पछि लागे।

५ भीडलाई देखेपछि उहाँ डाँडामा उक्लनुभयो र उहाँ बस्नुभएपछि चेलाहरू उहाँकहाँ आए। २ त्यसपछि उहाँले यसो भन्दै तिनीहरूलाई सिकाउन थाल्नुभयो:

३ “आनन्दित हुन्‌ ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुन्छन्‌* + किनकि स्वर्गको राज्य तिनीहरूकै हो।

४ “आनन्दित हुन्‌ ती मानिसहरू, जसले शोक गर्छन्‌ किनकि तिनीहरूलाई सान्त्वना दिइनेछ।+

५ “आनन्दित हुन्‌ ती मानिसहरू, जो कोमल स्वभावका* छन्‌+ किनकि तिनीहरू पृथ्वीका उत्तराधिकारी हुनेछन्‌।+

६ “आनन्दित हुन्‌ ती मानिसहरू, जो धार्मिकताका* लागि भोकाउँछन्‌ र तिर्खाउँछन्‌+ किनकि तिनीहरू तृप्त हुनेछन्‌।+

७ “आनन्दित हुन्‌ ती मानिसहरू, जो कृपालु छन्‌+ किनकि तिनीहरूलाई कृपा देखाइनेछ।

८ “आनन्दित हुन्‌ ती मानिसहरू, जसको हृदय चोखो छ+ किनकि तिनीहरूले परमेश्‍वरलाई देख्नेछन्‌।

९ “आनन्दित हुन्‌ ती मानिसहरू, जसले शान्ति कायम गर्छन्‌+ किनकि तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌।

१० “आनन्दित हुन्‌ ती मानिसहरू, जो न्यायोचित काम गरेकोले खेदोमा परेका छन्‌+ किनकि स्वर्गको राज्य तिनीहरूकै हो।

११ “आनन्दित हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको बदनाम गर्छन्‌,+ खेदो गर्छन्‌+ र तिमीहरूविरुद्ध झूट बोलेर नानाथरीका खराब कुरा भन्छन्‌।+ १२ तब रमाओ र खुसीयाली मनाओ+ किनकि स्वर्गमा तिमीहरूको इनाम ठूलो छ;+ तिमीहरूअघिका भविष्यवक्‍ताहरूको पनि तिनीहरूले यसरी नै खेदो गरेका थिए।+

१३ “तिमीहरू पृथ्वीका नुन हौ+ तर नुनको नुनिलोपन हरायो भने त्यसलाई फेरि केले नुनिलो पार्ने? त्यो त बाहिर फालिन+ र मान्छेले कुल्चनबाहेक अरू केही कामको हुँदैन।

१४ “तिमीहरू संसारका ज्योति हौ।+ डाँडामाथि बसालिएको सहर लुक्न सक्दैन। १५ मानिसहरूले दियो बालेर टोकरीले* छोप्दैनन्‌ तर पानसमा राख्छन्‌ र घरमा हुनेहरू सबैलाई त्यसले उज्यालो दिन्छ।+ १६ त्यसरी नै मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्‌+ र तिमीहरूको सुकर्म देखेर+ तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्‌।+

१७ “मोसाको व्यवस्था वा भविष्यवक्‍ताहरूको शिक्षालाई रद्द गर्न म आएँ भनी नठान। रद्द गर्न होइन तर पूरा गर्न म आएँ।+ १८ किनकि म तिमीहरूलाई साँच्चै भन्छु बरु आकाश र पृथ्वी बितेर जाला तर यी सबै कुरा पूरा नभएसम्म व्यवस्थाको सबैभन्दा सानो अक्षर वा एउटा बिन्दु पनि मेटिनेछैन।+ १९ यसकारण जसले सानाभन्दा साना आज्ञाहरूमध्ये कुनै एउटा उल्लङ्‌घन गर्छ र मानिसहरूलाई त्यसै गर्न सिकाउँछ, त्यो स्वर्गको राज्यमा पस्न लायकको हुनेछैन। तर जसले ती पालन गर्छ र सिकाउँछ, त्यो नै स्वर्गको राज्यमा पस्न लायकको हुनेछ। २० म तिमीहरूलाई भन्छु, यदि तिमीहरूको काम परमेश्‍वरको नजरमा शास्त्री र फरिसीहरूको कामभन्दा अझ असल भएन भने+ तिमीहरू कुनै पनि हालतमा स्वर्गको राज्यमा पस्न पाउनेछैनौ।+

२१ “उहिले-उहिलेका मानिसहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ: ‘तिमीहरूले हत्या नगर्नू+ तर जसले हत्या गर्छ, ऊ अदालतसामु जबाफदेही हुनेछ।’+ २२ तर म तिमीहरूलाई भन्छु, जो आफ्नो भाइसित क्रोधित भइरहन्छ,+ ऊ अदालतसामु जबाफदेही हुनेछ अनि जसले अपशब्द बोलेर आफ्नो भाइको अपमान गर्छ, ऊ सर्वोच्च अदालतसामु जबाफदेही हुनेछ र जसले आफ्नो भाइलाई ‘ए नालायक बेवकुफ!’ भन्छ, ऊ गेहेन्‍नाको* आगोमा फालिन लायकको हुनेछ।+

२३ “तिमीले वेदीमा आफ्नो भेटी चढाउन ल्याउँदा+ तिम्रो विरुद्धमा तिम्रो भाइसित केही गुनासो छ भन्‍ने तिमीलाई झल्याँस्स याद आयो भने २४ आफ्नो भेटी त्यहीँ वेदीअगाडि छोड र गएर पहिले आफ्नो भाइसित मिलाप गर अनि फर्केर आएपछि आफ्नो भेटी चढाऊ।+

२५ “तिमीमाथि मुद्दा हाल्ने मानिससित बाटोमा छँदै तुरुन्तै सम्झौता गरिहाल नत्र त तिम्रो विपक्षीले तिमीलाई न्यायाधीशकहाँ सुम्पिनेछ र न्यायाधीशले पहरेदारको जिम्मा लगाउनेछन्‌ र तिमी झ्यालखानामा जाकिनेछौ।+ २६ म तिमीलाई साँच्चै भन्छु, तिमीले पाईपाई* चुक्‍ता नगरेसम्म कुनै पनि हालतमा त्यहाँबाट छुट्‌न पाउनेछैनौ।

२७ “तिमीहरूले यसो भनिएको सुनेका छौ: ‘तिमीहरूले व्यभिचार* नगर्नू।’+ २८ तर म तिमीहरूलाई भन्छु, जसले कुनै स्त्रीलाई हेरिरहन्छ+ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित व्यभिचार गरिसकेको हुन्छ।+ २९ यदि तिम्रो दाहिने आँखाले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई निकालेर फालिदेऊ।+ किनकि तिम्रो सिङ्‌गै शरीर गेहेन्‍नामा* फ्याँकिनुभन्दा एउटा अङ्‌ग गुमाउनु नै तिम्रो लागि बेस हुन्छ।+ ३० साथै यदि तिम्रो दाहिने हातले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई काटेर फालिदेऊ।+ किनकि तिम्रो सिङ्‌गै शरीर गेहेन्‍नामा* पर्नुभन्दा एउटा अङ्‌ग गुमाउनु नै तिम्रो लागि बेस हुन्छ।+

३१ “अनि यसो पनि भनिएको थियो: ‘जसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ, त्यसले उनलाई छोडपत्र देओस्‌।’+ ३२ तर म तिमीहरूलाई भन्छु, अवैध यौनसम्बन्धबाहेक* अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नेले उनलाई व्यभिचार गर्ने जोखिममा पार्छ र जसले त्यसरी सम्बन्धविच्छेद भएकी स्त्रीसित विवाह गर्छ, त्यसले व्यभिचार गरेको ठहरिन्छ।+

३३ “उहिले-उहिलेका मानिसहरूलाई यसो भनिएको पनि तिमीहरूले सुनेका छौ: ‘कसम खाएपछि त्यसलाई नतोड्‌नू+ तर यहोवा* परमेश्‍वरसित गरेको भाकल पूरा गर्नू।’+ ३४ तर म तिमीहरूलाई भन्छु: कसम खाँदै नखाओ।+ न स्वर्गको नाममा किनकि त्यो परमेश्‍वरको सिंहासन हो ३५ न पृथ्वीको नाममा किनकि त्यो उहाँको पाउदान हो+ न यरुसलेमको नाममा किनकि त्यो महान्‌ राजाको सहर हो+ ३६ न त आफ्नो शिरको नाममै किनकि तिमीहरूले एउटा केशलाई समेत सेतो अथवा कालो बनाउन सक्दैनौ। ३७ तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ र ‘हुँदैन’ भने ‘हुँदैन’ होस्‌+ किनकि यसभन्दा बढ्‌ताचाहिँ त्यस दुष्टतर्फको* हो।+

३८ “तिमीहरूले यसो भनिएको सुनेका छौ: ‘आँखाको साटो आँखा र दाँतको साटो दाँत।’+ ३९ तर म तिमीहरूलाई भन्छु: दुष्टको प्रतिकार नगर तर जसले तिम्रो दाहिने गाला चड्‌काउँछ, उसलाई अर्को गाला पनि थापिदेओ।+ ४० अनि यदि कसैले तिमीलाई अदालत लगेर मुद्दा हाल्न चाहन्छ र तिम्रो लुगा लिन खोज्छ भने उसलाई तिम्रो खास्टो पनि देऊ।+ ४१ अनि यदि अख्तियार हुने कसैले तिमीलाई जबरजस्ती काममा लगाएर एक किलोमिटर* परसम्म लैजान खोज्छ भने ऊसित दुई किलोमिटरसम्मै जाऊ। ४२ तिमीसित माग्नेलाई देऊ र तिमीसित सापटी* लिन चाहनेलाई नाइँ नभन।+

४३ “तिमीहरूले यसो भनिएको सुनेका छौ: ‘तिमीहरूले आफ्नो छिमेकीलाई प्रेम गर्नू+ र आफ्नो शत्रुलाई घृणा गर्नू।’ ४४ तर म तिमीहरूलाई भन्छु: आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो+ र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो।+ ४५ यसरी तिमीहरू स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाका छोराहरू बन्‍न सक्नेछौ+ किनकि उहाँले दुष्ट र सज्जन दुवैमाथि घाम लगाइदिनुहुन्छ अनि धर्मी र अधर्मी दुवैमाथि पानी बर्साउनुहुन्छ।+ ४६ किनभने यदि तिमीहरू आफूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूले के इनाम पाउँछौ र?+ के कर उठाउनेहरूले पनि त्यसै गरिरहेका छैनन्‌ र? ४७ अनि यदि तिमीहरू आफ्नै दाजुभाइलाई मात्र अभिवादन गर्छौ भने कुनचाहिँ ठूलो काम गरिरहेका हुन्छौ र? के अन्यजातिहरूले पनि त्यसै गरिरहेका छैनन्‌ र? ४८ जस्तो स्वर्गमा बस्नुहुने तिमीहरूका बुबा सर्वगुणी* हुनुहुन्छ, त्यस्तै तिमीहरू पनि सर्वगुणी होओ।+

६ “मानिसहरूले देखून्‌ भनेर उनीहरूको अगाडि धर्मकर्म गर्नदेखि होसियार होओ+ नत्र त स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ। २ यसकारण तिमीले दानपुण्य* गर्दा कपटीहरूले जस्तो झ्याली नपिट्‌नू किनकि तिनीहरू मानिसहरूबाट प्रशंसा बटुल्न सभाघर र गल्लीहरूमा झ्याली पिट्‌छन्‌। म तिमीहरूलाई साँच्चै भन्छु, तिनीहरूले आफ्नो पूरा इनाम पाइसकेका हुन्छन्‌। ३ तर तिमीले दानपुण्य गर्दा तिम्रो दाहिने हातले गरेको काम तिम्रो देब्रे हातले थाह नपाओस्‌ ४ बरु तिम्रो दानपुण्य गुप्तमा गरिएको होस्‌। तब सबै कुरा देख्नुहुने तिम्रो बुबाले तिमीलाई इनाम दिनुहुनेछ।+

५ “साथै जब तिमीहरू प्रार्थना गर्छौ, तब कपटीहरूले जस्तो नगर्नू+ किनभने तिनीहरू सभाघरमा अनि चौबाटोमा उभिएर मानिसहरूले देख्नेगरि प्रार्थना गर्न रुचाउँछन्‌।+ म तिमीहरूलाई साँच्चै भन्छु, तिनीहरूले आफ्नो पूरा इनाम पाइसकेका हुन्छन्‌। ६ तर प्रार्थना गर्ने बेला तिमीचाहिँ आफ्नो भित्री कोठामा जाऊ अनि ढोका बन्द गरेर तिम्रो अदृश्‍य बुबालाई प्रार्थना गर।+ तब सबै कुरा देख्नुहुने तिम्रो बुबाले तिमीलाई इनाम दिनुहुनेछ। ७ प्रार्थना गर्दा अन्यजातिका मानिसहरूले जस्तो एउटै कुरा दोहोऱ्‍याई नराख किनभने धेरै बोल्यो भने आफ्नो सुनुवाइ हुन्छ भनी तिनीहरू सोच्छन्‌। ८ त्यसैले तिनीहरूजस्तो नहोओ किनभने तिमीहरूले माग्नुभन्दा अघि नै तिमीहरूलाई के चाहिन्छ भनेर तिमीहरूका बुबालाई थाह छ।+

९ “यसकारण तिमीहरूले यसरी प्रार्थना गर्नू:+

“‘हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम+ पवित्र पारियोस्‌।*+ १० तपाईँको राज्य+ आओस्‌। तपाईँको इच्छा+ जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।+ ११ हामीलाई आजको लागि भोजन* दिनुहोस्‌+ १२ र हाम्रो ऋण* क्षमा गर्नुहोस्‌, जसरी हामीले पनि हाम्रा ऋणीहरूलाई* क्षमा गरेका छौँ।+ १३ अनि हामीलाई प्रलोभनमा पर्न नदिनुहोस्‌+ तर त्यस दुष्टबाट* छुटाउनुहोस्‌।’+

१४ “किनकि यदि तिमीहरूले मानिसहरूका अपराधहरू क्षमा गऱ्‍यौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।+ १५ तर यदि तिमीहरूले मानिसहरूका अपराधहरू क्षमा गरेनौ भने तिमीहरूका बुबाले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।+

१६ “तिमीहरू उपवास बस्दा+ कपटीहरूले जस्तो उदास अनुहार बनाउन छोड किनभने आफू उपवास बसिरहेको छु भनी मानिसहरूले थाह पाऊन्‌ भनेर तिनीहरू फोहोरी अनुहार लिएर बस्छन्‌।+ म तिमीहरूलाई साँच्चै भन्छु, तिनीहरूले आफ्नो पूरा इनाम पाइसकेका हुन्छन्‌। १७ तर उपवास बस्दा तिमीहरूचाहिँ टाउकोमा तेल लगाओ अनि मुख धोओ १८ ताकि मानिसहरूले होइन तर तिमीहरूको अदृश्‍य बुबाले तिमीहरू उपवास बसेको थाह पाऊन्‌। तब सबै कुरा देख्नुहुने तिमीहरूको बुबाले तिमीहरूलाई इनाम दिनुहुनेछ।

१९ “आफ्नो निम्ति पृथ्वीमा धनसम्पत्ति थुपार्न छोडिहाल,+ जहाँ त्यसलाई किरा र खियाले खान्छ अनि चोरहरूले फोरेर लैजान्छन्‌। २० बरु आफ्नो निम्ति स्वर्गमा धनसम्पत्ति थुपार,+ जहाँ त्यसलाई न किराले न खियाले खान्छ+ न त चोरहरूले फोरेर नै लैजान्छन्‌। २१ किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन पनि हुन्छ।

२२ “शरीरको बत्ती आँखा हो।+ त्यसैले यदि तिम्रो आँखा एउटै कुरामा केन्द्रित* छ भने तिम्रो पूरै शरीर उज्यालो हुनेछ। २३ तर यदि तिम्रो आँखा ईर्ष्यालु* छ भने+ तिम्रो पूरै शरीर अँध्यारो हुनेछ। यदि तिम्रो आँखा नै अँध्यारो छ भने तिम्रो शरीर झन्‌ कत्ति अँध्यारो होला!

२४ “कोही पनि दुई मालिकको दास बन्‍न सक्दैन किनकि उसले एक जनालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ+ अथवा ऊ एक जनासित टाँसिनेछ र अर्कोलाई तुच्छ ठान्‍नेछ। तिमीहरू परमेश्‍वर र धनसम्पत्ति दुवैको दास बन्‍न सक्दैनौ।+

२५ “यसकारण म तिमीहरूलाई भन्छु: के खाऔँला वा के पिऔँला भनी आफ्नो जीवनको विषयमा वा के लगाऔँला भनी आफ्नो शरीरको विषयमा चिन्ता गर्न छोडिहाल।+ के भोजनभन्दा जीवन र लुगाफाटाभन्दा शरीर महत्त्वपूर्ण होइन?+ २६ आकाशका चराचुरुङ्‌गीलाई नियालेर हेर+ किनभने तिनीहरू न बिउ छर्छन्‌ न कटनी गर्छन्‌ न त भण्डारमै जम्मा गर्छन्‌ तैपनि स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बहुमूल्य छैनौ? २७ तिमीहरूमध्ये कसले पो चिन्ता गरेर आफ्नो आयु एक हात* लम्ब्याउन सक्छौ र?+ २८ साथै लुगाफाटाको विषयमा पनि तिमीहरू किन चिन्ता गर्छौ? मैदानका लिली फूलहरू कसरी बढ्‌छन्‌, त्यो हेरेर पाठ सिक। तिनीहरू न परिश्रम गर्छन्‌ न त धागो कात्छन्‌। २९ तर म तिमीहरूलाई भन्छु, सारा वैभवले सुसज्जित सुलेमानसमेत+ यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्‌। ३० यदि परमेश्‍वरले आज देखिने अनि भोलि चुल्होमा फ्याँकिने मैदानका बोटबिरुवालाई त यसरी पहिराउनुहुन्छ भने हे विश्‍वास कमजोर भएकाहरू हो, के उहाँले तिमीहरूलाई झनै पहिराउनुहुन्‍न? ३१ त्यसैले ‘हामी के खाऔँला?’ वा ‘के पिऔँला?’ वा ‘के लगाऔँला?’ भनेर कहिल्यै चिन्ता नगर।+ ३२ किनकि अन्यजातिका मानिसहरू यी नै कुराका लागि मरिहत्ते गर्छन्‌। तर यी सब कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा बस्नुहुने तिमीहरूका बुबालाई थाह छ।

३३ “यसकारण उहाँको राज्यलाई र उहाँको धार्मिक स्तरलाई* पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।+ ३४ त्यसैले भोलिको चिन्ता कहिल्यै नगर+ किनभने भोलिको चिन्ता भोलिले नै गर्नेछ। आजको लागि आजकै कष्ट पर्याप्त छ।

७ “अरूको न्याय गर्न छोडिहाल+ ताकि तिमीहरूको पनि न्याय नगरियोस्‌। २ किनकि तिमीहरू जसरी अरूको न्याय गर्छौ, त्यसरी नै तिमीहरूको पनि न्याय गरिनेछ+ अनि तिमीहरू जुन नापले नाप्छौ, अरूले पनि तिमीहरूका लागि त्यही नापले नाप्नेछन्‌।+ ३ तिमी किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ तर आफ्नै आँखामा भएको मुढाचाहिँ यादै गर्दैनौ?+ ४ हेर! जब तिम्रो आफ्नै आँखामा मुढा छ भने तिमी कसरी आफ्नो भाइलाई ‘मलाई तिम्रो आँखाको छेस्को निकाल्न देऊ’ भन्‍न सक्छौ? ५ ए कपटी! पहिले आफ्नै आँखाको मुढा निकाल अनि तिमीले आफ्नो भाइको आँखाबाट छेस्को कसरी निकाल्ने भनेर छर्लङ्‌गै देख्नेछौ।

६ “पवित्र थोक कुकुरहरूलाई नदेओ अनि आफ्ना मोती सुँगुरहरूको अगाडि नफाल+ नत्र त त्यसलाई आफ्ना खुट्टाले कुल्चीमिल्ची गरेर ती तिमीहरूतिर फर्कनेछन्‌ र आक्रमण गर्नेछन्‌।

७ “मागिरहो अनि तिमीहरूलाई दिइनेछ;+ खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको निम्ति उघारिनेछ।+ ८ किनकि जसले मागिरहन्छ, उसले पाउँछ;+ जसले खोजिरहन्छ, उसले भेट्टाउँछ अनि जसले ढकढक्याइरहन्छ, उसको निम्ति उघारिनेछ। ९ तिमीहरूमध्ये कोचाहिँ यस्तो होला, जसले आफ्नो छोराले रोटी माग्दा उसलाई ढुङ्‌गा देला? १० अनि माछा माग्दा सर्प देला? ११ त्यसकारण यदि तिमीहरू दुष्ट भईकन पनि आफ्ना छोराछोरीलाई राम्रा कुरा दिन जान्दछौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले उहाँसित माग्नेहरूलाई+ झन्‌ कत्ति धेरै असल थोक दिनुहुनेछ!+

१२ “त्यसकारण मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।+ वास्तवमा यही नै व्यवस्था र भविष्यवक्‍ताहरूको शिक्षाको* सार हो।+

१३ “साँघुरो ढोकाबाट भित्र पस+ किनकि विनाशतर्फ लैजाने ढोका फराकिलो र बाटो चौडा हुन्छ अनि यसमा हिँड्‌नेहरू धेरै हुन्छन्‌। १४ तर जीवनतर्फ लैजाने ढोका साँघुरो र बाटो अप्ठेरो हुन्छ अनि यो भेट्टाउने थोरै हुन्छन्‌।+

१५ “भेडाको भेषमा तिमीहरूकहाँ आउने+ झूटा भविष्यवक्‍ताहरूदेखि होसियार रहो+ किनकि वास्तवमा तिनीहरू भोका ब्वाँसाहरू हुन्‌।+ १६ तिनीहरूका फलबाटै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के मानिसहरूले कहिल्यै काँडाको झाङबाट अङ्‌गुर वा जङ्‌गली झारबाट अन्जिर बटुल्छन्‌ र?+ १७ त्यसैगरि हरेक असल रूखले असल फल फलाउँछ तर हरेक खराब रूखले बिग्रेको फल फलाउँछ।+ १८ असल रूखले बिग्रेको फल फलाउन सक्दैन न त खराब रूखले असल फल फलाउन सक्छ।+ १९ असल फल नफलाउने हरेक रूख काटेर ढालिन्छ र आगोमा फालिन्छ।+ २० यसकारण तिमीहरूले झूटा भविष्यवक्‍ताहरूलाई तिनीहरूका फलबाटै चिन्‍नेछौ।+

२१ “मलाई ‘प्रभु, प्रभु’ भन्‍नेहरूमध्ये सबै जना स्वर्गको राज्यमा पस्नेछैनन्‌ तर स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छाअनुसार चल्नेहरू मात्र त्यहाँ पस्नेछन्‌।+ २२ त्यस दिन धेरैले मलाई यसो भन्‍नेछन्‌: ‘हे प्रभु, हे प्रभु,+ के हामीले तपाईँको नाममा भविष्यवाणी गरेनौँ र? तपाईँको नाममा प्रेतहरूलाई* धपाएनौँ र? अनि के हामीले तपाईँको नाममा थुप्रै शक्‍तिशाली काम गरेनौँ र?’+ २३ त्यतिबेला म तिनीहरूलाई प्रस्टै यसो भन्‍नेछु: ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ! ए कुकर्मी हो, मबाट पर हटिहाल!’+

२४ “त्यसकारण मेरा यी कुरा सुन्‍ने र पालन गर्ने सबै जना चट्टानमाथि आफ्नो घर बनाउने बुद्धिमान्‌ मानिसजस्तै हुन्‌।+ २५ घनघोर पानी पऱ्‍यो, बाढी आयो, बतास चल्यो र घरलाई बेसरी हान्यो तैपनि त्यो ढलेन किनकि त्यो घर चट्टानमाथि बसालिएको थियो। २६ अर्कोतिर मेरा यी कुरा सुन्‍ने तर पालन नगर्ने सबै जना बालुवामाथि आफ्नो घर बनाउने मूर्ख मानिसजस्तै हुन्‌।+ २७ घनघोर पानी पऱ्‍यो, बाढी आयो, बतास चल्यो र घरलाई बेसरी हान्यो+ अनि त्यो ढल्यो र पूरै ध्वस्त भयो।”

२८ जब येसुले यी कुरा भनिसक्नुभयो, तब उहाँको सिकाउने तरिका देखेर भीड छक्क पऱ्‍यो+ २९ किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले जस्तो होइन तर परमेश्‍वरबाट अख्तियार पाएको व्यक्‍तिले जस्तोगरि सिकाइरहनुभएको थियो।+

८ उहाँ डाँडाबाट ओर्लनुभएपछि एक हुल मानिसहरू उहाँको पछि लागे। २ अनि हेर! एक जना कुष्ठरोगी आएर उहाँलाई दण्डवत्‌ गर्दै भन्‍न थाल्यो: “प्रभु, तपाईँले मलाई शुद्ध पार्न सक्नुहुन्छ। तपाईँले इच्छा गर्नुभए पुग्छ।”+ ३ अनि उहाँले आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्‍नुभयो: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।”+ अनि तुरुन्तै उसको कुष्ठरोग हट्‌यो र ऊ शुद्ध भइहाल्यो।+ ४ तब येसुले उसलाई भन्‍नुभयो: “यो कुरा कसैलाई नभन+ बरु गएर पुजारीलाई देखाऊ+ अनि मोसाले तोकेबमोजिमको भेटी चढाऊ+ ताकि तिमी शुद्ध भएछौ भनेर तिनीहरूले साक्षी पाऊन्‌।”

५ त्यसपछि उहाँ कफर्नहुम पस्नुभयो। तब एक जना सैनिक अफिसर आए र उहाँलाई बिन्ती गर्दै+ ६ यसो भने: “हे प्रभु, मेरो नोकर पक्षाघातले थलिएको छ र उसले असाध्यै दुःख पाइरहेको छ।” ७ उहाँले तिनलाई भन्‍नुभयो: “म त्यहाँ आएर उसलाई निको पार्नेछु।” ८ तर त्यस सैनिक अफिसरले यसो भन्दै जवाफ दिए: “प्रभु, तपाईँलाई मेरो घरमा स्वागत गर्न म लायकको छैनँ। केवल एक वचन बोलिदिनुहोस्‌ र मेरो नोकर निको हुनेछ। ९ किनकि म आफै पनि कसैको अधीनमा काम गर्छु अनि मेरो मुनि पनि सिपाहीहरू छन्‌। म एक जनालाई भन्छु, ‘जाऊ!’ र ऊ जान्छ अनि अर्कोलाई भन्छु, ‘आऊ!’ र ऊ आउँछ अनि मेरो दासलाई भन्छु, ‘यो गर!’ र उसले त्यो गर्छ।” १० यो सुनेर येसु आश्‍चर्यचकित हुनुभयो अनि आफ्नो पछिपछि आइरहेका मानिसहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, मैले उसको जस्तो ठूलो विश्‍वास इस्राएलमा अरू कसैको पाइनँ।+ ११ तर म तिमीहरूलाई भन्छु, पूर्व र पश्‍चिमबाट धेरै जना आउनेछन्‌ अनि स्वर्गको राज्यमा अब्राहाम, इसहाक र याकुबसँगै खान बस्नेछन्‌।+ १२ तर राज्यका सन्तान भने बाहिर अन्धकारमा फालिनेछन्‌, जहाँ तिनीहरू दाह्रा किटी-किटी रुनेछन्‌।”+ १३ त्यसपछि येसुले त्यस सैनिक अफिसरलाई भन्‍नुभयो: “जाऊ। तिमीले जस्तो विश्‍वास गरेका छौ, त्यस्तै होस्‌।”+ तब उत्तिखेरै तिनको नोकर निको भइहाल्यो।+

१४ अनि पत्रुसको घरमा पुग्नुहुँदा येसुले पत्रुसकी सासू+ ज्वरोले थलिएकी देख्नुभयो।+ १५ त्यसैले उहाँले उनको हात छुनुभयो+ र ज्वरोले उनलाई छोड्‌यो अनि उनी उठेर उहाँको लागि खाना तयार गर्न थालिन्‌। १६ तर साँझ परेपछि मानिसहरूले प्रेतहरू* बास गरेका धेरै जनालाई उहाँकहाँ ल्याए अनि उहाँले प्रेतहरूलाई एकै वचनले धपाउनुभयो र बिरामीहरूजति सबैलाई निको पार्नुभयो। १७ यसप्रकार भविष्यवक्‍ता यसैयाद्वारा भनिएको यो वचन पूरा भयो: “उसले हाम्रो रोगबिमार लियो अनि पीडा बोक्यो।”+

१८ आफूलाई चारैतिर भीडले घेरेको देखेर येसुले आफ्ना चेलाहरूलाई डुङ्‌गा खियाएर पारिपट्टि लैजाने आज्ञा दिनुभयो।+ १९ तब एक जना शास्त्रीले उहाँकहाँ आएर यसो भने: “हे गुरु, तपाईँ जहाँ-जहाँ जानुहुन्छ, म त्यहाँ-त्यहाँ तपाईँको पछि लाग्नेछु।”+ २० तर येसुले तिनलाई भन्‍नुभयो: “फ्याउराहरूको ओडार हुन्छ र आकाशका चराचुरुङ्‌गीको गुँड तर मानिसको छोराको भने शिर ढल्काउने ठाउँसमेत छैन।”+ २१ त्यसैगरि अर्को एक जना चेलाले उहाँलाई यसो भने: “हे प्रभु, पहिला मलाई गएर मेरो बुबालाई गाड्‌न दिनुहोस्‌।”+ २२ येसुले तिनलाई भन्‍नुभयो: “मुर्दाहरूलाई मुर्दाहरूले नै गाडून्‌ तर तिमीचाहिँ मेरो पछि लागिरह।”+

२३ उहाँ डुङ्‌गा चढ्‌नुभयो र चेलाहरू पनि उहाँसँगै गए।+ २४ अनि हेर! समुद्रमा ठूलो आँधी चल्यो र छाल उठेर डुङ्‌गा पानीले भरिन थाल्यो तर उहाँ भने निदाइरहनुभएको थियो।+ २५ अनि चेलाहरू आएर उहाँलाई यसो भन्दै ब्युँझाए: “हे प्रभु, हामीलाई बचाउनुहोस्‌, हामी मर्नै आँट्‌यौँ!” २६ तर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन यतिबिघ्न डराउँछौ? तिमीहरूको विश्‍वास कत्ति कमजोर!”+ त्यसपछि उहाँले उठेर आँधी र समुद्रलाई हप्काउनुभयो अनि समुद्र पूरै शान्त भयो।+ २७ तब चेलाहरूले छक्क परेर यसो भने: “यिनी को हुन्‌, जसको आज्ञा आँधी र समुद्रले समेत मान्छन्‌?”

