प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ १०/८ पृ. २४-२६
  • तपाईंको श्रवण शक्‍ति—मूल्यांकन गर्नुपर्ने उपहार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंको श्रवण शक्‍ति—मूल्यांकन गर्नुपर्ने उपहार
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंको महत्त्वपूर्ण बाहिरी कान
  • तपाईंको मध्य कान—यान्त्रिक चमत्कार
  • तपाईंको अद्‌भुत भित्री कान
  • तपाईंको मस्तिष्क र श्रवण
  • मूल्यांकन गर्नुपर्ने उपहार
  • आफ्नो श्रवणशक्‍ति जोगाउनुहोस्‌!
    ब्यूँझनुहोस्‌!—२००२
  • परमेश्‍वरद्वारा सन्तुलनको उपहार
    ब्यूँझनुहोस्‌!—१९९६
  • सानो कानको रहस्य पत्ता लाग्यो
    ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—१९९७
g९७ १०/८ पृ. २४-२६

तपाईंको श्रवण शक्‍ति—मूल्यांकन गर्नुपर्ने उपहार

सुनसान गाउँ, झमक्क परेको साँझ। सभ्य संसारको कोलाहलदेखि टाढा। चकमन्‍न रातमा सुमधुर आवाजहरू सुनिन्छ। मन्द मन्द हावाको झोंकाले पातहरू सर्रसर्र हल्लाएको। साथ साथै कताकताबाट कीरा, चराचुरुंगी र पशुहरूको आवाज पनि आउँछ। यस्ता मधुर आवाजहरू सुन्‍नसक्नु कस्तो अचम्म! के तपाईं ती आवाजहरू सुन्‍न सक्नुहुन्छ?

स्पष्टतया, मानव श्रवण प्रणालीको शक्‍ति अचम्मकै छ। प्रतिध्वनि नहुने कोठा अर्थात्‌ बाहिरको कुनै पनि आवाज नसुन्‍नेगरि बनाएको एकान्त कोठामा एक घण्टा बस्नुहोस्‌। तपाईंको सुन्‍ने शक्‍ति बिस्तारै ‘बढ्‌दै बढ्‌दै’ जान्छ र शरीरभित्रका कहिल्यै सुन्दै नसुनेका आवाजहरू पनि सुन्‍न थाल्नुहुन्छ। श्रवणसम्बन्धी वैज्ञानिक, एफ. ओल्टन एभरेस्ट श्रवणबारे विशेष पुस्तिका-मा (अंग्रेजी) त्यस्तो कोठाभित्रको अनुभव बताउँछन्‌। प्रथमतः, आफ्नो मुटुको धड्‌कन जोडले धड्‌किएको सुनिन्छ। लगभग एक घण्टापछि नसामा रगत बगेको सुन्‍न थाल्छ। अन्तमा, एभरेस्ट बताउँछन्‌, तपाईंको श्रवण क्षमता राम्रो छ भने, “त्यस कोठामा धीरज बाँधेर बस्नुभएको फलस्वरूप, मुटुको ‘ढुकढुक धड्‌कन’ र रक्‍त सञ्चालनको कुलकुल आवाज आइरहेको बीचबीचमा फिस्स फिस्स आवाज सुन्‍न सक्नुहुन्छ। त्यो चाहिं केको आवाज? त्यो हावाका कणहरू कानको जालीमा ठोक्किंदा उत्पन्‍न भएको आवाज हो।” त्यो फिस्स फिस्स आवाजले गर्दा कानको जाली थर्कन्छ अनि त्यहाँ त्यसरी उत्पन्‍न कम्पनको चाल यति कम हुन्छ कि विश्‍वास गर्नै गाह्रो पर्छ। अर्थात्‌ त्यो कम्पन लाखौं सेन्टिमिटरको १/१०० भाग बराबरको हुन्छ!” अनि यही नै, आवाज सुन्‍ने तपाईंको निम्नतम क्षमता अर्थात्‌ “श्रवण चेतनाको सीमा” हो। आवाज सुन्‍न अत्यधिक संवेदनशील भएर पनि काम छैन किनभने मधुरो आवाजहरूलाई हावाका कणहरूको आवाजले दबाउँछ।

