प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ११/८ पृ. २०-२४
  • बोसो राखिएको घ्याम्पोबाट एउटा पाठ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बोसो राखिएको घ्याम्पोबाट एउटा पाठ
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहूदी पैतृक सम्पदा
  • नाजी दखल
  • आतंकित थुप्रै यात्रीहरू
  • शरणार्थी जीवन
  • हाम्रो परिवारको धर्म छनौट
  • नयाँ ठाउँमा सेवकाई
  • “विश्‍वासको लागि पछि नहट्‌ने”!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • यहोवाको मायालु हेरचाहमा भरोसा गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • युद्धको बेला आइपरेका कठिनाइहरूले मलाई जीवनको लागि तयार बनायो
    ब्यूँझनुहोस्‌!—२००४
  • मेरा आमाबुबाको उदाहरणबाट बल पाएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ११/८ पृ. २०-२४

बोसो राखिएको घ्याम्पोबाट एउटा पाठ

मेरा बाल्यकालका स्मृतिहरूमा युद्धको त्रास झलझली सम्झना आउँछ। खासगरि दोस्रो विश्‍वयुद्धको अन्ततिर आफ्नो ज्यान जोगाउन भागाभाग गरेको सम्झना। त्यस बेला म चार वर्षको मात्र थिएँ। त्यतिखेर जर्मनीको भाग रहेको पूर्वी प्रसियामा हाम्रो सात जनाको परिवार बस्थ्यो।

बम वर्षक रूसी युद्धविमान नजीक आइरहेका आवाज सुन्दै अत्यासलाग्दो अन्धकारतिर आँखा घुमाएँ। अचानक, केही गज टाढा इन्धनका ट्यांकीहरू विस्फोट भएर आँखै तिरमिराउने ज्वाला देखियो र कानै खाने आवाज सुनियो। हामी यात्रा गरिरहेको रेल थर्कियो। यात्रीहरूमा कोलाहाल मच्चियो। तर केही छिनपछि ती बम वर्षक विमानहरू त्यहाँबाट सुइँकिए र हामी अघि बढ्यौं।

अर्को पटक, एक झप्को निदाएर ब्यूँझदा हामी बसेको डिब्बाबाट एउटी आइमाई चिच्याउँदै हामफाल्न खोजिरहेकी देखें। त्यो डिब्बामा गाईवस्तु ओसारपसार गरिन्थ्यो। मेरो बुबाले समातेर तिनलाई भित्र तान्‍नुभयो। त्यसपछि बच्चालाई अँगालोमा च्याप्प च्यापेर त्यो आइमाई ढोका नजीकै उङ्‌न थाली। निद्राबाट झसंग ब्यूँझदा, जाडोले कठांग्रिएर बच्चाको मृत्यु भइसकेको थाह पाइ। पुरुषहरूले मृत बच्चालाई बाहिर हिउँले ढाकिएको जमिनमा फ्याँकिदिए। दुःख-वेदनाले विह्वल भएर आफ्नो बच्चासँगै हाम फालेर मर्नको निम्ति उसले ढोका खोल्ने प्रयास गरिरहेकी थिई।

मुटु कमाउने जाडो कम गर्न बाटुलो स्टोभ बालेर डिब्बाको माझमा राखिएको थियो। डिब्बाको एक कुनामा राखिएको दाउरा किफायतीसँग चलाएर आलु पकायौं। आलुका बोराहरूले हाम्रो ओछ्यानको काम पनि गऱ्‍यो। किनकि त्यसमाथि सुत्दा डिब्बाको ठिहिऱ्‍याउने चिसोबाट केही राहत मिल्थ्यो।

आफ्नो ज्यान जोगाउन हामी किन भागाभाग गरिरहेका थियौं? महिनौंसम्म भगुवा जीवन बिताएर हाम्रो परिवार कसरी बच्यो? आउनुहोस्‌, म तपाईंहरूलाई बताउँछु।