२८ उहाँ पारिपट्टि गदरिनीहरूको इलाकामा पुग्नुभएपछि चिहानबाट आइरहेका दुई जना मानिससित उहाँको भेट भयो।+ प्रेतहरू बास गरेका ती मानिसहरू असाध्यै डरलाग्दा भएकाले कसैले पनि त्यो बाटो हिँड्‌ने आँट गर्दैनथ्यो। २९ अनि हेर! तिनीहरू यसो भन्दै चिच्याए: “हे परमेश्‍वरका छोरा, तपाईँको हामीसित के सरोकार?*+ के तपाईँ तोकिएको समयअघि नै हामीलाई सास्ती दिन यहाँ आउनुभएको हो?”+ ३० निकै पर सुँगुरहरूको एउटा ठूलो बथान चरिरहेको थियो।+ ३१ त्यसैले प्रेतहरूले यसो भन्दै उहाँलाई बिन्ती गर्न थाले: “हामीलाई धपाउने हो भने त्यस सुँगुरको बथानमा पठाउनुहोस्‌।”+ ३२ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जाओ!” तब तिनीहरू ती मानिसहरूबाट निस्केर सुँगुरहरूभित्र पसे अनि हेर! सुँगुरको पूरै बथान भीरतिर हुत्तिँदै गयो र समुद्रमा खसेर मऱ्‍यो। ३३ तब गोठालाहरू भागे अनि उनीहरूले प्रेतहरू बास गरेका ती मानिसहरूलाई के भयो, त्योलगायत अरू सबै कुरा सहरमा गएर सुनाए। ३४ अनि हेर! येसुलाई भेट्‌न पूरै सहर उर्लेर आयो र उहाँलाई देखेपछि तिनीहरूले उहाँलाई आफ्नो इलाकाबाट गइहाल्न बिन्ती गरे।+

९ त्यसपछि उहाँ डुङ्‌गा चढेर पारि आफ्नो सहर* जानुभयो।+ २ अनि हेर! मानिसहरूले पक्षाघात भएको एक जना मानिसलाई खाटमा राखेर उहाँकहाँ ल्याउँदै थिए। तिनीहरूको विश्‍वास देखेर येसुले पक्षाघात भएको त्यस मानिसलाई भन्‍नुभयो: “हरेस नखाऊ बाबु! तिम्रो पाप क्षमा भयो।”+ ३ अनि कोही-कोही शास्त्रीहरूले मनमनै यसो भने: “यसले त परमेश्‍वरको निन्दा गर्दै छ।” ४ तिनीहरू के सोच्दै छन्‌ भन्‍ने थाह पाएर येसुले यसो भन्‍नुभयो: “तिमीहरू किन आफ्नो हृदयमा यस्तो दुष्ट कुरा सोच्दै छौ?+ ५ वास्तवमा के भन्‍न सजिलो छ, ‘तिम्रो पाप क्षमा भयो’ भन्‍न कि ‘उठेर जाऊ’ भन्‍न?+ ६ तैपनि मानिसको छोरासित पृथ्वीमा पाप क्षमा गर्ने अख्तियार छ भन्‍ने तिमीहरूले बुझ . . .।” त्यसपछि उहाँले पक्षाघात भएको त्यस मानिसलाई भन्‍नुभयो: “उठ, तिम्रो खाट बोक अनि घर जाऊ।”+ ७ अनि ऊ उठ्‌यो र आफ्नो घरतिर लाग्यो। ८ यो देखेर भीडमा डर छायो र मानिसलाई यस्तो अख्तियार दिनुहुने परमेश्‍वरको तिनीहरूले महिमा गरे।

९ त्यसपछि त्यहाँबाट जाँदै गर्दा येसुले मत्ति नाम गरेको एक जना मानिसलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्‍नुभयो: “मेरो पछि लाग।” तब तिनी जुरुक्क उठेर उहाँको पछि लागे।+ १० केही समयपछि उहाँ मत्तिको घरमा खान बस्नुहुँदा हेर! कर उठाउने थुप्रै मानिस र थुप्रै पापी आए अनि येसु र उहाँका चेलाहरूसँगै बसेर खान थाले।+ ११ यो देखेर फरिसीहरूले उहाँका चेलाहरूलाई यसो भन्‍न थाले: “तिमीहरूका गुरु किन कर उठाउने र पापी मानिसहरूसित बसेर खान्छन्‌?”+ १२ तिनीहरूको कुरा सुनेर उहाँले भन्‍नुभयो: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई वैद्यको* खाँचो पर्छ।+ १३ त्यसैले जाओ र यसको अर्थ के हो, सिक: ‘म बलिदान होइन, कृपा चाहन्छु।’+ किनकि म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ।”

१४ त्यसपछि युहन्‍नाका चेलाहरू उहाँकहाँ आएर सोधे: “हामी र फरिसीहरू उपवास बस्ने गर्छौँ तर तपाईँका चेलाहरूचाहिँ किन उपवास बस्दैनन्‌?”+ १५ तब येसुले तिनीहरूलाई भन्‍नुभयो: “दुलहा+ आफूसँग होउन्जेल के तिनका साथीहरूले शोक मनाउँछन्‌ र? तर यस्तो बेला आउनेछ, जब दुलहालाई तिनीहरूबाट अलग पारिनेछ+ र त्यसपछि तिनीहरू उपवास बस्नेछन्‌। १६ कसैले पनि पुरानो लुगा फाट्‌दा त्यसमा नयाँ कपडाको टालो हाल्दैन नत्र त नयाँ टालो सुकेर जाँदा त्यसले पुरानो लुगालाई तानेर झनै फटाउँछ।+ १७ त्यसैगरि मानिसहरूले नयाँ दाखमद्य* पुरानो मशकमा* राख्दैनन्‌। यदि तिनीहरूले त्यसो गरे भने मशक च्यातिएर दाखमद्य पोखिन्छ अनि मशक पनि कामै नलाग्ने हुन्छ। तर मानिसहरूले नयाँ दाखमद्य नयाँ मशकमै राख्छन्‌ र ती दुवै जोगिन्छ।”

१८ उहाँले तिनीहरूलाई यी कुरा भनिरहनुभएको बेला हेर! एक जना शासक* उहाँलाई भेट्‌न आए र उहाँलाई दण्डवत्‌ गर्दै यसो भने: “यतिन्जेलसम्म त मेरी छोरी मरिसकी होली तर तपाईँ आएर ऊमाथि आफ्नो हात राखिदिनुहोस्‌ र ऊ जिउँदो हुनेछे।”+

१९ त्यसपछि येसु उठेर तिनको पछि लाग्नुभयो र उहाँका चेलाहरू पनि सँगसँगै गए। २० अनि हेर! १२ वर्षदेखि रगत बग्ने बेथाले पीडित एउटी स्त्री+ आएर पछाडिबाट उहाँको लुगाको किनारको फुर्का छोई।+ २१ किनकि उसले मनमनै यस्तो सोचेकी थिई: “यदि मैले उहाँको लुगा छुन मात्र पाएँ भने पनि म निको हुनेछु।” २२ येसु फनक्क फर्किनुभयो र उसलाई देखेपछि यसो भन्‍नुभयो: “नडराऊ नानी! तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”+ अनि उत्तिखेरै त्यो स्त्री निको भई।+

२३ जब उहाँ ती शासकको घरमा पुग्नुभयो, तब उहाँले शोकधुन बजाइरहेका बाँसुरीवादकहरू र खैलाबैला मच्चाइरहेको भीडलाई देख्नुभयो।+ २४ येसुले तिनीहरूलाई भन्‍नुभयो: “यहाँबाट जाओ किनकि सानी ठिटी मरेकी छैन तर निदाइरहेकी छे।”+ यो सुनेर तिनीहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाले। २५ भीडलाई बाहिर पठाइसकेपछि उहाँ तुरुन्तै भित्र पस्नुभयो र सानी ठिटीको हात समात्नुभयो+ अनि ऊ जुरुक्क उठी।+ २६ तब त्यस इलाकाको चारैतिर यो कुरा फैलियो।

२७ येसु त्यहाँबाट जाँदै गर्नुहुँदा दुई जना अन्धा+ यसो भनेर पुकार्दै उहाँको पछिपछि लागे: “हे दाउदका छोरा, हामीमाथि कृपा गर्नुहोस्‌।” २८ उहाँ घरभित्र पस्नुभएपछि ती अन्धाहरू उहाँकहाँ आए अनि येसुले तिनीहरूलाई सोध्नुभयो: “मैले तिमीहरूको आँखा खोलिदिन सक्छु भनेर के तिमीहरू विश्‍वास गर्छौ?”+ तिनीहरूले उहाँलाई जवाफ दिए: “गर्छौँ प्रभु।” २९ त्यसपछि उहाँले तिनीहरूको आँखा छुँदै+ भन्‍नुभयो: “तिमीहरूले विश्‍वास गरेअनुसारै तिमीहरूलाई होस्‌।” ३० तब तिनीहरूको आँखा खुल्यो। साथै येसुले तिनीहरूलाई यस्तो कडा चेतावनी दिनुभयो: “यो कुरा कसैले थाह नपाओस्‌।”+ ३१ तर त्यहाँबाट बाहिर निस्केपछि तिनीहरूले त्यस इलाकाभरि उहाँको विषयमा बताए।

३२ ती मानिसहरू जाँदै गर्दा हेर! प्रेत* बास गरेको एक जना गुँगोलाई मानिसहरूले उहाँकहाँ ल्याए।+ ३३ अनि उहाँले प्रेतलाई धपाउनुभएपछि त्यो गुँगो बोल्न थाल्यो।+ यो देखेर तीनछक पर्दै भीडले भन्यो: “इस्राएलमा कहिल्यै यस्तो देखिएको थिएन।”+ ३४ तर फरिसीहरू यसो भन्दै थिए: “प्रेतहरूको शासकबाट शक्‍ति पाएको भएर नै त्यसले प्रेतहरूलाई धपाउँछ।”+

३५ अनि सारा सहर र गाउँहरू घुम्दै येसुले तिनीहरूको सभाघरमा सिकाउनुभयो र राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँले हरप्रकारका रोगबिमार पनि निको पार्नुभयो।+ ३६ भीडलाई देखेर उहाँ टिठाउनुभयो+ किनभने तिनीहरू छाला काढिएका अनि गोठालो नभएर तितरबितर भएका भेडाहरूजस्ता थिए।+ ३७ त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “साँच्चै, फसल त प्रशस्त छ तर खेतालाहरू भने थोरै छन्‌।+ ३८ त्यसकारण फसलका मालिकलाई उहाँको बाली काट्‌न खेतालाहरू पठाइदिनुहोस्‌ भनेर बिन्ती गर।”+

१० यसकारण उहाँले आफ्ना १२ जना चेलालाई बोलाउनुभयो र तिनीहरूलाई प्रेतहरू* धपाउने अनि हरप्रकारका रोगबिमार निको पार्ने अख्तियार दिनुभयो।+

२ ती १२ जना प्रेषितका* नाम हुन्‌:+ पत्रुस भनिने सिमोन+ र तिनका भाइ अन्द्रियास;+ याकुब र तिनको भाइ युहन्‍ना,+ जो जब्दिका छोराहरू हुन्‌; ३ फिलिप र बारथोलोमाइ;+ थोमा+ अनि कर उठाउने मत्ति;+ याकुब, जो अल्फयसका छोरा हुन्‌ र थेदियस; ४ जोसिलो* सिमोन र यहुदा इस्करियोत, जसले पछि येसुलाई धोका दिए।+

५ यी १२ जनालाई येसुले यस्तो निर्देशन दिएर पठाउनुभयो:+ “अन्यजातिहरूको इलाकामा नजाओ र सामरियालीहरूको कुनै पनि सहरमा नपस+ ६ बरु इस्राएलका ती मानिसहरूकहाँ मात्र जाओ, जो हराएका भेडाहरूजस्ता छन्‌।+ ७ जाओ र यसो भन्दै प्रचार गर: ‘स्वर्गको राज्य नजिकै आएको छ।’+ ८ बिरामीहरूलाई निको पार,+ मरेकाहरूलाई जिउँदो बनाओ, कुष्ठरोगीहरूलाई शुद्ध पार, प्रेतहरूलाई धपाओ। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ। ९ तिमीहरूले आफ्नो थैलीमा सुन, चाँदी वा तामा नलैजाओ।+ १० यात्राको लागि खाजाको पोको, दुईसरो लुगा, जुत्ता अनि लौरो पनि नलैजाओ+ किनकि कामदार भोजनको योग्य हुन्छ।+

११ “तिमीहरू जुन सहर वा गाउँमा पसौला, त्यहाँ को योग्य छ भनी खोज र त्यो ठाउँ नछोडुन्जेल त्यहीँ बस।+ १२ जब तिमीहरू कुनै घरभित्र पस्छौ, तब त्यस घरमा भएकाहरूलाई अभिवादन गर्नुका साथै शान्तिको कामना गर। १३ त्यस घरमा भएकाहरू योग्य रहेछन्‌ भने तिमीहरूले कामना गरेको शान्ति तिनीहरूमाथि रहोस्‌+ तर यदि योग्य रहेनछन्‌ भने तिमीहरूको शान्ति तिमीहरूकहाँ नै फर्किआओस्‌। १४ यदि कसैले तिमीहरूलाई स्वागत गर्दैन वा तिमीहरूको कुरा सुन्दैन भने त्यस घर वा सहरबाट निस्कँदा तिमीहरूले आफ्नो पैतालाको धुलो टकटक्याइदेओ।*+ १५ म तिमीहरूलाई साँच्चै भन्छु, न्यायको दिनमा त्यस सहरले सदोम र गमोराले+ भन्दा चर्को दण्ड पाउनेछ।

१६ “हेर, म तिमीहरूलाई पठाउँदै छु र तिमीहरू ब्वाँसाहरूको बीचमा परेका भेडाहरूजस्तै हुनेछौ। त्यसैले तिमीहरू सर्पजस्तै चनाखो तर ढुकुरजस्तै सुधो होओ।+ १७ मानिसहरूदेखि तिमीहरू होसियार होओ किनभने तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पिनेछन्‌+ अनि सभाघरहरूमा कोर्रा लगाउनेछन्‌।+ १८ मेरो खातिर तिमीहरू राज्यपाल र राजाहरूसामु उभ्याइनेछौ।+ अनि तिमीहरूले तिनीहरूलाई र जातिजातिका मानिसहरूलाई मेरो विषयमा साक्षी दिनेछौ।+ १९ तर तिनीहरूले तिमीहरूलाई पक्रेर लैजाँदा कसरी बोल्ने र के बोल्ने भनी चिन्ता नगर। के बोल्ने हो, त्यो तिमीहरूले त्यतिखेरै थाह पाउनेछौ।+ २० किनकि तिमीहरू आफ्नै भरमा होइन तर तिमीहरूका बुबाको पवित्र शक्‍तिको मदत पाएर बोल्नेछौ।+ २१ अर्को कुरा, दाइले भाइलाई र बुबाले छोरालाई मार्नको लागि सुम्पिनेछ अनि छोराछोरी आफ्ना आमाबुबाको विरुद्धमा उठ्‌नेछन्‌ र तिनीहरूलाई मार्न लगाउनेछन्‌।+ २२ तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्‌।+ तर जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।+ २३ जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा खेदो गर्छन्‌, तब भागेर अर्को सहरमा जाओ।+ म तिमीहरूलाई साँच्चै भन्छु, मानिसको छोरा नआइपुगुन्जेल तिमीहरूले कुनै पनि हालतमा इस्राएलका सबै सहर अनि गाउँहरूमा प्रचार गर्न सिद्‌ध्याइसकेका हुनेछैनौ।

२४ “चेला आफ्नो गुरुभन्दा श्रेष्ठ हुँदैन न त दास आफ्नो मालिकभन्दा श्रेष्ठ हुन्छ।+ २५ चेला आफ्नो गुरुजस्तो र दास आफ्नो मालिकजस्तो हुनु नै यथेष्ट छ।+ यदि मानिसहरूले घरको मालिकलाई त बालजिबुल* भन्छन्‌ भने+ तिनका घरकाहरूलाई झन्‌ किन नभन्लान्‌? २६ यसकारण तिनीहरूसित नडराओ; लुकाइएको यस्तो कुनै कुरा छैन, जुन प्रकट हुँदैन अनि यस्तो कुनै गोप्य कुरा छैन, जुन थाह हुँदैन।+ २७ तिमीहरूलाई म जे अन्धकारमा भन्छु, त्यो उज्यालोमा भनिदेओ अनि जे खुसुक्क भन्छु, त्यो घरको धुरीबाट फुकिदेओ।+ २८ तिम्रो शरीर मार्न सक्ने तर तिम्रो जीवन नाश गर्न नसक्नेहरूसित* नडराऊ+ तर तिम्रो शरीर र जीवन दुवैलाई गेहेन्‍नामा* नाश गर्न सक्नेसित डराऊ।+ २९ के दुई वटा भँगेरा एक पैसामा* बिक्दैन र? तैपनि तीमध्ये एउटा पनि तिमीहरूका बुबाले थाह नपाई भुईँमा झर्दैन।+ ३० तर तिमीहरूको शिरको केशसमेत सबै गनिएका छन्‌। ३१ त्यसैले नडराओ, तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।+

३२ “जसले मलाई मानिसहरूसामु स्वीकार गर्छ,+ म पनि उसलाई स्वर्गमा बस्नुहुने मेरो बुबासामु स्वीकार गर्नेछु।+ ३३ तर जसले मलाई मानिसहरूसामु इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा बस्नुहुने मेरो बुबासामु इन्कार गर्नेछु।+ ३४ म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नसम्झ; म शान्ति ल्याउन होइन तर फूट गराउन* आएको हुँ।+ ३५ किनकि म छोरालाई बुबाविरुद्ध, छोरीलाई आमाविरुद्ध अनि बुहारीलाई सासूविरुद्ध उठाएर फूट गराउन आएको हुँ।+ ३६ वास्तवमा मानिसको शत्रु उसको आफ्नै घरभित्रका मानिसहरू हुनेछन्‌। ३७ जसले आफ्नो बुबा अथवा आमालाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुँदैन र जसले आफ्नो छोरा अथवा छोरीलाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुँदैन।+ ३८ जो आफ्नो यातनाको खम्बा* बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन योग्य हुँदैन।+ ३९ आफ्नो ज्यान जोगाउन खोज्नेले त्यो गुमाउनेछ र मेरो खातिर आफ्नो ज्यान गुमाउनेले त्यो पाउनेछ।+

४० “जसले तिमीहरूलाई स्वागत गर्छ, उसले मलाई पनि स्वागत गर्छ र जसले मलाई स्वागत गर्छ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्छ।+ ४१ यदि कसैले भविष्यवक्‍तालाई तिनी भविष्यवक्‍ता भएकै कारणले स्वागत गर्छ भने उसले भविष्यवक्‍ताले पाउने इनाम पाउनेछ+ र यदि कसैले धर्मी मानिसलाई तिनी धर्मी भएकै कारणले स्वागत गर्छ भने उसले धर्मी मानिसले पाउने इनाम पाउनेछ। ४२ अनि यदि कसैले यीमध्ये सबैभन्दा सानालाई मेरो चेला हो भनी सम्झेर एक कचौरा चिसो पानी पिउन दिन्छ भने म तिमीहरूलाई साँच्चै भन्छु, उसले कुनै पनि हालतमा आफ्नो इनाम गुमाउनेछैन।”+

११ आफ्ना १२ जना चेलालाई निर्देशन दिइसकेपछि येसु अरू सहरहरूमा सिकाउन र प्रचार गर्न त्यहाँबाट जानुभयो।+

२ तब ख्रिष्टले गर्नुभएका कामहरूको विषयमा युहन्‍नाले झ्यालखानामा सुने+ अनि आफ्ना चेलाहरूलाई उहाँकहाँ यो कुरा सोध्न पठाए:+ ३ “आउनेवाला तपाईँ नै हुनुहुन्छ कि हामी अरू कसैको बाटो हेरौँ?”+ ४ येसुले तिनीहरूलाई यसो भन्‍नुभयो: “जाओ र तिमीहरूले जे सुनिरहेका छौ अनि देखिरहेका छौ, युहन्‍नालाई त्यो बताइदेओ:+ ५ अन्धाहरूले देख्न थालेका छन्‌,+ लङ्‌गडाहरू हिँड्‌न थालेका छन्‌, कुष्ठरोगीहरू+ शुद्ध पारिएका छन्‌, बहिराहरूले सुन्‍न थालेका छन्‌, मरेकाहरू जीवित भएका छन्‌ अनि गरिबहरूलाई सुसमाचार सुनाइँदै छ।+ ६ त्यो मानिस आनन्दित हो, जसले मेरो विषयमा कुनै शङ्‌का गर्दैन।”*+

७ तिनीहरू आफ्नो बाटो लागेपछि येसुले भीडलाई युहन्‍नाको विषयमा यसो भन्‍न थाल्नुभयो: “तिमीहरू के हेर्न निर्जनभूमिमा गयौ?+ हावाले यताउता हल्लाइरहेको नर्कट हेर्न?+ ८ त्यसोभए के हेर्न गयौ त? मिहिन कपडाको लुगा लगाएको मानिसलाई हेर्न? त्यस्तो लुगा लगाएका मानिसहरू त महलमा हुन्छन्‌। ९ तिमीहरू किन गयौ, लौ साँच्चै भन त। भविष्यवक्‍तालाई हेर्न? हो, म तिमीहरूलाई भन्छु, भविष्यवक्‍ताभन्दा पनि महान्‌ व्यक्‍तिलाई हेर्न।+ १० तिनी उनै हुन्‌, जसको विषयमा यस्तो लेखिएको छ: ‘हेर, म मेरो दूतलाई तिम्रो अघिअघि पठाउँदै छु र तिनले तिम्रो बाटो तयार पार्नेछन्‌!’+ ११ म तिमीहरूलाई साँच्चै भन्छु, बप्तिस्मा गराउने युहन्‍नाभन्दा ठूलो अहिलेसम्म कोही जन्मेको छैन तैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो तिनीभन्दा ठूलो हो।+ १२ बप्तिस्मा गराउने युहन्‍नाको समयदेखि अहिलेसम्म मानिसहरू स्वर्गको राज्य प्राप्त गर्ने लक्ष्यसम्म पुग्न अघि बढिरहेका छन्‌ र यसरी अघि बढ्‌नेहरूले त्यो राज्य हासिल गरिरहेका छन्‌।+ १३ किनकि सबै भविष्यवक्‍ता र व्यवस्थाका भविष्यवाणीहरू युहन्‍नाको समयसम्मको लागि थियो।+ १४ चाहे तिमीहरूले स्वीकार गर या नगर, ‘आउनेवाला एलिया’ तिनी नै हुन्‌।+ १५ जसको कान छ, उसले सुनोस्‌।

१६ “यस पुस्तालाई म कोसित तुलना गरूँ?+ यो त बजारमा बस्ने ती साना केटाकेटीजस्तै छ, जसले आफ्ना साथीहरूलाई कराउँदै १७ यसो भन्छन्‌: ‘हामीले तिमीहरूको लागि बाँसुरी बजायौँ तर तिमीहरू नाचेनौ; हामीले शोकगीत गायौँ तर तिमीहरूले छाती पिटेर बिलौना गरेनौ।’ १८ त्यसैगरि युहन्‍नाले अरूले जस्तो न खाए न पिए तैपनि मानिसहरू यसो भन्छन्‌: ‘उसमा प्रेत* बास गरेको छ।’ १९ मानिसको छोराचाहिँ अरूले जस्तै खान्छ र पिउँछ+ तैपनि मानिसहरू यसो भन्छन्‌: ‘हेर, घिचुवा र पियक्कड मानिस! कर उठाउने र पापीहरूको साथी।’+ तर मानिसले गर्ने असल कामैले ऊ बुद्धिमान्‌ हो भनेर प्रमाणित गर्छ।”+

२० अनि जुन-जुन सहरमा उहाँले धेरैजसो शक्‍तिशाली काम गर्नुभएको थियो, ती सहरहरूले पश्‍चात्ताप नगरेको हुनाले उहाँले तिनीहरूलाई यसो भन्दै धिक्कार्न थाल्नुभयो: २१ “ए कोराजिन, तँलाई धिक्कार! ए बेथसेदा, तँलाई धिक्कार! किनकि तिमीहरूकहाँ गरिएका शक्‍तिशाली कामहरू टायर र सिदोनमा गरिएका भए तिनीहरूले भाङ्‌ग्रा लगाएर अनि खरानीमाथि बसेर धेरै अघि नै पश्‍चात्ताप गरिसकेका हुने थिए।+ २२ त्यसैले म तिमीहरूलाई भन्छु, न्यायको दिनमा टायर र सिदोनले भन्दा तिमीहरूले चर्को दण्ड पाउनेछौ।+ २३ अनि ए कफर्नहुम,+ के तँचाहिँ उचालिएर आकाशसम्मै पुग्नेछस्‌? तँ तल चिहानमा* खसालिनेछस्‌+ किनकि तँकहाँ गरिएका शक्‍तिशाली कामहरू सदोममा गरिएका भए त्यो सहर अहिलेसम्म रहिरहने थियो। २४ त्यसैले म तँलाई भन्छु, न्यायको दिनमा सदोमले भन्दा तैँले चर्को दण्ड पाउनेछस्‌।”+

२५ त्यसबेला येसुले यसो भन्‍नुभयो: “हे बुबा, स्वर्ग र पृथ्वीका मालिक, म सबैको अगाडि तपाईँको प्रशंसा गर्छु किनकि तपाईँले यी कुरा बुद्धिमान्‌ र बुद्धिजीवीहरूबाट लुकाउनुभएको छ तर साना केटाकेटीलाई प्रकट गर्नुभएको छ।+ २६ हो बुबा, यसै गर्न तपाईँलाई उचित लाग्यो। २७ मेरो बुबाले सबै कुरा मलाई सुम्पनुभएको छ+ अनि छोरालाई बुबाले भन्दा राम्ररी अरू कसैले चिन्दैन।+ त्यसैगरि बुबालाई छोराले अनि ती मानिसहरूले मात्र राम्ररी चिन्छन्‌, जसलाई छोराले प्रकट गर्न चाहन्छ।+ २८ हे कठोर श्रमले थाकेका र भारले दबिएका सबै मानिस हो, मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु। २९ मेरो जुवा बोक र मबाट सिक किनकि म कोमल स्वभावको र नम्र हृदयको छु+ अनि तिमीहरूले स्फूर्ति पाउनेछौ। ३० किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।”

१२ एकपटक येसु विश्रामदिनमा* गहुँ खेत हुँदै गइरहनुभएको थियो। उहाँका चेलाहरू भोकाए अनि तिनीहरूले गहुँका बालाहरू टिपेर खान थाले।+ २ यो देखेर फरिसीहरूले उहाँलाई भने: “हेर्नुहोस्‌, तपाईँका चेलाहरूले विश्रामदिनमा गर्न नहुने काम गरेर नियम उल्लङ्‌घन गरिरहेका छन्‌।”+ ३ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “दाउदले आफू र आफ्ना मानिसहरू भोकाउँदा के गरे, तिमीहरूले पढेका छैनौ?+ ४ परमेश्‍वरलाई चढाइएका रोटीहरू*+ पुजारीहरूबाहेक अरूले खानु उचित नभए तापनि तिनी परमेश्‍वरको भवनभित्र पसे अनि तिनीहरूले ती रोटीहरू खाए।+ ५ अथवा विश्रामदिनको बेला मन्दिरमा सेवा गर्ने पुजारीहरूले विश्रामदिनसम्बन्धी नियम पालन गर्दैनन्‌ तैपनि तिनीहरू निर्दोष ठहरिन्छन्‌ भनी के तिमीहरूले व्यवस्थामा पढेका छैनौ?+ ६ तर म तिमीहरूलाई भन्छु, मन्दिरभन्दा पनि महान्‌ कोही एक जना यहाँ छ।+ ७ ‘म बलिदान होइन, कृपा चाहन्छु’+ भन्‍नुको अर्थ के हो, तिमीहरूले बुझेको भएदेखि निर्दोषहरूलाई दोषी ठहराउने थिएनौ। ८ किनकि मानिसको छोरा नै विश्रामदिनको प्रभु हो।”+

९ त्यस ठाउँबाट जानुभएपछि उहाँ तिनीहरूको सभाघरमा पस्नुभयो। १० अनि हेर! त्यहाँ एक जना मानिस थियो, जसको एउटा हात सुकेको* थियो।+ त्यसैले उहाँलाई दोष लगाउने निहुँ पाउन फरिसीहरूले सोधे: “विश्रामदिनमा निको पार्दा नियम उल्लङ्‌घन हुन्छ कि हुँदैन?”+ ११ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसले आफूसित भएको एउटै भेडा विश्रामदिनमा खाल्टोमा खस्यो भने त्यसलाई समातेर बाहिर निकाल्दैन?+ १२ एउटा भेडाभन्दा मानिस झन्‌ कत्ति बहुमूल्य होला! त्यसैले विश्रामदिनमा असल काम गर्दा नियम उल्लङ्‌घन हुँदैन।” १३ तब उहाँले त्यस मानिसलाई भन्‍नुभयो: “तिम्रो हात तन्काऊ।” उसले आफ्नो हात तन्कायो अनि त्यो हात पनि अर्को हातजस्तै सद्दे भइहाल्यो। १४ तर फरिसीहरू बाहिर गए अनि उहाँलाई मार्न आपसमा मतो गरे। १५ यसको सुइँको पाएर येसु त्यहाँबाट गइहाल्नुभयो। तब धेरै जना उहाँको पछि लागे+ र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो। १६ तर उहाँ को हुनुहुन्छ भनेर कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई कडा चेतावनी दिनुभयो।+ १७ यसप्रकार यसैया भविष्यवक्‍ताद्वारा भनिएको यो वचन पूरा भयो:

१८ “हेर! मेरो सेवक,+ जसलाई मैले रोजेँ; मेरो प्रिय, जसलाई मैले स्विकारेको छु।+ म तिनीमाथि आफ्नो पवित्र शक्‍ति खन्याउनेछु+ अनि न्याय के हो, तिनले जातिजातिका मानिसहरूलाई सिकाउनेछन्‌। १९ तिनले झगडा गर्नेछैनन्‌,+ तिनी चिच्याउनेछैनन्‌ अनि कसैले मूलबाटोमा तिनको स्वर सुन्‍नेछैन। २० तिनले फुटेको नर्कट भाँच्नेछैनन्‌, धिपधिप बलिरहेको सलेदो निभाउनेछैनन्‌+ अनि तिनले पूर्णतया न्याय स्थापित गर्नेछन्‌। २१ जातिजातिका मानिसहरूले तिनकै नाममा आशा राख्नेछन्‌।”+

२२ त्यसपछि तिनीहरूले प्रेत* बास गरेको एक जना मानिस उहाँकहाँ ल्याए, जो अन्धो र गुँगो थियो अनि उहाँले उसलाई निको पार्नुभयो। तब त्यो मानिसले बोल्न र देख्न थाल्यो। २३ यो देखेर भीडमा भएकाहरू सबै छक्क परे र यसो भन्‍न थाले: “कतै यिनी दाउदका छोरा त होइनन्‌?” २४ यो सुनेर फरिसीहरूले भने: “यस मानिसले प्रेतहरूको शासक बालजिबुलको* मदत लिएर प्रेतहरूलाई धपाउँछ।”+ २५ तिनीहरू के सोच्दै छन्‌ भन्‍ने थाह पाएर उहाँले यसो भन्‍नुभयो: “जुन राज्यभित्र फूट छ, त्यो उजाड हुन्छ अनि जुन सहर वा घरभित्र फूट छ, त्यो टिक्नेछैन। २६ त्यसैगरि यदि सैतानले सैतानलाई नै धपाउँछ भने त्यो आफैमा फूट हुन्छ र त्यसो भयो भने त्यसको राज्य कसरी टिक्ला र? २७ साथै यदि म बालजिबुलको मदतले प्रेतहरूलाई धपाउँछु भने तिमीहरूका छोराहरूचाहिँ* कसको मदतले धपाउँछन्‌? त्यसैले तिमीहरूका छोराहरूले नै तिमीहरूलाई गलत साबित गर्नेछन्‌। २८ तर यदि म परमेश्‍वरको पवित्र शक्‍तिले प्रेतहरूलाई धपाउँछु भने यसको मतलब परमेश्‍वरको राज्य आएको तिमीहरूले चालै पाएका रहेनछौ।+ २९ अथवा के कसैले बलियो मानिसको घरमा घुसेर उसको सामान कब्जा गर्नुअघि पहिला उसलाई बाँध्नुपर्दैन र? त्यसपछि मात्र त्यसले उसको घर लुट्‌न सक्छ। ३० जो मेरो पक्षमा छैन, त्यो मेरो विरुद्धमा हुन्छ अनि जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्छ।+

३१ “यसकारण म तिमीहरूलाई भन्छु, मानिसहरूले गर्ने हरप्रकारका पाप र निन्दा क्षमा गरिनेछ तर पवित्र शक्‍तिविरुद्ध गरिएको निन्दा क्षमा गरिनेछैन।+ ३२ उदाहरणको लागि, जसले मानिसको छोराको विरुद्धमा केही बोल्छ, उसलाई क्षमा दिइनेछ।+ तर जसले पवित्र शक्‍तिको विरुद्धमा बोल्छ, उसलाई न यस युगमा* न त पछि आउने युगमै क्षमा दिइनेछ।+

३३ “यदि तिमीहरू असल रूख बन्यौ भने असलै फल फलाउनेछौ तर खराब रूख बन्यौ भने खराबै फल फलाउनेछौ किनकि रूख कस्तो हो, त्यसको फलैबाट चिनिन्छ।+ ३४ ए विषालु सर्पका सन्तान हो,+ तिमीहरू आफै दुष्ट छौ अनि कसरी असल कुरा बोल्न सक्छौ र? किनकि हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।+ ३५ असल मानिसले आफ्नो असल थोकको भण्डारबाट असलै थोक निकाल्छ, अर्कोतिर दुष्ट मानिसले आफ्नो दुष्टताको भण्डारबाट दुष्टै थोक निकाल्छ।+ ३६ म तिमीहरूलाई भन्छु, आफूले बोल्ने हरेक व्यर्थ कुराको लागि मानिसहरू न्यायको दिनमा जबाफदेही हुनेछन्‌।+ ३७ किनकि तिमी जे बोल्छौ, त्यसैको आधारमा तिमीलाई धर्मी ठहराइनेछ अनि तिमी जे बोल्छौ, त्यसैको आधारमा तिमीलाई दोषी ठहराइनेछ।”

३८ तब कोही-कोही शास्त्री र फरिसीहरूले उहाँलाई यस्तो जवाफ फर्काए: “हे गुरुज्यू, तपाईँले एउटा चिन्ह देखाउनुभएको हामी हेर्न चाहन्छौँ।”+ ३९ उहाँले तिनीहरूलाई जवाफ दिनुभयो: “दुष्ट र विश्‍वासघाती पुस्ताले चिन्ह मात्र खोजिरहन्छ तर त्यसलाई भविष्यवक्‍ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।+ ४० किनकि योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात रहेजस्तै+ मानिसको छोरा पनि पृथ्वीको गर्भमा तीन दिन र तीन रात रहनेछ।+ ४१ न्यायको बेला निनवेका मानिसहरू यो पुस्तासँगै खडा हुनेछन्‌ र यसलाई दोषी ठहराउनेछन्‌ किनभने योनाले प्रचार गर्दा तिनीहरूले पश्‍चात्ताप गरे।+ तर हेर! योनाभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।+ ४२ न्यायको बेला दक्षिणकी महारानी यो पुस्तासँगै खडा हुनेछिन्‌ र यसलाई दोषी ठहराउनेछिन्‌ किनभने सुलेमानका बुद्धिका कुराहरू सुन्‍न तिनी पृथ्वीको पल्लो छेउबाट आइन्‌।+ तर हेर! सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।+

४३ “जब एउटा प्रेत* एक जना मानिसबाट बाहिर निस्कन्छ, तब त्यसले सुक्खा ठाउँहरूमा विश्रामस्थल खोज्छ तर भेट्टाउँदैन।+ ४४ अनि त्यसले भन्छ: ‘म जुन घरबाट निस्केर आएँ, त्यहीँ जान्छु।’ त्यहाँ पुग्दा त्यसले त्यो घर खाली मात्र होइन, सफा पारेर सजिसजाउ गरिएको पनि पाउँछ। ४५ तब त्यो जान्छ र आफूभन्दा पनि दुष्ट अरू सात वटा प्रेतलाई सँगै लिएर आउँछ र तिनीहरू त्यस मानिसभित्र पसेर त्यहीँ बस्छन्‌। अनि त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा झन्‌ खराब हुन्छ।+ यस दुष्ट पुस्तालाई पनि यस्तै हुनेछ।”

४६ उहाँ भीडसित बोलिरहनुभएको बेला उहाँकी आमा र भाइहरू+ उहाँसित कुरा गर्न बाहिर पर्खिरहेका थिए।+ ४७ तब कसैले उहाँलाई भन्यो: “हेर्नुहोस्‌! तपाईँकी आमा र तपाईँका भाइहरू तपाईँसित कुरा गर्न बाहिर पर्खिरहेका छन्‌।” ४८ उहाँले त्यस मानिसलाई जवाफ दिनुभयो: “को हुन्‌ मेरी आमा अनि को हुन्‌ मेरा भाइहरू?” ४९ आफ्नो हातले चेलाहरूलाई देखाउँदै उहाँले भन्‍नुभयो: “हेर! मेरी आमा अनि मेरा भाइहरू!+ ५० किनकि जसले स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छा पूरा गर्छ, ऊ नै मेरो दाजुभाइ, दिदीबहिनी र आमा हो।”+

१३ त्यस दिन येसु घरबाट निस्केर समुद्रको किनारामा बसिरहनुभएको थियो। २ तब मानिसहरूको एउटा विशाल भीड उहाँको वरिपरि जम्मा भयो। त्यसैले उहाँ डुङ्‌गामा चढेर बस्नुभयो अनि सारा भीड भने किनारामा उभिरहेको थियो।+ ३ त्यसपछि उहाँले उदाहरणहरू चलाएर तिनीहरूलाई धेरै कुरा सिकाउनुभयो:+ “हेर, एक जना बिउ छर्ने मानिस बिउ छर्नलाई निस्क्यो।+ ४ बिउ छर्दै जाँदा केही बिउ बाटोको छेउछाउमा परे अनि चराहरू आएर ती खाइदिए।+ ५ अरू केहीचाहिँ चट्टानमा परे, जहाँ त्यति माटो थिएन अनि माटो गहिरो नभएकोले ती तुरुन्तै टुसाइहाले।+ ६ तर घाम लागेपछि ती ओइलाए अनि जरा लाग्न नपाएकोले सुकिहाले। ७ अझ अरूचाहिँ काँडाहरूको बीचमा परे अनि काँडाहरू बढ्‌दै जाँदा ती निसासिए।+ ८ बाँकी अरू भने असल माटोमा परे अनि कुनैले १०० गुणा, कुनैले ६० गुणा र कुनैले ३० गुणा फल फलाउन थाले।+ ९ जसको कान छ, उसले सुनोस्‌।”+

१० अनि चेलाहरू आएर उहाँलाई भने: “तिनीहरूसित कुरा गर्दा तपाईँ किन उदाहरणहरू चलाउनुहुन्छ?”+ ११ उहाँले यस्तो जवाफ दिनुभयो: “तिमीहरूलाई स्वर्गको राज्यको पवित्र रहस्य बुझ्ने मौका दिइएको छ+ तर ती मानिसहरूलाई त दिइएको छैन। १२ किनकि जोसित छ, उसलाई अझ धेरै दिइनेछ र ऊसित प्रशस्त हुनेछ तर जोसित छैन, ऊसित भएको पनि खोसिनेछ।+ १३ त्यसैले म तिनीहरूसित कुरा गर्दा उदाहरणहरू चलाउँछु किनभने तिनीहरू हेर्न त हेर्छन्‌ तर देख्दैनन्‌, सुन्‍न त सुन्छन्‌ तर ठम्याउँदैनन्‌ न त तिनीहरू त्यसको अर्थ नै बुझ्छन्‌।+ १४ यसैयाको भविष्यवाणी तिनीहरूमाथि पूरा हुन्छ, जहाँ यसो भनिएको छ: ‘सुनेर पनि तिमीहरूले कुनै हालतमा बुझ्नेछैनौ अनि हेरेर पनि तिमीहरूले कुनै हालतमा देख्नेछैनौ।+ १५ किनकि यी मानिसहरूको हृदय बोधो भएको छ र तिनीहरूका कान बाक्लो भएका छन्‌ अनि तिनीहरूले आफ्ना आँखा चिम्लिएका छन्‌ नत्र त तिनीहरूले आफ्ना आँखाले देख्ने थिए, कानले सुन्‍ने थिए, बुझेर हृदयमा लिने थिए र मकहाँ फर्केर आउने थिए अनि म तिनीहरूलाई निको पार्ने थिएँ।’+

१६ “तर तिमीहरू आनन्दित हौ किनभने तिमीहरूका आँखाले देख्छन्‌ र तिमीहरूका कानले सुन्छन्‌।+ १७ म तिमीहरूलाई साँच्चै भन्छु, धेरै भविष्यवक्‍ता र धर्मी मानिसहरूले तिमीहरूले देखिरहेका कुराहरू हेर्ने इच्छा गरेका थिए तर हेर्न पाएनन्‌+ अनि तिमीहरूले सुनिरहेका कुराहरू सुन्‍ने इच्छा गरेका थिए तर सुन्‍न पाएनन्‌।

१८ “अब तिमीहरू बिउ छर्ने मानिसको उदाहरणको अर्थ सुन।+ १९ यदि कसैले राज्यको वचन सुन्छ तर त्यसको अर्थ बुझ्दैन भने त्यो दुष्ट*+ आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ; बाटोको छेउछाउमा छरिएको यही हो।+ २० चट्टानमा छरिएकोचाहिँ त्यो हो, जसले वचन सुनेर खुसीसाथ तुरुन्तै स्विकार्छ।+ २१ उसको आफ्नै जरा नभए तापनि केही समयसम्म रहिरहन्छ तर वचनको खातिर सङ्‌कष्ट वा खेदो आउनेबित्तिकै ठेस खान्छ। २२ काँडाहरूको बीचमा छरिएको यही हो, जसले वचन सुन्छ तर यस संसारमा* आइपर्ने फिक्री+ र धनसम्पत्तिको भ्रामक शक्‍तिले गर्दा वचन निसासिन्छ र त्यसले फल फलाउँदैन।+ २३ असल माटोमा छरिएको यही हो, जसले वचन सुन्छ र त्यसको अर्थ बुझ्छ अनि फल पनि फलाउँछ; कुनैले १०० गुणा, कुनैले ६० गुणा र कुनैले ३० गुणा।”+

२४ उहाँले तिनीहरूलाई यसो भन्दै अर्को उदाहरण सुनाउनुभयो: “स्वर्गको राज्यलाई एक जना यस्तो मानिससित तुलना गर्न सकिन्छ, जसले आफ्नो खेतमा असल बिउ छऱ्‍यो। २५ मानिसहरू सुतिरहेको बेला उसको शत्रु आयो र गहुँको बीचबीचमा सामा छरेर गयो। २६ जब बाला निस्केर गेडा लाग्यो, तब सामा पनि देखा पऱ्‍यो। २७ त्यसैले घरमालिकका दासहरू आएर उसलाई यसो भने: ‘मालिक, हजुरले आफ्नो खेतमा असल बिउ छर्नुभएको होइन र? त्यसोभए सामा कहाँबाट आयो?’ २८ उसले तिनीहरूलाई भन्यो: ‘शत्रुले त्यसो गरेको हो।’+ तिनीहरूले उसलाई भने: ‘त्यसोभए के हामी गएर ती उखेलौँ?’ २९ उसले भन्यो: ‘भो, पर्दैन। नत्र त तिमीहरूले सामासँगसँगै गहुँ पनि उखेल्नेछौ। ३० बाली काट्‌ने बेलासम्म दुवैलाई सँगै बढ्‌न देओ। अनि बाली काट्‌ने बेला म खेतालाहरूलाई भन्‍नेछु, पहिला सामा बटुलेर जलाउनलाई बिटा बाँध र त्यसपछि गहुँ जम्मा गरेर मेरो भण्डारमा राख।’”+

३१ उहाँले तिनीहरूलाई यसो भन्दै अर्को उदाहरण सुनाउनुभयो: “स्वर्गको राज्य रायोको दानाजस्तो हो, जसलाई एक जना मानिसले आफ्नो खेतमा रोप्यो।+ ३२ यो वास्तवमा बिउहरूमध्ये सबैभन्दा सानो हो तर बढेपछि सागपातहरूमध्ये सबैभन्दा ठूलो हुन्छ र रूख बन्छ। अनि आकाशका चराचुरुङ्‌गी आएर यसका हाँगाहरूमा बास बस्छन्‌।”

३३ उहाँले तिनीहरूलाई अर्को उदाहरण पनि सुनाउनुभयो: “स्वर्गको राज्य खमिरजस्तो* हो, जसलाई एउटी स्त्रीले तीन भाँडो* पीठोमा मिसाई र पूरै पीठो खमिरा नहोउन्जेल राखिछोडी।”+

३४ येसुले यी सबै कुरा उदाहरण चलाएर भीडलाई बताउनुभयो। वास्तवमा उदाहरण नचलाई उहाँ तिनीहरूसित कुरा गर्नुहुन्‍नथ्यो।+ ३५ यसरी भविष्यवक्‍ताद्वारा भनिएको यो वचन पूरा भयो: “उदाहरणहरू चलाएर म आफ्नो मुख खोल्नेछु, प्रारम्भदेखि* गुप्तमा रहेको कुरा म घोषणा गर्नेछु।”+

३६ भीडलाई बिदा गरिसकेपछि उहाँ घरभित्र पस्नुभयो। अनि चेलाहरू उहाँकहाँ आएर भने: “खेतको सामाको उदाहरणको अर्थ हामीलाई बताइदिनुहोस्‌।” ३७ उहाँले भन्‍नुभयो: “असल बिउ छर्ने व्यक्‍ति मानिसको छोरा हो; ३८ खेत संसार हो;+ असल बिउ राज्यका सन्तान हुन्‌; सामाचाहिँ त्यस दुष्टका* सन्तान हुन्‌;+ ३९ ती छर्ने शत्रु दियाबल हो। बाली काट्‌ने समयचाहिँ युगको आखिरी समय* हो अनि खेतालाहरूचाहिँ स्वर्गदूतहरू हुन्‌। ४० त्यसकारण जसरी सामा बटुलेर आगोमा जलाइन्छ, यस युगको आखिरी समयमा* पनि त्यस्तै हुनेछ।+ ४१ मानिसको छोराले आफ्ना स्वर्गदूतहरू पठाउनेछ र तिनीहरूले ठेस लाग्ने सबै कुरा* र कुकर्मीहरूलाई उहाँको राज्यबाट बटुल्नेछन्‌ ४२ अनि आगोको भट्टीमा फ्याँकिदिनेछन्‌,+ जहाँ उनीहरू दाह्रा किटी-किटी रुनेछन्‌। ४३ धर्मीहरू भने त्यसबेला आफ्ना बुबाको राज्यमा सूर्यझैँ चम्किनेछन्‌।+ जसको कान छ, उसले सुनोस्‌।

४४ “स्वर्गको राज्य खेतमा लुकाइराखेको धनजस्तो हो, जुन एक जना मानिसले फेला पारेर लुकाउँछ अनि ऊ खुसी हुँदै जान्छ र आफूसित भएको सबै थोक बेचेर त्यो खेत किन्छ।+

४५ “साथै स्वर्गको राज्य असल मोती खोज्दै हिँड्‌ने व्यापारीजस्तो हो। ४६ उसले उच्च कोटिको एउटा मोती फेला पारेपछि गएर आफूसित भएको सबै थोक तुरुन्तै बेच्छ र त्यो किन्छ।+

४७ “अनि स्वर्गको राज्य समुद्रमा हालिएको ठूलो जालजस्तो हो, जहाँ विभिन्‍न किसिमका माछाहरू पर्छन्‌। ४८ जाल भरिएपछि मानिसहरूले त्यसलाई तानेर किनारामा निकाल्छन्‌ अनि बसेर असल माछाहरूजति+ भाँडामा जम्मा गर्छन्‌ तर काम नलाग्ने माछाहरूजति+ फ्याँकिदिन्छन्‌। ४९ यस युगको आखिरी समयमा* पनि यस्तै हुनेछ। स्वर्गदूतहरू गएर धर्मीहरूको माझबाट दुष्टहरूलाई अलग पार्नेछन्‌ ५० अनि आगोको भट्टीमा फ्याँकिदिनेछन्‌, जहाँ तिनीहरू दाह्रा किटी-किटी रुनेछन्‌।

५१ “के तिमीहरूले यी सबै कुराको अर्थ बुझ्यौ?” तिनीहरूले उहाँलाई भने: “हजुर, बुझ्यौँ।” ५२ त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “त्यसो हो भने मानिसहरूलाई सिकाउने हरेक शिक्षक, जसले स्वर्गको राज्यको विषयमा शिक्षा पाएको छ, ऊ त्यो घरमालिकजस्तो हो, जसले आफ्नो भण्डारबाट नयाँ र पुराना थोकहरू निकाल्छ।”

५३ यी उदाहरणहरू सुनाइसकेपछि येसु त्यहाँबाट जानुभयो। ५४ अनि आफ्नो गृहनगर पुगेपछि+ उहाँले तिनीहरूको सभाघरमा सिकाउन थाल्नुभयो। उहाँको कुरा सुनेर तिनीहरू छक्क परे र यसो भने: “यस मानिसले यस्तो बुद्धि र शक्‍तिशाली कामहरू गर्ने क्षमता कहाँबाट पायो?+ ५५ के यो त्यही सिकर्मीको छोरा होइन?+ अनि के यसकी आमाको नाम मरियम अनि भाइहरूको नाम याकुब, युसुफ, सिमोन र यहुदा होइन?+ ५६ के यसका बहिनीहरू सबै यहाँ हामीमाझ नै छैनन्‌? त्यसोभए यस मानिसले यी सबै कुरा कहाँबाट पायो?”+ ५७ त्यसैले तिनीहरूले उहाँमाथि विश्‍वास गर्न चाहेनन्‌।+ तब येसुले तिनीहरूलाई भन्‍नुभयो: “भविष्यवक्‍ताले सबै ठाउँमा आदर पाउँछ तर आफ्नै इलाका र आफ्नै घरमा भने पाउँदैन।”+ ५८ तिनीहरूले विश्‍वास नगरेको हुनाले उहाँले त्यहाँ शक्‍तिशाली काम धेरै गर्नुभएन।

१४ त्यसबेला प्रान्तीय शासक हेरोदले येसुको विषयमा सुने+ २ र आफ्ना सेवकहरूलाई भने: “यिनी मृत्युबाट ब्युँताइएका बप्तिस्मा गराउने युहन्‍ना हुन्‌। त्यसैले त तिनले शक्‍तिशाली कामहरू गरिरहेका छन्‌।”+ ३ हेरोदले* आफ्नो दाइ फिलिपकी पत्नी हेरोदियासको कारण युहन्‍नालाई पक्रेका थिए र तिनलाई बाँधेर झ्यालखानामा हालेका थिए।+ ४ किनकि युहन्‍ना हेरोदलाई यसो भन्‍ने गर्थे: “तपाईँले उसलाई पत्नी बनाउनु ठीक होइन।”+ ५ हेरोद तिनलाई मार्न चाहन्थे तर उनी मानिसहरूसित डराउँथे किनभने तिनीहरूले युहन्‍नालाई भविष्यवक्‍ता ठान्थे।+ ६ तर हेरोदको जन्मदिनको बेला+ हेरोदियासकी छोरीले पाहुनाहरूको अगाडि नाचेर हेरोदलाई यत्ति प्रसन्‍न बनाइन्‌ कि+ ७ तिनले जे मागे पनि दिने प्रतिज्ञा गर्दै हेरोदले कसम खाए। ८ तब आफ्नी आमाले सिकाएअनुसार तिनले भनिन्‌: “बप्तिस्मा गराउने युहन्‍नाको टाउको किस्तीमा राखेर मलाई दिनुहोस्‌।”+ ९ तिनको कुरा सुनेर हेरोद दुःखी भए। तर पाहुनाहरूको अगाडि कसम खाइसकेको हुनाले उनले युहन्‍नाको टाउको त्यस केटीलाई दिन हुकुम गरे। १० उनले मानिसहरू पठाएर झ्यालखानामा युहन्‍नाको टाउको काट्‌न लगाए। ११ युहन्‍नाको टाउको किस्तीमा राखेर ल्याइयो अनि त्यस ठिटीलाई दिइयो र तिनले त्यो आफ्नी आमालाई दिइन्‌। १२ पछि युहन्‍नाका चेलाहरू आए अनि लास लगेर गाडे। त्यसपछि तिनीहरूले गएर येसुलाई खबर गरे। १३ यो सुनेपछि येसु एकान्तमा बस्न डुङ्‌गा चढेर एउटा सुनसान ठाउँमा जानुभयो तर यो थाह पाएर भीड पनि सहर-सहरबाट पैदलै उहाँको पछि लाग्यो।+

१४ किनारामा पुगेपछि उहाँले एउटा ठूलो जमात देख्नुभयो र तिनीहरूलाई देखेर उहाँ टिठाउनुभयो+ अनि उहाँले बिरामीहरूलाई निको पार्नुभयो।+ १५ तर साँझ परेपछि चेलाहरूले उहाँकहाँ आएर यसो भने: “यो ठाउँ अनकन्टार छ र दिन पनि निकै ढलिसक्यो। त्यसैले यो भीडलाई पठाइदिनुहोस्‌ र तिनीहरूले गाउँमा गएर आफ्नो निम्ति खानेकुरा किनून्‌।”+ १६ तर येसुले भन्‍नुभयो: “उनीहरू जानु आवश्‍यक छैन, तिमीहरूले नै उनीहरूलाई केही खान देओ।” १७ चेलाहरूले उहाँलाई भने: “हामीसित यहाँ पाँच वटा रोटी र दुई वटा माछाबाहेक अरू केही पनि छैन।” १८ उहाँले भन्‍नुभयो: “ती मकहाँ ल्याओ।” १९ त्यसपछि उहाँले भीडलाई घाँस भएको ठाउँमा बस्न भन्‍नुभयो अनि पाँच वटा रोटी र दुई वटा माछा लिई स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो+ अनि रोटी भाँचिसकेपछि चेलाहरूलाई दिनुभयो र चेलाहरूले भीडलाई बाँडे। २० तिनीहरू सबैले पेटभरि खाए अनि उब्रेको टुक्राटाक्री जम्मा गर्दा १२ डाला भरिए।+ २१ खाने मानिसहरू स्त्री र साना केटाकेटीबाहेक लगभग ५ हजार थिए।+ २२ तब उहाँले तुरुन्तै आफ्ना चेलाहरूलाई डुङ्‌गा चढेर उहाँभन्दा अघि पारि जान लगाउनुभयो अनि उहाँले चाहिँ भीडलाई बिदा गर्नुभयो।+

२३ भीडलाई पठाइसकेपछि उहाँ प्रार्थना गर्न एक्लै डाँडामा उक्लनुभयो।+ साँझ परिसकेको थियो र उहाँ त्यहाँ एक्लै हुनुहुन्थ्यो। २४ यतिखेरसम्ममा डुङ्‌गा सयौँ मिटर* पर पुगिसकेको थियो र विपरीत दिशाबाट बतास चलिरहेको हुँदा छालले डुङ्‌गालाई बेसरी हानिरहेको थियो। २५ तर रातको चौथो प्रहरमा* उहाँ समुद्रमा हिँड्‌दै चेलाहरूकहाँ आउनुभयो। २६ उहाँ समुद्रमा हिँडिरहनुभएको देखेपछि चेलाहरू आत्तिएर यसो भन्‍न थाले: “लौ! हामी यो के देख्दै छौँ?” अनि तिनीहरू तर्सेर कराए। २७ तर येसुले तुरुन्तै तिनीहरूलाई यसो भन्‍नुभयो: “साहस गर, मै हुँ, नडराओ।”+ २८ पत्रुसले उहाँलाई यस्तो जवाफ दिए: “प्रभु, यदि तपाईँ नै हुनुहुन्छ भने मलाई पानीमाथि हिँडेर तपाईँकहाँ आउने आज्ञा दिनुहोस्‌।” २९ उहाँले भन्‍नुभयो: “हुन्छ, आऊ!” अनि पत्रुस डुङ्‌गाबाट ओर्लेर पानीमाथि हिँड्‌दै येसु भएतिर गए। ३० तर आँधी चलिरहेको देखेर तिनी डराए अनि डुब्न थालेपछि यसो भन्दै कराए: “प्रभु, मलाई बचाउनुहोस्‌!” ३१ येसुले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई समाउनुभयो र भन्‍नुभयो: “ए विश्‍वास कमजोर भएको मानिस, तिमीले किन शङ्‌का गऱ्‍यौ?”+ ३२ अनि दुवै जना डुङ्‌गामा चढेपछि आँधी थामियो। ३३ त्यसपछि डुङ्‌गामा बसिरहेका चेलाहरूले उहाँलाई दण्डवत्‌ गर्दै भने: “तपाईँ साँच्चै परमेश्‍वरको छोरा हुनुहुँदो रहेछ।” ३४ अनि उहाँहरू पारि तरेर गनेसरेतमा आइपुग्नुभयो।+

३५ उहाँलाई चिनेपछि त्यहाँका मानिसहरूले वरपरका ठाउँहरूमा खबर पठाए र मानिसहरूले उहाँकहाँ बिरामीजति सबैलाई ल्याए। ३६ अनि उहाँको लुगाको किनारा मात्र भए पनि छुन पाऊँ भनी तिनीहरूले उहाँलाई बिन्ती गरे+ र ज-जसले छोए, तिनीहरू पूरै निको भए।

१५ तब यरुसलेमबाट फरिसी र शास्त्रीहरू येसुकहाँ आए+ अनि यसो भने: २ “तपाईँका चेलाहरू किन पुर्खाहरूले बसालेको परम्परा तोड्‌छन्‌? जस्तै: तिनीहरू खाना खानुअघि हात धुँदैनन्‌।”*+

३ उहाँले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “तिमीहरूचाहिँ किन आफ्नो परम्पराको पछि लागेर परमेश्‍वरको आज्ञा तोड्‌छौ?+ ४ उदाहरणका लागि, परमेश्‍वरले यसो भन्‍नुभएको छ: ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू’+ र ‘जसले आफ्नो बुबा वा आमालाई गाली गर्छ, त्यो मारियोस्‌।’+ ५ तर तिमीहरू भन्छौ: ‘जसले आफ्नो बुबा वा आमालाई यसो भन्छ, “मसँग तपाईँहरूलाई फाइदा हुने जे-जति कुराहरू छन्‌, ती सबै परमेश्‍वरलाई अर्पण गरेको भेटी हो,”+ ६ उसले आफ्नो बुबाको आदर गर्नु आवश्‍यकै छैन।’ यसरी तिमीहरूले आफ्नो परम्पराले गर्दा परमेश्‍वरको वचनलाई बेकामको तुल्याएका छौ।+ ७ ए कपटीहरू हो, यसैयाले तिमीहरूबारे यसो भनेर ठीकै भविष्यवाणी गरेका थिए:+ ८ ‘यी मानिसहरू आफ्नो ओठले त मलाई आदर गर्छन्‌ तर तिनीहरूको हृदय भने मदेखि धेरै टाढा छ। ९ तिनीहरू व्यर्थैमा मेरो उपासना गरिरहन्छन्‌ किनकि तिनीहरू मानिसहरूले बनाएका नियमहरूलाई परमेश्‍वरको शिक्षाजस्तै गरी सिकाउँछन्‌।’”+ १० यति भनिसकेपछि उहाँले भीडलाई नजिक बोलाउनुभयो र भन्‍नुभयो: “सुन र यसको अर्थ के हो, बुझ:+ ११ मानिसको मुखबाट जे भित्र पस्छ, त्यसले उसलाई अशुद्ध बनाउँदैन बरु मुखबाट जे बाहिर निस्कन्छ, त्यसले उसलाई अशुद्ध बनाउँछ।”+

१२ तब चेलाहरू आएर उहाँलाई भने: “तपाईँको कुरा सुनेर फरिसीहरू रिसले मुरमुरिएको के तपाईँले याद गर्नुभयो?”+ १३ अनि उहाँले जवाफ दिनुभयो: “स्वर्गमा बस्नुहुने मेरा बुबाले नरोप्नुभएको हरेक बोट जरैसमेत उखेलिनेछ। १४ तिनीहरूलाई त्यस्तै रहन देओ। किनकि तिनीहरू अन्धा अगुवाहरू हुन्‌। यदि अन्धाले अन्धालाई डोऱ्‍याउँछ भने दुवै जना खाल्टोमा खस्नेछन्‌।”+ १५ तब पत्रुसले भने: “अघि तपाईँले भन्‍नुभएको उदाहरणको अर्थ हामीलाई बुझाइदिनुहोस्‌।” १६ तिनको कुरा सुनेर उहाँले भन्‍नुभयो: “के तिमीहरूले पनि अझै बुझेनौ?+ १७ के तिमीहरूलाई थाह छैन, मुखबाट जे भित्र पस्छ, त्यो पेटमा पुगेपछि बाहिर निस्कन्छ? १८ तर हृदयमा जे छ, त्यो मुखबाट बाहिर निस्कन्छ र त्यसले मानिसलाई अशुद्ध बनाउँछ।+ १९ जस्तै, दुष्ट विचार हृदयबाटै निस्कन्छ: हत्या, व्यभिचार,* अवैध यौनसम्बन्ध,* चोरी, झूटा साक्षी अनि ईश्‍वरनिन्दा।+ २० हो, यस्तै कुराहरूले मानिसलाई अशुद्ध बनाउँछ। तर हात नधोई* खाँदैमा मानिस अशुद्ध हुने होइन।”

२१ त्यसपछि येसु त्यहाँबाट टायर र सिदोनको इलाकातिर लाग्नुभयो।+ २२ अनि हेर! ती इलाकाहरूबाट आएकी एक फोनिसियाली स्त्रीले ठूलो स्वरले रुँदै भनिन्‌: “हे प्रभु, दाउदका छोरा, ममाथि कृपा गर्नुहोस्‌। मेरी छोरीलाई प्रेतले* साह्रै सताइरहेको छ।”+ २३ तर उहाँले तिनलाई केही जवाफ दिनुभएन। त्यसैले चेलाहरू उहाँकहाँ आएर यसो भन्दै बिन्ती गर्न थाले: “यस स्त्रीलाई पठाइदिनुहोस्‌ किनकि यो रुँदै हाम्रो पछिपछि लागिरहेकी छे।” २४ उहाँले जवाफ दिनुभयो: “म इस्राएलको घरानाका ती मानिसहरूका निम्ति मात्र पठाइएको हुँ, जो हराएका भेडाहरूजस्ता छन्‌।”+ २५ तर ती स्त्री उहाँको नजिक आइन्‌ र उहाँलाई दण्डवत्‌ गर्दै यसो भनिन्‌: “प्रभु, मलाई मदत गर्नुहोस्‌!” २६ अनि उहाँले जवाफ दिनुभयो: “केटाकेटीको रोटी खोसेर कुकुरका छाउराहरूलाई दिनु उचित हुँदैन।” २७ तिनले भनिन्‌: “हो प्रभु, तर छाउराहरूले पनि त आफ्ना मालिकको टेबुलबाट झरेका टुक्राटाक्री खान पाउँछन्‌ नि।”+ २८ तब येसुले तिनलाई भन्‍नुभयो: “हे नारी, तिम्रो विश्‍वास ठूलो रहेछ। तिमीले इच्छा गरेको कुरा तिमीलाई पुगोस्‌।” तब उत्तिखेरै तिनकी छोरी निको भइन्‌।

२९ त्यो इलाका पार गरेर येसु गालिल समुद्रको नजिकै पुग्नुभयो+ र उहाँ डाँडामा उक्लेर त्यहाँ बस्नुभयो। ३० तब लुला-लङ्‌गडा, अन्धा, गुँगा र त्यस्तै अरू धेरै मानिस लिएर भीड उहाँकहाँ आयो र तिनीहरूलाई उहाँको चरणमा राखिदियो अनि उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो।+ ३१ गुँगोले बोल्न थालेको, लङ्‌गडो हिँड्‌न थालेको अनि अन्धोले देख्न थालेको देखेर भीड छक्क पऱ्‍यो र तिनीहरूले इस्राएलका परमेश्‍वरको महिमा गरे।+

३२ तब येसुले आफ्ना चेलाहरूलाई बोलाएर भन्‍नुभयो: “यो भीड देखेर मलाई साह्रै दया लाग्यो+ किनभने तिनीहरू यहाँ मसँगै बसेको तीन दिन भइसक्यो अनि तिनीहरूसित केही खानेकुरा छैन। म तिनीहरूलाई भोकै पठाउन चाहन्‍नँ नत्र त तिनीहरू बाटैमा मुर्छा पर्लान्‌।”+ ३३ तर चेलाहरूले उहाँलाई भने: “यत्ति धेरै मानिसलाई खुवाउन यस्तो अनकन्टार ठाउँमा हामीले कहाँबाट रोटी खोजेर ल्याउने?”+ ३४ तिनीहरूको कुरा सुनेर येसुले भन्‍नुभयो: “तिमीहरूसित कति वटा रोटी छ?” तिनीहरूले जवाफ दिए: “सात वटा अनि हामीसित केही साना माछा पनि छन्‌।” ३५ अनि भीडलाई चौरमा बस्न अह्राएपछि ३६ उहाँले सात वटा रोटी र माछा लिनुभयो अनि धन्यवाद चढाएपछि रोटी भाँचेर चेलाहरूलाई दिन थाल्नुभयो र चेलाहरूले भीडलाई बाँडे।+ ३७ तिनीहरू सबैले पेटभरि खाए अनि तिनीहरूले उब्रेको टुक्राटाक्री जम्मा गर्दा सात वटा ठूला डाला भरिए।+ ३८ खाने मानिसहरू स्त्री र साना केटाकेटीबाहेक ४ हजार थिए। ३९ अन्तमा भीडलाई बिदा गरिसकेपछि उहाँ डुङ्‌गा चढ्‌नुभयो र मगादानको इलाकामा आउनुभयो।+

१६ अनि फरिसी र सदुकीहरू उहाँकहाँ आए र स्वर्गबाट एउटा चिन्ह देखाउनुहोस्‌ भनेर उहाँको परीक्षा लिन खोजे।+ २ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जब साँझ पर्छ, तब तिमीहरू यसो भन्छौ, ‘आकाश रातो छ, त्यसैले मौसम सफा हुनेछ।’ ३ अनि बिहान यसो भन्छौ, ‘आकाश रातो भए पनि धुम्म बादल लागेको छ, त्यसैले आज झरी परेर चिसो हुनेछ।’ तिमीहरू आकाश हेरेर त्यसको अर्थ लगाउन सक्छौ तर अहिले भइरहेको कुरा हेरेर त्यसको चाहिँ अर्थ लगाउन सक्दैनौ। ४ दुष्ट र विश्‍वासघाती पुस्ताले चिन्ह मात्र खोजिरहन्छ तर त्यसलाई योनाको चिन्हबाहेक+ अरू कुनै चिन्ह दिइनेछैन।”+ यति भनिसकेपछि उहाँ तिनीहरूलाई त्यहीँ छोडेर जानुभयो।

५ तब चेलाहरू समुद्रको पारिपट्टि गए तर तिनीहरूले आफूसित रोटी लैजान बिर्से।+ ६ येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूको आँखा खुला राख अनि फरिसीहरूको र सदुकीहरूको खमिरदेखि* होसियार रहो।”+ ७ त्यसैले तिनीहरू यसो भन्दै आपसमा कुरा गर्न थाले: “ओहो, हामीले त रोटी ल्याउन बिर्सेछौँ!” ८ यो थाह पाएर येसुले भन्‍नुभयो: “ए विश्‍वास कमजोर भएका मानिसहरू हो, आफूसित रोटी छैन भनेर तिमीहरू किन आपसमा कुरा गर्दै छौ? ९ के तिमीहरूले अहिलेसम्म कुरा बुझेनौ? अनि पाँच वटा रोटीले ५ हजार जनालाई खुवाउँदा तिमीहरूले कति डालो बटुलेका थियौ, बिर्स्यौ?+ १० अनि सात वटा रोटीले ४ हजार जनालाई खुवाउँदा कति वटा ठूला डाला भरेका थियौ, त्यो पनि बिर्स्यौ?+ ११ त्यसोभए मैले तिमीहरूसित रोटीको विषयमा कुरा गरेको होइनँ भनेर तिमीहरू किन बुझ्दैनौ? मैले त फरिसी र सदुकीहरूको खमिरदेखि होसियार रहो पो भनेको हुँ।”+ १२ उहाँले रोटीमा हालिने खमिरबाट होइन तर फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार रहो भन्‍नुभएको रहेछ भनेर तिनीहरूले बल्ल बुझे।

१३ तब सिजरिया फिलिप्पीको इलाकामा पुगेपछि येसुले आफ्ना चेलाहरूलाई सोध्नुभयो: “मानिसको छोरा को हो भन्‍नेबारे मानिसहरू के भन्दै छन्‌?”+ १४ तिनीहरूले भने: “कसैले बप्तिस्मा गराउने युहन्‍ना,+ कसैले एलिया+ अनि कसै-कसैले चाहिँ यर्मिया वा भविष्यवक्‍ताहरूमध्ये कोही एक जना हो भन्छन्‌।” १५ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” १६ सिमोन पत्रुसले जवाफ दिए: “तपाईँ जीवित परमेश्‍वरका छोरा,+ ख्रिष्ट हुनुहुन्छ।”+ १७ येसुले तिनलाई भन्‍नुभयो: “तिमी धन्यका हौ, हे योनाको छोरा सिमोन किनकि यो कुरा तिमीलाई कुनै मानिसले प्रकट गरेको होइन तर स्वर्गमा बस्नुहुने मेरो बुबाले प्रकट गर्नुभएको हो।+ १८ म तिमीलाई यो पनि भन्छु: तिमी पत्रुस हौ+ र म यस चट्टानमाथि+ आफ्नो मण्डली बनाउनेछु अनि चिहान* त्यसमाथि विजयी हुनेछैन। १९ म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। तिमीले पृथ्वीमा जे बन्द गर्नेछौ,* त्यो स्वर्गमा बन्द गरिसकिएको हुनेछ* अनि तिमीले पृथ्वीमा जे खोल्नेछौ,* त्यो स्वर्गमा खोलिसकिएको हुनेछ।”* २० त्यसपछि उहाँले चेलाहरूलाई उहाँ ख्रिष्ट हुनुहुन्छ भनेर कसैलाई नबताउनू भनी कडा आज्ञा दिनुभयो।+

२१ त्यसबेलादेखि उसो येसुले आफू यरुसलेममा जानु अनि धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूको हातबाट धेरै दुःख भोग्नु अनि मारिनु र तेस्रो दिनमा ब्युँताइनु आवश्‍यक छ भनेर आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो।+ २२ यो सुनेर पत्रुसले उहाँलाई अलग्गै लगेर यसो भन्दै हप्काउन थाले: “प्रभु, आफ्नो विषयमा यस्तो अनिष्ट कुरा नगर्नुहोस्‌।* तपाईँलाई कुनै हालतमा यस्तो हुनेछैन।”+ २३ तब पत्रुसतर्फ आफ्नो पीठ फर्काएर उहाँले भन्‍नुभयो: “ए सैतान, यहाँबाट गइहाल! तिमी मेरो लागि ठेस लाग्ने कारण रहेछौ किनकि तिम्रो सोचाइ परमेश्‍वरको होइन तर मानिसहरूको हो।”+

२४ त्यसपछि येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्‌, आफ्नो यातनाको खम्बा* उठाओस्‌ र निरन्तर मेरो पछि लागोस्‌।+ २५ किनकि जसले आफ्नो ज्यान बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ तर जसले मेरो खातिर आफ्नो ज्यान गुमाउँछ, उसले त्यो पाउनेछ।+ २६ हुन पनि कुनै मानिसले सारा संसार प्राप्त गर्छ तर आफ्नो ज्यान गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र?+ अथवा मानिसले आफ्नो ज्यानको सट्टामा के दिन सक्छ र?+ २७ किनकि मानिसको छोरा आफ्नो बुबाले दिनुभएको महिमासहित आफ्ना स्वर्गदूतहरू लिएर आउने निश्‍चित छ। त्यसबेला उसले हरेकलाई आ-आफ्नो कामअनुसारको प्रतिफल दिनेछ।+ २८ म तिमीहरूलाई साँच्चै भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्‌, जसले मानिसको छोरालाई राजाको रूपमा आउँदै गरेको नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्‌।”+

१७ छ दिनपछि येसुले पत्रुस, याकुब र तिनको भाइ युहन्‍नालाई एउटा अग्लो डाँडामा लैजानुभयो र त्यहाँ तिनीहरूबाहेक अरू कोही थिएन।+ २ तब तिनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो। उहाँको मुहार सूर्यजस्तै उज्यालो र लुगाचाहिँ ज्योतिजस्तै चहकिलो* भयो।+ ३ अनि हेर! तिनीहरूसामु मोसा र एलिया देखिए, जो उहाँसित कुराकानी गर्दै थिए। ४ तब पत्रुसले येसुलाई भने: “प्रभु, हामी यहाँ हुनु हाम्रो लागि खुसीको कुरा हो। यदि तपाईँ चाहनुहुन्छ भने म यहाँ तीन वटा पाल टाँग्नेछु, एउटा तपाईँको लागि, एउटा मोसाको लागि अनि एउटा एलियाको लागि।” ५ तिनी बोल्दै गर्दा हेर! चहकिलो बादलले तिनीहरूलाई ढाक्यो अनि बादलबाट यस्तो आवाज आयो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु।+ तिमीहरूले उनको कुरा सुन।”+ ६ यो सुनेर चेलाहरू घोप्टो परे अनि असाध्यै डराए। ७ तब नजिकै गएर येसुले तिनीहरूलाई छुँदै भन्‍नुभयो: “नडराओ, उठ।” ८ तिनीहरूले आफ्नो शिर उठाएर हेर्दा त्यहाँ येसुबाहेक अरू कसैलाई देखेनन्‌। ९ अनि डाँडाबाट ओर्लँदै गर्दा येसुले तिनीहरूलाई यस्तो आज्ञा दिनुभयो: “मानिसको छोरालाई मृत्युबाट नब्युँताइएसम्म यस दर्शनबारे* कसैलाई नभन्‍नू।”+

१० तर चेलाहरूले उहाँलाई प्रश्‍न गरे: “त्यसोभए पहिला एलिया आउनु आवश्‍यक छ भनेर शास्त्रीहरू किन भन्छन्‌ त?”+ ११ उहाँले जवाफ दिनुभयो: “एलिया पक्कै पहिला आउनेछन्‌ र सबै कुरा पुनर्स्थापना गर्नेछन्‌।+ १२ तर म तिमीहरूलाई भन्छु, एलिया आइसकेका छन्‌। तैपनि तिनीहरूले उनलाई चिन्‍न सकेनन्‌ र उनीसित मनपरी व्यवहार गरे।+ मानिसको छोराले पनि यसरी नै तिनीहरूको हातबाट दुःख भोग्नेछ।”+ १३ तब चेलाहरूले उहाँले बप्तिस्मा गराउने युहन्‍नाको विषयमा कुरा गरिरहनुभएको रहेछ भनेर बुझे।

१४ जब उहाँहरू भीडको नजिकै पुग्नुभयो,+ तब एक जना मानिस उहाँकहाँ आयो र घुँडा टेकेर यसो भन्‍न थाल्यो: १५ “प्रभु, मेरो छोरामाथि कृपा देखाउनुहोस्‌ किनभने छारे रोग लागेर उसले साह्रै दुःख पाएको छ। ऊ कहिले आगोमा त कहिले पानीमा लड्‌छ।+ १६ मैले उसलाई तपाईँका चेलाहरूकहाँ लगेँ तर उनीहरूले निको पार्न सकेनन्‌।” १७ तब येसुले भन्‍नुभयो: “ए अविश्‍वासी र टेढो पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? उसलाई मकहाँ ल्याओ।” १८ अनि येसुले त्यस केटोमा बास गरेको प्रेतलाई* हप्काउनुभयो र त्यो प्रेत त्यस केटोबाट निस्क्यो अनि उत्तिखेरै ऊ निको भइहाल्यो।+ १९ त्यसपछि चेलाहरू सुटुक्क येसुकहाँ आएर सोधे: “हामीले किन त्यसलाई धपाउन सकेनौँ?” २० उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूसित विश्‍वास थोरै* भएकोले। किनकि म तिमीहरूलाई साँच्चै भन्छु, यदि तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्‍वास छ भने पनि तिमीहरूले यस डाँडालाई ‘यहाँबाट त्यहाँ सरिजा’ भन्यौ भने त्यो सरिजानेछ र तिमीहरूको लागि कुनै कुरा असम्भव हुनेछैन।”+ २१ *—

२२ गालिलमा भेला भएको बेला येसुले तिनीहरूलाई भन्‍नुभयो: “मानिसको छोरालाई धोका दिइनेछ अनि मानिसहरूको हातमा सुम्पिइनेछ+ २३ र तिनीहरूले उसलाई मार्नेछन्‌ अनि तेस्रो दिनमा उसलाई ब्युँताइनेछ।”+ यो सुनेर तिनीहरू अत्यन्तै दुःखी भए।

२४ उहाँहरू कफर्नहुममा पुगेपछि मन्दिरको कर* उठाउने मानिसहरू पत्रुसकहाँ आएर सोधे: “के तिमीहरूका गुरुले मन्दिरको कर तिर्नुहुन्‍न?”+ २५ तिनले भने: “तिर्नुहुन्छ।” तर जब तिनी घरभित्र पसे, तब तिनले केही भन्‍नुअघि येसुले तिनलाई सोध्नुभयो: “तिमीलाई कस्तो लाग्छ सिमोन? पृथ्वीका राजाहरूले राजस्व वा कर कसबाट उठाउँछन्‌? आफ्ना छोराहरूबाट कि पराईबाट?” २६ तिनले भने, “पराईबाट।” तब येसुले तिनलाई भन्‍नुभयो: “उसोभए छोराहरूले त कर तिर्नु नपर्ने रहेछ। २७ तर हामीले गर्दा तिनीहरूलाई ठेस नलागोस्‌।+ त्यसैले तिमी समुद्रमा जाऊ र बल्छी हान अनि बल्छीमा परेको पहिलो माछा लेऊ। तिमीले त्यसको मुख खोल्दा चाँदीको एउटा सिक्का* भेट्टाउनेछौ। त्यो लिएर मेरो र तिम्रो तर्फबाट तिनीहरूलाई तिरिदेऊ।”

१८ त्यसबेला चेलाहरू येसुको नजिक आए र उहाँलाई सोधे: “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुनेछ?”+ २ तब येसुले एउटा सानो बालकलाई बोलाएर तिनीहरूको बीचमा उभ्याउनुभयो ३ र भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यदि तिमीहरू बदलिएर साना केटाकेटीजस्ता भएनौ भने+ स्वर्गको राज्यमा कुनै पनि हालतमा पस्न पाउनेछैनौ।+ ४ त्यसकारण जसले आफूलाई यो सानो बालकजस्तै नम्र तुल्याउँछ, ऊ नै स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ+ ५ अनि जसले मेरो नाममा यस्तै एउटा सानो बालकलाई स्विकार्छ, उसले मलाई पनि स्विकार्छ। ६ तर यदि कसैले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एक जनालाई ठेस पुऱ्‍याउँछ भने त्यस्तालाई त ठूलो जाँतो* घाँटीमा झुन्ड्‌याएर गहिरो समुद्रमा डुबाइदिनु नै बेस हो।+

७ “धिक्कार यस संसारलाई! किनकि यस संसारले गर्दा मानिसहरूले ठेस खानेछन्‌। हो, ठेस पुऱ्‍याउने कुराहरू त अवश्‍य देखा पर्ने नै छन्‌ तर धिक्कार त्यस मानिसलाई, जसले गर्दा अरूले ठेस खानेछन्‌! ८ यदि तिम्रो हात वा खुट्टाले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई काटेर फालिदेऊ।+ किनकि दुवै हात वा दुवै खुट्टासहित सधैँ बलिरहने आगोमा फ्याँकिनुभन्दा डुँडो वा लङ्‌गडो भएर जीवन पाउनु नै तिम्रो लागि बेस हो।+ ९ साथै यदि तिम्रो आँखाले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई निकालेर फालिदेऊ। किनकि दुवै आँखासहित गेहेन्‍नाको* आगोमा फ्याँकिनुभन्दा कानो भएर जीवन पाउनु नै तिम्रो लागि बेस हो।+ १० होसियार बस, तिमीहरूले यी सानाहरूमध्ये कसैलाई हेला नगर किनकि म तिमीहरूलाई भन्छु, तिनीहरूको रक्षा गर्ने स्वर्गदूतहरूले स्वर्गमा बस्नुहुने मेरा बुबाको मुहार सधैँ हेरिरहेका हुन्छन्‌।+ ११ *—

१२ “तिमीहरूलाई कस्तो लाग्छ? यदि कुनै मानिसको १०० वटा भेडा छन्‌ र तीमध्ये एउटाले बाटो बिरायो भने+ ९९ वटालाई डाँडामै छोडेर के ऊ बाटो बिराउने त्यो एउटा भेडा खोज्न जाँदैन र?+ १३ अनि उसले त्यसलाई केही गरी भेट्टाइहाल्यो भने म तिमीहरूलाई साँच्चै भन्छु, बाटो नबिराएका ९९ वटाका लागि भन्दा त्यो एउटाको लागि ऊ धेरै रमाउनेछ। १४ त्यसैगरि स्वर्गमा बस्नुहुने मेरा* बुबा यी सानाहरूमध्ये एउटाले पनि बाटो बिराएको चाहनुहुन्‍न।+

१५ “यदि तिम्रो भाइले पाप गऱ्‍यो भने जाऊ अनि तिमी र ऊ मात्रै हुँदा उसको दोष देखाइदेऊ।*+ उसले तिम्रो कुरा सुन्यो भने तिमीले आफ्नो भाइलाई ठीक बाटोमा फर्काउन सक्यौ।+ १६ तर उसले सुनेन भने आफूसित अरू एक वा दुई जनालाई लिएर जाऊ ताकि दुई वा तीन जना साक्षीको बयानको आधारमा* मात्र हरेक मामिलाको फैसला सुनाइयोस्‌।+ १७ यदि उसले तिनीहरूको कुरा सुनेन भने मण्डलीलाई भन। अनि यदि उसले मण्डलीको कुरासमेत सुनेन भने ऊ तिम्रो लागि अन्यजाति+ वा कर उठाउने मानिससरह होस्‌।+

१८ “म तिमीहरूलाई साँच्चै भन्छु, तिमीहरूले जे-जे पृथ्वीमा बाँध्नेछौ, ती स्वर्गमा बाँधिसकिएका हुनेछन्‌ अनि तिमीहरूले जे-जे पृथ्वीमा फुकाउनेछौ, ती स्वर्गमा फुकाइसकिएका हुनेछन्‌। १९ यो पनि म तिमीहरूलाई साँच्चै भन्छु, यदि पृथ्वीमा तिमीहरूमध्ये दुई जना एकै मनका भएर कुनै महत्त्वपूर्ण कुरा माग्यौ भने स्वर्गमा बस्नुहुने मेरो बुबाले त्यो पूरा गरिदिनुहुनेछ।+ २० किनकि जहाँ मेरो नाममा दुई वा तीन जना भेला हुन्छन्‌,+ त्यहाँ म तिनीहरूको माझमा हुन्छु।”

२१ तब उहाँकहाँ आएर पत्रुसले सोधे: “हे प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गरिरह्‍यो भने मैले कति पटकसम्म क्षमा दिनुपर्छ? सात पटकसम्म?” २२ येसुले तिनलाई जवाफ दिनुभयो: “म भन्छु, ७ पटक होइन, ७७ पटकसम्म।+

२३ “त्यसैले स्वर्गको राज्यलाई एक जना राजासित तुलना गर्न सकिन्छ, जसले आफ्ना दासहरूलाई आफूसित लिएको ऋण चुक्‍ता गर्न बोलायो। २४ अनि ऋण उठाउँदै जाँदा ६ करोड दिनार* ऋण लिने दासलाई तिनीसामु हाजिर गराइयो। २५ तर ऋण चुक्‍ता गर्नलाई ऊसित केही नभएकोले राजाले त्यो दास, त्यसकी पत्नी, छोराछोरी अनि सम्पूर्ण जायजेथा बेचेर ऋण असुल्न हुकुम गरे।+ २६ तब त्यस दासले घोप्टो परेर यसरी बिन्तीभाउ गर्न लाग्यो, ‘हजुर, मलाई समय दिनुहोस्‌, म हजुरको जम्मै ऋण चुक्‍ता गरिदिनेछु।’ २७ यो सुनेर राजाको मनमा दया जाग्यो र तिनले त्यसलाई जान दिए अनि त्यसको जम्मै ऋण पनि माफ गरिदिए।+ २८ तर त्यो दास आफूसित १०० दिनार* सापटी लिने सङ्‌गी दासलाई खोज्न निस्क्यो र त्यसलाई समातेर घाँटी अँठ्‌याउँदै भन्यो: ‘मेरो पैसा फिर्ता गरिहाल्‌।’ २९ तब त्यो सङ्‌गी दास घोप्टो परेर बिन्ती गर्न लाग्यो: ‘मलाई समय देऊ, म तिम्रो पैसा फिर्ता गरिदिनेछु।’ ३० तर उसले आफ्नो साथीको कुरा सुन्‍न मानेन र पैसा फिर्ता नगरुन्जेल त्यसलाई झ्यालखानामा थुन्‍न लगायो। ३१ जब अरू सङ्‌गी दासहरूले यी सब देखे, तब तिनीहरू असाध्यै दुःखी भए र जे-जे भएको थियो, गएर राजालाई ती सबै सुनाए। ३२ अनि राजाले त्यस दासलाई हाजिर गराएर यसो भने: ‘ए दुष्ट दास, तैँले मसित बिन्ती गर्दा मैले तेरो सबै ऋण माफ गरिदिएको थिएँ। ३३ तब मैले तँलाई कृपा देखाएझैँ के तैँले पनि आफ्नो सङ्‌गी दासलाई कृपा देखाउनु पर्दैनथ्यो?’+ ३४ अनि राजा क्रोधित भए र आफ्नो सबै ऋण नतिरेसम्म त्यस दासलाई थुनिराख्न जेलरहरूको हातमा सुम्पिदिए। ३५ त्यसैगरि तिमीहरू हरेकले आफ्नो भाइलाई मनैदेखि क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने मेरो बुबाले पनि तिमीहरूलाई त्यसै गर्नुहुनेछ।”+

१९ यी कुराहरू भनिसकेपछि येसु गालिलबाट जानुभयो र यर्दन नदी पार गरेर यहुदियाको सीमावर्ती इलाकाहरूतिर पुग्नुभयो।+ २ अनि मानिसहरूको भीड उहाँको पछि लाग्यो र उहाँले त्यहाँ तिनीहरूलाई निको पार्नुभयो।

३ तब फरिसीहरू उहाँकहाँ आए र उहाँको परीक्षा लिने मनसायले यस्तो प्रश्‍न गरे: “के एक जना पुरुषले जुनसुकै कारण देखाएर आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नु ठीक हो?”+ ४ उहाँले जवाफ दिनुभयो: “के तिमीहरूले पढेका छैनौ, जसले मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै पुरुष र स्त्री बनाउनुभयो+ ५ र भन्‍नुभयो: ‘यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ अनि आफ्नी पत्नीसित बस्छ* र ती दुई एउटै शरीर हुन्छन्‌’?+ ६ त्यसैले अब तिनीहरू दुई होइनन्‌ तर एउटै शरीर हुन्‌। त्यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ,* त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”+ ७ तिनीहरूले उहाँलाई भने: “त्यसोभए एक जना पुरुषले छोडपत्र दिएर आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्न सक्छ भनेर मोसाले किन भने त?”+ ८ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूको हृदय कठोर भएकोले मोसाले तिमीहरूलाई पत्नीसित सम्बन्धविच्छेद गर्ने छुट दिएका हुन्‌+ तर सुरुदेखि त यस्तो थिएन।+ ९ म तिमीहरूलाई भन्छु, जसले अवैध यौनसम्बन्धबाहेक* अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार* गरेको ठहरिन्छ।”+

१० चेलाहरूले उहाँलाई भने: “पति-पत्नीको सम्बन्ध यस्तै हुने हो भने त विवाह नगर्नु नै बेस रहेछ।” ११ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “सबैले त यो वचनअनुसार गर्न सक्दैनन्‌ तर तिनीहरूले मात्र, जसले यो वरदान पाएका छन्‌।+ १२ किनकि कतिचाहिँ नपुंसक भएर जन्मिएका हुन्छन्‌, कतिलाई चाहिँ मानिसहरूले नपुंसक बनाइदिएका हुन्छन्‌ अनि कतिचाहिँ यस्ता नपुंसकहरू हुन्छन्‌, जसले स्वर्गको राज्यको खातिर आफूलाई नपुंसक बनाएका हुन्छन्‌। जो अविवाहित रहन सक्छ, ऊ अविवाहित नै रहोस्‌।”+

१३ तब उहाँले साना केटाकेटीमाथि आफ्नो हात राखेर प्रार्थना गरिदिऊन्‌ भनी मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्याए तर चेलाहरूले उनीहरूलाई हप्काए।+ १४ तर येसुले यसो भन्‍नुभयो: “साना केटाकेटीलाई मकहाँ आउन देओ, तिनीहरूलाई रोक्न नखोज किनकि स्वर्गको राज्य यिनीहरूजस्ताकै हो।”+ १५ उहाँले तिनीहरूमाथि आफ्नो हात राख्नुभयो अनि उहाँ त्यहाँबाट जानुभयो।

१६ तब हेर! एक जना जवान मानिसले उहाँकहाँ आएर सोध्यो: “हे गुरु, अनन्त जीवन पाउन मैले कुन असल काम गर्नुपर्छ?”+ १७ उहाँले उसलाई भन्‍नुभयो: “असल के हो भनी तिमी मलाई किन सोध्छौ? असल त एक जना मात्र हुनुहुन्छ।+ तर यदि तिमी जीवन पाउन चाहन्छौ भने आज्ञाहरू पालन गर्न नछोड।”+ १८ उसले उहाँलाई भन्यो: “कुन-कुन?” येसुले भन्‍नुभयो: “तिमीहरूले हत्या नगर्नू,+ तिमीहरूले व्यभिचार नगर्नू,+ तिमीहरूले चोरी नगर्नू,+ तिमीहरूले झूटो साक्षी नदिनू,+ १९ तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू+ अनि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”+ २० त्यस जवान मानिसले उहाँलाई भन्यो: “यी सब त मैले पालन गर्दै आएको छु; त्यसोभए ममा अझै के कमी छ?” २१ येसुले उसलाई भन्‍नुभयो: “तिमी पूर्ण हुन चाहन्छौ भने जाऊ र आफ्नो जायजेथा बेचेर गरिबहरूलाई बाँडिदेऊ र तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ+ अनि आएर मेरो पछि लाग।”+ २२ यो सुनेर त्यो जवान मानिस दुःखी हुँदै आफ्नो बाटो लाग्यो किनकि ऊसित धेरै धनसम्पत्ति थियो।+ २३ येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, धनी मानिसलाई स्वर्गको राज्यमा पस्न कठिन हुनेछ।+ २४ म तिमीहरूलाई फेरि भन्छु, धनी मानिसलाई परमेश्‍वरको राज्यमा पस्नभन्दा त उँटलाई सियोको नाथ्रीबाट छिर्न नै सजिलो हुन्छ।”+

२५ यो सुनेर चेलाहरू असाध्यै छक्क परे र तिनीहरूले भने: “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?”+ २६ येसुले सीधै तिनीहरूलाई हेरेर यसो भन्‍नुभयो: “मानिसहरूको लागि यो असम्भव छ तर परमेश्‍वरको लागि भने सबै कुरा सम्भव छ।”+

२७ तब पत्रुसले भने: “हेर्नुहोस्‌! हामी सबै कुरा छोडेर तपाईँको पछि लागेका छौँ। त्यसोभए हामीले के पाउनेछौँ त?”+ २८ येसुले तिनीहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, सबै कुरा नयाँ बनाइँदा जब मानिसको छोरा आफ्नो गौरवशाली सिंहासनमा बस्नेछ, तब तिमीहरू जो मेरो पछि लागेका छौ, तिमीहरू १२ सिंहासनमा बसेर इस्राएलका १२ कुलको इन्साफ गर्नेछौ।+ २९ जसले मेरो नामको खातिर घर वा दाजुभाइ वा दिदीबहिनी वा बुबा वा आमा वा छोराछोरी वा जग्गा-जमिन छोड्‌छ, उसले यी कुरा सयौँ गुणा पाउनुका साथै अनन्त जीवन पाउनेछ।+

३० “तर धेरै जना जो पहिला छन्‌, ती पछिल्ला हुनेछन्‌ र जो पछिल्ला छन्‌, ती पहिला हुनेछन्‌।+

२० “स्वर्गको राज्य अङ्‌गुर बगानको मालिकजस्तै हो, जो ज्यालादारी खेतालाहरू खोज्न बिहान सबेरै निस्क्यो।+ २ अनि उसले एक दिनको ज्याला एक दिनार* दिने कबुल गरेर खेतालाहरूलाई अङ्‌गुर बगानमा पठायो। ३ तेस्रो घडीतिर* बाहिर जाँदा उसले केही खेतालाहरू काम नपाएर बजारमा त्यत्तिकै उभिरहेको देख्यो। ४ अनि उसले तिनीहरूलाई भन्यो: ‘तिमीहरू पनि मेरो अङ्‌गुर बगानमा जाओ र म तिमीहरूलाई त्यसको उचित ज्याला दिऊँला।’ ५ त्यसैले तिनीहरू गए। ऊ फेरि छैटौँ घडीतिर* र नवौँ घडीतिर* बाहिर गयो र त्यसै गऱ्‍यो। ६ अन्तमा, ऊ एघारौँ घडीतिर* फेरि गयो र केही खेतालाहरू उभिरहेका देख्यो र उसले तिनीहरूलाई सोध्यो: ‘तिमीहरू किन दिनभरि काम नगरेर त्यत्तिकै उभिरहेका छौ?’ ७ तिनीहरूले उसलाई भने: ‘किनभने कसैले पनि हामीलाई काममा लगाएन।’ अनि उसले तिनीहरूलाई भन्यो: ‘त्यसोभए तिमीहरू पनि मेरो अङ्‌गुर बगानमा जाओ।’

८ “जब साँझ पऱ्‍यो, तब अङ्‌गुर बगानको मालिकले आफ्नो घरको रेखदेख गर्ने नाइकेलाई भन्यो: ‘खेतालाहरूलाई बोलाऊ अनि काममा सबैभन्दा पछि आउनेहरूदेखि सुरु गरेर पहिला आउनेहरूसम्म सबैलाई तिनीहरूको ज्याला देऊ।’+ ९ तब एघारौँ घडीमा काम सुरु गर्ने खेतालाहरू आए र तिनीहरू हरेकले एक दिनार* पाए। १० सुरुमा काम थाल्नेहरू पनि आए। तिनीहरूले बढी ज्याला पाउँछौँ भन्ठानेका थिए तर तिनीहरूले पनि एक-एक दिनार* नै पाए। ११ एक दिनार मात्र पाएपछि तिनीहरूले अङ्‌गुर बगानको मालिकसित यसो भन्दै गुनासो गर्न थाले: १२ ‘यी पछि आउनेहरूले एक घण्टा मात्र काम गरे। हामीले भने दिनभरि घाममा जोतिएर काम गऱ्‍यौँ तैपनि तपाईँले तिनीहरूलाई हामीसरह ज्याला दिनुभयो।’ १३ अनि तिनीहरूमध्ये एक जनालाई मालिकले यस्तो जवाफ दियो: ‘हेर भाइ, मैले तिमीलाई केही अन्याय गरेको छैनँ। के तिमीले मसित एक दिनारमै* काम गर्ने कबुल गरेका होइनौ?+ १४ तिम्रो जे हो, लिएर जाऊ। पछि आउने यस खेतालोलाई पनि म तिमीलाई जति नै दिन चाहन्छु। १५ मेरो सम्पत्ति म जेसुकै गरूँ, के त्यो मेरो अधिकार होइन? अथवा मैले भलाइ गरेको* देखेर तिमीलाई डाह लाग्यो?’+ १६ यसरी पछिल्लाहरूचाहिँ पहिला अनि पहिलाहरूचाहिँ पछिल्ला हुनेछन्‌।”+

१७ यरुसलेम उक्लँदै गर्दा येसुले १२ जना चेलालाई अलग्गै एक ठाउँमा लैजानुभयो र यसो भन्‍नुभयो:+ १८ “हेर! हामी यरुसलेमतर्फ उक्लँदै छौँ, मानिसको छोरालाई मुख्य पुजारीहरू र शास्त्रीहरूको हातमा सुम्पिइनेछ अनि तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन्‌+ १९ र अन्यजातिका मानिसहरूको हातमा सुम्पिनेछन्‌ अनि तिनीहरूले उसको गिल्ला गर्नेछन्‌, उसलाई कोर्रा लगाउनेछन्‌ र खम्बामा टाँग्नेछन्‌+ अनि तेस्रो दिनमा उसलाई ब्युँताइनेछ।”+

२० तब जब्दिकी+ पत्नी आफ्ना दुई छोरा लिएर येसुकहाँ आइन्‌ र उहाँलाई दण्डवत्‌ गरिन्‌। तिनी उहाँसित केही कुरा माग्न चाहन्थिन्‌।+ २१ उहाँले तिनलाई सोध्नुभयो: “तिमी के चाहन्छ्यौ?” तिनले उहाँलाई भनिन्‌: “मलाई वचन दिनुहोस्‌, तपाईँको राज्यमा मेरा यी दुई छोरा एक जना तपाईँको दाहिने हाततिर र अर्कोचाहिँ देब्रे हाततिर बस्न पाउनेछन्‌।”+ २२ येसुले यस्तो जवाफ दिनुभयो: “तिमीहरू के माग्दै छौ, त्यो तिमीहरू जान्दैनौ। मैले पिउन लागेको कचौरा के तिमीहरू पिउन सक्छौ?”+ तिनीहरूले उहाँलाई भने: “सक्छौँ।” २३ तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूले मेरो कचौरा निश्‍चय पिउनेछौ+ तर मेरो दाहिने र देब्रे हाततिर बस्न दिने अधिकार मसित छैन। मेरो बुबाले जसको लागि त्यो तयार पार्नुभएको छ, ऊ नै त्यहाँ बस्नेछ।”+

२४ जब बाँकी १० जनाले यो कुरा सुने, तब तिनीहरू ती दुई दाजुभाइसित असाध्यै रिसाए।+ २५ तर येसुले तिनीहरूलाई आफूकहाँ बोलाएर यसो भन्‍नुभयो: “तिमीहरूलाई थाहै छ, संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन्‌ र ठूलाबडाहरूले तिनीहरूमाथि अख्तियार जमाउँछन्‌।+ २६ तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन;+ तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ।+ २७ अनि तिमीहरूमाझ जो पहिलो हुन चाहन्छ, ऊ तिमीहरूको दास हुनुपर्छ।+ २८ जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+

२९ उहाँहरू यरिहोबाट निस्केर जाँदै गर्दा मानिसहरूको एउटा ठूलो भीड उहाँको पछि लाग्यो। ३० अनि हेर! दुई जना अन्धा बाटोको छेउमा बसिरहेका थिए। जब तिनीहरूले येसु त्यही बाटो भएर जाँदै हुनुहुन्छ भनी सुने, तब तिनीहरूले यसो भन्दै पुकारे: “हे प्रभु, दाउदका छोरा, हामीमाथि कृपा गर्नुहोस्‌!”+ ३१ भीडले तिनीहरूलाई चुप लाग भनी हप्कायो तर तिनीहरू भने यसो भन्दै झन्‌ चिच्याए: “हे प्रभु, दाउदका छोरा, हामीमाथि कृपा गर्नुहोस्‌!” ३२ त्यसैले येसु रोकिनुभयो र तिनीहरूलाई बोलाएर सोध्नुभयो: “मैले तिमीहरूका लागि के गरिदिएको तिमीहरू चाहन्छौ?” ३३ तिनीहरूले उहाँलाई भने: “हे प्रभु, हाम्रा आँखाले देख्न सकून्‌।” ३४ तब येसुले टिठाउँदै तिनीहरूको आँखा छुनुभयो+ अनि उत्तिखेरै तिनीहरूले देख्न थाले र तिनीहरू उहाँको पछि लागे।

२१ जब उहाँहरू यरुसलेमनजिकै जैतुन डाँडाको बेथफागे पुग्नुभयो, तब येसुले आफ्ना दुई जना चेलालाई यसो भन्दै पठाउनुभयो:+ २ “तिमीहरूले देखिरहेको त्यस गाउँमा जाओ र त्यहाँ पस्नेबित्तिकै तिमीहरूले गधा र त्यसको बछेडोलाई बाँधेर राखेको भेट्टाउनेछौ। ती फुकाएर यहाँ मकहाँ ल्याओ। ३ यदि कसैले केही सोध्यो भने तिमीहरूले यसो भन्‍नू, ‘प्रभुलाई यी चाहिएको छ।’ अनि उसले ती तुरुन्तै तिमीहरूलाई दिनेछ।”

४ वास्तवमा यी सबै कुरा भविष्यवक्‍ताद्वारा भनिएको यो वचन पूरा हुनलाई भएको थियो: ५ “सियोनकी छोरीलाई भन, ‘हेर, तिम्रा राजा तिमीकहाँ आउँदै छन्‌।+ तिनी कोमल स्वभावका छन्‌+ र तिनी गधामाथि, हो, भारी बोक्ने गधाको बछेडोमाथि सवार छन्‌।’”+

६ त्यसपछि चेलाहरू आफ्नो बाटो लागे अनि येसुले आज्ञा गर्नुभएबमोजिम गरे।+ ७ तिनीहरूले गधा र त्यसको बछेडो ल्याए र तीमाथि आफ्ना लुगाहरू बिछ्याए अनि उहाँ त्यसमाथि बस्नुभयो।+ ८ तब भीडमा भएकाहरूमध्ये धेरैले आ-आफ्नो लुगा बाटोमा बिछ्याए+ अनि अरू कतिले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाउन थाले। ९ अनि उहाँको अघिअघि गइरहेको र पछिपछि आइरहेको मानिसहरूको भीडले यसो भन्दै जयजयकार गर्न थाल्यो: “हे परमेश्‍वर, दाउदका छोराको रक्षा गर्नुहोस्‌!+ यहोवाको* नाममा आउने धन्यका हुन्‌!+ हे स्वर्गमा बस्नुहुने परमेश्‍वर, बिन्ती! उहाँको रक्षा गर्नुहोस्‌!”+

१० जब उहाँ यरुसलेमभित्र पस्नुभयो, तब पूरै सहरमा हल्लीखल्ली मच्चियो र मानिसहरूले सोध्न थाले: “यिनी को हुन्‌?” ११ अनि भीडले यसो भन्‍न थाल्यो: “यिनी गालिलको नासरतका येसु हुन्‌। प्रतिज्ञा गरिएको भविष्यवक्‍ता यिनी नै हुन्‌।”+

१२ तब येसु मन्दिरभित्र पस्नुभयो र त्यहाँ किनबेच गरिरहेकाहरू सबैलाई बाहिर लघार्नुभयो। उहाँले पैसा साट्‌नेहरूको टेबुल अनि ढुकुर बेच्नेहरूको बेन्च पनि पल्टाइदिनुभयो।+ १३ त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “‘मेरो घर प्रार्थनाको घर भनेर चिनिनेछ’ भनी धर्मशास्त्रमा लेखिएको छ।+ तर तिमीहरू यसलाई डाँकुहरूको ओडार बनाउँदै छौ।”+ १४ साथै अन्धा अनि लुला-लङ्‌गडाहरू मन्दिरमा उहाँकहाँ आए र उहाँले तिनीहरूलाई निको पार्नुभयो।

१५ जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरू देखे अनि “हे परमेश्‍वर, दाउदका छोराको रक्षा गर्नुहोस्‌!”+ भन्दै मन्दिरमा ठिटाहरूले जयजयकार गरेको सुने, तब तिनीहरू क्रोधित भए+ १६ र उहाँलाई भने: “यिनीहरू के भन्दै छन्‌, के तपाईँ सुन्दै हुनुहुन्छ?” येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “सुन्दै छु। के तिमीहरूले यो कुरा कहिल्यै पढेका छैनौ: ‘तपाईँले केटाकेटी अनि दूधे बालकहरूको बोलीबाट आफ्नो प्रशंसा गर्न लगाउनुभयो’?”+ १७ अनि तिनीहरूलाई त्यहीँ छोडी उहाँ सहरबाट निस्केर बेथानी जानुभयो र त्यहाँ रात काट्‌नुभयो।+

१८ बिहान सबेरै सहर फर्कँदै गर्दा उहाँ भोकाउनुभयो।+ १९ अनि उहाँले बाटोको छेउमा अन्जिरको एउटा रूख देख्नुभयो र त्यसतिर जानुभयो तर उहाँले त्यसमा पातबाहेक केही पाउनुभएन।+ त्यसैले उहाँले त्यसलाई यसो भन्‍नुभयो: “तँमा अबदेखि कहिल्यै फल नलागोस्‌।”+ तब अन्जिरको त्यो रूख उत्तिखेरै सुकिहाल्यो। २० जब चेलाहरूले यो देखे, तब अचम्म मान्दै सोधे: “यो अन्जिरको रूख कसरी तुरुन्तै सुक्यो?”+ २१ अनि येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यदि तिमीहरूसित विश्‍वास छ र तिमीहरूले शङ्‌का गरेनौ भने मैले अन्जिरको रूखलाई जे गरेँ, त्यति मात्र होइन तर यस पहाडलाई ‘यहाँबाट उप्किएर समुद्रमा खस्‌’ भन्यौ भने त्यो पनि हुनेछ।+ २२ तिमीहरूले विश्‍वास गर्दै प्रार्थनामा जे-जे माग्छौ, ती सबै तिमीहरूले पाउनेछौ।”+

२३ त्यसपछि उहाँ मन्दिरमा पस्नुभयो र त्यहाँ सिकाइरहनुभएको बेला मुख्य पुजारीहरू र धर्मगुरुहरू आएर उहाँलाई सोधे: “तपाईँ कुन अख्तियारले यी सब गर्दै हुनुहुन्छ? तपाईँलाई कसले यस्तो अख्तियार दियो?”+ २४ येसुले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म पनि तिमीहरूलाई एउटा कुरा सोध्छु। तिमीहरूले मलाई त्यसको जवाफ दियौ भने म कुन अख्तियारले यी सब गर्दै छु, म पनि तिमीहरूलाई भन्छु: २५ युहन्‍नाले बप्तिस्मा गराउने अख्तियार कसबाट पाए? परमेश्‍वरबाट* कि मानिसहरूबाट?” तब तिनीहरू आपसमा यसो भन्दै तर्क गर्न थाले: “‘परमेश्‍वरबाट’ भनौँ भने ‘उसोभए तिमीहरूले किन ऊमाथि विश्‍वास गरेनौ त’ भनेर उसले सोध्नेछ।+ २६ ‘मानिसहरूबाट’ भनौँ भने हामीलाई भीडसित डर लाग्छ किनकि तिनीहरू सबैले युहन्‍नालाई भविष्यवक्‍ता मान्छन्‌।” २७ त्यसैले तिनीहरूले येसुलाई यस्तो जवाफ दिए: “हामीलाई थाह छैन।” तब उहाँले पनि तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म कुन अख्तियारले यी सब गर्छु, म पनि तिमीहरूलाई भन्दिनँ।

२८ “तिमीहरूलाई कस्तो लाग्छ? एक जना मानिसका दुई छोरा थिए। जेठोकहाँ गएर तिनले यसो भने, ‘बाबु, जाऊ गएर आज अङ्‌गुर बगानमा काम गर।’ २९ उसले ‘नाइँ, म जान्‍नँ’ भन्यो तर पछि ऊ पछुतायो र अङ्‌गुर बगानमा गयो। ३० अनि कान्छोकहाँ गएर तिनले त्यसै भन्दा उसले ‘हवस्‌ बुबा’ भन्यो तर ऊ गएन। ३१ यी दुईमध्ये कसले आफ्नो बुबाको इच्छा पूरा गऱ्‍यो?” तिनीहरूले जवाफ दिए: “जेठोचाहिँले।” अनि येसुले तिनीहरूलाई यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, कर उठाउनेहरू र वेश्‍याहरू तिमीहरूभन्दा पहिला परमेश्‍वरको राज्यमा पस्नेछन्‌। ३२ किनकि युहन्‍ना आए र तिमीहरूलाई सत्यको बाटो देखाए तैपनि तिमीहरूले ऊमाथि विश्‍वास गरेनौ। तर कर उठाउनेहरू र वेश्‍याहरूले ऊमाथि विश्‍वास गरे+ र यो देख्दादेख्दै पनि तिमीहरू पछुताएनौ र ऊमाथि विश्‍वास गरेनौ।

