प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ २/८ पृ. १०-१२
  • के मैले अरूलाई आफ्नो पाप बताउनुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के मैले अरूलाई आफ्नो पाप बताउनुपर्छ?
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘प्रकट हुन नसक्ने केही छैन’
  • गोप्य नराख्ने
  • आमाबाबुलाई बताउने
  • प्राचीनहरूसँग मदत माग्ने
  • ‘बहिष्कार होला भन्‍ने डर लाग्छ’
  • सधैं यहोवाको अनुशासन स्वीकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • तपाईँले गम्भीर पाप गर्दा के गर्नुपर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • दोषी भावना—“मेरो पाप मेटेर मलाई शुद्ध पार्नुहोस्‌”
    यहोवाकहाँ फर्कनुहोस्‌
  • आमाबाबुले मेरो कुरा किन बुझ्नुहुन्‍न?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ २/८ पृ. १०-१२

युवा जनहरू सोध्छन्‌ . . 

के मैले अरूलाई आफ्नो पाप बताउनुपर्छ?

“मलाई एकदमै आत्मग्लानी भएको छ। के गर्नुपर्ने हो मलाई थाह छैन। आमाबाबुलाई बताउन चाहन्छु तर आफूलाई साह्रै दोषी ठान्छु।”—दीपा।a

उपरोक्‍त कुरा एक चिन्तित जवान स्त्रीले लेखेकी हुन्‌। एक जना भिन्‍नै धर्म मान्‍ने व्यक्‍तिसित चिनजान बढ्‌दै जाँदा तिनी माया गाँस्न पुगिन्‌। रक्सीले लट्ठिएको बेला तिनले त्यस व्यक्‍तिसित यौन सम्बन्ध राखिन्‌।

दुःखलाग्दो कुरा, यस्तो घटना मसीही युवाहरूबीच पनि समय समयमा भइरहन्छ। हामी परिपक्व र अनुभवी छैनौं। त्यसैले शायद बढी गल्ती गर्छौं। तर सानोतिनो गल्ती गर्नु एउटा कुरा हो अनि यौन अनैतिकताजस्ता गम्भीर गल्तीहरू गर्नु अर्कै कुरा हो। (१ कोरिन्थी ६:९, १०) कुनै जवान त्यस्तो कुरामा फस्दा तिनलाई मदतको खाँचो पर्छ। तर अप्ठ्यारो कुरा त के हो भने, अरूलाई आफ्नो भूल बताउनु सजिलो चाहिं हुँदैन।

एक मसीही केटीले विवाह नगरी यौन सम्बन्ध राखिन्‌। तिनले मण्डलीका प्राचीनहरूलाई त्यो पाप बताउने संकल्प गरिन्‌। यसको लागि तिनले दिन पनि तोकिन्‌। तर तिनले त्यो पछि सारिन्‌। त्यसपछि, अझ सारिन्‌। त्यो वर्ष त्यत्तिकै बित्यो!

‘प्रकट हुन नसक्ने केही छैन’

गम्भीर पाप गर्दा त्यसलाई लुकाउनु गलत विचार हो भनेर बुझ्नु आवश्‍यक छ। कुरा के भने, सत्य कुरा कहिल्यै लुक्दैन। मार्कले बाल्यकालमा माटोको सजाउने चीज फुटाए। तिनी त्यस घटना सम्झँदै भन्छन्‌, “मैले जतनसाथ त्यसलाई जोडजाड गरेर जस्ताको त्यस्तै बनाउन खोजें। तर आमाबाबुले चर्केको देखिहाल्नुभयो।” हो, तपाईं अब बच्चा हुनुहुन्‍न। साधारणतया, अधिकांश आमाबाबुले आफ्ना छोराछोरीको जुनसुकै गल्ती पनि थाह पाइहाल्छन्‌।

पन्ध्र वर्षीय आन्‌ यसरी स्वीकार्छिन्‌, “मैले ढाँटेर आफ्ना समस्याहरू लुकाउने गर्थें। तर, समस्या झन्‌ बिग्रियो।” झूटो कुरा प्रायजसो पर्दाफास हुन्छ। तपाईंले आमाबाबुलाई झूट बोल्नुभएको कुरा तिनीहरूले थाह पाएमा शायद साह्रै दुःखित हुनेछन्‌ जतिको दुःखी तपाईंले आफ्नो गल्ती स्वीकार्दा तिनीहरू हुँदैनन्‌।

अझ मुख्य कुरा त, बाइबल यसो भन्छ: “प्रकट हुन नसक्ने गरी दबेको र प्रकाशमा नआउनेगरी गुप्तमा रहेको केही छैन।” (लूका ८:१७) हामीले के गरेका छौं र के गरिरहेका छौं, यहोवालाई सबै थाह छ। तपाईंले पनि आदमले जस्तै कुनै कुरा उहाँबाट लुकाउन सक्नुहुन्‍न। (उत्पत्ति ३:८-११) समय बित्दै जाँदा तपाईंका पापहरू अरूसमक्ष पर्दाफास हुन पनि सक्लान्‌।—१ तिमोथी ५:२४.

पाप लुकाउँदा अर्को तरिकामा पनि तपाईंलाई हानि हुनसक्छ। भजनरचयिता दाऊदले यसरी लेखे: “जब म चूप लागें, तब मेरा हड्डीहरू दिनभरिको मेरो कङ्‌कला शब्दले गर्दा मक्किए। किनकि दिन-रात तपाईंको बाहुलीको भार ममाथि रह्‍यो। मेरो शरीरको पानी ता ग्रीष्मको खड़ेरीमा परिवर्त्तन भयो।” (भजन ३२:३, ४) हो, पाप गोप्य राख्न खोज्दा अति गम्भीर भावनात्मक तनाउ हुन्छ। फिक्री र दोषी महसुस हुनुका साथै पाप पर्दाफास होला भन्‍ने डरले गर्दा तपाईंको हृदय उकुसमुकुस हुनसक्छ। तपाईं साथीसँगी र परिवारबाट टाढा हुन पनि बेर छैन। तपाईंलाई परमेश्‍वरले त्याग्नुभयो भन्‍ने सोचाइ पनि मनमा आउला! एन्ड्रु नाउँ गरेका एक जवानले लेखे, “यहोवालाई दुःखित बनाएकोमा आफूलाई दोषी ठानिरहेको छु। यसले गर्दा म भित्रभित्रै जलिरहेको छु।”

गोप्य नराख्ने

भावनात्मक पीडाबाट आराम पाउने कुनै तरिका छ? छ! भजनरचयिताले भने: “मैले आफ्नो पाप तपाईंमा प्रकट गरें, र मेरो अधर्म मैले लुकाएको छैनँ। . . . र तपाईंले मेरो पापको अधर्म क्षमा गर्नुभयो।” (भजन ३२:५; १ यूहन्‍ना १:९ तुलना गर्नुहोस्‌।) एन्ड्रुले पनि त्यसरी नै आफ्नो पाप अरूलाई बताएर साँच्चै आराम पाए। तिनी यसरी सम्झन्छन्‌: “मैले परमेश्‍वरलाई पुकारें र क्षमाको भीख मागें।”

तपाईं पनि त्यसै गर्न सक्नुहुन्छ। यहोवालाई प्रार्थना गर्नुहोस्‌। तपाईंले गर्नुभएको कुरा उहाँलाई थाह छ। त्यो कुरा नम्रतापूर्वक प्रार्थनामा स्वीकार्नुहोस्‌। क्षमा माग्दा आफूलाई मदत पाउन अयोग्य अति दुष्ट नठान्‍नुहोस्‌। येशू हाम्रोनिम्ति मर्नुभयो। त्यसैले असिद्ध भए तापनि हामी परमेश्‍वरसामु असल व्यक्‍ति हुनसक्छौं। (१ यूहन्‍ना २:१, २) आवश्‍यक परिवर्तनहरू गर्न तपाईं शक्‍ति माग्न सक्नुहुन्छ। भजन अध्याय ५१ पढ्‌नुहुँदा विशेषगरि यस्तै प्रकारले परमेश्‍वरको पुकारा गर्न मदत पाउन सक्नुहुन्छ।

आमाबाबुलाई बताउने

तथापि, परमेश्‍वरसामु मात्र पाप स्वीकारेर पुग्दैन। तपाईंले आमाबाबुलाई पनि आफ्नो पाप बताउनुपर्छ। तपाईंलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्न परमेश्‍वरले तिनीहरूलाई आज्ञा दिनुभएको छ। (एफिसी ६:४) तपाईंका समस्याहरू थाह पाएमा मात्र तिनीहरूले त्यसो गर्नसक्छन्‌। तर, आमाबाबुलाई बताउनु सजिलो वा रमाइलो नहोला। पहिला तिनीहरूले जस्तोसुकै प्रतिक्रिया देखाए तापनि सम्भवतः त्यसपछि चित्त बुझाउनेछन्‌। तपाईंले आफ्ना समस्याहरू बताउन तिनीहरूमाथि भरोसा गर्नुभयो भनेर तिनीहरू खुशीसमेत हुनसक्छन्‌। येशूले भन्‍नुभएको उडन्ता पुत्रको उखानमा यौन अनैतिकतामा फस्ने जवान मानिसबारे बताइएको छ। तर अन्ततः तिनले आफ्नो पाप खुलस्त बताउँदा पिताले तिनलाई खुल्ला हृदयले स्वीकारे! (लूका १५:११-२४) निस्सन्देह, तपाईंका आमाबाबुले पनि त्यसरी नै तपाईंलाई मदत गर्नेछन्‌। जे नै भए पनि आमाबाबुले तपाईंलाई माया गर्नुहुन्छ।

हो, आमाबाबुको चित्त दुख्ला कि भनी तपाईंलाई डर लाग्ला। तर पाप बताउँदा होइन तर पाप गर्दा तपाईंका आमाबाबुको चित्त दुख्छ! चोट कम गर्ने पहिलो कदम पाप बताउनु हो। अघि उल्लेख गरिएको आन्‌ले आमाबाबुलाई आफ्नो समस्या बताइन्‌ र मनको बोझ हलुंगो भयो।b

पाप स्वीकार्न नसक्नुको अर्को कारण लाज र अप्ठ्यारोपन हो। विश्‍वासी प्रतिलिपिक एज्राले पाप गरेका थिएनन्‌ तर सँगी यहूदीहरूको पाप बताउँदा तिनले यसो भने: “मेरो अनुहार तपाईंतिर उठाउन पनि म लजाउँछु। मेरा परमेश्‍वर।” (एज्रा ९:६) वास्तवमा, तपाईंले कुनै गल्ती गर्नुहुँदा आत्मग्लानी हुनु उचित हो। तपाईंको अन्तस्करणले अझै काम गर्दैछ भनेर यसले देखाउँछ। अनि समय बित्दै जाँदा ती दोषी भावना कम हुँदै जानेछ। एन्ड्रुले यसरी बताए: “पाप बताउनु एकदमै कठिन र अप्ठ्यारो हुन्छ। तर यहोवाले प्रशस्त गरी क्षमा गर्नुहुनेछ भनेर थाह पाउँदा ढुक्क लाग्छ।”

प्राचीनहरूसँग मदत माग्ने

तपाईं मसीही हुनुहुन्छ भने, आमाबाबुलाई मात्र बताएर पुग्दैन। एन्ड्रु भन्छन्‌: “मण्डलीका प्राचीनहरूलाई आफ्नो समस्या बताउनुपर्छ भनेर मैले थाह पाएँ। तिनीहरू हाम्रो मदत गर्न तत्पर छन्‌ भनेर थाह पाउँदा कस्तो ढुक्क लाग्यो!” हो, यहोवाका जवान साक्षीहरू मदत र प्रोत्साहनको लागि मण्डलीका प्राचीनहरूकहाँ जानसक्छन्‌ र जानुपर्छ नै। तर परमेश्‍वरलाई प्रार्थना गरेर मात्र किन पुग्दैन त? किनभने यहोवाले प्राचीनहरूलाई तपाईंहरूको “प्राणको हेरचाह” गर्ने जिम्मेवारी सुम्पनुभएको छ। (हिब्रू १३:१७) तिनीहरूले तपाईंलाई पुनः पापमा फस्नबाट जोगिन मदत दिनसक्छन्‌।—याकूब ५:१४-१६ तुलना गर्नुहोस्‌।

आफै सुध्रिन सकिहाल्छु भन्‍ने सोचाइ राखेर आफूलाई धोका नदिनुहोस्‌। साँच्चै तपाईंले त्यसो गर्न सक्नेभए पापमा फस्नुहुने नै थिएन, होइन त? कुरा स्पष्ट छ, तपाईंलाई कसैको मदत चाहिन्छ। एन्ड्रुले साहस बटुलेर त्यसै गरे। तिनी कस्तो सल्लाह दिन्छन्‌? “गम्भीर पापमा फस्ने र फसेका कुनै पनि व्यक्‍तिलाई म यहोवा र मण्डलीका गोठालाहरूसामु खुलस्तसित आफ्नो समस्या बताउने प्रोत्साहन दिन चाहन्छु।”

तर प्राचीनलाई बताउने पो कसरी? तपाईंलाई कुरा गर्न अप्ठ्यारो नलाग्ने प्राचीनकहाँ जानुहोस्‌। यसरी कुरा थाल्न सक्नुहुन्छ: “म एउटा कुरा गर्न चाहन्छु” वा “मलाई एउटा समस्या आइपऱ्‍यो” वा “म एउटा समस्यामा फसेको हुनाले तपाईंको मदत चाहन्छु।” तपाईंले इमानदारीसाथ खुलस्त बताउँदा तपाईंको साँचो पश्‍चात्ताप र परिवर्तन हुने इच्छा प्रदर्शन हुन्छ।

‘बहिष्कार होला भन्‍ने डर लाग्छ’

बहिष्कार हुने सम्भाव्यताबारे के भन्‍न सकिन्छ? हो, गम्भीर पाप गर्दा कुनै व्यक्‍ति बहिष्कार हुनसक्छ तर बित्थैमा चाहिं हुँदैन। पश्‍चात्ताप नगर्ने अर्थात्‌ अट्टेर गरेर परिवर्तन हुन नचाहने व्यक्‍तिलाई बहिष्कार गरिन्छ। हितोपदेश २८:१३ ले भन्छ: “तिम्रा दोषहरू लुकायौ भने तिम्रो उन्‍नति हुँदैन, तर स्वीकार गरेर ती छोड़यौ भने तिमीले कृपादृष्टि पाउनेछौ।” कुरा के हो भने, प्राचीनसित मदत माग्नु नै तपाईं परिवर्तन हुन चाहनुभएको प्रमाण हो। प्राचीनहरू सास्ती दिनेहरू होइनन्‌ तर सान्त्वना दिनेहरू हुन्‌। परमेश्‍वरका मानिसहरूलाई दयालु र आदरसाथ व्यवहार गर्न तिनीहरू बाध्य छन्‌। तिनीहरूले “खुट्टाहरूको निम्ति सीधा मार्ग” बनाउन तपाईंलाई मदत दिन चाहन्छन्‌।—हिब्रू १२:१३.

हो, छलकपट वा गम्भीर गल्तीहरू गरिरहँदा “पश्‍चात्ताप योग्य काम” नहोला। (प्रेरित २६:२०) परिणामस्वरूप, कहिलेकाहीं बहिष्कार गर्नैपर्ने हुन्छ। अनि बिराम गर्नेले पश्‍चात्ताप गरे पनि प्राचीनहरूले तिनलाई केही प्रकारको अनुशासन दिनुपर्ने हुन्छ। तिनीहरूले त्यसो गरेमा के तपाईं रिसाउनुहुन्छ वा खिन्‍न हुनुहुन्छ? पावल हिब्रू १२:५, ६ मा यसरी आग्रह गर्छन्‌: “हे मेरो पुत्र, प्रभुको अनुशासनलाई हलका नसम्झ, नता उहाँबाटको हप्कीमा हरेस खाऊ।” जस्तोसुकै अनुशासन पाउनुभए तापनि त्यसलाई परमेश्‍वरबाट प्राप्त प्रेमको प्रमाण ठान्‍नुहोस्‌। स्मरण रहोस्‌, साँचो पश्‍चात्तापले हामीलाई हाम्रा कृपालु पिता यहोवा परमेश्‍वरसित पुनः उचित सम्बन्ध गाँस्न मदत दिनेछ।

आफ्ना भूलहरू स्वीकार्न साहस चाहिन्छ। तर तपाईंले त्यसो गर्नुभएर आमाबाबुसित मात्र होइन तर यहोवा परमेश्‍वरसामु पनि आफ्ना गल्तीहरू सच्याउन सक्नुहुन्छ। मदत माग्न नडराउनुहोस्‌, घमण्ड नगर्नुहोस्‌ वा अप्ठ्यारो नमान्‍नुहोस्‌। नबिर्सनुहोस्‌: यहोवाले “प्रशस्त गरी क्षमा” गर्नुहुनेछ।—यशैया ५५:७.

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b आमाबाबुलाई बताउनेबारे जानकारीको लागि वाचटावर बाइबल एन्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित युवा जनहरूले सोध्ने प्रश्‍न—त्यसका उपयोगी जवाफहरू (अंग्रेजी) पुस्तकको अध्याय २ हेर्नुहोस्‌।

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]

आमाबाबुलाई गल्ती बताउँदा आध्यात्मिक सुधार हुन्छ

[पृष्ठ १२-मा भएको चित्र]

‘पापमा फस्नेहरूलाई म यहोवासामु खुलस्तसित आफ्नो समस्या बताउन प्रोत्साहन दिन्छु।’—एन्ड्रु

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने