उसले हार मानेन
अक्टोबर ५, १९९५ का दिन १४ वर्षीय म्याट टापीयोको मस्तिष्कदेखि ढाडसम्म जाने एक भागमा भएको ट्युमरको शल्यक्रिया गरियो। उक्त ट्युमर घातक थियो। यो शल्यक्रिया उसले आगामी अढाइ वर्षभित्र गर्नुपर्ने थुप्रै शल्यक्रियाहरूमध्ये पहिलो थियो। शल्यक्रियापछि उसलाई केमोथेरापी तथा रेडिएसन उपचार गरियो।
म्याट मिचिगन सं.रा.अ.-मा बस्थ्यो र त्यहाँ ऊ एउटा सरकारी स्कूलमा पढ्थ्यो अनि मसीही सभाहरूमा उपस्थित हुन्थ्यो। आफ्नो विश्वासबारे शिक्षकशिक्षिका तथा साथीहरूलाई भन्ने मौका पाउने बित्तिकै उनी बताइहाल्थे र अन्य मानिसहरूलाई भेटेर कुरा गर्न जनसेवकाईमा पनि भाग लिन्थ्यो। उसको जीवनको अन्तिम अढाइ वर्षमा पनि १८ महिना त बारम्बार अस्पतालमा आउने जाने गरेर नै बिताउनु पऱ्यो; तैपनि उसले त्यहाँ भेटिएजत्ति सबैलाई सयौं बाइबल साहित्यहरू वितरण गऱ्यो।
थुप्रै चोटि, यसपटक म्याट फर्केर आउँदैन होला जस्तो लाग्थ्यो तर ऊ फर्कन्थ्यो। एकपटक अस्पताल जाँदै गर्दा अचानक फिंज काढ्दै ऊ मूर्छा पऱ्यो र सास फेर्नै छोड्यो। कार्डियोपुल्मोनेरी रेस्युस्सिटेशन सुरु गरियो र ऊ होसमा आयो। होसमा आइसकेपछि ऊ रुन थाल्यो र जोडले यसो भन्यो: “म योद्धा हुँ! म योद्धा हुँ! म मैदान छोडेर भाग्ने काँतर होइन!” म्याटले परमेश्वरमाथि भरोसा राखेकोले गर्दा नै ऊ यत्तिका समयसम्म जीवित रहन सकेको हो भनेर मानिसहरूले भने।
जनवरी १३, १९९६ मा म्याटले यहोवा परमेश्वरप्रतिको आफ्नो समर्पणलाई प्रतिकात्मक रूप दिएर आफ्नो आन्तरिक इच्छा पूरा गऱ्यो। संक्रमण होला कि भन्ने डर भएकोले उसको बप्तिस्मा एउटा निजी पूलमा गरियो। यसको केही दिनपछि थप शल्यक्रियाको निम्ति उसलाई फेरि अस्पतालमा भर्ना गरियो। अगस्त १९९७ मा म्याटले हप्तौंसम्म लगातार वान्ता गरिरह्यो तर थप शल्यक्रिया गरेपछि उसको स्थिति सुध्रियो।
यस्तो हुँदाहुँदै पनि म्याट हँसिलो थियो, ऊ डाक्टर तथा नर्सहरूसित ठट्यौली गरिरहन्थ्यो। म्याट यत्तिको हँसिलो कसरी हुनसक्यो, तिनीहरूले बुझ्नै सकेनन्। एक जना डाक्टरले त उसलाई भनिहाले: “म्याट, म तिम्रो ठाउँमा भएको भए, म कसैलाई पनि भेट्दिनथें। कोही भेट्न आइहाल्यो भने, मलाई एक्लै बस्न देऊ भन्थें।”
फेब्रुअरी १९९८ मा म्याट अस्पतालबाट अन्तिम पटक घर फर्क्यो। आफू जीवित रहन पाएकोमा ऊ औधी खुसी थियो र घरभित्र पस्नासाथ उसले भन्यो: म एकदमै खुसी छु! आउनुहोस् प्रार्थना गरौं।” त्यसपछि उसले यहोवालाई प्रार्थना गरेर आफ्नो खुसी व्यक्त गऱ्यो। तथापि, दुई महिना पछि अप्रिल १९ मा क्यान्सरले उसलाई मृत्युको निद्रामा पाऱ्यो।
केही समयअघि म्याटसित लिइएको अन्तरवार्ताको टेप यहोवाका साक्षीहरूको स्थानीय राज्यभवनमा सुनाइएको थियो। उसलाई सोधिएको थियो: “हामी स्वस्थ व्यक्तिहरूलाई सेवकाई र मसीही सभाहरूको सन्दर्भमा तपाईं के भन्न चाहनुहुन्छ?”
म्याटले जवाफ दियो: “जति सक्नुहुन्छ, अहिल्यै गर्नुहोस्। . . . भोलि के हुन्छ, कसलाई के थाह। . . . केही भइहाले तापनि यहोवाको विषयमा साक्षी दिन कहिल्यै बन्द नरोकिनुहोस्।”