३३ “अर्को एउटा उदाहरण सुन: एक जना जग्गाधनी थियो, जसले अङ्‌गुर बगान लगाएर त्यसको वरिपरि बार हाल्यो।+ त्यसपछि उसले अङ्‌गुर पेल्ने कोल खन्यो र एउटा मचान खडा गऱ्‍यो।+ अनि मोहीहरूलाई त्यसको ठेक्का दिएर आफूचाहिँ विदेशतिर लाग्यो।+ ३४ जब फल टिप्ने बेला भयो, तब उसले आफ्ना दासहरूलाई कुत उठाउन* मोहीहरूकहाँ पठायो। ३५ तर मोहीहरूले उसका दासहरूलाई समातेर एक जनालाई कुटे, अर्कोलाई मारे अनि अर्कोलाई चाहिँ ढुङ्‌गाले हानेर मारे।+ ३६ फेरि उसले पहिलेको भन्दा धेरै दास पठायो तर तिनीहरूले उनीहरूलाई पनि त्यसै गरे।+ ३७ ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्नेछन्‌’ भन्‍ने सोच्दै अन्त्यमा उसले आफ्नो छोरालाई तिनीहरूकहाँ पठायो। ३८ तर छोराचाहिँ आएको देखेर ती मोहीहरूले आपसमा यसो भने, ‘यो त हकवाला हो।+ आओ, यसलाई मारौँ र यसको सम्पत्ति हात पारौँ।’ ३९ तब तिनीहरूले उसलाई समाते र अङ्‌गुर बगानबाहिर लगेर मारे।+ ४० अङ्‌गुर बगानको मालिक आएपछि उसले ती मोहीहरूलाई के गर्ला?” ४१ तिनीहरूले उहाँलाई जवाफ दिए: “तिनीहरू दुष्ट भएकोले उसले रतीभर दया नदेखाई तिनीहरूलाई नाश गर्नेछ र आफ्नो अङ्‌गुर बगान त्यस्ता मोहीहरूलाई दिनेछ, जसले समयमै कुत बुझाउँछन्‌।”

४२ येसुले तिनीहरूलाई भन्‍नुभयो: “के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ, ‘जुन ढुङ्‌गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्‌गो नै कुनाको शिरढुङ्‌गो बनेको छ।+ यहोवाले* त्यसो गर्नुभएको हो र यो हाम्रो नजरमा अति अचम्मको छ’?+ ४३ त्यसैले म तिमीहरूलाई भन्छु, परमेश्‍वरको राज्यमा पस्ने मौका तिमीहरूको हातबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यस राज्यको लागि सुहाउँदो फल फलाउँछ। ४४ साथै जो यस ढुङ्‌गोमाथि बजारिन्छ, त्यो चकनाचुर हुनेछ+ र जसमाथि यो ढुङ्‌गो खस्छ, त्यो धुलोपिठो हुनेछ।”+

४५ जब मुख्य पुजारीहरू र फरिसीहरूले उहाँले बताउनुभएका यी उदाहरणहरू सुने, तब उहाँले तिनीहरूकै विषयमा पो भनिरहनुभएको रहेछ भनी तिनीहरूले बुझे।+ ४६ तिनीहरूले उहाँलाई पक्रन चाहे तर भीडसित डराए किनकि मानिसहरू उहाँलाई भविष्यवक्‍ता मान्थे।+

२२ येसुले फेरि उदाहरणहरू चलाएर तिनीहरूलाई यसो भन्‍नुभयो: २ “स्वर्गको राज्यलाई एउटा राजासित तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे।+ ३ अनि तिनले विवाह-भोजका निम्तालुहरूलाई बोलाउन आफ्ना दासहरू पठाए तर तिनीहरू आउन मानेनन्‌।+ ४ तिनले फेरि यसो भनेर अरू दासहरू पठाए: ‘निम्तालुहरूलाई यसो भन: “हेर्नुहोस्‌! मैले दिवा-भोज तयार पारेको छु, मेरा बहर र मोटा-मोटा पशुहरू काट्‌न लगाइसकेको छु अनि सबै थोक तयार भइसकेका छन्‌। विवाह-भोजमा आउनुहोस्‌।”’ ५ तर तिनीहरूले वास्तै गरेनन्‌; एक जना आफ्नो खेततिर गयो, अर्कोचाहिँ व्यापारतिर लाग्यो।+ ६ बाँकी अरूले तिनका दासहरूलाई पक्रेर दुर्व्यवहार गरे र तिनीहरूलाई मारे।

७ “तब राजा क्रोधित भए अनि आफ्नो सेना पठाएर ती हत्याराहरूलाई मारे र तिनीहरूको सहरमा आगो लगाइदिए।+ ८ त्यसपछि तिनले आफ्ना दासहरूलाई भने: ‘विवाह-भोज त तयार छ तर निम्तालुहरू योग्य भएनन्‌।+ ९ त्यसैले सहरका मूलबाटोहरूमा जाओ र ज-जसलाई भेट्टाउँछौ, सबैलाई विवाह-भोजको निम्तो देओ।’+ १० त्यसैले ती दासहरू बाटोतिर गए अनि के दुष्ट, के सज्जन, भेटेजति सबैलाई जम्मा गरे र विवाह-घर पाहुनाहरूले भरियो।

११ “जब राजा पाहुनाहरूलाई हेर्न आए, तब तिनले एक जना मानिसलाई विवाहमा लगाउनुपर्ने पोसाक नलगाई आएको देखे। १२ त्यसैले तिनले उसलाई सोधे: ‘मित्र, विवाहमा लगाउनुपर्ने पोसाक नलगाई भित्र छिर्ने आँट तिमीले कसरी गऱ्‍यौ?’ उसले जवाफै दिन सकेन। १३ त्यसपछि राजाले आफ्ना सेवकहरूलाई भने: ‘त्यसको हातखुट्टा बाँधेर त्यसलाई बाहिर अन्धकारमा फालिदेओ, जहाँ त्यो दाह्रा किटी-किटी रुनेछ।’

१४ “किनकि निम्तालुहरू त धेरै छन्‌ तर चुनिएकाहरू भने थोरै हुन्छन्‌।”

१५ त्यसपछि फरिसीहरू त्यहाँबाट निस्के र उहाँले बोल्नुभएकै कुरामा उहाँलाई कसरी फसाउने भनी षड्‌यन्त्र रच्न थाले।+ १६ त्यसैले तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदवादीहरूसित उहाँकहाँ पठाए+ र यसो भन्‍न लगाए: “गुरुज्यू, हामीलाई थाह छ, तपाईँ सधैँ साँचो कुरा बोल्नुहुन्छ र परमेश्‍वरको मार्ग ठीकसित सिकाउनुहुन्छ अनि तपाईँ अरूको वाहवाही खोज्नुहुन्‍न किनकि तपाईँ मानिसहरूको मुख हेरेर व्यवहार गर्नुहुन्‍न। १७ त्यसकारण तपाईँलाई कस्तो लाग्छ, हामीलाई भन्‍नुहोस्‌: सिजरलाई* कर तिर्नु उचित हो कि होइन?” १८ तर तिनीहरूको दुष्ट विचार थाह पाएर येसुले भन्‍नुभयो: “ए कपटीहरू, तिमीहरू किन मेरो परीक्षा लिन्छौ? १९ कर तिर्ने सिक्का मलाई देखाओ।” तिनीहरूले उहाँकहाँ एक दिनारको* सिक्का ल्याए। २० अनि उहाँले तिनीहरूलाई सोध्नुभयो: “यसमा कसको चित्र र नाम छ?” २१ तिनीहरूले जवाफ दिए: “सिजरको।” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जे-जे सिजरका हुन्‌, सिजरलाई र जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई देओ।”+ २२ यो सुनेर तिनीहरू जिल्ल परे अनि उहाँलाई छोडेर गए।

२३ सदुकीहरू, जो मरेकाहरू फेरि जीवित हुँदैनन्‌ भन्छन्‌,+ तिनीहरू पनि त्यही दिन उहाँकहाँ आए र सोधे:+ २४ “गुरुज्यू, ‘यदि कुनै मानिस निस्सन्तान मऱ्‍यो भने उसको भाइले आफ्नी भाउजूसित विवाह गरेर दाइको निम्ति सन्तान जन्माउनुपर्छ’ भनेर मोसाले भनेका छन्‌।+ २५ हामीकहाँ सात जना दाजुभाइ थिए अनि जेठोले विवाह गऱ्‍यो र निस्सन्तान मऱ्‍यो। त्यसैले भाइचाहिँले आफ्नी भाउजूसित विवाह गऱ्‍यो। २६ यही क्रम माइलो, साइँलो हुँदै सातौँ भाइसम्म चल्यो। २७ अन्तमा त्यो स्त्री पनि मरी। २८ त्यसोभए तिनीहरू फेरि जीवित हुँदा त्यो स्त्री ती सात जना दाजुभाइमध्ये कसकी पत्नी हुनेछे? किनकि सातै जनाले त्यसलाई पत्नी बनाइसकेका थिए।”

२९ येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “तिमीहरूले गलत बुझिरहेका छौ किनकि तिमीहरूले न धर्मशास्त्रलाई न त परमेश्‍वरको शक्‍तिलाई नै बुझेका छौ;+ ३० फेरि जीवित भएपछि न पुरुषले न स्त्रीले नै विवाह गर्नेछन्‌ तर तिनीहरू स्वर्गदूतहरूजस्तै हुनेछन्‌।+ ३१ मरेकाहरू फेरि जीवित हुने विषयमा परमेश्‍वरले तिमीहरूलाई के भन्‍नुभएको छ, के तिमीहरूले पढेका छैनौ: ३२ ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकुबका परमेश्‍वर हुँ’?+ उहाँ मरेकाहरूको होइन तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ।”+ ३३ उहाँको यस्तो शिक्षा सुनेर भीड छक्क पऱ्‍यो।+

३४ उहाँले सदुकीहरूको मुख टालिदिनुभयो भनेर जब फरिसीहरूले सुने, तब तिनीहरू हुल बाँधेर उहाँकहाँ आए। ३५ तिनीहरूमध्ये एक जना, जो मोसाको व्यवस्थामा पोख्त थियो, उसले उहाँको परीक्षा लिन यस्तो प्रश्‍न सोध्यो: ३६ “गुरुज्यू, व्यवस्थाको सबैभन्दा ठूलो आज्ञा कुन हो?”+ ३७ उहाँले उसलाई जवाफ दिनुभयो: “‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले* र आफ्नो सारा दिमागले प्रेम गर्नू।’+ ३८ यो नै सबैभन्दा ठूलो र पहिलो आज्ञा हो। ३९ दोस्रोचाहिँ यही हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’+ ४० यी नै दुई आज्ञामा सारा व्यवस्था र भविष्यवक्‍ताहरूको शिक्षा अडिएको छ।”+

४१ फरिसीहरू भेला भएको बेला येसुले तिनीहरूलाई सोध्नुभयो:+ ४२ “ख्रिष्टको विषयमा तिमीहरूको के धारणा छ? ऊ कसको छोरा हो?” तिनीहरूले उहाँलाई जवाफ दिए: “दाउदको।”+ ४३ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “त्यसोभए पवित्र शक्‍तिको प्रेरणा पाएर दाउदले+ किन उसलाई प्रभु भनेर सम्बोधन गर्दै यसो भने त, ४४ ‘यहोवाले* मेरा प्रभुलाई भन्‍नुभयो: “तिमी मेरो दाहिने हाततिर बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि राख्दिनँ”’?+ ४५ यदि दाउदले उसलाई प्रभु भनी सम्बोधन गर्छन्‌ भने ऊ कसरी तिनको छोरा हुन्छ?”+ ४६ अनि कसैले उहाँलाई एक शब्द जवाफ दिन सकेन र त्यस दिनदेखि उसो कसैले उहाँलाई अरू प्रश्‍न सोध्ने आँट पनि गरेन।

२३ तब येसुले भीड र आफ्ना चेलाहरूसित कुरा गर्दै यसो भन्‍नुभयो: २ “शास्त्री र फरिसीहरूले आफैलाई मोसाको व्यवस्थाको शिक्षक बनाएका छन्‌। ३ यसकारण तिनीहरूले तिमीहरूलाई जे-जे भन्छन्‌, ती सबै गर तर तिनीहरूले गरेजस्तै चाहिँ नगर किनभने तिनीहरू भन्‍न त भन्छन्‌ तर गर्दैनन्‌।+ ४ तिनीहरू मानिसहरूको काँधमा बोझिला नियमहरूको भारी राखिदिन्छन्‌+ तर ती उठाउन आफू भने एउटा औँला पनि लगाउन चाहँदैनन्‌।+ ५ तिनीहरू जे-जति गर्छन्‌, ती सब मानिसहरूले देखून्‌ भनेर गर्छन्‌+ किनकि तिनीहरू आफ्ना जन्तर* ठूलठूला बनाउँछन्‌+ अनि आफ्ना लुगाको झुम्का लामा-लामा पार्छन्‌।+ ६ तिनीहरू रात्रिभोजहरूमा मुख्यमुख्य आसन खोज्छन्‌, सभाघरहरूमा सबैभन्दा अगाडि* बस्न रुचाउँछन्‌,+ ७ बजारहरूमा विशेष अभिवादन चाहन्छन्‌ अनि मानिसहरूले रब्बी* भनेर बोलाएको मन पराउँछन्‌। ८ तर तिमीहरूलाई भने रब्बी नभनियोस्‌ किनकि तिमीहरूको गुरु+ एकै जना हुनुहुन्छ र तिमीहरूचाहिँ सबै दाजुभाइ हौ। ९ साथै तिमीहरू पृथ्वीमा कसैलाई पिता नभन किनकि तिमीहरूका पिता एकै जना हुनुहुन्छ,+ जो स्वर्गमा बस्नुहुन्छ। १० न त कसैले तिमीहरूलाई नेता भनोस्‌ किनकि तिमीहरूका नेता एकै जना हुनुहुन्छ, जो ख्रिष्ट हुनुहुन्छ। ११ तर तिमीहरूमाझ जो सबैभन्दा ठूलो हो, ऊ तिमीहरूको सेवक बनोस्‌।+ १२ जसले आफूलाई उच्च पार्छ, उसलाई होच्याइनेछ+ अनि जसले आफूलाई होच्याउँछ, उसलाई उच्च पारिनेछ।+

१३ “धिक्कार छ तिमीहरूलाई, ए कपटी शास्त्री र फरिसीहरू हो! किनकि तिमीहरू मानिसहरू नपसून्‌ भनेर स्वर्गको राज्यको ढोका बन्द गरिदिन्छौ। तिमीहरू न आफू पस्छौ न त पस्न खोज्नेहरूलाई नै भित्र छिर्न दिन्छौ।+ १४ *—

१५ “धिक्कार छ तिमीहरूलाई, ए कपटी शास्त्री र फरिसीहरू हो!+ किनकि तिमीहरू कोही एक जनालाई आफ्नो मतमा* ल्याउन समुद्र-समुद्र र पाखा-पाखा चाहार्छौ अनि जब ऊ तिमीहरूको मतमा आउँछ, तब तिमीहरू उसलाई आफूभन्दा दोबर गेहेन्‍नाको* योग्य बनाउँछौ।

१६ “धिक्कार छ तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो!+ किनकि तिमीहरू भन्छौ: ‘यदि कसैले मन्दिरको कसम खान्छ भने त्यो केही होइन तर कसैले मन्दिरको सुनको कसम खान्छ भने उसले त्यो पूरा गर्नै पर्छ।’+ १७ ए मूर्ख र अन्धाहरू हो! वास्तवमा कुनचाहिँ महत्त्वपूर्ण हो, सुन कि सुनलाई पवित्र तुल्याउने मन्दिर? १८ साथै तिमीहरू यसो पनि भन्छौ: ‘यदि कसैले वेदीको कसम खान्छ भने त्यो केही होइन तर कसैले वेदीमाथि राखिएको भेटीको कसम खान्छ भने उसले त्यो पूरा गर्नै पर्छ।’ १९ ए अन्धाहरू हो! वास्तवमा कुनचाहिँ महत्त्वपूर्ण हो, भेटी कि भेटीलाई पवित्र तुल्याउने वेदी? २० त्यसकारण जसले वेदीको कसम खान्छ, उसले वेदी र त्यसमाथि राखिएका सबै थोकको कसम खान्छ; २१ अनि जसले मन्दिरको कसम खान्छ, उसले मन्दिर र मन्दिरमा बास गर्नुहुनेको कसम खान्छ।+ २२ अनि जसले स्वर्गको कसम खान्छ, उसले परमेश्‍वरको सिंहासन र त्यसमा बस्नुहुनेको कसम खान्छ।

२३ “धिक्कार छ तिमीहरूलाई, ए कपटी शास्त्री र फरिसीहरू हो! किनकि तिमीहरू पुदिना, सुप र जीराको दशांश चढाउँछौ+ तर न्याय,+ कृपा+ र वफादारी जस्ता व्यवस्थाका गहकिला कुराहरूलाई बेवास्ता गर्छौ। तिमीहरूले ती कुराहरू चढाउनुपर्थ्यो तर यी कुराहरूलाई पनि लत्त्याउनु हुँदैनथ्यो।+ २४ ए अन्धा अगुवाहरू हो!+ तिमीहरू भुसुना चाल्छौ+ तर उँटलाई चाहिँ निलिहाल्छौ!+

२५ “धिक्कार छ तिमीहरूलाई, ए कपटी शास्त्री र फरिसीहरू हो! किनकि तिमीहरू ती कचौरा र थालजस्ता छौ, जुन बाहिर मात्र माझिएको हुन्छ+ तर भित्र भने फोहोरै हुन्छ। तिमीहरूभित्र लोभ*+ र भोगविलास भरिएको छ।+ २६ ए अन्धो फरिसी, पहिला कचौरा र थालको भित्रपट्टि माझ, तब त्यसको बाहिरपट्टि पनि सफा हुनेछ।

२७ “धिक्कार छ तिमीहरूलाई, ए कपटी शास्त्री र फरिसीहरू हो!+ किनकि तिमीहरू कमेरो पोतेका चिहानहरूजस्तै छौ,+ जो बाहिरबाट हेर्दा साँच्चै सुन्दर देखिन्छन्‌ तर भित्र भने मरेका मानिसहरूको हाडखोड र हरप्रकारका अशुद्ध थोकहरूले भरिएका हुन्छन्‌। २८ यसरी नै तिमीहरू पनि बाहिरबाट हेर्दा मानिसहरूको अगाडि धर्मी देखिन्छौ तर भित्र भने तिमीहरू कपट र कुकर्मले भरिएका छौ।+

२९ “धिक्कार छ तिमीहरूलाई, ए कपटी शास्त्री र फरिसीहरू हो!+ किनकि तिमीहरू भविष्यवक्‍ताहरूको चिहान बनाउँछौ अनि धर्मी मानिसहरू गाडिएको ठाउँलाई सिँगार्छौ।+ ३० अनि तिमीहरू भन्छौ, ‘यदि हामी हाम्रा पितापुर्खाको समयमा हुँदा हौँ त, तिनीहरूले भविष्यवक्‍ताहरूको हत्या गर्दा हामी त्यसमा सहभागी हुने थिएनौँ।’ ३१ यसकारण तिमीहरू भविष्यवक्‍ताहरूको हत्याराहरूका सन्तान हौ भनी तिमीहरू आफैले आफ्नो विरुद्धमा साक्षी दिँदै छौ।+ ३२ त्यसैले अब तिमीहरूका पितापुर्खाको बिँडो थाम्न कुनै कसर बाँकी नछोड।

३३ “ए विषालु सर्पका बच्चाहरू हो,+ तिमीहरू गेहेन्‍नाको* इन्साफबाट कसरी उम्कौला?+ ३४ यसकारण म तिमीहरूकहाँ भविष्यवक्‍ताहरू,+ बुद्धिमान्‌ मानिसहरू र शिक्षकहरू पठाउँदै छु।+ तिनीहरूमध्ये केहीलाई तिमीहरूले मार्नेछौ,+ केहीलाई खम्बामा टाँग्नेछौ अनि केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ+ र केहीलाई चाहिँ सहर-सहरमा खेदो गर्नेछौ;+ ३५ धर्मी मानिसहरूमध्ये पृथ्वीमा ज-जसको रगत बगाइयो, ती सबैको दोष तिमीहरूमाथि आइपरोस्‌—धर्मी मानिस हाबिलदेखि+ बरखियाको छोरा जकरियाको रगतसम्म, जसको तिमीहरूले मन्दिर र वेदीको बीचमा हत्या गरेका थियौ।+ ३६ म तिमीहरूलाई साँच्चै भन्छु, यी सब यस पुस्तामाथि आइपर्नेछ।

३७ “यरुसलेम, हे यरुसलेम, तँ जसले भविष्यवक्‍ताहरूलाई मारिस्‌ र आफूकहाँ पठाइएकाहरूलाई ढुङ्‌गाले हानिस्‌!+ कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैँ मैले तेरा छोराछोरीलाई कत्ति पटक बटुल्न चाहेँ! तर तिमीहरूले मानेनौ।+ ३८ हेर! परमेश्‍वरले तिमीहरूको घरलाई त्याग्नुभएको छ।*+ ३९ किनकि म तिमीहरूलाई भन्छु, तिमीहरूले अबदेखि मलाई कुनै पनि हालतमा देख्नेछैनौ, जबसम्म तिमीहरू यसो भन्दैनौ: ‘यहोवाको* नाममा आउने धन्यका हुन्‌!’”+

२४ येसु मन्दिरबाट निस्कँदै गर्नुहुँदा चेलाहरू उहाँलाई मन्दिरका भवनहरू देखाउन उहाँको नजिक आए। २ अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूले यी सब देखिरहेका छौ, होइन? म तिमीहरूलाई साँच्चै भन्छु, एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत नरहनेगरि यी सब ढालिनेछन्‌।”+

३ उहाँ जैतुन डाँडामा बसिरहनुभएको बेला उहाँकहाँ सुटुक्क आएर चेलाहरूले सोधे: “हामीलाई भन्‍नुहोस्‌, यी कुराहरू कहिले हुनेछन्‌ अनि तपाईँको उपस्थिति*+ र यस युगको आखिरी समयको* चिन्ह के हुनेछ?”+

४ येसुले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “होसियार बस, तिमीहरूलाई कसैले बहकाउन नपाओस्‌।+ ५ किनकि धेरै जना मेरो नाम लिएर ‘म नै ख्रिष्ट हुँ’ भन्दै आउनेछन्‌ र धेरैलाई बहकाउनेछन्‌।+ ६ तिमीहरूले युद्धको कोलाहल अनि युद्धको खबर सुन्‍नेछौ तर तिमीहरू नआत्तिओ। किनकि यी सब हुनु आवश्‍यक छ तर यत्तिकैमा यस युगको अन्त भइहाल्नेछैन।+

७ “किनकि जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ+ अनि ठाउँठाउँमा अनिकाल+ र भूकम्प हुनेछ।+ ८ तर यी सब त प्रसववेदनाजस्तै सङ्‌कष्टको सुरुवात मात्र हुन्‌।

९ “तब मानिसहरूले तिमीहरूलाई सताउनेछन्‌+ र मार्नेछन्‌+ अनि मेरा चेला भएकाले सबै जातिले तिमीहरूलाई घृणा गर्नेछन्‌।+ १० यसबाहेक धेरै जनाले ठेस खानेछन्‌ र एकअर्कालाई धोका दिनुका साथै घृणा गर्नेछन्‌। ११ धेरै झूटा भविष्यवक्‍ता देखा पर्नेछन्‌ र धेरैलाई बहकाउनेछन्‌।+ १२ दुष्टता बढ्‌ने भएकोले धेरै जनाको प्रेम सेलाएर जानेछ। १३ तर जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।+ १४ अनि सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।+ त्यसपछि यस युगको अन्त हुनेछ।

१५ “त्यसैले जब तिमीहरूले उजाड पार्ने घृणित कुरा, जसबारे भविष्यवक्‍ता दानिएलले भनेका थिए, पवित्र ठाउँमा खडा भएको देखौला,+ (पढ्‌नेले समझ चलाओस्‌) १६ तब यहुदियामा हुनेहरू डाँडाहरूतिर भाग्न थालून्‌।+ १७ कौसीमा हुने मानिस आफ्नो मालसामान लिन ओर्लेर घरभित्र नपसोस्‌। १८ अनि खेतमा भएको मानिस आफ्नो लुगा लिन नफर्कोस्‌। १९ ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूलाई हाय! २० तिमीहरू हिउँदमा वा विश्रामदिनको* बेला भाग्नु नपरोस्‌ भनेर प्रार्थना गरिरहो। २१ किनकि त्यतिखेर यस्तो महासङ्‌कष्ट हुनेछ,+ जुन संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन न त फेरि कहिल्यै हुनेछ।+ २२ वास्तवमा ती दिन नघटाइने हो भने कोही मानिस बच्नेछैन। तर चुनिएकाहरूका लागि ती दिन घटाइनेछन्‌।+

२३ “तब यदि कसैले तिमीहरूलाई ‘हेर! ख्रिष्ट यहाँ हुनुहुन्छ’+ वा ‘त्यहाँ हुनुहुन्छ’ भन्छ भने नपत्याओ।+ २४ किनकि झूटा ख्रिष्टहरू अनि झूटा भविष्यवक्‍ताहरू+ देखा पर्नेछन्‌ र सम्भव भएसम्म चुनिएका जनहरूलाई समेत बहकाउन आश्‍चर्यजनक कार्यहरू गर्नेछन्‌।+ २५ हेर! म तिमीहरूलाई पहिल्यै चेतावनी दिँदै छु। २६ त्यसकारण यदि मानिसहरूले तिमीहरूलाई ‘हेर! उहाँ निर्जनभूमिमा हुनुहुन्छ’ भन्छन्‌ भने बाहिर नजाओ। ‘हेर! उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भन्छन्‌ भने नपत्याओ।+ २७ किनकि जसरी बिजुली पूर्वमा चम्कँदा पश्‍चिमसम्म देखिन्छ, मानिसको छोराको उपस्थिति* पनि त्यस्तै हुनेछ।+ २८ जहाँ सिनु हुन्छ, त्यहाँ चीलहरू जम्मा हुन्छन्‌।+

२९ “ती दिनका सङ्‌कष्टको तुरुन्तैपछि सूर्य अँध्यारो हुनेछ,+ चन्द्रमाले आफ्नो उज्यालो दिनेछैन, आकाशबाट ताराहरू खस्नेछन्‌ र आकाशका शक्‍तिहरू डगमगाउनेछन्‌।+ ३० अनि मानिसको छोराको चिन्ह आकाशमा देखा पर्नेछ र पृथ्वीका सबै कुलले शोक गर्दै आफ्नो छाती पिट्‌नेछन्‌+ अनि तिनीहरूले मानिसको छोरालाई+ शक्‍ति र ठूलो महिमासहित आकाशका बादलहरूमा आउँदै गरेको देख्नेछन्‌।+ ३१ अनि उसले आफ्ना स्वर्गदूतहरूलाई बिगुलको ठूलो आवाजसहित पठाउनेछ र परमेश्‍वरले चुन्‍नुभएका जनहरूलाई तिनीहरूले आकाशको एउटा कुनादेखि अर्को कुनासम्म चारै दिशाबाट* जम्मा गर्नेछन्‌।+

३२ “अब अन्जिरको रूखको उदाहरणबाट यो कुरा सिक: कलिलो हाँगा पलाएर त्यसमा पालुवा लाग्नेबित्तिकै तिमीहरूले ग्रीष्म ऋतु नजिकै रहेछ भनेर थाह पाउँछौ।+ ३३ त्यसैगरि जब तिमीहरू यी सबै कुरा देख्छौ, तब मानिसको छोरा नजिकै, ढोकामै छ भनेर जान।+ ३४ म तिमीहरूलाई साँच्चै भन्छु, यी सब कुरा नभएसम्म यो पुस्ता कुनै पनि हालतमा बितेर जानेछैन। ३५ आकाश र पृथ्वी बितेर जानेछन्‌ तर मेरा वचनहरू कुनै पनि हालतमा बितेर जानेछैनन्‌।+