बाहिरी, मध्य र भित्री कानको पारस्परिक सम्बन्धका साथै हाम्रो स्नायु प्रणाली र मस्तिष्कको आवाज लिने र बुझ्ने क्षमताले गर्दा सुन्‍ने कार्य सम्भव हुन्छ। आवाज, कम्पनका तरंगहरूको रूपमा हावाद्वारा आवागमन गर्छ। यी तरंगहरूले कानको जालीलाई हल्लाउँछन्‌। फलतः, त्यहाँ उत्पन्‍न भएको गति मध्य कान हुँदै भित्री कानमा पुग्छ। त्यहाँ त्यो गति स्नायु तरंगमा परिणत हुन्छ जसलाई मस्तिष्कले आवाज भनेर चिन्छ।a

तपाईंको महत्त्वपूर्ण बाहिरी कान

तपाईंको लचकदार र गुँडुलो परेको बाहिरै देखिने कानलाई पिन्‍ना भनिन्छ। पिन्‍नाले आवाज बटुल्छ। तर यसको काम त्यति मात्र होइन। कानको बाहिरपट्टिको भाग किन तह तह परेका छन्‌ भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? पिन्‍नाका ती विभिन्‍न तहहरूमा ठोकिन आउने आवाजका तरंगहरूलाई ती कस्तो कोण बनाएर आउँछन्‌, त्यसैअनुसार अद्‌भुत ढंगमा रूपान्तर गरिन्छ। मस्तिष्कले यी सूक्ष्म तरंगहरू रूपान्तर गर्न र आवाजको स्रोतको स्थिति निर्णय गर्नसक्छ। प्रत्येक कानमा आवाज आउनासाथ त्यो कत्ति लामो र कत्ति तिखो छ सो जाँच्नुबाहेक मस्तिष्कले यो रूपान्तर गर्ने काम गर्छ।

उक्‍त कुरा प्रदर्शन गरेर हेर्न, आँखा चिम्म गरेको व्यक्‍तिअघि हात घुमाउँदै चुट्‌की बजाउनुहोस्‌। त्यस व्यक्‍तिको दुइटै कानदेखि एकै दूरीमा तपाईंका चुट्‌की बजाउने औंलाहरू रहे तापनि आवाज माथि, तल वा त्यसबीच कताबाट आउँदैछ उसले बताउनसक्छ। वास्तवमा, एक पट्टिको कानले मात्र सुन्‍नसक्ने व्यक्‍तिले पनि आवाजहरू कताबाट आएका हुन्‌, राम्ररी पत्ता लगाउनसक्छ।

तपाईंको मध्य कान—यान्त्रिक चमत्कार

तपाईंको मध्य कानको मुख्य काम कानको जालीमा उत्पन्‍न भएका कम्पनहरूलाई भित्री कानमा भएको तरल पदार्थसम्म पुऱ्‍याउनु हो। त्यो तरल पदार्थ हावाभन्दा निकै गह्रौं हुन्छ। त्यसैले, कानको जालीमा उत्पन्‍न ती कम्पनहरूलाई सकेसम्म सफलतासाथ स्थानान्तरण गर्न पहाडी भेगमा साइकल चलाउने व्यक्‍तिलाई जस्तै सही ‘गियर अनुपात’ चाहिन्छ। मध्य कानका तीनवटा स-साना हड्डीहरूले ती कम्पनहरूलाई स्थानान्तरण गर्छन्‌। सामान्यतः, ती हड्डीहरूलाई आकारअनुसार अंग्रेजीमा ह्‍यामर, एन्भिल र स्टरप भनिन्छ। ती हड्डीहरूको पारस्परिक सूक्ष्म यान्त्रिक सम्बन्धले प्रायः भित्री कानको लागि ठिक्क हुने ‘गियर अनुपात’ प्राप्त गर्छ। यस गियर अनुपातबिना ९७ प्रतिशत ध्वनिका तरंगहरू त्यसै खेर जान्छन्‌ भनेर हिसाब लगाइएको छ!

मध्य कानमा भएका ती तीनवटा हड्डीहरूसित दुइवटा कोमल मांशपेशीहरू टाँसिएका हुन्छन्‌। कानले चर्को-कम फ्रिक्वेन्सीको आवाज सुन्‍नासाथ यी मांशपेशीहरू एक सेकेण्डको एक सय भागको एक समयभित्र आफै कसिन्छन्‌ र ती तीन हड्डीहरूको पारस्परिक गतिलाई रोकेर श्रवणमा हानि पुग्न दिंदैन। यो कार्य यति छिटो हुन्छ कि यन्त्रहरू र विद्युतीय उपकरणबाट निक्लेका सबै आवाजबाहेक प्रायः अन्य सबै प्राकृतिक चर्को आवाजहरूबाट तपाईंको कानलाई जोगाउँछ। त्यसबाहेक, यी साना मांशपेशीहरूले यसरी जोगाउने काम दश मिनेटसम्म मात्र गर्नसक्छन्‌। तथापि, यसले तपाईंलाई मन नपर्ने आवाजबाट उम्कने अवसर दिन्छ। चाखलाग्दो कुरा, तपाईं कुरा गर्नुहुँदा तपाईंको मस्तिष्कले श्रवण चेतना कम गर्न यी मांशपेशीहरूलाई संकेत दिन्छ ताकि आफ्नै आवाज पनि त्यति चर्को नसुनोस्‌।

तपाईंको अद्‌भुत भित्री कान

सुन्‍ने क्रियामा समावेश भित्री कानको भाग कक्लिया-मा हुन्छ र यो अंग शंखे कीराको आकारजस्तो हुने हुनाले यसलाई कक्लिया भनिएको हो। यसको कोमल बनावटलाई शरीरको सबैभन्दा कडा हड्डीले ढाकेर सुरक्षित राखेको हुन्छ। यसको घुमाउरो भुलभुलैयाभित्र बेसिलर झिल्ली पाइन्छ र यो, कक्लियाको लम्बाइलाई च्यानलहरूमा विभाजन गर्ने थुप्रै तन्तुहरूमध्ये एउटा हो। बेसिलर झिल्लीसँगै अर्गन अफ कोर्टी हुन्छ जसमा हजारौं केश कोषिकाहरू हुन्छन्‌। ती केश कोषिकाहरू स्नायु कोषिकाहरू हुन्‌ र त्यसका केशजस्ता टुप्पोहरू कक्लियामा टन्‍नै भरिएको तरल पदार्थसम्म फैलिएका हुन्छन्‌।

मध्य कानका हड्डीहरू चल्दा कक्लियाको ओभल विन्डो थर्किन्छ र तरल पदार्थमा तरंग उठ्‌छ। पोखरीमा उठेको लहरले पातहरूलाई माथि तल गर्दै तैराए जस्तै ती तरंगहरूले झिल्लीहरूलाई हल्लाउँछन्‌। ती तरंगहरूले फ्रिक्वेन्सीअनुसार बेसिलर झिल्लीलाई निश्‍चित ठाउँमा हल्लाउँछन्‌। त्यसपछि, त्यस ठाउँमा केश कोषिकाहरूले लट्‌किरहेको टेक्टोरियल झिल्लीलाई ठक्कर दिन्छन्‌। फलतः, त्यस ठक्करबाट ती केश कोषिकाहरूले तरंग उत्पन्‍न गरेर त्यसलाई मस्तिष्कमा पुऱ्‍याउँछन्‌। जति चर्को आवाज हुन्छ त्यति नै बढी र छिटो, केश कोषिकाहरू उत्तेजित हुन्छन्‌। फलतः, मस्तिष्कले चर्को आवाज पो रहेछ भनी चिन्छ।

तपाईंको मस्तिष्क र श्रवण

मस्तिष्क श्रवण प्रणालीको सबैभन्दा महत्त्वपूर्ण भाग हो। मस्तिष्कमा यस्तो अचम्मको शक्‍ति छ, यसले स्नायु तरंगको रूपमा प्राप्त थुप्रै ध्वनिहरूलाई छुट्याउनसक्छ। सोचाइ र श्रवणबीच विशेष सम्बन्ध छ भनेर मस्तिष्कको यो प्रमुख कार्यले देखाउँछ र यस क्षेत्रमा गरिने अध्ययनलाई साइकोकस्टिक्स भनिन्छ। उदाहरणका लागि, मस्तिष्कले थुप्रै मानिसहरू भएको कोठामा भइरहेको थुप्रै वार्तालापमध्ये एउटा वार्तालाप मात्र सुन्‍न तपाईंलाई सक्षम पार्छ। माइक्रोफोनसित यो क्षमता हुँदैन। त्यसैकारण, त्यस कोठाभित्रको वार्तालाप टेपमा रेकर्ड गरेमा प्रायः केही पनि बुझिंदैन।

मन नपरेको आवाजले रीस उठाउँछ र यस कुराले उक्‍त सम्बन्धको अर्को पक्षलाई देखाउँछ। आवाज जतिसुकै मधुरो किन नहोस्‌, मन नपर्ने आवाज सुनिहाल्नुभयो भने, झनक्क रीस उठ्‌नसक्छ। उदाहरणका लागि, धारोबाट तपतप पानी चुहिएको आवाज एकदमै मधुरो हुन्छ। तर तपाईं त्यो आवाजले गर्दा राति सुत्न सक्नुभएन भने, तपाईंलाई त्यो आवाज पटक्कै मन पर्दैन!

वास्तवमा, श्रवणसित हाम्रा भावनाहरूको घनिष्ठ सम्बन्ध छ। उत्साहपूर्ण हँसीमजाकले पारेको प्रभाव वा साँचो स्नेह या प्रशंसाका शब्दहरूले ल्याएको न्यानोपनबारे सोच्नुहोस्‌ त। त्यस्तै प्रकारले, कानद्वारै हामी ज्ञानवर्द्धक कुराहरू सिक्छौं। हो, वरिपरिको संसारसित सम्पर्क राख्न श्रवणले एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ।

मूल्यांकन गर्नुपर्ने उपहार

हाम्रो श्रवणसम्बन्धी छक्कलाग्दा थुप्रै कुराहरू अझै रहस्यको गर्भमै छन्‌। तर वैज्ञानिक अध्ययनअनुसार जति बुझ्न सकिएको छ त्यसले गर्दा सुन्‍ने क्रियामा देखिएको बुद्धि र प्रेमप्रति हाम्रो मूल्यांकन अझ गहिरिन्छ। श्रवणसम्बन्धी अनुसन्धानकर्ता, एफ. एल्टन एभरेस्ट यसो लेख्छन्‌, “मानव श्रवण प्रणालीबारे जतिसुकै ज्ञान प्राप्त गर्दा पनि यसको कार्य तथा संरचना जटिल देखिन्छ। अनि यसबाट, यो श्रवण प्रणाली कोही उपकारी व्यक्‍तिको सृजना हो भन्‍ने निष्कर्षमा अवश्‍य पुगिन्छ।”

पुरातन इस्राएलका राजा, दाऊदसित श्रवणसम्बन्धी आजका वैज्ञानिक ज्ञान थिएन। तैपनि, तिनले आफ्नो शरीर र शरीरमा भएका थुप्रै वरदानहरूबारे सोचेर सृजनहारको यसरी प्रशंसा गाए: “म भयानक र आश्‍चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्‍चर्यका छन्‌।” (भजन १३९:१४) वैज्ञानिक अनुसन्धानद्वारा पत्ता लागेको हाम्रो श्रवणलगायत शरीरका अद्‌भुत तथा रहस्यमय कुराहरूले राजा दाऊदको उक्‍त भनाइलाई सही प्रमाणित गर्छन्‌ अर्थात्‌ हामीलाई बुद्धिमान्‌ र मायालु सृष्टिकर्ताले अद्‌भुत तरिकामा बनाउनुभएको थियो!

[फुटनोट]

a ब्यूँझनुहोस्‌! (अंग्रेजी) जनवरी २२, १९९० को पृष्ठ १८-२१ हेर्नुहोस्‌।

[पृष्ठ २५-मा भएको पेटी/चित्र]

राम्ररी सुन्‍न नसक्नेहरूलाई मदत

लामो अवधिसम्म चर्को आवाज सुनिरहँदा कानमा सधैंको लागि हानि पुग्छ। अत्यधिक चर्को संगीत सुनेर वा चर्को आवाज निकाल्ने यन्त्र भएको ठाउँमा कानलाई त्यस्तो चर्को आवाजबाट जोगाउने सुरक्षाको प्रबन्ध नगरी काम गरेर व्यर्थै किन त्यसरी हानि बेहोर्ने। हेयरिङ एडहरूले राम्ररी नसुन्‍ने र कतिपय जन्मजात बहिरोहरूलाई समेत निकै मदत पुऱ्‍याउनसक्छन्‌। यस्ता उपकरणहरूको मदतले थुप्रै मानिसले विभिन्‍न प्रकारको आवाज फेरि सुन्‍नसक्छन्‌। एक आइमाईले प्रथम पटक हेयरिङ एड लगाएपछि भान्साबाहिर अचम्मको आवाज सुनिन्‌। तिनी बताउँछिन्‌, “त्यो, चराहरूको चिरबिर थियो! धेरै वर्षदेखि चराहरूको आवाज सुनेकै थिइनँ!”

श्रवण शक्‍तिमा त्यति गम्भीर हानि पुगेको छैन भने पनि बूढेसकालमा तिखो आवाज छुट्याउने शक्‍ति स्वतः कम भएर जान्छ। दुःखलाग्दो कुरा, यसरी तिनीहरूले बोली बुझ्न चाहिने अत्यावश्‍यक आवाजहरू अर्थात्‌ व्यञ्जनहरूको फ्रिक्वेन्सीसमेत छुटाउन सक्दैनन्‌। तसर्थ, पाको मानिसहरूलाई घरभित्रका सामान्य आवाजहरू जस्तै, पानी बगेको वा कागज खस्राकखुस्रुक गरेको आवाजले कुराकानी गर्दा बाधा पुऱ्‍याउनसक्छ। किनकि तिनीहरूसित उच्च फ्रिक्वेन्सीहरू भएकोले व्यञ्जनहरू छुट्याउन सक्दैनन्‌। हेयरिङ एडहरूले केही मदत त देलान्‌ तर त्यसका आफ्नै अवगुणहरू छन्‌। राम्रो खाले हेयरिङ एडहरू एकदमै महँगो हुनसक्छन्‌ र थुप्रै मुलुकका सरदर मानिसहरूले ती किन्‍नै सक्दैनन्‌। अनि कुनै पनि हालतमा हेयरिङ एड प्रयोग गरेर तपाईंले श्रवण शक्‍ति पूर्णतया प्राप्त गर्न सक्नुहुन्‍न। त्यसोभए, के गर्न सकिन्छ?

पहिल्यै विचार पुऱ्‍याउनु एकदमै मदतकारी हुनसक्छ। बहिरो व्यक्‍तिसित कुरा गर्नुअघि तपाईंले केही भन्‍न लाग्नुभएको छ भन्‍ने तिनलाई आभास दिनुहोस्‌। आमनेसामने भएर बोल्ने कोसिस गर्नुहोस्‌। यसो गर्दा तिनले तपाईंको शरीर र ओंठ चलेको देख्छन्‌ र तपाईंले बोल्नुभएको शब्दका व्यञ्जनहरूको अर्थ बुझ्छन्‌। सम्भव भएमा, तिनको नजीक जानुहोस्‌ अनि बिस्तारै र स्पष्टसित बोल्नुहोस्‌। तर नचिच्याउनुहोस्‌। वास्तवमा, राम्ररी कान नसुन्‍नेहरूका लागि चर्को आवाज पीडादायी हुन्छ। तपाईंले भन्‍नुभएको कुरा तिनले बुझेनन्‌ भने, दोऱ्‍याउनुको साटो वाक्य टुक्राएर भन्‍नुहोस्‌। त्यस्तैप्रकार, तपाईंको श्रवण शक्‍ति पहिला जस्तो छैन भने व्यक्‍तिको अलि नजीक गएर सुन्दा अनि धीरजी हुँदा अरूसित कुरा गर्न सजिलो हुनसक्छ। यी थप प्रयासहरूले मानिसहरूसित हेलमेल हुन र अरूप्रति विचार पुऱ्‍याउन तपाईंलाई मदत दिन्छन्‌।

[चित्र]

बहिरो व्यक्‍तिसित कुरा गर्नुहुँदा नजीकै गएर बिस्तारै र स्पष्टसित बोल्नुहोस्‌

[पृष्ठ २६-मा भएको रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

तपाईंको कान

पिन्‍ना

ओभल विन्डो

अडिटरी नर्भ

ह्‍यामर (मालियस्‌)

एन्भिल (इँकस)

स्टरप (स्टेप्स)

अडिटरी क्यानल

कानको जाली

कक्लिया

अर्गन अफ कोर्टी

राउण्ड विन्डो

अडिटरी नर्भ

केश कोषिकाहरू

टेक्टोरियल झिल्ली

नर्भ तन्तुहरू

बेसिलर झिल्ली

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने