बाइबलको दृष्टिकोण
के मसीहीहरूलाई शान्तिवादी भन्न मिल्छ?
“वर्तमान चर्च प्रथम शताब्दीका मसीही चर्चहरूजस्तै शान्तिवादी हुनुपरेको छ।” —ह्युर्बट बटलर, आइरिस लेखक।
दोस्रो विश्वयुद्धपश्चात् युगोस्लाभियाको भ्रमणपछि ह्युर्बट बटलरले सन् १९४७ मा लिखित निबन्धमा माथि उल्लिखित शब्दहरू निडरतापूर्वक लेखे तर सो निबन्ध गत वर्षको अन्ततिर मात्र प्रकाशित भयो! “युद्धको दौडान भएका जघन्य अपराधहरूप्रति मसीही चर्चले आँखा चिम्लेको र ख्रीष्टको शिक्षादेखि तर्केको देखेर” बटलर स्तब्ध भएका थिए।
बटलर मानव हित नहुने आन्दोलन वा समूहहरूको विरुद्ध बोल्न डराउँदैन थिए। प्रायः कसैले पनि तिनलाई समर्थन गर्दैनथे तर तिनी जरुर बोल्थे। चर्चको आचरण र यहोवाका साक्षीहरूको दृढ अडानबीच तुलना गर्दा पनि तिनले निडरतापूर्वक आफ्नो विचार व्यक्त गरे। द आइरिस टाइम्स-मा यहोवाका साक्षीहरूको वर्णन यसरी गरिएको थियो: “सबै धार्मिक समूहहरूमध्ये तटस्थ, सबैभन्दा निर्दोष र निष्खोट समूह।” “युगोस्लाभियाबारे रिपोर्ट” (अंग्रेजी) नामक आफ्नो निबन्धमा “युद्धको औचित्यबारे राजनैतिक तथा धार्मिक नेताहरूले दिने छलीपूर्ण तर्कहरू इन्कार गर्ने” साक्षीहरूलाई युगोस्लाभियाका अधिकारीहरूले पुर्पक्ष गरे भनी बटलरले लेखे।
तथापि, यहोवाका साक्षीहरूलाई शान्तिवादीहरू भन्नु के धर्मशास्त्रअनुसार सही हो त? यस कुरालाई स्पष्ट पार्न “शान्तिवादीको” अर्थमा भर पर्नसक्छ। बटलरले त्यस पदावली सास्ती भोगेर पनि युद्धको लागि हातहतियार उठाउन इन्कार गर्ने बहादुर साक्षीहरूको प्रशंसा गर्न चलाए। तर दुःखको कुरा, युद्धको लहरमा लागेका थुप्रै मानिसहरूको नजरमा शान्तिवादीहरू “राष्ट्रप्रति आफ्नो दायित्व बहन नगर्ने डरछेरुवा वा देशद्रोहीहरू हुन्।” के त्यस्तो विचारधारा राख्नु सही हो?
युद्ध वा हिंसाको विरोध
वेब्सटर्स नाइन्थ न्यु कलेजियट डिक्सनरी-अनुसार अंग्रेजी शब्द प्यासिफिष्ट अर्थात् शान्तिवादी त्यस्तो मानिस हो जसले “झै-झगडा र अझ विशेषगरि युद्धको दृढतापूर्वक वा सक्रियतासाथ विरोध गर्छ।” “प्यासिफिजम” अर्थात् “शान्तिवाद”-को परिभाषा चाहिं “आपसका झै-झगडालाई युद्ध वा हिंसा नगरी शान्तपूर्वक नै समाधान गर्ने; विशेषगरि नैतिक वा धार्मिक विश्वासको आधारमा हतियार उठाउन इन्कार गर्ने।” यी परिभाषाहरू प्राचीन मसीही मण्डलीका विश्वासीहरूमा कसरी लागू हुन्छ त?
तिनीहरूले ‘नैतिक वा धार्मिक विश्वासको आधारमा हतियार उठाउन इन्कार’ गर्नुका साथै सबै ‘झै-झगडा तथा युद्धबाट’ अलग बसे। किन? किनभने तिनीहरूलाई येशूले आफ्नो अनुयायीहरू ‘यस संसारका होइनन्’ र “तरवार लिनेहरू सबै जना तरवारैबाट नष्ट हुनेछन्” भन्नुभएको थाह थियो। (यूहन्ना १५:१९; मत्ती २६:५२) प्रारम्भिक चर्च र संसारमा (अंग्रेजी) एक इतिहासकार यसो लेख्छन्: “मार्कस अरिलियसले शासन गर्नुअघिसम्म [सा.यु. १६१-१८०] मसीहीहरू बप्तिस्मा लिएपछि कुनै हालतमा पनि सैनिक बन्दैनथे।” पुरानो संसारमा नयाँ संसारको जग (अंग्रेजी) नामक पुस्तकमा अर्को एक इतिहासकार यसो भन्छन्: “प्रथम शताब्दीका मसीहीहरूलाई लडाइँमा भाग लिनु हुन्न जस्तो लाग्थ्यो र साम्राज्यको पक्षमा लड्न सेनाहरू चाहिए तापनि सैन्य सेवामा भाग लिंदैनन् थिए।”
मसीहीहरूको काम सुसमाचार प्रचार गर्नु हो। (मत्ती २४:१४; २८:१९, २०) तिनीहरूले परमेश्वरको न्याय कार्यान्वयनकर्ताको हैसियतमा उहाँका शत्रुहरू विरुद्ध लड्नुपर्नेछैन भनी तिनीहरूले बुझेका थिए। (मत्ती ५:९; रोमी १२:१७-२१) बटलरले बताएझैं मसीही भनौंदाहरू ‘ख्रीष्टको शिक्षादेखि तर्केको’ खण्डमा मात्रै राष्ट्रका युद्धहरूमा पूर्णतया मुछिन्छन्। अनि युद्ध गर्ने दुवै पक्षका पादरीहरूले आ-आफ्ना सेनाहरूलाई आशिष् दिन्छन् र विजय पाउन प्रार्थना गर्छन्। (यूहन्ना १७:१६; १८:३६ तुलना गर्नुहोस्।) उदाहरणका लागि, मध्य युगमा प्रोटेस्टेन्ट र क्याथोलिकहरूले थुप्रै रक्तपातपूर्ण युद्धहरू लडे, फलस्वरूप “पश्चिमी युरोपमा भयंकर घटनाहरू भए र दुवै पक्षले परमेश्वरको क्रोध पोखाउन यी सबै गरेको दाबी गरे” भनी सभ्यता (अंग्रेजी) नामक पुस्तकमा केनेथ क्लार्कले लेखे। यस्ता युद्धको औचित्यता देखाउन गरिएका तर्कहरूबारे म्याकक्लिन्टक र स्ट्रंगको साइक्लोपीडिया अफ बिब्लिकल, थियोलजिकल, एण्ड एक्लिजियास्टिकल लिट्रेचर-ले यसो भन्छ, “सरकारी अधिकृतहरूलाई खुशी पार्ने इच्छाले यस्ता तर्कहरू दिन्छन् तर यी सबै स्पष्टतया पुरातन मसीही धर्मसिद्धान्त तथा सुसमाचारको पुस्तकको सारसित मेल खाँदैन।”—याकूब ४:४.
के मसीहीहरू युद्धको पूर्णतया विरोध गर्छन् त?
तर, ‘पुरातन मसीही धर्मसिद्धान्त तथा सुसमाचारको पुस्तकले’ के शान्तिवादीको भाव झल्काउँछ? सुरुमा दिएको परिभाषाको आधारमा के पुरातन मसीहीहरूलाई शान्तिवादीहरू भन्न मिल्छ? कदापि मिल्दैन! किन मिल्दैन? एउटा कारण त के हो भने, युद्ध गर्ने परमेश्वरको अधिकारलाई तिनीहरूले स्वीकारे। (प्रस्थान १४:१३, १४; १५:१-४; यहोशू १०:१४; यशैया ३०:३०-३२) यसबाहेक, इस्राएल राष्ट्र यस पृथ्वीमा परमेश्वरको एक मात्र माध्यम हुँदा उहाँको युद्ध गर्ने अधिकारमाथि तिनीहरूले कहिल्यै सोर उठाएनन्।—भजन १४४:१; प्रेरित ७:४५; हिब्रू ११:३२-३४.
परमेश्वरको अधिकारको कुरा मात्र होइन तर यस पृथ्वीबाट दुष्टता हटाउनु उहाँको दायित्व हो। परमेश्वरले धैर्यतापूर्वक जति नै आफ्नो मार्ग सच्याउन आग्रह गर्नुभए तापनि दुष्ट काम गर्ने थुप्रैले सुन्ने छैनन्। (यशैया ४५:२२; मत्ती ७:१३, १४) परमेश्वरले सधैंभरि दुष्टता सहनु हुनेछैन। (यशैया ६१:२; प्रेरित १७:३०) अतः, अन्तमा परमेश्वरले दुष्ट मानिसहरूलाई पृथ्वीबाट जबरजस्ती हटाउनुहुनेछ भनी मसीहीहरूले बुझेका छन्। (२ पत्रुस ३:९, १०) बाइबलले भविष्यवाणी गरेझैं “परमेश्वरलाई नचिन्नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई बदला दिंदा, यिनीहरूले प्रभुको मुखबाट र उहाँको शक्तिको तेजबाट अनन्त विनाशको सजाय भोग्नेछन्।”—२ थिस्सलोनिकी १:६-९.
बाइबलको अन्तिम पुस्तकमा यस लडाइँलाई “सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लड़ाइँ” अर्थात् आरमागेडोन भनी वर्णन गरिएको छ। (प्रकाश १६:१४, १६) त्यसमा बताइएअनुसार “धार्मिकतामा . . . लड़ाइँ” गर्न येशू ख्रीष्टले नेतृत्व लिनुहुनेछ। (प्रकाश १९:११, १४, १५) येशू ख्रीष्टलाई “शान्तिका राजकुमार” भन्नु उपयुक्त छ। (यशैया ९:६) तर उहाँ शान्तिवादी चाहिं हुनुहुन्न। किनभने उहाँले परमेश्वरका विद्रोही शत्रुहरूलाई स्वर्गबाट निकाल्न एउटा युद्ध त लडिसक्नुभएको छ। (प्रकाश १२:७-९) चाँडै उहाँले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट गर्नालाई” अर्को युद्ध लड्दै हुनुहुन्छ। तर, यस पृथ्वीमा भएका उहाँका अनुयायीहरू यस ईश्वरीय न्यायमा सहभागी हुनेछैनन्।—प्रकाश ११:१७, १८.
साँचो मसीहीहरू शान्ति मन पराउँछन्। तिनीहरू संसारको सैनिक, राजनैतिक र जातीय झै-झगडामा पूर्णतया तटस्थ रहन्छन्। तर, साँच्चै भन्ने हो भने, तिनीहरू शान्तिवादीहरू होइनन्। किन? किनभने परमेश्वरको युद्धद्वारा मात्रै अन्ततः यस पृथ्वीमा परमेश्वरको इच्छा पूरा हुनेछ भनी मसीहीहरू विश्वास गर्छन् र यसको समर्थन गर्छन्। त्यस युद्धले संसारको सार्वभौमिकतासम्बन्धी त्यस ठूलो विवादलाई टुंग्याइदिनेछ र सधैंको लागि शान्तिका शत्रुहरूलाई हटाउनेछ।—यर्मिया २५:३१-३३; दानियल २:४४; मत्ती ६:९, १०.