३६ “त्यस दिन र समयको* विषयमा कसैले जान्दैन+ न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र जान्‍नुहुन्छ।+ ३७ नुहको दिन जस्तो थियो,+ मानिसको छोराको उपस्थिति* पनि त्यस्तै हुनेछ।+ ३८ किनकि जलप्रलयअघि नुह जहाजभित्र नपसेको दिनसम्म तिनीहरू खाँदै अनि पिउँदै थिए र विवाहवारी गर्दै थिए।+ ३९ अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नबगाएसम्म तिनीहरूले यादै गरेनन्‌;+ मानिसको छोराको उपस्थिति पनि त्यस्तै हुनेछ। ४० त्यसबेला दुई जना पुरुष खेतमा हुनेछन्‌; एक जनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ। ४१ दुइटी स्त्री जाँतो घुमाइरहेका हुनेछन्‌; एउटीलाई लगिनेछ अनि अर्कीलाई छोडिनेछ।+ ४२ त्यसकारण जागा रहो किनकि तिमीहरूका प्रभु कुन दिन आउँदै हुनुहुन्छ, तिमीहरूलाई थाह छैन।+

४३ “तर एउटा कुरा जानिराख, यदि घरमालिकलाई चोर कुन प्रहरमा* आउँदै छ भनेर थाह भएको भए+ ऊ जागै बस्ने थियो र त्यसलाई आफ्नो घर फोर्न दिने थिएन।+ ४४ यो कुरा विचार गर्दै तिमीहरू पनि तयार रहो+ किनकि तिमीहरूले नचिताएको समयमा मानिसको छोरा आउनेछ।

४५ “वास्तवमा विश्‍वासी र बुद्धिमान्‌* दास को हो, जसलाई उसको मालिकले आफ्नो घरका अरू दासहरूलाई ठीक समयमा भोजन देओस्‌ भनेर नियुक्‍त गरेका हुन्छन्‌?+ ४६ आनन्दित हो त्यो दास, जसलाई उसको मालिकले फर्केर आउँदा त्यसै गरिरहेको भेट्टाउँछन्‌!+ ४७ म तिमीहरूलाई साँच्चै भन्छु, तिनले उसलाई आफ्ना सबै सम्पत्तिमाथि नियुक्‍त गर्नेछन्‌।

४८ “तर यदि त्यो दास दुष्ट भयो र उसले ‘मेरो मालिक बियाँलो गर्दै हुनुहुन्छ’ भनी मनमनै भन्यो+ ४९ अनि आफ्ना सङ्‌गी दासहरूलाई पिट्‌न थाल्यो र पियक्कडहरूसित खान र पिउन लाग्यो भने ५० त्यस दासको मालिक उसले आसै नगरेको दिनमा र उसलाई थाहै नभएको समयमा आउनेछन्‌।+ ५१ अनि उसलाई असाध्यै कठोर दण्ड दिनेछन्‌ र कपटीहरू भएको ठाउँमा फ्याँकिदिनेछन्‌, जहाँ ऊ दाह्रा किटी-किटी रुनेछ।+

२५ “स्वर्गको राज्यलाई दस कन्यासित तुलना गर्न सकिन्छ, जो आ-आफ्नो दियो लिएर+ दुलहालाई भेट्‌न निस्के।+ २ तिनीहरूमध्ये पाँच जना निर्बुद्धि अनि पाँच जना बुद्धिमती* थिए।+ ३ किनकि निर्बुद्धिहरूले आ-आफ्नो दियो लगे तर तेल भने लगेनन्‌। ४ तर बुद्धिमतीहरूले चाहिँ दियोसँगसँगै आ-आफ्नो भाँडोमा तेल पनि लगे। ५ दुलहाले आउन ढिलो गर्दा तिनीहरू सबै निद्राले झुल्न थाले र भुसुक्कै निदाए। ६ अनि मध्यरातमा यस्तो स्वर सुनियो: ‘दुलहा आइपुग्नै लागे! तिनलाई भेट्‌न बाहिर निस्क।’ ७ तब ती सबै कन्या उठे र आ-आफ्नो दियो ठीक पारे।+ ८ निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने: ‘हामीलाई तिमीहरूको तेल अलिकता देओ न! हाम्रो दियो निभ्नै लाग्यो।’ ९ बुद्धिमतीहरूले यस्तो जवाफ दिए: ‘तिमीहरूलाई दियौँ भने हामी आफैलाई नपुग्ला। बरु तिमीहरू आफै पसलेकहाँ गएर आफ्नो लागि तेल किन।’ १० तिनीहरू पसल जाँदै गर्दा दुलहा आइपुगे र तयार भएर बसेका कन्याहरू विवाह-भोजमा सहभागी हुन तिनीसँगै भित्र पसे+ अनि ढोका बन्द गरियो। ११ पछि बाँकी पाँच कन्या पनि आइपुगे र यसो भन्‍न थाले: ‘दुलहाराजा, दुलहाराजा, हामीलाई ढोका खोलिदिनुहोस्‌ न!’+ १२ तर तिनले यस्तो जवाफ दिए: ‘म तिमीहरूलाई साँच्चै भन्छु, मैले तिमीहरूलाई चिनेकै छैनँ।’

१३ “त्यसकारण जागा रहो+ किनकि त्यो दिन र समय तिमीहरूलाई थाह छैन।+

१४ “स्वर्गको राज्य एक जना मानिसजस्तो हो, जसले परदेश जानुअघि आफ्ना दासहरूलाई बोलायो र आफ्नो सम्पत्ति जिम्मा लगायो।+ १५ उसले आफ्ना दासहरूको क्षमताअनुसार पहिलोलाई पाँच टालेन्ट,* दोस्रोलाई दुई टालेन्ट अनि तेस्रोलाई एक टालेन्ट चाँदीका सिक्काहरू दियो र परदेशतिर लाग्यो। १६ तब पाँच टालेन्ट पाउने दास तुरुन्तै गयो र त्यसबाट व्यापार गरेर थप पाँच टालेन्ट कमायो। १७ त्यसैगरि दुई टालेन्ट पाउनेले थप दुई टालेन्ट कमायो। १८ तर एक टालेन्ट मात्र पाउने चाहिँ आफ्नो बाटो लाग्यो र जमिन खनेर आफ्ना मालिकको धन* लुकाइराख्यो।

१९ “धेरै समयपछि ती दासहरूको मालिक फर्क्यो र तिनीहरूसित हिसाबकिताब माग्यो।+ २० तब पाँच टालेन्ट पाउने दास थप पाँच टालेन्ट लिएर अगाडि आयो र यसो भन्यो: ‘मालिक, हजुरले मलाई पाँच टालेन्ट दिनुभएको थियो। हेर्नुहोस्‌, मैले अरू पाँच टालेन्ट कमाएँ।’+ २१ मालिकले उसलाई भन्यो: ‘स्याबास, असल र विश्‍वासी दास! तिमी थोरै कुरामा विश्‍वासी भयौ। म तिमीलाई धेरै कुरामाथि नियुक्‍त गर्नेछु।+ तिमी आफ्नो मालिकसँगसँगै रमाऊ।’+ २२ त्यसपछि दुई टालेन्ट पाउने दास अगाडि आयो र यसो भन्यो: ‘मालिक, हजुरले मलाई दुई टालेन्ट दिनुभएको थियो। हेर्नुहोस्‌, मैले अरू दुई टालेन्ट कमाएँ।’+ २३ मालिकले उसलाई भन्यो: ‘स्याबास, असल र विश्‍वासी दास! तिमी थोरै कुरामा विश्‍वासी भयौ। म तिमीलाई धेरै कुरामाथि नियुक्‍त गर्नेछु। तिमी आफ्नो मालिकसँगसँगै रमाऊ।’

२४ “अन्तमा एक टालेन्ट पाउने दास अगाडि आयो र यसो भन्यो: ‘मालिक, तपाईँ आफूले नछरेको ठाउँमा कटनी गर्ने र आफूले ननिफनेको अन्‍न बटुल्ने कठोर मानिस हुनुहुन्छ भनेर मलाई थाह थियो।+ २५ त्यसैले मलाई डर लाग्यो र गएर तपाईँको एक टालेन्ट जमिनमुनि लुकाएँ। तपाईँको एक टालेन्ट तपाईँ नै लिनुहोस्‌।’ २६ उसको मालिकले यस्तो जवाफ दियो: ‘ए दुष्ट र अल्छे नोकर, म आफूले नछरेको ठाउँमा कटनी गर्ने र आफूले ननिफनेको अन्‍न बटुल्ने मानिस हुँ भनेर तँलाई थाहै रहेछ, हैन त? २७ त्यसोभए तैँले मेरो धन* साहूकहाँ लगेर राख्नुपर्ने थियो अनि म फर्कँदा मैले ब्याजसहित त्यो फिर्ता पाउने थिएँ।

२८ “‘त्यसैले त्यससित भएको एक टालेन्ट खोसेर दस टालेन्ट हुनेलाई देओ।+ २९ किनकि हरेक जोसित छ, उसलाई अझ धेरै दिइनेछ र ऊसित प्रशस्त हुनेछ तर जोसित छैन, ऊसित भएको पनि खोसिनेछ।+ ३० त्यो निकम्मा दासलाई बाहिर अन्धकारमा फालिदेओ, जहाँ त्यो दाह्रा किटी-किटी रुनेछ।’

३१ “जब मानिसको छोरा+ आफ्नो गौरवसहित सबै स्वर्गदूत लिएर आउँछ,+ तब ऊ आफ्नो गौरवशाली सिंहासनमा बस्नेछ। ३२ अनि उसको अगाडि सबै जाति भेला गराइनेछन्‌ र गोठालोले बाख्राहरूबाट भेडाहरूलाई छुट्ट्याएजस्तै उसले मानिसहरूलाई छुट्ट्याउनेछ। ३३ अनि उसले भेडाहरूलाई+ आफ्नो दाहिने हाततिर र बाख्राहरूलाई देब्रे हाततिर राख्नेछ।+

३४ “त्यसपछि राजाले आफ्नो दाहिने हाततिर हुनेहरूलाई भन्‍नेछ: ‘आओ, मेरो बुबाको आशिष्‌ पाएकाहरू हो, संसारको प्रारम्भदेखि तिमीहरूका लागि तयार पारिएको राज्य अधिकार गर। ३५ किनकि म भोकाएको थिएँ, तिमीहरूले मलाई केही खान दियौ; म तिर्खाएको थिएँ, तिमीहरूले मलाई केही पिउन दियौ। म पराई थिएँ, तिमीहरूले मेरो सत्कार गऱ्‍यौ;+ ३६ म नाङ्‌गो थिएँ,* तिमीहरूले मलाई लुगा लगाइदियौ।+ म बिरामी थिएँ, तिमीहरूले मेरो स्याहार गऱ्‍यौ। म झ्यालखानामा थिएँ, तिमीहरू मलाई भेट्‌न आयौ।’+ ३७ तब धर्मीहरूले उसलाई यसो भन्‍नेछन्‌: ‘हे प्रभु, हामीले तपाईँलाई कहिले भोको देख्यौँ र खान दियौँ अनि कहिले तिर्खाएको देख्यौँ र पिउन दियौँ?+ ३८ हामीले तपाईँलाई कहिले पराई भेट्टायौँ र तपाईँको सत्कार गऱ्‍यौँ अनि कहिले नाङ्‌गो देख्यौँ र तपाईँलाई लुगा लगाइदियौँ? ३९ हामीले तपाईँलाई कहिले बिरामी वा झ्यालखानामा देख्यौँ र तपाईँलाई भेट्‌न आयौँ?’ ४० राजाले तिनीहरूलाई यस्तो जवाफ दिनेछ: ‘म तिमीहरूलाई साँच्चै भन्छु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई जे-जति गऱ्‍यौ, त्यो तिमीहरूले मलाई नै गऱ्‍यौ।’+

४१ “त्यसपछि उसले आफ्नो देब्रे हाततिर हुनेहरूलाई भन्‍नेछ: ‘हे श्रापितहरू हो! मबाट पर हटिहाल+ र सधैँ बलिरहने आगोमा जाओ,+ जुन दियाबल र त्यसका दूतहरूका लागि तयार पारिएको छ।+ ४२ किनकि म भोकाएको थिएँ तर तिमीहरूले मलाई केही खान दिएनौ; म तिर्खाएको थिएँ तर तिमीहरूले मलाई केही पिउन दिएनौ। ४३ म पराई थिएँ तर तिमीहरूले मेरो सत्कार गरेनौ; नाङ्‌गो थिएँ तर तिमीहरूले मलाई लुगा लगाइदिएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ तर तिमीहरूले मेरो स्याहार गरेनौ।’ ४४ तब तिनीहरूले पनि यसो भन्‍नेछन्‌: ‘हे प्रभु, हामीले तपाईँलाई कहिले भोको वा तिर्खाएको वा पराई वा नाङ्‌गो वा बिरामी वा झ्यालखानामा देख्यौँ र पनि तपाईँको सेवा गरेनौँ?’ ४५ उसले तिनीहरूलाई यस्तो जवाफ दिनेछ: ‘म तिमीहरूलाई साँच्चै भन्छु, तिमीहरूले यी सबैभन्दा सानाहरूमध्ये एक जनालाई जे-जति गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।’+ ४६ अनि यिनीहरू सधैँका लागि नाश हुनेछन्‌*+ तर धर्मीहरूले भने अनन्त जीवन पाउनेछन्‌।”+

२६ यी सबै कुरा बताइसकेपछि येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: २ “तिमीहरूलाई थाहै छ, अबको दुई दिनपछि निस्तार चाड* मनाइनेछ+ अनि तिनीहरूले मानिसको छोरालाई खम्बामा टाँग्नको लागि शत्रुहरूको हातमा सुम्पिनेछन्‌।”+

३ तब मुख्य पुजारीहरू र धर्मगुरुहरू कैयाफा नाम गरेका प्रधानपुजारीको घरको चोकमा भेला भए+ ४ र येसुलाई कसरी छल गरेर पक्रने* अनि मार्ने भनी आपसमा मतो गरे।+ ५ तर तिनीहरूले यसो भनिरहेका थिए: “चाडको बेलामा त होइन नत्र मानिसहरूले हुलदङ्‌गा गर्नेछन्‌।”

६ येसु बेथानीमा कुष्ठरोगी सिमोनको घरमा हुनुहुँदा+ ७ एउटी स्त्री अलाबास्टरको* भाँडोमा महँगो सुगन्धित तेल लिएर उहाँकहाँ आई र उहाँ खान बसिरहनुभएको बेला उहाँको शिरमा त्यो खन्याउन थाली। ८ यो देखेर चेलाहरूलाई चित्त बुझेन र तिनीहरूले यसो भने: “किन यत्रो नोक्सानी? ९ यो निकै महँगो दाममा बेचेर त्यसबाट आएको पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” १० तिनीहरू के कुरा गर्दै छन्‌ भनी थाह पाएर येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन यस स्त्रीलाई दुःख दिन खोज्छौ? उसले मेरो लागि असलै काम गरेकी छे। ११ गरिबहरू त तिमीहरूसित सधैँभरि हुन्छन्‌+ तर म भने तिमीहरूसित सधैँभरि हुँदिनँ।+ १२ यस स्त्रीले मेरो शरीरमा यो सुगन्धित तेल लगाइदिएर मेरो मृत्युपछि मलाई गाड्‌न तयारी गरेकी हो।+ १३ म तिमीहरूलाई साँच्चै भन्छु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ-त्यहाँ यस स्त्रीले गरेको कुरा पनि उसको सम्झनामा सुनाइनेछ।”+

१४ तब ती १२ जनामध्ये एक, जसको नाम यहुदा इस्करियोत हो,+ तिनी मुख्य पुजारीहरूकहाँ गए+ १५ र भने: “मैले उहाँलाई धोका दिएर तपाईँहरूको हातमा सुम्पेँ भने तपाईँहरू मलाई के दिनुहुन्छ?”+ तिनीहरूले तिनलाई ३० टुक्रा चाँदी दिने कबुल गरे।+ १६ त्यसैले त्यस बेलादेखि तिनले उहाँलाई धोका दिने मौका खोज्न थाले।

१७ अखमिरा रोटीको चाडको* पहिलो दिनमा+ चेलाहरू येसुकहाँ आएर भने: “हामीले निस्तार चाडको भोज कहाँ तयार पारेको तपाईँ चाहनुहुन्छ?”+ १८ उहाँले भन्‍नुभयो: “तिमीहरू सहरमा जाओ र त्यहाँ फलानो-फलानो मानिसलाई यसो भन, ‘गुरुज्यू भन्‍नुहुन्छ: “मेरो मृत्यु हुने बेला नजिकै छ; म तिम्रो घरमा आफ्ना चेलाहरूसित निस्तार चाड मनाउनेछु।”’” १९ येसुले निर्देशन दिनुभएबमोजिमै चेलाहरूले गरे अनि निस्तार चाडको लागि तयारी गरे।

२० साँझ परेपछि+ उहाँ १२ जना चेलासित टेबुलमा खाइरहनुभएको थियो।+ २१ खाँदै गर्दा उहाँले भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+ २२ यो सुनेर असाध्यै दुःखी हुँदै तिनीहरूले पालैसित उहाँलाई सोध्न थाले: “प्रभु, के त्यो म हुँ?” २३ उहाँले यस्तो जवाफ दिनुभयो: “जसले मसँग एउटै कचौरामा हात चोप्छ, उसैले मलाई धोका दिनेछ।+ २४ यो कुरा साँचो हो कि मानिसको छोरा त आफ्नो विषयमा लेखिएअनुसारै जाँदै छ तर मानिसको छोरालाई धोका दिनेलाई भने धिक्कार छ!+ त्यो मानिस त जन्मँदै नजन्मेको भए त्यसको लागि बेस हुने थियो।”+ २५ तब उहाँलाई धोका दिनै आँटेका यहुदाले सोधे: “रब्बी, के त्यो म हुँ?” उहाँले तिनलाई भन्‍नुभयो: “तिमी आफैले भन्यौ।”

२६ खाँदै गर्दा येसुले एउटा रोटी लिनुभयो अनि प्रार्थना गरेपछि भाँच्नुभयो+ र चेलाहरूलाई दिँदै भन्‍नुभयो: “लेओ, खाओ। यो मेरो शरीरको प्रतीक हो।”+ २७ साथै उहाँले कचौरा लिनुभयो अनि प्रार्थना चढाएपछि तिनीहरूलाई दिँदै भन्‍नुभयो: “तिमीहरू सबैले यसबाट पिओ;+ २८ किनकि यो मेरो रगतको प्रतीक हो,+ जुन पापहरूको क्षमा होस्‌ भनेर+ थुप्रैका लागि बगाइनेछ+ र जसले परमेश्‍वरको करारलाई पक्का गर्छ।+ २९ तर म तिमीहरूलाई भन्छु: मेरो बुबाको राज्यमा तिमीहरूसित नयाँ दाखमद्य* नपिएसम्म म कुनै पनि हालतमा यो दाखमद्य फेरि पिउनेछैनँ।”+ ३० अन्तमा, स्तुतिगान गाइसकेपछि उहाँहरू जैतुन डाँडामा जानुभयो।+

३१ अनि येसुले तिनीहरूलाई भन्‍नुभयो: “आज राती ममाथि आइपर्ने कुराहरूले गर्दा तिमीहरू सबैले ठेस खानेछौ किनकि यस्तो लेखिएको छ: ‘म गोठालोलाई प्रहार गर्नेछु र भेडाहरू तितरबितर हुनेछन्‌।’+ ३२ तर मलाई मृत्युबाट ब्युँताइएपछि म तिमीहरूभन्दा अघि गालिल जानेछु।”+ ३३ तर पत्रुसले उहाँलाई भने: “तपाईँमाथि आइपर्ने कुराहरूले गर्दा अरू सबैले ठेस खाए पनि म भने कहिल्यै ठेस खानेछैनँ!”+ ३४ येसुले तिनलाई भन्‍नुभयो: “म तिमीलाई साँच्चै भन्छु, भाले बास्नुअघि आज राती तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ ३५ पत्रुसले उहाँलाई भने: “तपाईँसँगै मर्नु पऱ्‍यो भने पनि म कुनै हालतमा तपाईँलाई तिरस्कार गर्नेछैनँ।”+ अरू सबै चेलाले पनि त्यसै भने।

३६ तब येसु तिनीहरूसित गेत्समनी भनिने ठाउँमा पुग्नुभयो+ र उहाँले चेलाहरूलाई भन्‍नुभयो: “म त्यहाँ गएर प्रार्थना गर्छु, त्यतिन्जेल तिमीहरू यहीँ बसिरहनू।”+ ३७ अनि पत्रुसलाई र जब्दिका दुई छोरालाई लिएर उहाँ जानुभयो। तब उहाँ असाध्यै दुःखित र खिन्‍न हुनुभयो।+ ३८ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मलाई मेरो ज्यानै जाला जस्तोगरि अत्यन्तै दुःख लागेको छ। तिमीहरू यहीँ बस र मसँगै जागा रहो।”+ ३९ अनि अलि पर गएर उहाँ घोप्टो पर्नुभयो र यसो भन्दै प्रार्थना गर्नुभयो:+ “हे मेरो बुबा, यदि सम्भव छ भने यो कचौरा मेरो सामनेबाट हटाइदिनुहोस्‌।+ तर मेरो इच्छाअनुसार त होइन, तपाईँकै इच्छाअनुसार होस्‌।”+

४० उहाँ फर्केर चेलाहरूकहाँ आउनुहुँदा तिनीहरूलाई निदाइरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्‍नुभयो: “के तिमीहरू मसँग एकछिन जागा बस्न सकेनौ?+ ४१ प्रलोभनमा नपर्न+ तिमीहरू जागा रहो+ र प्रार्थना गरिरहो।+ मन त साँच्चै तयार* छ तर शरीर भने कमजोर छ।”+ ४२ फेरि दोस्रो चोटि उहाँ जानुभयो र यसो भन्दै प्रार्थना गर्नुभयो: “हे मेरो बुबा, यदि मैले नपिएसम्म यो कचौरा मेरो सामनेबाट हटाउन सम्भव छैन भने तपाईँको इच्छाअनुसारै होस्‌।”+ ४३ अनि उहाँ फेरि फर्कनुभयो र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो किनकि तिनीहरूका आँखा लोलाएका थिए। ४४ त्यसैले तिनीहरूलाई छोडेर उहाँ फेरि जानुभयो अनि तेस्रो पटक पनि प्रार्थनामा त्यही कुरा भन्‍नुभयो। ४५ तब चेलाहरूकहाँ फर्केर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यस्तो बेला पनि तिमीहरू कसरी निदाउन र आराम गर्न सकेका! हेर, मानिसको छोरालाई धोका दिएर पापीहरूको हातमा सुम्पिने बेला नजिकै आइपुगेको छ। ४६ उठ, हामी जाऔँ। हेर! मलाई धोका दिने मानिस नजिकै आइपुगिसकेको छ।” ४७ उहाँ बोल्दै गर्नुहुँदा हेर! ती १२ जनामध्ये एक, यहुदा आए र मुख्य पुजारीहरू र धर्मगुरुहरूले पठाएको एउटा ठूलो जमात पनि तिनीसँगै तरबार र लाठाहरू लिएर आयो।+

४८ उहाँलाई धोका दिनेले तिनीहरूलाई यसो भनेर एउटा सङ्‌केत दिएका थिए: “म जसलाई चुम्बन गर्छु, उहाँ नै तिमीहरूले खोजेको मानिस हुनुहुन्छ; तिमीहरूले उहाँलाई पक्रनू।” ४९ अनि सोझै येसुकहाँ गएर तिनले “प्रणाम, रब्बी!” भने र उहाँलाई चुम्बन गरे। ५० तर येसुले तिनलाई भन्‍नुभयो: “मित्र, तिमी कुन उद्देश्‍य लिएर यहाँ आयौ?”+ तब तिनीहरू अघि बढे र येसुलाई पक्रेर हिरासतमा लिए। ५१ अनि हेर! येसुको साथमा भएकाहरूमध्ये एक जनाले आफ्नो तरबार थुत्यो र प्रधानपुजारीको दासलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो।+ ५२ तब येसुले उसलाई भन्‍नुभयो: “तिम्रो तरबार म्यानमै राख+ किनकि तरबार उठाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्‌।+ ५३ अथवा तिमीलाई के लाग्छ, के म मेरा बुबालाई अहिले यतिखेरै १२ पल्टनभन्दा धेरै स्वर्गदूत पठाइदिन बिन्ती गर्न सक्दिनँ र?+ ५४ तर यदि मैले त्यसो गरेँ भने धर्मशास्त्रमा यस्तै हुनेछ भनेर बताइएको कुरा कसरी पूरा हुन्छ र?” ५५ त्यही बेला येसुले भीडलाई भन्‍नुभयो: “के तिमीहरू डाँकुलाई जस्तैगरि तरबार र लाठोहरू लिएर मलाई पक्रन आयौ? म दिनदिनै मन्दिरमा बसेर सिकाउँथेँ+ तैपनि तिमीहरूले मलाई हिरासतमा लिएनौ।+ ५६ तर भविष्यवक्‍ताहरूले लेखेका कुरा पूरा होऊन्‌ भनेर यी सब भएका हुन्‌।”+ तब सबै चेला उहाँलाई छोडेर भागे।+

५७ येसुलाई हिरासतमा लिनेहरूले उहाँलाई प्रधानपुजारी कैयाफाकहाँ लगे।+ त्यहाँ शास्त्री र धर्मगुरुहरू पनि भेला भएका थिए।+ ५८ तर पत्रुस भने टाढैबाट प्रधानपुजारीको चोकसम्म उहाँको पछिपछि लागे र भित्र पसे अनि के हुँदो रहेछ भनी हेर्न घरका चाकरहरूसँगै बसे।+

५९ मुख्य पुजारीहरू र पूरै यहुदी न्यायपरिषद्‌ येसुलाई मार्न उहाँको विरुद्धमा झूटो गवाही दिने मानिस खोजिरहेका थिए।+ ६० हुनत थुप्रै झूटा साक्षी अघि सरे तर उहाँलाई दोषी ठहराउन सकिने गवाही कसैले दिन सकेन।+ पछि दुई जना अघि सरे ६१ र यसो भने: “यस मानिसले ‘म परमेश्‍वरको मन्दिर भत्काएर तीन दिनमा बनाउन सक्छु’ भन्यो।”+ ६२ यो सुनेर प्रधानपुजारी जुरुक्क उठे र उहाँलाई भने: “के तँ केही जवाफ दिँदैनस्‌? यी मानिसहरूले तँलाई जे आरोप लगाउँदै छन्‌, त्यसबारे तँ के भन्छस्‌?”+ ६३ तर येसु चुप लागेर बस्नुभयो।+ त्यसैले प्रधानपुजारीले उहाँलाई भने: “म तँलाई जीवित परमेश्‍वरको कसम खान लगाउँछु, हामीलाई भन्‌, के तँ परमेश्‍वरको छोरा ख्रिष्ट होस्‌?”+ ६४ येसुले तिनलाई भन्‍नुभयो: “तपाईँ आफैले भन्‍नुभयो। तर म तपाईँहरू सबैलाई भन्छु: अबदेखि तपाईँहरूले मानिसको छोरालाई+ सर्वशक्‍तिमान्‌को दाहिनेपट्टि बसिरहेको+ र आकाशका बादलहरूमा आउँदै गरेको देख्नुहुनेछ।”+ ६५ तब प्रधानपुजारीले आफ्नो लुगा च्याते र यसो भने: “यसले परमेश्‍वरको निन्दा गरेको छ! अब हामीलाई अरू साक्षी किन चाहियो र? हेर, तिमीहरू आफैले ईश्‍वरनिन्दा सुनिहाल्यौ। ६६ तिमीहरूको राय के छ?” तिनीहरूले जवाफ दिए: “यो मानिस मारिन लायकको छ।”+ ६७ तब तिनीहरूले उहाँको अनुहारमा थुके+ अनि उहाँलाई मुड्‌कीले हिर्काए।+ अरूले चाहिँ उहाँको गालामा चड्‌कन हाने+ ६८ र भने: “ए ख्रिष्ट, लौ भविष्यवाणी गर्‌, तँलाई हिर्काउने को हो?”

६९ पत्रुस बाहिर चोकमा बसिरहेको बेला एउटी नोकर्नी तिनीकहाँ आएर भनी: “तपाईँ पनि त गालिली येसुसँगै हुनुहुन्थ्यो नि!”+ ७० तर तिनले सबैको अगाडि नकार्दै भने: “तिमी के भन्दै छ्यौ, मलाई थाह छैन।” ७१ तिनी निस्केर मूलढोकातिर गइरहेको बेला अर्की केटीले तिनलाई देखी र त्यहाँ भएका मानिसहरूलाई भनी: “यो मानिस नासरी येसुसँगै थियो।”+ ७२ अनि कसम खाँदै तिनले फेरि नकारे: “मैले त्यो मानिसलाई चिनेकै छैनँ!” ७३ अलिक समयपछि वरपर उभिरहेका मानिसहरू पत्रुसकहाँ आएर भने: “तिमी पक्कै पनि तिनीहरूमध्येकै हौ किनकि तिम्रो बोलीबाटै* थाह हुन्छ।” ७४ आफूले झूट बोलेको हो भने आफूलाई सराप लागोस्‌ भनेर कसम खाँदै तिनले भने: “मैले त्यो मानिसलाई चिनेकै छैनँ!” अनि त्यतिखेरै भाले बास्यो। ७५ तब येसुले भन्‍नुभएको यो कुरा पत्रुसले सम्झे: “भाले बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ अनि तिनी बाहिर निस्केर धुरुधुरु रोए।

२७ बिहान भएपछि सबै मुख्य पुजारी अनि धर्मगुरुहरूले येसुलाई कसरी मार्ने भनेर आपसमा सल्लाह गरे।+ २ तिनीहरूले उहाँलाई बाँधे अनि लगेर राज्यपाल पिलातसको हातमा सुम्पे।+

३ तब उहाँलाई धोका दिने यहुदा उहाँलाई मृत्युदण्डको सजाय सुनाइएको देखेर पछुताए र आफूले लिएको ३० टुक्रा चाँदी मुख्य पुजारीहरू र धर्मगुरुहरूलाई फर्काउँदै+ ४ यसो भने: “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेँ।” तर तिनीहरूले यसो भने: “हामीलाई के मतलब? तिम्रो कुरा तिमी आफै जान!” ५ तब तिनी चाँदीका टुक्राहरू मन्दिरमा फ्याँकेर गए अनि झुन्डिएर मरे।+ ६ अनि मुख्य पुजारीहरूले चाँदीका ती टुक्राहरू टिपे र भने: “यसलाई पवित्र ढुकुटीमा खसाल्नु उचित हुँदैन किनकि यो रगतको मोल हो।” ७ आपसमा सल्लाह गरेपछि तिनीहरूले त्यो पैसाले परदेशीहरूको लास गाड्‌ने चिहान बनाउन कुमालेको जमिन किने। ८ त्यसैले आजको दिनसम्मै त्यस जमिनलाई ‘रगतको जमिन’ भनिन्छ।+ ९ यसरी भविष्यवक्‍ता यर्मियाद्वारा भनिएको यो वचन पूरा भयो: “तिनीहरूले ३० टुक्रा चाँदी लिए, जुन त्यस मानिसको निम्ति तोकिएको मोल थियो। इस्राएलका केही सन्तानले उनको लागि त्यति नै मोल तोकेका थिए १० र यहोवा* परमेश्‍वरले मलाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले त्यो पैसा कुमालेको जमिनका लागि दिए।”+

११ तब येसु राज्यपालसामु उभिनुभयो र तिनले उहाँलाई प्रश्‍न गरे: “के तिमी यहुदीहरूका राजा हौ?” येसुले जवाफ दिनुभयो: “तपाईँ आफैले भन्‍नुभयो।”+ १२ तर मुख्य पुजारीहरू अनि धर्मगुरुहरूले एकपछि अर्को आरोप लगाउँदा उहाँले केही जवाफ दिनुभएन।+ १३ तब पिलातसले उहाँलाई भने: “यिनीहरू तिमीलाई के-के आरोप लगाउँदै छन्‌, के तिमीले सुनेनौ?” १४ तर उहाँले केही जवाफ दिनुभएन। अहँ, उहाँले एक शब्द बोल्नुभएन। यो देखेर राज्यपाल तीनछक परे।

१५ राज्यपालले हरेक वर्ष चाडको बेला भीडको इच्छाअनुसार कुनै एक कैदीलाई मुक्‍त गर्ने चलन थियो।+ १६ त्यतिखेर बरब्बा नाम गरेको कुख्यात कैदी थुनामा थियो। १७ त्यसैले तिनीहरू भेला भएको बेला पिलातसले तिनीहरूलाई सोधे: “तिमीहरू के चाहन्छौ, म बरब्बालाई मुक्‍त गरिदिऊँ कि ख्रिष्ट भनिने येसुलाई?” १८ किनकि ईर्ष्याले जलेर तिनीहरूले उहाँलाई सुम्पेका हुन्‌ भनेर पिलातसलाई थाह थियो। १९ यसबाहेक तिनी न्यायासनमा बसिरहेका बेला तिनकी पत्नीले यस्तो खबर पठाइन्‌: “त्यस धर्मी मानिसलाई केही नगर्नुहोस्‌। किनकि उसको कारण डरलाग्दो सपना देखेकोले आज मलाई निकै गाह्रो भयो।” २० तर मुख्य पुजारीहरू र धर्मगुरुहरूले बरब्बालाई छोडिदिने+ र येसुलाई चाहिँ मार्ने माग गर्न भीडलाई उक्साए।+ २१ राज्यपालले तिनीहरूलाई फेरि एक चोटि सोधे: “मैले यी दुईमध्ये कसलाई मुक्‍त गरेको तिमीहरू चाहन्छौ?” तिनीहरूले जवाफ दिए: “बरब्बालाई।” २२ पिलातसले तिनीहरूलाई भने: “त्यसोभए ख्रिष्ट भनिने यस येसुलाई म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”+ २३ तिनले भने: “किन? उसले के खराब काम गऱ्‍यो र?” तर तिनीहरू यसो भन्दै झन्‌ चिच्याउन थाले: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”+

२४ आफ्नो कोसिस सफल हुनुको सट्टा भीड झन्‌ उत्तेजित हुन थालेको देखेर पिलातसले पानी लिए र भीडले देख्नेगरि आफ्नो हात धुँदै यसो भने: “म यस मानिसको रगतको दोषबाट मुक्‍त छु। यसको जिम्मेवार अब तिमीहरू नै हौ।” २५ तिनको कुरा सुनेर सबै मानिसले यसो भने: “त्यसको रगतको दोष हामी र हाम्रा सन्तानमाथि आइपरोस्‌।”+ २६ त्यसपछि तिनले बरब्बालाई मुक्‍त गरे तर येसुलाई भने कोर्रा लगाउने आदेश दिए+ अनि खम्बामा टाँग्न तिनीहरूको हातमा सुम्पे।+

२७ तब राज्यपालका सिपाहीहरूले येसुलाई राज्यपालको निवासमा लगे र सेनाको पूरै टुकडी बोलाएर उहाँलाई घेरा हाल्न लगाए।+ २८ अनि उहाँको लुगा फुकालिदिएर तिनीहरूले उहाँलाई चहकिलो रातो रङ्‌गको अलखा* लगाइदिए+ २९ अनि काँडाको मुकुट उनेर उहाँको शिरमा पहिराइदिए र उहाँको दाहिने हातमा नर्कट थमाइदिए। त्यसपछि उहाँसामु घुँडा टेकेर तिनीहरूले यसो भन्दै उहाँलाई गिज्याए: “हे यहुदीहरूका राजा, प्रणाम!”* ३० तिनीहरूले उहाँलाई थुके+ अनि नर्कट लिएर उहाँको शिरमा हिर्काउन थाले। ३१ उहाँलाई गिज्याउनुसम्म गिज्याएपछि अन्तमा तिनीहरूले उहाँको अलखा फुकालेर उहाँकै लुगा लगाइदिए अनि उहाँलाई खम्बामा टाँग्न लगे।+

३२ बाटोमा जाँदै गर्दा तिनीहरूले सिमोन नाम गरेको साइरेनीवासीलाई भेटे। तिनीहरूले उसलाई उहाँको यातनाको खम्बा* बोक्ने आदेश दिए।*+ ३३ त्यसपछि तिनीहरू गलगथा भन्‍ने ठाउँमा पुगे, जसको अर्थ हो, खप्पर स्थान।+ ३४ अनि तिनीहरूले उहाँलाई तीतो* मिसाइएको दाखमद्य* पिउन दिए।+ तर चाखेपछि उहाँले पिउन मान्‍नुभएन। ३५ उहाँलाई खम्बामा टाँगिसकेपछि तिनीहरूले गोला हालेर उहाँको लुगा आपसमा बाँडे।+ ३६ अनि तिनीहरू त्यहाँ उहाँलाई पहरा दिँदै बसे। ३७ साथै तिनीहरूले एउटा पाटीमा यस्तो अभियोग लेखेर उहाँको शिरमास्तिर राखे: “यो यहुदीहरूको राजा येसु हो।”+

३८ त्यतिखेर उहाँसँगै दुई जना डाँकुलाई पनि खम्बामा टाँगिएको थियो; एक जनालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि।+ ३९ त्यो बाटो भएर गइरहेका बटुवाहरूले आफ्नो मुन्टो हल्लाएर खिसी गर्दै+ ४० यसो भने: “मन्दिर भत्काएर तीन दिनमा बनाउँछु भनेर तँ खुब फुइँ लगाउँथिस्‌ हैन,+ लौ आफैलाई बचाएर देखा! तँ परमेश्‍वरको छोरा होस्‌ भने यातनाको खम्बाबाट* ओर्लेर आइज!”+ ४१ मुख्य पुजारीहरूका साथै शास्त्रीहरू अनि धर्मगुरुहरूले पनि यसो भन्दै उहाँको ठट्टा गरे:+ ४२ “यसले अरूलाई त बचायो तर आफैलाई भने बचाउन सकेन। यो त इस्राएलको राजा हो नि;+ यो अब यातनाको खम्बाबाट* ओर्लेर आओस्‌, त्यसपछि हामी यसलाई पत्याऔँला। ४३ यसले परमेश्‍वरमाथि भरोसा राखेको छ, अब चाहनुहुन्छ भने उहाँले नै यसलाई बचाऊन्‌+ किनकि यसले ‘म परमेश्‍वरको छोरा हुँ’ भन्थ्यो।”+ ४४ उहाँसँगै खम्बामा टाँगिएका डाँकुहरूले समेत त्यसरी नै उहाँको गिल्ला गरिरहेका थिए।+

४५ तब छैटौँ घडीदेखि* नवौँ घडीसम्म* सारा देशभरि अन्धकार छायो।+ ४६ अनि नवौँ घडीतिर येसु यसो भन्दै ठूलो स्वरले कराउनुभयो: “एली, एली, लामा सबख्थनी?” जसको अर्थ हो, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईँले मलाई किन त्याग्नुभयो?”+ ४७ यो सुनेर त्यहाँ उभिरहेका कसै-कसैले यसो भन्‍न थाले: “यो मानिसले एलियालाई बोलाउँदै छ।”+ ४८ तब तिनीहरूमध्ये एक जना तुरुन्तै दौडेर गयो अनि अमिलो दाखमद्यमा स्पन्ज चोपेर त्यसलाई नर्कटमा राख्यो अनि उहाँलाई पिउन दियो।+ ४९ तर बाँकीले चाहिँ यसो भने: “होस्‌, छोडिदेऊ! एलिया यसलाई बचाउन आउँछन्‌ कि आउँदैनन्‌, हेरौँ न।” ५० अनि फेरि ठूलो स्वरले चिच्याएपछि येसुले अन्तिम सास लिनुभयो।+

५१ तब हेर! मन्दिरको पर्दा+ टुप्पोदेखि फेदसम्म च्यातिएर दुई फ्याक भयो+ अनि भूकम्प गयो र चट्टानहरूमा धाँजा फाट्‌यो। ५२ अनि चिहानहरू उघ्रिए र मृत्युको चिर निद्रामा परेका थुप्रै पवित्र जनको लास बाहिर निस्क्यो। ५३ अनि धेरैले ती देखे। (तब केही व्यक्‍तिहरू, जो त्यतिखेर चिहानको छेउछाउमा थिए, तिनीहरू येसु फेरि जीवित हुनुभएपछि पवित्र सहरभित्र पसे।) ५४ जब सैनिक अफिसर र तिनीसँगै येसुलाई पहरा दिइरहेका अरू मानिसहरूले भूकम्पका साथै अन्य घटनाहरू देखे, तब तिनीहरू असाध्यै डराए अनि यसो भने: “यिनी साँच्चै परमेश्‍वरका छोरा रहेछन्‌।”+

५५ येसुको सेवासुसार गर्न गालिलबाट उहाँसँगै आएका थुप्रै स्त्रीले पनि टाढैबाट हेरिरहेका थिए।+ ५६ ती स्त्रीहरूमध्ये मरियम मग्दलिनी, याकुब र योसिकी आमा मरियम अनि याकुब र युहन्‍नाकी आमा* पनि थिए।+

५७ अरिमथियाका युसुफ नाम गरेको एक जना धनी मानिस, जो येसुको चेला बनेका थिए,+ तिनी साँझ पर्नै लाग्दा ५८ पिलातसकहाँ गए अनि येसुको शव मागे+ र पिलातसले त्यो दिने हुकुम गरे।+ ५९ अनि युसुफले उहाँको शवलाई सफा र उच्च कोटिको मलमलको कपडाले बेरे+ ६० अनि चट्टान खोपेर बनाइएको आफ्नो नयाँ चिहानमा राखे।+ त्यसपछि तिनले ठूलो ढुङ्‌गा गुडाएर चिहानको मुख बन्द गरे अनि त्यहाँबाट गए। ६१ तर मरियम मग्दलिनी र अर्की मरियम भने त्यहीँ चिहानअगाडि बसिरहे।+

६२ अर्को दिन अर्थात्‌ तयारीको दिनको* भोलिपल्ट+ मुख्य पुजारीहरू र फरिसीहरू पिलातसकहाँ भेला भएर ६३ यसो भने: “हजुर, त्यस ठगाहाले आफू जिउँदो छँदा ‘म तीन दिनपछि ब्युँतनेछु’ भनेको हामीलाई याद छ।+ ६४ त्यसैले तेस्रो दिनसम्म त्यसको चिहानमा पहरा दिने हुकुम गर्नुहोस्‌। नत्र त त्यसका चेलाहरू गएर त्यसको लास चोरेर लैजालान्‌+ र ‘उहाँ मृत्युबाट ब्युँतनुभयो’ भनेर मानिसहरूलाई भन्लान्‌। त्यसो भयो भने त्यसको पछिल्लो ठगीले पुऱ्‍याउने नोक्सानी पहिलोको भन्दा चर्को हुनेछ।” ६५ पिलातसले तिनीहरूलाई भने: “तिमीहरू सिपाहीहरू लिएर जाओ र त्यसको सुरक्षा गर्न तिमीहरू जे गर्न सक्छौ, सो गर।” ६६ तब तिनीहरू गए अनि एउटा ठूलो ढुङ्‌गाले चिहानको मुख राम्ररी बन्द गर्नुका साथै पहरा राखेर चिहानको सुरक्षा गरे।

२८ विश्रामदिनपछि,* हप्ताको पहिलो दिन बिहान झिसमिसेमै मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न गए।+

२ अनि हेर! ठूलो भूकम्प गएको रहेछ किनकि यहोवा* परमेश्‍वरका दूत स्वर्गबाट ओर्लेर आएका थिए र चिहानको मुखमा राखिएको ढुङ्‌गा गुडाएर त्यसमाथि बसिरहेका थिए।+ ३ तिनको रूप बिजुलीजस्तो चम्किलो थियो अनि तिनको लुगा हिउँजस्तै सेतो थियो।+ ४ हो, तिनलाई देखेर पहरेदारहरू डरले कामेर मुर्दासरी भए।

५ तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने: “तिमीहरू नडराओ किनकि तिमीहरू खम्बामा टाँगिनुभएका येसुलाई खोज्दै छौ भनी मलाई थाह छ।+ ६ उहाँ यहाँ हुनुहुन्‍न किनकि उहाँले भन्‍नुभएझैँ उहाँ ब्युँतिसक्नुभयो।+ आओ, उहाँलाई राखिएको ठाउँमा हेर। ७ अनि तुरुन्तै गएर उहाँका चेलाहरूलाई उहाँ मृत्युबाट ब्युँतिसक्नुभयो भनेर बताइदेओ र तिनीहरूलाई यसो भन: ‘हेर! उहाँ तिमीहरूभन्दा अघि गालिल जाँदै हुनुहुन्छ+ र तिमीहरूले उहाँलाई त्यहीँ देख्नेछौ।’ हेर! मैले तिमीहरूलाई यो कुरा भनिदिएको छु।”+

८ त्यसैले तिनीहरू डराउँदै अनि असाध्यै खुसी पनि हुँदै तुरुन्तै चिहानबाट निस्के र उहाँका चेलाहरूलाई खबर दिन दगुरे।+ ९ अनि हेर! येसुले तिनीहरूलाई बाटैमा भेट्‌नुभयो र भन्‍नुभयो: “तिमीहरूलाई मेरो अभिवादन छ!” तिनीहरू उहाँको नजिक गए र उहाँको पाउ समातेर दण्डवत्‌ गरे। १० तब येसुले तिनीहरूलाई भन्‍नुभयो: “नडराओ! जाओ, मेरा भाइहरूलाई गालिल जान भनिदेओ। तिनीहरूले मलाई त्यहीँ देख्नेछन्‌।”

११ तिनीहरू जाँदै गर्दा केही पहरेदार+ सहरभित्र पसे अनि जे-जे भएको थियो, ती सबै कुरा मुख्य पुजारीहरूलाई सुनाइदिए। १२ तब मुख्य पुजारीहरूले एक ठाउँमा भेला भएर धर्मगुरुहरूसित सल्लाह गरे अनि तिनीहरूले ती सिपाहीहरूलाई चाँदीका टुक्राहरू प्रशस्त मात्रामा दिए १३ र यसो भने: “तिमीहरूले यसो भन्‍नू: ‘त्यसका चेलाहरू राती हामी निदाइरहेको बेला आएर त्यसको लास चोरेर लगेछन्‌।’+ १४ अनि यो कुरा राज्यपालको कानमा पुगेछ भने चिन्ता नगर, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदेऔँला।” १५ तब तिनीहरूले चाँदीका टुक्राहरू लिए अनि आफूलाई सिकाइएअनुसारै गरे। त्यसैले आजको दिनसम्म यहुदीहरूमाझ चारैतिर यही हल्ला चलेको छ।

१६ तब ११ जना चेला गालिलको+ त्यस डाँडामा गए, जहाँ येसुले तिनीहरूलाई जानू भन्‍नुभएको थियो।+ १७ अनि उहाँलाई देखेपछि तिनीहरूले दण्डवत्‌ गरे तर कसै-कसैले भने शङ्‌का गरे। १८ अनि नजिक गएर येसुले तिनीहरूलाई यसो भन्‍नुभयो: “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।+ १९ त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ;+ तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्‍तिको नाममा बप्तिस्मा गराओ+ २० अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।+ हेर! यस युगको आखिरी समयसम्म* म सधैँभरि तिमीहरूसितै छु।”+

वा “मसीहको; अभिषिक्‍त जनको।”

वा “सक्रिय शक्‍तिद्वारा।”

यस अनुवादको ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा परमेश्‍वरको नाम ‘यहोवा’ २३७ ठाउँमा उल्लेख गरिएको छ र यो पहिलो ठाउँ हो। अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शा., “तिम्री पत्नी मरियमलाई घर ल्याउन।”

यो हिब्रू नाम यसुआ वा यहोसुसित मिल्दोजुल्दो छ, जसको अर्थ हो, “यहोवा उद्धारक हुनुहुन्छ।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “उहाँलाई दण्डवत्‌ गर्न।”

वा “मसीहको; अभिषिक्‍त जनको।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “इजिप्टमा।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

यो शब्द “टुसा” अर्थ दिने हिब्रू शब्दबाट आएको हुन सक्छ।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “उनीहरूलाई डुबाउँथे।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “टुप्पोमा।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

यो वास्तवमा ताल हो। बाइबलमा यसलाई गनेसरेत ताल र टाइबेरियस समुद्र पनि भनिएको छ।

शब्दावली हेर्नुहोस्‌।

वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

वा “१० वटा सहरको इलाका।”

वा “जसले पवित्र शक्‍तिको भीख माग्छन्‌”; “जसले परमेश्‍वरको आवश्‍यकता छ भनी बुझ्छन्‌।”

वा “नम्र।”

शब्दावली हेर्नुहोस्‌।

वा “पाथीले।”

यरुसलेमबाहिर फोहरमैला जलाउने ठाउँ। शब्दावलीमा “गेहेन्‍ना” हेर्नुहोस्‌।

शा., “आखिरी क्वाड्रन।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अर्थात्‌, सैतानतर्फको।

शा., “एक माइल।” शब्दावलीमा “माइल” हेर्नुहोस्‌।

अर्थात्‌, विनाब्याज ऋण।

वा “परिपूर्ण।”

शब्दावली हेर्नुहोस्‌।

वा “पवित्र ठानियोस्‌।”

शा., “रोटी।”

वा “पाप।”

वा “हामीविरुद्ध पाप गर्नेहरूलाई।”

अर्थात्‌, सैतानबाट।

वा “तिम्रो आँखा निर्मल।” शा., “तिम्रो आँखा सरल।”

शा., “खराब; दुष्ट।”

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्‌।

“व्यवस्था र भविष्यवक्‍ताहरूको शिक्षा”-ले सम्पूर्ण हिब्रू धर्मशास्त्रलाई जनाउँछ।

वा “दुष्ट स्वर्गदूतहरूलाई।” शब्दावली “प्रेत” हेर्नुहोस्‌।

वा “दुष्ट स्वर्गदूतहरू।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

प्राचीन समयमा यो उक्‍ति प्रयोग गरेर प्रश्‍न सोध्ने गरिन्थ्यो। तर हेपेर वा अहङ्‌कार गरेर बोल्न नभई कसैले भनेको कुरा, दिएको सुझाव वा व्यक्‍त गरेको शङ्‌कामा आपत्ति जनाउन चलाइन्थ्यो।

अर्थात्‌, कफर्नहुम।

वा “चिकित्सकको।”

अङ्‌गुरबाट बनेको रक्सी।

जनावरको छालाबाट बनेको थैलो।

अर्थात्‌, यहुदी सभाघरका अध्यक्ष।

वा “दुष्ट स्वर्गदूत।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

वा “दुष्ट स्वर्गदूतहरू।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “कनानानी।”

पैतालाको धुलो टकटक्याउनुले आफू जिम्मेवारीबाट मुक्‍त भएको कुरालाई सङ्‌केत गर्छ।

यो सैतानलाई दिइएको नाम हो, जो दुष्ट स्वर्गदूतहरूको राजा वा शासक हो।

वा “भविष्यमा फेरि जीवित हुने आशा खोस्न नसक्नेहरूसित।”

शब्दावली हेर्नुहोस्‌।

शा., “एक असारियनमा।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “तरबार चलाउन।”

शब्दावली हेर्नुहोस्‌।

वा “जसले ममा ठेस खाने कुनै कारण भेट्‌दैन।”

वा “दुष्ट स्वर्गदूत।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “भेटीका रोटीहरू।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्‌।

वा “पक्षाघात भएको।”

वा “दुष्ट स्वर्गदूत।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

यो सैतानलाई दिइएको नाम हो।

अर्थात्‌, चेलाहरूचाहिँ।

शब्दावली हेर्नुहोस्‌।

शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।

अर्थात्‌, सैतान।

वा “यस युगमा।” शब्दावलीमा “युग” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

लगभग दस किलो।

वा सम्भवतः “संसारको प्रारम्भदेखि।”

अर्थात्‌, सैतानका।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “अरूलाई पाप गर्न लगाउनेहरू।”

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, हेरोद एन्टिपासले। शब्दावलीमा “हेरोद” हेर्नुहोस्‌।

शा., “सयौँ स्टेडियम।” एक स्टेडियम भनेको १८५ मिटर (६०६.९५ फिट) हो।

बिहान ३ बजेतिरदेखि ६ बजेतिरसम्ममा।

अर्थात्‌, परम्पराअनुसार शुद्ध हुँदैनन्‌।

शब्दावली हेर्नुहोस्‌।

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

अर्थात्‌, परम्पराअनुसार शुद्ध नभई।

वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।

शा., “बाँध्नेछौ।”

शा., “बाँधिसकिएको हुनेछ।”

शा., “फुकाउनेछौ।”

शा., “फुकाइसकिएको हुनेछ।”

शा., “आफूमाथि दया गर्नुहोस्‌।”

शब्दावली हेर्नुहोस्‌।

वा “सेतो।”

शब्दावली हेर्नुहोस्‌।

वा “दुष्ट स्वर्गदूतलाई।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

वा “कमजोर।”

अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

शा., “दुई ड्राक्माको सिक्का।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “स्टेटर सिक्का,” जुन टेट्राड्राक्माबराबर हुन्छ भन्‍ने मान्यता थियो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “गधाले घुमाउने जाँतो।”

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

वा सम्भवतः “तिमीहरूका।”

शा., “उसलाई सुधार।”

शा., “मुखबाट।”

वा “१० हजार टालेन्ट।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

यहाँ चलाइएको ग्रीक शब्दले गमले टाँसेजस्तै बलियोसित टाँसिनुलाई जनाउँछ।

शा., “जसलाई परमेश्‍वरले एउटै जुवामा नार्नुभएको छ।”

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

बिहान ९ बजेतिर।

मध्यान्ह १२ बजेतिर।

दिउँसो ३ बजेतिर।

साँझ ५ बजेतिर।

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “म उदार भएको।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शा., “स्वर्गबाट।”

वा “केही फल लिन।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

धर्मशास्त्रका केही अंशहरू लेखेर राखिने सानो बट्टा। आफूमाथि कुनै अनिष्ट कुरा आइनपरोस्‌ भनेर यहुदी पुरुषहरू यसलाई आफ्नो निधार र देब्रे पाखुरामा बाँध्ने गर्थे।

वा “सबैभन्दा राम्रो आसनमा।”

वा “गुरु।”

अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

वा “धर्म परिवर्तन गराएर यहुदी मतमा।”

शब्दावली हेर्नुहोस्‌।

वा “लुट।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “तिमीहरूका घरलाई तिमीहरूको निम्ति उजाड छोडिएको छ।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “चारै बतासबाट।”

शा., “घण्टाको।”

शब्दावली हेर्नुहोस्‌।

वा “चोर रातको कुन समयमा।”

वा “सुझबुझ भएको।”

वा “सुझबुझ भएका।”

ग्रीक तौलअनुसार एक टालेन्ट भनेको २०.४ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “चाँदी।”

शा., “चाँदी।”

वा “मसँग शरीर ढाक्न पुग्दो कपडा थिएन।”

शा., “काटिनेछन्‌; छाँटिनेछन्‌।”

शब्दावली हेर्नुहोस्‌।

वा “गिरफ्तार गर्ने।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अङ्‌गुरबाट बनेको रक्सी।

वा “इच्छुक।”

वा “लबजबाटै।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

वा “तपाईँको जय होस्‌!”

शब्दावली हेर्नुहोस्‌।

वा “यातनाको खम्बा बोक्ने अनिवार्य सेवामा लगाए।”

यो वनस्पतिबाट बनाइएको तीतो नशालु पदार्थ हुन सक्छ।

अङ्‌गुरबाट बनेको रक्सी।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

मध्यान्ह १२ बजेतिरदेखि।

दिउँसो ३ बजेतिरसम्म।

शा., “जब्दिका छोराहरूकी आमा।”

शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने