विश्वदर्शन
हैजा फर्कियो
झन्डै १०० वर्षपछि आश्चर्यजनक ढंगमा हैजा फेरि दक्षिण अमेरिकामा देखा परेको छ। लण्डनको द टाइम्स-ले यसो भन्छ: “सन् १९९१ देखि १४ लाख मानिसहरूलाई हैजा लागेको छ र तीमध्ये १०,००० जनाको मृत्यु भएको समाचार छ।” सन् १९९२ मा भारत, बंगलादेश र छिमेकी मुलुकहरूमा देखा परेको हैजाको नयाँ प्रकारको जीवाणु स्वास्थ्य अधिकारीहरूका निम्ति अर्को चिन्ताको विषय भएको छ। यसले अहिलेसम्म २,००,००० मानिसहरूलाई असर गरेको छ। पखालाको भयानक रूप नै हैजा हो र पर्याप्त उपचार उपलब्ध नभएको खण्डमा ७० प्रतिशतको मृत्यु हुन्छ। तर रोगको उपचारभन्दा रोग लाग्न नदिनु नै बेस हो। रोगबाट बच्न पिउने पानी र दूध उमाल्ने, झींगा भन्कन नदिने र नपकाई खाने सागसब्जीहरूलाई क्लोरिन पानीमा पखाल्ने जस्ता आधारभूत कदमहरू चाल्न सकिन्छ।
विश्व शान्तिबारे कुरा गर्दा
स्टकहोल्म अन्तरराष्ट्रिय शान्ति अनुसन्धानको १९९७ वार्षिकपुस्तक-अनुसार (अंग्रेजी) शीतयुद्ध ताक उल्लेखनीय भूमिका खेल्ने क्षेत्रीय युद्धहरू अब अन्त भएजस्तो छ। शीतयुद्धको अन्तिम वर्ष अर्थात् १९८९ मा ३६ वटा “ठूला सशस्त्र युद्धहरू” भए। सन् १९९६ मा त्यो संख्या घटेर २७ पुग्यो, त्यसमध्ये एउटा चाहिं भारत र पाकिस्तानबीचको भिडन्त आन्तरिक, घरायसी झगडा थियो। यसबाहेक, मृतकहरूको संख्याको आधारमा ती भिडन्तहरू त्यति भीषण नभएको अनुमान लगाइएको छ। “अरू कुनै पनि पुस्ता विश्व शान्तिको यति नजिक पुगेको छैन” भनी दक्षिण अफ्रिकाको अखबार द स्टार-ले बतायो। टाइम समाचारपत्रिका यसो भन्छ: “अमेरिकी प्रभुत्वको कारण . . . अमेरिकी नियन्त्रणले शान्ति प्रदान गरेको छ, मानव इतिहासले यस शताब्दीमा पहिला कहिल्यै अनुभव नगरेको अन्तरराष्ट्रिय शान्ति तथा सुव्यवस्था कायम भइरहेको छ।”
आकाशबाटै जम्मा गर्ने
केही अष्ट्रेलियाली पशुपालकहरूले आफ्ना असंख्य गाईवस्तुलाई जम्मा गर्न बिस्तारै उड्ने हलुका हवाईजहाजहरू प्रयोग गर्न थालेका छन् भनी अष्ट्रेलियाको ब्रिसबेनबाट प्रकाशित हुने अखबार द सन्डे मेल बताउँछ। क्वीनस्ल्याण्डका एक पशुपालकअनुसार उनले यी हवाईजहाज चलाएर भेडाबाख्राहरू जम्मा गर्दा कामदारहरूलाई दिनुपर्ने दुई हप्ताको पारिश्रमिक बचाए। तिनी भन्छन्: “घोडाको ठाउँ मोटरसाइकलले लियो र अब चाहिं मोटरसाइकलको ठाउँ यी अत्यन्तै हलुका हवाईजहाजले लिइरहेको छ।” यी हवाईजहाजमा श्रव्य क्यासेटहरू बजाउने उपकरण हुन्छ जसले रेकर्ड गरिराखेको कुकुरहरूको भुकाइ प्रसारण गर्छ। यो सुनेर तर्सिएका “भेडाबाख्राहरू भाग्न थाल्छन् र नजिकैको गोठमा छिर्छन्,” भनी त्यस लेखले बताउँछ।
“मृत्युका दूतहरू”
सम्पन्न पश्चिमी मुलुकहरूले विकासोन्मुख देशहरूलाई रोगहरूको “थप भार” बोकाइरहेका छन् भनी विश्व स्वास्थ्य संघको (डब्लु एच ओ) १९९७ रिपोर्टले बतायो। लण्डनको द डेलि टेलिग्राफ-ले रिपोर्ट गरेअनुसार विकासोन्मुख देशका मानिसहरूले पश्चिमी देशका मानिसहरूको नक्कल गर्दै धूम्रपान गर्ने, क्यालोरी र चिल्लो पदार्थ धेरै भएको खाना खाने र शारीरिक व्यायाम कम गर्ने गरेकाले मुटुसम्बन्धी रोग, मस्तिष्कघात, मधुमेह र केही खास प्रकारका अर्बुद रोगहरूको निकै वृद्धि भइरहेको छ। संसारभरि नै अहिले मानिसहरूको आयु लामो भए तापनि ‘गुनस्तरीय जीवनशैलीबिना यो लामो आयु हुनु बेकार हो’ भनी डब्लु एच ओ-का निर्देशक डा. पल क्लाइनहुसले भने। तिनी अझ यसो भन्छन्: “हामी मृत्युका दूतहरू हौं भन्ने पश्चिमी राष्ट्रका मानिसहरू शत प्रतिशत सही छन्।” स्वस्थ जीवनशैली बिताउन प्रोत्साहित गर्न डब्लु एच ओ-ले विश्वभरि नै तीव्र अभियानहरू चलाइरहेको छ। अन्यथा “सारा विश्वले नै दुःख भोग्नेछ” भनी यसले बताउँछ।
प्रारम्भिक अवस्थामै स्तनको अर्बुद रोग पत्ता लगाउने
ब्राजिलका स्त्रीहरूमा सबैभन्दा धेरै लाग्ने प्राणघातक रोग स्तनको अर्बुद रोग हो र यस रोगले १२ जनामा झन्डै एक जनालाई असर गर्छ भनी मेडिसिनो कनसेलो फेड्रल नामक ब्राजिली पत्रिका रिपोर्ट गर्छ। त्यस पत्रिकाले २५ वर्ष नाघिसकेका सबै स्त्रीहरूलाई नियमित तवरमा आफ्नो स्तन जाँच्न प्रोत्साहन दिन्छ। मेडिसिनो-ले ३५ र ४० वर्षबीचका स्त्रीहरूले पहिलोचोटि म्यामोग्राम गर्न थालेपछि ४० वर्ष पुगेर ५० वर्ष ननाघुञ्जेल दुई वर्षको एक चोटि र त्यसपछि हरेक वर्ष म्यामोग्राम गर्न सुझाउ दिन्छ। असाध्यै चिल्लो खाना खाने तथा परिवारमा अन्य स्त्रीहरूलाई स्तनको अर्बुद रोग भएका स्त्रीहरूलाई यो रोग लाग्ने सम्भावना बढी भए तापनि स्तनको अर्बुद रोग लागेका ७० प्रतिशत बिरामीहरूलाई कुनै यस्तो अत्यधिक खतरा थिएन। यस तथ्यले “प्रारम्भिक अवस्थामै रोग खुट्याउनुपर्ने सिद्धान्तको महत्त्वलाई प्रस्ट पार्छ” भनी मेडिसिनो-ले टिप्पणी गर्छ।—gbr14-2-NP हेर्नुहोस्।
संसारको सबैभन्दा जेष्ठ नागरिकको मृत्यु
गिनेस बूक अफ वर्ल्ड रेकर्ड-अनुसार संसारको सबैभन्दा जेठी नागरिक झाँ ल्वेज काँमानको अगस्त ४, १९९७ मा १२२ वर्षको उमेरमा मृत्यु भएको फ्रान्सिसी अखबार ले फिगारो-ले बतायो। झाँको जन्म दक्षिणपूर्वी फ्रान्सको आर्ल्समा फेब्रुअरी २१, १८७५ मा भएको थियो। तिनी जन्मिदाँ बिजुली बत्ती, फोनोग्राफ र सवारीसाधनको आविष्कार पनि भएको थिएन। सन् १८९६ मा विवाह गरेकी झाँको एउटी छोरी थियो र तिनी छोरीभन्दा ६३ वर्ष बढी बाँचिन् अनि तिनको एउटा नाति थियो जसको मृत्यु १९६३ मा भयो। आफू किशोरी छँदा सन् १८८८ मा चित्रकार भिन्सेन्ट भ्यान गगलाई भेटेको तिनलाई सम्झना थियो र सन् १९०४ का नोवेल पुरस्कार विजेता कवि फेडरिक मिस्ट्रलकी साथी थिइन्। झाँले लामो आयुको रहस्यबारे थुप्रै ठट्यौलीपूर्ण टिप्पणीहरू गरिन् जस्तै हाँस्ने, विभिन्न गतिविधिमा सक्रिय रहने र “ढुंगा पनि पचाउनसक्ने पेट हुनु” थियो।
दोभाषी बच्चाहरू
सानो बच्चाले आफ्नो मातृभाषा बोल्न सिक्दा त्यसको संयोजन मस्तिष्कको ब्रोका इलाका भनिने ठाउँमा हुन्छ। हालै न्यु योर्कको मेमोरियल स्लोन-केटरिङ क्यान्सर सेन्टरका अनुसन्धानकर्ताहरूले दुइटा भाषा बोल्ने बच्चाहरूले एउटा भाषा बोल्दा दिमागको कुन चाहिं भाग सक्रिय हुन्छ भनी हेर्न चुम्बकीय प्रतिध्वनि प्रतिरूप प्रणाली चलाए। सानो बच्चाले एकैचोटि दुइटा भाषा सिक्दा दुइटै भाषा ब्रोका इलाकाको एउटै भागमा सञ्चय भएको तिनीहरूले पाए। तथापि, युवावस्था वा पछि मात्र, दोस्रो भाषा सिक्दा यो एकै ठाउँमा छ्यासमिस हुनुको साटो पहिलो भाषासँगै भएको देखिन्छ। लण्डनबाट प्रकाशित हुने द टाइम्स-ले यस्तो टिप्पणी गर्छ: “मातृ भाषाको निम्ति ब्रोका इलाकामा क्षेत्रहरू तोकेर राखेको जस्तै हुन्छ र दोस्रो भाषाको लागि अर्कै ठाउँ बनाउनुपर्ने हुन्छ।” उमेर चढ्दै गएपछि नयाँ भाषा सिक्न किन गाह्रो हुन्छ भनी बुझ्न यस तथ्यले मदत गर्नसक्छ होला भनी अनुसन्धानकर्ताहरूले आशा राखेका छन्।
चीनमा बच्चा हुर्काउने चिन्ता
हालै चिनियाँ सामाजिक शास्त्र प्रज्ञा प्रतिष्ठानको तत्त्वावधानमा आमाबाबु र बच्चाबीचको सम्बन्धबारे विस्तृत रूपमा अध्ययन गरिएको चाइना टुडे-ले रिपोर्ट गर्छ। त्यस अध्ययनले आज बच्चाहरूलाई हुर्काउनेबारे थुप्रै आमाबाबुका चिन्ताहरू प्रकाश पाऱ्यो। चाइना टुडे-अनुसार “इमानदारिता, विनम्रता, धैर्य र हेरचाहजस्ता परम्परागत चिनियाँ नैतिकता सिकाउने हो या प्रतिस्पर्धाका आधुनिक लोकाचारहरू सिकाउने हो भनी आमाबाबुहरू अलमल्लमा परेका छन्।” टिभीले बच्चाहरूमा पार्ने नकारात्मक असरबारे झन्डै ६० प्रतिशत आमाबाबु चिन्तित थिए। समाचार अनुसन्धानकर्ता बु वाले आमाबाबुलाई बच्चाहरूको उमेर र व्यक्तित्वअनुसार कुन कुन टेलिभिजन कार्यक्रम हेर्न हुन्छ, निर्णय गर्न र कार्यक्रमहरूबारे बच्चाहरूसित छलफल गर्न अनि टेलिभिजनअगाडि बच्चालाई धेरै समय बिताउन नदिन सल्लाह दिए।
अझै नम्बर एक
इ एन आइ बुलेटिन यस्तो रिपोर्ट गर्छ: “अन्य पुस्तकहरूको दाँजोमा अझै पनि बाइबलकै धेरै प्रतिहरू प्रकाशित हुन्छन्। सर्वाधिक बाइबल वितरण हुने देशहरू चीन, संयुक्त राज्य र ब्राजिल हुन्। युनाइटेड बाइबल सोसाइटीको (यु बि एस) रिपोर्टअनुसार १९९६ मा सम्पूर्ण बाइबलका झन्डै दुई करोड प्रतिहरू वितरण भए। यो नयाँ कीर्तिमान थियो र १९९५ कोभन्दा ९.१ प्रतिशतले बढी थियो। “संसारका केही भागहरूमा अत्यधिक वितरण भए तापनि सबैलाई धर्मशास्त्र सर्वसुलभ गर्न अझ धेरै कार्य गर्नुपर्छ” भनी यु बि एस छापाखानाका संयोजक जोन बलले बताए।
सार्कको सबैभन्दा खतरनाक शत्रु?
सार्क भन्ने बित्तिकै साधारणतया मानिसहरूमा डर उत्पन्न हुन्छ। तर यसो हेर्दा उल्टो सार्क पो मानिससित डराउनुपर्ने थुप्रै कारणहरू देखिन्छ। सार्कको आक्रमणद्वारा प्रति वर्ष “पचास जना” मानिस पनि मर्दैनन् तर मछुवाहरूले वर्षेनी लगभग १०,००,००,००० सार्कहरू मार्ने अनुमान लगाइएको फ्रान्सिसी अखबार लि मोन्ड बताउँछ। थुप्रै सामुद्रिक जीवशास्त्रीहरूका लागि यो चिन्ताको विषय भएको छ। यस्तै तरिकाले सार्कको विनाश हुन थाल्यो भने सामुद्रिक सन्तुलनमा नै नराम्रो असर पार्ने डर सामुद्रिक जीवशास्त्रीहरूको छ। सामुद्रिक जनसंख्या नियन्त्रण गर्न सार्कले निर्णायक भूमिका खेल्छ। सार्कहरूको यौन परिपक्वता ढिला हुने र लामो समयसम्म गर्भधारण गरेर एउटा दुइटा मात्र बच्चा पाउने हुँदा कुनै कुनै प्रकारका सार्क जातिहरू लोप हुनसक्छ। सामुद्रिक विशेषज्ञहरू विशेषगरि “पखेटा काट्ने” चलनको विरोध गर्छन्। मछुवाहरूले भोजनको निम्ति पखेटा काटेपछि सार्कलाई समुद्रमै फालिदिन्छन् र तिनीहरू त्यहीं मर्छन्।
बेरोजगारीका तनाउहरू
सुडोइच जाइटुंग नामक जर्मन अखबारमा उल्लेख गरिएको अध्ययनअनुसार बेरोजगारीले उत्पन्न मानसिक र सामाजिक तनाउले स्वास्थ्यमा नै असर पार्नसक्छ। भनिन्छ, त्यस्तो तनाउले शरीरको रोग प्रतिरक्षा प्रणालीलाई नै कमजोर बनाउँछ। रोजगार मानिसहरूलाई भन्दा बेरोजगार मानिसहरूलाई उच्च रक्तचाप र हृदयघात हुने सम्भावना धेरै हुन्छ। जर्मनी, हानवभर विश्वविद्यालयका प्राध्यापक थोमस काइसेलबाक भन्छन्, “बेरोजगारहरूले सामना गर्नुपर्ने दीर्घकालीन तनाउ रोजगार मानिसले भोग्नुपर्ने भन्दा जटिल र खतरनाक हुन्छ।” “प्रायः सबै बेरोजगारहरू एउटा न एउटा प्रकारको नैराश्यले पीडित हुन्छन्।” भनिन्छ, युरोपेली संघमा बेरोजगारहरूको संख्या डेनमार्क, फिनल्याण्ड र स्वीडेनको कुल जनसंख्या बराबर छ।