विश्वदर्शन
रेडियोधर्मी रत्नहरू
बैंककका एक व्यापारीलाई बेचेका रत्नहरू रेडियोधर्मी भएको थाह पाउँदा अन्तरराष्ट्रिय बजारमा तहल्का मच्चियो। एक अनुभवी रत्न व्यापारी शाहबुदीन निजामुदीनलाई कुनै पनि रत्नले मुनाफा दिने हो या होइन हेर्नेबित्तिकै थाह भइहाल्छ। त्यसैले एक इन्डोनेसियाली व्यापारीले क्याट्स आई नामक ५० वटा रत्न अत्यन्तै सस्तो भाउमा बेच्दा तिनले किनिहाले। “ती असाध्यै गाढा खैरो रंगका थिए र बीचमा बिरालोको आँखाको नानीजस्तै फिक्का रंगले चिरिएको थियो,” एसियाविक-ले रिपोर्ट गर्छ। तथापि, ती रत्नहरूको टलकको स्रोत अर्कै भएको थाह पाइयो। महँगो भाउमा बेच्न रंग राम्रो देखाउन रेडियोधर्मी बनाइएको पत्ता लाग्यो। हंगकंगमा भएको अर्को गरगहना मेलामा एउटा रत्नमा एसियाली सुरक्षा स्तरभन्दा २५ गुना बढी विकिरण पाइयो। “अहिलेसम्म त समस्या क्याट्स आई नामक रत्नमै सीमित छ,” त्यस पत्रिकाले बताउँछ।
पढ्ने बानी
जर्नल डा टार्डे-को रिपोर्टअनुसार ब्राजिलीहरूले वर्षेनी सरदर २.३ पुस्तक पढ्छन्। स्कूल सकेपछि प्रायः ब्राजिलीहरूले किताब पटक्कै पढ्दैनन्। संस्कृति मन्त्रालयका सचिव ओट्याभ्यानो दि फोयरअनुसार “मुख्य समस्या त ब्राजिलका” बच्चाहरूले स्कूलमा “६० प्रतिशत किताबहरू पढ्नै पर्ने बाध्यताको कारण मात्र पढेका हुन्।” त्यस अखबार यसो भन्छ: “बाँकी ४० प्रतिशत प्रायः धार्मिक र दार्शनिक, यौन वा व्यक्तित्व विकाससम्बन्धी पुस्तकहरू हुन्छन्।” पढ्ने बानी सन्दर्भमा दि फोयर भन्छन्: “बच्चाहरू घरमा, स्कूलमा टिभी वरिपरि जम्मा हुन्छन्। घरमा पढ्ने मानिसहरू कोही छैनन् भने बच्चाले पढ्ने प्रेरणा कहाँबाट पाउने?” तिनी अझ भन्छन्: “जहाँसम्म लोकप्रिय टिभी च्यानलहरूको सवाल छ, यसले पढ्न कहिल्यै प्रेरणा दिंदैन।”
बाटोघाटोले लिने समय
इटालीका प्रमुख शहरका बासिन्दाहरूले घरदेखि काम वा घरदेखि स्कूल आउनजान निकै समय बिताउँछन्। कति समय बिताउँछन्? एक इटालेली वातावरणीय संगठन लागामबाइन्टेअनुसार नेपलवासीहरूले प्रत्येक दिन १४० मिनेट बाटोमा बिताउँछन्। मानिसको सरदर आयु ७४ वर्ष हुने अनुमान लाउँदै हिसाब गर्दा एक नेपलवासीले बाटोघाटोमा आफ्नो जीवनको ७.२ वर्ष बिताउँछ। प्रत्येक दिन बाटोमा १३५ मिनेट बिताउने एक रोमीले ६.९ वर्ष बिताउँछ। अरू शहरहरूको अवस्था पनि त्यत्तिकै नराम्रो छ। बोलोना शहरका मानिसहरूले ५.९ वर्ष गुमाउनेछन् र मिलानका मानिसहरूले ५.३ वर्ष गुमाउनेछन् भनी ला रिपबलिका अखबार बताउँछ।
गरिबी र वातावरण
आर्थिक वृद्धिको बावजूद विश्वभरि अझै १.३ अरबभन्दा बढी मानिसहरू दुई डलरभन्दा कम पैसामा दैनिक जिविका चलाइरहेका छन्। सं.रा.-को रिपोर्टअनुसार गरिबी विद्यमान मात्रै होइन झन् झनै बिग्रँदो छ। आज एक अरबभन्दा बढी मानिसहरूले २०, ३० वा ४० वर्षअघिका मानिसहरूले भन्दा समेत कम पैसा कमाउँछन्। यसको फलस्वरूप वातावरणीय विनाश हुनजान्छ किनभने “गरिबीले प्राकृतिक स्रोतहरूको अत्यधिक उपयोग गर्न बाध्य बनाउँछ र चिरकालीन संरक्षण प्रयासहरूमा अवरोध खडा गर्छ,” युनेस्को सोर्स पत्रिका बताउँछ। “वर्तमान अवस्था हेर्ने हो भने क्यारेबियन राष्ट्रका जंगलहरू आउँदो ५० वर्ष पनि टिक्ने छैनन् . . . राष्ट्रिय स्तरमा हेर्ने हो भने परिस्थिति झनै खराब छ: फिलिपिन्समा ३० वर्षको लागि मात्र पुग्ने जंगल छ, अफगानिस्तानमा १६ वर्ष र लेबनानमा १५ वर्ष।”
घूसखोरी बन्द गर्ने प्रयास
यसलाई चीनमा ह्वाँलु; केन्यामा केटु केडोङगो भनिन्छ। मेक्सिकोमा युना मोर्डिडा भन्ने शब्द चलाइन्छ; रूसमा फिस्यात्के र मध्यपूर्वमा बकशिश भनिन्छ। थुप्रै राष्ट्रमा घूसखोरी दिनचर्याको एउटा भाग नै हो र कहिलेकाहीं व्यापार गर्न घूस नदिई हुँदैन, केही सामान हात पार्न वा न्याय पाउनसमेत घूस दिनुपर्छ। तथापि, हालै ३४ राष्ट्रले अन्तरराष्ट्रिय व्यापारिक कारोबारमा घूसखोरी बन्द गर्ने हेतुले एउटा सन्धिपत्रमा हस्ताक्षर गरेका छन्। यसमा आर्थिक सहयोग तथा विकास संगठनका २९ सदस्यहरूलगायत अर्जेन्टिना, चिली, बुलगेरिया, ब्राजिल, तथा स्लोभाकिया पनि समावेश छन्। भ्रष्टाचार विरुद्ध विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता विश्वका प्रमुख आर्थिक संगठनहरूले पनि कदम चालेका छन्। विश्व बैंकले गरेको एउटा सर्वेक्षणमा ६९ राष्ट्रमा गरिने ४० प्रतिशत व्यापार घूस दिनुपर्ने थाह पाएपछि यी कदमहरू चालिएका थिए। यी दुई संगठनहरूले भ्रष्टाचार विरुद्ध पाइला नचाल्ने देशहरूलाई अहिले आर्थिक सहयोगबाट वञ्चित गराउन सक्छन्।