प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ४/१५ पृ. ८-१०
  • ग्रीसमा सफल साक्षी दिने अभियान

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ग्रीसमा सफल साक्षी दिने अभियान
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • सरकारी अधिकृतहरूको प्रतिक्रिया
  • सरकारी वकिलहरूको प्रतिक्रिया
  • पुस्तकालयाध्यक्षहरूको प्रतिक्रिया
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ४/१५ पृ. ८-१०

ग्रीसमा सफल साक्षी दिने अभियान

यहोवाका साक्षीहरूले ग्रीसमा धेरै अघिदेखि विरोधको सामना गर्दै आएका छन्‌। प्रायः ग्रीक अर्थोडक्स पादरीको दबाबमा परेर केही प्रहरी, अदालत तथा सरकारी अधिकृतहरूले साक्षीहरूलाई सताएका छन्‌। धर्मपरिवर्तन गर्न नपाउने ग्रीसको कानुनलाई हतियार बनाएर कहिलेकाहीं यो सतावट तिनीहरूमाथि ल्याएको छ भने, अरू बेला साक्षीहरूले बाइबल सिद्धान्तको आधारमा युद्धमा भाग लिन वा रक्‍तक्षेपण गर्न अस्वीकार गर्नु यो सतावटको कारण भएको छ।—यशैया २:२-५; प्रेरित १५:२८, २९.

इमानदार हृदय भएका अख्तियारवालाहरूलाई आफ्नो कार्यबारे अझ राम्ररी अवगत गराउने प्रयासमा ग्रीसका साक्षीहरूले हालै एउटा विस्तृत अभियान चालेका छन्‌। त्यस अभियानमा लाग्नेहरू वैधरूपमा व्यवसायी साक्षीहरूलगायत ग्रीस सरकारले धार्मिक सेवकहरूको रूपमा मान्यता दिएका २०० साक्षीहरू छन्‌। तिनीहरूले विशेषतः त्यहाँकै लागि तयार पारिएको ग्रीसमा यहोवाका साक्षीहरू (अंग्रेजी) पुस्तिकाका साथै यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू (अंग्रेजी) नामक पुस्तक प्रस्तुत गरे। यहोवाका साक्षीहरूलाई सताउने कुनै कानुनी आधार छैन भनेर पुष्टि गर्ने प्रमाणहरू पनि तिनीहरूले पेश गरे। साक्षीहरूले प्रहरी प्रमुख, नगरप्रमुख, सरकारी वकिल तथा अन्य अधिकृतहरूलाई भेटे।

यसको प्रतिक्रिया? सयौं असल अनुभवहरू प्राप्त भयो। तीमध्ये केही विचार गर्नुहोस्‌।

पश्‍चिम मेसिडोनियाको प्रहरी चौकीको प्रहरी अधिकृतले भाइहरूलाई स्वागत गर्दै यसो भने: “तपाईंहरूबारे धेरै अघिदेखि सुनेको छु, . . . तपाईंहरूको सुव्यवस्थित र अनुशासित कार्य तथा आचरणको म प्रशंसा गर्छु। . . . धर्मपरिवर्तन गर्न नपाउने नियमलाई म मान्दिनँ। मेरो वशमा भएको भए म यस नियमलाई हटाउने थिएँ।”

धेरै शहरका विभिन्‍न प्रहरी चौकीका प्रहरी अधिकृतहरूले यस्ता टिप्पणीहरू गरे: “तपाईंहरूले गर्नुभएको सामाजिक सेवाको म सराहना गर्छु।” “यहोवाका साक्षीहरूले प्रहरीलाई समस्या हुने कार्य कहिल्यै गर्दैनन्‌। तपाईंहरू सामाजिक सेवा गर्नुहुन्छ।” “तपाईंहरूसित हाम्रो कुनै समस्या छैन। हामी तपाईंहरूलाई आदर र प्रशंसा गर्छौं।”

पाइरिस शहरको सुरक्षा प्रहरीका उच्च अधिकृत आफूले यहोवा परमेश्‍वरलाई येशूको नाउँमा प्रार्थना गर्न जानेको कुरा भाइहरूलाई बताउँदा तिनको गहभरि आँसु थियो। तिनको थप कुराले यी भाइहरूलाई चकित पाऱ्‍यो। किनभने साक्षीहरूले आरमागेडोनअगाडि केही सतावटको आशा गरिरहेको कुरा तिनलाई थाह भएको र त्यस सतावटको समयमा साक्षीहरूलाई मदत गर्न परमेश्‍वरले आफूलाई प्रयोग गरून्‌ भन्‍ने आशा तिनले राखेको कुरा पनि तिनले भाइहरूलाई बताए।

सरकारी अधिकृतहरूको प्रतिक्रिया

थेसालीको एक नगरप्रमुखले उद्‌घोषकहरू पुस्तकबारे यसो भने: “यो पुस्तक नगरपालिका पुस्तकालयको विशिष्ट स्थानमा राख्न योग्य छ!” त्यसपछि तिनले अलमारीबाट अरू पुस्तकहरू हटाएर उद्‌घोषकहरू पुस्तकलाई देख्ने गरी सजाएर राखे।

उत्तरी ग्रीसमा एक नगरप्रमुखले भाइहरूको हार्दिक स्वागत गर्दै यसो भने: “मेरो नगरपालिकामा होऊन्‌ भनेर मैले चाहेको सबैभन्दा असल मानिसहरू तपाईंहरू नै हुनुहुन्छ।” उत्तरी युबीका एक जना दयालु नगरप्रमुखले भाइहरूलाई भने: “म भूतपूर्व सैनिक अधिकृत हुँ। तर म तपाईंहरूको औधी प्रशंसा गर्छु।” साक्षीहरूले प्रस्तुत गरेका जानकारीहरूप्रति तिनले उत्साहपूर्वक सहमति जनाए। साक्षीहरूले वाच टावर सोसाइटीद्वारा प्रकाशित पुस्तकहरू देखाउँदा तिनले भने: “यी सबै पुस्तक पढ्‌ने वचन दिएँ भने, के मलाई यी पुस्तकहरू दिनुहुनेछ?” तिनीहरूले जवाफमा भने: “अवश्‍य, किनभने यी तपाईंकै लागि हुन्‌!” तिनी अत्यन्त खुशी भए र भाइहरूबाट छुट्‌न चाहेका थिएनन्‌।

आटिकाको एउटा उपनगरको नगरप्रमुखले भाइहरूद्वारा प्रस्तुत पुस्तक सहर्ष स्वीकारे अनि सोसाइटीका प्रकाशनहरू लगातार ल्याइदिन आग्रह गरे। साक्षीहरू फर्कनै लागेको बेलामा तिनले भने: “मानिसहरू राजनीतिज्ञहरूदेखि अत्यन्त निराश भएका छन्‌ र सच्चाइको खोजीमा छन्‌। यस उप्रान्त तपाईंहरू अझ धेरै व्यस्त हुनुहुनेछ भनेर म निश्‍चित छु किनभने तपाईंहरूसित सच्चाइ छ।”

सरकारी वकिलहरूको प्रतिक्रिया

उत्तरी ग्रीसमा मनोनीत एक सरकारी वकिललाई भेट्‌ने भाइहरू यसरी स्मरण गर्छन्‌: “हाम्रा प्रकाशनहरू तथा प्रस्तुतिका साथै रक्‍तक्षेपणको गम्भीर विवाद सामना गर्नुपर्दा हाम्रा मानिसहरू असहाय नहोऊन्‌ भनी हामीले गर्ने प्रयासहरूबाट तिनी साह्रै प्रभावित भए। अन्तमा तिनलाई भेट्‌न तथा जानकारी दिन आएकोमा धन्यवाद दिंदै तिनले हाम्रो हार्दिक सराहना गरे। पछि के थाह पायौं भने, चार वर्षअघि तिनले प्रहरी बोलाएर क्षेत्र सेवकाईमा व्यस्त हाम्रा दुइ जना भाइहरूलाई पक्रने आदेश दिएका रहेछन्‌।”

दुइ वकिल साक्षीहरू एथेन्सका सरकारी वकिललाई भेट्‌न तिनको कार्यालयमा गएका थिए। त्यहाँ तिनीहरूलाई भेट्‌न चिरपरिचित तथा प्रख्यात पाको आदरणीय वकिल आउँदा ती भाइहरू छक्कै परे। तिनले तिनीहरूलाई अन्तै लगेर भने, धर्मपरिवर्तन विरुद्ध नियमको कुनै आधार छैन र यसले ग्रीसको अदालत प्रणालीमा अन्योल पैदा गर्छ। तिनले तिनीहरूसित सहानुभूतिपूर्वक हात मिलाउँदै कृतज्ञता व्यक्‍त गरे।

उत्तरी ग्रीसमा एक असाध्यै मित्रैलो सरकारी वकिलले साहित्य स्वीकारे। तिनले युवा जनले सोध्ने प्रश्‍नहरू—उपयोगी जवाफहरू (अंग्रेजी) नामक पुस्तकका पृष्ठहरू पल्टाउँदा विषयसूचीमा विविध अध्यायहरू देखेर अचम्म माने। तिनले यसो भने: “यस पुस्तकमा भएका कुराहरू मैले कुनै पनि ग्रीक अर्थोडक्स चर्चमा देखेको छैन।”

बीओशी प्रान्तका सरकारी वकिलले पहिले साक्षीहरूलाई तिनीहरूको इच्छा विरुद्ध रक्‍तक्षेपण गराउन आज्ञा दिएको कुरा स्वीकारे। तर यस विषयमा भाइहरूले तिनीसित तर्कवितर्क गरेपछि तिनले जोर दिएर भने: “भविष्यमा त्यस्तो आज्ञा कहिल्यै दिने छैन!” रक्‍तक्षेपणको विवाद उठ्‌दा रगतका विकल्पहरू खोज्न यहोवाका साक्षीहरूका स्थानीय अस्पताल सम्पर्क समितिसित सम्पर्क राख्ने संकल्प तिनले गरे। तिनले खुशीसाथ युवा जन सोध्छन्‌ पुस्तक ग्रहण गरे।

पुस्तकालयाध्यक्षहरूको प्रतिक्रिया

धेरैजसो पुस्तकालयाध्यक्षहरूलाई पनि प्रकाशनहरू प्रस्तुत गरिएको छ। एथेन्सका एक भद्र पुस्तकालयाध्यक्षले साहित्य स्वीकारे र यसो भने: “आफ्ना पुस्तकहरू ल्याउनुभएर तपाईंहरूले असाध्यै राम्रो गर्नुभयो किनभने हाम्रा पुस्तकालयमा भएका धेरैजसो पुस्तकहरू तपाईंहरू विरुद्धका छन्‌। . . . तपाईंहरूका पुस्तकहरू यहाँ देखेर एक पादरी असाध्यै रुष्ट भए। . . . तर यसले केही फरक पार्दैन। सबैको विचार सुन्‍नुपर्छ।”

क्रेट नगरपालिका पुस्तकालयका एक अधिकृतले आफू सैनिक शिविरमा छँदा यहोवाका साक्षीहरूले लडाइँमा भाग नलिएको कुरा सुनेका थिए र त्यसले तिनलाई प्रभावित पारेको थियो भनेर तिनले भाइहरूलाई बताए। ‘यी मानिसहरूले किन सतावट भोग्नुपर्छ?’ भनेर तिनले आफैलाई सोध्ने गर्थे। तिनले भाइहरूबाट साहित्य स्वीकारे अनि तिनीहरूको चालू अभियानबारे यसो भने: “तपाईंहरूले असाध्यै असल काम गर्नुभएको छ। तपाईंहरूले यो जानकारी वर्षौंअघि अधिकृतहरूलाई दिनुपर्थ्यो। . . . ग्रीस पूर्वाग्रह र पक्षपातले भरिएको छ।” तिनले भाइहरूलाई फेरि चाँडै भेट्‌न आउन आग्रह गरे।

यस विशेष अभियानको दौडान भाइहरूले १,००० भन्दा बढी उद्‌घोषकहरू पुस्तक, १,६०० ग्रीसमा यहोवाका साक्षीहरू पुस्तिकाका साथै सयौं अन्य पुस्तक तथा पत्रिकाहरू प्रस्तुत गरे। तिनीहरूले ग्रीसका सयौं अधिकृतहरूसित भेटेर अझ प्रभावशाली ढंगमा कुरा गरे। अब ग्रीसका इमानदार अख्तियारवालाहरूले यहोवाका साक्षीहरूप्रति निष्पक्ष दृष्टिकोण राख्नेछन्‌ भनेर ग्रीस तथा सारा संसारका यहोवाका विश्‍वासी सेवकहरू आशा गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने