प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ८/८ पृ. २९-३०
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हिंड्‌दा आयु लामो हुनसक्छ
  • केटाकेटीमाथि टिभीको असर
  • संगीतले केटाकेटीलाई फाइदा गर्छ
  • हाम्रो विश्‍वव्यापी भोजनको परिकार
  • धूम्रपानले गर्दा हुने मृत्यु
  • अंग दाताहरू
  • लोप भइरहेका जंगलहरू
  • विश्‍वव्यापी खाद्यान्‍न अभाव अनुमान गरिएको छ
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ८/८ पृ. २९-३०

विश्‍वदर्शन

हिंड्‌दा आयु लामो हुनसक्छ

दिनदिनै हिंड्‌दा आयु निकै लामो हुनसक्छ भनी एसियावीक बताउँछ। हिंड्‌न सक्ने अनि धूम्रपान नगर्ने ६१ देखि ८१ वर्षबीचका ७०७ जना मानिसहरूको १२ वर्षसम्म अध्ययन गरिएको थियो। “आरामसित दिनमा ३.२ किलोमिटर (दुई माइल) मात्र हिंड्‌ने मानिसहरूको पनि मृत्यु हुने खतरा ५०% ले कम भएको” उक्‍त प्रतिवेदनले बताउँछ। दिनमा ३.२ किलोमिटर हिंड्‌नेहरूको तुलनामा त्यति नहिंड्‌नेहरू विभिन्‍न प्रकारका क्यान्सरबाट मर्ने सम्भावना २.५ गुना बढी थियो। न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिन-मा प्रकाशित अध्ययनअनुसार दिनमा ०.८ किलोमिटर मात्र हिंड्‌दा पनि मृत्युको खतरा कम हुन्छ। पहिले पहिले शारीरिक स्वास्थ्य विशेषज्ञहरूले त्यस्तो हल्का व्यायामको प्रभावकारिताबारे शंका गरेका थिए। अब यो नयाँ अध्ययन यस निष्कर्षमा पुगेको छ: “वृद्धहरूलाई हिंड्‌ने प्रोत्साहन दिंदा तिनीहरूको स्वास्थ्य लाभ हुनसक्छ।”

केटाकेटीमाथि टिभीको असर

“कार्टुन तथा भिडियो गेमहरूले ६ देखि १२ वर्षबीचका केटाकेटीको आचरणमा स्कूलले भन्दा बढी असर गर्छ किनभने तिनीहरू हप्तामा ३८ घण्टासम्म टिभी हेर्छन्‌ जबकी कक्षाकोठामा २३ घण्टा मात्र बिताउँछन्‌” भनी मेक्सिकन अखबार एल युनिभर्सल रिपोर्ट गर्छ। अनुसन्धानकर्ता ओमार टोरेब्लान्काअनुसार टिभीले कस्तो अवस्थामा कस्तो मनोवृत्ति राख्नुपर्छ भनेर सिकाउँछ तर त्यो मनोवृत्ति राम्रो हो या नराम्रो बच्चालाई पत्तै हुँदैन। तिनी यसरी वर्णन गर्छन्‌: “कार्टुन वा फिल्ममा कुनै एउटा पात्रलाई पाता कस्दा नतिजा राम्रै भएको थियो भने बच्चाले त्यो नक्कल गर्ने सम्भावना निकै हुन्छ।” टोरेब्लान्काको अनुसन्धानले देखाएअनुसार “बच्चाहरूले स्कूलमा होइन तर टिभीबाट सिकेका कुराहरू दैनिक जीवनमा लागू गर्न थाल्छन्‌ किनभने तिनीहरू स्कूललाई एउटा करकापको कुरा मात्र ठान्छन्‌।”

संगीतले केटाकेटीलाई फाइदा गर्छ

तीन चार वर्षका बच्चाहरूलाई बाजा बजाउन सिकाउँदा तर्क गर्न तथा सोच्न मदत गर्छ भनी अर्भिनस्थित क्यालिफोर्निया विश्‍वविद्यालयका भौतिकशास्त्रका प्राध्यापक गर्डन श बताउँछन्‌। यस्तो कलिलो उमेरमा मस्तिष्कका स्नायु सम्बन्धहरू तुरुन्तै बन्छन्‌ र दिनमा दस मिनेटजति मात्र अभ्यास गर्दा पनि “बच्चाको तर्कशक्‍ति र सोचाइमा पछिसम्म राम्रो असर पर्छ” भनी अनुसन्धानकर्ताहरूले प्रदर्शित गरेका छन्‌। नौ महिने परीक्षणमा पियानो सिकेका बच्चाहरू कम्प्युटर सिकेका वा केही पनि नसिकेका बच्चाहरूसित तुलना गरिएको थियो। पियानो बजाउन सिकेकाहरूको बौद्धिक क्षमतामा ३५ प्रतिशत प्रगति देखियो भने अन्य समूहमा त्यस्तो प्रगति न्यून वा पटक्कै थिएन भनी लन्डनको सन्डे टाइम्स बताउँछ।

हाम्रो विश्‍वव्यापी भोजनको परिकार

विश्‍व जनसंख्याले हरेक दिन कति खान्छ, के तपाईंले कहिल्यै सोच्नुभएको छ? ग्रीक पत्रिका टो भिमा-ले दैनिक खपतसम्बन्धी अचम्मको तथ्यांक प्रकाशित गरेको छ। संसारभरि दुई अरब अण्डा उत्पादन तथा खपत हुन्छ। त्यसको मतलब, त्यतिबिघ्न अण्डाले साइप्रस टापु जत्रो अमलेट बनाउन सकिन्छ! अनि मानिसहरूले १६ लाख टन मकै खान्छन्‌। आलु पनि लोकप्रिय छ अर्थात्‌ ७,२७,००० टन! पृथ्वीको अधिकांश जनसंख्याको आधारभूत भोजन चामल हो र दिनहुँ १५ लाख टन उत्पादन हुन्छ। यसमध्ये ३,६५,००० टन त चिनियाँहरूले नै खपत गर्छन्‌। उमालेको ७,००० चियाको पातले तीन अरब कप चिया तयार पार्छ। संसारका सुविधासम्पन्‍नहरूले २.७ टन क्याभियार खपत गर्छन्‌। पश्‍चिमी संसारको वयस्कले प्रति दिन औसतन ४,००० क्यालोरी खपत गर्छ जबकी मानिसलाई दिनहुँ २,५०० भए पुग्छ अनि अफ्रिकाको वयस्कले औसतन १,८०० क्यालोरी पाउँछ।

धूम्रपानले गर्दा हुने मृत्यु

सारा संसारभरि लगभग १.१ अरब मानिसहरू धूम्रपान गर्छन्‌ भनी धूम्रपान नियन्त्रणको एसियाली निकायका प्राध्यापक जुडिथ मके भन्छिन्‌। ब्रिटिश मेडिकल जर्नल-मा रिपोर्ट गरिएअनुसार धूम्रपान तथा स्वास्थ्यसम्बन्धी दसौं विश्‍व सम्मेलनमा १९९० मा मात्र धूम्रपानसित सम्बन्धित तीस लाख मृत्यु भएको अनुमान गरियो। सन्‌ २०२५ र २०३० सम्म त्यो संख्या बढेर एक करोड पुग्ने अनुमान गरिएको छ। उक्‍त जर्नल-अनुसार आगामी तीन दशकमा धूम्रपानसित सम्बन्धित यी मृत्युहरू विकसित देशबाट हटेर विकासोन्मुख देशहरूमा केन्द्रित हुनेछन्‌। अक्सफोर्ड विश्‍वविद्यालयका चिकित्सा तथ्यांकका प्राध्यापक, रिचर्ड पेटोअनुसार “धूम्रपानले मर्नेहरूको संख्या चीनमा सर्वाधिक छ।”

अंग दाताहरू

के आफ्नो मृत्युपछि तपाईंका अंगहरू अरूले हकदाबी गरेको चाहनुहुन्छ? ब्राजिलमा जनवरी १, १९९८ मा नयाँ नियम लागू भएदेखि थुप्रै ब्राजिलवासीहरूले यो प्रश्‍नको जवाफ दिनुपरेको छ। त्यस नियमअनुसार १८ वर्ष माथिका सबै ब्राजिलीहरू त्यस नियम लागू नहोस्‌ भनेर कागजातमा हस्ताक्षर नगरेको खण्डमा स्वतः अंग दाता बन्‍नेछन्‌। तर “अधिकांश ब्राजिलीहरू मृत्युपछि आफ्नो शरीर सिंगो रहेको चाहन्छन्‌ भन्‍ने प्रशस्त संकेतहरू छन्‌” भनी द मायामी हेरल्ड रिपोर्ट गर्छ। “गत छ महिनाभित्र सवारी चालक अनुमतिपत्र लिने चार जनामध्ये तीन जनाले अंग दाता हुन इन्कार गरे।” किन? किनभने अंग प्रत्यारोपण गर्न चिकित्सकहरूले हतपत बिरामीलाई चिकित्सा दृष्टिकोणले मृत घोषित गर्न दबाब महसुस गर्लान्‌ भनी कोही कोही चिन्ता व्यक्‍त गर्छन्‌।

लोप भइरहेका जंगलहरू

मानव सभ्यता सुरु हुनुअघि पृथ्वीलाई ढाकेको दुई तिहाइ जंगल अहिले लोप भइसक्यो भनी प्रकृति संरक्षणको विश्‍वव्यापी कोष (डब्ल्यु डब्ल्यु एफ) बताउँछ। यो समस्याबारे मानिसहरूलाई अवगत गराउने जोडदार प्रयासको बावजूद यो दशकमा भइरहेको वन विनाशको परिणामस्वरूप थुप्रै देशहरूमा प्राकृतिक जंगलहरू एउटै पनि रहनेछैनन्‌। काठको लागि जंगल तथा खेतीयोग्य जमिनको विनाशले वनस्पति र जीवजन्तु दुवैको विनाश गर्छ। यसबाहेक, दाउरा बाल्दा वायुमण्डलमा कार्बन डाइअक्साइड जम्मा हुन्छ र फलस्वरूप विश्‍व तापक्रम बढ्‌नेछ भनी कोही कोही चिन्ता व्यक्‍त गर्छन्‌। डब्ल्यु डब्ल्यु एफ-ले संसारभरि सन्‌ २००० सम्म सबै प्रकारका जंगलहरू कम्तीमा १० प्रतिशत जोगाउन आह्वान गरेको कुरा लन्डनको गार्जियन अखबारले रिपोर्ट गर्छ।

विश्‍वव्यापी खाद्यान्‍न अभाव अनुमान गरिएको छ

जन हप्किन्स विश्‍वविद्यालयको एउटा अध्ययनअनुसार “जनसंख्या वृद्धिमा कमी र खाद्यान्‍न उत्पादनमा उल्लेखनीय वृद्धि नभएको खण्डमा सन्‌ २०२५ सम्ममा विश्‍वका अनुमानित ८ अरब मानिसहरू भोकभोकै पर्नेछन्‌” भनी एसोसिएटेड प्रेस डिस्प्याच रिपोर्ट गर्छ। अनुसन्धानकर्ताहरूको पूर्वानुमानअनुसार “प्रति आइमाईको सालाखाला दुई जना मात्र बालबच्चा हुनेसम्म प्रजनन दर घटेन भने पर्याप्त मात्रामा स्वास्थ्यवर्धक तथा पोषिलो भोजन” प्रदान गरेर मानिसहरू स्वस्थ राख्न सन्‌ २०२५ सम्म खाद्यान्‍न दोब्बर बढ्‌नुपर्छ। यो समस्याको साथसाथै पानीको अभाव, जमिनको प्रदूषण, भूक्षयद्वारा उर्वरभूमिको विनाश र हावापानीमा हेरफेरजस्ता समस्याहरू त छँदैछन्‌। अहिले पनि पृथ्वीमा जीवित ६ अरब मानिसलाई खुवाउन पर्याप्त भोजन भए तापनि वर्षेनी १.८ करोड मानिसहरू खान नपाएर मर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने