विश्वदर्शन
विवाह गर्नेहरूको संख्या घट्दैछ
“औपचारिक विवाह नै लोप हुँदै गइरहेको छ,” भनी क्यानाडाको तथ्यांक विभागका जनसांख्यिकी प्रमुख झाँ डुमास भन्छन्। द टरोन्टो स्टार-अनुसार क्यानाडामा र अझ विशेषगरि क्युबेकमा विवाह गर्नेहरूको संख्या घटिरहेको छ। त्यस रिपोर्टले के भन्छ भने, कोही कोही चाहिं आफ्नै आमाबाबुको विवाहको हालत देखेर अनन्त बन्धनमा बाँधिन तयार छैनन्। पच्चीस वर्षको दौडान जम्मा गरेको तथ्यांकले १९६९ मा विवाह गरेका दम्पतीहरूमध्ये १९९३ सम्म ३० प्रतिशत छुट्टिसकेको देखियो। नव विवाहित दम्पतीहरूले पनि पारपाचुके गरिरहेको त्यस तथ्यांकले देखायो। क्यानाडामा १९९३ मा भएका पारपाचुकेहरूमा एक तिहाइ दम्पतीहरू पाँच वर्ष पनि सँगै नबसेको पाइयो र यो १९८० भन्दा एक चौथाइ बढी हो। ग्वेल्प विश्वविद्यालय, ओन्टारियोमा विवाह तथा परिवार उपचार केन्द्रका निर्देशक मार्शल फिन यस्तो टिप्पणी गर्छन्: “युवाहरूको भविष्य त्यति उज्ज्वल देखिंदैन।”
भोजनले क्यान्सरको खतरा घटाउँछ
द वल स्ट्रीट जर्नल-को एक रिपोर्टअनुसार प्रतिदिन कम्तीमा पनि पाँच चोटि फलफूल तथा तरकारीहरू खाएमा फोक्सो, ठूलो आन्द्रा, पेट तथा अन्य प्रकारका अर्बुद रोग लाग्ने सम्भावना कम हुन्छ। फाइदालाई विचार गर्दै सत्रवटा विभिन्न देशका लगभग २०० जना मानिसहरूमा अध्ययन गरेपछि निकालेको यो “प्रभावशाली तथ्य” हो। खाने भन्दैमा एक डुंगुरै खानुपर्छ भन्ने छैन। कति खानुपर्छ भन्ने विषयमा सं.रा. राष्ट्रिय क्यान्सर संस्थाको कार्यक्रमले यसो भन्छ: “एउटा ठिक्कको फल, तीन चौथाइ कप सर्बत, पकाएको तरकारी डेढ कप, एक कप ताजा सलाद, एक चौथाइ किसमिसहरू।” त्यस संस्थाले पाँच वर्षदेखि यसरी खान प्रोत्साहन दिएको छ तर हाल संयुक्त राज्यमा तीन वयस्कमध्ये एक जना र पाँच बच्चाहरूमध्ये एकले मात्र यो निर्देशन पछ्याइरहेको छ। तयारी खानाहरूको चाहनाले यस कार्यक्रमलाई सफल बनाउन सकिरहेको छैन। द वल स्ट्रीट जर्नल यसो भन्छ: “तर फ्रेञ्च फ्राइ केचअपसित दुइ चोटि खाएर चाहिं मिल्दैन।”
निद्रा नपुगेका किशोरकिशोरीहरू
अस्ट्रेलिया र संयुक्त राज्यमा निद्राको गडबडीबारे अध्ययन गर्ने विशेषज्ञहरूअनुसार किशोरहरूलाई बढी निद्रा लाग्नु टिभी, विद्रोह वा अल्छीपना मात्र नभई अन्य कारणले पनि हुनसक्छ, भनी एसियावीक पत्रिकाले रिपोर्ट दिन्छ। अस्ट्रेलियाका निद्रासम्बन्धी विशेषज्ञ डा. क्रिस सेटनले किशोरकिशोरीहरूको हर्मोनमा हुने परिवर्तन र चाँडचाँडो हुर्कनाले बढी निद्रा चाहिने हुनसक्छ भन्छन्। नौ वर्ष पुगेपछि तिनीहरूलाई बढी सुत्नुपर्ने हुनसक्छ। तथापि, सं.रा.-मा १७ देखि १९ वर्षका ३,००० विद्यार्थीलाई गरिएको सर्वेक्षणमा ८५ प्रतिशतले पर्याप्त निद्रा नपाएको देखियो। फलतः, द न्यु योर्क टाइम्स-ले रिपोर्ट गरेझैं विशेषगरि बिहानको कक्षामा विद्यार्थीहरूलाई झुपुझुपु निद्रा लागिरहेको हुन्छ। कर्नेल विश्वविद्यालयका प्राध्यापक जेम्स बि. मास यसो भन्छन्, “यी बच्चाहरूलाई यति निद्रा पुगेको हुँदैन कि तिनीहरू सबै मानौं केही औषधी खाएर लट्ठेकाहरूजस्तै हुन्छन्।” विशेषज्ञहरूअनुसार किशोरहरूलाई कम्तीमा पनि साढे आठ घण्टा सुत्नुपर्छ।
जनसंख्या यथावत्?
भियनास्थित इन्टरनेशनल इन्सटिच्युट फर अप्लाइड सीस्टम्स एनलाइसिसअनुसार (आइ आइ ए एस ए), वर्तमान विश्व जनसंख्या बढेर दोब्बर होला जस्तो देखिंदैन। तिनीहरूको अनुमानअनुसार “हालको जनसंख्या ५.७५ अरबबाट बढेर सन् २०५० सम्म १० अरब पुग्नेछ, सन् २०७५ सम्म ११ अरबको शिखर पुग्नेछ अनि त्यसपछि यथावत् नै रहनेछ र सन् २१०० तिर अलि घट्नसक्छ,” भनी न्यु साइन्टिस्ट भन्छ। आइ आइ ए एस ए अनुसार हाम्रो वर्तमान जनसंख्या दोब्बर नहुने सम्भावना ६४ प्रतिशत छ। तिनीहरूको तथ्यांकअनुसार १९९५ मा संसारभरि नै जन्मदरमा ह्रास आएको देखिन्छ।
ब्याट्री नचाहिने रेडियो
अफ्रिकाको अधिकांश दुर्गम क्षेत्रहरूमा विद्युत्को अभावका साथै ब्याट्री पनि भनेको बेला नपाउने भएको हुँदा दक्षिण अफ्रिका, केप टाउनसँगै एउटा सानो कारखानाले हातैले चलाउन मिल्ने जेनरेटर जडान गरेर रेडियो उत्पादन गर्न थालेको छ। द न्यु योर्क टाइम्स यसो भन्छ, “ह्यान्डललाई दुइ चोटि फनफनी घुमाएपछि त यो रेडियो आधा घण्टासम्म चल्छ।” यसको आकार टिफिन बट्टा जत्रो र वजन तीन किलोग्राम मात्र भए तापनि यो नयाँ मोडेलले सफलता पाउने छाँटकाँट छ। यो रेडियो दिनमा पाँचदेखि दश घण्टासम्म बजायो भने तीन वर्षभित्र यसले ५०० देखि १,००० अमेरिकी डलर बचाउँछ भनी त्यस कारखानाका व्यापार प्रबन्धक सियांगो मालुमा भन्छन्। साइकल र मोटरसाइकल सँगसँगै “रेडियो पनि अफ्रिकामा मानमर्यादा देखाउने तीन ठूलो कुराहरूमध्ये एउटा हो,” भनी मालुमा भन्छन्। तिनी अझ यसो भन्छन्, “यसबारे तपाईं निर्धक्क हुन सक्नुहुन्छ।” एउटा रेडियो भएको आधारमा “तपाईंले पत्नी पाउन सक्नुहुन्छ।”
प्राणघातक वर्षा
प्रायजसो स्कान्डेनेभियाली हरिणहरूको मृत्युको कारण अप्रत्यक्ष ढंगमा अम्ल वर्षा हो भनी स्वीडेनका वैज्ञानिक डा. आड्रियान फ्रान्क भन्छन्। यस प्रदूषित वर्षाका असरहरू न्यून गर्न खेत तथा तालहरूमा चून छर्कने गरिएको छ। तथापि, यस्तो चून छर्किएको माटोमा हुर्केको बिरुवाहरूमा केही तत्त्वहरू र विशेषगरि मलिबडेनमको परिणाम धेरै पाइयो। हरिणको शरीरमा मलिबडेनमको परिणाम बढी भएमा जनावरको रोग प्रतिरोध क्षमतामा नराम्रो असर पर्छ। अम्ल वर्षाको कारण स्वीडेनका ४,००० तालहरू माछाको लागि अयोग्य साबित भएको छ र नर्वेमा ट्राउट जातको माछाको संख्या आधा नै भइसक्यो। लण्डनको द सन्डे टेलिग्राफ-अनुसार बेलाइत सरकारले प्रदूषणलाई कम गर्न यसको विद्युत् उत्पादन केन्द्रहरूमा सलफरको कटौती गरे तापनि अम्ल वर्षाका प्रभावहरू निकै वर्षसम्म रहिरहनसक्छ।
अफ्रिकी हात्तीहरूलाई तालिम दिने
एसियाका हात्तीहरूलाई शताब्दीयौंदेखि काममा जोताएका छन्। तर, तिनीहरूको बडेमाका अफ्रिकी नातेदारहरू चाहिं तालिमै गर्न नसकिने असाध्यै जंगली भन्ठानिएको थियो। तर एउटा परीक्षण भने सफल भएजस्तो देखिन्छ। जिम्बावेको इमिरे वन्यजन्तु निकुञ्जमा ती अफ्रिकी हात्तीहरूलाई खेत खन्न र वनरक्षकहरू पुग्न गाह्रो ठाउँमा ओसारपसार गर्न चलाइएको छ। यस तालिम दिने तरिकालाई “प्रेम र इनाम” भनिन्छ। न्याशा नाउँ गरेको हात्तीले मुचेम्वा नाउँ भएको माहुते पछाडि राखेर खेत खनिरहेका एक अफ्रिकी अखबारका संवाददाताले देखे। त्यस संवाददाता अझ यसो भन्छन्, “घरिघरि त्यस हात्तीले आफ्नो सुँड तन्काएर पछाडि पठाउँथ्यो र मुचेम्वाले चाहिं एकदमै प्रोटिनयुक्त खाना त्यसको सुँडमा हालि दिन्थ्यो।” त्यस रिपोर्ट अझ यसो भन्छ: “न्याशा र अरू तालिमप्राप्त छ वटा हात्तीहरू इम्रेमा वर्षायाम सुरु हुनुभन्दा अघि मकैजस्ता फसलको लागि खेत खन्न चलाइनेछ। यी बालीहरू हात्ती तथा अरू जनावरहरूलाई खुवाउन प्रयोग गरिन्छ।”
विनाशकारी रोमाञ्च
बन्जी जम्पिंग, कुनै डोरीको मदतबिना पहाड चढ्ने, स्काइ डाइभिंग र बेस जम्पिंगजस्ता रोमाञ्चकारी खेलहरू फ्रान्समा फेसनै भइसक्यो। पेरिसबाट प्रकाशित हुने अखबार लि मोन्ड-ले थुप्रै विशेषज्ञहरूलाई रोमाञ्चकारी खेलहरू फ्रान्समा लोकप्रिय हुनुको कारण सोधे। नयाँ पद्धतिका खेलहरूसम्बन्धी अध्ययन केन्द्रका निर्देशक आलेन लोराअनुसार एउटा कारण त नियम, अनुशासन र प्रशिक्षण चाहिने परम्परागत खेलहरू वर्तमान युवापीढीका मूल्य तथा मान्यताहरूसित मिल्दो नभएर हो किनभने युवाहरू आजकल अनुशासनलाई भन्दा स्वतन्त्रता र मोजमज्जालाई बढी महत्त्व दिन्छन्। फ्रान्सिसी समाजशास्त्री डेभिड लि बर्टन यसो भन्छन्: “खतरापूर्ण खेलहरू लोकप्रिय हुँदै जाँदा आज नैतिक मूल्य तथा मान्यतामा कतिको ह्रास भइरहेको छ भन्ने कुरा स्पष्ट हुन्छ। वास्तवमा, आज हामी केको लागि बाँचिरहेका छौं, त्यो नै थाह छैन। हाम्रो समाजले जीवन बाँच्ने योग्यको छैन भनेर बताउँछ। तसर्थ, मानिसहरू रोमाञ्च खोज्नु नै . . . अर्थपूर्ण जीवन बिताउने तरिका हो कि भन्ठान्छन्।” तथापि, झन् झनै धेरै युवाहरू जीवनलाई खतरामा पारेर यस्ता खेलहरू खेल्छन् र थुप्रैको अकालमै मृत्यु पनि भइरहेको छ।
सेनामा भर्ती भएका बच्चाहरू
विश्वको २६ वटा भन्दा बढी देशहरूमा गरिएको अनुसन्धानअनुसार साढे दुइ लाख बच्चाहरू सेनामा भर्ती भएको पाइयो। अझ कोही कोही त सात वर्षमुनिका समेत सेनामा भर्ती भएको पाइयो। यो कुरा म्यानचेस्टर, इंगल्याण्डको गार्जियन विक्ली-मा रिपोर्ट गरिएको थियो। संयुक्त राष्ट्र संघीय दुइ वर्षे अध्ययनअनुसार ती बाल सेनाहरूलाई आफन्तहरूले पाइरहेको यातना र मृत्यु जबरजस्ती हेर्न लगाएर क्रूर व्यवहार गरिन्छ। त्यसपछि तिनीहरूलाई अरूको ज्यान लिन, हत्यारा र गुप्तचरको रूपमा चलाइन्छ। एउटा देशमा “अधिकांश बाल सेनाहरूले बच्चाहरूलाई सास्ती दिन, अंगभंग गर्न वा भाग्न खोज्ने बच्चा तथा वयस्कहरूलाई मार्ने आदेश पाएका थिए।” युद्धमा जानुअघि ती बच्चाहरूलाई अक्सर लागू पदार्थ वा रक्सी दिइन्छ। ती बच्चाहरू “आफूलाई कुनै चोटपटक लाग्ने छैन वा मर्नेछैन” भने जस्तैगरि रणभूमिमा गइरहेका हुन्छन्।
लामखुट्टे मार्न काम लाग्दैन
कीरा फट्यांग्रालाई आकर्षित गरेर मार्ने इलेक्ट्रिक उपकरण लामखुट्टे मार्न काम लाग्दैन। कीटविज्ञानका प्राध्यापक जोर्ज बि. क्रेग, जुनियर यसो भन्छन्: “त्यो उपकरण कामै नलाग्ने छ।” प्रायजसो लामखुट्टेहरू त्यस प्रकाशप्रति आकर्षित हुँदैनन्। खाना खोज्दै हिंड्दा पोथी अर्थात् जसले टोक्ने गर्छे, अमोनिया, कार्बन डाइअक्साइड, ताप र त्यसै छालाबाट निस्किने फोहरको खोजीमा हुन्छ, जुन त्यो उपकरणले दिंदैन। आफूले खोजेको ती पदार्थहरू नभेट्टाएपछि लामखुट्टे त्यहाँबाट उडेर जान्छ। यसबाहेक, त्यो उपकरणले लामखुट्टे मार्न खोज्नु भनेको त “नांग्लो ठटाएर हात्ती तर्साउनु जस्तै हो” भनी डा. क्रेग भन्छन्। पोथी लामखुट्टेले केही महिनाभित्रै ६०,००० भन्दा बढी पोथी सन्तान उत्पादन गर्नसक्छे। तीन महिने एउटा अध्ययनले के देखायो भने, रातभरिमा त्यो उपकरणले मारेका कीराहरूमा तीन प्रतिशत मात्र पोथी लामखुट्टे थिए। त्यस उपकरणबारे क्रेग यसो भन्छन्, “त्यो बगैंचासम्बन्धी पसलमा होइन मनोरञ्जन सम्बन्धी पसलमा बेच्नुपर्छ।”