अस्ट्रेलियाको “गायन धरहरा”
अस्ट्रेलियाका ब्यूँझनुहोस्! संवाददाताद्वारा
भिन्नाभिन्नै वाद्ययन्त्रहरूबाट विशिष्ट प्रकारका धुन निकाल्न संगीतजगत्मा कला, विज्ञान तथा प्रविधिलाई एकैसाथ गाँसिएको पाइन्छ। अन्तोनियस स्टाडिभारिआसको भाइलिन र टेओबाल्ड बुएमको बाँसुरी चिरपरिचित भए तापनि वैभवशाली क्यारलानबारे कमैलाई मात्र थाह होला।
तर क्यारलान के हो र त्यो कसरी बजाइन्छ? संसारका प्रमुख क्यारलानहरूमध्ये एउटालाई निहार्दा त्यसबारे थाह पाउनेछौं र त्यसबाट निस्कने श्रेष्ठतम संगीतप्रति हाम्रो मूल्यांकन शायद अझ गहिरिनेछ।
एक विशाल वाद्ययन्त्र
संसारका सबैभन्दा ठूला वाद्ययन्त्रहरूमध्ये क्यारलान पनि एक हो र पुरातन समयदेखि नै यसको प्रयोग गरिन्थ्यो। यो अक्सर घण्टे धरहरामा राखिन्छ। त्यसैकारण यसलाई “गायन धरहरा” भन्नु उपयुक्त छ। अस्ट्रेलियाको राजधानी क्यान्बेराको क्यारलान र घण्टे धरहरा उक्त शहर आबाद गरिएको र त्यसको नाउँ राखिएको ५०औं वार्षिकोत्सवमा अर्थात् सन् १९६३ मा बेलाइत सरकारले प्रदान गरेको उपहार हो। यो क्यारलान सुन्दर बुर्ले ग्रीफिन ताल माझ रहेको आस्पेन टापुमा राखिएको छ।
यस ५० मिटर अग्लो धरहरा त्रिकोण आकारका तीनवटा सँगसँगै राखिएका खम्बाहरूले बनिएको छ। बीचमा समभुज त्रिकोण बन्ने गरी ती खम्बाहरू ठड्याइएका छन्। माथि उँचाइमा ती खम्बाहरूबीच छाना बनाएर त्यसमा क्यारलान राखिएको छ।
त्यस धरहराको लिफ्टबाट पहिलो तल्लामा पुग्दा दुइटा ठूल-ठूला क्लाभिएर अर्थात् पियानोजस्ता किबोर्डहरूले हामीलाई स्वागत गर्छन्। पहिलो वाद्ययन्त्र क्यार- लानवादक अर्थात् प्रस्तोताले मात्र आफ्नो प्रस्तुति अभ्यास गर्न प्रयोग गर्न पाउँछ। अनि यस किबोर्डमा भएका हथौडाहरूले खालि धुन निकाल्ने बारमा हिर्काउँछ।
अभ्यास गर्दा प्रयोग गरिने यो किबोर्ड वास्तवमा क्यारलान क्लाभिएर हो र यसलाई अक्सर पृष्ठभूमिमा बजाइन्छ। तर यो कुनै साधारण किबोर्ड भने होइन। किनकि कटुसबाट बनिएका ती किहरूको व्यास लगभग दुइ सेन्टिमिटर हुन्छ। माथिल्लो लहरका किहरू पियानो वा अन्य वाद्ययन्त्रहरूमा हुने काला किजस्तै हुन्। ती करिबन नौ सेन्टिमिटर र तल्लो लहर (पियानोमा हुने सेता किहरूजस्तै) १७ सेन्टिमिटर बाहिर निस्केका हुन्छन्। पियानोवादक वा अन्य वाद्यवादकले जस्तै क्यारलानवादकले औंलाहरूले होइन तर मुठीहरूले उक्त बाजा बजाउँछ। त्यसैकारण बाजा बजाउँदा अरू किहरूलाई नछोओस् भनेर ती किहरू निकै टाढा-टाढा राखिएका हुन्छन्।
अत्यन्त भव्य यन्त्र
प्रमुख क्लाभिएरमाथिबाट निक्लेका तारहरू मास्तिर गएका हुन्छन् र आठ स्वरमध्ये हरेक साढे चारौं स्वरको कि एउटा स्टिलको तारसित जोडिएको हुन्छ। विशेष तरिकाले कसिएको उक्त तारलाई आवश्यकताअनुसार तन्काउन वा खुकुलो पार्न सकिन्छ। यी तारहरू मास्तिर कता होलान्, थाह पाउन लिफ्टमा चढेर अर्को तल्ला उक्लियौं। लौ, यहाँ त दुइटा बडेमाका घण्टाहरू पो राखिएका रहेछन्! शानसित झुण्ड्याइएका ती प्रत्येक घण्टाको तौल छ टन जति हुन्छ। ती घण्टाहरूबीच हेर्दा त त्यहाँ अन्य ५१ वटा घण्टाहरू पनि अलग अलग झुण्ड्याइएका रहेछन्। ठूलादेखि साना लहरै झुण्ड्याइएका ती घण्टाहरूमाथि अन्तमा सात किलोग्राम तौलको सबैभन्दा सानो घण्टी थियो।
कहिलेकाहीं कुनै कुनै घण्टाको बेसुर ध्वनिले बाधा नपुऱ्याओस् भन्ने हेतुले ती घण्टाहरू बडो कुशलतासाथ राखिएका छन्। प्रत्येक घण्टाभित्र नरम धातुको रालो हुन्छ र तलतिर क्लाभिएरको प्रत्येक किसँग जोडिएको स्टिलको तारले गर्दा उक्त रालो हल्लिएर ध्वनि निस्कन्छ। प्रत्येक क्यारलानवादकको चाल र तत्कालीन हावापानीअनुसार तारलाई तन्काइन्छ वा खुकुलो पारिन्छ।
केही रोचक तथ्यहरू
क्यान्बेराको क्यारलान घण्टाहरू जोन टेलरको धातु बनाउने कारखाना र कम्पनी अफ इंगल्याण्डको निर्देशनमा स्थापित गरिएका हुन्। र यस २०औं शताब्दीमा यी घण्टाहरू प्राचीन कलाका सर्वोत्कृष्ट उदाहरणहरूमध्ये एक हुन्। ती घण्टाहरूको धुन त्यस तालपारि ३०० मिटर र नजीकैको बगैंचा तथा उद्यानहरूसम्म पनि सुनिन्छ।
हुन त यो विश्वको सबैभन्दा ठूलो क्यारलान होइन। तर अधिकांश क्यारलानहरूमा २३ देखि ४८ वटासम्म मात्र घण्टाहरू हुने भएकोले यो ५३ वटा घण्टाहरू भएको क्यारलान ठूलै मानिन्छ। तथापि, सबैभन्दा ठूलो क्यारलान न्यु योर्क शहरमा छ। यसमा ७४ वटा घण्टाहरू छन्। विश्वको सबैभन्दा सुर मिलेको घण्टा पनि यसैमा छ। यो घण्टाको तौल १८ टनभन्दा बढी छ र तुलना गर्ने हो भने, यसको C सुर क्यान्बेराको क्यारलानको सुरिलो F सुरअघि मधुरो नै सुनिन्छ।
अब क्यारलानवादकले तयार पारेको सांगीतिक कार्यक्रमको आनन्द उठाऔं। उ, त्यहाँ तल बगैंचामा पो बस्ने हो कि? यहाँ बस्दा “गायन धरहराको” भव्य संगीत सुन्ने मात्र होइन वरपरको उदेकलाग्दो सृष्टिको पनि आनन्द उठाउन सकिन्छ। शान्त साँझको सरसराउँदो हावा र मनमोहक अग्ला घण्टाहरूको संयोजनबाट उत्पन्न अलौकिकजस्तै सुनिने संगीतको यो ईश्वरीय उपहार पाएर हाम्रो हृदय ओतप्रोत भएको छ।
[पृष्ठ २५-मा भएको चित्र]
धरहराका घण्टाहरू