विश्वदर्शन
पोषणरहित उपज?
के माटोको उर्बरा शक्ति कम भएकोले फलफूल र तरकारी पोषणरहित भएको हो? माटो वैज्ञानिकहरू भन्छन्, होइन। क्यालिफोर्नियाको बर्क्ले वेल्नेश विश्वविद्यालय लेटर-ले भन्छ: “बोटबिरुवाहरूले आफूलाई चाहिएको भिटामिनहरू आफै बनाउँछन्।” त्यसैले, यदि माटोमा आवश्यक तत्त्व कम छ भने, बिरुवाहरूनै राम्रोसँग बढ्नैसक्दैनन्। बिरुवामा फूल नलाग्नसक्छ वा ओइलाएर मर्नसक्छ। बिरुवालाई मर्नबाट बचाउन कृषकहरू माटोमा मलजल हाल्छन्। वेल्नेश लेटर भन्छ: “यदि तपाईंले किनेको फलफूल र तरकारी हेर्दै रहरलाग्दा र भरिला देखिन्छन् भने, त्यो पोषणयुक्त छ, भनेर तपाईं ढुक्क हुन सक्नुहुन्छ।”
अपराध र जातीय भेदभाव
कसै-कसैले, ग्रीसमा हाल बढिरहेको अपराधको दोष, पूर्वीय युरोप, बाल्कान्स र विशेष गरी अल्बेनियाबाट ओइरिरहेका शरणार्थी र बसाइँ सर्नेहरूलाई लगाएका छन्। ट भिम समाचार पत्रको स्तम्भकार रिकार्डोस सोमेरिटीस भन्छन्, बढ्दो अपराधले विदेशीहरूदेखि डराउने र अक्सर तिनीहरू विरुद्ध उग्र जातीय भेदभाव पैदा गरेको छ। यद्यपि, विदेशीहरूले ग्रीसवासीको तुलनामा अपराध र हिंसामा कमै भाग लिएको बुझिन आएको छ। उदाहरणको लागि, सर्वेक्षण अनुसार “१०० मा ९६ वटा अपराधहरू ग्रीसहरूद्वारा नै भइरहेका छन्” भनेर समाचारपत्रले बताउँछ। सोमेरिटीस भन्छ, “यहाँ भइरहेको अपराध आर्थिक र सामाजिक कारणहरूले गर्दा भएको हो”, “ ‘जातीय भेदभाव’ ले होइन।” ग्रीसमा भइरहेको अपराधले “विदेशीहरूसित डराउने भाव र जातीय भेदभाव” सृष्टि गरिरहेको छ भनेर उनी दोष दिन्छन्।
लोप हुनैलागेको मृग चीनमा पुनः फेला पारियो
चाइना टुडे पत्रिकाले बताएअनुसार, लगभग ५० वर्षभन्दा अघि विलुप्त मानिसकिएको तिब्बती रातो मृगलाई, चीनको स्वशासित राज्य तिब्बतमा पुनः फेला पारिएको छ। लगभग ४ फुट अग्लो र ११० किलो ओजन भएको रातो मृग, तिनीहरूको किम्मती सिङ हासिल गर्न सिकारीहरूले मारेर तिनीहरूको संख्या धेरै घटाइदिए। तिनीहरूको संख्या घट्नुको अर्को मुख्य कारण युद्ध र दूषित वातावरण पनि हो। यस्तो सुन्दर मृगको संख्या आज २०० भन्दा पनि कम छ भनेर अनुमान लगाइएको छ। त्यसैले यस जातको मृगलाई दुर्लभ जातिको वर्गमा समावेश गरिएको छ।
गंगा नदीमा पर्व
अप्रिल महिनामा मनाइने कुम्भमेला वा घडा पर्व सकिने बेला लाखौं हिन्दूहरू गंगा नदीमा स्नान गर्छन्। अमरताको वरदानको उत्सवको रूपमा मनाइने हिदू पर्व, कुम्भमेला तीन महिना लामो हुन्छ। प्रत्येक तीन वर्षको अन्तरालमा यो पर्व भारतको चारवटा नगरहरूमा पालैसँग मनाइन्छ। पौराणिक कथा अनुसार, स्वर्गमा देवताहरू र दैत्यहरूबीच घमासान युद्ध हुँदा अमरताको सञ्जीवनी पृथ्वीलोकमा यीनै चार नगरहरूमा झरेको थियो भन्ने मानिसहरूको धारणा छ। बितेका समयमा भारतको गंगा नदीको पवित्र पानीमा नुहाउन ओइरो लागेका भीडका-भीड मानिसहरूले गर्दा थुप्रै किच्चिएर मरेका थिए।
विश्व आगलागी
झाँ पाल, झाँरेनो प्रकृतिका लागि विश्व कोष नामक अन्तरराष्ट्रिय संगठनको वन्य कार्यक्रमका हाकिम भन्छन्, “१९९७ लाई विश्व आगलागी वर्ष भनेर मानिनेछ।” किनकि त्यस वर्ष अन्टार्टिका बाहेक सबै महादेशहरूमा भयानक आगलागी भयो। उदाहरणको निम्ति, इन्डोनेसिया र ब्राजिलमा मात्र स्वीटजरल्याण्डको क्षेत्रफल जत्रो वहुमुल्य वृक्षभूमी सखाप भयो। खेतीपाती गर्न जानाजानी जंगलमा डढेलो लगाउनेदेखि लिएर एल निन्यो भन्ने प्रतिकूल हावापानीले गर्दा भएको सुखापनलाई यस्तो आगलागीको कारण मानिन्छ। जैविक इन्धनबाट निस्कने कार्बन डाइ अकसाइडले वायु प्रदुषण र विश्वभरि तापक्रम बढाउँछ भनेर को दी इन्डिपेन्डेन्ट समाचारपत्रले बताउँछ। श्री. झाँरेनो यो चेताउनी दिन्छन्: “हामीले भयानक बरबादीको चक्र सृजना गरिरहेका छौं, किनकि हावापानी हुने परिवर्तनले आगलागी हुन्छ भने आगलागीले गर्दा हावापानीमा परिवर्तन हुन्छ।”
थप क्यालसियमको आवश्यकता
“शरीरको हड्डी राम्ररी बढ्न युवाहरूलाई प्रशस्त क्याल्सियमको आवश्यकता पर्छ,” भनेर जर्मनी गेजुन्टहाइट इन भोर्ट अन्ट बील्ट (शब्द र चित्रमा स्वास्थ) समाचारपत्रिकाले सल्लाह दिन्छ। डाक्टरहरूको सल्लाहअनुसार, दिनमा १,२०० मिलीग्राम कैल्सयम लिनुपर्छ तर आज जर्मनीमा १५ देखि १९ वर्ष बीचका ५६ प्रतिशत युवतीहरू र ७५ प्रतिशत युवाहरूले मात्र त्यति क्यालसियम पाइरहेका छन्। “युरोपभरिका बालिकाहरूलाई क्याल्सियम पुगेकै छैन,” भनेर युरोपेली अस्टीओपोरसिस संस्थानकी मेरी फ्रेजर नाउ गरेकी एक महिला भन्छिन्। यद्यपि, लामो समयसम्म शरीरमा क्यालसियमको कमी हुँदा मानिसलाई पछि अस्टीओपोरोसिसको (क्याल्सियमको कमीद्वारा हड्डीमा हुने रोग) रोगी हुनसक्छ। “त्यसैले चीज, दूध, दही, तिलको दाना, ढुसे घाँसको दाना, भटमास, हरियो सागपात, किसमिस र माछा,” जस्ता क्याल्सियमयुक्त भोजन हुन् भनेर उक्त समाचारपत्र उल्लेख गर्छ।
मृत्युलाई हल्का ठान्ने
झुर्नल डु ब्राजिल यसो भन्छ, “फिल्म र टेलिभिजनमा अभिनेताले मानिसको ज्यान कति हलुकासँग लिइरहेका हुन्छन्। आमाबाबु र शिक्षकहरूले बच्चालाई त्यसको प्रभावबाट जोगाउन अर्थात् अरूको ज्यान लिनु हल्का कुरा होइन भनेर सतर्क गराउनु पर्छ।” आज १० प्रतिशत अपराध १३ वर्षभन्दा कम उमेरका बच्चाहरूले गर्छन् भनेर रियो दे जेनेरो (ब्राजिल स्थित विश्व सर्वसुन्दर बन्दरगाह) अध्ययनले खुलस्त पार्छ। उक्त लेखले अझ यसो भन्छ, यस्ता बच्चाहरू बन्दुक भिर्छन्, स्कूलका साथीहरूलाई आक्रमण गर्छन्, अपांग बनाउछन् अनि मार्छन् त्यतिमात्र नभएर आफ्नै उमेरकाहरूसँग यौन दुर्व्यवहारसमेत गर्छन्।” मानसिक चिकित्सक अल्फ्रेडी कास्ट्रो नेटो भन्छन्: “आजको हाम्रो संस्कृतिले बच्चाहरूलाई पागल बनाइदिन्छ, जसरी फिल्मका अभिनेताले दुस्मनलाई मारेर आफूले चाहेको चीज प्राप्त गर्छ, तिनीहरूको मनमा पनि त्यस्तै विचार हाली दिन्छ।” बच्चालाई खेल्न बन्दुकको सट्टा अनेकौं शिक्षावर्धक खेलौनाहरू पनि त छ भन्दै शिक्षिका जुजेफे पेक यसो भन्छिन्, “अरूको ज्यान लिन खप्पिस अभिनेताको प्रतिरूप अमानवीय मात्र नभएर अवास्तविक पनि हो र तिनीहरूले प्रयोग गरेका ती हतियारहरू शक्तिको प्रतीक होइन बरू मानिसहरूको ज्यान लिने कुराहरू हुन् भनेर बुझाउनु आवश्यक छ।”
विरामीलाई लुट्ने
जर्मनीको अस्पतालहरूमा चोरहरूले हैरान पारिरहेका छन्। कोलोनको विश्वविद्यालय अस्पतालको रिपोर्टअनुसार, वर्षमा ३०० जति चोरी हुन्छ,” भनेर इम्सडेट्नर टागब्लट समाचारपत्रले बताएको छ। “हातमा सुन्दर फूलको गुच्छा, ओठमा मीठो मुस्कान लिएर चोर निश्चिन्त भई अस्पतालभित्र पस्छ।” रोगीलाई भेट्न आउने आफन्तको नाटक गरेर रोगीको खाट, टेबलदेखि कपडा राख्ने दराज सबै ठाउँमा हात लामो पार्छ। वृद्ध रोगीहरूलाई लुट्नु झन् सजिलो हुन्छ। उदाहरणका लागि, एक वृद्धले आफ्नो सिरान मुनि हजारौं जर्मन मार्क राखेको भेटियो। अस्पतालभित्र पस्न प्रतिबन्ध नलागेको समयमा चोरहरूले राम्रो मौका छोप्छन् अनि जोसुकै पनि भित्र पस्न पाउँछन्। यसैकारण, अस्पतालमा रोगीहरूलाई पैसा वा कुनै पनि मूल्यवान् सामानहरू छ भने अस्पतालको सेफमा वा अन्य कतै ताल्चा लगाएर राख्नु वा सुरक्षाको निम्ति कोही भरपर्दो लाग्दो व्यक्तिको जिम्मामा राख्ने सुझाव दिइन्छ।
कर्णछाप
लन्डनमा हालसालै एउटा चोरको आफ्नै कानले गर्दा पक्राउ पऱ्यो। कसरी? हुन त, त्यो चोर घटनास्थलमा कतै पनि अंगुठाछाप नभेटियोस् भन्ना खातिर होसियार भई काम गर्थ्यो। तर घरभित्र पस्न अघि भित्र कोही छ कि छैन थाह लगाउन झ्यालमा या त ढोकाको साँचो लगाउने प्वालमा कान टाँसेर सुन्ने उसको बानी थियो। त्यसो गर्दा त्यहाँ उसले कानको छापचाहिं छोड्थ्यो। “कर्णछाप र अंगुठाछाप छुट्टा छुट्टै हुन्छ” भनी स्कटल्याण्डको ग्लासगो विश्वविद्यालयका प्राध्यापक फोरेन्सीक प्याथोलोजिस्ट प्रोफेसर पिटर भ्यानेसिसले भन्छन्। लन्डनको द डेली टेलीग्राफ बताउँछ, कान, अंगुठाछापजस्तै त हुँदैन, यो केश र नङजस्तै मानिसको कद जति-जति बढदै जान्छ यो पनि उति नै बढ्दै जान्छ। तरैपनि, हाम्रो कानको नाप जत्रोसुकै किन नहोस्, त्यो चोरको जस्तै हरेकको कानको छाप अंगुठाछापजस्तै एकाअर्कासँग पटक्कै मिल्दैन भनेर प्रहरीलाई थाह छ। बेलाइतमा पहिलो चोटी कानको छापको प्रमाणद्वारा पक्राऊ पर्ने चोर यही हो। साथै उसले यस अघि पनि पाँचचोटी चोरी गरिसकेको मानिलियो।