दूधे घाँस—आज्टेकहरूको भोजन
मेक्सिकोका ब्यूँझनुहोस्! संवाददाताबाट
एलेग्रीया एकप्रकारको पोषिलो स्पेनी मिठाईको नाउँ हो र उक्त शब्दको अर्थ “आनन्द” वा “खुसी” हो। यो प्रायजसो मेक्सिकाली खाद्य बजारका रंगीचंगी पसलहरूमा पाइन्छ। यो चहकिलो रातो रंगको फूल फुल्ने उष्णप्रदेशीय बोट अर्थात् दूधे घाँसका बीउहरूबाट बनाइन्छ। यो मिठाईमा अप्रशोधित मह मिसाइन्छ र कहिलेकाहीं ओखर, सल्लोको फल र किसमिस पनि राखिन्छ। दूधे घाँसको बीउ पिसेर खाद्यान्न वा मैदा बनाएर त्यसबाट पाउरोटी वा केक तयार पार्न सकिन्छ।
आज्टेकहरूले दूधे घाँसको पीठोबाट टर्टिला र टमाले बनाउँथे। तिनीहरूका धार्मिक विधिहरूमा पनि दूधे घाँसको भूमिका महत्त्वपूर्ण हुन्थ्यो। मेक्सिको शहरको द न्युज-ले यसो भन्यो: “आज्टेकहरूको एउटा रीतिअनुसार आफूले बन्दी बनाएर [मारेका] शत्रुहरूमध्ये एक जनाको रगतमा दूधे घाँसको रोटी चोपेर खान्थे।” अर्को चलन थियो, दूधे घाँसको बीउलाई पिसेर मकै र महसित मिसाएर स-साना मूर्ति तथा देवीदेवताहरू बनाउने। पछि यी मूर्तिहरू क्याथोलिकहरूको कम्युनियनमा जस्तै प्रसादको रूपमा खाने गर्थे।
यी प्रचलनहरू देखेर स्पेनी विजेता अर्नान कोर्टेसलाई रिस उठ्यो र तिनले दूधे घाँसको खेतीपाती गर्नु तथा खानु गैरकानुनी ठहराए। तिनको आदेश उल्लंघन गर्न आँट गर्ने व्यक्ति मारिन्थ्यो या त्यसको हातै काटिन्थ्यो। तसर्थ, त्यतिबेला मेक्सिकोको सबैभन्दा महत्त्वपूर्ण बाली झन्डै झन्डै लोप हुने अवस्थामा पुग्यो।
तथापि, दूधे घाँस निमिट्यान्न भएन र मध्य अमेरिकादेखि हिमालय क्षेत्रसम्म फैलनसक्यो। गत शताब्दीदेखि यो चीन, भारत, नेपाल, पाकिस्तान तथा तिब्बतका पहाडी जनजातीहरूको मुख्य खाद्यान्न भएको छ।
मेक्सिकोका अनुसन्धानकर्ताहरूले भने हालै उक्त दूधे घाँसको बीउको प्रोटिनबाट गाईको दूध जत्तिकै पोषिलो दूध निकाल्न प्रयास गरिरहेका छन्। तिनीहरूको लक्ष्य हो, अण्डा, दूध, माछामासु किन्ने औकात नभएकाहरूका निम्ति यसबाट पोषिलो खाद्यान्न तथा पेयपदार्थ प्रदान गर्ने।
दूधे घाँसको दर्दनाक इतिहासको बावजूद अझै पनि थुप्रै मानिसहरू यस बहुउपयोगी पौष्टिक भोजन रमाई रमाई खाने गर्छन्।