अफ्रिकी स्कूल—तिनीहरूले के सिकाए?
घानाका ब्यूँझनुहोस्! संवाददाताद्वारा
अफ्रिकी स्कूल? पहिले पहिले त्यस्तो प्रकारको स्कूल साँच्चै थियो भनेर थाह पाउँदा पश्चिमी मुलुकका केही मानिसहरू छक्कै पर्लान्। तर दुःखको कुरा, हलिवुडले अफ्रिकीहरूलाई भाला बोक्ने आदिवासीहरूको रूपमा चित्रण गरेको हुँदा आज पनि मानिसहरूले तिनीहरूबारे यस्तै दृष्टिकोण राख्छन्। धेरैले पहिले पहिलेका अफ्रिकीहरूलाई शिक्षित मानिसहरूको रूपमा सोच्नसमेत सक्दैनन्।
निस्सन्देह, यो साँचो हो, परम्परागत समाजमा हुर्केका अफ्रिकीहरूले कितापी ज्ञान र स्कूलमा औपचारिक प्रशिक्षण पाएनन्। तथापि, यस महादेशमा औपचारिक शिक्षासम्बन्धी यूरोपेली पद्धति लागू हुनुभन्दा निकैअघि थुप्रै अफ्रिकी समाजहरूमा एउटा प्रभावकारी शैक्षिक प्रणाली थियो। यसले केटाकेटीहरूलाई आफ्नो स्थानीय संस्कृतिको परिधिभित्र रहेर कामकुरा गर्न र सफलता हासिल गर्न सुसज्जित बनायो। उदाहरणको लागि, आकानको शिक्षा अर्थात् घानाका ट्वी भाषा बोल्ने मानिसहरूलाई विचार गर्नुहोस्।
घरायसी शिक्षा
आकानहरूको प्राथमिक कक्षा घरबाटै सुरु हुन्थ्यो। बच्चाले आफ्ना आमाबाबुले बोलेको सुनेर बोल्न सिकेपछि तिनको शिक्षा सुरु हुन्थ्यो। त्यतिनैखेर तिनले उचित शिष्टाचारहरू पनि सिक्थे। उदाहरणको लागि, घरमा आउने आगन्तुकले बच्चालाई अभिवादन गर्दा तिनलाई सही, शिष्ट प्रत्युत्तर दिन सिकाइन्थ्यो। पछि, बच्चालाई अन्य कामकुराहरूका लागि बाहिर पठाउँदा शिष्ट ढंगमा समाचार बताउन सिकाइन्थ्यो।
तसर्थ, आकानको शैक्षिक दर्शन बाइबलको हितोपदेश २२:६ मा उल्लिखित सल्लाहजस्तै थियो। त्यहाँ यसो भनिएको छ: “बालकलाई ठीक बाटोमा लगाऊ, र बृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।” आमाबाबुहरू र विशेषगरि बुबाले बालकको लालनपालनमा चासो लिन्थे। आकानको एउटा उपदेशले यसो भन्छ: “बच्चा आमाजस्तो छैन भने बुबाजस्तो हुन्छ।”
बालक हुर्कंदै जाँदा तिनको शिक्षाको गहराइ पनि बढ्थ्यो। जीवनसम्बन्धी पाठहरू कितापद्वारा नभई काल्पनिक कथाहरूद्वारा बताइन्थ्यो। उदाहरणको लागि, क्वाकु अनान्से नामक काल्पनिक माकुराको कथाहरूलाई लिनुहोस्। यी कथाहरू केटीकेटीहरूलाई असाध्यै मनपर्थ्यो! साँझको मन्द बतासको आनन्द उठाउँदै वा जुनेली चिसो रातमा केटाकेटीहरू आगो वरपर बसेर यी विजय पराजयका कथाहरू सुन्न मग्न हुन्थे।
एउटा प्रख्यात कथाअनुसार अनान्सेले एउटा भाँडोमा संसारभरिको बुद्धि भर्न पृथ्वीको एक छेऊदेखि अर्को छेऊसम्म यात्रा गरे। तिनको उद्देश्य लगभग पूरा भएजस्तो देखिएपछि यो बुद्धि कसैले नभेटाओस् भनेर तिनले भाँडोलाई रूखमा झुन्ड्याउने निर्णय गरे। भाँडोलाई पेटमा धागोले बाँधेर तिनी बल्लतल्ल रूख चढ्न थाले। तिनी बल्लतल्ल रूख चढिरहँदा तिनको जेठो छोरा, टिकुमाले यसो भन्दै अनान्सेलाई बोलाए: “बा! आफ्नो पेटमा भाँडो झुन्ड्याएर पनि रूख चढ्न सकिएला र? भाँडोलाई ढाडमा राखेर चढ्नुभए सजिलो हुनेथियो नि?” अनान्सेले तल आफ्नो छोरालाई हेरेर चिच्याए: “मलाई सिकाउने तिमी को हौ?”
तर भाँडो बाहिर पनि बुद्धि अझै रहेछ भनेर स्पष्ट भयो! यो कुरा बुझेर क्रोधित भएका अनान्सेले भाँडो भुईंमा खसाल्दा त्यो चक्नाचूर भयो र त्यसमा भएको बुद्धि यत्रतत्र फैलियो। त्यस घटनास्थलमा पुग्ने प्रथम व्यक्तिहरू नै सबैभन्दा बुद्धिमान साबित भए। यसबाट सिक्नुपर्ने पाठ हो: बुद्धि भनेको एक व्यक्तिसित सीमित हुने कुरा होइन। तसर्थ, आकानले यसो भन्न सके: “एक जना व्यक्तिले सभा बन्दैन।”—हितोपदेश १५:२२ तुलना गर्नुहोस्; हितोपदेश २४:२६.
जीविकोपार्जनका सीपहरू
आकानको शिक्षामा जीविकोपार्जनका लागि चाहिने सीपहरूबारे प्रशिक्षण दिनु पनि समावेश थियो। धेरैजसो केटाहरूले आफ्नो बुबाको पेशा सिक्थे र त्यो प्रायजसो खेतीपाती हुन्थ्यो। तर शिकार गर्ने, ताडीको बोटबाट रस निखारेर मद्य बनाउने, टोकरी बुन्नेजस्ता हस्तकलासम्बन्धी सीपहरू पनि सिक्नुपर्थ्यो। काठमा कुँद्ने वा बुन्नेजस्ता कठिन कार्यहरू सिकाउन केटाहरूलाई निपुण कालिगढकहाँ पठाइन्थ्यो। अनि केटीहरूले नि? तिनीहरूको प्रशिक्षण विशेषगरि घरायसी सीपहरूमा केन्द्रित हुन्थ्यो। जस्तै, वनस्पति तेल निकाल्ने, माटाका भाँडाहरू तथा साबुन बनाउने, धागो कात्ने इत्यादि।
परम्परागत स्कूलको “पाठ्यक्रम”-मा विज्ञान पनि समावेश हुन्थ्यो। बुबाले छोरालाई वा हजुरबुबाले नातिलाई जडीबुटीहरूबाट औषधि बनाउने र त्यसको वितरणसम्बन्धी ज्ञान सिकाउँथे। बच्चाले आफ्नो औंला र साथै गुच्चा, ढुंगा अनि लट्ठीहरूमा चिन्ह कोरेर गणना गर्न पनि सिक्थे। ओवारे र बुद्धिचालजस्ता खेलहरूले गणना गर्ने सीपको विकास गर्थ्यो।
आम सभाहरूमा उपस्थित हुँदा जवान आकानले राजनैतिक तथा न्यायिक प्रणालीहरूबारे अन्तरदृष्टि प्राप्त गर्थ्यो। अन्त्येष्टिको साथसाथै अन्य रमणीय अवसरहरूमा एकसाथ भेला हुँदा स्थानीय शोक-गीत, कविता, इतिहास, संगीतको ज्ञान बढ्थ्यो अनि ढोलक बजाएर नाचगान गर्न सिक्थे।
समुदायप्रति जिम्मेवारी
आकानहरूले बालकलाई अलग्गै छुट्याउँदैनथे। तिनलाई सानो उमेरमा नै समुदायप्रति आफ्नो जिम्मेवारीबारे सजग गराइन्थ्यो। आफ्ना साथीभाइहरूसित खेल्दा तिनले यससम्बन्धी प्रारम्भिक पाठहरू सिक्थे। पछि तिनी सामुदायिक जनश्रमजस्ता सहयोगात्मक क्रियाकलापहरूमा सहभागी हुन्थे। तिनले दुर्व्यवहार गर्दा तिनका आमाबाबुले मात्र होइन तर समुदायका जो सुकै वयस्क सदस्यले पनि सजाय दिन्थ्यो। निस्सन्देह, दुर्व्यवहार गर्ने बालकलाई अनुशासन दिनु एक वयस्कको नैतिक दायित्व ठानिन्थ्यो।
त्यस्तो अनुशासनलाई खुशीसाथ स्वीकारीन्थ्यो किनभने केटाकेटीहरूलाई वयस्कहरूको आदर गर्न सिका- इन्थ्यो। भनौं भने, आकानले यसो भन्ने गर्थे: “एउटी वृद्धा एक जना मानिसको मात्र हजुरआमा होइन।” तसर्थ वृद्धहरूको आदर गर्नु र तिनीहरूको सेवा गर्नु सबैको दायित्व थियो। एक जना बच्चाले कुनै उचित कारणबिना वयस्कको सेवा गर्न इन्कार गर्दा तिनको आमाबाबुलाई यसबारे ऊजुर गरिन्थ्यो।
धार्मिक शिक्षा
आकानहरू असाध्यै धर्मी थिए र प्रकृति तथा अज्ञात ब्रम्हाण्डप्रति श्रद्धा राख्थे। हो, तिनीहरू बहुदेववादीहरू थिए र थुप्रै देवताहरूमा विश्वास राख्थे। तापनि आकानले एउटै सर्वोच्च परमेश्वरको अस्तित्वमाथि विश्वास गर्थे। (रोमी १:२०) सर्वोच्च परमेश्वर र अन्य ईश्वरहरूलाई बुझाउन आकान भाषामा प्रयोग गरिने शब्द, ओन्यामा हो। तथापि, सृष्टिकर्तालाई वर्णन गर्न आकानीहरूलाई त्यो शब्द अपुगजस्तो लाग्थ्यो। अतः तिनीहरूले उहाँलाई ओन्यानकोपोन भनेर सम्बोधन गरे जसको अर्थ, “एक मात्र महान् परमेश्वर” हो।
महान् परमेश्वरको इच्छाअनुसार नै अन्य देवहरूको अस्तित्व भएको हुनुपर्छ भन्ने सोचेर तिनीहरूले विभिन्न देवताहरूको उपासना गर्थे। तिनीहरूको विचारमा यसो गर्नु भनेको स-साना हाकिमहरू मार्फत मुख्य प्रधानको सेवा गर्नु जस्तै थियो। जसरी भए पनि हरेक आकान बच्चालाई यो धर्म सिकाइन्थ्यो।
आज दिइने परम्परागत शिक्षा
हाल सालहरूमा लाखौं अफ्रिकीहरू ठूल्ठूला शहरहरूमा बसाइँ सरेका छन्। यहाँ परम्परागत तवरमा शिक्षा दिनुको साटो कक्षामा औपचारिक निर्देशन प्रदान गरिन्छ। तापनि, विशेषगरि ग्रामीण समुदायहरूमा परम्परागत अफ्रिकी स्कूलहरू अझै सफल साबित भएका छन्। भनौं भने, केही अफ्रिकीहरूले परम्परागत तथा औपचारिक दुवै शिक्षाबाट लाभ उठाएका छन्!
