तपाईंको मिर्गौला—जीवन धान्ने चाल्नी
आयरल्याण्डका ब्यूँझनुहोस्! संवाददाताद्वारा
पृथ्वी र मानव शरीर दुवैमा एउटा कुरा समान छ: जीवन धान्न दुवैलाई चाल्नी चाहिन्छ। सूर्यका हानिकारक किरणहरूबाट पृथ्वीलाई जोगाउनुपर्छ। वायुमण्डलमा रहेको ओजोन तहले त्यस्ता किरणहरू चाल्छ र जीवनदायी प्रकाश मात्र पृथ्वीमा पठाउँछ। अनि तपाईंको शरीर नि? तपाईंको शरीरमा हुने विभिन्न रासायनिक प्रक्रियाद्वारा विषालु तत्त्व तथा शरीरलाई नचाहिने वस्तुहरू उत्पन्न हुन्छ जुन रक्तनलीमा बहन्छन्। यस्ता चीजहरू शरीरबाट निष्कासन भएनन् भने गम्भीर समस्याहरू उत्पन्न भई मृत्यु पनि हुनसक्छ। त्यसैले, नियमित तवरमा त्यसलाई चाल्न र निष्कासन गर्नुपर्छ।
तपाईंको मिर्गौलाको एउटा प्रमुख कार्य, यसरी चाल्ने प्रक्रिया हो। तर यी साना अंगहरूले तपाईंको शरीरको निम्ति नभई नहुने तत्त्वहरू पोषणको लागि राख्नुको साथसाथै कसरी हानिकारक तत्त्वहरू चिन्न, अलग्याउन र निष्कासन गर्नसक्छ? स्वस्थ रहन तपाईंले मिर्गौलाको कसरी हेरचाह गर्न सक्नुहुन्छ?
तपाईंको मिर्गौलाभित्र के छ?
मान्छेको साधारणतया दुइवटा मिर्गौला हुन्छ र तिनीहरू मेरुदण्डको दायाँबायाँ पिठ्यूँमुन्तिर हुन्छन्। मिर्गौलाको लम्बाइ दश सेन्टिमिटर, चौडाइ पाँच सेन्टिमिटर, मोटाइ साढे दुइ सेन्टिमिटर र वजन ११० देखि लिएर १७० ग्रामसम्म हुन्छ। मिर्गौलालाई दुइ फ्याक पारेर हेर्दा, सँगैको चित्रमा देखाएझैं थुप्रै आकारहरू छर्लंग देखिन्छन्।
मिर्गौलाले कसरी काम गर्छ भनेर कल्पना गर्न, रंगशालामा कुनै कार्यक्रम हेर्न आएका हजारौं दर्शकहरूको कल्पना गर्नुहोस्। प्रथमतः ती दर्शकहरूलाई स-सानो पंक्तिमा लाम लगाउनुपर्छ। त्यसपछि, हरेक पंक्तिको एक एक जना गरेर पालैसँग सुरक्षा गेटबाट भित्र पस्नुपर्छ र त्यहाँ टिकट नभएकाहरूलाई भित्र पस्न दिइंदैन। टिकट भएका दर्शकहरू मात्र भित्र पसेर निर्दिष्ट ठाउँमा बस्छन्।
यसरी नै रगतका प्रत्येक तत्त्वहरू तपाईंको शरीरको चारै कुनामा सञ्चार हुनुपर्छ। तथापि, त्यसरी रक्त सञ्चार हुँदा ती तत्त्वहरू मिर्गौलाबाट ठूलठूला रक्तनलीहरू अर्थात् रेनल धमनीहरू भएर बहनुपर्छ। दुवै मिर्गौलामा एक एकवटा रेनल धमनी हुन्छ। (पृष्ठ २४ को चित्र हेर्नुहोस्।) ती तत्त्वहरू मिर्गौलामा पुगेपछि त्यसलाई रेनल धमनीले मिर्गौलाका भित्री र बाहिरपट्टि भएका स-साना नलीहरूमा पठाउँछ। यसरी तपाईंको रगतमा भएका विभिन्न तत्त्वहरू स-साना र नियन्त्रित “पंक्ति”-मा पठाइन्छ।
अन्तमा, रगत स-साना गुजुल्टो हुँदै बग्नुपर्ने हुन्छ। प्रत्येक गुजुल्टोमा गुडुल्किएर रहेका करिब ४० वटा अति सानासाना रक्तनलीहरू हुन्छन्। हरेक गुजुल्टोलाई ग्लोमेरुलस् भनिन्छ। यसलाई दुइ पत्रे झिल्लीले घेरेको हुन्छ, जसलाई बाउमेन क्यापसुल भनिन्छ।a ग्लोमेरुलस् र बाउमेन क्यापसुल दुवै मिलेर तपाईंको मिर्गौलाको पहिलो ‘सुरक्षा गेट’ अर्थात् नेफ्रोन बन्छ र चाल्नीको काम गर्ने मिर्गौलाको प्रमुख अंग त्यही नै हो। एउटा मिर्गौलामा दश लाखभन्दा बढी नेफ्रोनहरू हुन्छन्। तर त्यसको आकार एकदमै सानो हुन्छ, त्यसलाई हेर्न सूक्ष्मदर्शक यन्त्र चाहिन्छ।—ठूलो बनाइएको नेफ्रोनको चित्र पृष्ठ २५ मा हेर्नुहोस्।
तपाईंको रगत दुइ चरणमा चालिन्छ
तपाईंको रक्तनलीमा भएका रक्तकोष र प्रोटिन शरीरलाई चाहिने अत्यावश्यक तत्त्वहरू हुन्। त्यसद्वारा नै अक्सिजन लिने, कुनै अंगको सुरक्षा गर्ने अनि स्याहारसम्भार र मरम्मत गर्ने जस्ता महत्त्वपूर्ण कामहरू पूरा हुन्छ। रक्तकोष र प्रोटिन जोगाउन त्यसलाई पहिलो चरणमा अन्य सबै तत्त्वहरूबाट चालेर अलग गरिन्छ। यो विशेष कार्य बाउमेन क्यापसुलले गर्छ। तर कसरी?
रक्तनलीमा प्रवेश गरेपछि एकदमै पातलो भित्तासहित सानासाना कोषिकाहरूमा ग्लोमेरुलस् फैलिएको हुन्छ। यसप्रकार, रक्त दबाबले केही मात्रामा पानी तथा अन्य स-साना अणुहरू केषिकाको झिल्लीबाट ठेलेर रक्तनलीमा पुऱ्याउँछ र त्यसपछि बाउमेन क्यापसुल र त्यससँग जोडिएका गुजुल्टो परेको नलीमा पुग्छ। यो नलीलाई कन्भोल्युटेड ट्युबुल भनिन्छ। प्रोटिनका ठूलठूला अणुहरू र सम्पूर्ण रक्तकोषहरू रक्तनलीमा रहन्छन् र कोषिकाहरू मार्फत बहिरहन्छन्।
यस स्थितिमा पुगेपछि चाल्ने प्रक्रियाले एक एक गरेर छान्ने काम गर्छ। शरीरलाई आवश्यक पर्ने सबै कुराहरू मिर्गौलाले शरीरमा नै राख्नुपर्छ! यतिञ्जेलसम्म ट्युबुलमा उपयोगी अणुहरूसँगसँगै बेकामका तत्त्वहरू मिसिएको तरल पदार्थ बहिरहेको हुन्छ। ट्युबुलको भित्तामा भएका विशेष प्रकारका कोषहरूले पानी, लवण, चिनी, खनिज पदार्थ, भिटामिन, रागरस र एमिनो एसिडजस्ता काम लाग्ने अणुहरू छुट्याउँछ। यी अणुहरूलाई ट्युबुलले फेरि सोस्छ र पुनः रक्तनलीमा पुऱ्याउन आसपासको जालीदार कोषिकाहरूमा पठाउँछ। यी कोषिकाहरू जोडिएर स-साना शिरा बन्छ र रक्तनली बनिन्छ, जसलाई रेनल शिरा भनिन्छ। मिर्गौलाले रगत चाल्ने र सफा गर्ने काम गरेपछि त्यो रगत यही शिराबाट सञ्चार हुन्छ र तपाईंको जीवन धान्छ।
बेकारका वस्तुहरूको निष्कासन
तर ट्युबुलमा रहने तरल पदार्थ नि? यसमा तपाईंको शरीरलाई काम नलाग्ने तत्त्वहरू हुन्छन्। यो तरल पदार्थ ट्युबुलबाट कलेक्टिङ ट्युबुल वा कलेक्टिङ नली-मा एकनासले बगिरहन्छ। अनि ट्युबुलको भित्तामा भएका अरू कोषहरूले अन्य तरल वस्तु निष्कासन गर्छ। ती हुन्, अमोनिया, पोटासियम, युरिया, युरिक एसिड र बढी भएको पानी। यसरी अन्तमा निष्कासन हुने तत्त्व हो, मूत्र।
विभिन्न नेफ्रोनका कलेक्टिङ नलीहरू मिलेर मूत्रलाई पिरामिड-को टुप्पोको प्वालबाट निष्कासन गर्छ। रेनल पेल्भिसमा मूत्र जान्छ, त्यसपछि मिर्गौला र मूत्राशयसँग जोडिएको नली अर्थात् मूत्रनली-बाट निष्कासन हुन्छ। मूत्र, शरीरबाट निष्कासन हुनुअघि मूत्राशयमा जम्मा हुन्छ।
तपाईंको मिर्गौलामा पाइने २० लाखभन्दा बढी नेफ्रोनहरू अति सूक्ष्म भए तापनि त्यसले एकदमै प्रभावशाली काम गर्छ। द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका बताउँछ: “नेफ्रोनले . . . रगतमा भएको झन्डै ५ लिटर पानी हरेक ४५ मिनेटमा चाल्छ।” विभिन्न तत्त्वहरू सोस्नुका साथै अन्य विभिन्न प्रक्रिया पूरा भएपछि, स्वस्थ शरीरले हरेक २४ घण्टामा करिब २ लिटर जति अनावश्यक वस्तुलाई मूत्रको रूपमा निष्कासन गर्नसक्छ। कस्तो मेहनती र राम्रो चाल्ने प्रणाली!
तपाईंको मिर्गौलाको हेरविचार गर्नुहोस्!
तपाईंको मिर्गौला स्वतः सफा हुन्छ अनि आफ्नो भरणपोषण आफै गर्नसक्छ र धेरै समयसम्म त्यसले काम गर्नसक्छ। तथापि, त्यसको कार्य प्रणालीमा सघाउ पुऱ्याउन तपाईंको पनि हात छ। स्वस्थ रहनुको निम्ति मिर्गौलालाई प्रशस्त पानी चाहिन्छ। वास्तवमा, मिर्गौलाको संक्रमण र यसमा हुने पत्थरीको रोगबाट बच्ने प्राथमिक तरिका नै पर्याप्त मात्रामा पानी पिउनु हो।b पानी पिउनाले पाचन र रक्त सञ्चार प्रणालीमा पनि सहयोग पुग्छ भनी न्यु योर्कस्थित लंग आइलैण्ड कलेज हस्पिटलका युरोलोजी डिपार्टमेन्टका अध्यक्ष डा. गोडेक बताउँछन्।
पानी कति पिउनुपर्छ त? खाद्यान्नमा भएको पानी र पेयपदार्थको अलावा हरेक व्यक्तिले दिनहुँ कम्तीमा पनि दुइ लिटर पानी पिउनुपर्छ भनी डा. गोडेक र अन्य थुप्रै डाक्टरहरू सुझाउ दिन्छन्। “अधिकांश मानिसहरूलाई जलवियोजन भएको हुन्छ,” डा. गोडेकले ब्यूँझनुहोस्!-लाई बताए। जबसम्म तपाईंको मिर्गौला र मुटुलाई कुनै रोगले छोएको हुँदैन तबसम्म यी दुवैको निम्ति पानी लाभदायक हुन्छ भनी तिनी बताउँछन्। डा. गोडेक भन्छन्: “तर तपाईंले प्रशस्त मात्रामा पानी पिउनुपर्छ। धेरैले यथेष्ट पानी पिउँदैनन्।”
कसै कसैले कागती इत्यादि हालेर स्वादिलो बनाएको पानी पिउन रुचाउँछन्। कसैले चाहिं जमीनबाट निस्केको वा प्रशोधित कोइलामा चालेको पानी पिउन रुचाउँछन्। तर जे होस्, कुनै पनि पेयपदार्थभन्दा सादा पानी वा थोरै मात्रामा स्वादिलो पार्ने वस्तु मिसाएको पानी नै तपाईंको मिर्गौलाको निम्ति बेस हो। वास्तवमा भन्ने हो भने, फलफूलको रसमा पाइने चिनी र गुलियो पेयपदार्थले गर्दा त शरीरमा झनै पानीको आवश्यकता बढ्छ। अल्कोहल भएको पेयपदार्थ र क्याफिनले गर्दा शरीरमा भएको पानी घट्छ।
दिनहुँ दुइ लिटर पानी पिउने बानी बसाल्नु अवश्य पनि गाह्रै छ। एउटा कुरा त, घरिघरि शौचालय जान धेरै व्यक्तिहरूलाई असुविधाजनक र लाज लाग्छ। तर त्यस्तो थप प्रयास गर्नुभयो भने, तपाईंको शरीरले तपाईंलाई धन्यको भन्नेछ। प्रशस्त पानी पिउनाले तपाईंको स्वास्थ्य त राम्रो हुन्छ नै, साथै तपाईंको बाहिरी रूप पनि राम्रो हुन्छ। चिकित्सकहरू के औंल्याउँछन् भने, छाला सुन्दर राख्नको निम्ति कुनै पनि बाह्य औषधीभन्दा पौष्टिक र बढी मात्रामा तरल पदार्थ भएको खाद्यान्न नै प्रभावकारी हुन्छ।
दुःखको कुरा, हामीलाई सधैंभरि तिर्खा लागिरहँदैन। अनि उमेर ढल्कँदै जाँदा त झनै कम मात्रामा तिर्खा लाग्ने हुन्छ। तसर्थ, तिर्खा लागेपछि मात्र पानी पिउने भनेर कुरिरहनु मिल्दैन। शरीरले यथेष्ट पानी पाइरहेको छ कि छैन, कसरी थाह पाउन सकिन्छ? कसै कसैले बिहानै दुइ गिलास पानी पिउने गर्छन् र छिनछिनमा त्यसरी नै नियमित रूपले पिउँछन्। कतिले चाहिं दिनभरि नै बेला बेलामा पानी पिउन नभुल्ने हेतुले सजिलै भेट्ने ठाउँमा पारदर्शक भाँडोमा पानी राख्छन्। जस्तोसुकै तरिका अंगाल्नुभए तापनि, तपाईंको जीवन धान्ने चाल्नी अर्थात् आफ्नो मिर्गौलाप्रति मूल्यांकन देखाउने उत्तम तरिका शुद्ध र सफा पानी पिउनु नै हो।
[फुटनोटहरू]
a सन् १८४० दशकको सुरुतिर अंग्रेज शल्यचिकित्सक तथा तन्तुविशेषज्ञ विलियम बाउमेनले यो सानो क्यापसुल तथा यसका कार्यबारे वर्णन गरेका थिए। तिनकै नाउँमा यसलाई बाउमेन क्यापसुल भनिएको हो।
b gbr13-4-NP, पृष्ठ १५-१७ र मार्च ८, १९८६ को ब्यूँझनुहोस्! (अंग्रेजी) को पृष्ठ १८ हेर्नुहोस्।
[पृष्ठ २५-मा भएको पेटी]
नेफ्रोन—मुख्य चाल्नी
प्रत्येक मिर्गौलामा दश लाखभन्दा बढी नेफ्रोनहरू हुन्छन्। हरेक नेफ्रोनमा हुने ट्युबुलर प्रणालीको लम्बाइ लगभग तीन सेन्टिमिटर र चौडाइ ०.००५ हुन्छ। यद्यपि, एउटै मात्र मिर्गौलाको सबै ट्युबुलस् फुकाएर तन्काउने हो भने, त्यो करिब ३० किलोमिटर लामो हुन्छ।
बाउमेन क्यापसुल, नेफ्रोनको कन्भुलेटेड ट्युबुल-को घुमाउरो पुच्छर हो। यो ट्युबुललाई स-साना रक्तनलीहरूले घेरेका हुन्छन्, जसलाई कोषिकाहरू भनिन्छ। ट्युबुल कलेक्टिङ डक्ट-सँग जोडिएको हुन्छ र नेफ्रोनले चालेर निकालेको बेकारका र विषालु वस्तुहरूलाई यसले निष्कासन गर्छ।
[पृष्ठ २४-मा भएको रेखाचित्र]
रेनल शिराले चालिएको रगत शरीरको विभिन्न भागमा लैजान्छ
रेनल धमनीले नचालिएको रगत मिर्गौलामा ल्याउँछ
कोण आकारको रेनल पिरामिडले मूत्रलाई रेनल पेल्भिसमा पुऱ्याउँछ
कर्टेक्समा प्रत्येक नेफ्रोनको ग्लोमेरुलस् हुन्छ
रेनल पेल्भिस सोलीजस्तो हुन्छ, यसले मूत्र जम्मा गरेर मूत्रनलीमा पठाउँछ
मूत्रनलीले मिर्गौलाबाट मूत्रलाई मूत्राशयमा पुऱ्याउँछ
[पृष्ठ २५-मा भएको रेखाचित्र]
नेफ्रोन अर्थात् करिब २० लाख जति भएको अति सूक्ष्म नलीले रगत सफा गर्छ
ग्लोमेरुलस्
कन्भोल्युटेड ट्युबुलले मूत्र जम्मा गर्छ, त्यसपछि मूत्राशयमा जान्छ
बाउमेन क्यापसुल
कोषिकाहरू