युद्धहरूको स्मरणबीच शान्तिको लागि प्रार्थना
नोभेम्बर १९९४ मा पोप जोन पल द्वितीयले भ्याटिकनमा विभिन्न धार्मिक सम्प्रदायहरूको सम्मेलन आयोजित गरे। यसको उद्देश्य विश्व शान्तिको लागि प्रार्थना गर्नु थियो। पोपले प्रारम्भिक सम्बोधन यसरी गरे, “जे जति लडाइँहरू बितेका दिनमा भए र वर्तमानमा पनि भइरहेको छ, त्यसमा धर्म र शान्तिबीचको घनिष्ठतालाई अझ राम्ररी चिनाउनु हाम्रो सामान्य काम र कर्तव्य हो।”
हास्यास्पद कुरा के हो भने, यो संसारका धर्महरूले यस सन्दर्भमा नराम्रो नाउँ कमाएका छन्। सभाको मुख्य सचिव विलियम भेन्ड्ली यसरी स्वीकार्छन् “संसारका विभिन्न भागहरूमा भइरहेका लडाइँहरूमा धर्महरूको ठूलो हात छ।” रोमन क्याथोलिकको प्रबलता भएको इलाका रूवाण्डाको जनसंहारलाई नै विचार गर्नुहोस्।
मे १९९४ का दिन पोप जोन पल द्वितीयले यसरी स्वीकारे, रूवाण्डाको हत्याकाण्ड “यथार्थ र साँचो जातिसंहार हो तर दुःखको कुरा यसको लागि क्याथोलिकहरूसमेत जिम्मेवार छन्।” के यस जनसंहारमा क्याथोलिकको सहभागिताले चर्चप्रति मानिसहरूको विश्वासलाई असर गऱ्यो? एक जना बेल्जियन जेसुइट, आन्द्रे बुयोले भने, “यो जनसंहारको कारण मानिसहरूको विश्वास डग्मगिएको छ।” र यसो हुनुमा ठोस कारण छ।
मायामी हेरल्ड-मा प्रकाशित रोइटर्स प्रतिवेदनअनुसार “जातिसंहारको अभियोगमा परेर पुर्पक्षको लागि पर्खिरहेका ४०,००० हुटु बन्दीहरूमध्ये पादरी, पास्टर तथा ननहरू छन्।” द न्यु योर्क टाइम्स-ले यस्तो विवरण दियो: “धेरै रूवाण्डा निवासीहरूको भनाइअनुसार, तिनीहरूका विशप र प्रधानविशपहरूले जनसंहारलाई समयमै नकारेनन् नता त्यसको कटु आलोचना नै गरे। बरु, तिनीहरू हत्यारा सिपाहीहरूलाई प्रशिक्षण दिन मदत गर्ने हाब्यारिमानाको सरकारसित एकदमै घनिष्ठ थिए। जनसंहारलाई सहयोग गरेको अभियोगमा कम्तीमा पनि एक पादरीलाई नयाँ टुट्सी सरकारले गिरफ्तार गरेको छ।” टाइम्स-ले थप कुरा यसरी बताउनु कुनै अचम्मलाग्दो कुरा होइन, “नयाँ सरकारले क्याथोलिक चर्च पहिलेको जस्तो शक्तिशाली भएको चाहँदैन। अति नै खुलस्त भएर बोल्ने तथा स्वतन्त्र पादरीहरूलाई सिपाहीहरूले हैरान पारेका छन् र गिरफ्तार गर्ने धम्कीसमेत दिएका छन्।”
शान्तिको लागि रक्तदोषी धर्मपन्थी भनौंदाहरूको प्रार्थनालाई यहोवा परमेश्वरले कुन दृष्टिले हेर्नुहुन्छ? यसको जवाफ यशैया १:१५ ले दिन्छ: “तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा, म मेरो मुख तिमीहरूदेखि अर्कोतिर फर्काउनेछु। तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्।”
तर, यहोवाका साँचो सेवकहरू “संसारको भाग हुँदैनन्” र विवादहरूमा मुछिंदैनन्। रूवाण्डामा जनसंहार मच्चिंदा खतरामा परेका साक्षीहरूलाई अन्य जातिका साक्षीहरूले आ-आफ्नो घरमा शरण दिए। ती साक्षीहरूले आफ्नो जीवनलाई खतरामा पारेर पनि तिनीहरूको रक्षा गरे। विभिन्न जातीय पृष्ठभूमि भएका संसारभरिका साक्षीहरूको “ठूलो भीड़[ले]” साँचो शान्ति र सुरक्षाको स्रोत परमेश्वरको राज्यलाई मान्छन् र त्यसको लागि प्रार्थना गर्छन्।—यूहन्ना १७:१४; प्रकाश ७:९; मत्ती ६:९, १०; २४:१४.
[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]
Luc Delahaye/Sipa Press