उदाहरणको लागि, आल्फ्रेड नाउँ भएको घानाका मसीही प्रचारकलाई लिनुहोस्। तिनले औपचारिक शिक्षाबाट निकै लाभ उठाएको भए तापनि परम्परागत जीवनशैलीको विविध पक्षहरूको आदर गर्छन्। आल्फ्रेड यसो भन्छन्: “मेरा धेरै अशिक्षित नातेदारहरूले परम्परागत प्रशिक्षण मात्र प्राप्त गरेका भए तापनि तिनीहरू जीवनका व्यवहारिक पक्षहरूमा निकै राम्रा शिक्षकहरू साबित भएका छन्। संगी मसीहीहरूसित काम गर्दा मैले समाचारलाई सरल तथा व्यवहारिक ढंगमा प्रस्तुत गर्ने प्रभावकारी तरिकाहरू सिकेको छु। यसकारण म परम्परागत पृष्ठभूमि र औपचारिक शिक्षा प्राप्त गरेका दुवै प्रकारका मानिसहरूलाई समाचार बताउन सक्छु। प्रायजसो म यी नातेदाहरूले चलाउने उपदेश तथा उदाहरणहरूलाई परिष्कृत पारेर बाइबलसम्बन्धी भाषणहरूमा प्रयोग गर्छु। यसो गर्दा श्रोतागणले निकै उत्साही भएर तारिफ गर्छन्! तर, वास्तवमा श्रेय भने परम्परागत ढंगमा प्रशिक्षण पाएका यी पुरुष तथा स्त्रीहरूलाई दिनुपर्छ।”
स्पष्टतः, अफ्रिकी स्कूलका प्रशंसनीय पक्षहरू थुप्रै छन्। तसर्थ यसको अवहेलना होइन, प्रशंसा गर्नुपर्छ। यसले प्राविधिक चमत्कारहरू त गरेनन् होला तर मजबूत पारिवारिक संरचना, समुदायप्रति दायित्वको भावना, चनाखो मानिस, मनमोहक हाँस्य मिजास, उदारचित्त तथा आतिथेय मनोभाव भने अवश्य पैदा गऱ्यो। त्यसकारण, शहरबासी थुप्रै अफ्रिकीहरूले ग्रामीण क्षेत्रमा बसोबास गर्ने आफ्ना नातेदाहरूलाई समय समयमा भेट्ने प्रयास गर्नु आश्चर्यको कुरा होइन। त्यस्ता भेटघाटहरूमा कहिलेकाहीं अप्ठ्यारा क्षणहरू पनि हुन्छन्। शहरबासीहरू परम्परागत चलनहरू पछ्याउन प्रायजसो हिचकिचाउँछन्। उदाहरणको लागि, समूहमा मानिसहरूलाई अभिवादन गर्ने “उचित” तरिका दायाँदेखि थालेर बाँयातिर हो भनेर तिनीहरूलाई प्रायजसो थाह हुँदैन। तापनि, यस्ता भेटघाटहरूले एकअर्कालाई स्फूर्ति प्रदान गर्नसक्छ।
अफ्रिकी परम्परागत स्कूलहरूले श्रद्धा तथा भक्तिजस्ता कुराहरू सिकाए तापनि यहोवा र उहाँको पुत्र, येशू ख्रीष्टबारे जीवनदायी ज्ञान भने नसिकाएको कुरालाई मानी लिनैपर्छ। (यूहन्ना १७:३) यहोवाका साक्षीहरूले आकान तथा अन्य अफ्रिकी समूहहरूलाई यस महत्त्वपूर्ण ज्ञान बाँड्ने सुअवसर पाएका छन्। परमेश्वरको वचन अध्ययन गर्न सकोस् भनेर तिनीहरूले औपचारिक शिक्षा नपाएका हजारौं अफ्रिकीहरूलाई लेखपढ गर्न सिकाएका छन्। आफ्नो “आध्यात्मिक आवश्यकताबारे सजग हुनेहरूलाई” यो सबैभन्दा महत्त्वपूर्ण शिक्षा हो।—मत्ती ५:३, न्युव.
[पृष्ठ २५-मा भएको चित्र]
आकानहरूले बालकलाई समुदायप्रतिको जिम्मेवारी सिकाउँथे
[पृष्ठ २६-मा भएको चित्र]
यहोवाका साक्षीहरूको राज्य भवनमा साक्षरता कक्षाहरू सञ्चालन गरिन्छ