विश्वदर्शन
ग्रीसमा धार्मिक स्वतन्त्रतामाथि पुनर्विचार
“केही समययता [ग्रीस] सरकारले धार्मिक अधिकारसम्बन्धी मुद्दामामिलामा ध्यान दिन थालेको छ। साथै ढिलाइ भइरहेको संवैधानिक संशोधनमा विचार पुऱ्याइरहेको छ” भनी एथेन्सबाट प्रकाशित हुने टो भिमा रिपोर्ट गर्छ। “धार्मिक स्वतन्त्रतासम्बन्धी कानुनी संरचना, तानाशाह मेटाकसाको कानुनले धर्मपरिवर्तनलाई अपराध ठहराउनुका साथै कुनै पनि गैर-अर्थोडक्स धार्मिक समूहले चर्च र भेला हुने ठाउँ निर्माण गर्ने सम्बन्धी प्रावधानहरूबारे पुनः जाँच्न परराष्ट्र मन्त्रालयभित्रै एउटा अनौपचारिक समिति गठन गरिएको छ।” त्यस रिपोर्टअनुसार खासगरि यहोवाका साक्षीहरूले मानव अधिकारसम्बन्धी युरोपेली अदालतसमक्ष थुप्रै मुद्दा दायर गरेकाले यो कदम चाल्नु परेको हो।
संसारको सबैभन्दा लामो कपाल
उत्तरी थाइल्याण्डमा हमङ जातिका ८५ वर्षीय हु साटियोले कपाल नकाटेको झन्डै ७० वर्ष भइसक्यो। “अठाह्र वर्षको हुँदा कपाल काट्दा नराम्रोसित थला परेको थिएँ,” हुले भने। गिनेस बूक अफ वर्ल्ड रेकर्ड-का निर्णायकले हालै तिनको कपाल ५२० सेन्टिमिटर लामो भएको बताए र असोसिएटेड प्रेसका अनुसार तिनको कपाल नै अहिले संसारमा सबैभन्दा लामो हो। हुले वर्षको एक चोटि कपाल पखाल्छन् र कपाल तारमा झुण्डाएर सुकाउँछन्। हुका ८७ वर्षीय भाइ ये तिनको निकटम प्रतिद्वन्द्वी हुन्। येले आफ्नो कपाल पछिल्लो चोटि १९५७ मा काटेका थिए। यद्यपि, येको कपाल पहिला विश्व कीर्तिमान राख्ने भारतीय महिलाको भन्दा लामो छ। त्यस महिलाको कपाल ४२० सेन्टिमिटर लामो थियो। त्यस्तो लामो कपालले थाइल्याण्डको चिसो उच्च पहाडीय क्षेत्रमा फाइदै पुऱ्याउँछ भनी हु बताउँछन्। तिनी भन्छन्, “मलाई यसले न्यानो पार्छ।”
कुपोषणद्वारा बालबालिकाहरूको मृत्यु
“अरू कुनै पनि महामारी, प्राकृतिक प्रकोप वा युद्धले भन्दा पनि कुपोषणले धेरै बालबालिकाहरूको ज्यान लिन्छ” भनी फ्रान्सेली अखबार लि मोन्ड रिपोर्ट गर्छ। भनिन्छ, कुपोषणको कारण वर्षेनी झन्डै ७० लाख केटाकेटीहरू मर्छन्। संयुक्त राष्ट्र संघीय बाल कोषको (युनिसेफ) १९९७ को प्रतिवेदनअनुसार प्रत्येक वर्ष पाँच वर्षमुनिका १ करोड २० लाख बच्चाहरूमा ५५ प्रतिशत कुपोषणकै कारण मरेको पाइन्छ। कुपोषणले केटाकेटीको ज्यान लिनुको अलावा विभिन्न किसिमका शारीरिक तथा मानसिक अशक्तताका साथै कमजोर रोग प्रतिरक्षा प्रणालीको निम्ति पनि यो दोषी छ। दक्षिण एसियामा ५० प्रतिशत बच्चाहरू कुपोषित छन् भने अफ्रिकामा हरेक एक तिहाइ बालबालिका कुपोषित छन्। तथापि, यस समस्याबाट औद्योगिक मुलुकहरू पनि पीडित छन्। उदाहरणका लागि, युनिसेफको प्रतिवेदनअनुसार संयुक्त राज्यमा १२ वर्षमुनिका ४ जना बच्चाहरूमा १ जनाले आवश्यक पौष्टिक आहार पाउँदैन।
चन्द्रमामा पानी?
अन्तरिक्षयान लुनर प्रोस्पेक्टर-ले चन्द्रमाको ध्रुवीय भागमा जमेको पानी भेट्टाएको जस्तो छ भनी न्यु योर्क टाइम्स रिपार्ट गर्छ। अन्तरिक्षयानमा भएका उपकरणहरूले हाइड्रोजन भएको पनि संकेत दिन्छ र हाइड्रोजन पानीको तत्त्वको रूपमा हुनसक्ने सम्भावना बढी छ भन्ने विचार गरिएको छ। चन्द्रमामा पानी स-साना बरफका टुक्राका रूपमा माटोमा मिसिएको छ भन्ने विश्वास गरिएको छ। यसमा चट्टाने माटो एक प्रतिशत पनि छैन जस्तो देखिन्छ। त्यस पानीले मानिसहरूलाई धान्नसक्छ र चन्द्रमाबाट छोडेको अन्तरिक्षयानलाई हाइड्रोजन र अक्सिजन इन्धनको रूपमा प्रदान गर्नसक्छ भनी कोही कोही वैज्ञानिकहरूले अनुमान लगाइसकेका छन्। त्यहाँ पानी भए तापनि निकाल्न निकै खर्च लाग्नेछ भनी अरू कतिले चिन्ता व्यक्त गरेका छन्। चन्द्रमामा खनेर पानी निकाल्नुभन्दा पृथ्वीबाटै पानी लैजानु सस्तो पर्नेछ भनी क्यालिफोर्निया प्रविधि संस्थानका डा. ब्रूस मूर्रे बताउँछन्।
“कम हानि गर्ने लागू पदार्थ”?
चकलेट उत्तेजक हुनुका साथै यसले निराश मनलाई चंगा गर्छ र यौन इच्छाहरू जगाउँछ भनी हल्ला फिजाउँदै आएको सयौं वर्ष भइसक्यो। तथापि, हालै गरिएको अध्ययनबाट चकलेटले साँच्चै “चिन्ता, मनोशान्ति र यौन व्यवहारमा” असर पार्नसक्ने संकेत मिलेको फ्रान्सेली अखबार लि मोन्ड रिपोर्ट गर्छ। वैज्ञानिकहरूले चकलेटमा यस्तो तत्त्व पाएका छन् जसले आम्फिटामाइन्सले जस्तै “उल्लेखनीय ढंगमा निराश मनलाई चंगा पार्न” मदत गर्छ। नयाँ अनुसन्धानले देखाएअनुसार क्यानाबिसले जस्तै अनाडामाइडमा पनि “अधिक उत्तेजना र उल्लासक भावना” उत्पादन गर्ने स्नायुप्रसारक भएको भेट्टाएका छन्। यसको साथसाथै विषालु पनि नभएकोले त्यस अखबारले निष्कर्षमा यसो भन्यो: “शारीरिक र मानसिक क्रियाकलापलाई उत्तेजित गर्ने, कुनै प्रतिकूल असरबिना शक्ति दिने र उल्लसित अनि सुस्वास्थ्य महसुस गराउने अनि लग्गू हुने खतरा पनि नभएको चकलेटलाई कम हानिकारक लागू पदार्थ भनेका छन्।”
अनमोल कुराहरूको मूल्य निर्धारण
विभिन्न देशका १३ जना वैज्ञानिकहरूले प्रचुर प्राकृतिक सम्पदालाई डलरको भाउमा मूल्यांकन गरेर एउटा रिपोर्ट तयार पारेका छन्। पृथ्वीले प्रदान गर्ने विभिन्न सेवाको प्रति हेक्टर (एक हेक्टर बराबर झन्डै २.५ एकड हुन्छ) प्रतिस्थापन मूल्य हिसाब गर्न १०० भन्दा बढी प्रकाशित प्रतिवेदनहरूको अध्ययन गरे। उदाहरणका लागि, संयुक्त राज्यमा विकासको निम्ति प्रयोग गरिएको शिमभूमिको प्रत्येक हेक्टरमा “बाढीको पानी सोस्ने शिमभूमिको अभावको कारण वर्षेनी बाढीबाट हुने क्षति ३३०० देखि ११,००० अमेरिकी डलरले वृद्धि भएको” एउटा अध्ययनले बताउँछ भनी विज्ञान (अंग्रेजी) पत्रिका उल्लेख गर्छ। थुप्रैले पृथ्वीको प्राकृतिक साधन र सेवालाई खास महत्त्व नदिए तापनि वैज्ञानिकहरूले त्यसको वर्षेनी मूल्य ३,३३,००,००,००,००,००० अमेरिकी डलर हुने अनुमान लगाएका छन्। यो मूल्य संसारभरिको कुल राष्ट्रिय उत्पादनभन्दा लगभग दुई गुना बढी छ।
प्रेम कहिल्यै टल्दैन
“आफ्नो आमाबाबु तथा शिक्षकहरूसित बलियो भावनात्मक सम्बन्ध भएका किशोरकिशोरीहरू लागू पदार्थ, मद्यपानमा लाग्ने, आत्महत्या गर्न कोसिस गर्ने, हिंस्रक वा सानै उमेरदेखि यौन कार्यमा सक्रिय हुने सम्भावना कम हुन्छ,” भनी वशिंगटन पोस्ट रिपोर्ट गर्छ। बच्चा चाहे एक्लो परिवारको होस् या आमाबाबु दुवै भएको परिवारको होस्, यो सही भएको मिनोयोसोटा विश्वविद्यालय तथा उत्तर क्यारोलाइनामा चेपल हिल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पाएका छन्। महत्त्वपूर्ण कुरा के हो भने, बच्चाले माया पाएको, मूल्यांकन गरिएको तथा कुरा बुझिदिएको महसुस गर्छ। “बच्चाको जीवनमा आफ्नो भूमिका कम हुँदै गएको महसुस हुँदासमेत पनि बच्चाको किशोरावस्थामा सक्रियतासाथ तिनको क्रियाकलापमा सम्मिलित हुनुपर्ने महत्त्वलाई” त्यस अध्ययनले जोड दिएको पोस्ट-ले रिपोर्ट गर्छ।
परमेश्वरबिनाको बाइबल
एक डेनिश चिकित्सकले हिब्रू धर्मशास्त्रको संशोधित अंक प्रकाशित गरेका छन्। त्यसमा तिनले परमेश्वरको नाउँ कतै पनि उल्लेख गरेका छैनन्। डा. सेभन लिङस्को विचारमा परमेश्वर र विश्वास भनेको “पुरानो कुरा हो जसले हाम्रो स्वतन्त्रता हनन गर्छ” भनी डेनिश अखबार क्रिस्टेलेट डाउबेलेथ बताउँछ। थुप्रै मानिसहरू दुःखी र निराश भएको लिङस्ले उल्लेख गरे। “हामी यहूदी-मसीही संस्कृतिमा बाँचिरहेका छौं” भनी लिङस् भन्छन्। “त्यसैले हाम्रो दुःखको जिम्मेवार यहूदी-मसीही संस्कृति नै हुनुपर्छ।” बाइबलको यस नयाँ संस्करण प्रकाशित गर्नु पछाडि लिङस्को उद्देश्य त्यस अखबारको अनुसार “हाम्रो संस्कृतिको जगलाई हल्लाउनु हो।” लिङको परमेश्वरबिनाको बाइबल-मा उत्पत्ति ३:१२ यसो भन्छ: “अनि आदमले यस्तो सोचे: ‘मसँगै रहेकी स्त्रीले मलाई त्यो रूखको फल दिई, र मैले खाएँ।’ ” क्रिस्टेलेट डाउबेलेथ प्रश्न गर्छ: “के यो बरफबाट पानी निकाल्दा के बाँकी रहँदो रहेछ भनी हेरेजस्तै भएन र?”