यहूदी पैतृक सम्पदा

डिसेम्बर २२, १९४० मा पोल्याण्डस्थित पूर्वी प्रसियाको लिक (हाल एल्क, पोल्याण्ड) भन्‍ने ठाउँमा मेरो जन्म भएको थियो। पाँच बच्चाहरूमध्ये म सबैभन्दा कान्छो हुँ। सन्‌ १७०० को अन्ततिर धार्मिक सतावटको कारण मेरा यहूदी पुर्खाहरू जर्मनी छोड्‌न बाध्य हुनुभयो। उहाँहरू रूस जानुभयो। रूसमा त्यत्ति धेरै मानिसहरू बसाइँ सरेको इतिहासमध्ये त्यो पनि एक थियो। त्यसपछि, १९१७ मा रूसमा यहूदी विरुद्ध सतावट मच्चियो। त्यसबाट बच्न भोल्गा नदी नजीकैको गाउँबाट मेरो यहूदी बाजे पूर्वी प्रसियामा सर्नुभयो।

बाजेले जर्मनी नागरिकता प्राप्त गर्नुभयो र पूर्वी प्रसिया सुरक्षित आश्रयस्थलजस्तो देखियो। यहूदी पृष्ठभूमिका मानिसहरूले आर्य नाउँ राखे। अतः मेरो बुबा फ्रेड्रीक जालोमन फ्रिट्‌स भनेर परिचित हुनुभयो। अर्कोतर्फ, मेरी मुमा प्रसियाली हुनुहुन्थ्यो। उहाँ र बुबा संगीतकार हुनुहुन्थ्यो र १९२९ मा उहाँहरूले विवाह गर्नुभयो।

मेरा मुमाबुबाको जीवन खुशीयाली र भावी सफलताका आशाले रंगिएका थिए। त्यहाँ (मुमापट्टिकी) हजुरआमा फेड्रिक तथा जिज्यूबज्यै भिल्हेल्मेनको ठूलो खेत थियो र मुमाबुबा अनि हामीलाई त्यो ठाउँ आफ्नै घर जस्तो लाग्थ्यो। संगीतले हाम्रो परिवारमा ठूलो भूमिका निर्वाह गऱ्‍यो। बुबाको नृत्य टोलीमा मुमाले ड्रम बजाउनुहुन्थ्यो।

नाजी दखल

सन्‌ १९३९ मा राजनैतिक मैदानमा संकटको कालो बादल मडारिन थाल्यो। यहूदीहरूको नामोनिसान हटाउने एडोल्फ हिटलरको तथाकथित नीतिले मुमाबुबालाई पिरोल्न थाल्यो। आफ्नो यहूदी पैतृक सम्पदाबारे हामी बच्चाहरूलाई केही पत्तै थिएन। अनि बुबा बित्नुभएको नौ वर्षपछि १९७८ मा मुमाको मृत्यु नभएसम्म हामीलाई त्यसबारे केही थाह थिएन।

बुबा यहूदी हुनुहुन्छ भनेर कसैले शंका गर्न नसक्ने हुनाले उहाँ जर्मन सेनामा भर्ती हुनुभयो। सुरुमा उहाँले सांगीतिक टोलीमा काम गर्नुभयो। तथापि, बुबाको पृष्ठभूमि राम्ररी जान्‍ने कुनै व्यक्‍तिले उहाँ त यहूदी हुनुहुन्छ भन्‍ने कुरा भन्डाफोर गरिदियो। अनि परिवारका सबैलाई केरकार गरियो र तस्बिर खिचियो। हामी यहूदीजस्ता देखिन्छौं कि देखिंदैनौं भनेर निर्क्योल गर्न नाजी विशेषज्ञहरूले खूब छानबिन गरे। खुशीको कुरा, तिनीहरूका आँखामा हामी आर्यजस्ता देखिएछौं क्यारे, त्यसैले हामी पक्राउ वा थुनामा परेनौं।

सेप्टेम्बर १, १९३९ मा जर्मनीले पोल्याण्डमाथि आक्रमण गरेपछि एकताकाको हाम्रो शान्तिप्रिय इलाका त्रासको भुमरीमा पऱ्‍यो। मुमा तत्कालै कुनै सुरक्षित स्थानमा भाग्न चाहनुहुन्थ्यो। तर नाजी अधिकृतहरूले हामीलाई कहीं पनि चल्नै दिएनन्‌। त्यसपछि, १९४४ को ग्रीष्म ऋतुमा रूसी फौज पूर्वी प्रसियातर्फ अघि बढ्‌न थाल्यो। फलतः जर्मनहरूले लिक तथा त्यसका वरिपरिका इलाकाहरूबाट भाग्ने निधो गरे। जुलाई महिनाको एक दिन, आ-आफ्नो घर छोडेर भाग्न हामीलाई जम्मा छ घण्टा समय दिइयो।

आतंकित थुप्रै यात्रीहरू

मेरी मुमाको त होस हवासै गुम भयो। के के लग्ने हो? कहाँ जाने? कसरी यात्रा गर्ने? हामी फर्केर आउनसक्ने हो कि होइन? हरेक परिवारले अत्यावश्‍यक मालसामान मात्र लान सम्भव थियो। मुमाले बुद्धि पुऱ्‍याएर बोसो र बेकन राखिएको घ्याम्पोलगायत बोक्न सकिने अन्य आवश्‍यक कुराहरू मात्र तयार पार्नुभयो। अरू परिवारहरूले भने आफ्नो बहुमूल्य धनसम्पत्तिहरू बोकेर हिंडे।

अक्टोबर २२, १९४४ मा रूसी सेनाहरू पूर्वी प्रसियामा प्रवेश गरे। एक लेखक बताउँछन्‌: “आफ्नै आँखाअगाडि परिवारको निर्मम हत्या गरिएको तथा घर र अन्‍नबाली जलाइएको देखेका रूसी सेनाहरूले बदला लिन खोज्नु कुनै अनौठो कुरा थिएन।” पूर्वी प्रसियाभरि आतंक मच्चियो र आतंकित भई मानिसहरू भागे।

त्यस बेला हामी पूर्वी प्रसियाको पश्‍चिमी भेकमा शरणार्थी जीवन बिताइरहेका थियौं। बाल्टिक समुद्री मार्ग पछ्यायो भने मात्र त्यहाँबाट उम्कन सम्भव थियो। तसर्थ, सबै मानिसहरू डेन्जिङ शहरको (हाल गिडेन्सक, पोल्याण्ड) बन्दरगाहतर्फ ओइरिए। आपत्‌कालीन बचाउकार्यको निम्ति त्यहाँ जहाजहरू राखिएका थिए। जर्मनीको भिल्हेल्म्‌ गुस्टलोफ नामक यात्रुवाहक जहाजसम्म पुऱ्‍याउने रेल हामीले भेट्‌न सकेनौं। उक्‍त जहाजले जनवरी ३०, १९४५ मा डेन्सीग नजीक जिडेनियाबाट आफ्नो यात्रा सुरु गऱ्‍यो। पछि पो हामीले थाह पायौं, त्यो जहाज रूसी पनडुब्बीको आक्रमणले डुबेर ठिहिऱ्‍याउने पानीमा सालाखाला ८,००० जना यात्रुहरूको ज्यान गएछ।

समुद्री मार्गबाट उम्कने बाटो बन्द भएपछि हामी पश्‍चिमतर्फ लाग्यौं। सुरुमा उल्लेख गरिएझैं, पल्टनबाट केही दिनको बिदामा आउनुभएको बेला बुबा हामीसँगै रेल यात्रामा आउनुभयो। तर उहाँ हामीसँग धेरै बस्न नपाइ सैनिक सेवामा फर्किनुपऱ्‍यो र हामीले बुबाबिना नै लामो तथा जोखिमपूर्ण यात्रा गर्नुपऱ्‍यो। अलिअलि खानेकुरा निकाल्नुहुँदै मुमाले बोसो राखिएको घ्याम्पो खूब हिफाजत गरेर राख्नुभयो। हामीले यात्रामा किनेका खानेकुरासँग बोसो चुपुरचुपुर खायौं र हिउँदका लामो चिसो दिनहरूमा त्यसले हाम्रो जीवन धान्यो। सुन वा चाँदीभन्दा पनि बोसो राखिएको त्यो घ्याम्पो बहुमूल्य साबित भयो!

अन्ततः हामी स्टारगार्टमा पुग्यौं। त्यहाँ रेलवे स्टेशन नजीकै जर्मन सेना र रेड क्रसले सुप र पाउरोटी वितरण गर्ने व्यवस्था मिलाएको थियो। भोको बच्चालाई त्यो सुपजस्तो मीठो त अरू के नै लाग्थ्यो र। केही समयपश्‍चात्‌, भोकले रन्थनिनुका साथै लखतरान भएर ह्‍यामवर्ग पुग्यौं। तर ज्यान जोगिएकोमा हामी साह्रै खुशी थियौं। युद्धमा समातिएका रूसी तथा पोलिश कैदीहरूसँग हामीलाई एल्बे नदी पारिपट्टि राखियो। मे ८, १९४५ मा युरोपमा युद्धविराम भएपछि हाम्रो अवस्था अत्यन्तै नाजुक भयो।

शरणार्थी जीवन

बुबालाई अमेरिकीहरूले कैदी बनाए। तर उहाँ संगीतकार हुनुहुन्छ भन्‍ने थाह पाएपछि तिनीहरूले उहाँको राम्रो हेरविचार गरे। तिनीहरूले उहाँलाई स्वतन्त्र दिवस समारोहमा उहाँको सांगीतिक कला प्रदर्शन गर्न लगाए। केही समयपश्‍चात्‌, कैदबाट भागेर उहाँ ह्‍यामवर्ग आउनुभयो र हाम्रो आनन्दमय पुनर्मिलन भयो। हामी सानो घरमा बस्न थाल्यौं। अनि हजुरआमा र बज्यै पनि सकुशल आइपुग्नुभयो अनि हामी सबै जना सँगै बस्न थाल्यौं।

तथापि, समयको अन्तरालमा हाम्रै लुथरन चर्चलगायत स्थानीय बासिन्दाहरूले थुप्रै शरणार्थीहरूलाई हैरान गर्न थाले। एक दिन साँझपख हाम्रो घरमा पादरी आएका थिए। हाम्रो शरणार्थी जीवनको खिल्ली उडाउँदै तिनले जानाजानी हामीलाई रीस उठाएजस्तो लाग्यो। बुबा एकदमै हट्टाकट्टा हुनुहुन्थ्यो, उहाँ रीसले चूर हुनुभयो र त्यस प्रचारकमाथि जाइलाग्नुभयो। मुमा र हजुरआमाहरूले उहाँलाई रोक्नुभयो। तैपनि उहाँले त्यस पादरीलाई जुरुक्क उचालेर ढोकाबाहिर घोक्राएर निकाल्दिनुभयो। त्यस दिनदेखि त धर्मबारे कसैले पनि चुइँक्क कुरा नगर्नु भनेर उहाँले भन्‍नुभयो।

यस घटनाको केही दिनमै बुबाले जर्मन रेलवेमा जागिर पाउनुभयो। अतः हामी ह्‍यामवर्गबाहिर बसाइँ सऱ्‍यौं र त्यहाँ रेलको थोत्रो डिब्बामा जीवन बिताउन थाल्यौं। पछि बुबाले सानो घर बनाउनुभयो। तर शरणार्थीहरूप्रतिको घृणा चर्किंदै गयो। मैले सानो छँदा पनि शारीरिक तथा भावनात्मक रूपमा स्थानीय बालकहरूबाट अचाक्ली दुर्व्यवहार सहनुपऱ्‍यो।

हाम्रो परिवारको धर्म छनौट

सानो छँदा म र मेरी दुवै हजुरआमाहरू एउटै कोठामा सुत्थ्यौं। धर्मको विषयमा कुरै नगर्नु भन्‍ने बुबाले आज्ञा गर्नुभए तापनि उहाँ घरमा नहुनुभएको बेला दुवै हजुरआमाहरूले मलाई परमेश्‍वरबारे बताउनुहुन्थ्यो। भजन गाउनुहुन्थ्यो र बाइबल पढ्‌नुहुन्थ्यो। आध्यात्मिक कुराप्रति मेरो चासो जाग्यो। अतः दस वर्षको भएपछि करिब एघार किलोमिटर पैदल हिंडेर आइतबारे चर्च धाउन थालें। तथापि, मेरा थुप्रै प्रश्‍नहरूका चित्तबुझ्दो जवाफ पाउन नसकेपछि म साह्रै निराश भएँ।

पछि, १९५१ को ग्रीष्म ऋतुमा सुकिलो पोसाक लगाएका एक जना मानिसले हाम्रो ढोका ढकढक्याए। अनि मुमालाई एक प्रति प्रहरीधरहरा पत्रिका दिए। तिनले भने, “प्रहरीधरहरा-मा परमेश्‍वरको राज्यको अन्तरदृष्टि पाउन सकिन्छ।” म खुशीले गद्‌गद भएँ किनकि मैले खोजिरहेको कुरा त्यही थियो। बुबाले धर्मको विरोध गर्नुहुने हुनाले पत्रिका राख्दिनँ भनेर मुमाले विनम्रतासाथ भन्‍नुभयो। तथापि, मैले साह्रै ढिपी गरेकोले मेरोलागि एक प्रति पत्रिका लिनुभयो। केही समयपश्‍चात्‌, अर्नेस्ट हिबिङ पुनः आएर “परमेश्‍वर सत्य ठहरिऊन्‌” पुस्तक दिए।

यसै समयतिर कार्यस्थलमा बुबाको दुर्घटना भयो र खुट्टा भाँचियो। फलतः उहाँ घरमै थन्किएर बस्नुपर्ने भयो त्यसैले उहाँ दिक्क मान्‍नुहुन्थ्यो। उहाँको खुट्टा प्लास्टर गरिएको भए तापनि खल्च्याङखल्च्याङ गर्दै यताउति हिंड्‌न सक्नुहुन्थ्यो। उहाँ दिनभरि चाहिं बेपत्ता हुनुहुन्थ्यो र खाना खाने बेलामा मात्र टुप्लुक्क आइपुग्नुहुन्थ्यो। त्यसैले, हामी छक्क परिरहेका थियौं। हप्ताभरि नै उहाँ त्यसै गर्नुहुन्थ्यो। मैले के थाह पाएँ भने बुबा बेपत्ता हुनुहुँदा मेरो पुस्तक पनि गायब हुन्थ्यो। पछि, एक दिन खाना खाने समयमा उहाँले मलाई भन्‍नुभयो: “त्यो मान्छे फेरि आयो भने मलाई भेटाउनु है।”

भाइ हिबिङ पुनः आउनुहुँदा बुबाले हामीलाई तीन छक पार्नुभयो। उहाँले पुस्तक टेबलमा बजार्दै भन्‍नुभयो: “यो पुस्तक नै सत्य हो!” तुरुन्तै बाइबल अध्ययन सुरु भयो र पछि परिवारका अन्य सदस्यहरूले पनि अध्ययन गर्न थाले। भाइ हिबिङ मेरो भरोसायोग्य सल्लाहकार तथा साँचो मित्र भए। केही समय नबित्दै, भर्खरै सिकिरहेका विश्‍वास अरूलाई बाँडेको कारण म सन्डे स्कूलबाट बहिष्कृत भएँ। अतः लुथरन चर्चबाट पनि राजीनामा लिएँ।

सन्‌ १९५२ मा मेरा यी प्रिय मित्रसँग परमेश्‍वरको राज्य सुसमाचार घर-घरमा प्रचार गर्न थालें। भाइ हिबिङले प्रत्येक आइतबार घरधनीहरूलाई समाचार प्रस्तुत गर्दा मलाई ध्यान दिएर सुन्‍न लगाउनुहुन्थ्यो। केही हप्तापश्‍चात्‌, घरैघर भएको ठाउँ देखाउनुहुँदै उहाँले भन्‍नुभयो: “त्यहाँ तिमी एक्लैले प्रचार गर्नुपर्छ।” समयको दौडान, मेरो डराउने बानी चट्ट हरायो अनि मानिसहरूसँग राम्ररी कुराकानी गर्न तथा तिनीहरूलाई बाइबल साहित्यहरू प्रस्तुत गर्नसक्ने भएँ।

केही समय नबित्दै यहोवाप्रति आफ्नो समर्पणलाई बप्तिस्माद्वारा प्रतीकात्मक रूप दिन योग्य भएँ। मार्च २९, १९५३ मा बुबा र मैले सँगै बप्तिस्मा लियौं। त्यही वर्षको अन्तमा मुमाले पनि बप्तिस्मा लिनुभयो। अन्ततः मेरी दिदी एरिका; दाजुहरू हिन्ट्‌स, हर्बट र भर्नर तथा ८० वर्ष नाघिसक्नुभएका हाम्रा अति प्रिय दुवै हजुरआमाहरूलगायत परिवारका सबै सदस्यले बप्तिस्मा लिनुभयो। त्यसपछि, जनवरी १९५९ मा म पूर्ण-समय सेवक अर्थात्‌ अग्रगामी भएँ।

नयाँ ठाउँमा सेवकाई

बुबाले सधैं मलाई जर्मनी छोड्‌न कर गर्नुहुन्थ्यो। मेरो विचारमा, यहूदी विरोधी कुराहरूका कारणले उहाँ जर्मनी छोड्‌न चाहनुहुन्थ्यो। पापुआ न्यु गिनी अथवा प्रशान्त टापुमा मिसनरी सेवा गर्न अस्ट्रेलियामा बसाइँ सर्नु प्रथम खुड्‌किलो हुनसक्छ भन्‍ने आशा लिएर त्यहाँ जान मैले निवेदन गरें। जुलाई २१, १९५९ मा दाजु भर्नर र म सँगै अस्ट्रेलियाको मेलबोर्न पुग्यौं।

केही हप्ता नबित्दै, मेल्भा पिटर्जसँग मेरो भेट भयो। तिनी फुट्‌स्क्रे मण्डलीमा पूर्ण-समय सेविका थिइन्‌ र सन्‌ १९६० मा हाम्रो विवाह भयो। हाम्रा दुइ छोरीहरू भए र तिनीहरूले पनि यहोवालाई प्रेम गरेर उहाँमा आफ्नो जीवन समर्पण गरेका छन्‌। परिवारको हैसियतमा पूर्णतया आध्यात्मिक लक्ष्यहरू पछ्याइरहन हामीले सरल जीवनशैली यापन गर्ने भरमग्दुर प्रयास गरेका छौं। आफ्नो स्वास्थ्यले साथ दिउञ्जेल मेल्भाले वर्षौंसम्म अग्रगामी सेवा गरिन्‌। हाल म क्यानबेरा शहरस्थित बेलकोनेन मण्डलीमा प्राचीन तथा अग्रगामीको हैसियतमा सेवारत छु।

केटाकेटी छँदा भोगेका अनुभवहरूबाट यहोवाले गर्नुहुने प्रबन्धहरूमा नै खुशी तथा सन्तुष्ट हुन मैले सिकेको छु। मुमाले बोक्नुभएको बोसो राखिएको घ्याम्पोले स्पष्ट पारेझैं, जीवनको निम्ति सुन वा चाँदी होइन, भौतिक आधारभूत आवश्‍यकताहरू पूर्ति भए पुग्छ भन्‍ने कुरा मूल्यांकन गर्न सकेको छु। अनि त्योभन्दा महत्त्वपूर्ण कुरा त परमेश्‍वरको वचन बाइबल अध्ययन गर्नु तथा त्यसका शिक्षाहरू जीवनमा उतार्नु हो।—मत्ती ४:४.

येशूकी आमा मरियमका गहन शब्दहरू साँच्चै सत्य छन्‌: “भोकाएकाहरूलाई उहाँले असल चीजहरूले तृप्त पार्नुभएको छ, औ धनीहरूलाई उहाँले रित्तै पठाउनुभएको छ।” (लूका १:५३) सातजना नातिनातिनीहरू लगायत परिवारका ४७ सदस्यहरू बाइबल सच्चाइमा हिंडेको देख्न पाउनु मेरोलागि खुशीको कुरा हो। (३ यूहन्‍ना ४) यसबाहेक थुप्रै आध्यात्मिक छोराछोरी तथा नातिनातिनीहरूसँगसँगै मेल्भा र म अद्‌भुत भविष्यको चिर प्रतीक्षामा छौं। त्यतिखेर हामी यहोवाको कोमल रेखदेखमा सुरक्षित हुनेछौं र हाम्रा प्रिय जनहरूको पुनरुत्थान हुँदा रमाइलो पुनर्मिलन हुनेछ।— कोर्ट हानको वृतान्तमा आधारित।

[पृष्ठ २१-मा भएको चित्र]

सन्‌ १९४४ मा रूसी सेनाहरू पूर्व प्रसियातर्फ लम्कँदै

[स्रोत]

Sovfoto

[पृष्ठ २३-मा भएको चित्र]

दाइ हिन्ट्‌स, दिदी एरिका, मुमा, दाइहरू हर्बट र भर्नर अनि अगाडिपट्टि म

[पृष्ठ २४-मा भएको चित्र]

मेरी पत्नी मेल्भासँग

[पृष्ठ २४-मा भएको चित्र]

बोसो राखिएको यस्तै घ्याम्पोले हाम्रो जीवन धान्यो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने