सांसारिक धर्म किन अन्त हुनेछ
“हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही संगत हुन नपाओस्। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्।”—प्रकाश १८:४.
१. (क) कुन ढंगमा महान् बेबिलोनको पतन भएको छ? (ख) यसले यहोवाका साक्षीहरूलाई कसरी असर गरेको छ?
“महान् बेबिलोनको पतन भएको छ!” हो, यहोवाको दृष्टिमा झूटो धर्म विश्वसाम्राज्यको पतन भएको छ। विशेषगरि सन् १९१९ मा ख्रीष्टका शेष भाइहरू रहस्यमय बेबिलोनको मुख्य भाग मसीहीजगतको प्रभावबाट मुक्त भएदेखि यो कुरा सत्य साबित भएको छ। फलस्वरूप, तिनीहरू झूटो धर्मको भर्त्सना गर्न अनि मसीही राज्यद्वारा चल्ने परमेश्वरको धार्मिक शासनको घोषणा गर्न स्वतन्त्र भएका छन्। “सारा संसारलाई” गलत बाटोमा लैजान शैतानले झूटा धर्महरूलाई कठपुतली बनाएको छ। यहोवाका वफादार साक्षीहरूले यस शताब्दीभरि शैतान नियन्त्रित त्यस्ता धर्महरूको पर्दाफास गरेको छ।—प्रकाश १२:९; १४:८; १८:२.
महान् बेबिलोन कसरी पतन भएको छ?
२. संसारका धर्महरूको वर्तमान स्थिति कस्तो छ?
२ तथापि, कसैले सोध्लान्, ‘अधिकांश मुलुकहरूमा धर्म फस्टाइरहेको बेला कसरी बेबिलोन पतन भएकी छे भन्न सकिन्छ र?’ हो, क्याथोलिक र इस्लाम दुवै धर्महरू आफ्ना एक अरब अनुयायीहरू भएको दाबी गर्छन्। नयाँ नयाँ चर्च अनि आराधना थलोहरू देखा परिरहने अमेरिकी देशहरूमा प्रोटेस्टेन्ट धर्म अझै पनि निकै फस्टाउँदैछ। करोडौं मानिसहरू बौद्ध तथा हिन्दू धर्मका रीतिथितिहरू पालन गर्छन्। यद्यपि, ती अरबौं मानिसहरूको जीवनमा यी धर्महरूले कुन हदसम्म सकारात्मक प्रभाव पारेको छ त? के त्यसले उत्तर आयरलैन्डमा क्याथोलिक र प्रोटेस्टेन्ट धर्महरूबीचको माराकाट रोक्न सकेको छ? के त्यसले मध्यपूर्वमा यहूदी र मुस्लिमहरूबीच साँचो शान्ति कायम गर्न सकेको छ? के त्यसले भारतमा हिन्दू र मुस्लिमहरूबीच एकता ल्याउन सकेको छ? हालैको कुरा गर्ने हो भने, के त्यसले सर्बियाली अर्थोडक्स, क्रोएशियाली क्याथोलिक र बोस्नियाली मुस्लिमहरूलाई “जातीय सफाइ,” लुटपिट, बलात्कार अनि एकअर्काको माराकाट गर्नदेखि रोकेको छ? वास्तवमा धर्म लेबल वा छ्वास्स छुनेबित्तिकै च्यातिने पातलो झिल्ली मात्र भएको छ।—गलाती ५:१९-२१; तुलना गर्नुहोस् याकूब २:१०, ११.
३. परमेश्वरले किन धर्मको न्याय गर्नुहुन्छ?
३ लाखौं मानिसहरूले समर्थन गरे भन्दैमा त्यस्ता धर्मप्रति परमेश्वरको दृष्टिकोण परिवर्तन हुँदैन नता एउटा अकाट्य तथ्यदेखि नै उम्कनसक्छन्। त्यो हो, परमेश्वरले सबै धर्महरूको न्याय गर्दै हुनुहुन्छ। महान् बेबिलोन कठोर न्यायको योग्य छे भनेर त्यसको इतिहासले नै देखाउँछ। किनभने “त्यसका पाप स्वर्गसम्मै चुल्लिएका छन्, र परमेश्वरले त्यसका अधर्म सम्झनुभएको छ।” (प्रकाश १८:५) भविष्यसूचक भाषामा होशेले यसरी लेखे: “तिनीहरू बतास छर्दछन्, र तिनीहरूले आँधी-बेह्रीको कटनी गर्नेछन्।” शैतानका सम्पूर्ण विश्वव्यापी धर्महरू परमेश्वर, उहाँको प्रेम, उहाँको नाउँ र उहाँको पुत्रप्रति वफादार भएर बसेनन्। अवश्य तिनीहरूले यसको ठूलो मोल तिर्नुपर्नेछ।—होशे ८:७; गलाती ६:७; १ यूहन्ना २:२२, २३.
तपाईंले छनौट गर्नैपर्छ
४, ५. (क) अहिले हामी कुन अवस्थामा बाँचिरहेका छौं? (ख) हामीले कुन प्रश्नहरूको जवाफ दिनैपर्छ?
४ हामी “आखिरी दिन[को]” पनि आखिरी समय- मा बाँचिरहेका छौं र साँचो मसीहीहरूको हैसियतमा हामी “यी डरलाग्दो समय[मा]” बाँच्ने संघर्ष गर्दैछौं। (२ तिमोथी ३:१-५) शैतानको संसारले हत्या, झूट र निन्दाजस्ता शैतानकै भ्रष्ट व्यक्तित्व हुबहु प्रतिबिम्बित गर्छ। तर यो शैतानी संसारमा साँचो मसीहीहरू सधैंभरि बाँच्नुपर्दैन। (यूहन्ना ८:४४; १ पत्रुस २:११, १२; प्रकाश १२:१०) हामी हिंसा, छल, धोखा, भ्रष्टाचार र अघोर अनैतिकताले घेरिएका छौं। मानिसहरू सिद्धान्तहरूको कदर गर्दैनन्। अति विलास र स्वार्थजस्ता शब्दहरूले वर्तमान समयको परिचय दिन्छ। समलैंगिकता, करणी र व्यभिचारलाई बाइबलले सुस्पष्ट ढंगमा निन्दित ठहराएको भए तापनि कतिपय परिस्थितिहरूमा पादरीवर्गले त्यसलाई हलका बनाएर नैतिक भ्रष्टाचारप्रति आफ्नो आँखा चिम्लेका छन्। तसर्थ, प्रश्न उठ्छ, के तपाईं झूटो धर्मलाई समर्थन गर्नुका साथै स्वीकार्नुहुन्छ वा सक्रियतासाथ साँचो उपासनामा लाग्नुहुन्छ?—लेवी १८:२२; २०:१३; रोमी १:२६, २७; १ कोरिन्थी ६:९-११.
५ छुट्याउने समय अहिल्यै हो। तसर्थ, झूटो र साँचो उपासना चिन्ने अझ धेरै कारणहरू छन्। तर के कारणले गर्दा मसीहीजगतका धर्महरू अति निन्दनीय भए?—मलाकी ३:१८; यूहन्ना ४:२३, २४.
झूटो धर्ममाथि अभियोग
६. मसीहीजगतले कसरी परमेश्वरको राज्यलाई धोखा दिएको छ?
६ मसीहीजगतका करोडौं मानिसहरू नियमित तवरमा प्रभुको प्रार्थना गर्छन्, परमेश्वरको राज्य आओस् भनेर बिन्ती गर्छन्। तर अर्कोतर्फ तिनीहरूले जोडतोडका साथ हरेक राजनैतिक शक्तिलाई समर्थन गरेका छन्। यहाँसम्म कि तिनीहरूले ईश्वरतान्त्रिक राज्यलाई नै बहिष्कार गरेका छन्। शताब्दीयौंअघि कार्डिनल रिसेलु, माजरन र वल्सेजस्ता क्याथोलिक चर्चका “राजकुमारहरू” राजनैतिक नेता, सरकारी कुटनीतिज्ञहरू पनि थिए।
७. यहोवाका साक्षीहरूले ५० वर्षअघि कसरी मसीहीजगतका पादरीवर्गको पर्दाफास गरे?
७ झन्डै ५० वर्षअघि धर्मले गोलमाल उत्पन्न गर्छ (अंग्रेजी) नामक पुस्तिकामा यहोवाका साक्षीहरूले मसीहीजगत र राजनीतिबीचको लसपस पर्दाफास गरे।a त्यति बेला भनिएको यो कुरा आज पनि त्यतिकै लागू हुन्छ: “सबै धार्मिक मतका पादरीवर्गको आचरणलाई इमानदारीपूर्वक जाँच्ने हो भने, ‘वर्तमान दुष्ट संसारका’ राजनीति तथा सांसारिक कामकुराहरूमा ‘मसीहीजगतका’ सबै नेताहरूले बडो चासो लिएर भाग लिइरहेको भेटिनेछ।” पोप पायस बाह्रौंले नाजी हिटलर (१९३३) र फासिस्ट फ्रान्कोसँग (१९४१) सन्धि गर्दा अनि जापानले पर्ल हार्बरमा गरेको कुख्यात आक्रमणको केही महिना बित्दा नबित्दै पोपले त्यस आक्रामक राष्ट्रसित मार्च १९४२ मा कुटनैतिक प्रतिनिधिहरू आदानप्रदान गर्दा तत्कालीन साक्षीहरूले कटु आलोचना गरे। याकूबले दिएको यस चेताउनीलाई पोपले पालन गर्न सकेनन्: “हे व्यभिचारी हो, संसारसँगको मित्रता परमेश्वरसँगको दुश्मनी हो भन्ने कुरा के तिमीहरूलाई थाह छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।”—याकूब ४:४.
८. आज रोमन क्याथोलिक चर्च कसरी राजनीतिमा मुछिएको छ?
८ वर्तमान स्थिति कस्तो छ त? पोप शासन प्रणाली अहिले पनि आफ्नो पादरीवर्ग तथा सर्वसाधारण प्रतिनिधिहरू मार्फत राजनीतिमा मुछिएको छ। हालैका पोपहरूले चाहिं मानवनिर्मित नक्कली विश्वशान्तिका लागि संयुक्त राष्ट्रको पक्षमा बोलेर त्यसलाई अनुमोदन दिएका छन्। भेटिकनको आधिकारिक समाचारपत्र लोसारभटोरा रोमानो-को हालैको अंकमा “पोपका लागि” सात जना नयाँ कुटनीतिज्ञ अर्थात् “राजदूतहरूले” “पोपलाई” आफ्नो प्रमाणपत्र चढाएको घोषणा गरिएको थियो। के हामी येशू र पत्रुसले त्यस्तो कुटनैतिक आदानप्रदान गरेको कल्पना गर्नसक्छौं? यहूदीहरूले राजा बनाउने कोसिस गर्दा येशूले इन्कार गर्नुभयो र उहाँको राज्य यो संसारको होइन भन्नुभयो।—यूहन्ना ६:१५; १८:३६.
९. प्रोटेस्टेन्ट धर्महरू क्याथोलिक धर्महरूभन्दा कुनै कम छैन भनेर हामी किन भन्नसक्छौं?
९ त्यसोभए के प्रोटेस्टेन्ट नेताहरू क्याथोलिक नेता- हरूभन्दा असल छन् त? संयुक्त राज्यमा थुप्रै रूढीवादी प्रोटेस्टेन्टलगायत मर्मन धर्मसमेत केही हदसम्म राजनीतिमा मुछिएको बताइन्छ। एक जना पादरीलगायत सं.रा. राष्ट्रपति पदका भूतपूर्व उम्मेदवारहरू मिलेर बनाएको क्रिश्चियन कोएलिसन भन्ने संगठन सं.रा.-को राजनीतिमा अत्यन्तै मुछिएको छ। अरू प्रोटेस्टेन्ट पादरीहरू चाहिं अन्य राजनैतिक पदहरू धारण गरेर बसेका छन्। संयुक्त राज्यका प्याट रबर्टसन र जेस्सी ज्याकसनजस्ता राजनैतिक प्रवक्ताहरू “रेभरेन्ड” थिए र छन् भनेर कहिलेकाहीं मानिसहरू भुल्छन्। उत्तर आयरलैन्डका बेलाइती सांसद इयन पाज पनि “रेभरेन्ड” हुन्। के तिनीहरूले कहिल्यै आफ्नो दृष्टिकोणको सफाइ दिन सक्लान्?—प्रेरित १०:३४, ३५; गलाती २:६.
१०. सन् १९४४ मा कुन कुरा स्पष्ट भनियो?
१० धर्मले गोलमाल उत्पन्न गर्छ नामक पुस्तिकाले सन् १९४४ मा सोधेजस्तै हामी पनि सोध्न चाहन्छौं: “सांसारिक शक्तिहरूसँग सन्धि गर्ने, यो संसारको राजनैतिक गतिविधिहरूमा सक्रियतासाथ हात हाल्ने अनि यो संसारको लाभ तथा सुरक्षा खोज्ने कुनै पनि संगठन के . . . परमेश्वरको मण्डली वा ख्रीष्ट येशूको पार्थिव प्रतिनिधि हुनसक्छ र? . . . स्पष्ट छ, यो संसारको राज्यहरूसित काँधमा काँध मिलाउने कुनै पनि धर्मावलम्बीहरूले ख्रीष्ट येशूद्वारा सञ्चालन हुने ईश्वरीय राज्यको प्रतिनिधित्व गर्न सक्दैन।”
झूटो धर्मले देखाएको कयिनको जस्तो प्रवृत्ति
११. झूटो धर्मले कयिनको अनुकरण कसरी गऱ्यो?
११ इतिहासभरि झूटो धर्मले आफ्नै भाइ हाबिलको हत्या गर्ने कयिनको जस्तो भाइमारा प्रवृत्ति देखाएको छ। “परमेश्वरका सन्तान र शैतानका सन्तान यसैबाट प्रष्ट हुन्छ, उचित काम नगर्ने र आफ्नो भाइलाई प्रेम नगर्ने हरेक परमेश्वरबाटको हुँदैन। किनभने तिमीहरूले शुरूदेखि सुनेको समाचार यही हो, कि हामीले एउटाले अर्कोसँग प्रेम गर्नुपर्छ। कयिनजस्तै ता होइन, जो दुष्टबाटको थियो, र जसले आफ्नो भाइलाई माऱ्यो। औ किन त्यसले उसलाई माऱ्यो? किनभने त्यसको काम खराब थियो, तर उसको भाइको कामचाहिं धार्मिक थियो।” भाइले परमेश्वरलाई शुद्ध अनि स्वीकारयोग्य उपासना चढाउँदा सहन नसकेर कयिनले हिंसात्मक मार्ग अपनाए। तर्कसंगत जवाफ दिन नसक्ने व्यक्तिले मात्र केही नलागेपछि हिंसात्मक मार्ग अपनाउने गर्छ।—१ यूहन्ना ३:१०-१२.
१२. युद्ध र कलहसित धर्मको सम्बन्ध छ भन्ने के प्रमाण छ?
१२ झूटो धर्ममा लगाइएको यो अभियोगलाई समर्थन गर्ने के कुनै तथ्यहरू छन्? प्रचारकले हतियार दिन्छ (अंग्रेजी) नामक पुस्तकका ग्रन्थकारले यसो भने: “मानव सभ्यताको इतिहासमा . . . दुइ शक्तिले सधैं द्विपक्षीय सम्बन्ध गाँसेको छ। ती हुन्, युद्ध र धर्म। अनि संसारको सबैभन्दा ठूला मानिने धर्महरूमध्ये . . . [मसीहीजगतले] जस्तो धेरै [युद्ध] कसैले लडेको छैन।” केही वर्षअघि भानकुभर, क्यानाडाको समाचारपत्र द सन-ले यसो भनेको थियो: “यस्तो लाग्छ, सबै संगठित धर्मको कमजोरी नै राष्ट्रवाद हो। . . . कुन चाहिं युद्धमा मानिसहरूले आफ्नो पक्षमा परमेश्वर भएको दाबी गरेका छैनन् र?” तपाईंले केही स्थानीय चर्चमै त्यसको प्रमाण देख्नुभएको होला। उपासना चढाउने वेदीमा प्रायः राष्ट्रिय झण्डा फहराइएको हुन्छ। येशूले कुन देशको झण्डा बोकेर मार्च गर्नुहोला जस्तो तपाईंलाई लाग्छ? उहाँका यी शब्दहरू शताब्दीयौंदेखि अहिलेसम्म गुञ्जिरहेका छन्: “मेरो राज्य यस संसारको होइन”!—यूहन्ना १८:३६.
१३. (क) अफ्रिकामा झूटो धर्म कसरी विफल भएको छ? (ख) येशूले मसीही धर्मको कुन चिनारी बताउनुभयो?
१३ मसीहीजगतका धर्महरूले आफ्ना बगालहरूलाई साँचो भ्रातृ प्रेम सिकाएको छैन। बरु राष्ट्रिय, जनजातीय र जातीय भिन्नताहरूलाई प्रोत्साहन दिएर आफ्ना सदस्यहरूबीच फूट उत्पन्न गरेको छ। रूवाण्डामा देखा परेको फाटो र त्यसले गर्दा भएको जनजातीय संहारमा क्याथोलिक तथा एंगलिकन पादरीहरूको हात थियो भनेर प्रतिवेदनहरूले संकेत गर्छ। उदाहरणका लागि, द न्यु योर्क टाइम्स-ले यस्तो विवरण दियो: “रूवाण्डामा भएको जनसंहारले गर्दा त्यहाँका थुप्रै रोमन क्याथोलिकहरूले चर्च धर्मतन्त्रले धोखा दिएको महसुस गरेका छन्। हुटु र टुट्सीहरूबीचको जातीय भिन्नतालाई लिएर प्रायः चर्चमा फूट भइरहन्थ्यो।” सोही समाचारपत्रले मिसनरी पादरीका यी शब्दहरू पनि उद्धृत गरेको थियो: “सन् १९९४ मा रूवाण्डाका चर्चहरू पूर्णतया असाध्यै असफल भए। वास्तवमा थुप्रै रूवाण्डालीहरूले चर्चलाई त्यागेका छन्। चर्चले आफ्नो विश्वसनीयता गुमायो।” येशूका शब्दहरूभन्दा कति भिन्न: “तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।”—यूहन्ना १३:३५.
१४. प्रमुख गैरमसीही धर्महरूले कस्तो आचरण देखाउँदै आएको छ?
१४ यद्यपि, महान् बेबिलोनका अन्य प्रमुख धर्महरूले पनि राम्रो उदाहरण बसाल्न सकेका छैनन्। संसारका प्रमुख धर्महरूले सहिष्णुता खेती गर्न सकेका छैनन् भन्ने कुरा सन् १९४७ मा भारत विभाजित हुँदा भएको डरलाग्दो जनसंहारले देखाउँछ। भारतमा अहिलेसम्म चलिरहेको साम्प्रदायिक हिंसाले अधिकांश मानिसहरू परिवर्तन भएका छैनन् भनेर प्रष्ट्याउँछ। अतः इन्डिया टुडे पत्रिकाले यस्तो टिप्पणी गर्नु कुनै अनौठो कुरा होइन: “धर्मको नाउँमा असाध्यै घृणास्पद अपराधहरू भएका छन्। . . . धर्म अचाक्ली हिंसाको स्रोत र असाध्यै विनाशकारी शक्ति भएको छ।”
“अनौठो विरोधाभास”
१५. पश्चिमी मुलुकहरूमा धर्मको स्थिति कस्तो छ?
१५ सांसारिक टिप्पणीकारहरूले समेत धर्महरूले साँचो मूल्य तथा मान्यता सिकाउन र धर्म निरपेक्षताको अतिक्रमणको प्रतिरोध गर्न सकेका छैनन् भनेर टिप्पणी गरेका छन्। नियन्त्रणबाहिर (अंग्रेजी) नामक आफ्नो पुस्तकमा सं.रा. राष्ट्रिय सुरक्षा परिषद्का भूतपूर्व सल्लाहकार जुबेग्नेफ ब्राजेन्स्कीले यो लेखे: “अनौठो विरोधाभासपूर्ण कुरा त के छ भने, ‘परमेश्वरको अस्तित्व छैन’ भन्ने विचारले साम्यवादी देशहरूमा होइन तर पश्चिमी स्वतन्त्र प्रजातान्त्रिक समाजहरूमा ठूलो मान्यता पाएको छ र . . . जहाँ नैतिकहीनता संस्कृति नै भइसक्यो। वास्तवमा पश्चिमी मुलुकहरूमा धर्म पहिलेजस्तो सामाजिक शक्तिको ठूलो स्रोत हुन छाडिसक्यो।” त्यसपछि तिनले अझ यसो भने: “युरोपेली संस्कृतिहरूमा धर्मको प्रभाव ज्यादै कम भएको छ र आज युरोप अमेरिकाभन्दा पनि धर्म निरपेक्ष समाज भइसकेको छ भने पनि हुन्छ।”
१६, १७. (क) आफ्नो समयका धार्मिक नेताहरूबारे येशूले कुन सल्लाह दिनुभयो? (ख) येशूले फलबारे कुन राम्रो सिद्धान्त बताउनुभयो?
१६ येशूले आफ्नो समयका यहूदी धार्मिक नेताहरूबारे के भन्नुभयो? “[तोराहको व्यवस्था सिकाउन] शास्त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्तछन्। यसकारण जे तिनीहरूले भन्दछन् ती गर र मान, तर तिनीहरूकै काम जस्तो चाहिं नगर, किनकि तिनीहरूले भन्द ता छन्, तर गर्दैनन्।” हो, धार्मिक पाखण्ड कुनै नौलो कुरा होइन।—मत्ती २३:२, ३.
१७ झूटो धर्मले फलाएको फलले नै त्यसलाई दोषी ठहराउँछ। यस सम्बन्धमा येशूले दिनुभएको यो नियम असाध्यै उपयुक्त छ: “हरेक असल रूखले बढ़िया फल फलाउँछ। तर बिग्रेको रूखले खराब फल फलाउँछ। असल रूखले खराब फल फलाउनसक्तैन, नता बिग्रेका रूखले असल फल फलाउनसक्तछ। बढ़िया फल नफ- लाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ। यसकारण तिनीहरूका फलबाटनै तिमीहरूले तिनीहरूलाई चिन्नेछौ।”—मत्ती ७:१७-२०.
१८. मसीहीजगतले कसरी आफ्नो समूहलाई स्वच्छ राख्नसक्थ्यो?
१८ मसीहीजगतका धर्महरूले अधार्मिक काम गर्ने आफ्ना सदस्यहरूलाई इमानदारीपूर्वक मसीही अनुशासनअनुरूप बहिष्कार गरेको वा निकालेको भए के हुनेथियो? पश्चात्तापको भावबिना झूट, करणी, व्यभिचार, समलैंगिकता, ठगी काम गर्नेहरू, अपराधीहरू, लागू पदार्थ बेचबिखन गर्ने अनि सेवन गर्नेहरू र नियोजित अपराधी समूहका सदस्यहरूलाई के हुनेथियो? यसमा कुनै शंका छैन, मसीहीजगतका कुहिएका फलहरूले नै त्यो परमेश्वरको हातबाट विनाश हुन योग्य छ भनेर देखाउँछ।—१ कोरिन्थी ५:९-१३; २ यूहन्ना १०, ११.
१९ धार्मिक नेताहरूबारे मानिसहरूले कुन कुरा स्वीकारेका छन्?
१९ संयुक्त राज्यस्थित प्रेसबाइटेरियन चर्चको साधारण सभाले यो कुरा स्वीकाऱ्यो: “हामी त्यसको अनुपात र नतिजाले गर्दा ठूलो संकटमा परिरहेका छौं। . . . अधिराज्यका १० देखि २३ प्रतिशत पादरीहरूले आफ्ना चर्चका सदस्य, अनुयायी, कामदार आदिसित अश्लील व्यवहार गरेका छन् वा यौनसम्बन्ध राखेका छन्।” धर्मका नाउँमा भइरहेका यी सबै कुकर्मलाई सं.रा.-का एक जना व्यापारीले एकदमै राम्रो सारांश दिए: “धार्मिक संस्थाहरूले नैतिक मूल्य र मान्यता दिन सकेका छैनन् र प्रायजसो परिस्थितिहरूमा धर्म स्वयं समस्या भएको छ।”
२०, २१. (क) येशू र पावलले कसरी कपटको भर्त्सर्ना गरे? (ख) कुन प्रश्नहरूको जवाफ दिन अझै बाँकी छ?
२० येशूले तत्कालीन धार्मिक कपटको निन्दा गर्न चलाउनुभएका शब्दहरू आज पनि त्यतिकै लागू हुन्छ: “ए कपटी हो, यशैयाले तिमीहरूका विषयमा यसो भनेर ठीक ठीक अगमवाणी बोले, ‘यस जातिले आफ्ना ओठले मेरो आदर गर्दछ। तर तिनीहरूको हृदय मबाट टाढ़ा छ। औ मानिसका आदेशहरू तिनका सिद्धान्त जस्तागरी तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्।’” (मत्ती १५:७-९) पावलले तितसलाई लेखेका यी शब्दहरू पनि वर्तमान स्थितिसित ठ्याक्कै मिल्छ: “तिनीहरूले परमेश्वरलाई चिनेका छन् भनी टोपल्छन्, तर तिनीहरू घृणित, अट्टेरी र कुनै बढ़िया कामको लायक नभएको हुनाले आफ्नो कामबाट भने उहाँलाई इन्कार गर्छन्।”—तितस १:१६.
२१ अन्धाले अन्धालाई डोऱ्यायो भने दुवै खाल्टोमा खस्नेछन् भनेर येशूले भन्नुभयो। (मत्ती १५:१४) के तपाईं पनि महान् बेबिलोन सँगसँगै नाश हुन चाहनुहुन्छ? वा आफ्नो आँखा खुला राखेर सीधा मार्गमा हिंड्दै यहोवाको आशिष् प्राप्त गर्न चाहनुहुन्छ? आज हामी सबैले यी प्रश्नहरू सामना गर्नुपरेको छ: कुन धर्मले धार्मिक फलहरू फलाउँछ? परमेश्वरले स्वीकार्नुहुने साँचो उपासनालाई हामी कसरी ठम्याउनसक्छौं?—भजन ११९:१०५.
[फुटनोट]
a सन् १९४४ मा वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित। अहिले यसको मुद्रण हुँदैन।
के तपाईंलाई सम्झना छ?
◻ अहिले परमेश्वरले महान् बेबिलोनलाई कुन दृष्टिले हेर्नुहुन्छ?
◻ कुन कुराको आधारमा झूटो धर्ममाथि अभियोग लगाइएको छ?
◻ झूटो धर्मले कसरी कयिनको आत्मा देखाएको छ?
◻ धर्मलाई न्याय गर्ने सम्बन्धमा येशूले कुन सिद्धान्त बताउनुभयो?
[पृष्ठ १३-मा भएका चित्र]
इतिहासभरि धार्मिक नेताहरूले राजनीतिमा हात हालेका छन्
[पृष्ठ १५-मा भएका चित्र]
यी पादरीहरू ससक्त नेता पनि थिए
कार्डिनल माजरन
कार्डिनल रिसेलु
कार्डिनल वल्से
[चित्रको स्रोत]
कार्डिनल माजरन र कार्डिनल रिसेलु: Ridpath’s History of the World (क्रमश: खण्ड ४ र खण्ड ५) पुस्तकबाट। कार्डिनल वल्से: From The History of Protestantism (खण्ड १) पुस्तकबाट।